लोकोक्तिमा लोकदेवताहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — कथा–लोककथाको कथन वा पुनर्कथन आफैंमा मौखिक–साहित्यको एउटा स्वरूप पनि हो, एउटा मौलिक रूपबाट अर्कोमा रूपान्तरण हुँदै जाँदा श्रुति–संवादमा स्वभावत: परिवर्तन आउँछ नै । तर, त्यसको अभिलेखीकरण भने प्राय: भएको हुँदैन । केही चलनचल्तीका यस्ता कथाहरू बाँचिरहे पनि धेरैजसो हराएर, बिर्सिएर जान्छन् । 

लोकोक्तिमा लोकदेवताहरू

कथाकथन र पुनर्कथनको यही मेहरोमा नेपाल, भारत र चीनको हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने गरी १० वटा लोककथाहरूको संकलन बजारमा आएको छ— लोकदेवताहरू नाममा । कथा संकलन, पुनर्वाचन, अनुवाद, पुनर्लेखन र सम्पादनसम्मको प्रक्रिया पूरा गरेर आएका यी कथाहरूले हिमाली क्षेत्रको समवेत सामाजिक, सांस्कृतिक र धार्मिक विशेषता तथा विविधतालाई बाहिर ल्याएका छन् । विशेषत: कथा सोधखोजका क्रममा भारतमा उत्तराखण्ड राज्यको पिथौरागढदेखि तिब्बत स्वायत्त क्षेत्रको ङारीसम्म पुगेका शोधकर्ताहरूको यो प्रयत्न आफैंमा उल्लेख्य छ । ‘लोकदेवताहरू’ (कैलाश, तिसे र ग्हाङ रिन्पोछेका कथाहरू) प्रकाशनका क्रममा इन्डिया चाइना इन्स्टिच्युट, इसिमोड, लुस फाउन्डेसनजस्ता संस्थाको सहयोग/समन्वय देखिए पनि यो शोधपरक परियोजनाको उपलब्धि महत्त्वपूर्ण छ । पत्रकार गोविन्द अधिकारीको अनुवाद र प्रवीण अधिकारीको पुनर्लेखन सशक्त त छ नै, तर विशुद्ध नेपाली जनजिब्रो र पाठकीय अभिरुचिमा भने उच्चारण (नाम, स्थान आदि) मा केही क्लिष्ट लाग्न सक्छ । तर, नेपालको हुम्ला, जुम्ला, दार्चुला, गोरखादेखि भारतको उत्तराखण्ड वा चीनको तिब्बती भूमिसम्मका हिन्दु, बोन्पो, बुद्धमार्गी, जैन, शिख र अरू सबैले आ–आफ्नो लोकोक्तिमा ‘स्वर्गको सबैभन्दा नजिकको तीर्थ’ भनेर कैलाश पर्वतलाई दिएको सम्मानमा साझा विशेषता झल्कन्छ । लोककथा मार्फत दिएको ज्ञान, सन्देश र चेतावनी आफैंमा मनकारी छ । यसले फरक भूगोलको विविधतायुक्त चित्र–चरित्रभन्दा पनि देवी–देवतामाथिको साझा विम्बलाई एउटै तस्बिरमा उतारेको छ, पुस्तकको पृष्ठ–चिनारीमा भनिएकै छ, ‘कैलाश क्षेत्र वरपरबाट संकलित यी कथाहरूले यहाँका बासिन्दाहरूले जमिन र पुर्खाहरूसँगको नाता कसरी बुझेका छन् भन्ने केलाउँछ ।’


अहिले नेपाली र अंग्रेजी संस्करणमा आएका लोककथाहरू अब हिन्दी, म्यान्डरिन र तिब्बती भाषामा समेत द्विभाषी रूपमा आउने सूचना पुस्तकमा छ । तर, एउटै विषादपूर्ण पक्ष भने एउटा परियोजनाका रूपमा संकलित, संगृहीत लोककथाहरूलाई जति धेरै जनसाधारणमा जनश्रुतिका रूपमा सुन्न–सुनाउन पहल गर्नुपर्नेमा यो ‘स्पोन्सर्ड’ १ सय ३० पृष्ठको पुस्तकको मूल्य २ सय ५० रुपैँया किन राखिएको हो ?

बुझिनसक्नु छ ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?