कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तथ्यांकहरुको भरतनाटयम्

काठमाडौँ — मञ्चबाट वमन गर्दै छ त्यो
तथ्यांकबाज वित्तमन्त्री

तथ्यांकहरुको भरतनाटयम्

मञ्चबाट वमन गर्दै छ त्यो
तथ्यांकबाज वित्तमन्त्री

कुल घरेलु उत्पाद यति
प्रतिव्यक्ति आय यति

मानवकंकालको रिसाइक्लिङबाट बनेको औषधिबाट
वार्षिक आय यति
प्रशोधित आँसुबाट बनेको शक्तिबद्र्धक पेयको निर्यात यति

कम्प्युटरको खेतमा सूचनाको बाली
बालमजदुरको सूचना
महिला तस्करीको सूचना

एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा
लुकामारी खेल्दै छन् आँकडाहरु
फाल हान्दै छन् आँकडाहरु
प्रतिबीस सेकेन्डमा एक नारीको बलात्कार
प्रतिदिन पाँच किसानद्वारा आत्महत्या
आँकडाको महाकुम्भमा
कति आँकडा डुबिमर्दै छन्, कति तर्दै छन्

जति बढ्दै छ भोकको क्षेत्रफल
उति हत्याराहरुलाई हत्याको अवसर बढ्दै छ
तस्करलाई तस्करीको
कविलाई कविताको सम्भावना चुलिँदै छ

सूचनाको एसिडवर्षाबाट गाउँगाउँ थलिएको छ
यो सूचना हो कि अनुभूति ?
अनुभूति हो कि सूचना ?
बौद्धिक माफिया विमर्शमा छ

मालसित माल ठोक्किँदै छ
ढ्रङ ढ्रङ ढ्रङ
मान्छेलाई सधैं तन्नेरी बनाउने माल
तन्देरीलाई वीर बनाउने माल
रत्नाकरलाई वाल्मीकि
वाल्मीकिलाई रत्नाकर बनाउने माल
खाएको पचाउने
नखाईकन अघाइने माल
भगवान् भेटिने अचुक बाटो
पुरानो भगवान्सित नयाँ भगवान् साट्न पाइने अवसर

तथ्यांकहरुको यो कस्तो भरतनाटयम्
ताधिन् ताकाधिन् ताकाताका धिन् धिन्

यता जमिन सबै खोसिएपछि
आदिवासी रुखहरु ठिंग उभिएका छन्
धरतीको एक कुनामा

आकाशको टोपीमा छेड पार्ने को हो ?
आकाशले सूचना मागेको छ

मेरा छोराछोरी कति बेघर छन् ?
पृथिवीले सूचना मागेकी छन्

तिर्खाले कहाँकहाँ कोको मर्दै छन् ?
समुद्रले सूचना मागेको छ

– कालेबुङ, पश्चिम बंगाल

प्रकाशित : वैशाख २२, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?