त्यो फाइनल

क्रिकेटमा अन्तिम बल र विकेट रहेसम्म हारजित छिनोफानो हँुदैन । त्यसैमा नेपालको आशा थियो । 
राजु घिसिङ

काठमाडौँ — विश्व क्रिकेट लिग डिभिजन २ मा राउन्ड रोबिन लिगको अन्तिम खेलमा क्यानडाविरुद्ध नेपाल हारको संघारमा पुगेको थियो । १९४ रनको चुनौती पाएको नेपालले १४४ रन जोड्दै नौ विकेट गुमाइसकेको थियो । सोचिएको थियो— अब नेपाली टिम हार्छ । नामिबियामा भएको डिभिजन २ को उक्त खेल हार्‍यो भने विश्वकप २०१९ छनोटमा पुग्ने नेपालको सम्भावना पनि समाप्त हुने थियो । तर फाइनसरहको खेल नेपालले गुमाउने निश्चितजस्तै देखिएको थियो ।

त्यो फाइनल

अन्तिम ब्याटसम्यान थिए, सन्दीप लामिछाने । उनी बलर हुन् । लेग स्पिनर । र कामचलाउ ब्याटसम्यान । विन्डहोकको क्रिजमा ओर्लंदा उनलाई के लागेको थियो त ? उनले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा जति हुन्छ खेल्दै जाउँ । यस्तो मौका फेरि आउँदैन । जतिसम्म सकिन्छ बिस्तारै गेमलाई लिएर जाउँ भन्ने लागेको थियो । त्यतिबेला पनि जित्ने सोचेको थिइनँ ।’


क्रिकेटमा अन्तिम बल र विकेट रहेसम्म हारजित छिनोफानो हँुदैन । त्यसैमा नेपालको आशा थियो । अन्तिम विकेटका लागि करण केसीसँग ५१ रनको साझेदारी गरेका सन्दीपले भने, ‘अन्तर ३० रनमा झरेपछि खेल तान्न सक्ने अलि विश्वास हुनथाल्यो । अन्तर १० रनमा आएपछि त्यो खेल उनीहरू (क्यानडा) आफैंले समर्पण गरेजस्तै भयो ।’ सेसिल परवेजले अन्तिम ओभरमा सुरुका चार बलमा कुनै रन दिएनन् । ‘चार बल राम्रो फाले,’ सन्दीपले सुनाए । नेपाललाई खेल जित्न अन्तिम दुई बलमा ८ रन चाहियो । ओभरको पाँचौं बलमा करणले छक्का प्रहार गरे । त्यसपछि परवेजले वाइड फाले । र अन्तिम बलमा करणले १ रन जोड्दै नेपाललाई सनसनीपूर्ण जित दिलाएका थिए ।


‘नेपालको जितको श्रेय करण दाइलाई जान्छ,’ सन्दीपले भने, ‘त्यस्तो इनिङ्स मैले कहिल्यै देखेको थिइनँ । विश्वकप छनोटमा पुग्नलाई जित्नैपर्ने खेलमा यस्तो इनिङ्स वास्तवमै अविश्वसनीय थियो ।’ उनले त्यसबेला आफू विकेट जोगाएर स्ट्राइक करणलाई दिने सोचेको बताए । सुनाए, ‘म खेलिरहन्छु । जति बल डट खेले पनि केही हुँदैन, हजुरले अर्को ओभरमा पाइहाल्नुहुन्छ । १ रन आउँछ भने लिन्छु, त्यसका लागि खेल्दिन्छु भनेर एउटा खेलाडीले देखाउनुपर्ने विश्वास देखाइरहेको थिएँ । दाइले पनि हुन्छ तिमी मज्जाले खेल भन्नुभयो । अनि आत्मविश्वास आयो ।’


कठिन परिस्थितिमा नै उत्कृष्ट खेलाडीले कला देखाउँछन् । त्यस्तो अवस्थामा राम्रो बलरले कमजोर बल दुर्लभै फाल्छन् । आफू क्रिजमा छँदा १–२ बल मात्र केही कमजोर रहेको सन्दीपको ठम्याइ छ । उनी मिहिनेती छन्, इमानदारीसाथ योजना बनाएर अघि बढ्छन् । विश्वकप छनोटमा पुगेपछि के सोचियो ? ‘डिभिजन २ मा जानुअघि एउटा यात्रा सुरु भएको थियो अब अर्को यात्रा आउँदै छ । त्यसको लागि तयार हुने । भलाद्मी भएर अगाडि बढिरहने । गेमलाई अझै राम्रोसँग अध्ययन गर्ने,’ उनले जवाफ दिए ।


तेस्रो खेलमा केन्या ठूलो स्कोरतर्फ बढेको थियो । पाँचपल्ट विश्वकप खेलेको केन्याले बिनाक्षति ६५ रन बनाइसकेको थियो । त्यसैबेला बलिङको जिम्मेवारी पाएका सन्दीपले भने, ‘लेग स्पिनरको रूपमा मेरो काम रन खाए पनि विकेट लिनुपर्ने हुन्छ । विकेट राम्रो थियो, हल्का बाउन्स पनि । केन्याको साझेदारी राम्रो भइरहेको थियो । एक जनालाई पनि आउट गर्‍यो भने हाम्रो लागि राम्रो हुन्छ । अनि अर्को ब्याटसम्यानले सेट ब्याटसम्यानसँग खेल्छ । नयाँ ब्याटसम्यानलाई पनि निकाल्न मिल्छ भन्ने सोचेको थिएँ । त्यस्तै भयो पनि ।’ उनले केन्याविरुद्ध २० रन खर्चेर कीर्तिमान ५ विकेट लिएका थिए ।


कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए पनि नेपालले फाइनलको नतिजा यूएईविरुद्ध ७ रनले गुमाएको थियो । ‘चारदेखि ७, ८ विकेटको बीचमा एउटा राम्रो साझेदारी भएको भए हामीले १–२ ओभरअघि नै फाइनल जित्थ्यौं होला । तर विकेट गइरह्यो,’ सन्दीपले भने, ‘पारस दाइको एकदम राम्रो इनिङ्स थियो । प्रतियोगितामा सबैले कुनै न कुनै रूपमा योगदान दिए । यी सबै हेर्दा एउटा जुनियर खेलाडी भएर पनि एकदम रमाइलो लाग्छ ।’

निकै किफायती बलिङ गरेका सन्दीपले क्यानडाविरुद्ध लगातार दुई छक्का पनि बेहोरे । ‘क्यानडाको विकेट गइरहेको थियो । ब्याटसम्यानले आक्रामक खेल्छ अनि विकेट आउँछ भनी मैले रिस्क लिएको थिएँ,’ उनले भने, ‘कहिलेकाहीं राम्रो बलरले पनि रन खान्छ । त्यसबेला विकेट लिएको भए क्यानडा २०–३० रन कममै रोकिन सक्थ्यो । दुर्भाग्यवश छक्का खाएँ ।’


अर्को सातादेखि हुने विश्वकप छनोटमा नेपालले समूह चरणमा आयोजक जिम्बावे, अफगानिस्तान, हङकङ र स्कटल्यान्डसँग खेल्नेछ । दस टिम सहभागी छनोटमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसोसिएट सदस्यमध्ये नेदरल्यान्ड्सबाहेकको उत्कृष्ट तीनमा रहन सके नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (वान डे) मान्यता पाउनेछ । ‘वान डे मान्यतासँगै विश्वकपमा पुग्ने हाम्रो सपना छ । तीन करोड नेपालीको पनि,’ चितवनका सन्दीपले भने ।

दुईपल्ट म्यान अफ द म्याच भएका उनले म्यान अफ सिरिजको अवार्ड नै जिते । उनलाई म्यान अफ द सिरिज दिइएकोमा यूएईका कप्तानले ‘आईपीएल फयाक्टर’ ले काम गरेको भन्दै आलोचना गरे । ‘त्यस्तो केही लाग्दैन किनभने प्रतियोगितामा मैले राम्रो गरेको थिएँ । म सामान्य खेलाडी भए पनि अवार्ड पाउँथें होला,’ प्रतियोगितामा १७ विकेट लिएका सन्दीपले जवाफ दिए ।


आईपीएल फ्याक्टर

नेपाली टिम डिभिजन २ को तयारीमा दुबई पुगेको थियो । त्यसैबेला आईपीएल २०१८ को अक्सन भयो । सन्दीपमाथि दिल्ली डेरडेभिल्सको बोली लाग्यो । उनी आईपीएलमा आबद्ध हुने पहिलो नेपाली खेलाडी बने । यसपालि आईपीएलमा आबद्ध उनी एसोसिएटका एक्लो खेलाडी हुन् । त्यसले पनि डिभिजन २ मा काम गरेको बताइन्छ ।


‘सकारात्मक माहोल सिर्जना गर्‍यो,’ प्रतियोगिताअघि पक्का भएको आईपीएल यात्राबारे सन्दीपले भने, ‘राम्रो फ्रेन्चाइज लिगमा समावेश हुँदा फरक त पर्छ नै । पहिलाजस्तो खेलेको थिएँ त्यस्तै खेल्छु भन्ने सोचेको थिएँ तर डिभिजन २ मा सोचेभन्दा राम्रो भयो ।’ उनले थपे, ‘सबै विपक्षी खेलाडीले भेट्दा बधाई दिन्थे । आईपीएलमा आबद्ध भएकाले मप्रति उनीहरूमा ‘फियर फयाक्टर’ सिर्जना भएको हुन सक्छ । मेरो बलमा उनीहरूले कसरी खेल्ने भन्ने पत्तो पाएनन् होला । त्यसको फाइदा मलाई भयो ।’


आईपीएल यात्राले के परिवर्तन ल्याउँछ ? उनी भन्छन्, ‘त्यस्तो केही परिवर्तन आउँछ भन्ने छैन । एउटा अन्तर्राष्ट्रिय खेलाडी भइसकेपछि फ्रेन्चाइज लिग खेल्दा त्यस्तो केही बदलाव नआउनुपर्ने हो भन्ने लाग्छ ।’ छोटो करिअरमै मारेको फड्कोबारे उनले भने, ‘तहगत रूपमा भएको सोच्छु । दुई वर्ष यति छिटो बितेछ कि आफूलाई थाहै भएन । यसलाई निरन्तरता दिएर सकारात्मक बाटोमा अघि बढ्छु भन्ने लाग्छ ।’


आईपीएलमा आबद्ध पहिलो नेपाली खेलाडी भएकाले सबैमा आकर्षण भएको उनको बुझाइ छ । ‘आईपीएलप्रति सबैमा एक्साइटमेन्ट छ । आईपीएल ठूलो लिग हो र यसमा खेल्न पाउँदा सबैले आफूलाई भाग्यमानी मान्नुपर्छ,’ सन्दीपले भने, ‘त्योभन्दा मुख्य प्रतियोगिता विश्वकप छनोट हो । यसैमा केन्द्रित भइरहेका छौं ।’


सन्दीपलाई आईपीएल अक्सनअघि ट्रायलमा दिल्लीले बोलाएको थियो । ‘ट्रायलमा राम्रो गरेको थिएँ । त्यसै बेला मलाई बोली लाउनेबारे हल्का संकेत दिइसकेको थियो । तर सार्वजनिक गरिनँ । ठूला लिगमा कतिपय उत्कृष्ट खेलाडी पनि बिक्री हुँदैनन् । त्यसैले धैर्य कायम राखें । सानो कुराले ठूलो चीज सिर्जना गर्छ । त्यसरी नै हिँडिरहें,’ १७ वर्षीय उनले भने । आईपीएलमा खेल्न पाउने सम्भावनाबारे उनले भने, ‘कहिलेकाहीं राम्रो खेलाडीले पनि पोजिसन नहुँदा बाहिर बस्नुपर्छ । त्यसैले म टिमलाई जे राम्रो हुन्छ, त्यसमा खुसी हुनेछु ।’


क्याम्पाचौरमा अभ्यास गर्दा उनले कुनै दिन आईपीएल खेल्छु भन्दा साथीहरूले मजाक गरिदिन्थे । उनले सम्झिए, ‘मौका । सबै कुराको एउटा समय हुन्छ । समयमै सबै कुरा पाउँछ । समयभन्दा अगाडि कसैले केही पाउँदैन । मिहिनेत पनि हो र सबभन्दा बढी आफूलाई इमानदार राख्नुपर्छ । जहिले पनि म आफूमा त्यो लागू गर्थे । साथीहरूलाई मैले आईपीएल खेल्छु भन्थे । कहाँ जान्छौं भनेर मजाक नै हुन्थ्यो तर तयो नकारात्मक होइन । सपना ठूलै देख्नुपर्छ । सपना देख्न पैसा लाग्दैन ।’ हुन त उनले अस्ट्रेलियाली पूर्वकप्तान माइकल क्लाकसँगै खेल्ने सपना नदेखेको पनि हुन सक्छ न त रिक्की पोन्टिङलाई नै मेन्टरको रूपमा पाउने ।


त्यो ह्याट्रिक

एउटै ओभरमा हरेक बल फरक किसमले फाल्न सक्ने बलर हुन, सन्दीप । उनले सन् २०१६ को यू १९ विश्वकपमा आयरल्यानडविरुद्ध हयाट्रिक विकेट लिएका थिए । त्यसलाई उनले सम्झिए, ‘सुरुमा फ्ल्याट बल दिएर ब्याटसम्यानलाई हान्न लगाएर चुनौती मोलेको थिएँ । उनी स्विप हान्दा मिडविकेटमा क्याचआउट भए । दोस्रोचाहिं कट राम्रो हान्ने ब्याटसम्यान थिएँ । राम्रो बल फालेको थिएँ, आफैं जबरजस्ती चलाउन खोज्दा उनले राजु दाइ (रिजाल) लाई क्याच दिए । तेस्रो नयाँ ब्याटसम्यान थिए । गुग्ली फाल्यो भने आउट हुन्छ भन्ने सोचें । त्यसै गरें र इतिहास बन्यो पनि ।’


क्रिजमा उत्कृष्ट ब्याटसम्यान छन् भने बलिङ गर्ने बेला के सोचिन्छ ? ‘अवसर,’ उनी बोलीहाले, ‘यो राम्रो मौका हो भनी सोच्छु । विकेट आयो भने मेरा लागि राम्रो अझ टिमको लागि धेरै राम्रो । टिमलाई अत्यावश्यक भएकाले त्यो विकेट पायो भने धेरै नै राम्रो हुन्छ भन्ने सोच्छु । किनभने त्यो ब्याटसम्यानले आधा टिमको मनोबल गिराएको हुन्छ ।’


विश्वकप छनोटमा टेस्ट खेल्ने जिम्बाबेसँग अफगानिस्तानका ब्याटसम्यानका लागि के योजना छ ? ‘सामान्य । लाइन एन्ड लेन्थमा बलिङ गर्ने । अहिलेसम्म गरेजस्तै,’ उनले भने, ‘आफूभन्दा राम्रो खेलाडीसँग खेल्दा पनि धेरै कुरा सिक्न मिल्छ ।’ अन्तर्राष्ट्रिय प्रतियोगितामा टिमको टेक्निकल एनालिस्ट रमन सिवाकोटीको विश्लेषणलाई ध्यान दिएर मानसिक रुपमा तयार भई मैदानमा ओर्लने गरेको उनले बताए ।


राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुदु दसानायकेसँगको पहिलो भेट उनमा ताजै छ, जसले उनको भाग्य बदलेको थियो । ‘राष्ट्रिय टिमका प्रशिक्षक ४ बजे आउँदै थिएँ, म एकदमै एक्साइटेड थिएँ र ११ बजेदेखि नै मैदानमा उहाँलाई कुरेर बसेको थिएँ । नजिक नभए पनि उहाँलाई टाढाबाटै हेर्न पाइन्छ केही कुरा सिक्न पाइन्छ भन्ने लागेको थियो,’ उनले भने ।


त्यहाँ उनको बलिङबाट आकर्षित पुबुदुले सन्दीपलाई काठमाडौं क्याम्पमा बोलाए । पहिलो काठमाडौं यात्राबारे उनले भने, ‘यहाँ (क्याम्प) राम्रो गर्‍यो भने अगाडि बढ्ने बाटो खुल्छ । एउट मौका हो जति पनि पाइला टेक्दै गइन्छ त्यो एउटा अवसरको रूपमा आउँछ । जसरी यू १९, त्यसपछि सिनियर टिममा अवसर पाए । अहिले फ्रेन्चाइज लिगमा । यी सबै पाइला टेक्दै जाँदा मौकाहरू बढ्दै जान्छ भन्ने मलाई लाग्छ र त्यस्तै रूपमा लिएको छु ।’

प्रकाशित : फाल्गुन १२, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?