निबन्धका बाटा    

निबन्ध
रोशन शेरचन

काठमाडौँ — आफ्नै अनुभवबाट कुरा थाल्दा उपयुक्त होला । स्कुले जीवन घरबाट टाढा बित्यो । घर भैरहवा, स्कुल पोखरा । एक कक्षाबाटै छात्रावासको जीवन । सानै उमेरमा घरबाट टाढिनुपरेको नियास्रोलाई तर स्कुलको भव्य पुस्तकालयले कम गर्‍यो । मैच्याङ गुरुमा र अटन सरले उसै मनमोहक पाराले कथा सुनाउँथे । हामी हलचल नगरी मुग्ध हुन्थ्यौं । साहित्यतिर आकर्षित हुने कारण ती कथाहरू बने । 

साझा प्रकाशनले (?) निकाल्ने जासुसी किताबहरूमा विशेष रस बस्यो । नबसोस् पनि किन ? ती किताबहरू रोमाञ्च, षड्यन्त्र, सनसनी र नाटकीयताले भरिएको हुन्थ्यो । थोरैको नाम मात्र सम्झन्छु । दीर्घबाहुको बिषालु इच्छापत्र, शरद निरौलाको ब्ल्याक सेप्टेम्बर । एसके दिनको उपन्यासको नाम बिर्सें । सम्झन सकेको अरू दुई उपन्यासहरू, भेनिसका हिप्पीहरू र सानीआमाको हत्यारा । ती उपन्यासहरूको रोमाञ्चकताले नै मलाई पुस्तकको संसारतिर धकेलेको रहेछ । उपन्यासकार युधीर थापा त त्यस समयको बादशाह नै थिए । ‘हुरीको लहर’, ‘संगमरमरको ढुङ्गा’, ‘सिस्टर कल्पना’, ‘झरनाको मीठो पानी’ आदि पढन्चु सर्कलमा हिट थियो । प्रकाश कोविदको उपन्यास ‘नोयो’ हात पर्‍यो । लाइब्रेरीबाट हो वा साथीमार्फत । शरणार्थी विषयमालेखिएको उक्त उपन्यासले मलाई निकैद्रवित बनायो । कोविदकै ‘अर्को जन्म’ र ‘देउता’ ले थप भावविह्वल बनायो । जयधमालाको (?) उपन्यास ‘पागल’ त उत्कर्षमै थियो । पाँच, छ कक्षा उक्लेपछि भने हिन्दी सत्य कथातिर लहसिएँ । विशेष कर्नल रञ्जितका हिन्दी जासुसी उपन्यास । त्यो उमेरमा गम्भीर पुस्तक पढ्न सम्भव थिएन । उमेरले आफूसँग रुचिको स्तर पनि सँगै बोक्दो रहेछ । त्यसलाई कसै गरे पनि उमेरको काँधबाट झार्न सक्दैनौं । लहडमै यी पुस्तकहरूले पढ्ने रुचि भने जगाइदियो ।
प्रमाणपत्र तह उत्तीर्ण गरेपछि भने गम्भीर साहित्य पढेछु । अहिले थाहा भो । धच गोतामेको ‘घामका पाइला’, शंकर लामिछानेको ‘अब्स्ट्रयाक्ट चिन्तन प्याज’ पारिजातको ‘शिरीषको फूल’, विश्वेश्वरप्रसाद कोइरालाको ‘मोदिआइन’ र ‘नरेन्द्र दाइ’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, विजय मल्लको ‘अनुराधा’, सरुभक्तको ‘पागल बस्ती’ आदि । वन विज्ञान अध्ययन संस्थाबाट रेन्जरको डिग्री लिई जिल्ला वन कार्यालय, काठमाडौंमा नियुक्ति लिएँ । थानकोटस्थित केन्द्रीय वन नर्सरीमा खटिएँ । वन नर्सरी मात्र जिम्मामा परेकाले समय उब्रन्थ्यो । नर्सरीको असारेको बोट नजिक दुबोको चौरमा उब्रेको समयसँग बसेर काठमाडौंको न्यायो घाममा निकै पुस्तकहरू पढें । अमेरिकी र ब्रिटिस लाइब्रेरीको सदस्य बनें । नयाँसडकको ओशो अध्ययन केन्द्रको पनि सदस्य बनें । पठनको भोक तीव्र । समय छेलोखेलो । पुस्तक ल्यायो, पढ्यो । पढ्यो, फिर्ता गर्‍यो, फेरि अर्को ल्यायो । लती भन्न मिल्छ भने, त्यो वर्गीकरणमा म पनि क्रियाशील सदस्य । त्यो भूतसवार सम्झँदा अहिले छक्क पर्छु । त्यो क्रम करिब दुई, अढाई वर्ष चल्यो । दिउसो वन नर्सरीमा रेन्जर जागिर । लगनटोलमा डेरा गरी बस्थें । दूध लिन एकाबिहान उठ्नैपथ्र्यो । त्यसपछिको समय त्यसै बितिरहेको थियो । आरआर क्याम्पसमा बिहानी कक्षा छ भनेपछि भर्ना भएँ । अंग्रेजी साहित्य र राजनीतिशास्त्र लिई ।
‘झेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स्’ पुस्तकले मलाई गहिरोसँग बिथोल्यो । उक्त पुस्तकमा मानिस कुनै आधारभूत प्रश्नमा कुन हदसम्म घोत्लिन्छन् भन्ने देखाइएको छ । यस्तो एकोहोरो घोत्लिरहने पात्रको कथाले पनि पाठकलाई आकर्षित गर्दा रहेछन् भनेर थाहा पाउँदा चकित परें । त्यो पुस्तकको प्रोटागनिस्टले धेरै वर्षसम्म भूतले झैं मेरो मानसलाई लखेटिरहयो ।
यो पृष्ठभूमि बताउनुको कारण छ । त्यो के भन्दा, पाठकमा पुस्तक र स्रष्टाहरूको प्रभाव पर्छ । प्रभाव स्वाभाविक हो । जति कलिलो उमेर, उत्ति गहिरो प्रभाव । कलिलो उमेरलाई त्यसैले निर्माणाधीन वर्ष भनिन्छ । फरमाटिभ इयर । पठनयात्राको क्रममा प्रभावका केन्द्रहरू बदलिन्छ तर सायदै प्रभावमुक्त हुन सकिन्छ । मान्छेको समाजमा सयौं उत्कृष्ट पुस्तकहरू छन् । कुनै लेखकबाट पनि म प्रभावित छैन भन्यो भने कि त ऊ अद्भुत विलक्षण प्रतिभा हो । वा ऊ सत्य बोलिरहेको छैन । वयस्क हुँदै जाँदा लाग्दै गयो, जीवनमा तर नाटकीयता अपवादमा मात्र छ । नाटकीयता जीवनको नर्मस् होइन । जीवन मूलत: कारण र परिणामकै अन्योन्याश्रित सम्बन्धबाट सञ्चालित छ । विचारलाई बढीभन्दा बढी वस्तुपरक ढंगले सोच्न नसके, पुस्तककै संसार पनि भ्रमपूर्ण हुन्छ । त्यसले अल्मलाउँछ । आखिर पुस्तक लेखकको मानसिक निर्माण न हो । यस्तै आग्रहले गैरआख्यानतिर उन्मुख गरायो । तर कारणहरू त्यत्तिमै सीमित छैनन् ।
निबन्धतिर उन्मुख गर्न सघाउने कामुको ‘मिथ अफ सिसिफस’ निबन्ध एक हो । गम्भीर पाठकले पढ्नैपर्ने निबन्ध । सिसिफस हाम्रो मिथक होइन । ग्रिसेली हो । तर मिथक आफ्नै हुनुपर्दैन । मिथकले दिने अन्तरदृष्टि महत्त्वपूर्ण हो । मिथक सार्वभौम हुन्छ, त्यसैले भनिएको हो । मिथकमा सिसिफसलाई श्राप लाग्छ । उसले ढुंगालाई गुडाएर डाँडाको टुप्पामा लग्नुपर्छ । अत्यन्तै दु:ख गरेर ढुंगालाई डाँडाको चुचुरोमा लग्छ । तर गुरुत्वाकर्षणले त्यो ढुंगा तल झर्छ । आजन्म उसको काम नै के हुन्छ भने ढुंगा माथि पुर्‍याउने, सुस्ताउन पाएको हुँदैन, ढुंगा झर्न लाग्छ र फेरि ढुंगाको पछि सिसिफस ओरालो झर्न अभिशप्त हुन्छ । फेरि अर्कोपल्ट चढाउनुपर्ने । बारम्बार त्यही । भिँmझोलाग्दो पुनरावृत्ति । असफल हुन्छ भन्ने पहिल्यै थाहा पाएर पनि उनी त्यही कार्य गरिरहन्छ तर आत्महत्या गर्दैन । परिणाम निरर्थक हुन्छ भन्ने थाहा पाउँदा पनि मूर्खता दोहोर्‍याइरहन्छ । सिसिफसको कदम त्यस मानेमा विवेकसम्मत छैन । बरु विसंगत छ । आजका मान्छेका धेरै कदमहरू विसंगतिको नजिक भेटिन्छन् । सूक्ष्म दृष्टि पसार्ने हो भने हाम्रै समाजका अधिकांश मध्यमवर्गीय मानिसहरू दु:खमनाउ गर्न छाडिसके । बरु अटेरी भई फिस्स हाँस्छ, सजिलै माफी माग्छ र उही मूर्खता दोहोर्‍याइरहन्छ । हाम्रो राजनीतिक परिदृश्य पनि भिन्न छैन । भोट माग्दा पार्टीका उम्मेदवार हरेक पटक धेरै वाचा गर्छन् तर कहिल्यै पूरा गर्दैनन् । उही पुनरावृत्ति । संरचनामा आइसकेको संघीय गणतन्त्र अनुभूतिमा कहिले आउने हो ? जवाफ सरल छैन ।
धच गोतामे, शंकर लामिछाने, ईश्वरवल्लभ, भैरव अर्याल, कृष्णचन्द्रसिंह प्रधान, शिव अधिकारी, पारिजात, नारायण ढकाल, खगेन्द्र संग्रौला, गोविन्द वर्तमान, डीपी भण्डारी, शारदा शर्मा आदिका निबन्धहरू पढें । कान्तिपुरमा एकताका ईश्वर वल्लभ स्तम्भ लेख्थे । रिठ्ठो नबिराई म पढ्थें । त्यो जटिल थियो तर दुरूहै होइन । बुझिन्थ्यो । हामीकहाँ सरल भए राम्रो, सरल नभए नराम्रो मानिन्छ । मलाई त्यस्तो लाग्दैन । जटिलता र सरलता सापेक्षिक कुरा हुन् । मिहिनेत गर्दा वल्लभ बुझिन्छ । पाठकले रुचिको परिष्कार गर्दै र बुझ्ने क्षमतालाई बढाउँदै गए हिजो ‘अमूर्त, कठिन’ भनिएका पुस्तक बुझ्न सकिन्छ । त्यस्तै वाउ,
गज्जब, बुलन्द भनिएको पुस्तक कालान्तरमा औसत लाग्न सक्छ । परिवर्तनशील चेतना यथार्थ हो ।
जब लेखनतिर अग्रसर भएँ, पठन मत्थर बन्यो । केही कारणहरू छन् । प्रथमत:, उमेर घर्कंदै गएपछि अब छनोट गर्नुपर्छ भन्ने लाग्यो । दोस्रो, समय छेलोखेलो रहेन । तेस्रो, रुचिको प्राथमिकता फेरियो । लेख्न थालेपछि सेलेक्टिभ भएँ । प्रारम्भमा पठनको चौबाटोमा उभिएकाले जे भेटिन्थ्यो पढिन्थ्यो । कस्तो खाले पढ्ने ? क्रमश: प्रश्न तेर्सिन थाल्यो । केही जवाफहरू सामुन्ने पाएँ । जसले मलाई सार्थक जीवन बाँच्न ऊर्जा दिन्छ । जसले मेरो सोचाइलाई गतिशील बनाउन सघाउँछ । जसले समयलाई बूढो हुनबाट जोगाउँछ । जसले फरक विचारप्रति सहिष्णु हुन सिकाउँछ । जसले विज्ञानसम्मत भएर बाँच्ने आधारहरू दिन्छ । र, जसले मान्छेका संवेदनाहरूलाई सूक्ष्म ढंगले निरीक्षण गर्न सक्षम बनाउँछ । त्यस्ता पुस्तकहरूलाई नजिक राख्ने अठोट गरें । रोमाञ्चित बनाउने, क्षणभर इन्द्रियलाई बलात् आकर्षण गर्ने तर थाहै नपाई आत्मध्वंसी विचार जन्माउने अतिरञ्जताले भरिएको नाटकीय, सनसनीपूर्ण र सतही पुस्तकलाई हटाउँदै लगें ।
लेखनयात्रामा सिकाइ कहिल्यै नसकिने । बरु मान्छेको जिज्ञासा सकिएला, सिकाइको सम्भावना जहिल्यै रहने । सिकाइसम्बन्धी एउटा घटना । २०६८ सालमा निबन्ध संगालो ‘चम्पारण ब्लुज’ लेख्दाको । विगतमा दक्षिण अफ्रिकाको भ्रमण गर्ने अवसर पाएको थिएँ । जोहनसवर्गमा कार्यक्रम सकिएपछि आयोजक संस्थाले नजिकैको सोबेतोको भ्रमणको कार्यक्रम थियो । सहभागी हामी दस, एघार जना भाडाको भ्यानमा चार बजेतिर सोबेतो लाग्यौं । सोबेतो सबअर्व । जोहनसवर्ग जति आधुनिक, सोबेतो उत्तिकै जर्जर । गरिबीले आक्रान्त, पूर्वाधारको अभावमा बाँचिरहेको अव्यवस्थित बस्ती । नेल्सन मन्डेलाको घर सोबेतो नै रहेछ । मन्डेलाको घर... अकस्मात अफ्रिकी साथी करायो । उसले पनि ढिलो सम्झेको थियो । गुडिरहेको गाडीबाटै फर्केर झ्यालबाट हेरें । रूखले छेलिएकाले घर प्रस्ट देख्न सकिएन । थकथक लागिरहयो ।
त्यही र त्यस्तै सन्दर्भलाई लिएर नियात्रा लेखेथें ‘महान् नेल्सन मन्डेलाको देशमा’ । त्यो निबन्ध ‘चम्पारण ब्लुज’ मा समावेश छ । उपयोगी सुझाव पाउने आशामा निबन्धकार एवम् कवि गोविन्द वर्तमानलाई पाण्डुलिपि देखाएँ । हप्ता दिनपछि उहाँले बोलाउनुभयो । पाण्डुलिपि फिर्ता गर्दै उहाँले भन्नुभयो, ‘तिमीले नेल्सन मन्डेलालाई महान्चाहिँ धेरै भनेका रहेछौ तर मन्डेलाको महानताको चर्चा कम गरेको देखिन्छ । विशेषण झुन्डयाउनु पर्दैन बरु मन्डेलाले रंगभेदी आन्दोलनमा पुर्‍याएको योगदानको बारेमा विस्तृत लेख्नू । पाठकले त्यसपछि उनी महान् व्यक्तित्व रहेछन् भनेर बुझिहाल्छन् नि ।’
म छ्वाङ्ग भएँ । गोविन्द वर्तमानको सुझाव राम्रो लाग्यो । दर्जनौं ‘महान्’ विशेषण हटाएँ र मन्डेलाको योगदानको बारेमा खोजीनिधी गरें । पाण्डुलिपिकै कभरमा वर्तमानले निबन्धहरूको समग्र मूल्याङ्कन गर्नुभएको छ । रातो मसीले लेखेको त्यो कभर अझै सुरक्षित छ । २४ वटा निबन्धहरूमा, ५ वटा ‘क’ श्रेणीका, १३ वटा ‘ख’ क्षेणीका र ६ वटा ‘ग’ श्रेणीका । मूल्याङ्कनमा वर्तमान निर्मम तर उत्तिकै आदरणीय । मानवशास्त्री सुरेश ढकाललाई पनि पाण्डुलिपि देखाएँ । उहाँबाट पनि महत्त्वपूर्ण सुझाव प्राप्त भएको थियो । पुस्तकमा आभार गर्नचाहिँ बिर्सेछु । त्यसको अफसोसचाहिँ छ । समृद्ध समीक्षा चेतना भएका केही लेखकहरूलाई पाण्डुलिपि देखाउनु राम्रो अभ्यास रहेछ भन्ने बोध त्यस घटनापछि भयो ।
समालोचनाको केही व्यावहारिक सिद्धान्त पनि खोजें । एउटा सिद्धान्त नै रहेछ, ‘अब्जेक्टिभ कोरिलेटिभ’ । त्यो सिद्धान्तको सार रहेछ ‘नभन, बरु देखाऊ ।’ ‘डन्ट टेल, सो’ । यो सिद्धान्तको पालना साहित्यमा जरुरी रहेछ । अचेल कलाको सिद्धान्तप्रति यथाशक्य सजग हुन्छु । विशेषणहरूबाट साहित्यलाई बचाऔं भन्ने कथनमा तुक छ ।
निबन्धमा वैचारिक खोजीको प्रधान्यता हुन्छ । खोजीका वस्तुगत कारणहरू उभ्याउने प्रयास गरिन्छ । त्यसैले सहायक पुस्तकहरू पढ्न उन्मुख भइन्छ । निबन्धको सत्त्व नै वैचारिकता हो । निबन्धतिर उन्मुख हुनुको यौटा कारण पछिल्ला चरणमा पढिएका त्यस खाले पुस्तकहरूको प्रभाव पनि होला । भारतका चर्चित निबन्धकार आरके नारायणका अनुसार निबन्ध दुईथरीका हुन्छन् । ‘वस्तुपरक निबन्ध’ र ‘आत्मपरक निबन्ध’ । नारायणको धारणा खासै नौलो होइन । तर धारणामा देखिने आत्मविश्वास अचम्मको छ । प्रमाणपत्र तहमा उनको कथा ‘ओपन विन्डो’ पढ्नुपथ्र्यो । नारायणको ‘मालगुडी डेज’ कृतिमा आधारित धाराबाहिक उत्तिकै चित्ताकर्षक र लोकप्रिय छ ।
सम्भव भएसम्म क्लासिक कृतिहरू पनि पढ्नुपर्छ । क्लासिक कृतिहरू समयले नामेट पार्न नसकेका पुस्तकहरू हुन् । समयको बतासले उडाउन नसकेको । समयको वर्षाले बगाउन नसकेको । र, समयको घामले खुइलाउन नसकेको । निबन्ध साहित्यमा देवकोटा, धच गोतामे, पारिजात, शंकर लामिछाने, कृष्णचन्द्र सिंह प्रधान, भैरव अर्याल, नारायण ढकाल, गोविन्द वर्तमान, खगेन्द्र संग्रौला, श्यामल, अभि सुवेदी, भुपीन, राजन मुकारुङ, मोहन मैनाली आदि नपढ्दा केही गुम्छन् नै । राम्रा लेख्ने तर पढ्न बाँकी रहेका निबन्धकार पनि पक्कै छन् । पछिल्लो छिमलका निबन्धकारहरूलाई पनि पढ्नैपर्छ । आफ्नो इतिहास, संस्कृति र पहिचान खोज्ने प्रवृत्ति समकालीन निबन्धको खास उपलब्धि बन्यो । जर्नालिज्मको पृष्ठभूमिबाट आएका केही लेखकले निबन्धलाई वस्तुनिष्ठ बनाउन योगदान दिए । लैङ्गिक समानताको मुद्दामा उठेको बहसले गैरआख्यान विधालाई विषयगत हिसाबले समृद्ध बनाएकै छ । यद्यपि अधिकांश त्यसखाले रचनाहरू कलाको दृष्टिले उच्च कोटीको देखिँदैनन् । नौलो विचार सोचेर त्यसमा निबन्ध लेख्नुभन्दा उच्चकोटीको कलात्मक निबन्ध लेख्न कठिन छ । मेरो विचारमा । फुटकर निबन्धमार्फत राम्रो छाप छाडेका निबन्धकार सरिता तिवारी, सरस्वती प्रतीक्षा, मनु मञ्जिल, हाङयुङ अज्ञातका पुस्तक प्रतीक्षाकै विषय छ । निबन्धकार दीपक सापकोटाले सम्पादन गरेको ‘निर्बन्ध मोन्टाज’ निबन्ध साहित्यको विकासको चरण, निबन्धगत वैचारिकता र शिल्पीको वैविध्य थाहा पाउन निकै सान्दर्भिक छ । समकालीन निबन्ध साहित्यको सबल आँखिझ्याल बनेको छ, निर्बन्ध मोन्टाज ।
सूचना प्रविधिको विकासले पाठकहरूलाई उत्तिकै शक्तिशाली बनाएको छ । सायद निर्णायक पनि । चाहे आख्यान, चाहे गैरआख्यान । लेखक र पाठकबीचको नैसर्गिक दृष्टिभेद धेरै हेर्न, सुन्न र पढ्न पाइन्छ सामाजिक सञ्जालमा । पाठकअनुसार प्रतिक्रिया पनि थरीथरीका आउँछन् । थरीथरीका अनपेक्षित प्रतिक्रिया आउँदा लेखक आश्चर्यमा पर्नु, दु:खी हुुनु अस्वाभाविक होइन तर अपरिपक्वता हो । तर फेरिंदै गरेको यथार्थ के हो भने, अब लेखकले पाठकसँग अन्तरक्रियाको निम्ति तैयार हुनैपर्छ । सामाजिक सञ्जालले लेखक र पाठकलाई आमनेसामने ल्याइदिएको छ । सामाजिक सञ्जालको भूसतह पनि मरुभूमिजस्तो । दौडन जत्ति सकिन्छ, लुक्न कतै सकिन्न ।
लेखकको पाठकसँग प्रत्यक्ष संवाद हो, निबन्ध । निबन्धमा लेखकले सोझै भन्छ । कथा र आख्यानमा जस्तरी पात्र उभ्याउँदैन । आफैं उभिन्छ । तसर्थ निबन्धमा लेखक थप उत्तरदायी बन्नुपर्छ । पात्र देखाएर उम्कने सुविधा निबन्धकारलाई छैन । वस्तुपरक निबन्धमा त झनै छैन । निबन्धमा लेखक नै विचारको बाहक हो । गफै त हो नि... भन्ने भद्दा मजाक कहिलेकाहीं सुन्छु । त्यस्तो मजाकले सिर्जनात्मक ऊर्जा खोस्छ । कवि ईश्वरवल्लभको भनाइ सम्झन्छु, ‘लेखन गम्भीर कर्म हो । गद्य पनि लेख्नू भाइ’, उहाँले भन्नुभएको थियो । ‘गद्य कविको कसी हो’ उहाँको वाक्य सम्झन्छु । संस्कृतमा श्लोकै रहेछ । आफू प्रभावित भएको लेखकले केही भनिदिँदा प्रभाव धेरै पर्दो रहेछ । अहिले चाल पाउँछु ।
अगि केही आधारभूत प्रश्नहरूले मलाई बिथोलिरहेको थियो । त्यसैको उत्तर खोज्ने क्रममा जे पाए, त्यसैलाई निबन्धको रूप दिएँ । कथाभन्दा निबन्ध सजिलो छ । कथालाई जस्तो निबन्धलाई बाँध्नुपर्दैन । सीधासीधा भन्न मिल्छ । म यसै एकोहोरो, सरल रेखामा हिँड्न मन पराउने मान्छे । नजिकका साथी र पत्नी पनि त्यसै भन्छन् । भेडा वर्गमै जन्मेको हुँ । भेडाजस्तै स्वभाव । संयोग मात्र हो भेडा वर्गमा जन्मनु । तर हाँसो उठिराख्छ । तर म मिहिनेत गर्न नछाड्ने मान्छे । दत्तचित भएर लागिरहन्छु एकोहोरो । कथावाचन गर्ने मेरो पटक्कै सामथ्र्य छैन । अगि कथा नलेखेको होइन तर कथामा पनि निबन्ध नै बढी पस्ने । कथाको संरचनालाई बुझ्नै नसकेकाले कथातिर चियाउन छाडें । निबन्ध यात्राको प्रारम्भिककालमा ‘बुधबार’, ‘समकालीन’ र ‘प्रकाश’ साप्ताहिकको सहयोगले पनि यही क्षेत्रमा लाग्न उत्साह थप्यो । अन्नपूर्ण संरक्षणको जागिरले मनग्य घुम्ने अवसर दियो । बिस्तारै निबन्धको बाटातिर पाइला चालें । निबन्ध आफ्नो बाटो बन्न पुग्यो । निकटको विधा बन्यो निबन्ध । निबन्धलाई नजिक मान्ने व्यक्तिले निबन्धको सेरोफेरोमा आफ्ना व्यक्तिगत सोचहरू राख्नु स्वाभाविक नै हो । साहित्यमा एउटा क्लिसे छ— आफूले थाहा भएको विषयमा लेख्नु । सोचिल्याउँदा त्यही क्लिसेलाई निर्वाह गरिरहेको रहेछु । क्लिसे भए पनि आखिर त्यसको अर्थ सत्यको धेरै नजिक पनि त छ । हैन र ?

प्रकाशित : माघ २०, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मेरा पुस्तकालयहरू

संस्मरण
रोशन शेरचन

पुस्तकालयजस्तो सार्वजनिक संस्थालाई मेरो भन्नु त्यति उपयुक्त हुँदैन। तर त्यो शब्द चयनको पछाडि एउटा कारण छ।

जीवनका कुइनेटाहरूमा सहयात्री पुस्तकालयहरूको सम्झना गर्दा त्यसमा म अत्यन्त वैयक्तिक स्पर्श भेट्छु। तसर्थ ‘मेरो’ शब्द नै छानें। अपनत्वको अर्थमा। महाकवि देवकोटाले मुनामदनमा ‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्...’ लेख्दा ईश्वरलाई निकट मानेरै ‘तैंले’ शब्द प्रयोग गरेका हुन् कि? निकट हुँदा सम्बोधन बोसोरहित हुँदै अनौपचारिक बन्दो रहेछ। खैर, पुस्तकालयको अनुभव लेख्न बस्दा सिसेरोको भनाइ सम्झिरहेको छु ‘यदि तिमीसँग बगैंचा र पुस्तकालय छ भने, जीवनमा चाहिने सबै चीज तिमीसँग छ।’ जिससभन्दा झन्डै १०६ वर्षअघि जन्मेका यी रोमन दार्शनिकले पुस्तकालयको महत्त्वलाई उहिल्यै बुझेको देखिन्छ। बगैंचा नभएकाले, म त्यसको कल्पना मात्र गर्न सक्छु। तर पुस्तकालयको हकमा सिसेरो सही भएको मेरो अनुभवले पनि भन्छ। 

घर, डेरा, स्कुल, मित्रता, सम्बन्ध, सिनेमाझैं हामी कैयनले जीवनमा पुस्तकालयको महत्त्व अनुभव गरेको हुनुपर्छ। अनेकौं स्मृतिहरूमा यौटा स्मृतिको त्यान्द्रो पुस्तकालयसँग जोडिएको छ। सरदर दुईतिहाई समययात्राको थुम्कोबाट विगत नियाल्दा पुस्तकालयको रोमाञ्चक र मुग्ध पार्ने संसार देख्छु। विविध। बहुरूप। पुस्तकालयसँगको मेरो सहयात्रा सकिने संकेत छैन। जीवनसँगै मात्र सकिने देख्छु। तर पुस्तकालयका नोस्टालजिक यादहरू क्रमश: धमिलिँदै गएका छन्। तर सबै विस्मृतिको गर्तमा विलुप्त भइसकेका छैनन्। विलुप्त भइनसकेका केही संस्मरणहरू यहाँ लेख्दै छु। 

यात्रा एक : गण्डकी पुस्तकालय 
विसं २०३१ सालमा पोखराको नेपाल आदर्श माध्यमिक विद्यालयमा भर्ना हुँदा पुस्तकालयको नयाँ संसारमा प्रवेश गर्दै छु भन्ने थाहा थिएन। फुच्चे उमेरमा थाहा हुने कुरै भएन। अहिलेको गण्डकी बोर्डिङ स्कुल। दुई, तीन कक्षाको विद्यार्थी हुँदासम्म पुस्तकालय कहाँ थियो? याद छैन। यू आकारको मुख्य भवन बनेपछि भने मध्यभागको पहिलो तलामा पुस्तकालय बन्यो। लोकप्रिय साप्ताहिक ‘नयाँ सन्देश’ पहिलोपटक त्यहीं पढेको सम्झन्छु। नयाँ सन्देशको मीठो शीर्षकको चुट्किला र कार्टुनिस्ट बराथा (?) ले बनाएको कार्टुन मन पथ्र्यो। निकै हाँसिन्थ्यो। 
सस्तो सामाजिक उपन्यासको बानी यही लाग्यो। युधीर थापासँग जम्काभेट भयो। थापाको ‘कक्टेल्स’, ‘हुरीको लहर’, ‘झरनाको मीठो पानी’, ‘फेरि कहिले भेट होला’, ‘सिंगमरमरको ढुंगा’ पढें र हिरिक्कै भएँ। प्रकाश कोविदको ‘अर्को जन्म’ र ‘देउता’ पनि पढें। थापाभन्दा थोरै माथिको उपन्यासकार। अतिशय भावुक पुस्तक। त्यस बेला महान् लाग्थ्यो। कलिलो मस्तिष्कलाई तिलस्मी दुनियाँमा पुर्‍याउने उपन्यास भने ‘विरचरित्र’ र ‘विरसिक्का’ थियो। पाँच वा छ कक्षामा पढें। ऐय्यरहरूको अदभुत दुनियाँ। विकट पश्चिमी क्षेत्रहरूको सेटिङ। अहिले फेरि पढ्न मन छ। तर कहाँ पाउने? ‘क्लियोपेट्रा’ को नेपाली अनुवाद पढेर त्यसले उत्पन्न गरेको प्रभाव अलिअलि सम्झन्छु। सायद सात कक्षामा। 
त्यस्तै लेडिबर्ड प्रकाशनको अंग्रेजी कथाहरूको पनि मधुरो सम्झना छ। ‘जिन्जरब्रेड मेन’, ‘थ्री लिटल पिग’, ‘सिन्ड्रेला’, ‘स्नो ह्वाइट’। मन नै उदास बनाएको कथाचाहिँ ‘पिनकियो’ थियो। त्यसको नेपाली अनुवाद पढेथें। गरिब वृद्ध सिकर्मीले काठको बालक बनाउँछ। वृद्धको बुढेसकालको नियास्रो मेट्न परीले आशीर्वाद दिन्छ र उनलाई सजीव बनाइदिन्छ। सिकर्मी प्रसन्न हुन्छ। पिनकियो निर्मल हृदयको बालक हुन्छ। एकपटक उसलाई सर्कसको दयालु मान्छेले सुनका केही सिक्का दिन्छ। ऊ सोच्छ, अब दु:खका दिन सकिए। र, खुसी हँुदै हतार–हतार घर फर्किरहेको हुन्छ। बाटामा धुर्त बिरालो भेटिन्छ। सुनको सिक्का छ भन्ने थाहा पाएपछि बिरालोले जुक्ति निकाल्छ। पिनकियोलाई भन्छ, ‘मलाई सुन फल्ने रूख बारे थाहा छ, तिम्ले त्यहाँ सिक्का रोप्यौ भने सुनको सिक्का फल्छ।’ सुधो पिनकियोले पत्याउँछ। माटोमा सिक्का गाड्छ। तर राति एक्लै गई बिरालोले खोस्रेर सुनको सिक्का दमपच पारिदिन्छ। कथाको यो मोडमा म निकै दु:खी बनेको थिएँ। पिनकियो र गरिब सिकर्मीको अवस्था सोचेर द्रवित भएको थिएँ। 
‘नेसनल जियोग्राफी’ पत्रिका हेरिन्थ्यो। पाठ त के बुझ्नु? चित्रहरूमा आकर्षित हुन्थें। त्यसको कागजबाट मीठो बास्ना आउँथ्यो। त्यो बास्ना अझै मेटिएको छैन, स्मृतिपटबाट। अहिले पनि नेसनल जियोग्राफी पाए पाना सुँघ्न छाड्दिनँ। अर्को कथा, मार्क ट्वेनको ‘एडभेन्चर अफ टम सायर’। मनलाई रोमाञ्चित पार्ने कथा। निधारमा बल पार्ने हो भने, अन्य पुस्तकको नाम पनि सम्झन सकिन्छ। तर उल्लिखित पुस्तकहरू सम्झनामा गढेर बसेका रहेछन्। बल नपार्दै स्मृतिपटमा आउने। मेरोनिम्ति गण्डकी पुस्तकालयका झ्याल, ढोका र भित्ताहरू यिनै पुस्तकहरूको योगले बनेका रहेछन्। त्यो पुस्तकालयको आँखीझ्यालबाट पहिलोपटक मैले किताबको संसारतिर चियाएको रहेछु। 

यात्रा दुई : सिद्धार्थ पुस्तकालय
छुट्टीमा भैरहवा जाँदा भने सिद्धार्थ पुस्तकालयको भर पर्थें। पेडाको निम्ति प्रसिद्ध पवन मिष्ठान्न भण्डारको बाटो हुँदै पूर्वतिर मोडिएपछि करिब पचास, साठी मिटरमा सिद्धार्थ पुस्तकालय देखिन्थ्यो। पवन मिष्ठानबाट गुज्रिँदा डढेको दूधको मीठो बास्ना आउँथ्यो। त्यो बास्ना अझै उडेको छैन। पुस्तकालय सामान्य थियो। एकतले। सिद्धार्थ नगरपालिकाले सञ्चालन गरेको थियो क्यार। धेरै पुस्तकहरू थिएन। लस्करै राखिएका काठका टेबलहरूमा समाचार पत्रिका र म्यागाजिनहरू यत्रतत्र छरिएका देखिन्थे। त्यही खातंमा म ‘दैनिक जागरण’, ‘आज’, ‘नवभारत टाइम्स’, ‘इलस्ट्रेटेड विक्ली’, ‘साप्ताहिक हिन्दुस्तान’ खोज्थें। त्यस्तै ‘सरिता’, ‘मुक्ता’, ‘कादम्बिनी’, ‘धर्मयुग’, ‘दिनमान’। बेताल, मैन्ड्रेक्स, चाचाचौधरी र बहादुरका कमिक्सहरू पनि। आज र दैनिक जागरण गोरखपुर भारतबाट निस्कन्थ्यो। गोरखपुरको तेह्रवटै सिनेमाघरमा चलेको लेटेस्ट सिनेमाको सूची त्यसमा हुन्थ्यो। ब्ल्याक एन्ड ह्वाइट चित्रसहित। त्यो छुटाउँदैनथें। सिनेमाको कीरो जो थिएँ। भारतमा रिलिज भएको महिनौं, वर्षौंपछि मात्र नेपालमा भित्रिने जमाना थियो त्यो। अर्को प्राथमिकतामा पत्रिकाको कार्टुन पथ्र्यो। आरके लक्ष्मण र सुधीर तैलङ्गको कार्टुन सम्झन्छु। मेरा साथीहरू नभएकाले सिद्धार्थ पुस्तकालय नै साथी बनेको थियो। पोखरा पढ्थें त्यसताका। भैरहवा बिदाको घरजस्तो मात्र थियो। भैरहवामा धेरै गर्मी हुनाले दिउसो घरै बस्थें। दुई–तीन बजेतिर निस्कन्थें र पाँच बजेतिर फर्कन्थें। विसं २०३७ देखि ०४० सम्म सिद्धार्थ पुस्तकालयको म नियमित प्रयोगकर्ता थिएँ। त्यस बेला पुस्तकालय लोकप्रिय थिएन। भरिभराउ मान्छे मैले कहिल्यै देखिनँ। प्राय: रित्तो। पानपसलमा बरु सधैं भीड देखिन्थ्यो।
 
यात्रा तीन : हेटौंडा पुस्तकालय
विसं २०४२–२०४४ मा हेटौंडा वन विज्ञान अध्ययन संस्थानमा रेन्जर कोर्स पढ्दा उक्त पुस्तकालय मेरो साथी बन्न पुग्यो। साँझको समय खेलकुद खेल्नुपर्ने क्याम्पसको नियमअनुसार प्रायश: फुटबल खेलिन्थ्यो। पुस्तकालय कहिलेकाहीं मात्र पुग्थें। डीएफओ कोर्स पनि हेटौंडामा नै भएकाले क्याम्पस परिसरमा दुईवटा पुस्तकालय थिए। यदाकदा डीएफओ पुस्तकालयमा छिर्थें। पुस्तक पढेको खासै सम्झना छैन। समाचार पत्रिका र वन विज्ञानसम्बन्धी म्यागाजिन हेरेको, पढेको चाहिँ सम्झन्छु। ‘सन म्यागाजिन’ चाहिँ छुटाउँदैनथें। सन म्यागाजिनको मध्यपृष्ठमा गायकहरूको पोस्टर हुन्थ्यो। सिलभेस्टर स्टालनको र्‍याम्बो शृंखलाले तहल्का मच्चाएको समय थियो। भिडियोको व्यावसायिक प्रदर्शन घनघोर चरणमा रहेकाले बरु साथीहरूसँग कहिलेकाहीं भिडियो हेर्न गइन्थ्यो। हेटौंडा पुस्तकालयसँग कमै सहयात्रा गरें। 

यात्रा चार : अमेरिकन लाइब्रेरी
फराकिलो पुस्तकको संसार भने मैले काठमाडौंमा भेटे। विसं २०४४ मा। रेन्जर कोर्स गरेपछि काठमाडौं जिल्ला वन कार्यालयमा रेन्जर भई काम गरें। अफिस अमृत क्याम्पस नजिक थियो। फिल्ड थानकोटको नर्सरी। लाइब्रेरी नयाँ सडकको मध्यभागमा थियो। अहिले त्यहाँ एभरेस्ट बैंकको भवन छ। एक दिन अमेरिकन लाइब्रेरी छिरें। सायद कसैसँग गएको थिएँ। अमेरिकी भाषा केन्द्रमा अंग्रेजी सिक्दा बनेको साथीसँग हो क्यार। लाइब्रेरी एक्सक्ल्युसिव थियो। संकोचै लाग्ने। त्यहाँ भएका सप्पै विद्वान्जस्ता देखिने। अंग्रेजीमा दख्खल भएका। र्‍याकमा अनगिन्ती किताबहरू मिलाएर राखिएका देखिन्थे। म भने मोटा चिप्लो कागज भएका पुस्तकको चित्रहरू हेर्थें। ‘टाइम्स’, ‘न्युजविक’, ‘एसियाविक म्यागाजिन’ को आर्ट, लिटरेचर र सिनेमा खण्ड धेर हेर्थें। लाइब्रेरी आउजाउ गर्न सहज हुँदै गएपछि एक दिन लाइब्रेरियनलाई सोधें, ‘सदस्यता लिन के गर्नुपर्छ?’ 
सदस्य बनेपछि सबभन्दा पहिला वेस्टर्न क्लासिक ल्याएँ। र, थानकोट नर्सरीमा युकलिप्टसको रूखमुनि ज्याक सेफरको उपन्यास ‘सेन’ सक्काएँ। प्रायश: वन नर्सरीमै बिताउँथे। तीन जनाको टिम। ‘सेन’ धेरै वर्षपछि मात्र हेर्ने मौका मिल्यो। ‘सेन’ हलिउडको शोलेजस्तो मानिन्छ। भनिन्छ, भर्खर रिलिज भएको ‘लोगान’ सेनबाट प्रभावित छ। जोन स्टेनवेकको ‘द ग्रेप अफ र्‍याथ’ र ‘अफ माइस एन्ड मेन’ पढें। ‘द ग्रेप अफ र्‍याथ’ सन् ३० को अमेरिकाको ग्रेट डिप्रेसनको पृष्ठभूमिमा रचिएको उपन्यास। बसाइ–सराइ र बाँच्ने उपक्रममा गर्नुपर्ने जीवनसंघर्षमा बुनिएको आख्यान। मार्गरेट मिचेलको मोटो उपन्यास ‘गोविङ विथ द विन्ड’ पनि पढें। यो सक्काउँदाचाहिँ विजेताझैं अनुभव गरें। अमेरिकी गृहयुद्धको विशद् क्यान्भासमा पोतिएका दर्जनौं पात्रहरू भएको त्यो उपन्यास सक्काउन मलाई हम्मे परेको थियो। सक्काएरै जित्नैपर्छ भन्ने भाव पलाएको थियो। कस्तो अहम् भाव? अहिले सोच्दा विचित्र लाग्छ। 
अमेरिकी लाइब्रेरीमै मैले पहिलोपल्ट साल्भाडोर डालीको कलाकृति पग्लिएको घडी (परसिसटेन्ट अफ मेरोरी) देखें। र, अचम्मको मनोदशामा आफूलाई पाएँ। विस्मय अनुभूतिको त्यो तीव्रता मैले पहिला सायदै अनुभव गरेको थिएँ। थाहा पाएँ, त्यस्तो चित्रकारितालाई सररियालिस्ट भनिँदो रहेछ। अहिले त सररियालिस्टिक लेखन नेपालमै लोकप्रिय जन्रा बनिसक्यो। सो विधालाई पाठकवृत्तमा स्थापित गर्ने लेखक कुमार नगरकोटीलाई नेपाली साहित्यको डाली भन्न सकिन्छ। एक दिन लाइब्रेरीको सजावट केही फरक देखिन्थ्यो। केही चेयर, हरेक चेयरमा हेडफोन र अग्रभागमा स्क्रिन राखिएको थियो। अमेरिकन सिनेमाहरू नि:शुल्क देखाउने व्यवस्था थालिएको रहेछ। सुरु–सुरुमा त सिट पाउनै कठिन। पछि माथ्लो तल्लाको हलमै सिनेमा प्रदर्शन गर्न थाले। केही राम्रा सिनेमाहरू हेरें। ‘सिटिजन केन’, ‘प्लेसेस अफ द हर्ट’, ‘आउट अफ अफ्रिका’, ‘क्याजुअल्टी अफ वार’, ‘मानेक्वुइन’, ‘विलो’ आदि। प्लेसेस अफ द हर्टमा जन मल्कोभिजको दृष्टिविहीनको सशक्त अभिनयले द्रवित बनाउँछ। सिनेमा पनि दृश्य–पुस्तक न हुन्। सिनेमातिर रुचि जगाउने थोरै श्रेय यही पुस्तकालयलाई जान्छ। 

यात्रा पाँच : ब्रिटिस लाइब्रेरी
त्यसै वर्षदेखि कान्तिपथस्थित ब्रिटिस लाइब्रेरी पनि जान थालेँ। अझ भव्य थियो, ब्रिटिस लाइब्रेरी। अमेरिकी लाइब्रेरीको विपरीत यहाँ कलेज वा स्कुलका विद्यार्थीहरू धेर देखिन्थे। लाइब्रेरी काउन्टरमा लन्डन कलिङ शीर्षकको ब्रोसर पाइन्थ्यो। बीबीसीको सम्पूर्ण कार्यक्रमको समयतालिका भएको। म त्यो लिइछाड्थें। समयतालिकामा रेजा लगाउँदै सुन्थें। लाइब्रेरीको सदस्य पनि बनें। केही पुस्तकहरू लगेर पढें। लगत्तै स्नातक तह पढ्न पोखरा जानुपरेकाले यो लाइब्रेरीको प्रयोग चाहे जति गर्न सकिनँ। केही पुस्तकको नाम भने सम्झन्छु। चाल्र्स डिकेन्सको ‘ओलिभर ट्विस्ट’, ‘द टेल अफ टु सिटिज्’, ‘डेबिड कपरफिल्ड’ र इमली ब्रन्टको ‘उडरिङ हाइट’ को अब्रिज्ड भर्जन। अब्रिज्ड भर्जन सरलीकृत संस्करण थियो। जर्ज अरवेलको ‘एनिमल फर्म’। अरू सम्झना भएन। 

यात्रा छ : वन विज्ञान पुस्तकालय 
विसं २०४७ देखि २०५० सम्म वन विज्ञानको पुस्तकालयसँग सहयात्रा गरे। यस पुस्तकालयमा समाचार पत्रिका नियमित पढिन्थ्यो। ‘साप्ताहिक विमर्श’, ‘सुरुचि’, ‘बुधबार’, ‘मूल्याङ्कन’ आदि। प्रारम्भमा साप्ताहिक विमर्श र अलिक पछि साप्ताहिक सुरुचिमा शिव अधिकारीको लेख पढ्थें। उनी संस्कृत शब्द बढी चलाउँथे। बोलीचालीको भाषाभन्दा परको शब्दहरूको प्रयोगले त्यति बेला म प्रभावित भएको थिएँ। लेखक खगेन्द्र संग्रौलालाई पनि यही समयदेखि पढें। संग्रौलाको लेखनशैलीको शक्ति अनुभूत गरें। वन विज्ञान पुस्तकालयमा विषयगत पुस्तक र जर्नलहरू नै बढी थियो। इकलजी, जुलजी, बोटनी, वाइल्ड लाइफ, फरेस्ट रिसर्च, स्वायल कन्जरभेसन। तर एउटा खण्डमा फिक्सनको पुस्तकहरू थियो। भुईंतलामा, काउन्टर नजिक। आधा दर्जन जति किताब पढें कि? अधकल्चो पढेको काफ्काको ‘एनिग्मा अफ अराइभल’ सम्झन्छु। काफ्काकै ‘अमेरिका’ पढें। हक्सलेको ‘ब्रेभ न्यु वल्र्ड’ पनि थियो। त्यो जसोतसो सक्काएँ। क्याम्पसकालीन बसाइमा गोरखापत्र बाजेको पसलबाट नेपाली आख्यान, कविता र निबन्धका पुस्तकहरू किनेर पढ्ने क्रम बढ्दै गयो। 
यात्रा सात : युट्युब लाइब्रेरीमा 
सातौं लाइब्रेरी नयाँ अवतारमा छ। यो पुस्तामा पुस्तकालय भौतिक संसारबाट साइबर संसारमा स्थानान्तर भएको छ। पूर्ववृत्ति पुस्तकालयहरू जमिनमा अडिएको थियो। यो इथरमा तैरिरहेको छ। फ्लोटिङ लाइब्रेरी। इन्टरनेटको विकासले यो सम्भव भयो। पुस्तकहरूले डिजिटल रूप धारण गर्‍यो। सुन्ने र हेर्ने, अडियो भिजुअल बुक चल्तीमा आयो। छिर्नेभन्दा पनि पुस्तकालय कनेक्ट हुने विषय बन्यो। सन् २०१५ देखि युट्युबको विशद् पुस्तकालयको भ्रमण गरिरहेको छु। जिज्ञासा भएको विषयमा कनेक्ट गर्‍यो। हेर्‍यो, सुन्यो। कहिलेकाहीं भिजुअल हेर्छु। प्रायश: अडियो किताब सुन्छु। युट्युब लाइब्रेरीमा के–के हेरें? सुनें? बीबीसीले सन् १९७८ मा निर्माण गरेको सात शृंखलाको डकुमेन्ट्री ‘द भोयाज् अफ चाल्र्स डार्बिन’ हेरे। गालापोगसको पाँचवर्षे रोमाञ्चक बिगल यात्रा। थोरै भए पनि डार्बिनियन विकासवाद बुझें। प्रकृतिको छनोट, अनुकूलता, म्युटेसन र प्रजातिको उत्पत्तिबारे धेरथोर बुझे। बाँदर हाम्रो पुर्खा रहेनछ। बरु हाम्रो र बाँदरका साझा पुर्खा रहेछ। प्राकृतिक स्थितिमा भेरिएसन अत्यन्त बिस्तारै घटित हुनाले एउटै जीवनकालमा त्यो देख्न असम्भव प्राय: रहेछ। त्यसैले इकलोजिस्टहरू फोसिलमा भर पर्छन्। जियोलजिकल टाइम पिरियडको स्केलको भेउ पाउन नसकिए डार्बिनियन विकासवाद भ्रमजस्तो लाग्ने बलियो सम्भावना छ। डार्बिनको दृढता र तथ्यप्रतिको उनको निष्ठाले प्रभावित गर्छ। बाबाका पछाडि धेरै कुद्ने नेपाली समाजमा डार्बिनियन सिद्धान्तको सान्दर्भिकता झन् बढ्दो छ। त्यस्तै रिचार्ड डावकिन्सको ‘द गड डेलुजन’ र ‘द एनिमिज अफ रिजन’ सुन्नुपर्ने पुस्तक छ। डावकिन्स इभलुसनरी जीवविद् हुन्। म विश्वस्त भएँ, समाज गरिबी र विभेदपूर्ण हुने एउटा मुख्य कारण आलोचनात्मक चेतको अभाव हो, जुन मूलत विज्ञानसम्मत चेतनाको मर्मलाई आत्मसात् गर्न नसक्दा हुन्छ। 
पुस्तकका अनगिन्ती नाम छन्। वारेन बफेटको ‘स्नो बल’ र उनको पार्टनर चार्ली मन्जरको ‘पोर चार्ली एलमानक’। वारेन बफेट मैले किन यति ढिलो पढें? सोच्दा थकथकी मात्र लाग्छ। मन्जर, अर्का दिग्गज। मन्जरले कुनै पुस्तक लेखेनन् तर पिटर कफमेनले उनीबारे किताब लेखे। ‘पोर चार्ली एलमानक’। त्यसभित्रको ‘साइकलजी अफ ह्युमन मिसजजमेन्ट’ प्रिय पुस्तकअंश बन्यो। स्टिभ जब्सका सिर्जनात्मक बागीपन र जिम रोनको व्यावहारिक शिक्षाहरू। सुन जुको ‘द आर्ट अफ वार’। आइन्सटाइनका सापेक्षवादका सिद्धान्त। र, टेड टक्सका सेरिजहरू। 
जिम रोन लेख्छन्, ‘स्टिल टाइकुन एन्ड्रु कार्नेगीले निजी फाउन्डेसनबाट सन् १९१९ सम्म अमेरिकामा झन्डै ३५०० पुस्तकालय बनाएका थिए।’ रोनको भनाइमा, पुस्तकालयप्रति अमेरिकीहरू उदासीन छन्। तीन प्रतिशत अमेरिकी मात्र पुस्तकालयको सदस्य छन्। कार्नेगीले सोचेका थिए, अमेरिकीहरू पुस्तकालयतिर ‘ड्राइभ इन’ गर्लान् तर अधिकांश ‘ड्राइभ बाई’ गरिरहेका छन्। पुस्तकालय छेउबाटै छट्किन्छन् तर छिर्दैनन्। 
अघि पुस्तकालयसम्म सशरीर जानुपथ्र्यो। इन्टरनेटको कारण अहिले संसारकै विशाल पुस्तकालयहरू हाम्रो सामुन्ने छन्। त्यसैले डर पनि छ, हामी कहीं अल्छे हुँदै त गएका छैनौं। करिब एघार हजार वर्षको आधुनिक मान्छेको इतिहासमा यस्ता अवसरहरू कहिल्यै आएनन्। वर्तमान समयप्रति हामी कृतज्ञ हुनुपर्छ। गन्तीले जीवन एउटा हो। तर सम्बन्ध, अनुभव र ज्ञानको आदानप्रदानको दृष्टिले अहिलेको एउटा जीवन सय वर्षअघिको दर्जन जीवन बराबर छ। यसो हुनुमा पुस्तकहरूको पनि देन छ। पुस्तकालयजस्तो फराकिलो क्षितिजतर्फ उघ्रने आँखीझ्याल अर्को छैन। हामीहरूले सिसेरोलाई नबिराई सुन्नुपर्छ।

प्रकाशित : वैशाख ९, २०७४ १०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×