कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विज्ञान नपढेका वैज्ञानिक

व्यक्ति
चेतनाथ आचार्य

काठमाडौँ — उनले स्नातक तहसम्म विज्ञान विषय पढेकै थिएनन् । मानविकी संकायमा अंग्रेजी मुख्य विषय लिएर जसोतसो स्नातक गरेका उनी मध्यमस्तरका विद्यार्थी थिए । उनी अर्थात् दाङका डा. प्रकाश अधिकारी यतिबेला चीनको बेइजिङमा वरिष्ठ वैज्ञानिकका रूपमा कार्यरत छन् ।

विज्ञान नपढेका वैज्ञानिक

दाङबाट स्नातक गर्न काठमाडौँ आएका प्रकाश अधिकारीले पढाइसँगै गोठाटारको एक निजी विद्यालयमा तीन महिना शिक्षण कार्य पनि गरेका थिए । स्कुलले तलब नदिएपछि त्यो काम छोडेर त्रिपुरेश्वरमा कम्युनिकेसन खोलेर केही वर्ष चलाए । त्यसपछि उनले इन्टरनेट सेवाप्रदायक कम्पनी इनेटमा बजार प्रतिनिधिका रूपमा काम गर्न थाले । इनेटमा काम गर्दागर्दै उनले स्नातक तहको ब्याक लागेको विषय पनि पास गरे ।

नेपालमा पाइने चिउरी, आँप, मकै, सालको गेडा, धान आदिबाट पनि खाद्यतेल उत्पादन गर्न सकिने पद्धति चीनमा कार्यरत नेपाली वैज्ञानिक डा. प्रकाश अधिकारीले पत्तो लगाएका छन् । तर, घर फर्केर काम गर्ने वातावरण उनले पाइरहेका छैनन् ।

त्यही समयमा कोरियामा पीएचडी गर्दै गरेका नारायण भट्टराईले उनलाई एक वर्षका लागि कोरियन भाषा पढ्न सुझाव दिए । कोरिया जाने र नेपाल फर्कने टिकटसहित बस्न दिएर हरेक महिना २५० डलर छात्रवृत्ति दिइने सो कार्यक्रममा प्रकाशले पनि आवेदन दिए । उनी सन् २००४ मा एक वर्षका लागि कोरियन भाषा पढ्न काठमाडौँबाट दक्षिण कोरिया हानिए । दक्षिण कोरिया प्रस्थान नै प्रकाश अधिकारीको जिन्दगीमा ‘टर्निङ प्वाइन्ट’ बन्यो । कोरिया पुगेर भाषा पढ्न थालेको ६ महिनापछि उनले विश्वविद्यालयमा भर्ना भएर स्नातकोत्तर गर्ने सोच बनाए । कोरियामा विज्ञानबाहेकका विषयमा छात्रवृत्ति नदिने थाहा पाएपछि उनी काम गर्दै पढ्ने मुडमा पुगे । एक दिन काम गर्न रेस्टुरेन्टमा गए पनि । त्यहाँ भाँडा माझ्दा उनी एकै दिनमा काबु भए ।

कोरियामा स्नातकोत्तर गर्नका लागि उनका सामु दुई विकल्प थिए । काम गरेर शुल्क तिर्दै मानविकीमा स्नातकोत्तर गर्ने अथवा विज्ञान विषय लिएर छात्रवृत्तिमा स्नातकोत्तर पढ्ने । उनलाई अर्का चिनारु रेमन्त केसीले रसायनशास्त्रका एक जना प्रोफेसरसँग भेट गराए । ती प्रोफेसरसँग आफूले क्याम्पसमा विज्ञान विषय नपढेको तर विज्ञानमा स्नातकोत्तर गर्ने आँट रहेको बताएपछि उनले स्नातकोत्तर तहमा रसायनशास्त्रमा भर्ना पाए । खासमा प्रकाशले अंग्रेजी विषयमा स्नातक गरेका थिए र कोरियामा अंग्रेजी पढ्न सक्नेले अन्य विषय पढ्न सक्छ भन्ने मान्यता राख्ने हुनाले ती प्रोफेसरले उनलाई अवसर दिएका थिए । दाङमा कक्षा १० पछि कहिल्यै नपल्टाएको विज्ञानकै रसायनशास्त्रमा स्नातकोत्तर गर्न उनी १२ वर्षपछि कोरियाको छन्जुमा रहेको छन्बुक राष्ट्रिय विश्वविद्यालयका विद्यार्थी भए ।

विश्वविद्यालयमा स्नातकोत्तर तहसँगै उनले स्नातक तहको रसायनशास्त्र पनि अध्ययन गर्नु थियो । उनको पढाइलाई कोरियन प्रोफेसरभन्दा बढी नेपाली विद्यार्थीहरू रेमन्त केसी र सन्तोष अर्यालले सहयोग गरे । केसी र अर्याल त्यतिबेला कोरियामा रसायनशास्त्रमा पीएचडी गर्दै थिए । रसायनशास्त्रमा स्नातकोत्तर गरेपछि उनमा पीएचडी गर्ने हुटहुटी बढ्यो । उनले तुरुन्तै कोरियाकै छुङनाम विश्वविद्यालयबाट रसायनशास्त्रको खाद्य विज्ञान अन्तर्गत ‘लिपिड साइन्स’ मा पीएचडी गर्ने अवसर पाए । उनले खाद्य तेललाई तरलबाट ठोस बनाउने विषयमा गहन अध्ययन गरे । त्यसभन्दा अगाडि खाद्यतेललाई रसायन हालेर मात्र ठोस बनाइन्थ्यो । उनले ‘इन्जाइमेटिक मोडिफिकेसन’ पद्धतिबाट खाद्यतेललाई ठोसमा परिणत गर्न सकिने प्रविधि पत्ता लगाए । त्यही विषयमा उनले अन्तर्राष्ट्रिय जर्नलमा लेख पनि प्रकाशित गरे ।

कोरियाबाट पीएचडी गर्नासाथ उनले सन् २०१० मा चीनको सांघाईमा सिंगापुरको विलमार अन्तर्राष्ट्रिय कम्पनीमा वैज्ञानिकको रूपमा काम गर्ने अवसर पाए । सांघाईमा दुई वर्ष काम गरेपछि उनले करिअरमा अर्को फड्को मारे । सन् २०१२ को डिसेम्बरदेखि अमेरिकी कम्पनी कारगिलको बेइजिङ कार्यालयले उनलाई वरिष्ठ वैज्ञानिकमा आबद्ध गरायो ।अमेरिकामा मुख्यालय रहेको कारगिल फुड इन्ग्रिडिएन्ट एन्ड बायो इन्डस्ट्रिजका शाखाहरू ७० राष्ट्रमा सञ्चालित छन् । सन् २०१७ मा यो कम्पनीले ३ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ । यो कम्पनीमा एक लाख ५५ हजारभन्दा बढी व्यक्ति काम गर्छन् । चीन शाखाको मुख्यालय सांघाईमा रहेको कम्पनीमा चीनका विभिन्न ५२ स्थानमा रहेका यसका शाखा कार्यालयमा मात्र ७ हजार व्यक्ति कार्यरत छन् । यो कम्पनीलाई विश्वकै सबैभन्दा ठूलो एग्रो उत्पादन कम्पनी मानिन्छ ।

कारगिल कम्पनीमा उनको मुख्य काम खोज र अनुसन्धान गर्नु हो । प्रयोगशालाको अनुसन्धानबाट उनले हाल सालै नयाँ कुरा पत्ता लगाएका छन् । चाउचाउ फ्राई गर्दा कसरी तेल कम शोषण हुन्छ भन्ने कुरा पत्ता लगाएर त्यसको प्याटर्नसहित उनको अनुसन्धानात्मक लेख सन् २०१८ को जनवरीमा अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । उनले पत्ता लगाएको विधिमा स्याउको जुसलाई प्रोसेसिङबाट पाउडर बनाएर चाउचाउ फ्राई गर्दा केही मात्रा मिसाउने हो भने त्यसले तेल कम शोषण गर्छ । उनले अमेरिका, मलेसिया, बेल्जियम, अस्ट्रेलियालगायतका मुलुकमा गएर आफ्नो विषय विशेषज्ञता प्रस्तुत गरिसकेका छन् ।

विदेशमा जतिसुकै ठूलो सुविधा र मान पाए पनि डा. प्रकाश अधिकारी नेपालमै काम गर्ने अवसरको खोजीमा छन् । यतिबेला उनी आफ्नो विषय विशेषज्ञतासँग सम्बन्धित नेपालमा सम्भाव्यता अध्ययन गरिरहेका छन् । नेपालमा चिउरीको सम्भावना राम्रो छ । नेपालको मध्यपहाडी र चुरे क्षेत्रमा चिउरी उत्पादन हुन्छ । अहिलेसम्म चिउरीबाट औद्योगिक उत्पादन सुरु नभएको उनी बताउँछन् । नेपालमा अहिले वार्षिक चालीस हजार मेट्रिक टनजति चिउरी उत्पादन हुने अनुमान भए पनि ‘रिफाइन’ र ‘प्रोसेसिङ’ छैन । उनी चिउरीबाट उत्पादन हुने खाद्यतेलमा अनुसन्धान गरिरहेका छन् ।

चिउरीबाट बन्ने तेलपाम (ताडी) को तेलभन्दा उच्च गुणस्तरको हुने उनको अनुसन्धानले पुष्टि गरेको बताउँछन् । ताडीलाई तीन चरणबाट प्रोसेसिङ गर्दा आउने तेल चिउरीको पहिलो चरणबाटै प्राप्त हुने भएकाले उत्पादन विधि पनि सस्तो पर्न जान्छ । नेपालमा अहिले ताडीको खाद्यतेल वार्षिक करोडौँ रुपयाँको आयात हुने गरेको छ । बिस्कुट र चकलेट आदि पदार्थमा ताडी तेल प्रयोग गरिन्छ । चिउरीले ताडी तेल मात्र होइन, सियाबटर र कोकाबटरलाई पनि विस्थापित गर्ने उनको ठहर छ । कोकाबटर विश्वकै सबैभन्दा महँगो खाद्यतेल हो ।

यस्तै, नेपालमा आँप धेरै उत्पादन हुने गर्छ । आँपको कोयाबाट पनि उच्चस्तरको खाद्यतेल उत्पादन गर्न सकिने निष्कर्षमा उनी पुगेका छन् । त्यसैगरी मकै, सालको गेडा, धान आदिबाट पनि खाद्यतेल उत्पादन गर्न सकिने उनले बताए । मुख्य रूपमा नेपालमा आधारभूत रूपमा कुनै तथ्यांक नभएकाले बाहिरी देशका कम्पनीहरू नेपालमा गएर लगानी गर्ने अवस्थामा छैनन् । अधिकारी आफैँले चिउरीको तथ्यांक प्राप्त गर्न नेपालका विभिन्न निकायमा प्रयत्न गरे तर उनले कतैबाट पनि यकिन डाटा प्राप्त गर्न नसकेको तीतो अनुभव सँगालेका छन् । उल्लिखित वस्तुको बेसलाइन डाटा भएमा नेपालमा पनि ठूला अन्तर्राष्ट्रिय कम्पनीले लगानी गर्ने र नेपालको कृषि क्षेत्रले ठूलो लाभ प्राप्त गर्ने उनको धारणा छ ।

[email protected]

प्रकाशित : वैशाख १, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?