१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संस्कृते, गोर्खे र नेपाली भाषा

प्रतिक्रिया

काठमाडौँ — ‘कोसेली’ (२०७४ फागुन २६) मा प्रकाशित पिटर जे कार्थकको ‘आईबी राई दार्जिलिङका मदनमणि’ शीर्षकको लेख पढेपछि मेरो सोझो पाठक मन प्रश्नहरूको कारखाना बन्न पुग्यो । कार्थकको त्यस्तो तर्कमा कति विद्वता छ र, कति मूर्खता छ— मैले त्यसको निर्णय गर्न खोजेको होइन ।

संस्कृते, गोर्खे र नेपाली भाषा

मैले उनको लेखमा रहेका कमीकमजोरी खुट्याउन खोजेको पनि होइन । मेरो बुझाइले उनको विचारलाई पटक्कै समर्थन नगरेपछि त्यसको सट्टा प्रतिक्रिया लेखेको हुँ । मैले लेख्नुको औचित्य मेरो विचार र तर्क नै अन्तिम सत्य हो भन्न खोजेको होइन ।

यो प्रतिक्रिया लेखिनुको पहिलो कारण कार्थकले आईबीलाई दार्जिलिङका मदनमणिको उपमा दिने कार्यबाट जन्मेको छ । इन्दबहादुर राई अनि मदनमणि दीक्षित एकअर्काको ‘उपमान र उपमेय’ होइन । यी दुई स्रष्टा एकआपसमा अनुपमा हुन् किनभने यी दुवै स्रष्टाको नेपाली साहित्य जगत्मा आआफ्नो विशिष्ट स्थान छ । यो जगत्मा उनीहरूलाई दार्जिलिङ र नेपालको भनी भागबन्डा गर्न उचित हुँदैन । साहित्यको कुनै भौगोलिक सीमा हुँदैन, त्यसैले पनि ‘मदनमणि नेपालको इन्द्रबहादुर र इबरा दार्जिलिङको मदनमणि’ भन्नु भनेको यी दुवै स्रष्टाले नेपाली साहित्यको विकासमा पुर्‍याएका साहित्यिक योगदानको उपेक्षा गर्नु हो । नेपाल र दार्जिलिङको मात्र होइन, यी दुवै स्रष्टा सम्पूर्ण नेपाली साहित्यकै स्थापित साधक हुन् । राईलाई दार्जिलिङको मदनमणि मान्नुअघि यो विषयमा फेरि एक पटक गहिरो चिन्तन गर्नुपर्नेजस्तो पनि देखिन्छ ।

दोस्रो कारण फेरि ‘आज रमिता छ’ उपन्यास ‘दार्जिलिङे कथा हुँदै होइन, मञ्जुश्री थापाले किन रोमाञ्चित भएर अंग्रेजी अनुवाद गरिन् ?’ भन्ने कार्थकको यो वाक्य पढेपछि म थप असमञ्जसमा परें । एक क्षण त, साँच्चि नै त मञ्जुश्रीले किन यो उपन्यास अनुवाद गरिन् भनेर । ‘कोसेली’ को त्यही अंकमा मञ्जुश्रीले लेखेको ‘भाग्यमानी म’ टिपोट पढेपछि म भ्रमको जालोबाट मुक्त भएको थिएँ । अनुवादक मञ्जुश्रीले ‘आज रमिता छ’ दार्जिलिङे कथा भएर होइन, नेपाली साहित्य जगत्को एक उत्कृष्ट औपन्यासिक कृति भएको आधारमा अनुवाद गरिएको बताएकी छन् ।

‘आज रमिता छ’ उपन्यासलाई दार्जिलिङको अनुकरण नभएर ‘पुनर्सिर्जन’ मान्न सकिन्छ । पुनर्सिर्जन भएको कारण नै त्यसमा उपन्यासकार राईले उपन्यासअनुकूल समाजशास्त्रको प्रयोग गरेका छन् जो दार्जिलिङजस्तो देखिन्छ । त्यो लेखकीय स्वतन्त्रताको कुरो हो । कुनै पनि पाठक या आलोचकले त्यसमा हस्तक्षेप गर्न पाउँदैन, गर्नु पनि हुँदैन ।

तेस्रो कारण, संस्कृते भाषा भनेर उनले राईका ‘आज रमिता छ’ उपन्यासको भाषाशैलीलाई नामकरण गरेका छन् । कार्थकले ‘आज रमिता छ’ यतिबिघ्न संस्कृते छ कि यसलाई पहिला नेपालीमा अनुवाद गर्नु जरुरी भनेर भनेका छन् । उनले पादरी गंगाप्रसाद प्रधानको सन् १९२३ को भनाइलाई आधार मानेर यो विचार व्यक्त गरेका रहेछन् । कार्थकले संस्कृत शब्द मिश्रण भएको लेखनलाई काशीभाषे बोली भन्नुपूर्व नेपाली भाषाको उत्पत्ति–स्रोत के हो (?), त्यसबारे विचार गर्नु उत्तम हुने थियो । पिटरको टिप्पणीमा वैचारिक पक्ष नभएर भावनात्मक पक्ष आएजस्तो देखिन्छ ।

कार्थकले ‘आज रमिता छ’ को भाषाशैली दार्जिलिङको जस्तो छैन भनेका छन् । म दार्जिलिङवासी भएको नाताले यो बहकाउको खण्डन गर्छु, ‘सब चोरैचोर भेला भाको (पृ.४३), तिहुन, शञ्चबार, काँ आदि जस्ता संवाद र शब्दहरू दार्जिलिङे हुन् । यथार्थमा उपन्यासमा हुबहु दार्जिलिङे भाषा प्रयोग गरेको भए यो साहित्यिक कृति नभएर एउटा वृत्तचित्र
बन्ने थियो । ‘आज रमिता छ’ नेपाली साहित्यको उत्कृष्ट औपन्यासिक कृति हो, दार्जिलिङको वृत्तचित्र होइन ।

यथार्थत: दार्जिलिङे बोलचालको भाषा एउटा पूर्ण भाषा नभएर नेपाली भाषाअन्तर्गत पर्ने भाषिका मात्रै हो । त्यसमा कहींकतै संस्कृत शब्द आउनु आपत्तिजनक होइन, नेपाली भाषा संस्कृतबाट अपभ्रंश हँुदै आएको हो । दार्जिलिङे जनमानसले गोर्खाल्यान्ड आन्दोलन गर्दैमा त्यहाँको भाषालाई ‘नेपाली नभएर गोर्खे’ भन्नु भनेको भाषा–साहित्यमा व्यापकताको उपेक्षा गर्नु हो । हाम्रा दार्जिलिङे नेपालीभाषीले पनि यो सन्दर्भमा सचेत हुनुपर्छ । जब दार्जिलिङ क्षेत्रको भाषा ‘गोर्खे’ भनेर चिनिन्छ, त्यसबेला हाम्रो भेगका साहित्यकारमाथि अन्याय हुन हुन्छ । बंगलादेशको राष्ट्रभाषा बंगला हो, त्यही भाषा हाम्रा राज्य पश्चिम बंगालका बंगाली समुदायले बोल्दा त्यसमा आपत्ति रहन्न । तर, हामी दार्जिलिङका नेपाली र गोर्खे समुदायले बोलिने भाषालाई नेपाली भन्दा किन आपत्ति व्यक्त गर्नु ?

कार्थकले ‘आज रमिता छ’ लाई ‘माधवी’ जस्तै भनेका छन् तर यी दुइटा उपन्यासमाझ विचारधारा, भाषाशैली र संरचनागत प्रवृत्ति सबै पक्षले पनि अन्तर देखिन्छ । ‘माधवी’ ले जीवनदर्शन र प्रगतिवादको गोरेटोलाई मूलमार्ग चयन गरेको छ भने ‘आज रमिता छ’ ले एकसाथ सामाजिक यथार्थवाद, अस्तित्ववाद, विसङ्गतिवाद र मनोविश्लेषणलाई समाएको छ । मैले यी दुवै उपन्यासको गद्यांशलाई उदाहरणमा लिएको छु ।

—‘निस्पृह यायावरहरूले मोहरमित भएर उशीनरहरूलाई छोडेर गए, यद्यपि तिनीहरूले उशीनरहरूबाटै सबभन्दा बढी ध्यान र सम्मान पाउने गर्थे । तिनको बन्दनारहित प्रस्थानलाई भरिएको मुटु लिएर हेरी रही माधवी’ (माधवी ४५०) । —‘संसार सुन्दर छ, जीवन दु:खमय छ । मानिसले जीवनको रंग फेर्ने प्रयासमा सामूहिक हर्षदिवसहरू रचे । नगरा र झ्याम्टाका गम्भीर र थर्कने आवाज दुई अथक पुरुष र स्त्रीजस्ता समान परिमित कदममा नाचिरहेका थिए (आज रमिता छ १०९) ।

प्रस्तुत गद्यांश उपन्यासकारको वर्णन गर्ने आफ्नै शिल्प हो । यत्तिको भाषा शैलीलाई पनि कार्थक संस्कृते भनेर नेपालीमा अनुवाद गर्न जरुरी छ भनिरहेका छन् । साहित्य बुझ्नलाई पाठक उठ्नुपर्छ, बुझिने बन्नलाई साहित्य झुक्नु हुँदैन । यसर्थ मदनमणि नेपालको इन्द्रबहादुर र इन्द्रबहादुर दार्जिलिङका मदनमणि होइन । यी दुवै स्रष्टा नेपाली साहित्यको विशिष्ट प्रतिभा हुन् ।

—अमर निराकार राई
दार्जिलिङ
[email protected]

प्रकाशित : वैशाख १, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?