हिमाली बेल्टको सर्सर्ती बयान

समीक्षा
कुनै रोचक घटना–प्रसंगमा थोरै भित्र पस्न खोजिएको हुन्छ, राम्ररी स्वाद लिन नपाउँदै पाठकहरू अर्को प्रसंगतिर हुर्रिहाल्नुपर्छ– एकदम हतारमा यात्रा गर्नुपरेजस्तो ।
सुधीर शर्मा

काठमाडौँ — भारत र चीन– विश्वका दुई ठूला देशको बीचमा एउटा छुट्टै संसार छ, हिमाली बासिन्दाहरूको । यी कुनै राष्ट्रविशेषको राजनीतिक भूगोलमा मात्र सीमित छैनन् । आधुनिक जमानाको राजनीतिक सीमाले यिनलाई परिभाषित गर्न पनि सक्दैन । पूर्वको बर्मादेखि पश्चिम कश्मीरसम्म हिमालय काखको चन्द्राकार बेल्टमा अनेकन सभ्यताको इतिहासलाई जीवित राखेका छन् उनीहरूले । सायद त्यसैले पनि, हिमाली क्षेत्र पर्वतारोहण मात्र होइन समाजशास्त्रीय अध्ययन–अनुसन्धानका लागि समेत रोचक विषय बन्दै आएको छ ।

द हिमालयन आर्क : जर्निज इस्ट अफ साउथ–इस्टनमिता गोखले (सम्पादक)हार्पर–कोलिन्स पब्लिसर्स, भारतसन् २०१८, पृष्ठ ३३३, मूल्य : भा.रू. ६९९/–

यहाँ के छैन ? उच्च प्राकृतिक छटा त छँदैछ, त्यसबाहेक पनि धेरै कुराहरू छन् । मानवीय बसोबास र आप्रवासनको प्राचीन इतिहास छ । सम्पन्न सांस्कृतिक धरोहरहरू छन् । शान्ति र हिंसा दुवैको उत्कर्ष रूप यहाँ प्रकट भएको छ । साम्प्रदायिक संहार र सामुदायिक मिलापका दृष्टान्त यहीं भेटिन्छन् । पहिचानको आन्दोलन छ, दमनको व्यथा छ । पृथकता र सशस्त्र संघर्षका दर्जनौं, सायद अझै बढी, स्वरहरू यहाँ गुन्जेका छन् । यो शान्त (र, अशान्त) बेल्टमा राजनीति र भूराजनीतिका अनेक आयाम छन् । त्यसैले पनि यो भेगको भोगाइ बाँकी संसारका लागि सदैव रोमाञ्चक कथा बन्दै आएको छ ।

भारतीय लेखक नमिता गोखलेले सम्पादन गरेको पुस्तक ‘दी हिमालयन आर्क’ पनि यसै वरिपरि घुमेको छ । कुमाउनी परिवारमा जन्मेकी गोखलेको लेखनमा पहाड र हिमालहरू बारम्बार आउँछन् । उनले र रस्किन बन्डले यसअघि सम्पादन गरेको किताबको नाम पनि ‘हिमालय : एड्भेन्चर्स, मेडिटेसन्स, लाइफ’ रहेको छ । तर, गोखलेलाई हिमालयको सौन्दर्यले मात्र तानेको छैन, यो क्षेत्रका मानिस, समाज, तिनको पहिचान, दैनन्दिनी, राजनीति, पीडा, भूगोल, संस्कृति आदिले पनि उत्तिकै छोएको देखिन्छ । हिमालयन आर्कमा यिनै विषयहरूमा तीन दर्जन लेखकहरूको फरकफरक भोगाइ/हेराइ समेटिएको छ, जो पढ्दै जाँदा दार्जिलिङ, सिक्किम, भुटान, तिब्बत, धर्मशाला, मणिपुर, नागाल्यान्ड, बर्मा, नेपाललगायत धेरैतिर पुगिन्छ । एउटै पुस्तकमा हिमाली बासिन्दाका फरकफरक जीवनाभूति महसुस गर्न सकिन्छ, संक्षिप्त रूपमा ।

‘अ हिमालयन सिटिजन’ शीर्षकको सुरुआती अध्याय सुजीव शाक्यले लेखेका छन्— कसरी कालिम्पोङमा हुर्के–बढेका र काठमाडौंलाई कर्मथलो बनाएका उनीजस्ताले आफूलाई ‘हिमाली नागरिक’ ठान्छन् । ‘हिमाली नागरिकहरूको आफ्नै पृथक् पहिचान छ,’ शाक्य लेख्छन्— खासमा हिमालय नै उनीहरूको बृहत्तर परिचय हो, भलै राष्ट्रिय सीमा या देशहरूको सहपरिचय पनि तपाईंसँग जोडिएको हुन सक्छ, कुनै देशविशेषको पासपोर्ट तपार्इंसँग हुन सक्छ तर त्यसले तात्त्विक अर्थ राख्दैन ।

सिर्जनाको सहर भनिने दार्जिलिङको सन्दर्भ बारम्बार आउँछ पुस्तकमा । एक ठाउँमा लेखिएको छ, ‘दार्जिलिङ पहाडमा यसो भन्ने गरिन्थ्यो— यदि तिमीसँग कहिल्यै गिटार थिएन वा युवा छँदा पनि त्यो बजाएका थिएनौं भने तिमीमा पक्कै केही गडबडी छ ।’ कुनै बेलाको यो जागरुक सहरको राजनीतिक–सामाजिक अवनतिको चित्रण पनि ठाउँ–ठाउँमा पढ्न पाइन्छ । जस्तो कि, कथाकार प्रज्वल पराजुली लेख्छन्— हरेक पटक म दार्जिलिङ जाँदा पहिलेभन्दा दु:खी भएर फर्कन्छु, त्यहाँको प्रकृति त सधैंझैं सुन्दर छ तर मानिसहरू निरन्तर विध्वंसक बन्दै गएका छन् । खासगरी सहरी सौन्दर्य मार्ने गरी गरिएको पूर्वाधार निर्माण र चौतर्फी अव्यवस्थाले लेखकहरूको चित्त दुखाएको छ तर सुन्ने राजनीतिक नेतृत्व छैन । राजनीति आफंै अराजकताको दलदलमा फँसेको छ । खासगरी सन् ८० को दशकदेखि ‘गोर्खाल्यान्ड’ माग्दै आन्दोलित भएयता दार्जिलिङ कहिल्यै बौरिन सकेको छैन, न छुट्टै राज्य पाएको छ, न त अनिश्चितता चिर्न सकेको छ ।

दार्जिलिङभन्दा पूर्वतिरका ‘सेभेन सिस्टर्स’ भनिने सातवटा भारतीय राज्यका कथा–व्यथाको पनि झलक आउँछ किताबमा । नेपालछेउ साँघुरिएर पूर्वतिर फैलिँदै गएको भारतको यो चुच्चोको आफ्नै गुनासा र आक्रोश छ दिल्लीप्रति । पूर्वोत्तर भारत वास्तवमा दर्जनौं आदिवासी र जातीय समुदायहरूको जीवित संग्रहालयजस्तो लाग्छ, जसको जरा कम्बोडिया, थाइल्यान्डदेखि तिब्बत र बर्मातिर बढी जोडिएको छ । त्यसैले ‘असमको राजधानी गुवाहाटी दिल्लीभन्दा हनोईसँग नजिक लाग्छ,’ सञ्जय हजारिका लेख्छन्, ‘मणिपुरको राजधानी इम्फाल पुग्दा यांगुनमा गएजस्तो लाग्छ ।’ यो क्षेत्र कश्मीरझैं कटेको छ भारतको मूलभूमिबाट । यहाँ अनगिन्ती पृथकतावादी र सशस्त्र समूहहरू सक्रिय रहिरहनुको आधार भनेकै बहुसंख्यक बासिन्दाले भारतीय भूमिमै आफूलाई ‘बाहिरिया’ झंै ठान्नुपर्ने अवस्थाले गर्दा हो ।

पूर्वोत्तर भारतभन्दा अझै पूर्वतिर पर्छ बर्मा, जहाँको बयानले यो पुस्तकको ठूलै भाग ओगटेको छ । तीमध्ये चिकित्सा पेसाबाट लेखनमा आएकी मा थिडाको ‘अ फियर्स फियर’ मलाई अलि फरक लाग्यो । लामो अवधि चलेको अधिनायकवादी सत्ताले बर्मेली समाजको सोच्ने/बोल्ने क्षमतामै कसरी सामूहिक ह्रास ल्याइदियो र अहिलेको तुलनात्मक खुकुलो परिवेशमा समेत मानिसहरू कसरी ‘सेल्फ–सेन्सरसिप’ बाट गुज्रिरहेका छन् भन्ने यथार्थको राम्ररी खुलासा गरेकी छन् उनले । ‘भयले सोच्ने सामान्य प्रक्रियालाई नै ध्वस्त पारिदिएको छ,’ उनी लेख्छिन्, ‘बर्मेली भाषामा एउटा भनाइ नै छ– यदि सोच्ने वा मर्ने विकल्प दिइयो भने मानिसहरू बरु मर्न नै चाहन्छन् ।’ यो टिप्पणी अतिशयोक्तिपूर्ण लाग्न सक्छ तर यसले ‘क्रिटिकल थिंकिङ’ को अभावमा समाज कुन दिशातिर जान सक्छ भन्ने औंल्याउँछ ।

भुटानी सत्ताबाट अतिप्रभावित अध्यायहरू पनि पढ्न पाइन्छन् पुस्तकमा । कूटनीतिज्ञ डेभिड मेलोन र जोन इलियटका स्मरणहरूलाई यही कोटीमा राखेर हेर्दा हुन्छ । एक्काइसौं शताब्दीमा पनि हिमालयमाथि धार्मिक विश्वासले कसरी शासन गरिरहेको छ ? सुधीन्द्र शर्मा र कनकमणि दीक्षितले यो जटिल र संवेदनशील विषयमा निकै पहिले ‘हिमाल साउथ एसियन’ मा गरेको खोजबिन पनि उद्धृत गरिएको छ । अलि मास्तिर तिब्बततिर पनि बरालिएको छ पुस्तक । पत्रकार मनोज जोशीको ‘तिब्बत, भारत र चीन’ सूचनामूलक छ तर अनुभूतिजन्य लेखोटहरू बढी समेटिएको पुस्तकमा उनको भूराजनीतिक विश्लेषण ‘कागको बथानमा बकुल्ला’ जस्तो लाग्न सक्छ । बरु दलाई लामा बस्ने गरेको धर्मशाला, जसलाई ‘लिटिल ल्हासा’ उपनाम दिएर एक पश्चिमा लेखकले आफ्नो व्यक्तिगत अनुभूति जोड्दै लेखेको संस्मरण छुट्टै प्रकृतिको छ ।

दलाई लामाको तिब्बतसहित लद्दाख, कश्मीर, सिक्किम, मणिपुरजस्ता कुनै बेलाका हिमाली राज्यहरूको स्वतन्त्र अस्तित्व अचेल मानचित्रमा भेटिन्न । यी साना राज्यहरूको पहिचान कसरी हरायो, त्यसबारे पनि हिमालयन आर्क थोर–थोरै बोल्न खोजेको छ । सिक्किमको कथा बताउन एन्ड्रयु डफको पूर्वप्रकाशित ‘माई जर्नी इनटु सिक्किम’ लाई राखिएको छ । मणिपुरे महाराजकी कान्छी छोरी विनोदिनी देवीको अनुवादित संस्मरण समावेश गरिएको छ, जसले एउटा राजपरिवार र राज्य कसरी छिन्नभिन्न हुन पुग्यो भन्ने संक्षिप्त चित्र पेस गर्छ । वास्तवमा यो पुस्तकले इतिहासलाई आँखीझ्यालबाट अलिअलि चियाउन खोजेजस्तो मात्र महसुस हुन्छ । कुनै रोचक घटना–प्रसंगमा थोरै भित्र पस्न खोजिएको हुन्छ, राम्ररी स्वाद लिन नपाउँदै पाठकहरू अर्को प्रसंगतिर हुर्रिहाल्नुपर्छ— एकदम हतारमा यात्रा गर्नुपरेजस्तो ।

पुस्तकले समेटेको हिमाली बेल्टमा सम्भवत: सबभन्दा ठूलो जातीय समूहका रूपमा नेपालीभाषीको उपस्थिति छ, जो पूर्व बर्मादेखि पूर्वाेत्तर भारत, दार्जिलिङ, सिक्किम हुँदै नेपाल र भारतको उत्तराखण्ड, अनि हिमाञ्चल प्रदेशसम्म फैलिएर बसेका छन् । यो फैलावटका पछाडि कुनै बेलाको गोर्खाली साम्राज्यको देन थियो । अठारौं शताब्दीको मध्यमा २५० वर्ग किलोमिटरभन्दा कम क्षेत्रफल भएको गोर्खाजस्तो एउटा सानो पहाडी राज्यले कसरी काठमाडौंका नेवार, पाल्पाका सेन, सिक्किमका चोग्याल र कुमाउँका चन्द राजालाई हराएर आफूभन्दा झन्डै सय गुणा ठूलो आकार बनाउन सक्यो ? लेखक अमिशराज मुल्मीले यसको जवाफ खोज्ने कोसिस गरेका छन् । तर, यसका निम्ति जति विस्तारित वर्णन आवश्यक हो, पुस्तकले त्यति स्थान दिन चाहेको छैन । इतिहासको ‘रिभिजिट’ गर्दै–गरेका मुल्मीले यस सम्बन्धमा छुट्टै कलम चलाउँदा समाजलाई योगदान नै हुनेछ ।

यो पुस्तकको समस्या भनेकै महत्त्वपूर्ण मुद्दाहरूमा छिपछिपे प्रवेश मात्र गर्न खोज्नु हो । अर्को कमजोरी थुप्रै पूर्वप्रकाशित सामग्रीहरूलाई भेला पारेर नयाँपन दिन खोज्नु हो । उदाहरणका लागि, नेपालप्रति रुचि राख्ने कतिपय पाठकलाई थोमस बेलको ‘अपरेसन मुस्ताङ’ ले तान्न सक्छ । माओवादी विद्रोहका बेला बेलायती सहयोगमा सञ्चालित यो खुफिया अपरेसनबारे बेलको विवरण रोचक छ तर यो नयाँ भने होइन । बेलकै किताब ‘काठमान्डू’ बाट झिकेर त्यो अंश राखिएको हो । इन्द्रबहादुर राईको ‘आज रमिता छ’ को मञ्जुश्री थापाले गरेको अंग्रेजी अनुवादको अंश पनि यो पुस्तकमा पढ्न पाइन्छ । पुस्तकका आधाजति अध्याय अन्यत्र कतै प्रकाशित भइसकेका सामग्रीबाट संकलन गरिएका छन् । त्यसो नगरी सकभर बढी ताजा लेखन भए पढ्दा पनि ताजापन अनुभूति हुने थियो । त्यो पक्ष अलि खल्लो लागे पनि यसले हिमाली क्षेत्र र यहाँका बासिन्दालाई जुन फराकिलो क्यानभासमा राखेर हेर्न खोजेको छ, त्यसले किताबको औचित्यलाई स्थापित नै गरेको छ । पुस्तकमा राखिएका सन् १८६० देखिका केही पुराना तस्बिरले यो क्षेत्रको मानव इतिहासलाई झल्काउँछ । बीच–बीचमा राखिएका विभिन्न कालखण्डका कविताहरूले स्थानीय परिवेशको छुट्टै स्वाद दिन्छन् ।

जसलाई हिमाली जनजीवनमा रुचि छ, हिमालयन आर्कको सर्सती अध्ययन उपयोगी नै हुन सक्छ ।

प्रकाशित : वैशाख २२, २०७५ १०:०१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हामी हिँडेको बाटो

पत्रकारले जुन विन्दुबाट रिझाउने काम थाल्छ, पत्रकारिताको अन्त्य त्यहींबाट हुन्छ । सायद त्यसैले होला, हामीलाई कुनै राजनीतिक दलले मन पराउँदैनन्, न त शक्ति केन्द्रले । लाग्छ, हाम्रो सफलता यही हो ।
सुधीर शर्मा

काठमाडौँ — २५ वर्ष– कुनै पनि समाज या मुलुकको जीवनमा यसलाई धेरै लामो समय मानिँदैन । सामान्यत: एउटै पुस्ताले देख्ने कालखण्ड हो यो । तर, पछिल्लो २५ वर्षमा हुर्केको नेपाली पुस्ताका सन्दर्भमा भने यो अवधि अर्थपूर्ण रह्यो । धेरैले धेरै युग एउटै पुस्तामा देख्न पाए । 

बन्द पञ्चायती समाज । त्यसपछिको खुलापन । हिंसात्मक विद्रोहको कष्टदायी चरण । सोच्दै नसोचेको शाही संहार । संकटकाल । सक्रिय राजतन्त्रको अर्को अध्याय । फेरि समाजलाई बन्द गर्ने प्रयत्न । जनआन्दोलन, मधेस आन्दोलन, गणतन्त्र, शान्ति प्रक्रिया, संविधानसभा, प्रलयकारी भूकम्प, नयाँ संविधान, नाकाबन्दी, संघीय संरचना– छोटै अवधिमा ठूल्ठूला घटनाहरू देख्न पायो हाम्रो पुस्ताले ।

कान्तिपुर यही कालखण्ड देख्दै–भोग्दै र यसबीचका हरेक उथलपुथलको साक्षी बन्दै जन्मे–हुर्केको हो । यो विशेषांक त्यसैको वरिपरि घुमेको छ । विगतका वर्षहरूभन्दा फरक यसपटक हामी आफ्नै कुरा लिएर आएका छौं । अग्रजहरूको अनुभव प्रस्तुत गरेका छौं । सहकर्मी पत्रकार र लेखकहरूको सम्झना समेटेका छौं । २५ वर्षको यो दस्तावेज निकट अतीतको एउटा सानोतिनो इतिहास नै हो, जसले नेपाली पत्रकारिताको विकासक्रमलाई एक हदसम्म झल्काउँछ । आफ्नै कुरा सम्झनु या सम्झाउनु सजिलो काम भने होइन, यो आलेखमा पनि सन्दर्भवश आएका केही प्रसंग मात्र उल्लेख गरिएका हुन् ।

***

‘अब तपाईं तयार हुनुहोस् नयाँ जिम्मेवारी सम्हाल्न,’ २०६५ साउनको एक बिहान कैलाश सरले यसो भन्दा म म्यागेजिनकै दुनियाँमा रमाइरहेको थिएँ । पाँच वर्षदेखि नेपाल साप्ताहिकको सम्पादकको जिम्मेवारीमा थिएँ, बीचको एक वर्ष अर्कै पेसामा ‘घुम्न’ हिँडेबाहेक । तर अन्तर्राष्ट्रिय संस्थाको त्यो नीरस काम मेरो वशको होइन भन्ने जब बोध भयो, मैले त्यो बाटो चटक्कै छाडिहालें । अनि पूर्ववत: जिम्मेवारीमै फर्केको एक वर्ष नबित्दै पब्लिकेसन्सका प्रबन्ध निर्देशकबाट कान्तिपुरको सम्पादक बन्ने प्रस्ताव आएको थियो ।

त्यो विश्वास मेरा निम्ति रोमाञ्चक र चुनौतीपूर्ण दुवै थियो । रोमाञ्चक यस अर्थमा कि मैले दैनिक पत्रिकामा कहिल्यै काम गरेको थिइनँ र एकैपटक मुख्य जिम्मेवारी पाउँदै थिएँ । चुनौतीपूर्णचाहिँ किनभने सम्पादक बन्न लाग्दा न्युजरुम पूरै पातलिँदै थियो । कान्तिपुर व्यवस्थापनमा आएको विभाजनसँगै तत्कालीन सम्पादक, समाचार सम्पादकलगायत थुप्रै साथीहरू नयाँ ठाउँमा काम गर्न भनेर बाहिरिएका थिए । टिम मिलाउनु र टिम जुटाउनुपर्ने जबर्जस्त दबाब आइहाल्यो, जो सजिलो थिएन ।

कान्तिपुरले त्यसअघि आ–आफ्नो समयका तीनजना सफल सम्पादकहरू पाएको थियो । संस्थापक सम्पादक योगेश उपाध्यायको सन्तुलित नेतृत्वले सुरुवाती अन्योल चिरेर कान्तिपुरलाई स्थापित गर्‍यो । दोस्रा सम्पादक युवराज घिमिरेको भारतमा पत्रकारिता गर्दाको अनुभवबाट न्युजरुमले नयाँ ऊर्जा पायो । कान्तिपुरमै हुर्के–बढेका नारायण वाग्लेले राजनीतिक दृष्टिले सबभन्दा संवेदनशील घडीमा कुशल सम्पादकीय नेतृत्व प्रदान गरे ।

त्यो विरासतको चौथो उत्तराधिकारी बनेर म यहाँ आएको थिएँ १० वर्षअघि । दैनिक पत्रकारिता गर्दै नगरेको मान्छे सम्पादक बनेकामा भित्र–बाहिर आशंका र अविश्वास प्रकट भइहाल्यो, जो स्वाभाविक थियो । त्यसमाथि तुलनात्मक रूपले कम उमेरमै ब्रोडसिटको नेतृत्व– परम्परागत आँखाले पचाउने कुरै थिएन । त्यही पृष्ठभूमिमा कतिपय अग्रज सहकर्मीले नियतवश ‘माओवादी ब्रान्ड’ जोडिदिन खोज्दा धेरथोर भ्रम उत्पन्न भयो । त्यसको कथा लामो छ, कुनै सन्दर्भमा बेग्लै चर्चा गरौंला ।

तपाईं कुनै महत्त्वपूर्ण जिम्मेवारीमा अगाडि बढ्दै हुनुहुन्छ भने पछाडि कसले–के भनिरहेको छ, त्यसमा अल्झिरहने समय हुँदैन । अझ पत्रकारिताले त आफ्ना पाठकलाई केन्द्रमा राखेर निरन्तर अगाडि बढ्न सिकाउँछ । सम्पादकको दायित्व पाठकहरूको विश्वास जित्नेतर्फै केन्द्रित हुनुपर्छ । तर, ऊ एक्लो आफैंमा केही हुँदैन, टिम नै निर्णायक हुन्छ । सुरुमा केही संशय रहे पनि अन्तत: हाम्रो ‘टिम वर्क’ राम्रोसँग जम्यो, जससँग पछाडि फर्केर हेर्ने फुर्सदै भएन ।
***

दी काठमान्डु पोस्टमा अखिलेश उपाध्याय र कान्तिपुरमा म एकसाथ, एकै दिन सम्पादकीय नेतृत्वमा आएका थियौं । अहिले पनि साथै छौं । हाम्रा सबै कुरा मिल्दैनन्, तर धेरै कुरा मिल्छन् । सम्पादकीय नीतिमा पनि त्यही हो । हाम्रा न्युजरुमहरू अलग–अलग छन्, छुट्टाछुट्टै ढंगले काम गर्छौं, तर यसबीच राष्ट्रिय जीवनका अधिकांश आरोह–अवरोहलाई सँगसँगै नियाल्ने–केलाउने अवसर हामीलाई प्राप्त भयो ।

‘जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि हामी हिस्ट्रीको राइट साइडमै हुनुपर्छ,’ हामीले एकअर्कालाई सधैं झक्झकाइरहन्थ्यौं । हामी सदैव इतिहासको सही पाटोमै उभिन खोज्यौं, भलै सफल भयौं–भएनां, त्यसको वस्तुगत समीक्षा पछि कसैबाट होला । हाम्रासामु भने सम्पादकीय नेतृत्व सम्हालेको केही महिनामै परीक्षणको घडी आइहाल्यो– कटवाल प्रकरण ।

नेपाली राज्यको मूल संस्थापन को हो भनेर कसैले सोध्यो भने अहिले पनि जवाफ नेपाली सेना हुन्छ । हामी लोकतान्त्रिक प्रणालीमा छौं, जनताको सर्वोच्चता छ । तर सत्ताको शक्ति विन्यासका दृष्टिले सैन्य वर्चस्व कायमै छ । सायद यो नेपाली लोकतन्त्रको सबभन्दा ठूलो विरोधाभास होला, जसबाट भविष्यमा कुनै दुर्घटना ननिम्तियोस्– कामना गरौं ।

अझ हिजो मुलुकले भर्खरै गणतन्त्रतर्फ पाइला चाल्दै गर्दा सैन्य मामिला अरू संवेदनशील थियो । त्यस्तो अवस्थामा निर्वाचित सरकारका निर्णयप्रति जंगी अड्डाको अवज्ञा नागरिक सर्वोच्चताका दृष्टिले स्वीकार्य थिएन । हामीले स्पष्ट सम्पादकीय अडान राख्यांै– सेनाकोइसारामा सरकार चल्ने होइन, सरकारमातहत सेना रहने हो । तर राष्ट्रपति रामवरण यादवको ‘असंवैधानिक’ हस्तक्षेपले सरकारमाथि सेना हावी भयो ।

प्रधानसेनापति बदल्ने मन्त्रिपरिषद्को निर्णय निष्प्रभावी भयो । प्रधानसेनापतिको पुनर्बहाली भयो, निर्वाचित प्रधानमन्त्रीको विस्थापन ।

सम्पादकीय सधैं सफल नदेखिन सक्छ । त्यो बगेको हावाविपरीत पनि हुन सक्छ । तर त्यहाँ लेखिएका कुराहरू भने सही हुनुपर्छ । नागरिक सर्वोच्चताप्रतिको हाम्रो अडान अहिले पनि उही हो । तर उसबेला प्रचण्ड सरकार किन रक्षात्मक देखियो भने आफ्नो राजनीतिक धरातल बिर्सेर ऊ एकपछि अर्को रोमाञ्चकारी कदम चाल्नेतर्फ उद्यत भएको थियो । त्यसैले राष्ट्रपति यादव स्वयंले ‘असंवैधानिक’ भनेको कदमले वैधानिकता पाइदियो । हामीले भने उनका कदमको दूरगामी दुष्परिणाम औंल्याइरह्यौं ।

विसं २०६५–७२ को संक्रमणकालीन समीक्षा गर्दा राष्ट्रपति यादव एउटा रोचक पात्रका रूपमा देखापर्छन् । उनी कांग्रेसभित्र राजतन्त्र रहनुपर्छ भन्ने मान्यता राख्थे, गणतन्त्रको पहिलो अभिभावक बन्न पुगे । संविधानत: ‘सेरेमोनियल’ थिए, तर सक्रियता सरकार प्रमुखसरह थियो । शीतलनिवासमा कुनै साँझ यस्तो हुन्थेन, जुन दिन त्यहाँ राजनीतिक रात्रिभोज नचलेको होस् । आफूले भेटेका मान्छेहरूसितको संवाद सविस्तार सुनाउने र राजनीतिक विश्लेषण गरिरहन रमाउने उनको स्वभाव थियो । उनी संविधानसभा सफल हुनुपर्छ भन्नेमा दृढ थिए, तर बीच–बीचमा असान्दर्भिक मोह आइहाल्थ्यो– मेरो भूमिकाचाहिँ के हुन्छ ? कटवाल प्रकरणमा हामीले उनको चर्को आलोचना गर्‍यौं, तर उनीसँगका सन्ध्याकालीन संवाद भने टुटेनन् । त्यसका रोचक किस्साहरू थुप्रै छन्, सायद कुनै बखत लिपिबद्ध गरिएला ।

***

एक दिन अचानक खबर आयो– कान्तिपुरका ३९ कन्टेनर ‘न्युजप्रिन्ट’ कोलकाता बन्दरगाहमा रोकियो । पत्रिका छाप्ने त्यो कागज कहिले कोरिया, कहिले क्यानाडालगायत तेस्रो मुलुकबाट आउँथ्यो, भारतीय मार्ग भएर । कोलकाता भन्सारले त्यसलाई रोक्नुको कुनै वैधानिक कारण दिइरहेको थिएन, मात्र दिल्लीको आदेश भन्थ्यो । त्यही सेरोफेरोमा तत्कालीन भारतीय राजदूत राकेश सूदले भारतको संयुक्त लगानी रहेका कम्पनीका कार्यकारीहरूलाई दूतावासमा भेला पारेर कान्तिपुरलाई विज्ञापन नदिन उर्दी जारी गरे । त्यहाँ उपस्थित एक सीईओको भनाइ सुन्दा लाग्थ्यो– राजदूत महोदयको ध्यान कूटनीतिमा होइन, मिडिया नियन्त्रणमा केन्द्रित छ । बहुराष्ट्रिय कम्पनीका विज्ञापनहरू भोलिबाटै रोकिए ।

हामीमाथि ‘नाकाबन्दी’ लागिसकेको थियो । कुनै पनि ब्रोडसिटको न्युजप्रिन्ट र ठूला विज्ञापनहरू रोकिनु भनेको त्यसका हातगोडा कस्नु बराबर हो । आफूबारेका समाचार चित्त नबुझेपछि देशभित्रका नेता र राजनीतिक दलहरूको आक्रोश त आइरहन्थ्यो, यसपटक अखबारी कभरेजलाई लिएर भूराजनीतिक असन्तुष्टिसमेत झेलियो ।

सूदलाई प्रधानसेनापति प्रकरणसम्बन्धी हाम्रो सम्पादकीय नीति मन परेको थिएन । अझ त्यसमा जोडिएको भारतीय भूमिकाको खुलासा चित्त बुझ्ने कुरै भएन । त्यहीताका जमिम शाहलगायत अन्य केही ‘भारतविरोधी’ भनिएका व्यक्तिहरूको रहस्यमय हत्या भएको थियो । केन्द्रीय कारागारमै गएर युनुश अन्सारीमाथि गोली प्रहार गर्दा एक भारतीय सुरक्षाकर्मी पक्राउसमेत परेका थिए ।

नक्कली भारु कारोबारीलाई नियन्त्रण गर्ने नाममा गरिएका ती गतिविधिप्रति सरकार र सुरक्षा संयन्त्रहरू नतमस्तष्क देखिन्थे । राज्य कमजोर भएका बेला पनि नेपाली मिडियाले आफ्नो कर्तव्य बिर्सेन । छिटपुट घटनाबाहेक राष्ट्रिय स्वार्थका मामिलामा नेपालका सञ्चार माध्यमहरू प्राय: विभाजित हुँदैनन्, यो विशेषता उसबखत पनि प्रकट भयो । एउटा भारतीय कम्पनीलाई रीत नपुर्‍याई ‘मेसिन रिडेबल पासपोर्ट’ छाप्न दिन खोजिएको विषयले पनि सञ्चार माध्यममा प्रमुखता पायो । त्यो र मेघालयमा केही नेपालीभाषीलाई जिउँदै जलाइएको बारे सहकर्मी दिनेश वाग्लेले गरेको स्थलगत रिपोर्टिङलाई पनि आपत्तिको विषय बनाइएको रहेछ ।

पृष्ठभूमिका घटना अरू पनि थिए । हामीलाई प्रलोभनका ललिपप त फ्याँकिएकै थिए, धम्कीका सन्देशहरू पनि आउन थाले पालैपालो– सम्पादक र प्रकाशक दुवैलाई । अज्ञात नम्बरको फोनबाट आएका ज्यान मार्ने धम्की त हामीले झेल्दै आएका थियौं, गाडीमा पिछा गर्ने मात्र होइन, ठोक्काउने कामसमेत भयो । ती घटना हामीलाई तर्साउने अभिप्रायले मात्र गरिएका हुन सक्थे तैपनि चनाखो हुनैपर्ने अवस्था आयो । म निकै टाढा कपनमा बस्थें, अफिसछेउ तुलनात्मक रूपले सुरक्षित ठानेर बालकुमारीको ‘हाउजिङ’ मा सरियो ।

हामी भारतविरोधी थिएनौं/होइनौं, तर भारत या अर्को छिमेकी चीनले पनि आन्तरिक मामिलामा अनावश्यक दख्खल दिन्छन् भने त्यो स्वाभाविक रूपमा समाचारको विषय बन्न जान्छ । उसबेला पनि भएको त्यतिमात्र हो । तर, महामहिम सूद सामान्य आलोचना पनि नसहनेमा दृढसंकल्पितझंै देखिन्थे । उनले कैलाश सरलाई स्पष्टसँग भनेछन्– सुधीर शर्मालाई सम्पादक पदबाट हटाएमा रोकिएको न्युजप्रिन्ट पनि आउँछ, विज्ञापन पनि । प्रकाशकहरूसमक्ष प्रलोभनका यस्ता पासा बेलाबखत फ्याँक्ने गरिन्छ, जसमा कोही–कोही फसिहाल्छन्, कोही खरो उत्रन्छन् । कैलाश सरले लेनदेनको त्यो प्रस्ताव ठाडै अस्वीकार गरेको जब मैले थाहा पाएँ, उहाँप्रतिको श्रद्धा अरू बढ्यो । र, त्यसले हाम्रो सहकार्य पनि बढायो ।

कान्तिपुरमाथिको त्यो ‘नाकाबन्दी’ मा भारतीय संस्थापनको कुन स्तरको संलग्नता थियो या त्यो विशुद्ध सूदको सनक थियो– थाहा छैन, तर एउटा लोकतान्त्रिक देश हुनुको नाताले भारतलाई छिमेकी मुलुकको एउटा सञ्चार माध्यमविरुद्ध त्यस स्तरको ‘ज्यादती’ मा उत्रिरहनु सम्भव थिएन । दबाब पनि बढ्दै गएको थियो । भारतकै पत्रपत्रिकामा पनि टिप्पणीहरू आउन थालेका थिए । अन्तर्राष्ट्रिय संघ–संस्थाको भत्र्सना जारी थियो । त्यो सबैको असर देखिन थाल्यो । अन्तत: एक महिनापछि सूद स्वयंले दूतावासका तर्फबाट विज्ञप्ति निकाल्दै कोलकातामा रोकिएका न्युजप्रिन्ट छाडेको घोषणा गरे । ठूलो परिमाणमा ‘डेमरेज’ तिरेर कागज त काठमाडौं आइपुग्यो, तर बहुराष्ट्रिय विज्ञापनहरू निकै महिनासम्म कान्तिपुरमा देखिएनन् । सूद स्वदेश फर्केपछि चाहिँ भोलिपल्टबाटै पूर्ववत: छापिन थाले ।

नेपाल–भारत सम्बन्ध हाम्रो द्विपक्षीय तनावभन्दा माथिको विषय थियो । त्यसैले त्यो घटनापश्चात् पनि हाम्रो हेराइमा कुनै अन्तर आएन । हामीले नेपाल–भारत सम्बन्धबारे फराकिलो दृष्टि राखेरै समाचार र विश्लेषण दिइरह्यौं । तर त्यो एउटा नबिर्सिने घटनाका रुपमा स्मरणमा ताजै छ ।

***

पहिलो र दोस्रो संविधानसभाताका कान्तिपुरको सम्पादकीयमा सबभन्दा बढी छापिएका दुई शब्द सम्भवत: ‘शान्ति’ र ‘संविधान’ थिए होलान् । कतिपय बेला त पाठकलाई त्यो दिक्कलाग्दो ‘क्लिसे’ जस्तो पनि लागेको हुन सक्छ । तर संक्रमणका बेला संविधान निर्माण र शान्ति प्रक्रियाप्रति राजनीतिक दलहरूलाई घच्घच्याइरहनु हाम्रो सुविचारित निरन्तरता थियो । वास्तवमा समग्र नेपाली पत्रकारिताले नै शान्ति र संविधानका पक्षमा दबाब सिर्जना गरिरह्यो ।
पहिलो संविधानसभाको आकस्मिक अवसानपछि संविधान निर्माणको अभियान झन्डै–झन्डै अलपत्र परेको थियो । न्यायालय प्रमुखलाई सरकार प्रमुख बनाउने उल्टो बाटो त्यही बेला अपनाइयो, जसले अदालतभित्र राजनीतिक महत्त्वाकांक्षाको बिजारोपण गरिदिएको छ, जसको दुष्परिणाम भविष्यमा समेत देखापर्न सक्छ ।

त्यही कालखण्डको सहउत्पादन थियो– शाहीकालका एक बदनाम पात्रलाई अख्तियारको डन्डा दिलाउने निर्णय । अदालती सरकारले जेनतेन संविधानसभाको दोस्रो चुनाव गराएपछि चाहिँ संविधान निर्माण प्रक्रिया फेरि राष्ट्रिय कार्यसूचीमा चढ्यो । र, तीन वर्षअघि आएको भूकम्पले दलहरूलाई संविधान बनाइहाल्न उत्प्रेरित गर्‍यो ।

हो र १ २०७२ सालको प्रलयकारी भूकम्प र संविधानबीच साइनो थियो ? घटनाक्रमले देखाउँछ– भुइँचालोले नेताहरूको मन–मस्तिष्क नहल्लाइदिएको भए सायद यति चाँडो संविधान लेखिँदैन थियो । ‘मरेर बाँचेको’ अनुभूतिले धेरैलाई बाँकी–बचेका कार्यहरू सकिहाल्न प्रेरित गरेको हुन सक्छ । भलै संविधान जारी गर्ने वस्तुगत कारण यतिमात्र पक्कै थिएन, त्यसमा भूकम्पको भूमिका कति थियो– युनिभर्सिटी अफ लन्डनका प्राध्यापक माइकल हटले पछिल्लो समय गरिरहेको प्राज्ञिक शोधले धेरै तथ्यहरू खोतल्ला ।

भूकम्पले हामीलाई पनि ठूलै झट्का दियो । काम गरिरहेको भवन चर्केर काम नलाग्ने भएपछि त्यहाँबाट विस्थापित नै हुनुपर्‍यो । अत्यन्त प्रतिकूल परिवेशमा पनि काम गर्न सक्ने पेसागत परीक्षण त्यो घटनाले गरायो । नातागोता मारिएको र घरबार भत्किएको अवस्थामा समेत फिल्ड नछाड्ने धैर्य नेपाली पत्रकारहरूले देखाए । त्यही उहापोहबीच प्रमुख राजनीतिक दलहरू १६ बुँदे सम्झौता हुँदै संविधान लेखनको अन्तिम चरणमा प्रवेश गरे । तर त्यहाँनेर थारू समुदायको माग र मधेसी दलहरूको आन्दोलनलाई बेवास्ता गर्ने गल्ती भने उनीहरूले जान्दाजान्दै दोहोर्‍याइरहे ।

हामीले सम्पादकीय र विशेष सम्पादकीयमार्फत बारम्बार लेख्यौं– प्रक्रिया सार, सहमति जुटाऊ ।
मुख्य दलहरूले सहमति जुटाएर संविधान जारी गर्ने अधिकतम प्रयास गरुन् भन्ने हाम्रो आग्रह थियो । तर दलहरू भने जति गरे पनि सहमति नजुट्ने र संविधान पनि कहिल्यै नबन्ने निष्कर्षमा पुगिसकेका थिए । त्यसैले उनीहरू मधेसी मोर्चालाई बाहिरै राखेर पनि संविधान बनाइहाल्ने हतारोमा देखिए । भारतीय प्रधानमन्त्रीको दूतका रूपमा आएका विदेशसचिव जय शंकरको संविधान रोक्ने हेपाहा निर्देशनले दलहरूको गति अरू बढाइदियो । त्यही पृष्ठभूमिमा संविधान जारी भयो ।

भारतको मोदी सरकार नेपाली दलहरूले स्वविवेक प्रयोग गर्न थालेको र हिन्दु राज्य नबनाई संविधान घोषणा गरेका कारण आक्रोशित थियो । त्यो भन्न सकिने कारण थिएन, त्यसैले उसले मधेस आन्दोलनलाई कारक बनाउँदै आर्थिक नाकाबन्दी लगाइदियो । मधेसलाई उसले त्यसबेलासम्म प्रयोग गर्‍यो, जहाँसम्म त्यसको औचित्य थियो । त्यो नाकाबन्दीको हामीले निरन्तर विरोध गर्‍यौं ।

मधेसी मुद्दालाई बेवास्ता नगर भन्दा हिजो एउटा तप्काले हामीलाई मन पराएको थिएन, नाकाबन्दीको विरोध गर्दा अर्को तप्काले रुचाएन । हामी आफ्नो धारणामा प्रस्ट थियौं/छौं– असन्तुष्ट पक्षलाई समेटेर मात्र संविधान जारी गर्नुपथ्र्यो । तर दलहरूले त्यो कुरा सुनेनन्, ठीक गरेनन् । तथापि त्यसको अर्थ यो हुँदैन कि सार्वभौम संविधानसभाले जारी गरिसकेको संविधानकै विपक्षमा हामी उभिउँ, त्यसको खारेजीको माग गरौं । प्राप्त उपलब्धिहरू जोगाउँदै संविधानकै परिधिभित्र सहमति खोज्नुबाहेक अन्य उपाय थिएन, हामीले त्यसकै वकालत गर्‍यौं । संविधानसभाबाट संविधान ल्याउनुपर्ने हाम्रो पुरानै मान्यता थियो, त्यसमै अडिग रह्यौं ।

अन्तत: त्यही संविधानले दसवर्षे संक्रमणको अन्त्य गरायो । त्यसअन्तर्गत तीनवटै तहका निर्वाचनहरू भए । अब नयाँ सरकारसँग अपेक्षाहरू धेरै छन् । विकास र उन्नतिको दशकौंदेखिको सपना पूरा गर्नुपर्ने चुनौती छ । संक्रमणकालमा अझ बढी विदेशिएका युवालाई देशभित्रै रोजगारी दिन सक्ने सामथ्र्य राज्य र निजी क्षेत्रले बढाउनुपर्ने खाँचो छ । अन्तर्राष्ट्रियस्तरमै खरो उत्रिएका नेपाली डायस्पोराका प्रतिभाहरूलाई स्वदेशमा फर्काउने अग्रसरता चाहिएको छ । प्रधानमन्त्री केपी ओलीको सफलता सम्भवत: यसकै सेरोफेरोमा खोजिनेछ । हामी सधैँझै ‘वाचडग’ कै भूमिकामा हुनेछौँ ।

***

भूकम्पले तीनकुनेको भवन भत्काएपछि हामी २५ वर्षअघि कान्तिपुर जहाँबाट सुरु भएको थियो, त्यहीं फर्कियौं– थापाथलीमा । त्यहाँ बनाइएको आधुनिक न्युजरुम हेर्न आएका एक व्यवसायीले दर्जनौं साथीहरू एकसाथ काम गरिरहेको देखेपछि अनायसै सोधे, ‘उहाँहरूले लेख्ने न्युजको सेन्सरचाहिँ कसरी गर्नुहुन्छ ?’

सायद समाचारको उत्पादन, छनोट र अनुगमन कसरी हुन्छ भन्ने जिज्ञासा थियो उनको । यस्तै प्रकृतिका प्रश्न हामी बारम्बार सुन्छौं : समाचार कसरी बनाइन्छ ? बनाउने निर्देशन कसले दिन्छ ? त्यसमा कस–कसको संलग्नता हुन्छ ? आदि । कहिलेकाहीं त आफैं छक्क पर्छौं– हामीले न्युजरुमको स्वाभाविक प्रक्रियाअनुरूप लेखेको–छापेको समाचारलाई लिएर बाहिर अनेक फूलबुट्टा भरेर बनाइएको अन्तरकथा सुन्दा ।

वास्तवमा हाम्रो न्युजरुम पूर्ण स्वायत्त सिद्धान्तमा सञ्चालित छ । मैले प्रकाशकबाट सम्पादकीय स्वतन्त्रताको जुन अख्तियारी पाएको छु, हाम्रा एक दर्जन ब्युरो प्रमुखहरूले त्यस्तै स्वायत्तताको अभ्यास गर्न पाएका छन् । कुनै पनि समाचार लेखिन र छापिन लायक छ भने त्यसलाई कसैले ‘सिस्टम’ बाट रोक्ने गुञ्जायस हुँदैन । (त्यसै पनि यो सोसल मिडियाको जमाना हो, कसैले कुनै न्युजरुममा समाचार रोक्यो भने त्यो ट्वीटर र फेसबुकमा आइहाल्छ ) यस्तो प्रबन्धले संवाददाता स्वयंलाई जिम्मेवार बनाउँछ भने मनोबल उच्च राख्न पनि मद्दत पुर्‍याउँछ । वास्तवमा सम्पादकीय स्वतन्त्रता नै मुख्य कसी हो– पत्रिकालाई माथि उठाउने या औसत राख्ने भन्ने कुराको ।

तथापि यो सिस्टम सदैव त्रुटिरहित भने हुँदैन । हामी आफैं पटकपटक चिप्लेका छौं । अनुजा बानियाँ र रसेन्द्र भट्टराई प्रकरण यसका उदाहरण हुन् । अझ अनलाइनमा ‘ब्रेकिङ न्युज’ दिने मोहले त जोखिम झनै बढाउँछ । तथापि सम्पादकको जिम्मेवारी नै कस्तो भने– यदि उसले निर्णय लिनमा ढिलाइ गर्छ भने कामै चल्दैन । दैनिक पत्रिका र चौबिस घण्टे अनलाइनको कामले पर्खेर–सोचेर–फुर्सदमा निर्णय लिने छुट पनि दिदैन । निर्णय सकभर सही नै लिन खोज्ने हो, तर हतारमा गरिएको निर्णय सधैं सही नहुन पनि सक्छ । यस्ता क्षणहरू मैले पनि बारम्बार भोगेको छु । राम्रो गरौं भन्दाभन्दै गल्तीहरू भएका छन् । त्यो महसुस भएपछि सच्याउने गरिएको छ । कुन समाचार कहाँ–कसरी–कुन पृष्ठमा छाप्ने या छापिन लायक छैन भने हटाउने– डेस्कलाई केही मिनेटमै दिनुपर्ने सल्लाह र निर्णय आफैंमा संवेदनशील हुन्छ । त्यस्तो बेला यदाकदा ‘इथिकल डिलेमा’ बाट पनि गुज्रनुपर्ने हुन्छ । म पनि त्यसको अपवाद होइन ।

मूलत: कुनै पनि सम्पादक आफ्ना पाठकप्रति उत्तरदायी हुन्छ । उसलाई बाहिर लेखकीय, सम्पादकीय आधारमा हेरिन्छ होला, तर भित्र– न्युजरुममा टिम व्यवस्थापन कसरी गरिएको छ, त्यसको महत्त्व बढी हुन्छ । न्युजरुम व्यवस्थापनको काम कति जटिल र संवेदनशील हुन्छ भन्ने कुरा सम्भवत: ब्रोडसिटका सम्पादक मित्रहरूले बढी राम्रोसँग बुझ्न सक्छन् । सामान्यत: व्यवस्थापनले विश्वास गरेपछि सम्पादक बन्ने हो, तर सम्पादकले आफ्नो टिमको मनोबल उच्च राख्न सकेन भने राम्रो पत्रिका निस्कनै सक्दैन । त्यसैले व्यवस्थापन र सहकर्मीबीचको पुल पनि हो सम्पादक ।

सम्पादकको जिम्मेवारी यति ‘खतरनाक’ हुँदोरहेछ कि तपार्इंले सामाजिक सम्बन्ध राम्रै राखिरहन्छु भनेर नसोच्दा पनि हुन्छ । मेरो हकमा त सामाजिक जीवन पूरै खल्बलियो । राजनीतिक मित्रहरू मात्र हैन, कतिपय आफन्त पनि टाढिए । कारण उही समाचार । कसैलाई समाचार आएकामा झ्वाँक चल्यो, कसैलाई नआएकामा । हामी यस्तो पेसामा रहेछौं– राम्रो समाचारको अपेक्षा गर्नेहरू पनि रिसाउँछन्, नराम्रो समाचार रोक्न खोज्नेहरूले इबी साध्छन् ।

वास्तवमा अपेक्षा यति धेरै हुन्छन्, जो पूरा गर्नै सकिन्न । पत्रकारले जुन विन्दुबाट रिझाउने काम थाल्छ, पत्रकारिताको अन्त्य त्यहींबाट हुन्छ । सायद त्यसैले होला, हामीलाई कुनै राजनीतिक दलले मन पराउँदैनन्, न त शक्ति केन्द्रले । लाग्छ, हाम्रो सफलता यही हो ।

शर्मा कान्तिपुरका प्रधान सम्पादक हुन्।

प्रकाशित : फाल्गुन ७, २०७४ ०९:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×