३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मम्मीको अन्तिम सास

स्मृति
भारतको दिल्लीस्थित सरकारी अस्पतालमा लगेर आफ्नी आमाको उपचार गराउने एक जना छोराको वृत्तान्त जहाँ आमाको अन्तिम साससम्म ती छोराले आमासँगको प्रेम र अपनत्व साटेका छन् ।
किरण अधिकारी

काठमाडौँ — स्थान : एम्स अस्पताल
नयाँ दिल्ली, अन्सारी नगर
एकाध शब्द बोल्न पनि मम्मीलाई कति गाह्रो भइरहेको थियो । भर्खरै बोली फुटेको बच्चा जसरी उहाँ सकी नसकी बोल्नुहुन्थ्यो र, केही पूरै वाक्य पनि पूरा हुन नपाउँदै रोकिनुहुन्थ्यो ।

मम्मीको अन्तिम सास

मम्मीले के बोल्न खोज्नुभएको हो, संकेतमा बुझ्नुपथ्र्यो । बोल्दाबोल्दै मम्मीका आँखा रसाइसकेका हुन्थे । आँखा त मेरा पनि रसाउँथे तर मेरो रुन्चे अनुहार देख्दा मम्मी नरमाइलो मान्नुहोला भनेर म मुन्टो फर्काउँथें । म जबर्जस्ती नरोएजस्तो बन्थें । मन रुँदा पनि आँखाभित्रै आँसु लुकाउन बहुतै गाह्रो कुरा रहेछ भन्ने त्यतिबेलै थाहा पाएको थिएँ ।

मम्मी लिएर उपचारका लागि दिल्ली आएको ठ्याक्कै १५ दिन भइसकेको थियो । मम्मीको सिरानछेउमा म उभिएको पनि यत्तिकै दिन भइसकेको थियो । काठमाडौंमा हुन्थ्यो भने अनेकन आफन्त भेट्न आउँथे । मम्मीलाई मन बहलाउने बाटो हुन्थ्यो । तर दिल्लीमा मेरा आफन्त को हुनु ? अस्पतालभरका सबैजसो विभागमा कैयन नेपाली बिरामी थिए । तर ती आ–आफ््नै बिरामी स्याहार्न भ्याई–नभ्याईमा थिए ।

पछिल्लो दस महिनायता मैले नेपालका तीनवटा अस्पतालमा महिनौं बिताइसकेका थिए । त्यसपछि दिल्लीको एम्स अस्पतालमा दुई महिना बसेर घर फर्केको ६ महिनापछि म दोस्रो पटक यही अस्पताल आएको थिएँ । मम्मीको अनुहारमा खुसीको एक झुल्को देख्ने आसमा दिल्लीको हपहपी गर्मीमा १५ दिन र १५ रात बिताइसकेको थिएँ ।

एक दिन अकस्मातमा एउटा घटना भयो । डाक्टर–नर्स कोही नभएको बेला त्यस्तो स्थिति आइपर्‍यो । अस्पतालका कर्मचारीलाई बोलाउँदाबोलाउँदै उक्त घटना भइसकेको थियो । त्यसपछि मेरा दु:खका दिन लम्बिए ।

घटना त सामान्य थियो । तर त्यसपछिको दु:ख असामान्य भइदियो । काठमाडौं छँदा मम्मीलाई सास फेर्न औधि गाह्रो भएपछि घाँटीमा ट्याकोस्टोमी (सानो प्वाल) उपायबाट भित्र अक्सिजन पठाइएको थियो । ट्याकोस्टोमीलाई टेपले टाँसेर हामी दिल्ली पुगेका थियौं । अस्पताल पुग्नेबित्तिकै टेप निकालेर फेरि अक्सिजनको पाइप जोडियो ।

रोग झनै बल्झेपछि र मम्मीलाई केही कुरा खानै नसक्ने भएपछि चिकित्सकले तरल खानेकुरा पेटमा पुर्‍याउनका लागि मम्मीको नाकबाट प्लास्टिकको अर्को पाइप छिराइदिए । नाकबाट छिराएको त्यही पाइप एक दिन एक्कासि खोकीको सुरमा फुत्त निस्किएको थियो । बस, घटना यही थियो । फुडपाइप किन र कसरी निस्कियो ? त्यो न मम्मीलाई थाहा थियो न मलाई ? त्यो कुनै जानजान गराइएको घटना थिएन । मैले ड्युटीमा रहेका डाक्टरलाई घटनाबारे जानकारी गराएँ ।

पाइप नै निस्किएपछि ममीको पेटमा कसरी अन्न पुर्‍याउने ? चिकित्सकीय अर्को उपाय आयो— पेटमै अप्रेसन गरेर मेडिकल फुडपाइप लगाउने ।

एक छिनपछि डाक्टरले मलाई बोलाए र, रिसाएको शैलीमा हिन्दी भाषामा मलाई हकारे । डाक्टरले छिटोछिटो हिन्दीमा बोलेकाले उनले के–के भनिरहेका छन् भनेर पूरै त बुझिनँ तर उनी रिसाइरहेका छन् भन्नेचाहिं सजिलै बुझें । त्यतिबेलै थाहा पाएँ, भाषा जुन भए पनि रिसको भाषा एउटै हुँदो रहेछ । म मन्दिरको ढोकामा उभिएको निरीह भक्तजनजस्तो अनुभूति गरिरहेको थिएँ ।

मम्मीको महिनौं लामो उपचारको दौडधुपले थाकेको म अस्पतालको नाक–कान–घाँटी विशेषज्ञ डा. राकेश कुमारको भनाइबाट थप मर्माहत भएको थिएँ । डाक्टर राकेशले केही बेरमा चिकित्सक टोली बोलाए र मम्मीको पेटमा प्वाल पारेर फुड पाइप जोडिदिए । औषधि र खानेकुरा दुवै कुरा पेटमा जोडिएको पाइपबाट पठाउने क्रम सुरु भयो ।

नियमित खानुपर्ने कडा डोजका औषधि, पाइपबाट पठाइएको थोरै खानेकुरा र निरन्तर पाइपबाट पठाइएको अक्सिजन भरमा मम्मीले आफूलाई बचाइराख्नुभएको थियो । मम्मीले सास फेरेको हेरेरै म बाँचेको अनुभूति गरिरहेको थिएँ । दिन प्रतिदिन दुब्लाउँदै जानुभएको मम्मीको अनुहार, रसाइरहने आँखा देख्दा म बारम्बार थाकेको महसुस गर्थे ।

अस्पतालमा कैयन नेपाली बिरामी र कुरुवा भेटिन्थे । तर तिनीहरू सबैको आ–आफ्नै कथा थिए । कोही पैसा नभएर छटपटाइरहेका थिए । कोही भाषा नबुझेर अलमलिरहेका थिए । कोही भने आफ्नै देशमा गतिलो अस्पताल नभएकाले दु:ख पाउनुपरेको भन्दै आवेगमा हुन्थे ।

अस्पताल बेडमा छट्पटाइरहेको बिरामी छाडेर पैसाको खोजीमा फोन घुमाइरहेका नेपालीका अनुहार देख्दा मलाई आफ्नो दु:ख फिक्का लाग्थ्यो । कोही भने फोनमै सुक्क–सुक्क गर्दै रोइरहेका हुन्थे । कोही आफन्तजनसँग पैसाको हारगुहार गरिरहेका हुन्थे । कोही भने पैसा बोकेर आइरहेको बेला रेलको प्लेटफर्ममा कसरी लुटिएँ भन्ने कहानी सुनाइरहेका हुन्थे ।

पैसा हुनेका निम्ती अस्पताल सहज थियो । त्यहाँ भाडाका कुरुवा पाइन्थे । औषधि र अन्य सरसामग्री किनेर ल्याइदिने भाडाकै हेल्पर पनि पाइन्थे । तर पैसाले फिटीफिटी परेकालाई यो सुविधाको कुनै मतलब थिएन ।

पहिलो चरणको उपचारका बेला दिल्ली आउँदा मैले खेपेको सास्तीका अघि दोस्रो चरणका बेला पाएका दु:ख केही थिएनन् । उपचार सुरु भएका बेला हामी अस्पताल नजिकैको एक होटलमा बसेका थियौं । एक मध्यरात मम्मीलाई एक्कासि गाह्रो भयो । अकस्मात मम्मी छटपटाएपछि म निकै आत्तिएँ । के गर्ने र कसो गर्ने ? केही मेसो पाइनँ । सुनसान रातमा कसलाई बोलाउने ? परदेशको ठाम । भाषाको उस्तै समस्या ।

केही बेर आलसतालस भएँ । मम्मीको छटपटीले भरिएको अनुहार धेरै बेर हेरिरहन सकिनँ । म कराउन थालेपछि होटलका कर्मचारी आए र के भयो भन्दै सोधे । तर मैले उनले के सोधेको हो भनेर पनि बुझिनँ । त्यसै त आत्तिएर मेरो स्वर लर्बराइरहेको थियो । त्यही माथि म हिन्दी भाषामा ‘इलाज कर्नेके लिए जल्दी करो’ हो कि यस्तै केही भनें । तर, मैले उनले के भनेका हुन्, प्रत्युत्तर बुझिनँ । मम्मीले इसारा गर्दै ‘अस्पताल लैजान’ भनेपछि म झनै आत्तिएँ ।

केही उपाय नभएपछि छटपटाइरहेकी मम्मीलाई जुरुक्क जेनतेन पिठ्युँमै बोकेर झन्डै ३ सय मिटर टाढाको अस्पतालको इमर्जेन्सी कक्षमा पुर्‍याएँ । त्यतिबेला रातको साढे ११ बजेको थियो । म आत्तिएर कराइरहेको थिएँ— ‘उपचार छिटो सुरु करो ।’ मेरो कुरा कसैले बुझिरहेका थिएनन् ।

इमर्जेन्सीमा २४ घण्टाभन्दा धेरै राख्न नमिल्ने, अस्पतालमा बेड नभएको र मम्मीको स्वास्थ्य क्रिटिकल भएको भन्दै कर्मचारीले अर्को अस्पतालमा लैजान सुझाए । जीवन–मरणको दोसाँधमा रहेकी मम्मीलाई यो घडी म अर्को कुन अस्पताल लैजाउँm ? कसलाई भनौं ? बाटोमै केही भइहाल्यो भने ?

अर्को अस्पताल लैजान भनेका कर्मचारीका अघि म यसरी चिच्याएर कराएँ कि वरिपरिका सबै मान्छे त्यही जम्मा भए । ‘मलाई यही मार तर म कतै जाँदै जान्नँ,’ म नेपालीमा जोडजोडले रिसाउँदै कराइरहेको थिएँ । तर ती कर्मचारीले मेरो कुरा के बुझ्नु ?

सोही अस्पतालमा एमबीबीएस पढिरहेका एक नेपाली विद्यार्थीले मेरो रुवाइमिश्रित चिच्याहट सुनेछन् । ती विद्यार्थीले मलाई नआत्तिन भने र कताकता के–के कुरा गरेर त्यहीं उपचार हुने प्रबन्ध मिलाए । नेपालबाटै मैले नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अस्पताललाई सम्बोधन गर्दै लेखेको पत्र पनि साथै लगेको थिएँ । सोही अस्पतालमा पढेका हुनाले कोइरालालाई त्यहाँ सबैले चिन्दा रहेछन् । उनले लेखिदिएको पत्र प्रशासनमा पुर्‍याएपछि उपचार सजिलै सुरु भयो ।

उपचार कहिले सकिने हो र कहिले घर फर्किन पाइने हो, कुनै टुंगो थिएन । दसैं नजिक आइसकेको थियो । फेसबुकमा दसैंका शुभकामना साटिन थालिसकेका थिए । मान्छेहरू किनमेल र घुमघामका योजना फेसबुकमा सार्वजनिक गरिरहेका थिए । त्यो बिहेपछिको मेरो पहिलो दसैं थियो । मम्मीको अनुराधेमा मैले भाइ र श्रीमतीलाई दिल्ली बोलाएँ । अस्पताल छेवैको पसलबाट मैले थोरै चामल किनें । रंग किनें । जमरा त कहाँबाट पाउनु ? आसपासमा रहेको फूल टिपेर ल्याएँ । अस्पतालको बेडमै बसेर मम्मीले टीका लगाइदिनुभयो । आशीर्वाद दिनुभयो । मनमनै सोचें— धन्न, मम्मी हुनुहुन्छ... ।

अस्पतालको डि–फोर–वान बेडमा ४५ दिन लामो उपचार सकेपछि मम्मीको अनुहारमा खुसीको मधुरो झुल्को देखियो । त्यो दिन मेरो अनुहारमा पनि खुसीको सूर्य उदायो । दुब्लो भए पनि मुसुक्क हाँस्ने, थोरै भए पनि बोल्न सक्ने र मलाई सन्चो हुन्छ भन्ने आत्मविश्वाससहितको मम्मीलाई लिएर म काठमाडौं फर्कें ।

दोस्रो चरणमा ठ्याक्कै दुई महिनापछि अस्पतालबाट डिस्चार्ज भयौं । घाँटी र पेटबाट तुन्द्रुङ झुन्डिएको पाइप, दुब्लो न दुब्लो मम्मीको शरीर र महिनौंको अस्पताल बसाइबाट थाकेको म । अस्पतालबाट बाहिरिंदा म मानसिक रूपले मात्रै थाकेको थिइनँ, आर्थिक रूपले समेत तन्नम भइसकेको थिएँ । ४ वर्षसम्म दिनहुँ औषधि प्रयोग गरेरै मम्मीले आफ्नो जीवन तन्काउनुभयो ।

एउटै घुर्मैलो बिहान । मैले कहिल्यै बिर्सन्नँ, त्यो २०७२ माघ २६ गतेको बिहान थियो । मम्मीलाई अचानक अप्ठ्यारो भयो । हामीले दगुरादगुर गरेर टिचिङ अस्पताल पुर्‍यायौं । थाहै नपाई मम्मीले अन्तिम सास फेर्नुभयो । के थाहा— मान्छेको सास यति सजिलै जान्छ भनेर । के थाहा— त्यो मम्मीको अन्तिम सास थियो भनेर ।

प्रकाशित : चैत्र १७, २०७४ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?