कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रीदेवीमाथि त्यो अन्याय

श्रीदेवीजस्ता कलाकारलाई भारतीय सिनेमा बजारले बजारकी ‘देवी’ त बनायो तर, उनको ‘श्री’ कायम गरने । बजारले उनीप्रति गर]को यो अक्षम्य अन्याय हो।
नयनराज पाण्डे

काठमाडौँ — श्रीदेवीलाई ‘बन्डल अफ टयालेन्ट’ भन्थे समीक्षकहरू । थुप्रै साउथ इन्डियन सिनेमामा अभिनय गरिसकेपछि उनको बलिउड प्रवेश जादूझैँ थियो । आउनासाथ उनले दर्शकलाई आफ्नो रूप, नृत्य र अभिनयको मादक प्रभावमा फसाइहालिन् ।

श्रीदेवीमाथि त्यो अन्याय

सोच्छु, श्रीदेवी नभइदिएको भए मेरो जीवन कति नीरस हुन्थ्यो !


तिनताक म पद्मिनी कोल्हापुरेसितको एकतर्फी प्रेममा थिएँ । सपनामा आउँथिन् उनी र मलाई मायाले निथु्रक्क पारेर जान्थिन् । पूर्वजन्मको प्रेममा आधारित केही हिन्दी सिनेमाको प्रभावले ग्रस्त थिएँ म । त्यसैले मभित्र पद्मिनी कोल्हापुरे नै मेरो अघिल्लो जन्मकी प्रेमिका हु्न् भन्ने भ्रम स्थापित भइसकेको थियो । त्यो अल्लारे प्रेमका कतिपय कुराहरू मैले आफ्नो उपन्यास ‘घामकिरी’ का केही प्रसंगमा मज्जाले घालमेल गरेको छु ।


‘मायापुरी’ भन्ने पत्रिकामा हिन्दी सिनेमाका स्टारहरूको घरको ठेगाना पनि छापिएको हुन्थ्यो । त्यसैबाट प्यारी पद्मिनीको ठेगाना सारेर म कक्षा दसको पढाइलाई बीचमै छाडेर घरबाट फुत्त बम्बईका लागि भागेको थिएँ । करिब तीन चार हप्ताको बम्बई बसाइ रोचक र कष्टकर दुवै भए । दिनभरि पद्मिनी कोल्हापुरेको घरअगाडि चक्कर लगायो, साँझ लोकल ट्रेन चढेर पूर्वी मलाडको झुपडपट्टीमा बास बस्न आइपुग्यो । बेखर्ची स्थितिले सताउन थालेपछि मैले नेपालगन्ज फर्किनुमै कल्याण देखेँ । पद्मिनीसित भेटघाट नभएपछि उनीप्रतिको मेरो आसक्ति डाँबाडोल भयो र मनमनै उनीसित सम्बन्धविच्छेद गरेर म अनेक हन्डर खाँदै घर फर्किएँ ।

उदासीका ती दिनहरूमा श्रीदेवी मेरो जीवनमा आइन् । मेरो मनमा परेको जोडदार ‘सदमा’ मा श्रीदेवीको ‘सदमा’ भन्ने सिनेमाले मेरो चोटमा मलमको काम गर्‍यो । सम्भवत: मैले हेरेको उनको पहिलो फिल्म त्यही थियो । त्यसपछि म उनीसित नजिकिएँ र उनलाई पद्मिनीभन्दा बढ्ता प्रेम गर्न थालेँ । यसरी मैले पद्मिनीसित प्रतिशोध लिएको थिएँ ।


***

श्रीदेवीलाई ‘बन्डल अफ टयालेन्ट’ भन्थे त्यसबेलाका फिल्म समीक्षकहरू । थुप्रै साउथ इन्डियन सिनेमामा अभिनय गरिसकेपछि उनको हिन्दी सिनेमामा आगमन भएको थियो । हिन्दी सिनेमामा उनको प्रवेश जादूझैँ थियो । एकदम तिलस्मी । आउनासाथ उनले दर्शकहरूलाई आफ्नो रूप, नृत्य र अभिनयको मादक प्रभावमा फसाइहालिन् । त्यसपछि बर्सेनि उनका आठ–दसवटा फिल्म आउन थाले । यतिन्जेल हिन्दी सिनेमाकी सबैभन्दा महँगी तारिका भैसकेकी थिइन् उनी । नब्बेको दशकको सुरुआतताका नै उनले एउटा फिल्ममा अभिनय गरेको एक करोड लिन्छिन् भन्ने हल्ला व्यापक भइसकेको थियो । हिन्दी सिनेमाको पहिलो महिला सुपरस्टारको दर्जा उनले हासिल गरिसकेकी थिइन् ।


भारतमा समानान्तर सिनेमाको अभ्यास भएको लामो समय भइसकेको थियो । केवल मनोरञ्जनको उद्देश्यले बनाइने मुख्यधाराका सिनेमाको विकल्पमा स्थापित गर्न खोजिएको समानान्तर सिनेमाले आफ्नो अस्तित्व सावित गर्ने प्रयास गरिरहेको थियो । भारतीय फिल्म विकास निगमको आर्थिक सहयोगमा त्यस्ता फिल्महरू बनिरहेका थिए । तर, असीको दशकको आधाआधीसम्म पुग्दा नपुग्दै भारतमा समानान्तर सिनेमा ओरालो लाग्न थालिसकेको थियो । समानान्तर सिनेमाले स्मिता पाटिल, शबाना आजमी, दीप्ति नवल, सुप्रिया पाठकजस्ता महिला कलाकारलाई सम्मानसाथ स्थापित गरिदिएको थियो । उनीहरूको अभिनयले भारतीय रजतपटलाई गरिमामय बनाएको थियो ।


मुख्यधाराका सिनेमाले दर्शकहरूको अपार भीड त जुटाइरहेको थियो तर सिनेमाको गरिमा अभिवृद्धिमा तिनको खासै भूमिका थिएन । मुख्यधाराका सिनेमाले बनाएको बजारमा समानान्तर सिनेमा निसास्सिइरहेको थियो । त्यही बजारले बनाएको कलाकार थिइन् श्रीदेवी । त्यसैले बजारमा उनको मादक छवि त सुपरहिट भइरहेको थियो तर त्यसले स्मिता पाटिल या शबाना आजमीको अभिनय क्षमताको उचाइलाई भने पटक्कै छुन सकेको थिएन । भारतीय सिनेमा बजारले उनलाई आफूअनुकूल प्रयोग गरिरहेको थियो र श्रीदेवीभित्रको अभिनयको अपार सम्भावनालाई साँघुरो बनाइदिएको थियो । झन्डै तीन सय हाराहारी सिनेमामा अभिनय गर्दा पनि उनको भागमा पाँच सातवटाभन्दा उल्लेखनीय सिनेमा परेका छैनन् । ‘सदमा’, ‘मिस्टर इन्डिया’, ‘चाँदनी’, ‘लम्हे’, ‘चालबाज’ र ‘जुदाई’ जस्ता सीमित सिनेमाबाटै उनको अभिनय क्षमताको विश्लेषण गर्नुपर्ने बाध्यतामा छन् फिल्म समीक्षकहरू । यस अर्थमा उनलाई बम्बईया सिनेमाको चमकदमकमा अलमलिएकी ‘स्प्वायल्ड जिनियस’ भनिदिँदा खासै फरक पर्दैन ।


माथि नाम उल्लेख गरेका ती चार–पाँच सिनेमा उनीभित्रको अभिनय क्षमताका बलिया उदाहरण हुन् । आँखाको गति, शारीरिक भंगिमा र अनुहारको एक्सप्रेसनबाट एकै छिनमा विविध खालका भावहरू उत्पन्न गर्ने अद्भुत क्षमता थियो उनीभित्र । शब्दैपिच्छे अनुहारको भावलाई फेर्न सक्ने कलामा उनी पोख्त थिइन् । एकै छिनमा गम्भीर र एकै छिनमा हास्य अभिनयमा सिफ्ट भइहाल्न सक्ने उनको कलाको जति तारिफ गरे पनि कम हुन्छ । त्यसैले उनको अभिनयमा स्थिरता हैन, गतिशीलता देखिन्छ र यही खुबीले उनलाई गजबको कलाकार सावित गर्छ । तर, हिन्दी सिनेमामा चलेका समानान्तर सिनेमा र आर्ट सिनेमाले त्यतिबेला उनलाई पूरै इग्नोर गरिदिए । श्रीदेवीकै प्राथमिकतामा पनि परेनन् त्यस्ता सिनेमा । फलत: सिनेमाले उनलाई अथाह पैसा त दियो तर महान् कलाकार बन्ने अवसर दिएन । तर, विवाहपश्चात्को झन्डै डेढ दशकपछिको सिनेमामा उनको आगमन भने आशालाग्दो थियो । र ‘इंग्लिस विंग्लिस’ र उनको तीन सयौं फिल्म ‘मम’ यी दुई सिनेमाले उनीभित्रको अभिनयको आयामलाई फराकिलो बनाएको अवश्य हो । तर, दुर्भाग्य † असामयिक निधनले यहाँ पनि उनलाई धोका दियो ।


तर, यत्तिकै भरमा श्रीदेवीको उपेक्षा गर्न सक्दैनौं हामी । उनी त्यस्ती कलाकार हुन्, जसको उपस्थितिले मूलधारको हिन्दी सिनेमाका नारी कलाकारको कमजोर छविलाई बलशाली बनाएको थियो । उनले अभिनय गरेका धेरैजसो सिनेमामा उनी केन्द्रीय भूमिकामा देखिन्थिन् । निर्देशकहरूले उनको ‘इमेज’ लाई भरपूर प्रयोग गरेका थिए । त्यसको फाइदा के भयो भने, उनले आफूलाई नायकको वरिपरि नाचगान गर्ने कलाकारको रूपमा सीमित राख्नुपरेन । यसैलाई उपलब्धि मान्ने हो भने उनले पाएको यो उपलब्धि उल्लेखनीय भने पक्कै हो ।

***

मैले सबैभन्दा बढी कुनै महिला कलाकारको सिनेमा हेरेको छु भने ती श्रीदेवीकै सिनेमा हुन् । उनका सिनेमा दिनभरिको तनाव र थकान निर्मूृल पार्ने सिनेमा हुन् । दर्शकको दिमागमा आसक्ति र रोमान्टिक सपना निर्माण गरिदिने सिनेमा हुन् । उनका सिनेमामा उद्देश्य, समाज या यथार्थ खोज्नु खासै जरुरी छैन । बस्, सपरिवार बस्यो, हेर्‍यो, हाँस्यो, रोयो र रमायो । उनको सिनेमाको दायरा यत्ति हो ।


उनी जन्मजात कलाकार हुन् । अभिनय आफ्नो प्राकृतिक स्वरूपमा उनीभित्र थपक्क बसेको थियो । कुनै प्रशिक्षण या अध्ययनले उनलाई अभिनय सिकाएको थिएन । त्यसैले अभिनयप्रति उनको समझ विशिष्ट थिएन । उनका अन्तर्वार्ताबाट उनको बौद्धिक छवि पटक्कै प्रकट हुन्नथ्यो । बजारले उनको भरपूर फाइदा त उठायो तर उनको सदुपयोग भने गरेन । यस अर्थमा भन्न सकिन्छ, हिन्दी सिनेमाले अपार अभिनय क्षमता भएकी यी ‘अदाकारा’ प्रति कहिले पनि न्याय गरेन । चार वर्षको उमेरदेखि उनले अभिनय गर्न थालिन् र विवाहपछिको बीचको करिब डेढ दशक अवधिलाई उनको विश्राम अवधि मात्र मानिदिने हो भने उनले झन्डै आफ्नो उमेर जत्ति नै समय सिनेमा क्षेत्रमा लगानी गरिन् । यो अवसर पाउने उनी सीमित कलाकारमध्ये हुन् । यस्तो कमै मात्र हुन्छ । तर, हिन्दी सिनेमाको बजारको हस्तक्षेपले उनको यति लामो समयसम्मको सिनेमा क्षेत्रको उपस्थितिलाई खासै गरिमामय बनाउन सकेन । त्यसैले बजारको छलछाम र चकाचौँधमा अल्मलिएकी कलाकारको रूपमा श्रीदेवीको चर्चा लामो समयसम्म भैरहनेछ ।


***

श्रीदेवी लगभग मेरै उमेरकी कलाकार हुन् । त्यसैले हामी समवयी हौँ । यस हप्ता उनको निधन भयो । उनको निधनमा किशोरवयका मेरा सपनाहरू पनि मलामीका रूपमा सामेल भएका छन् । मेरा ती सबै सपनाहरूको श्रद्धाञ्जली छ श्रीदेवीप्रति ।


अब पनि मेरा उमेरका दर्शकहरूमाझ उनको चर्चा लामो समयसम्म भइरहला । हामीले त उनका ‘मवाली’, ‘तोहफा’, ‘नागिन’, ‘नगिना’, ‘औलाद’ जस्ता सिनेमालाई पक्कै सम्झिरहौँला । तर, सिनेमा हेर्ने अबको नयाँ पुस्ताले उनका सिनेमाहरू खोजीखोजी हेर्लान् भन्ने सम्भावना कमै छ । उनीजस्ता बन्डल अफ टयालेन्ट भनेर चिनिने कलाकारलाई भारतीय सिनेमा बजारले बजारकी ‘देवी’ त बनायो तर, उनको ‘श्री’ (अर्थात् गरिमा) कायम गरेन । बजारले उनीप्रति गरेको यो अक्षम्य अन्याय हो । श्रीदेवीप्रति भएको यही अन्यायकै कारण पनि मलाई श्रीदेवीको माया लाग्छ । त्यसैले म उनलाई आज पनि प्रेम गर्छु । म उनलाई सम्झिरहन बाध्य छु । किनभने पद्मिनी कोल्हापुरेसितको मेरो वान साइडेड लब स्टोरीको दु:खद अन्त्यपछि आहत भएको मेरो मनलाई सम्हाल्ने उनै हुन् ।


उनी मेरो सपनामा नआइदिएको भए र मसित मेरै भाषामा ‘चिन्ता नगर राजु † पद्मिनीले वास्ता नगरे पनि के भो त † म छु नि † म तिमीलाई अथाह प्रेम गर्छु’ नभनिदिएको भए मेरो मन कति बेचैन भैरहने थियो होला । उनी महान् कलाकार बनिन् बनिनन् त्यो अलग पाटो हो तर मजस्ता करोडौँ ‘बेचैन’ किशोर मनलाई ‘चैन’ दिने उनलाई त्यसैले पनि सम्झनु जरुरी छ । ‘दर्शकको मनलाई आनन्दित पार्नु पनि कलाकारको सफलता हो’ भन्ने तर्क गर्नेहरूको ठूलो जमात विद्यमान छ समाजमा । त्यो तर्कलाई बकवास भनिहाल्न पनि त सकिँदैन । ‘मालदार’ बजारले निर्माण गर्ने तर्क र स्थापित गर्ने मान्यता यही त हो । यस्तै त हो ।

प्रकाशित : फाल्गुन १९, २०७४ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?