कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

समयले सच्याउन नसकेको गल्ती 

सम्झना
ईश्वर बुढाथोकी

काठमाडौँ — सायद पत्याइनसक्नुको शक्ति बोकेर हिँड्ने समयले पनि कहिलेकाहीं गल्ती गर्छ । नत्र त कोहीकोही विचित्र मानिस समयभन्दा अघि जन्मिने र बेलै नभई मर्ने थिएनन् । उर्दू साहित्यका अग्रणी एवम् प्रसिद्ध लेखक, कथाकार सआदत हसन मन्टो एक त्यस्तै प्रतिभा थिए जसलाई जन्माउन समयले निकै हतार गरेको थियो ।

समयले सच्याउन नसकेको गल्ती 

जतिबेला मन्टो जन्मिनुपथ्र्यो त्यतिबेला समयले उनलाई अतीत बनाइदिइसकेको थियो । सन् १९१२ मा पन्जाबको लुधियानामा जन्मिएका मन्टोले ४२ वर्षको अल्पायुमा जे जति लेखे ती तत्कालीन समाजका लागि धृष्टता या दुस्साहस बाहेक केही थिएनन् । मानौं, उनले त्यो समयमा ऐनाको आविष्कार गरे जतिखेरका धेरैजसो मानिसहरू कि त कुरूप थिए कि आँखै देख्दैनथे ।


मन्टो समयले सच्याउन नसकेको गल्ती नै थिए । हुन सक्छ त्यसैले पनि उनी जीवन र साहित्य दुवैमा हदैसम्म बदनाम भए । इज्जत र उनीबीच कोसौंको दूरी थियो । बिचरा रक्सी पिउन नपाए बिरामीझैं देखिन्थे । रक्सी उनलाई कतिसम्म मीठो चीज थियो भने जीवनको अन्तिम क्षणमा पनि उनले पानीको सट्टामा एक पेग ह्विस्की मागेका थिए । मन्टो आफ्नो जन्म, विवाह र लेखक बन्नुलाई जिन्दगीका तीन दुर्घटना मान्थे र जीवनलाई लापरबाहीपूर्ण तरिकाले बेफिक्रीका साथ जिउँथे । समाज एकातिर हुन्थ्यो उनी अर्कैतिर हुन्थे । समाजले जहिल्यै लुकाएर राख्ने यौनजस्तो विषयमा उनी खुलेर चर्चा गर्थे तर दिमागमा कहिल्यै बोकेर हिँड्थेनन् । सरदार जाफरी, कृस्नचन्दर, इस्मत चुगताई, उपेन्द्रनाथ अश्क, फैज अहमद, चर्चित अभिनेता अशोक कुमारजस्ता साथीहरूको सामीप्यमा रहे पनि मन्टोको दुनियाँ नितान्त अलग्गै थियो ।


मन्टोले कथासँगै नाटक, निबन्ध र व्यक्तिचित्र लेखे । अनुवाद र पत्रकारिता पनि गरे । उनी एकदमै जिद्दी र दम्भी लेखक थिए । उनको कलमको कुनै सीमा थिएन । उनी यस्तो लेख्न होला या नहोला भन्ने नै सोच्थेनन् । जस्तो लेख्थे, त्यही रूपमै प्रकाशन र प्रसारण गराउँथे । मन्टो अल इन्डिया रेडियोमा जागिरे छँदा एक पटक उनले लेखेको एउटा नाटकलाई काटछाँट गरेर मात्र प्रसारण गर्न खोजिएको थियो । यत्तिको निहुँमा उनले रेडियोको जागिरै छोडिदिए । मन्टोले केही फिल्मका लागि कथा र पटकथा पनि लेखे । फिल्म ‘आठ दिन’ मा त एक पागल सैनिक अफिसरको छोटो भूमिकामा अभिनय पनि गरे । संयोग पनि कस्तो भने उनै मन्टोले आफ्नो व्यक्तिगत जीवनमा दुई पटक बहुलाएर पागलखानामा उपचार गराउन पर्‍यो । आमाको असामयिक मृत्यु हुँदा परेको आघातले महिनौं विक्षिप्त भएका मन्टो आफ्नो नवजात छोरा वफातको मृत्युपछि त बेहोसीमै रहन थालेका थिए । दिमागी तार चुँडिनै लाग्दा पनि लेख्न भने नछाडेका मन्टोका बारे गुजरातीका लेखक विनोद भट्टले लेखेका छन्, ‘मन्टोको जिन्दगीमा होसको समय एकदम कम थियो । मन्टो बेहोसीमै पनि पूरा होसमा हुन्थे ।’


बालखैदेखि मन्टो पिताको छत्रछायाबाट वञ्चित थिए । तीन जना सौतेनी दाजुभाइ थिए जो विदेशमै पढे–लेखेर स्थापित भएका थिए । विदेशबाट दाजुले पठाइदिएको खर्चबाट मन्टोका आमा छोराले निकै दिन गुजारा गरेका थिए । मन्टो पढाइमा भने असाध्यै लद्दु थिए । उनका साथी सुप्रसिद्ध कवि फैज अहमद फैजले एमए उत्तीर्ण गरेर अमृतसर कलेजमा पढाउन थाल्दा उनीचाहिं म्याट्रिकमै अल्झिरहेका थिए । उर्दूका यी महान् कथाकार म्याट्रिकमा उर्दूमै फेल भएका थिए । म्याट्रिकमा हयाट्रिक गरेपछि बल्ल उत्तीर्ण भएका मन्टो उच्च शिक्षाका लागि अलिगढ विश्वविद्यालयमा भर्ना भएका थिए । तर क्षयरोग लागेको निहँुमा कलेजले निकालिदियो । पढाइमा कमजोर र कलेजबाट निष्कासित उनै मन्टोका किताबमाथि आज पीएचडीको थेसिस लेखिएको छ । गुजरातको सौरास्ट विश्वविद्यालयले मन्टोका कथाहरूलाई पाठयक्रममा राखेको छ । उनको जीवनीमाथि नै फिल्म बन्दै छ ।


मन्टोको परिहास

मन्टो जहाँ हुन्थे त्यहाँ लफडा पनि हुन्थ्यो । उनी नियतिले अमिलो दिए त्यसकै अचार बनाएर स्वाद लिने खालका थिए । उनी आफ्ना लेखक साथी उपेन्द्रनाथ अश्कलाई उडाउँदै भन्थे, ‘अश्क एकदम मख्खीचुस छ । उसले एउटा बिरालो पालेको छ जसलाई साँझबिहान यताउति यत्तिकै खुला छोडिदिन्छ जब बिरालो बाहिरबाट दूध पिएर आउँछ तब ऊ बिरालोलाई भुइँमा सुताएर सबै दूध निकाल्छ र त्यसैले चिया बनाएर पिउँछ । यो कुरा मैले कसैसँग सुनेको होइन । आफ्नै आँखाले देखेको हुँ र म आफूले पनि त्यो चिया पिइसकेको छु ।’ अश्कसित पछि उनको खटपट पनि पर्‍यो । उनीहरूबीच प्रेमघृणाको सम्बन्ध थियो । अश्कले ‘मन्टो मेरा दोस्त : मेरा दुश्मन’ पुस्तक नै लेखे ।


मन्टोको कथा ‘बू’ माथि जब मुद्दा चल्यो तब एक लेखकले उनलाई भनेछन्, ‘तपाईंको कथा बूको दुर्गन्ध टाढाटाढासम्म फैलियो भनेर गुनासो आएछ नि ।’ मन्टो के कम थिए र हाँस्दै जवाफ दिइहालेछन्, ‘केही छैन म एउटा कथा फिनाइल लेखेर त्यो गुनासोलाई ठीक गर्दिउँला ।’ अर्को एउटा कटाक्ष किस्सा यस्तो छ, एक पटक सीआईडीका एक अधिकारी मन्टोको घर पुगे । मन्टोलाई लाग्यो लाहोरबाट गिरफ्तारीको वारेन्ट लिएर प्रहरी आयो । मन्टोले ती अधिकारीलाई सोधे, ‘भन्नोस् अब मेरो कुन कथाले सास्ती दियो ?’ ती अधिकारीले भने, ‘म यहाँ यो कुराको जाँच गर्न आएको हुँ तपार्इंको नाम कम्युनिस्ट पार्टीको रजिस्टरमा लेखिएको छ, भन्नुस् त त्यससँग तपाईंको के सम्बन्ध छ ?’ मन्टोले सोधे, ‘रजिस्टरसित कि कम्युनिस्टसित ?’ दाहोरो संवादमा ती अधिकारीको केही लागेन र उक्त प्रकरण त्यहीं रोकियो ।


‘ठन्डा गोस्त’ कथामाथि मुद्दा चलिरहेका बेला एक पटक मन्टो आफ्नो साथी नसिरसित ट्रेन चढेका थिए । उनीहरूसित बियरको बोतल पनि थियो । रेलको जुन डिब्बामा उनी बसेका थिए । त्यही डिब्बामा एक मौलवी हातमा माला जपेर बसिहेका थिए । मन्टोले त्यी मौलवीलाई भगाउन आफ्नो साथीलाई भने, ‘बियरको बोतल निकाल ।’ तुरुन्तै नसिरले सिट मुन्तिरबाट सिसी निकालेर मन्टोलाई दिए । केहीक्षणमै मौलवी अर्को स्टेसनमै झरे । त्यहीं अर्का एक सज्जन मानिस आफ्नी श्रीमतीसित बसिरहेका थिए । मन्टोले ती सज्जनलाई भने, ‘हेर्नोस्, हामी त पर्‍यौं जँड्याहा । हामीसँग बियरको बोतल पनि छ । यसलाई पिएपछि हामी अन्टसन्ट बक्न थाल्छौं । तपाईं सज्जन हुनुहुन्छ । फेरि श्रीमती पनि साथै हुनुहुन्छ । त्यसैले अर्को डिब्बामा गएर आरामले बस्नोस् ।’ ती सज्जन बाहिर गए र स्टेसन म्यानेजर जो मन्टोका पुराना सहपाठी पनि थिए, उनलाई भने डिब्बामा दुई जना बदमास बसेका छन् । म्यानेजरले भने अहँ त्यो डिब्बामा सआदत हसन मन्टो बसेका छन् जो अत्यन्तै सज्जन छन् । तर ती यात्रीले पत्याएनन् र श्रीमतीलाई लिएर अर्कै डिब्बामा बस्न गए ।


मन्टोले एक पटक रक्सी छाडे । तर केही समयपछि त्यो रक्सीले छोडेजस्तो सावित भयो । मन्टोले रक्सी छोड्न सकेनन् । एक जना मित्रले भने ‘तपाईंले रक्सी छोडे भन्दा म निकै खुसी थिएँ तर अहिले फेरि पिउन थाल्नुभएछ । मलाई दु:ख लागेको छ ।’ परिहासमा उत्तिकै सिपालु मन्टोले भनेछन्, ‘तपाईंले सत्य भन्नुभयो अहिले फरक के छ भने त्यतिबेला तपाईं खुसी हुनुहुन्थ्यो । आज म खुसी छु ।’


अदालतमा मन्टो

मन्टोका पाँच कथामाथि अदालतमा मुद्दा चले । तीनवटा भारतमा र दुईवटा पाकिस्तानमा । ती कथाहरू क्रमश: ‘काली सलवार’, ‘धूवाँ’, ‘बू’, ‘ठन्डा गोस्त’, र ‘उपर, निचे और दरमियान’ हुन् । सन् १९४५ ताका पन्जाबको ‘खैयाम’ पत्रिकामा मन्टोको ‘बू’ कथा छापियो । छापिनेबित्तिकै यस कथाको खुब आलोचना भयो । पन्जाब सरकारले कथा छापिएको पत्रिकै जफत गर्‍यो । कथा ‘बू’ माथिको मुुद्दामा राजेन्द्रसिंह वेदी, कन्हैयालाल कपुर, खान बहादुर, अब्दुल रहमानलगायतका उर्दूका विशिष्ट लेखकहरूले कथा अश्लील नभएको, यसलाई पढेर पाठकमा खराब विचार नआउने भन्दै मन्टो पक्षमा बयान दिए । यो मुद्दा मन्टोले जिते ।


‘ठन्डा गोस्त’ छाप्ने पत्रिकाले जरिवाना तिर्नु मात्र परेन यसले निकै हलचलै मच्चायो । अदालतमा यस कथाका पक्ष र विपक्षमा अनेकन दलिलहरू प्रस्तुत भए । लाहोरका मनोविज्ञान विभागका वरिष्ठ प्राध्यापक डा. लतिफले मन्टोको उक्त कथाको विरोधमा भनेका थिए, ‘मैले ठन्डा गोस्त कथा भर्खर पढें । यो गलत ठाउँमा छापिएको छ । मेरो भनाइको तात्पर्य के हो भने यो कथा कुनै साइन्टिफिक म्यागजिनको केस हिस्ट्रीका लागि पुरुषत्व र नामर्दीको पक्षमा या विरोधमा छापिएको भए त्यसमा अश्लीलताको आरोप लाग्ने थिएन । जुन शब्दको प्रयोग त्यहाँ भएको छ । त्यो निकै घिनलाग्दो छ । ती शब्दको महत्त्व केस हिस्ट्रीमा धेरै हुन्छ ।’ यस मुद्दामा मन्टो पक्षमा चार वकिलले बहस गरेका थिए । अन्तत: अदालतले तीन महिनाको जेल सजाय र तीन सय रुपैयाँ जरिवानाको फैसला सुनायो । तल्लो अदालतको फैसलाको विरुद्धमा मन्टो माथिल्लो अदालतमा अपिल गर्न पुगे र छुटे ।


मन्टोको अर्को कथा ‘उपर, निचे और दरमियान’ लाई लिएर लाहोरको अदालतमा मुद्दा चलिरहेको थियो । अदालतमा मन्टो ढिलो गरी पुगेपछि न्यायाधीशले सोधे, ‘किन ढिलो गरी आउनुभयो ?’ मन्टो भन्छन्, ‘योर अनर, म बिरामी छु ।’ त्यसो भए डाक्टरको पुर्जी पठाइदिएको भए हुन्थो त ? मन्टोले भने, ‘म यत्ति बिरामी थिएँ कि मेडिकल रिपोर्ट पठाउने कुरा पनि सोच्नै सकिनँ ।’ न्यायाधीशले मन्टोलाई ‘तपार्इं के चाहनुहुन्छ’ भनेर सोध्दा मन्टोले आफूले छुट्कारा चाहेको बताए । न्यायाधीशले कथा पढेरमा फैसला सुनाउने कुरा गरे । भालिपल्ट मन्टो अदालतमा हाजिर भए । न्यायाधीशले मैले फैसला लेखें भन्दै गोजीबाट एक कागत झिकेर सहयोगीलाई सोधे, ‘आज कति तारिख हो ?’ सहयोगीले पच्चीस के भनेका थिए । कानको एन्टेनाले त्यति काम नगरिरहेका मन्टोले पच्चीस रुपैयाँ जरिवाना गरेको ठानेर फयाट्ट भने, ‘योर अनर, पच्चीस रुपैयाँ जरिवाना !’ यति थोरै रकमको जरिवाना होला भनेर मन्टोले कल्पनै गरेका थिएनन् । खासमा न्यायाधीशले ५०० रुपैयाँ जरिवाना गरेका थिए । तर मन्टोको कुरा सुनेपछि उनले ५०० को पछाडिको दुइटा शून्यलाई मेटेर ५ को अघि २ थपिदिए । मन्टोले झमेला सस्तोमै टर्‍यो भन्ने ठाने ।

ती न्यायाधीश थिए मेहेन्दी अली सिद्की जो मन्टोका कथाका प्रशंसक थिए । उनले मन्टोलाई बेग्लै भेटेर कुराकानी गरेका थिए । भेटमा मन्टोले मेरो प्रशंसक थियौ भने मलाई किन जरिवाना गर्‍यौ भनेर सोध्दा न्यायाधीशले यसको जवाफ म एक वर्षपछि दिन्छु भनेका थिए तर त्यसको वर्षदिन पूरा नहुँदै मन्टोको देहान्त भयो । न्यायाधीशले ‘मन्टो मेरो अदालतमा’ शीर्षकको लेख लेखे र मन्टोसित गरेको वाचा पूरा गर्न नसकेकोमा ग्लानि व्यक्त गरे ।


सन् १९४८ मा हिन्दुस्तान भारत र पाकिस्तानमा विभाजित हुँदा मन्टोले पाकिस्तान राजेका थिए । भनिन्छ, यसैबेलादेखि मन्टो पनि दुई भागमा बाँडिएँ । सआदत हसन पाकिस्तान गए भने मन्टो भारतमै बसे । सन् १९५५ मा मन्टो सधैंका लागि धरतीमा मिसिन गए । १९३५ मा ‘आतिशपारे’ कथासङ्ग्रहसहित राजकमल पाकेट बुक्सबाट ‘दस्ताबेज’ शीर्षकमा मन्टोका सम्पूर्ण रचना पाँच खण्डमा प्रकाशित छ । मन्टोले समाज बिगार्ने वा चर्चा पाउनका लागि भनेर लेखेका थिएनन् । यदि आज उनी हुँदा हुन् त उनी लेखेरै सेलिब्रेटी हुन्थे होलान् ।

(विनोद भट्टकृत ‘मन्टो एक बदनाम लेखक’ र मन्टोको संस्मरणात्मक ‘मीनाबजार’ लगायत कृतिका आधारमा)

प्रकाशित : फाल्गुन १२, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?