कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हजार माइलको बाटो : एक आत्म–विज्ञप्ति 

रचनागर्भ
नारायण ढकाल

काठमाडौँ — मेरो उपन्यास हजार माइलको बाटोको पहिलो मस्यौदा पढिसकेपछि आख्यानकार आत्माराम शर्माले सोधेका थिए, ‘दाइ यसपल्ट पनि काँठबाट बाहिर आउनुभएन छ, यसअघि लेखिएका ‘प्रेतकल्प’ र ‘वृषभ वध’ को परिवेशमै फेरि अर्को कथा लेख्नुभएछ । यसो गर्नुको खास कारण के होला बताउन सक्नुहुन्छ ?’

हजार माइलको बाटो : एक आत्म–विज्ञप्ति 

उनको प्रश्नले म एक छिन अलमलिएँ । मैले केही जवाफ दिन सकिनँ । मैले हाँसेर उनको प्रश्नको उपेक्षा गरें र तत्कालका लागि उम्किएँ ।

उनको प्रश्नले मलाई पछिसम्म लखेटिरहयो, के साँच्चै मलाई काँठबाहेक अन्य ठाउँको विषयमा ज्ञान छैन ?

हुन त कथा विधामा मैले काँठबाहिरका धेरै ठाउँ र मानिसहरूको बारेमा लेखेको छु । मधेस, पहाड र हिमाली क्षेत्रको जीवन र जगत्लाई शब्दले बाँधेको छु । तर संख्यामा त्यस किसिमका रचना निकै थोरै छन् र यस्ता कतिपय कथा त यात्राका टिपोटजस्ता मात्र पनि भएका छन् । जे होस् ‘हजार माइलको बाटो’ को केन्द्रमा काँठ नै छ । यहाँ सहर र पहाडका केही झलकहरू नभएका त होइनन् तर ती सबैले काँठलाई पछयाएका छन् ।


मेरो हकमा यस्तो हुनु स्वाभाविक छ । मेरो विचारमा लेखकले जे विषय बढी बुझेको हुन्छ, त्यसमा उसको पकड बलियो हुन्छ, त्यही लेख्नुपर्छ । देखेर, भोगेर, सुनेर र पढेर ज्ञान हासिल हुने हो । मेरो ज्ञान प्राप्तिको क्रम, प्रक्रिया र द्वन्द्वमा म जन्मे–हुर्केको काँठ सर्वाधिक वर्चस्वशाली रहेको छ । यसका अनेक कारण छन् । तीमध्येको एउटा महत्त्वपूर्ण घटनाचाहिँ म कहिल्यै बिर्सन्नँ ।

***

१९९७ सालको चैतको उराठलाग्दो एक साँझमा लगभग तेह्र–चौध वर्षका तीन जना किशोरहरूले गाउँ नजिकको एकान्त फाँटमा बसेर घरबाट भाग्ने र लाहुर जाने सल्लाह गरेछन् । त्यस भेटमा उनीहरूले आआफ्नो घरबाट बोक्न सक्ने जति चाँदीका मोहोर चोर्ने निर्णय पनि गरेछन् । उनीहरूले प्रतिज्ञा गरेछन्— यो कुरा एकदमै गोप्य राखिनेछ ।


चित्लाङको बाटो भएर जाँदा चिसापानी गढीमा राहधानी देखाउनुपर्ने व्यवस्था भएको हुँदा उनीहरूले साँगा भञ्ज्याङ हुँदै मुग्लान पस्ने योजना बनाए । यो बाटो केही लामो र चुनौतीपूर्ण थियो । तर राहधानी नभएकालाई रोशी खोलाको बाटो हुँदै चोरबाटोबाट सिन्धुली पार गरेर जनकपुर जान चिसापानी गढीको तुलनामा केही सजिलो हुन्छ भन्ने उनीहरूले सुनेका थिए ।


योजनाअनुसार भोलिपल्ट बिहान झिसमिसेमै उनीहरू गाउँदेखि दक्षिणमा रहेको नीलबाराहीको गलमा एक्लाएक्लै पुग्नुपर्ने थियो तर तोकिएको समयमा त्यहाँ दुई जना मात्र पुगे । एक जना आइपुगेन, किन आएन ? के कारणले आएन ?अब उनीहरू अन्योलमा परे, के गर्ने, के नगर्ने ? साथीलाई कुरौँ, उज्यालो भएपछि आफूहरू भागेको कुरा खुल्छ र घरका अभिभावकको पञ्जामा पर्ने खतरा हुन्छ । साथीलाई नकुरौँ, विश्वासघात हुन्छ— मित्रघात हुन्छ ।


दुविधामा लगभग केही घडी र केही पला बिते । त्यसपछि साथी त आइपुग्यो तर ऊसँगै तीनै जनाका बाहरू पनि आए । जुँगामुठे बाहरू बाघजस्तै डरलाग्दा भएका थिए तर उनीहरूको अघिअघि आएको साथीचाहिँ बलिका निम्ति ठिक्क पारेको बोकोजस्तो देखिन्थ्यो । उसको अनुहार पहेँलो न पहेँलो थियो, त्यहाँ रगतको नामोनिसान थिएन ।


एकै छिनपछि थाहा भयो, उसकै कमजोरीले उनीहरूको भाग्ने गोप्य योजना खुलेको रहेछ ।


बहिनीलाई ऊ धेरै माया गथ्र्यो त्यसैले उसले बहिनीलाई रुँदै आफू भाग्ने कुरा भनेछ । वाचाबन्धनमा बाँधेर उसको कुरा बाआमालाई नभन्न किरिया पनि ख्वाएछ तर बहिनीले टेरिनछ । आफ्नो दाइ परिवार त्यागेर एकदमै टाढाको अर्को संसारमा जाने कुराले ऊ आतंकित भइछ र दाइ ब्युँझनुभन्दा अघि बालाई सबै जानकारी दिइछ ।


यसरी मुग्लान भाग्न खोज्ने तीन किशोर नायकहरू पक्राउ परे र उनीहरूको भाग्ने योजना तुहियो ।

उनीहरूलाई त्यस बेलाको सामाजिक विधानअनुसार चलनचल्तीमा रहेको सबभन्दा कडा किरिया ख्वाइयो । अर्थात् उनीहरूलाई आआफ्ना बाले आआफ्ना औँला टोकाएर वचनबद्ध गराए । ‘बाको जीवन रहुन्जेल म चार भञ्ज्याङ काटेर कतै जानेछैन । गएमा पितृहत्या बराबरको पाप लागोस् ।’


यसरी किरिया खाने तीन किशोरमध्येका एकचाहिँ अरू कोही नभएर मेरा बा नगेन्द्रप्रसाद ढकाल थिए ।

***

मेरा बा घरबाट भागेर मुग्लान पस्न खोजेको समय इतिहासको एउटा जटिल कालखण्ड थियो । राजनीतिक स्वतन्त्रताका निम्ति चार सहिदहरूले भर्खर आफ्नो जीवन उत्सर्ग गरेको त्यो समयलाई नेपाली इतिहासले ९७ साल काण्ड भनेर अंकित गरेको छ । मेरा बाले सहिद गंगालालाई झुन्डयाएर गोली ठोकेर मारेको आफ्नै आँखाले देखेका थिए । यो कुरा उनले धेरै पटक मलाई सुनाएका थिए । उनी त्यो हृदयविदारक घटनाले उत्पन्न गराएको आतंकले आक्रान्त थिए । मेरा बाको भय र निराशाको गहिराइ म अहिलेसम्म पनि सजिलै अनुमान गर्न सक्छु ।


आफ्ना बा राधाकृष्ण ढकालको औँला टोकेर किरिया खाएका मेरा बा नगेन्द्रप्रसाद २०२४ सालसम्म चार भञ्ज्याङ काटेर कतै गएनन् । सात सालपछि उनले नौसिन्दा पदमा सरकारी जागिर खाए तर आफ्नो पितृभक्ति र वचनबद्धताको कारण कतै पनि सरुवा भएर गएनन् । एक किसिमले उनी असाध्यै सोझा थिए । उनको सोझोपन गृह विभाग र पछिको गृह मन्त्रालयमा प्रख्यात थियो । उनको सोझोपनको बलले गर्दा उनका कुनै पनि हाकिमले उनलाई सिंहदरबारबाट बाहिर पठाएनन् । २०२४ सालमा मेरा बाजे राधाकृष्ण ढकाल दिवंगत हुँदा बा जवानीको खुड्किलो पार गरेर प्रौढतातिर उक्लिसकेका थिए । अब जागिर मात्र होइन खेती, पारिवारिक जञ्जाल र घरव्यवहार उनको थाप्लोमा आइसकेको थियो । यसपछि त झन् उनी घर छोडेर जान सक्ने अवस्थाममा रहेनन् ।


युवा वयमा बा सरुवा भएर जिल्लातिर गएका भए हामी उनका सन्तानहरू केटाकेटीमै देशका विभिन्न ठाउँहरूमा पुग्न पाउँथ्यौँ । देश, समाज र मानिसलाई बुझ्न पाइन्थ्यो । तर त्यो अवसर मलाई मिलेन । मेरा मित्र कवि विमल निभाका बा नेपाल बैँक लिमिटेडका कर्मचारी थिए । उनी जागिरको सिलसिलामा विभिन्न जिल्लामा गएकाले उनको जीवनीको अर्कै बान्की छ । कवि निभा नेपालगन्जमा जन्मे, बाल्यकाल विराटनगरमा बित्यो र यौवन र प्रौढता वीरगन्ज एवं राजधानी सहर काठमाडौंमा बित्दै छ । अर्का कवि तथा आख्यानकार मित्र राजवको त्यस्तै विशेषता छ । उनी मजस्तै काँठका सन्तान भए पनि उनलाई काठमाडौं सहरको नालीबेली थाहा छ । उनको जन्म र हुर्काइ नेपाल मण्डलको खाँटी नेवार टोलहरूमा भयो । त्यसैले नेपाल भाषामा उनी पोख्त छन् । यसबाहेक बारा जिल्लामा उनको बाल्यकालका अरू केही समय बितेकोले भोजपुरीमा पनि उनको कडा दख्खल छ । यस्तै कवि श्यामलको जीवनप्रवाह मध्यपश्चिम पहाडको दैलेखदेखि मधेसको नेपालगन्ज हुँदै राजधानी काठमाडौंसम्म पुगेकोले उनको दृष्टिसामथ्र्यको क्षितिज फराकिलो छ ।


म राजधानी काठमाडौंको पूर्वोत्तर काँठमा जन्मिएँ । पहिले त्यो गाउँलाई जगराबोट भनिन्थ्यो । गाउँको एउटा विन्दुमा जगरको अग्लो रूख भएकाले जगराबोट नाम रहेको थियो । पछि गाउँको नाम बदलियो र मूलपानी बन्यो । मैले त्यहाँको धूलो, हिलो, हुरीबतास, असिना, अकाल, प्रलय, बाढी, सुक्खा, जाडो, गर्मी, मनोरम वसन्त, भोक, तृप्ति, अतृप्ति, सुख, दु:ख, गरिबी, प्रेम, घृणा, सहयोग, विश्वासघात सबै नजिकबाट भोगेको छु । मैले त्यहाँका असल र खराब भनिएका अनगिन्ती चरित्रलाई नजिकबाट चिनेको छु । त्यहाँ सधैं उदाउने र अस्ताउने सूर्यलाई म राम्ररी बुझ्छु । त्यहाँको आकाशमा पाक्षिक तालिकामा टाँगिने चन्द्रमाको बानीबेहोरा पनि मलाई थाहा छ । त्यहाँको प्रकृति, समाज, राजनीति, मूल्यव्यवस्था, अर्थव्यवस्था, परिवारव्यवस्था, जातजाति, संस्कृति आदि विषयमा पनि मेरो रामै्र परिचय छ । मेरो जीवनको स्कुल र विश्वविद्यालय यही ठाउँ हो । यसैले आख्यानको अर्को संसार रचना गर्न म यही जमिनमा उभिँदा मात्र मेरो कलात्मक आवेग बलशाली बन्छ ।


मैले ‘प्रेतकल्प’ उपन्यास लेख्दा आफू साक्षी बसेको धरातलको क्यामराले एक सय वर्षअगाडिको तस्बिर खिचेको हुँ । त्यसमा राणा शासनको कथा र राजनीति छ । यसका निम्ति मैले धेरै कठोर अनुसन्धान गर्नै परेन । त्यसपछि मलाई पञ्चायतको प्रारम्भको कथा लेख्न मन लाग्यो जसलाई मैले आफ्नै चेतनाले ठम्याएको थिएँ । ‘वृषभ बध’ मेरो त्यही कारणको उत्पादन थियो ।


यी दुई रचना प्रकाशनमा आएपछि मेरा केही स्नेही मित्र तथा जागरुक पाठकले अब यही परिवेशमा अर्को उपन्यास लेख्यौ भने ‘ट्रिलोजी’ बन्छ भनेर मलाई उकासे । ‘ट्रिलोजी’ बन्न के–के विशेषता चाहिन्छ, त्यस विषयमा मेरो अध्ययन थिएन तर गोर्की, चिनुवा अचिबी र अमिताभ घोषका उपन्यास पढेपछि एक प्रकारको धमिलो ज्ञान पलाएको थियो । अमिताभले उनको प्रख्यात ‘आइबिस ट्रिलोजी’ मा प्राय: उही कथा र पात्रहरूलाई निरन्तरता दिएका छन् । तिनमा उनले अफिम व्यापार र उपनिवेशवादी लुटको उन्मादलाई भारतीय इतिहासको आँखाले लेखेका छन् । गोर्कीको आत्मकथात्मक तीन उपन्यासहरूमा झन् गाढा एक रेखीय निरन्तरता छ तर अचिबी उनीहरूभन्दा धेरै फरक छन् ।


उनको ‘ट्रिलोजी’ का तीनवटै रचना समय, कथा, पात्र र विषयवस्तुका दृष्टिले फरक–फरक छन् । थिङ्स फल अपार्टमा अफ्रिकी जीवनमूल्यहरूमाथि इसाई धर्मको अतिक्रमण, त्यसविरुद्ध द्वन्द्व र पराजयको कथा छ । नो लङ्गर एट इजमा भ्रष्टाचारको दलदलमा एउटा बेलायती शिक्षा प्राप्त गरेको युवकको पतन कसरी भयो भन्ने कथा छ । उपनिवेशवादले नायक होइन खलनायक जन्माउँछ भन्ने सार हो यो उपन्यासको । त्यसपछिको एरो अफ गडमा अचिबी फेरि पछाडि फर्केर अफ्रिकी कविलाई मूल्यहरूको प्रवक्ता बनेर आएका छन् । अचिबीको यो प्रयोग पढेपछि मलाई उकास्ने मित्रहरूको आग्रहमा केही बल छ भन्ने लाग्यो र म अर्को उपन्यासको रचनात्मक नक्सा कसरी कोर्ने भनेर घोत्लिन थालेँ ।


आफूले नदेखेको, नभोगेको विषयमा अनुसन्धान गरेर पनि राम्रो कृति लेख्न सकिन्छ भन्ने विषयमा मेरो विमति छैन । यसको आदर्श उदाहरण हुन्— सलमान रुस्दी । उनले ‘इन्चान्ट्रेस अफ फ्लोरेन्स’ उपन्यास लेख्दा युरोपको पुनर्जागरणकाल र भारतको अकबरको शासनकाललाई बुझाउने असीभन्दा धेरै इतिहासका पुस्तक र एक दर्जन जति वेबसाइटहरू खारेका थिए । यसबाहेक कुनै समय रुस्दी आफैं इतिहासका मेधावी प्राध्यापक थिए । उनलाई अकबरकालीन समाज, पात्रहरू, भूगोल र समयको विश्वसनीय ज्ञान थियो । यस अर्थमा उनले मुगल दरबारमा आफ्नो मूलजरोलाई खोज्दै आएको फिरङ्गीको कथा लेख्नु जायज र नैतिक दुवै थियो । उनको यही क्षमताले ‘इन्चान्ट्रेस अफ फ्लोरेन्स’ इतिहास र कल्पनाको उत्कृष्ट संयोजन बनेको छ । तर यस्तो काम इतिहासमा छिपछिपे ज्ञान भएको मजस्तो कच्चा विद्यार्थीको निम्ति नाजायज मात्र नभई अनैतिकसमेत हुन्छ । त्यसैले पनि म सकभर आफ्नो पहुँचको परिवेश खोज्छु र त्यो मेरो निम्ति उत्तिकै सजिलो र प्रियसमेत हुन्छ ।


रुस्दीले ‘इन्चान्ट्रेस अफ फ्लोरेन्स’ मा स्थापना गरेको बलशाली कलात्मक मानकचाहिँ के हो भने उनले इतिहास पढेर त्यसलाई जस्ताको तस्तै सारेका छैनन् । आख्यानमा त्यस्तो गर्न राम्रो हुन्न भन्ने कठोर मतको मानिस हुँ म । आख्यानमा अरूका सामग्री प्रयोग गर्न सकिन्छ तर तिनले इतिहासबोधलाई यान्त्रिक र कलालाई सतही बनाउन हुँदैन । मैले रुस्दीको कौशलबाट पाएको ज्ञान यही हो ।

हजार माइलको बाटोमा मैले थुप्रै बाहिरका सामग्री प्रयोग गरेको छु । उपन्यास लेखनको प्रचलित मान्यताअनुसार तिनीहरू इटालिक्समा सजिएका छन् । लेखनाथ र पाब्लो नेरुदाका कविता, माओत्से तुङ र कार्ल माक्र्सका उद्धरण, रामेश, रोहित कोइराला, एरिक बर्डेन र युजिन पोतिएका गीतहरू यसरी नै आएका छन् तर तिनीहरू कतै भावको प्रवाहमा विपर्यास उत्पन्न गर्न र कतै परिवेशको चित्रात्मकतालाई बल पुर्‍याउने अर्थमा मात्र प्रयोग भएका छन् । जस्तो एउटा उदाहरण : कसैको मृत्यु प्वाँख जत्तिकै हलुङ्गो र कसैको मृत्यु पहाड जत्तिकै गह्रुङ्गो हुन्छ ।


यो माओत्से तुङको भनाइ इटालिक्समा छ र यसले विपर्यासबोध उत्पन्न गर्ला भन्ने अभीष्ट राखिएको छ । तर पछि यही उद्धरणलाई के थपेर प्रश्न बनाइएको छ जो सामान्य फन्टमा छ । जस्तो : के कसैको मृत्यु प्वाँख जत्तिकै हलुङ्गो र कसैको मृत्यु पहाड जत्तिकै गह्रुङ्गो हुन्छ ?


यो सोझो तर आक्रामक प्रश्न हो, जसमा बक्रोक्ति छैन ।

***

प्रेतकल्पदेखि हजार माइलको बाटोसम्मको यात्रामा परिवेश एउटै छ तर कथा, पात्र र समय भने फरकफरक छन् । यी सबै कृतिको विषयवस्तुको केन्द्रमा राजनीति भए पनि समयको अन्तरालले

त्यसका रूप र भंगिमाहरू अलगअलग भएका छन् । समाज पनि बदलिएको छ । मैले बदलिएका

सम्बन्धहरू र मूल्यहरूलाई सकेसम्म त्यसको आधिकारिक रूप र अन्तर्यसहित ठम्याउने प्रयास गरेको छु । यति हुँदाहुँदै पनि मेरो अभिव्यक्तिका सीमाहरू पनि थुप्रै छन् ।


महान् दार्शनिक प्लेटोले ‘एउटा आदर्श राज्यका निम्ति कविहरू हानिकारक हुन्छन् तसर्थ उनीहरूलाई देशनिकाला गर्नुपर्छ’ सम्म भनेका थिए । उनको चर्चित ग्रन्थ ‘रिपब्लिक’ को दसौँ अध्यायमा कलाको अनुकृतिसम्बन्धी अवधारणाबारे विशद् चर्चा छ । उनी भन्छन् : जीवन र जगत्को सर्जक ईश्वर हुन्, यसको सत्यापनसहितको पुनर्सिर्जना हुन सक्दैन । उनले सुत्ने खाटको उदाहरण दिएका छन् । पहिलो चरणमा खाट ईश्वरको सिर्जना हो । त्यही सिर्जनालाई पछयाउँदै दोस्रो चरणमा सिकर्मीले खाट बनाउँछ । अब तेस्रो चरणमा कलाकारले खाटको नक्कल गर्छ र रंग अथवा शब्दको सहारा लिएर चित्र वा शब्दचित्र तयार गर्छ । कलाकारले यो कार्य गर्दा ईश्वरको त कुरा छोडौँ, सिकर्मीको जति पनि योग्यता देखाउन सक्दैन ।


जबजब म प्लेटोको यस्तो भनाइ सम्झिन्छु तबतब म आफ्नो क्षमताबारे शंकालु बन्न पुग्छु र यथार्थको प्रतिविम्बनमा आफ्ना सीमाहरू देख्छु ।


तर म प्लेटोको अनुकृतिसम्बन्धी विवादास्पद अवधारणासँग पूर्णतया सहमत भने छैन । महाकवि होमरप्रति उनको मूल्यांकन र आदर्श राज्यमा कविहरूलाई ठाउँ नदिने कुरा मलाई बेठीक लाग्छ । यो कुरामा उनका चेला अरस्तुले उहिल्यै विमति जनाइसकेका छन् । अरस्तुको ‘पोइटिक्स’ मा विरेचन सिद्धान्तबारे विशद् परिचर्चा छ । यो सिद्धान्तले कला, संगीत र साहित्यको शक्तिलाई स्थापना गरेको छ । संस्कृत साहित्यमा पनि कतै भनिएको छ : कला, साहित्य र संगीतमा अनुराग नभएको मानिस पुच्छर नभएको पशु हो । अन्तरवस्तुमा अरस्तुको विरेचन सिद्धान्तको नजिक छ यो भनाइ । सिर्जनात्मकताप्रति मेरो विश्वास र जिद्दी यही विचारभूमिले बनाएको हो । मेरो लेखनयात्रालाई प्रेरित गर्ने रचनात्मक शक्तिको स्रोत यही हो । यही भरोसाले म आफ्ना सीमा र कमजोरीहरूसित सतत लडिरहन सक्छु ।


आख्यानका लागि परिवेश एउटा जगजस्तै हो । तर त्यो जगको निर्माणले मात्र कलाको अभीष्ट र सरोकार पूर्ण हुँदैन । यसका अनगिन्ती अवयवहरूको उचित संगठन र व्यवस्थापनले मात्र आख्यानको सग्लो घर बन्न सक्छ । उपन्यास, उपन्यासको इतिहास र त्यसको नेपाली अवतारको विषयमा बहस गर्दा वा रचनामा लीन हुँदा मलाई झस्काइरहने तत्त्वहरू यिनै हुन् ।


हजार माइलको बाटो लेख्न थालेपछि मैले सबभन्दा बढी सोचेको विषय म आफैँ हुँ । लगभग आधा शताब्दीको मेरो लेखक जीवनमा केही जिद्दीहरू मभित्र बज्रजस्तै कठोर बनेर बसेका छन् । ती जिद्दीहरूमा माक्र्सवादी सौन्दर्यशास्त्र एउटा हो । त्यसले मलाई निथ्रुक्कै भिजाएको छ । तर यहाँ आएर माक्र्सवादी सौन्दर्यशास्त्रको कुरा गर्दा म आफैँलाई प्रश्न गर्छु, कुन माक्र्सवादी सौन्दर्यशास्त्र ? साहित्य र कलाबारे माक्र्स र एङ्गेल्सले आफ्ना अनगिन्ती चिठीपत्रहरूमा समाजवादी कित्ताबाहिरका बाल्जाकलाई अनुमोदन गरेर लेखेजस्तो ? माक्र्सलाई पछयाएर लेनिनले तोल्सतोयलाई रुसी क्रान्तिको ऐना भनेजस्तो ? अथवा अक्टोबर क्रान्तिपछि सोभियत लेखक र कलाकारलाई समाजवादी पार्टी अनुशासनमा बाँध्ने ज्दानोभका सरकारी नीतिजस्तो ? अथवा ज्दानोभका नीतिहरूको विरोधमा उभिने बर्तोल्त ब्रेख्त वा जर्ज लुकासको जस्तो ? म चाहन्छु यी प्रश्नहरूमा छलफल चलोस् तर यसमा नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा त्यति अर्थपूर्ण बहस भएका छैनन् ।


मैले भन्दै आएको छु, म सरकारी माक्र्सवादको विपक्षमा छु । सरकारी माक्र्सवाद भन्नाले जडसूत्रवादीहरूतिर मेरो संकेत हो । कला र साहित्यलाई यान्त्रिक राजनीतिको चंगुलमा पार्ने विचारका बाहकहरू यो काँटका माक्र्सवादीहरू हुन् । तिनले साहित्य र कलामा विचारको भ्रष्टाचार गर्छन्, इतिहासको मानमर्दन गर्छन् र शिल्पको धज्जी उडाउँछन् ।


हजार माइलको बाटो लेखिरहँदा मेरो यही वैचारिक जिद्दीले मलाई धेरै लखेटयो । यो विचारलाई म कसरी उभ्याउन सक्छु ? मैले यसमा धेरै दिमाग खियाएँ । त्यसपछि मलाई लाग्यो ‘वृषभ वध’ समाप्त भएको विन्दुबाट वा त्यसको नजिकबाट नयाँ कथा आरम्भ हुन सक्छ । मैले त्यही गरेँ र आफू उभिएको जमिनलाई फेरि पनि लेख्ने धृष्टता गरेँ । यहाँ मैले नेपालको कम्युनिस्ट आन्दोलनको आरोह र अवरोहको यात्राको छेउबाट कथानकलाई अघि बढाएँ । अब यो किताब कस्तो बन्यो, मेरो स्पष्टीकरणको कुनै औचित्य छैन । किनकि अब यसबारेको बहस र समालोचना जागरुक पाठकको अदालतमा पुगिसकेको छ ।


बंगाली लेखक महाश्वेता देवीका दर्जनौँ उपन्यासको परिवेश एउटै छ तर उनले लेखेका कथा र पात्रहरू फरकफरक छन् । म महाश्वेता देवीका सबलताहरूको अनुयायी हुँ । यसरी उनलाई पछयाउँदा मैले आफ्नो जमिन, मानिस, समाज र इतिहासलाई कति बोध गर्न सकेँ र त्यसको प्रतिध्वनिमा रचनालाई कति विश्वसनीय बनाउन सकेँ, मेरो रचनात्मक योग्यता वा अयोग्यताको आधार त्यहीँ मात्र हुनेछ । यसकारण पनि आख्यानकार आत्माराम शर्माको प्रश्नसहितको जिज्ञासाको सयका सय सही उत्तर दिन म असमर्थ छु ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?