आँपपीपलतिर डा.आर्ने- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँपपीपलतिर डा.आर्ने

योगदान
संसारको दुई कुनामा रहेका दुई सहर गोरखा र ग्रिमा । एउटा सहरलाई चेपे नदीले उनेको छ, अर्काेलाई मुल्डेले । जसरी गोरखावासीका लागि बाढीपहिरो कुनै नौलो हैन, त्यस्तै कथा ग्रिमावासीको पनि छ ।
सविना कार्की

काठमाडौँ — इन्स्पेक्टर सञ्जित, सब–इन्स्पेक्टर सुन्तली र हवल्दार भैरे मिलेर डन ‘काली’ लाई पछ्याउने क्रममा उनीहरू कहिले यार्चागुम्बु संकलन गर्न गएका किसानको हत्यारा खोजीमा हुन्छन् भने कहिले मृगौला बेचिएको परिवारसँग संवाद गरिरहेका हुन्छन् । कहिले चोरिएका मूर्तिको रहस्य खोजबिन त, कहिले बेचिएकी चेलीको उद्धारमा तल्लीन ।

ती डा. आर्ने ड्र्युजका पुस्तकका पात्रहरू हुन् । जर्मनको दुर्गम गाउँमा जन्मेर शल्य–चिकित्सक बनेका उनको जीवनमा नेपाल सर्वप्रिय छ । सम्पत्तिको कमी छैन, अभाव खासै छैन र सुखी परिवारको जीवन बाँचेका त छन् तर मानसपटलमा नेपालका चेपाङहरूले एक वर्षदेखि खान नपाएर भ्यागुता समातेर जीविकोपार्जन गर्नुपरेको यथार्थ सलबलाइरहेछ ।

‘सन् १९९४ तिर डा.सरोज धितालले चितवनको विकट क्षेत्रमा चेपाङहरूका लागि स्वास्थ्य शिविर स्थापना गर्ने भए । मलाई त जसरी नि जानु थियो । यो अवसरले मेरो आँखा खोलिदियो । चेपाङहरूले ८/९ महिनादेखि खानै पाएका थिएनन् । जंगलका जरापात र भ्यागुताहरू खाएर बसेका थिए । मैले तत्कालै सोचें, अब त केही गर्नैपर्छ,’आफ्नो पुस्तक विमोचन क्रममा नेपाल आएका उनले सुनाए ।

‘तत्पश्चात् थाहा भयो, हामी जर्मनहरू त धेरै सुविधामा रहेछौं । हामीले पाउने अवसरको थोरै मात्र पनि यता दिन सके धेरैको कल्याण हुनेछ । यहाँ त ती अबोध नानीबाबुले पढ्न पनि पाएका छैनन् । मैले सोचें, केही गर्नैपर्छ । शब्दमा मात्र हैन, काममा पनि । मेरा साथीहरूको जमात बनाउनुपर्छ र यताका कुराहरू सुनाउनुपर्छ । सहयोगी हातहरू जुट्नेछन् र हामीले नेपाल मेड भन्ने संस्था गठन ग‍र्‍यौं । अब त संस्था खोलेको पनि १८ वर्ष पो भैसकेछ,’ पत्रकारहरूमाझ मन्द मुस्कान छर्दै उनी ती दिन सम्झँदै थिए ।

डा. आर्ने ड्र्युज आफ्नो नेपालसँगको नाता पनि खोल्दै थिए— अग्ला हिमाल र पहाडहरू हेर्न आएको थिएँ । तर, हिमालभन्दा अझ धेरै विषयहरू रहेछन् जसले मलाई बारम्बार यता आउन आतुर गराउँछ । यी मन्दिर, गुम्बाहरू अनि सांस्कृतिक सुन्दरता त छँदै छन्, अझ गजब लाग्छ यहाँका मनिसका अनुहारमा देखिने सदावहार मुस्कान हो ।


एक जना नेपाललाई माया गर्ने विदेशी नवयुवकको मनमा जागेको उत्साहबाट सुरु भएको यो पहलले गर्दा अहिले गोरखास्थित आँपपीपल अस्पताललाई निरन्तर सहयोग जारी छ । वार्षिक सरदर २ लाख युरो जर्मन नागरिकबाट सहयोग संकलन गर्छ र नेपालको स्वास्थसेवामा खर्च गर्छ । ‘नेपमेड’ को सहयोग अहिले त गोरखा अस्पताल, कीर्तिपुर अस्पताल, अन्नपूर्ण न्युरोलोजिकल हस्पिटल र मनमोहन अस्पतालसम्म फैलिएको छ । संख्यामा सानै देखिए पनि दीर्घकालीन प्रभाव भने मनग्गे पर्ने देखिन्छ ।

नेपालका लागि सहयोग जुटाउने डाक्टरको शैली भने फरक छ । ‘हामी बेलायत र अन्य युरोपेली मुलुकमा डाक्टरी पढिरहेका विद्यार्थीलाई नेपालमा कुनै स्वयंसेवी कामका लागि बोलाउँछौं । उनीहरूलाई नेपालको मनोरम झलकले रोमाञ्चक बनाउँछ । यसरी उनीहरू एकातर्फ समाजसेवामा सरिक हुन्छन्, अर्कातर्फ ती भविष्यका होनहार डाक्टरको विश्व समुदायलाई हेर्ने नजरमा फरक पर्छ । जब कसैले जीवनको यथार्थ आफ्नै आँखाले देख्दैन, तबसम्म विषयको गहनताको अनुमान लगाउनै सक्दैन । यसरी ती डाक्टरहरू अझ ठूलो मन लिएर आफ्नो देश फर्कन्छन् । यसले उनीहरूको जीवनशैली नै परिवर्तन गर्न निकै सहयोग गरिदिन्छ । वास्तवमा ती अझ असल र चिकित्सक बन्न सहयोग पुग्छ । सायद यसले उनीहरूलाई चिकित्सा सेवाको धरातल र भिन्नतासम्बन्धी प्रत्यक्ष ज्ञान दिएको छ । फर्केर उनीहरू एक रिपोर्ट बनाउँछन् र प्राय:ले आफ्नो विश्वलाई हेर्ने दृष्‍िट बदलिएको पाएका छन् । यो नै हाम्रो सफलता हो । ती फर्किन्छन् र हाम्राबारेमा कुरा गर्छन् । यताको आवश्यकताबारेमा चर्चा गर्छन् जसले हामीलाई नेपालका गाउँघरमा चलिरहेका परियोजनालाई चुस्त र फलदायी बनाउन अहम् भूमिका खेलेको हुन्छ ।

गौरवका साथ सुरुआती दिनका बारेमा डा. भन्दै जान्छन्— हामीले आफ्नै पहलमा २ हजार युरोमा सुरु गरेका थियौं र अहिले वार्षिक २ लाख युरो (२ करोड रुपैयाँ) हाराहारी उठेको छ । यसबाट नेपालमा कार्यरत डाक्टरहरूलाई नयाँ प्रविधिहरू उपलब्ध गराउन सकेका छौं । हामी दुर्गमका हेल्थपोस्टमा पनि जान्छौं । गोरखाको आँपपीपल अस्पतालसँग त साथै काम गरिरहेकै छौं । धेरै अस्पतालसँग हामी नजिकिन पाएका छौं तर आँपपीपलसँगको हाम्रो सम्बन्धको कथा आफ्नै छ ।

कुनै बेला विविध कारणले त्यस अस्पतालमा डाक्टरहरूले काम छोडे, दाताहरूले पनि हात झिके तर एक जर्मन डाक्टर स्टार्क ९ वर्षसम्म एकल सेवा गरिरहे— त्यो पनि नि:शुल्क । वास्तवमा उनी चौबीसै घण्टा सेवामा हाजिर हुन तयार हुन्थे । यसरी अस्पतालले पुनर्जीवन पाउन उनको पनि योगदान रह्यो । सो योगदानको निरन्तरता हामीले दिएका छौं ।
पालुङटार नगरपालिका, चेपे नदीको आडमा अवस्थित आँपपीपल अस्पतालमा हाल ४६ शय्या छन् । दैनिक ५५ देखि ११० बिरामीको आवतजावत हुने आँपपीपल गोरखाका दुई अस्पातालमध्ये एक हो । आधुनिक डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड र अत्याधुनिक प्रयोगशालाले सुसज्जित यस सरकारी अस्पतालको सञ्चालन समितिमा स्थानीयकै सक्रियता हुने गरेको छ । हामी नेपालीकै नेतृत्वमा काम गर्छौं ।

यो अस्पताल बारपाक नजिकै छ । विनाशकारी भूकम्पले वरपर ठूलै क्षति गर्दासमेत यस अस्पतालले सेवा सुचारु राखिरह्यो । पहिलो पटक गोरखा जाँदा मनसुनको मौसम थियो । जर्मनीतिर मनसुन खासै हुँदैन । यताको त मौसम नै रोमाञ्चक । गोडेटो, घोडेटो, बाटा, अग्ला पहाड, भरियाहरू । एक प्रकारको अद्भुत अनुभव थियो भने अर्कातर्फ मलाई ती जटिल जीवनको यथार्थले छटपटाहट हुन्थ्यो ।

आफ्नो बलबुताले भ्याएसम्म नेपालका अत्यत्न विपन्न वर्गसम्म स्वास्थ्य सेवा पु‍र्‍याउने उनको सपना छ । सोलुखुम्बुको फेरास्थित स्वास्थ्य चौकीलाई स्वावलम्बी बनाउने उनको होस्टेमा नेपालमेडका सहकर्मीहरूले हैंसे गरेका छन् । अब अर्काे वर्षमा त्यो सपना साकार हुने उनले देखेका छन् । त्यस्तै ओखलढुंगाको जन्तरखानी मैदाने र सिन्धुपाल्चोक सिपाघाटका स्वास्थ्य चौकीलाई पनि उनको अगुवाइमा अत्यावश्यक सरसामान जुटाउन सहयोग गरिएको छ ।

गोरखा हेरिटेज ट्रेक परियोजना पनि नेपालमेडको अगुवाइमा सञ्चालनमा आएको छ । यसको मूल अभिप्राय स्वास्थ्य सहयोगको रकम संकलन भए पनि गोरखा र सेरोफेरोका सांस्कृतिक विशेषता, भौगोलिक आकर्षण अनि गुरुङ समुदायको उच्च आतिथ्यको सम्मिश्रणले एकातर्फ पर्यटकलाई आकर्षित गरिरहेको छ भने अर्कातर्फ प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोजगारीका अवसर उब्जिएका छन् । यात्रामा निस्कनेहरूले आँपपीपल अस्पतालको भ्रमण पनि गर्ने गरेका छन् ।

तर, उनले केही गुनासा पोख्दै भने, ‘हेर्दाखेरी काठमाडौंमा सबै कुरा छ तर भित्री अवस्था भने अर्कै छ । यहाँ जसले २० युरो मासिक कमाउँदैन, उसले ६८ युरो बराबरको शल्यक्रियाको खर्च बेहोर्नुपरेको छ । खर्च कसरी जुटाउँछ ? सरकारको स्वास्थ बिमाले समस्त जनतालाई समेट्न सके यसमा ठूलो राहत हुने थियो ।’

अनुमतिबिनै नेपालका अस्पतालमा कार्यरत केही विदेशी चिकित्सकलाई राष्ट्रिय अनुसन्धान विभाग र नेपाल मेडिकल काउन्सिलको संयुक्त प्रयासमा कारबाही गरिएपछि इमानदारले पनि इजाजतका लागि समस्या झेल्नुपरेको उनको अनुभव छ ।

‘विदेशबाट आएका पोख्त र अनुभवी चिकित्सकले आफ्नो सीप सिकाउने कुरामा नेपाल सरकारको भर्खरैको नीतिले अलि बाधा गरेको रहेछ । विशेषत: चिकित्सक दर्ता प्रक्रिया अलिक झमेलायुक्त रहेछ । हामी कहिल्यै हतोत्साहित भने हुँदैनौं किनकि हरेक नीतिका आफ्नै विशेषता हुन्छन् । जर्मनीमा पनि यस्ता धेरै समस्या हुन्छन् तर जबसम्म हाम्रो नियत सफा रहन्छ समस्याहरू पनि समाधान हुँदै जान्छन्,’ डा. आर्ने ड्र्युज ढुक्कै छन् ।

आँपपीपल सानै स्तरको भए पनि अब एक आधुनिक अस्पताल बनिसकेको उनले ठहर गरेका छन् । पहिले सडक नभएको, लिगलिग दौडको कथाजस्तै अस्पतालसम्म पुग्न ढुंगेबाटाहरू पार गर्नुपर्ने र डोकोमा बिरामी सार्नुुपर्ने अवस्थाबाट अहिले धेरै उन्नति भैसकेको उनको ठहर छ ।

स्थानीयवासीहरूसँगको एक दशक पुरानो आफनो स्मृतिलाई ताजा गराउँदै डाक्टर भन्दै थिए, ‘सन् २००५ तिर सुरुआतमा दुई किलोमिटर सडक निर्माणमा हामीले पहल गर्‍यौं । अनि सरकारले पूरै पक्की सडक निर्माण गरिदियो । अब त २४ सिटे बस पनि सञ्चालनमा आएको छ । यसले पालुङटारका बिरामीसम्म हाम्रो सेवा फैलिन सकेको छ ।’

जर्मनीवासी धेरैको यसमा साथ रहेको यथार्थ पोख्दै डा. ड्र्युज भन्छन्, ‘मेरा जर्मन मित्र हाइनको डिजाइनमा अहिले फोहोर व्यवस्थापन प्रविधि पनि सुरु गरिएको छ । जर्मनीका लागि नेपालका अवैतनिक वाणिज्य दूत रामप्रताप थापा हाम्रो संस्थामा आधिकारिक रूपमै आबद्ध हुनुहुन्छ । हाम्रो काम सहज बनाउन सधैं तल्लीन हुनुहुन्छ ।’

डाक्टर नेपालप्रतिको अथाह मोह पोख्दै अगाडि भन्छन्, ‘जर्मनीमा मेरो हरेक बिहानी नेपालबाट आएका इमेलबाटै सुरु हुन्छ, लन्च पनि त्यसरी नै बित्छ र सुत्नुअगाडि पनि तीनै इमेलको प्रत्युत्तरमा बित्छ । कि त क्लिनिक कि त नेपाल । मेरो जीवन यस्तै छ । क्लिनिक प्रतीक्षालयमा नेपाली अस्पतालका बारेमा स्लाइड राखिएका छन् जुन देखेर कैयौंले सेवाका हात फैलाउने गरेका छन् ।’

उनी भन्छन्, ‘एक दिन मेरै क्लिनिकमा उपचार गर्न आएकी एक प्रौढले सोधिन्, ती बाहिरका तस्बिर कताका हुन् ?’ मैले उत्तर दिएँ, ‘नेपाल ।’

उनले भनिन्, ‘म पनि सहयोग गर्छु ।’ यसरी थोपाथोपा बटुलिएर नदी बनेको हो ।

संसारको दुई कुनामा रहेका दुई सहर गोरखा र ग्रिमा । एउटा सहरलाई चेपे नदीले उनेको छ, अर्काेलाई ‘मुल्डे’ ले । जसरी गोरखावासीका लागि बाढीपहिरो कुनै नौलो हैन, त्यस्तै कथा ग्रिमावासीको पनि छ । बेलाबखत आफ्नो विशाल प्राकृतिक शक्तिको परीक्षण गर्छिन्, मूल्डे पनि ।

चाहे जेजस्तो होस्, जर्मनीको व्यस्त सहर ‘लिपजिग’ को २५ किलोमिटर दक्षिण–पूर्वको सानो गाउँ ग्रिमाबाट नेपाललाई अनन्य माया गर्ने चिकित्सकको एक समूह भने हरबखत नेपालकै बारे सोचिरहेको हुन्छ ।

प्रकाशित : वैशाख २२, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

यो मेरो पहाड हो

कान्तिपुर संवाददाता

काठमाडौँ — नभन्नु कसैले यो उजाड हो यो मेरो पहाड हो

नभन्नु कसैले यो उजाड हो
यो मेरो पहाड हो
मेरै सन्ततिको हाड हो

अबेर गरि झस्किएको यो जो छ
त्यो मेरो पहाड हो
मटुनेर चस्किएको जो छ
त्यो मेरो पहाड हो
वर–पर धस्किएको जो छ
त्यो मेरो पहाड हो
नभन्नु कसैले यो गलगााड हो
किंवा मेरू खुस्केको ढाड हो
यो मेरो पहाड हो

बार्‍है मास धुस्किएको मौसम जहाा छ
त्यो मेरो पहाड हो
मनका कुना–कन्दरा गुम्सिएको जहाा छ
त्यो मेरो पहाड हो
हात्तीको भीमकाय सपना फुस्किएको जहाँ छ
त्यो मेरो पहाड हो
नभन्न कसैले यो ताँदोबिनाको काँड हो
किंवा निकम्मा ठाँड हो
यो मेरो पहाड हो

हारेर पनि विजेताको हाँक दिने जो छ
त्यो मेरो पहाड हो
मरेर पनि ब्युँतिएको ठाँट देखाउने जो छ
त्यो मेरो पहाड हो
परितन्त्रमा खुनको हरियाली जहाँ खिलेको छ
त्यो मेरो पहाड हो
सागरको बादलले ढाकेको डम्म चुचुरो जुन छ
त्यो मेरो पहाड हो
नभन्नु कसैले यो जुठो परेको चाड हो
किंवा हावा पसेको जाँड हो
यो कसैको आड हो
यो मेरो पहाड हो

नभन्नु कसैले यो उजाड हो...
–गान्तोक, सिक्किम

प्रकाशित : वैशाख २२, २०७५ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×