२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

आठ गोलीले नढलेको जीवन

‘मेडिकल साइन्समा असम्भव मानिएको कुरा तपाईंमा भयो भनेर डाक्टरहरू अचम्म परे,’ दिवाकर भन्छन्, ‘मैले भगवान्ले हात थाप्नुभएको हो भनें ।’
जनक नेपाल

काठमाडौँ — ०६१  जेठको मध्याह्न । बैंकबाट पैसा झिकेर दिवाकर खनाल मोटरसाइकलमा घर फर्किंदै थिए । मध्यनेपालगन्जको बेलासपुर छिर्ने बाटोमा उनको सामुन्ने उभिएर तीन युवाले गोली चलाए ।

आठ गोलीले नढलेको जीवन

उनले आवाज त सुने तर गोली कसलाई हानेको ठम्याउन सकेनन् । हड्बडाएर यताउता हेर्न नपाउँदै आफ्नै छातीबाट तातो रगत बगेको थाहा पाए । ‘आठ गोली लागेको थियो । तर, आवाज मात्र सुनें,’ ५८ वर्षीय खनाल सम्झिन्छन् भन्छन्, ‘ढलेपछि बल्ल थाहा भो ।’


रक्ताम्ये भएर ढलेपछि आफैं उठ्ने स्थिति थिएन । उनले गणेश मन्त्र जप गरेर भगवान् सम्झिए । केहीबेरमै भीड जुटिसकेको थियो । उनलाई चिन्नेहरूले उठाएर १० मिनेटमै बीपीचोकस्थित नर्सिङहोम पुर्‍याए ।

खनालको छातीमा ६ वटा गोली लागेका थिए । फोक्सो र कलेजो छेडिएका थिए । दायाँबायाँ हातमा एक–एकवटा गोली लागेको थियो । छाती छियाछिया भएर ढलेका उनी पुन: उठ्ने थोरैको आशा थियो । अस्पतालमा परिवार र आफन्तको रुवाबासी भइसकेको थियो । उनको भने आत्मबल बलियो थियो । भन्छन्, ‘जप गरेसँगै गणेशजी प्रत्यक्ष आएर सुरक्षाकवच लगाएको अनुभूति भएको थियो । त्यसैले केहीबेर मात्र बेहोस भएँ । अरू सबै डराए पनि मलाई बाँच्छु भन्ने भित्रैबाट लागेको थियो ।’


रक्तश्राव रोकेपछि खनाललाई हेलिकप्टरबाट काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्‍याइयो । त्यति धेरै गोली लागेर पनि आन्तरिक रक्तश्राव नभएको देखेर चिकित्सकहरू सुरुमै चकित परे । ‘मेडिकल साइन्समा असम्भव मानिएको कुरा तपाईंमा भयो भनेर डाक्टरहरू अचम्म परे,’ दिवाकर भन्छन्, ‘मैले भगवान्ले हात थाप्नुभएको हो भनें ।’


दुई साता शिक्षण अस्पतालमा उपचार गराएपछि उनी डिस्चार्ज भए । गोलीले उनको हात राम्ररी चल्दैनथ्यो । माओवादीले पुन: आक्रमण गर्ने धम्की दिएका थिए । त्यसैले साढे दुई महिनापछि उनी थप उपचारका लागि अमेरिका उडे । महिनौं फिजियोथेरापीपछि मात्र उनको हात चल्ने भयो । बायाँ पाखुराको गोली तीन वर्षपछि अमेरिकामै झिके । अनि, बल्ल उनले रोजगारीमा हात हाले । सुरुमा उनी ज्वेल अस्को कम्पनीमा सहयोगी बने । पछि, बेकरी उद्योगमा काम गरे । नर्सिङ कोर्स पढेर नर्सिङ सेवाको पनि अनुभव गरे । २००४ को अक्टोबर ७ मा अमेरिका पसेका खनाल ०१६ मा स्वदेश फर्किए । ‘रामचन्द्रजीको वनबासझै मैले १२ वर्ष अमेरिकामा बिताएँ,’ खनाल भन्छन्, ‘मातृभूमिको मायाले त्यहाँ बसिरहन सकिन् । सुरक्षाको अनुभूति हुनासाथ फर्किहालें ।’

***


दिवाकरको परिवार १ सय २५ वर्षअघि गुल्मीबाट नेपालगन्ज आएको हो । जिजुबुवा धनेश्वरले जग्गा जमिन जोडे । हजुरबुबा भूवनेश्वर र बुबा दीनानाथ यतै जन्मिए, यतै बिते । सशस्त्र द्वन्द्वले विस्थापित भएर अमेरिका पुगेका दिवाकरलाई त्यही नाताले नेपालगन्ज फर्कायो । भन्छन्, ‘जति वर्ष अमेरिका बसें, आफ्नो देश र नेपालगन्ज नसम्झिएको कुनै दिन थिएन ।’


उनी तीन महिनाको छँदै ०१६ सालमा टिटानसको राम्रो उपचार नपाएर बुबा दीनानाथको निधन भयो । कुनै बेला दिवाकरको परिवार बाँकेमा धेरै जग्गा हुनेमा गनिन्थ्यो । ०२१ सालमा भूमिसुधारसँगै हदबन्दीभन्दा बढी जग्गा सरकारीकरण हुँदै थियो । टाठाबाठाले अनेक बहाना बनाएर जग्गा जोगाए । तर, उनी सानै भएकाले उनको परिवारको धेरै जग्गा सरकारीकरण भयो ।


उनी नेपालगन्जमै जन्मिए, यहीं हुर्किए । मंगलप्रसाद माविबाट एसएलसी पूरा गरे । महेन्द्र क्याम्पसमा आईएल गरे । काठमाडांैको नेपाल ल क्याम्पसबाट बीएल गर्ने क्रममा विद्यार्थी राजनीतिमा तानिए । सुरुमा उनले अखिल छैटौंबाट राजनीति आरम्भ गरेका थिए । ०३३ सालमा बीपी कोइराला स्वदेश फर्किंदा उनी काठमाडौंमै थिए । उनले बीपीलाई भेट्ने मौका पनि पाए । त्यसपछि हो, उनी कांग्रेस राजनीतिमा लागेको ।


काठमाडौंबाट फर्किएपछि उनले झन्डै एक वर्ष महेन्द्र बहुमुखी क्याम्पसमा करारमा पढाए । उनी प्रजातान्त्रिक शिक्षक युनियनमा लागिसकेका थिए । ६ महिनापछि उनलाई ‘निजको आचरण पञ्चायती व्यवस्थाअनुरूप नभएको’ भन्दै म्याद थपिएन । त्यसपछि क्याम्पस छाडेर उनले झन्डै १४ वर्ष नेपालगन्जमा वकालत गरे ।


कानुन व्यवसायपछि उनी काष्ठ व्यवसायतिर लागे । सँगै, धान मिल खोले । ०५० सालमा खनाल रोजिन एन्ड टर्पिन्टाइन खोलेपछि भने उनले पूरै समय त्यसैमा दिए । खोटो संकलन गर्न उनी कहाँ पुगेनन् ? पहाडी जिल्लाहरू अर्घाखाँची, प्यूठानदेखि दैलेखसम्म धाएर उद्योग स्थापित गराए ।

***


नेपालगन्जको बागेश्वरी टोलमा जन्मिए । त्यसैले उनी सधैं धर्मप्रति आस्थावान रहे । त्यही धर्मले आफूलाई बचाएको उनी ठान्छन् ।


०५२ सालमा नेपालगन्जमा हिन्दु–मुस्लिम दंगा भयो । त्यसले दुई धार्मिक सम्प्रदायलाई धु्रवीकृत गर्‍यो । दिवाकरले हिन्दुलाई संगठित गर्न थाले । शिव सेना गठन भयो । ‘युवालाई कुलतबाट जोगाउने र धर्मको रक्षामा लगाउने अभियान थियो,’ उनी भन्छन्, ‘केही हदसम्म सफल पनि भइयो । केही हदसम्म विवादमा तान्न खोजियो ।’


हरेक बिहान नगरमा ‘जय श्रीराम’ भन्दै सयौं युवाहरू ‘मर्निङ वाक’ मा निस्कन्थे । धार्मिक गतिविधिमा मात्र होइन, सामाजिक काममा समेत दुई सम्प्रदायबीच तीव्र प्रतिस्पर्धा थियो । हिन्दु र मुस्लिमका आ–आफ्ना जिमखाना खुले । रंगशाला कबर्डहल मर्मत भए । गाउँगाउँमा धार्मिक गतिविधिमा प्रतिस्पर्धा हुन थाले । धार्मिक आवरणमा प्राप्त ख्यातिबाट उनले राजनीतिक महत्त्वाकांक्षा पूरा गर्ने कोसिस पनि गरे । ०५४ सालमा कांग्रेसबाट मेयरमा उम्मेदवारी नपाएपछि उनी शिव सेनाबाट मैदानमा उत्रिए । एमालेका धवलशमशेर राणाले चुनाव जित्दा उनी थोरै मतअन्तरले पराजित भए । मुख्य प्रतिस्पर्धी ठानिएको कांग्रेसको भने जमानत जफ्त भयो । धार्मिक हावा यति धेरै लाग्यो कि सानो निहुँमा चुनावको बीचैमा हिन्दु–मुस्लिम दंगा भयो । सहरमा कफ्र्यु लाग्यो । केही केन्द्रमा पुन: निर्वाचन गरियो । एमालेका राणाले चुनाव जिते ।


विद्रोही उठेर आधिकारिक उम्मेदवारको जमानत जफ्त गराएपछि उनलाई कांग्रेसले तीन महिना कारबाही गर्‍यो । लगत्तै कांग्रेस नेता सुशील कोइरालाले कारबाही फुकुवा गरे । दुई वर्षपछि ०५६ को निर्वाचनमा कोइरालालाई जिताउन उनको राम्रै भूमिका रह्यो ।


भारतको मुम्बईमा शिव सेना र बाल ठाकरेको जुन प्रभाव थियो, त्यसको सिको नेपालगन्जले गर्न खोजेको थियो । केही अगुवाले त्यसबाट फाइदा पनि उठाए । बाल ठाकरेले दिवाकरलाई पनि पटक–पटक बोलाएका थिए । तर, आफू भेट्न नगएको दिवाकर बताउँछन् । ‘म धर्ममा विश्वास गर्ने मान्छे हो । तर, त्यही नाममा द्वन्द्व निम्त्याउन खोज्ने मान्छे होइन,’ उनी प्रस्ट पार्छन्, ‘फरक धर्म र सम्प्रदायले एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने मात्र मेरो मान्यता हो ।’ नेपालगन्जमा झन्डै हुर्किसकेको धार्मिक राजनीति समयक्रमले निस्तेज पारे पनि त्यसका केही बाछिटा भने स्थानीय तह र भर्खरैको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा पनि देखिए ।

***


त्यसो त, खनाल विस्थापित भई अमेरिका गएको दुई वर्षमै नेपालमा लोकतन्त्र आएको थियो । सशस्त्र द्वन्द्वको विधिवत् अन्त्य पनि भयो । तर, उनी फर्किएनन् । ‘अब के हुन्छ भन्ने कुनै निश्चित थिएन । त्यसमाथि, माओवादीकै सरकार थियो,’ उनी भन्छन्, ‘अहिले लोकतन्त्रले बाटो पक्डिएको छ । त्यसैले आएँ ।’


सशस्त्र द्वन्द्वमा आफूमाथि भएको आक्रमणबारे अब उनलाई माओवादीसँग पनि कुनै गुनासो छैन । उनको गाउँको घर लुटियो । गाई–भैंसीसमेत फुकाएर लगियो । आफूलाई गोली हानिसकेपछि वृद्ध आमालाई फोन गरेर धम्क्याएको घटनाले केहीअघिसम्म उनको मनमा बदलाको भावना पलाउँथ्यो । तर, अब त्यो पनि छैन । उनी आध्यात्मिक रूपमा चित्त बुझाएका छन्, ‘स्वर्ग–नर्क कतै छैन । जे सजायँ दिनु छ, भगवान्ले यहीँ दिनुहुन्छ । ढिलोचाँडो मात्र हो, मलाई अन्याय गर्नेले पनि त्यो सजाय अवश्य पाउनेछन् ।’

बाध्यताले अमेरिका पुगेको भए पनि उनले संसार हेर्ने र बुझ्ने मौका पाए । आत्मविश्वास बढ्यो अनि, विचार फराकिलो भयो रे । छोरा दिनेश बिजनेस एनालिस्ट र छोरी दीप्तिका डाटा एनालिस्टका रूपमा उतै छन् । तर, उनलाई भने देशको मायाले तान्यो ।


नेपालगन्जमै रहिरहेको भए उनी यतिबेला पर्यटन उद्योगमा जमिसकेका हुन्थे । घटना हुनु केहीअघि सुर्खेत रोडमा मानसरोवर रिसोर्ट खोल्न शिलन्याससमेत गरिसकेका थिए । त्यो अधुरो सपना पूरा गर्न उनी अहिले पनि लागिरहेका छन् । वैशाखबाट सञ्चालनमा ल्याउने गरी सुविधासम्पन्न खनाल कम्प्लेक्स होटल निर्माण अन्तिम चरणमा पुर्‍याइसकेका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?