कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

स्रष्टालाई सिर्जना घर

साहित्यिक पर्यटनको अवधारणामा गोदावरीमा बनेको छ एउटा होमस्टे– द वृत्त ।
सुनिता साखकर्मी

काठमाडौँ — रमाइलो हरियाली दृश्य । जंगलभित्रबाट निस्किएको ताजा हावाले मन र मस्तिष्क दुवैलाई फुरुङ्ङ पारिदिन्छ । यस्तोमा सिर्जना कोर्दाको आनन्द बेग्लै हुन्छ । स्रष्टालाई लक्षित गरेर गोदावरीमा ‘द वृत्त’ अर्थात् ‘सिर्जना घर’ होमस्टे सञ्चालनमा ल्याएका छन् । यहाँ स्रष्टाले शान्तसँग बसेर स्रष्टाले सिर्जना साधना गर्न सक्छन् ।

स्रष्टालाई सिर्जना घर

यसका परिकल्पनाकार एवं सञ्चालक हुन्— साहित्यकार होम परिवाग । ‘स्रष्टा या चिन्तकहरूको सानो कामले बीसौँ वर्ष प्रभावित गरिदिन सक्छ,’ उनले भने, ‘त्यसका लागि उत्कृष्ट सिर्जनात्मक माहोल दिन खोजेको हुँ ।’ अहिले समसामयिक कृतिमा प्राय: अतिरञ्जना लेखिने उनले दाबी छ । ‘विदेश गएपछि त नेपाली हुनुको सिर्जनशील परिचय नै छैन । त्यसका लागि हाम्रो साहित्य, कला, संस्कृति, जीवनदर्शनजस्ता पक्ष सशक्त बनाउनुपर्ने हुन्छ । त्यसको सानो जग बसाउन आफूले सघाउन चाहेको परिवागले बताए ।


लामो समयदेखि बेलायत बस्दै आएका परिवागलाई एउटा घटनाले बारम्बार घोचिरहने रहेछ । विसं २०४९ तिर उनी नेपालमै थिए, जापानबाट एक जना चित्रकार साथीसहित साहित्यकार युकी उपन्यास लेख्न नेपाल आएका थिए । जापानको न्युक्लियर भट्टीले निम्त्याउन सक्ने सम्भावित खतराबारे उपन्यास लेख्न चाहन्थे युकी । झन्डै महिनादिन बसेर उनले चिया र पाउरोटीको भरमै उपन्यास लेखे । फर्कने बेलामा बेखर्ची बने । तिनताक पर्यटन मन्त्री थिए– रामहरि जोशी । परिवागले मन्त्री जोशीलाई भनेर भिसाको डेट थपिदिए अनि फर्किने वातावरण पनि बनाइदिए । ‘उनीहरूजस्ता त नेपालमा थुप्रैलाई आकर्षित गर्न सक्छौं’, परिवागले भने, ‘त्यसका लागि वातावरण मुख्य कुरा हो ।’


स्रष्टा लक्षित होमस्टे खोलेर खासमा उनले वातावरण बनाउन चाहेको सुनाए । अन्तर्राष्ट्रिय पहुँचमा नेपाली कला, साहित्य र संस्कृतिको विस्तार अर्को उद्देश्य हो । बेलाबेलामा अन्तर्राष्ट्रिय लेखक, प्रकाशक र वितरकहरूलाई डाकेर काम गर्ने सोचमा छन् उनी ।


अध्ययनको सिलसिलामा विसं २०५३ मा बेलायत पुगेका परिवागले उतै छँदा सिर्जना घरको परिकल्पना गरेका थिए । मुलुकमा जनयुद्ध चलिरहेको कारण पढाइ सकिए पनि उनी उतै बसे । यसै दौरान अंग्रेजी साहित्यका कृतिहरू पढे र त्यसमै कलम पनि चलाउन थाले । उनले पश्चिमा स्रष्टाहरू किताब लेख्नकै लागि घरबाट पर शान्त माहोल खोज्दै महिनौं यात्रा निस्कने गरेको थाहा पाए ।


यसबाट प्रभावित उनले मुलुक फर्केर (सन् २०१४ मा) होमस्टेको जग हाले र, गत फागुन अन्तिम सातामा यसको उद्घाटन भैसकेको छ । ‘यो साहित्यिक पर्यटनको अवधारणा पनि हो,’ उनले भने ।
‘सिर्जना घर’ मा सुविधा सम्पन्न आठवटा कोठाहरू छन् । सबै फ्लोरमा भिन्नाभिन्नै किचेन, बैठक कोठा, प्रोग्राम हल छन् । स्रष्टा आफैंले पकाएर खाने व्यवस्थासहित । ध्यान गर्ने हल र वरिपरिका दृश्य हेर्दै लाइभ चित्र कोर्ने थलो पनि बनाएका छन् उनले । ‘मौसम खुलेको समय माछापुच्छ्रे, गणेश हिमाल, जुगलदेखि गौरीशंकरसम्मका सातवटा उच्च हिमशृंखला एकै ठाउँबाट देख्न सकिन्छ,’ उनले भने, ‘नेपाली तथा पश्चिमा खानाका विभिन्न परिकारहरू, यातायातको सुविधा, लेखनका लागि आकर्षक प्राकृतिक सजावट, रमणीय वनस्पति उद्यान (गोदावरी उद्यान) तथा खुला ठाउँमा हिँडडुल गर्न पनि सहजता छ ।’

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?