भुइँखाट

कथा
महेशविक्रम शाह

काठमाडौँ — भुइँखाटमा लम्पसार परें !म भुइँखाटमा सुत्न थालेको हप्तादिन हुन लागेको थियो । हुन त हाम्रो कोठामा बडेमाको गद्दादार सरया नभएको होइन । र, हामी लोग्नेस्वास्नीले यसै सरयामाथि गुटमुटिँदै जीवनका मधुर क्षणहरू नबिताएका पनि होइनौं । यो सरया हाम्रो विवाह भएदेखि नै जीवनको एक अभिन्न अङ्ग बनिसकेको हो ।

हाम्रो जीवनमा घटित सबैभन्दा स्मरणीय घटनाको स्थल पनि यही गद्दादर पलङ हो, जहाँ मधुरात बिताएका थियौं। यस सरयासँग जोडिएका कोमल भावना र आनन्ददायी पलहरू मनभित्रबाट निकाल्ने हिम्मत नभए पनि जीवनभर यही सरया अँगालेर बस्नुपर्छ भन्ने मान्यता हाम्रो थिएन।

हामीले यसको सट्टा बजारमा आयातित विदेशी महँगा पलङहरूमाथि सुत्ने सपना पनि नदेखेका होइनौं। लम्बा, चौडा र स्प्रिङ जोडिएका मुलायम, लचकदार पलङमा सुतेर हरेक साँझ मधुरातको अनुभव गर्ने आकाङ्क्षा नभएको पनि होइन। तर हामीले हामीसँगै विवाहका हरेक वर्षगाँठ मनाइरहेको यस पलङलाई आफूबाट अलग गर्न सकेनौं। सधैं यही पलङमाथि सुतेर, कोल्टे फेरेर, अडेस लगाएर वैवाहिक जीवन जिउने कला निखार्दै अगि बढयौं। एकअर्काको अनुपस्थितिमा हामीलाई यो पलङ उराठ–उजाड मरुस्थल लाग्थ्यो। यो पलङमाथि बसेर मलाई लोग्नेको प्रतीक्षा गर्दा आनन्द आउँथ्यो। हामी दुवैका लागि यो सरया जीवनलाई ऊर्जाशील बनाउने माध्यम थियो। लाग्थ्यो, यो सरयाबिना हामी अधुरा छौं, रित्ता। तर, उदेकलाग्दो कुरा के थियो भने हामी लोग्नेस्वास्नीको समान हक लाग्ने उक्त सरयामाथि मेरो लोग्ने एक्लै उत्तानो परेर सुतिरहेको थियो अथवा सुत्ने नाटक गरिरहेको थियो।
मलाई किनकिन भुइँखाटको आविष्कारकबारे जान्न मन लाग्यो— को होला त्यो सिर्जनशील व्यक्ति, जसले पहिलो पटक भुइँखाटको आवश्यकता महसुस ग‍र्‍यो। उसलाई किन आवश्यक प‍र्‍यो होला भुइँखाट? लाग्छ, आफू सुत्ने सरयामा अटाउन नसकेर भुइँखाटको जोहो ग‍र्‍यो होला वा हामी लोग्नेस्वास्नीझैँ खटपट भएको बेला वैकल्पिक ओछयानको व्यवस्था ग‍र्‍यो होला। जे होस्, जसले यसको रचना गरे पनि ऊ भुक्तभोगी थियो। लोग्ने र स्वास्नीका मनोभावनाहरू केलाउन सक्ने मनोविश्लेषक थियो ऊ।

‘म भुइँखाटमा सहज छु †’ म आफ्नो लोग्नेलाई त्यही भान पार्ने प्रयास गरिरहेकी थिएँ।
हुन त असहज मान्नुपर्ने पनि कुनै कारण थिएन। कसैले जबरजस्ती मलाई भुइँखाटमा सुताएको होइन। म आफ्नो मनमर्जीले सुतेकी। भलै त्यो भुइँखाटको तीनफिटे चौडाइमा मेरो अधबैंसे मोटो जिउ सात नम्बरको जुत्तामा नौ नम्बरको खुट्टा जबरजस्ती घुसारेझैँ किन नहोस्। सिरानीमा टाउको जोतेर गम्भीर हुँदै मैले धेरै कुरा सोचें। दुर्भाग्यवश हामी लोग्नेस्वास्नी जीवनको त्यो मोडमा आइपुगेका थियौं, जहाँ हामीलाई आफ्नो बेड रुममा दुइटा सरया आवश्यक महसुस भएको थियो। हामी दुवै लम्पसार परेर सुतिरहेका थियौं, सुतेको असफल नाटक गरिरहेका थियौं † र, एकअर्कालाई देखाउने प्रयास गरिरहेका थियौं— तिम्रो शारीरिक स्पर्शले अब मेरो जीवनमा कुनै गम्भीर अर्थ राख्तैन। अर्थात् हामी एकअर्काको गन्धलाई पनि बिर्सन थालेका थियौं। ‘हामीमा उक्त गन्ध स्मरण गर्ने इच्छा र जाँगर थिएन’ भन्नु अझ इमानदारी होला। सधैं मासु काट्ने बगरेलाई मासुको गन्धसँग के सरोकार !सायद हामी पनि बगरेको वर्गमित्र बन्ने होडमा थियौं।

बिहान ऊ अफिस गएपछि मैले दिनभर पलङमाथि सुतेर रातभरको अनिँदो मेटें। मलाई यो कुरा सम्झेर हाँसो उठयो कि राति मेरो कित्तामा भुइँखाट परे पनि दिनभर गद्दादार सरया आफ्नै थियो। मैले राति लोग्नेले खजमज्याएको तन्ना र तकियाको खोल फेरें। बिछयौना यसरी सिनित्त पारें, मानौं मेरो मायाको भोको लोग्ने व्यग्र भएर हान्निदै साँझ घर फर्कनेछ। म समालिन नपाउँदै मलाई अँगालोमा बाँधेर ओछयानमाथि लडाउनेछ... । ती रमणीय दिनहरू पुराना थिए र क्षणहरू पनि अतीत बनिसकेका थिए तर तिनै क्षणहरूको स्मृति मेरो तीतो मन मिठयाउने सहारा बनिदिन्छन्।

म पलङमाथि लम्पसार परें। एउटा तकिया टाउकोमुनि राखें, अर्को तकियालाई दुई हातले अँगालो हालेर छातीमा टाँसें र तेस्रो तकियालाई दुई खुट्टाका बीचमा च्यापेर आँखा बन्द गरी कल्पनामा रमाइरहें, मानौं त्यो तकिया नभएर मेरो लोग्नेको पोटिलो तिघ्रा हो। मैले तकियालाई छातीले थिचें। मलाई अनुभूति भयो, मानौं मेरो लोग्नेले मलाई आफ्नो छातीमा टाँसिरहेछ। मेरो सम्पूर्ण देहसँग एकाकार भइरहेछ मेरो लोग्ने। म पलङको पूर्ण लम्बाइ र चौडाइलाई शरीरका अङ्गप्रत्यङ्गले समेट्ने प्रयास गर्दै छरपस्ट भएँ।
आशा गरिरहेकी थिएँ— आज मेरो लोग्ने अफिसबाट घर फर्कंदा आँखाभरि घृणा र अनुहारमा सन्ताप बोकेर होइन, ओठमा मधुर मुस्कान खेलाउँदै ताजा भएर घर आउनेछ। रिसाएरै किन नहोस्, मसँग दुई शब्द भए पनि बोल्नेछ। म नबोलेरै उसलाई आमन्त्रण गर्नेछु। मेरो देहका छिद्रछिद्रबाट उसका लागि पुकार निस्कनेछ। धेरै दिनदेखि मबाट विकर्षित मेरो लोग्नेलाई म मायाले रङ्गाउनेछु। ऊ मेरो प्रेमको न्यानोले रापिनेछ, मायाको रसले छपक्कै भिज्नेछ ऊ। नि:शब्दता चिर्दै लजाईलजाई मधुर मुस्कानले घरभित्रको वातावरण चञ्चल बनाउनेछौं हामी। धेरै दिनपश्चात् घरमा उन्मुक्त हाँसो गुन्जिनेछ। हामी आमनेसामने बसेर एकअर्कासँग घुर्की लगाउँदै सँगै खाना खानेछौं। ऊ मैले पकाएका परिकारहरू स्वाद मानीमानी खानेछ।

मैले उसलाई मन पर्ने परिकारहरू बनाएँ। आशा जागेको थियो— मलाई आज ऐनाअगाडि उभ्याएर ऊ मुक्तकण्ठले मेरो रुपको प्रशंसा गर्नेछ। यही आशाले मैले धेरै दिनपछि ड्रेसिङ टेबल अगाडि आफूले आफैलाई नियालेर हेरें। मैले दिनभर मेकअपले आफूलाई सिँगारेर सकभर राम्री बन्ने प्रयास गरें। हो, म साँच्चिकै सुन्दर देखिएकी थिएँ। आपैंmले आपंैmलाई हेरेर मक्ख परेकी थिएँ म। मेरो रूपबाट मोहित भएरै किन नहोस्, लोग्नेको मौन व्रत तोडिनेछ आज † यस अनुभूतिले कताकता रोमाञ्चित बनायो मलाई। आफूभित्र उर्लिएको रोमाञ्चको लहर फैलाउँदै म कल्पना गर्न थालें, ‘सायद आज हामी दुवै भोका गिद्धहरूझैँ एकअर्कामाथि झम्टिनेछौं। दुवैको काँचो मासु एकअर्काको तातोले फतफती गल्नेछ, पग्लिँदै तपतप चुहिनेछ। हामी एकअर्कामा घुलनशील हुँदै सम्पूर्ण ओछयान निथ्रुक्क भिजाउनेछौं।’ कल्पनाले मात्र पनि मेरो सम्पूर्ण देह असिनपसिन भयो। मेरा ओठहरू काँपे। अनुहारको रङ परिवर्तन भएर म लालीगुराँस भएँ। म आश्चर्यचकित भएकी थिएँ— अधबैंसे उमेरमा पनि मेरो मन आफूलाई भर्खरकी तरुनी ठानिरहेको थियो, जसको हृयको अन्तरकुन्तरमा जीवनका मीठा सपनाका असङ्ख्य शृङ्खला हुने गर्छन्।

साँझ प‍र्‍यो। रात ढल्यो। ऊ बल्लतल्ल घरको सँघारमा देखा प‍र्‍यो। म कोठाभित्रै बसेर उसको प्रतीक्षा गरिरहेकी थिएँ। सोचिरहेकी थिएँ— ऊ कछुवाको चालमा बिस्तारै मछेउ आउनेछ। मलाई पछाडिबाट गम्लङ्ग अँगालो हालेर ऊ लोग्ने र म स्वास्नी भएको अनुभूति दिनेछ। तर, मेरो अनुमान र आशाविपरीत ऊ बतासको झोकाझैँ हुर्रिंदै कोठाभित्र प्रवेश ग‍र्‍यो र मतिर हेर्दै नहेरी पलङमाथि काठको मुढोझैँ डङ्ग्रङ्ग पल्टियो।

ओह † मेरा सपनाहरू हिजोअस्तिझैँ आज पनि स्खलित भए। उसले मेरो अनुहारतिर पुलुक्क पनि हेरेन। मायालु आँखाले त परै जाओस्, दुस्मनको नजरले पनि हेरेन मलाई। उसको विमुखताले मलाई आफ्नो अनुहार कुरुप लाग्यो। मैले एकै झट्कामा हातका नङ्ग्राले आफ्नो अनुहार कोपरें। मेरो शृङ्गार लतपतियो। मेरो शरीरले थुनेर राखेको संवेगको बाँध पलभरमै भत्कियो। मलाई के गरूँ के नगरूँ भयो, डाँको छोडेर रुन मन लाग्यो। एक मनले ठान्यो, ‘ऐले नै यो घर छोडेर निस्कूँ † आफ्नै कोठाभित्र एउटी स्त्री लोग्नेबाट परित्यक्त बन्न थालेपछि उसको आफ्नो घर नै कहाँ बाँकी रहन्छ र †’ मलाई कोठाका भित्ताहरूले गिज्याउन थाले। मेरो निरीह अवस्थामाथि व्यङ्ग्य गर्दै बडेमानको गद्दादार सरया अट्टहास गर्न थाल्यो। यो त्यही सरया थियो, जहाँ मैले पहिलो पटक आफू पूर्ण स्त्री भएको अनुभव गरेकी थिएँ। मेरा लागि मेरो लोग्नेभन्दादोस्रो प्रिय वस्तु रहेको थियो यो पलङ, जहाँ मआफ्नो जीवनको बढीभन्दा बढी समय व्यतीत गर्ने गर्थें। मेरा इच्छाहरू, आकाङ्क्षाहरू, सपनाहरू, मेरा खुसी र रहरहरू यही पलङको आयतनमा फैलिएका थिए। यो पलङ मेरा लागि प्राय: खुसी लिएर आउँथ्यो र मोहनी लगाएर जान्थ्यो। यो पलङ मेरा लागि ब्याट्री चार्ज गर्ने चार्जरझैँ थियो, जुन हामी जोईपोइलाई कहिल्यै डिस्चार्ज हुन दिँदैनथ्यो। हामी दुवै रिचार्ज हुन्थ्यौं। हाम्रो शरीरमा नयाँ तरङ्गहरू लहरिन्थे र हामी आनन्दको मादकताले आह्लादित हुन्थ्यौं। सात फिट लम्बाइ र पाँच फिट चौडाइको यो पलङले हामीलाई यति खुसी दिन्थ्यो कि पलङबाहिर पनि हाम्रो खुसी रित्तिँदैनथ्यो। पलङभित्रको आनन्द चारैतिर छताछुल्ल भएर पोखिन्थ्यो र हामी लोग्नेस्वास्नी आनन्दको सरोवरमा हेलिँदै जीवनका समग्र उमङ्ग र उल्लास भेट्टाउँथ्यौं।

भुइँखाटमा सुतेको सुत्यै म कोल्टो फर्किएँ र अर्धमुदित आँखाले उदास भावमा पलङमा हेरें, जुन पलङ मेरा लागि हिजोआज बिरानो भएको थियो। मेरो सरया मेरो लोग्नेलाई अङ्कमाल गरेर मस्त निदाइरहेको थियो। मेरो लोग्ने हामी दुवैको सरोबरी हक लाग्ने पलङमाथि कब्जा जमाएर नागझैँ कुँडुली मारिरहेको थियो। लाख कोसिस गर्दा पनि म आफ्नै पलङमाथि उक्लिन सकिरहेकी थिइनँ। मलाई आपैंm अचम्म लागिरहेको थियो। जुन पलङमाथि एक छिन बस्न पनि म सदा लालायित रहन्थे, आज त्यसमाथि पस्रिरहेको लोग्नेको जिउँदोजाग्दो शरीर देखेर पनि म रोमाञ्चित हुन सकिरहेकी थिइनँ। लोग्नेको संवेदनाहीन मुढोजस्तो शरीरले मलाई विरक्त बनाइरहेको थियो। बितेका सात दिनमा मानौं हामीभित्रको चुम्बकीय शक्ति क्षीण भइरहेछ। दिनदिनै हामी एकअर्काबाट विकर्षित भइरहेछौं। यही विकर्षणले मलाई मेरो हक लाग्ने मुलायम सरयाबाट भुइँखाटमा हुर्‍याएको छ।

पलङमाथि पल्टिएको जीवित मुढोमा केही हलचल भएको थियो। मेरो लोग्ने त्यो बडेमानको पलङमाथि एक्लै सुतेको कति पनि सुहाएको थिएन। ऊ कहिले दायाँ र कहिले बायाँ कोल्टो फेर्दै निदाउने असफल प्रयास गरिरहेको थियो। सायद ऊ सोचिरहेको थियो— म भुइँखाटमा मस्तसँग निदाइरहेकी छु, उसको कुनै पर्बाह नै नगरेर। यही सोचले सम्भवत: ऊ झन् तनावग्रस्त बनेको थियो। उसको यस अवस्थाको भेउ पाएर मलाई आफू उसप्रति बेपर्बाह भएको देखाउन मन लाग्यो। म उत्तानो पल्टिएँ। मैले आफ्ना खुट्टा फटयाएर दुई हातका पञ्जा पनि उत्तानो राखें। अहिले मेरो सासको गति बढेको थियो। र, सासको चालसँगै मेरा स्तनहरू पनि गतिमय भएका थिए। नाकबाट निस्किएको सासको न्यानो स्पर्शले अनायास मेरो शरीरको तापक्रम बढाइरहेको थियो।

अचानक ऊ जुरुक्क उठयो र पलङमाथि टुक्रुक्क बस्यो। केही बेरको मौनतापछि उठेर ऊ बाथरुम छिर्‍यो र ढयाम्म ढोका लगायो। ऊ बाथरुम छिरेपछि मैले सन्तोषको लामो सास तानें। मानौं, अगि मेरो कोठाभित्र छिरेको बतासको झोंका बल्ल कोठाबाट बाहिरिएको छ। मेरो शरीरमा स्फूर्ति पलायो। मैले अरट्ठ परेका आफ्ना हातखुट्टाहरू खुम्च्याएँ, तन्काए र सजिलो गरी घोप्टो परेर सुतें। उसले बाथरुमभित्र के ग‍र्‍यो, मलाई थाहा भएन तर फ्लस गरेको र पानीले छयापछयाप गरेको आवाज भने मेरो कानमा
परिरहेको थियो।

ऊ बाथरुमबाट बाहिर आयो। मैले महसुस गरें— उसले उभिएको उभियै पछाडिबाट भुइँखाटमाथि घोप्टिएको मेरो शरीर घुरेर हे‍र्‍यो। उसले एकटक लगाएर हेरिरहयो होला मेरा गोरा पिँडौला, मेरो फराकिलो नितम्ब, मेरो मांसल पिठयुँ, उसले चुम्ने गरेको दाहिने गालो र लुछ्ने गरेको कान। मेरो अर्धनग्न देहयष्टि देखेर उसमा के प्रतिक्रिया भयो, यसै सक्तिनँ। तर के अनुमान गर्न सक्छु भने म यसरी मनमोजी सुतेको देखेर उसलाई पक्कै पनि ईष्र्या लाग्यो होला। आफू यसरी किन सुत्न सकिनँ भन्ने सन्तापले ऊ पिरोलियो होला।

ऊ फेरि पलङमाथि चढेर तनावग्रस्त हुँदै उत्तानो पस्रियो। म भुइँखाटमा मनोग्रस्त भएर घोप्टिरहें। हामी एउटै पलङमा भएको भए सायद म उत्तानो परेकी धरती हुन्थें र ऊ ममाथि घोप्टिएको आकाश हुन्थ्यो। उत्तानो पर्ने र घोप्टिने क्रियाहरू पनि सधैं एउटै अवस्थामा लागू हुँदा रहेनछन्।

भुइँखाटमा घोप्टो परेको पर्‍यै मैले स्मरण गरें हाम्रो विवाहपछिका थुप्रै दिन र रातहरू † हामी दिउसै रात पाथ्र्यौं भने रातलाई झन् तन्काएर झिसमिसेको उत्कर्षसम्म पुर्‍याउँथ्यौं † मेरा आँखामा लोग्नेको मुहार नाच्यो। कति हिस्सी परेको छ ऊ। मलाई लाग्यो— उसको अनुहारलाई हत्केलाको बीचमा राखेर सधैं चुमिरहूँ। उसको मायालु अनुहार र अबोध आँखाहरू सम्झेर मेरो जिउमा एकाएक स्फूर्ति पलाएर आयो। मैले मीठो कल्पना गरें— म हरियो दुबोको चौर हुँ। ऊ मदमस्त साँढे हो, जो आफ्नो शरीर थर्काउँदै, जुरो हल्लाउँदै, पुच्छर डोलाउँदै र खुट्टा बजार्दै चौरको दुबो चरिरहेछ। हरियो दुबोका मुन्टा चपाएर ऊ तृप्त भइरहेछ।

म आफू रित्तिएर पनि चरचर आवाजको आनन्दले नयाँ पालुवा बनेर टुसाइरहन्छु। मलाई तन्द्रामै आभास भयो— मेरो लोग्ने पनि त्यही सोचिरहेछ, जुन म सोचिरहेछु। मौन भाषामा ऊ मलाई आमन्त्रण गरिरहेछ। तर मेरो शरीरको स्वच्छन्द अवस्था र सुताइको चेष्टा देखेर उसले किन बुझ्न सकेन कि म पनि त उसलाई खुला हृदयले निमन्त्रणा गरिरहेछु। ऊ एक पटक मात्र आएर मलाई स्पर्श त गरोस्, त्यति बेला उसले थाहा पाउनेछ कि उसको स्पर्शका लागि म कति आकुलव्याकुल छु। म पलभरमै पानीमा चिनी घुलेझैँ ऊभित्र लुप्त हुनेछु !

उसभित्र लुप्त हुने लालसाले मात्र पनि मेराअङ्गप्रत्यङ्ग आरनमा हालेको फलामझैँ रापिन थाले। मलाई महसुस भयो— मेरा रक्तनलीहरूमा तातो रगतको बाढी उर्लिएको छ। मेरो फोक्सो फुलिरहेछ र बढेको सास थाम्न मलाई मुस्किल परिरहेछ।

अँध्यारोमै म भुइँखाटबाट जुरुक्क उठें। मेरा खुट्टाहरू स्वचालित रूपमा पलङतिर बढे। तर अचानक बीचैमा म जोडले कसैसँग ठोक्किएँ र हामी दुवै भुइँखाटमाथि डङ्ग्रङ्ङ पछारियौं। म आश्चर्यचकित भएँ— म ठोक्किएको वस्तु अरू केही नभएर मेरो आफ्नै लोग्ने थियो। सायद ऊ पनि अँध्योरामा छामछुम गर्दै भुइँखाटतिर बढिरहेको थियो। धेरै दिनपछि यति नजिकबाट उसको पुरुष गन्ध सुँघ्न पाएर म निसासिन थालें। म सुतेको भुइँखाट अब भुइँखाटमा सीमित रहेन। हामी लोग्नेस्वास्नीको सशरीर उपस्थितिमा तीन फिट चौडा भुइँखाट सातफिटे डबल बेडको पलङभन्दा पनि लामो, चौडा, मुलायम र आनन्ददायक बनेको थियो। एक सप्ताहपश्चात् त्यो सानो भुइँखाटमा हामी लोग्नेस्वास्नी यसरी मच्चियौं, मानौं भर्खर मात्र हामी विवाहको पहिलो रात मनाइरहेछौं।
(आज विमोचन हुने कथासङ्ग्रह ‘भुइँखाट’ बाट)

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्

लोकोक्तिमा लोकदेवताहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — कथा–लोककथाको कथन वा पुनर्कथन आफैंमा मौखिक–साहित्यको एउटा स्वरूप पनि हो, एउटा मौलिक रूपबाट अर्कोमा रूपान्तरण हुँदै जाँदा श्रुति–संवादमा स्वभावत: परिवर्तन आउँछ नै । तर, त्यसको अभिलेखीकरण भने प्राय: भएको हुँदैन । केही चलनचल्तीका यस्ता कथाहरू बाँचिरहे पनि धेरैजसो हराएर, बिर्सिएर जान्छन् । 


कथाकथन र पुनर्कथनको यही मेहरोमा नेपाल, भारत र चीनको हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी १० वटा लोककथाहरूको संकलन बजारमा आएको छ— लोकदेवताहरू नाममा । कथा संकलन, पुनर्वाचन, अनुवाद, पुनर्लेखन र सम्पादनसम्मको प्रक्रिया पूरा गरेर आएका यी कथाहरूले हिमाली क्षेत्रको समवेत सामाजिक, सांस्कृतिक र धार्मिक विशेषता तथा विविधतालाई बाहिर ल्याएका छन् । विशेषत: कथा सोधखोजका क्रममा भारतमा उत्तराखण्ड राज्यको पिथौरागढदेखि तिब्बत स्वायत्त क्षेत्रको ङारीसम्म पुगेका शोधकर्ताहरूको यो प्रयत्न आफैंमा उल्लेख्य छ । ‘लोकदेवताहरू’ (कैलाश, तिसे र ग्हाङ रिन्पोछेका कथाहरू) प्रकाशनका क्रममा इन्डिया चाइना इन्स्टिच्युट, इसिमोड, लुस फाउन्डेसनजस्ता संस्थाको सहयोग/समन्वय देखिए पनि यो शोधपरक परियोजनाको उपलब्धि महत्त्वपूर्ण छ । पत्रकार गोविन्द अधिकारीको अनुवाद र प्रवीण अधिकारीको पुनर्लेखन सशक्त त छ नै, तर विशुद्ध नेपाली जनजिब्रो र पाठकीय अभिरुचिमा भने उच्चारण (नाम, स्थान आदि) मा केही क्लिष्ट लाग्न सक्छ । तर, नेपालको हुम्ला, जुम्ला, दार्चुला, गोरखादेखि भारतको उत्तराखण्ड वा चीनको तिब्बती भूमिसम्मका हिन्दु, बोन्पो, बुद्धमार्गी, जैन, शिख र अरू सबैले आ–आफ्नो लोकोक्तिमा ‘स्वर्गको सबैभन्दा नजिकको तीर्थ’ भनेर कैलाश पर्वतलाई दिएको सम्मानमा साझा विशेषता झल्कन्छ । लोककथा मार्फत दिएको ज्ञान, सन्देश र चेतावनी आफैंमा मनकारी छ । यसले फरक भूगोलको विविधतायुक्त चित्र–चरित्रभन्दा पनि देवी–देवतामाथिको साझा विम्बलाई एउटै तस्बिरमा उतारेको छ, पुस्तकको पृष्ठ–चिनारीमा भनिएकै छ, ‘कैलाश क्षेत्र वरपरबाट संकलित यी कथाहरूले यहाँका बासिन्दाहरूले जमिन र पुर्खाहरूसँगको नाता कसरी बुझेका छन् भन्ने केलाउँछ ।’

अहिले नेपाली र अंग्रेजी संस्करणमा आएका लोककथाहरू अब हिन्दी, म्यान्डरिन र तिब्बती भाषामा समेत द्विभाषी रूपमा आउने सूचना पुस्तकमा छ । तर, एउटै विषादपूर्ण पक्ष भने एउटा परियोजनाका रूपमा संकलित, संगृहीत लोककथाहरूलाई जति धेरै जनसाधारणमा जनश्रुतिका रूपमा सुन्न–सुनाउन पहल गर्नुपर्नेमा यो ‘स्पोन्सर्ड’ १ सय ३० पृष्ठको पुस्तकको मूल्य२ सय ५० रुपैँया किन राखिएको हो ?
बुझिनसक्नु छ ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्