बौद्ध दर्शन र सकारात्मक मनोविज्ञान

विमर्श
नेत्र आचार्य

काठमाडौँ — लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष मेत्तया भन्ते प्रवचनका लागि स्ट्यानफोर्ड युनिभर्सिटी पुग्दा त्यहाँका एक प्रोफेसर धम्मपदको संस्कृत र अंग्रेजी संस्करण पढिरहेका थिए ।

बौद्ध दर्शन र सकारात्मक मनोविज्ञान

ती प्रोफेसरले नेपालबाट त्यहाँ पुगेका भन्तेलाई सोधे, तपाईंको देशमा त हरेकको घरमा धम्मपदको पाठ हुन्छ होला है ? भन्ते अवाक् भए, किनभने उनलाई थाहा थियो, धम्मपद नेपालका घरघरमा पाठ हुनु त परको कुरा, राष्ट्रिय पुस्तकालयमा समेत खोज्दा फेला पर्दैन होला । मेत्तया भन्तेले एक अभिनन्दन कार्यक्रममा सुनाएको प्रसंगले बुद्ध जन्मेको देशमा बुद्ध शिक्षा कति छायामा परेको छ भन्ने संकेत गर्छ । नेपालमा बुद्ध शिक्षाप्रति अभिरुचि शून्यप्राय: भए पनि पश्चिमी देशहरूमा भने उत्साहजनक रूपले विस्तार हुँदै गएको पाइन्छ । हालैका वर्षहरूमा विकसित मनोविज्ञानको एक विधा ‘सकारात्मक मनोविज्ञान’ को दार्शनिक आधार बुद्धका शिक्षाहरूबाट लिइएको प्रस्ट देखिन्छ । यो लेखमा सकारात्मक मनोविज्ञान कसरी बुद्ध शिक्षाहरूबाट अनुप्रेरित भएको छ र यसबाट कसरी लाभान्वित हुन सकिन्छ भन्ने चर्चा गरिनेछ ।


फ्रेडरिक नित्सेले भनेका थिए, व्यक्तिको पागलपन असामान्य हो तर समाज र देशको पागलपन नियम नै हो । नित्सेको भनाइ अक्षरश: लागू गर्दै पश्चिमा मनोविज्ञान विगत सय वर्ष केवल रोगी, मदौरुहरूको उपचारमा केन्द्रित रह्यो । ठूला विचारक र शोधकर्ताहरूले डिप्रेसन, तनाव, क्रोध, हिस्टेरिया, कुण्ठा, पागलपनजस्ता व्यक्तिगत विचलनहरूमाथि चिन्तन, मनन र अनुसन्धान गरे । उनीहरू यी विषयमा किन केन्द्रित भए भने रोगीको उपचार गरेपछि पैसा आउँथ्यो । पुँजीवादी समाजमा अर्थोपार्जनकै सबभन्दा ठूलो मूल्य हुन्थ्यो । भौतिक रूपले जीवन स्तर माथि उठाउनु र यश आराम गर्नु नै सबैको आकांक्षाको विषय हुन्थ्यो । समयक्रममा यो सोचमा केही परिवर्तन आयो । आर्थिक समृद्धि हासिल गर्नु र निरोग हुनु नै सम्पूर्ण जीवन होइन भन्ने चेतनाले केही मनोवैज्ञानिकलाई फरक रूपले सोच्न बाध्य बनायो । पहिलो पटक अमेरिकन साइकोलोजिकल एसोसिएसनका पूर्व अध्यक्ष मार्टिन सेलिगम्यानले व्यक्तिका सकारात्मक भावना र मनोविज्ञानलाई निकै लामो समय उपेक्षा गरिएको देखे । उनले भने, रोगमुक्त हुने ध्याउन्नमा हामी बढी नै एकोहोरो भएछौं, जीवनलाई बाँच्नलायक बनाउनका लागि सकारात्मक भावनाहरूको अध्ययन हुनुपर्छ, तिनलाई कसरी परिपोषित गर्ने भन्ने विधामा अध्ययन अनुसन्धान हुनुपर्छ ।


सेलिगम्यानलाई त्यसप्रकारको ज्ञानोदय बगैंचामा आफ्नी पाँच वर्षकी छोरीसँग टहलिइरहेको बेला भएको थियो । छोरीले अनेक हर्कत गरेर बाबाको ध्यान आफूतिर आकर्षित गर्ने प्रयत्न गरिरहेकी थिइन् । तर सेलिगम्यानले ‘चुप लाग’ भनेर उनलाई हकारे । छोरी उदास भइन् र भनिन्, ‘बाबा, म तीन, चार वर्षकी हुँदा कसरी रोएर, चिच्याएर दु:ख दिन्थें, तपाईं सम्झनुहुन्छ ? अचेल मैले त्यस्तो गर्न छोडिदिएँ । मैले पाँच वर्ष पुगेपछि त्यसो नगर्ने निर्णय गर्न सक्छु भने तपाईं पनि बडबडाउन छोडिदिन सक्नुहुन्छ ।’ छोरीको यो कुराले सेलिगम्यान झल्याँस्स भए, मानो निद्राबाट जागेजस्तो । मनमा खेल्ने विचार र भावनाका सकारात्मक पक्षलाई विकसित गर्नु नकारात्मक पक्ष सुधार्ने धन्दामा एकोहोरो लागिरहनुभन्दा अधिक महत्त्वपूर्ण हो । सेलिगम्यानले भनेका छन्, हामीले आफू र बालबालिकालाई मनका सकारात्मक विचार र भावनाहरूमा ध्यान दिनु अधिक महत्त्वपूर्ण हो, नराम्रा विचार, भावना र कमजोरीहरू कोटयाइरहनु उपयोगी होइन भन्ने सिकाउनुपर्छ ।


पश्चिमा विद्वान् र अनुसन्धाताहरूले सेलिगम्यानको सकारात्मक सोच मनोविज्ञानको क्षेत्रमा युगान्तकारी हो भन्ने पत्तो पाइहाले । त्यसपछि यस विषयमा विशद अध्ययन, चिन्तन, मनन र अनुसन्धान हुन थाल्यो । सकारात्मक मनोविज्ञान अहिले जल्दोबल्दो बनेर अगाडि आएको छ, संसारभरका विश्वविद्यालयहरूमा यसको अध्ययन, अध्यापन भइरहेको छ । यो मनोविज्ञानले कसरी व्यक्तिको जीवनमा खुसी, आनन्द र आल्हादलाई बढोत्तरी गर्न सकिन्छ भन्ने अध्ययन र अनुसन्धानहरू गर्छ । यसमा व्यक्तिका सामाजिक सम्बन्धहरूजस्तो पति–पत्नीबीचको प्रेम, परिवार, साथीभाइ र सामाजिक संघ संगठनहरूसँगको सौहार्द सम्बन्धले व्यक्तिको जीवनमा खुसी र आनन्द भर्ने गरेको विभिन्न अध्ययनमार्फत पुष्टि गरिएको छ । सकारात्मक मनोवेत्ताहरूले जीवनलाई अधिक गरिमामय, सुन्दर र आनन्दित बनाउन आपसी सम्बन्धहरूलाई कसिलो बनाउन र सबैप्रति प्रेम र सहयोगको भावना राख्न सुझाउँछन् ।


बौद्ध दर्शनमा शान्ति र आनन्दका लागि आपसी र सामाजिक सम्बन्धको सौहार्दता विकसित गर्ने अभ्यास धेरै पहिलेदेखि गरिँदै आएको छ । बौद्ध दर्शनको अभ्यास सतही नभएर भित्रैदेखि बुझिएको र अपनाइएको विषय हो । बुद्धले पहिलो, दोस्रो, तेस्रो र चौथो तहको ध्यानको अवस्थामा मनको अलत गहिराइमा चियाएर त्यहाँ वास्तवमा के छ भनी खोजी गरेका थिए । यसरी मनका तहतह केलाएर यसको स्वभाव पहिल्याउनु बुद्धको खोजीको महत्त्वपूर्ण पक्ष हो । यही खोजीका क्रममा दु:ख, दु:खको कारण, दु:ख मुक्तिका सम्भावना र उपाय बुद्धले फेला पारेका थिए ।


यो ज्ञानोदयपश्चात् करिब छब्बीस सय वर्षअघि बुद्धले भनेका थिए, प्रभास्वरमिदं चित्तं प्रकृत्यागन्तवो मला । तेषामपाये सर्वार्थं तज्ज्योतिरविनश्वरम् । यसको अर्थ

हो : मानिसको मन स्वभावैले उज्यालो, सकारात्मक, शान्त र आनन्दित हुन्छ । बाहिरी समाज, वातावरण र पुराना संस्कारका कारण मनमा लोभ, रिस र बेहोसी प्रवेश गर्छन् । बाहिरबाट पसेका दोषहरूलाई मनमा स्थान नदिने र मनका प्राकृतिक गुणहरूलाई परिपोषित गर्न ध्यान, मैत्री र करुणाको अभ्यास गर्ने हो भने अपार शान्ति र हरक्षण नवीन आनन्द स्वस्फूर्त रूपमा अनुभूति हुन्छन् ।


भनिन्छ, ज्ञानोदय भएपछि बुद्ध अपार आनन्दमा मग्न हुँदै पीपलको वृक्षमुनि बसिरहेका थिए । उनले ज्ञान पाएको खबर सबैतिर फैलियो । नजिकैको गाउँबाट गाउँलेहरू त्यहाँ आए र उनलाई सोधे, तपाईंलाई ज्ञान प्राप्त भयो भन्ने सुनिन्छ । खासमा तपाईंलाई के प्राप्त भएको हो ? बुद्धले भने, मलाई त्यस्तो केही प्राप्त भएको होइन । बरु मैले धेरै कुरा गुमाएँ । मनमा आएर बसेका राग, द्वेष, मोहजस्ता नकारात्मक गुणहरू बिलाएर गए । मैले प्राप्त गरेको शान्ति, मैत्री र करुणा त पहिल्यैदेखि, जन्मदैदेखि मेरो मनमा थिए । मैले यी गुणहरूलाई मनमा देखेँ । यी गुणहरूलाई अझ गाढा बनाउन म ध्यानमा डुब्छु, प्रेम र करुणाको अभ्यास गर्छु ।


बुद्धले यी गुणहरू आफ्नो मनमा मात्रै फेला पारेका होइनन् । ठीक यिनै गुणहरू उनले हरेक व्यक्तिमा, हरेक प्राणीमा समेत देख्न थाले । उनले भने, सत्त्वा बुद्धा एवकिन्तु आगन्तुक मलावृता: । तेषामपकर्षणात् सत्त्वा: बुद्धा एव नसंशय: । अर्थात् सबै मानिस र प्राणीहरू बुद्ध नै हुन् । तर बाहिरबाट आएका आगन्तुक दोषहरूले उनीहरूको बुद्ध स्वभाव छोपिएको छ । दोषहरूबाट मन हटाएर गुणहरूमा ध्यानस्थ हुने हो भने सबैले आफ्नो बुद्ध स्वभाव देख्न सक्छन् । सकारात्मक मनोविज्ञानको गहकिलो आधार योभन्दा प्रभावी अर्थोक फेला पार्न नसकिएला । तर पश्चिमा मनोवैज्ञानिकहरूले उक्त मनोविज्ञानको आधारको रूपमा बुद्ध दर्शनलाई एक रत्ती पनि ‘क्रेडिट’ दिएका छैनन् ।

बौद्ध दर्शन संसारभरिका विश्वविद्यालयमा आधिकारिक रूपमै पढाइन थालेको सय वर्ष नाघिसक्यो । अत: सकारात्मक मनोविज्ञानका प्रणेताहरूले बुद्धको दर्शन नपढेको वा थाहा नपाएको हुन सक्दैन । तर उनीहरूले कतै पनि यो मनोविज्ञानको आधार बुद्धको दर्शन हो भनेर उल्लेख नगर्नु रहस्यमय छ । यो अलग्गै खोज र अनुसन्धानको विषय हुन सक्छ । तर ध्यानको अभ्यासले कसरी मानिसमा सकारात्मक भावनाहरू विस्तार हुन्छन् भन्ने खोजहरू व्यापक रूपमा भइरहेका छन् ।


डा. रिचार्ड डेभिडसनले ध्यानको अभ्यास गरिरहेका भिक्षुहरूको मस्तिष्कको वैज्ञानिक प्रयोगशालामा अध्ययन गरेका थिए । उनले ध्यानस्थ हुँदा व्यक्तिको मनबाट भय र क्रोधजस्ता भावना शान्त हुँदै या हराउँदै गएको पाए । एक ठूला साधक ध्यानको अभ्यास गरिरहेका बेलाउनको मस्तिष्कका खुसी र सकारात्मक भावनाहरूसँग सम्बन्धित क्षेत्रमा व्यापक गतिविधि भइरहेको देखे । बौद्ध ध्यान पद्धतिमा मुख्य रूपमा आउने विपश्यना ध्यान र मैत्री एवं करुणा ध्यानले अभ्यासकर्तामा खुसी र आनन्दको विस्तार भएको वैज्ञानिक प्रयोगशालामा गरिएका सबै प्रयोगहरूमा देखियो । प्रयोगशालाहरूमा यी कुरा अहिले प्रमाणित भए तर बौद्ध ध्यान साधकहरूले शताब्दियौंदेखि मैत्री र करुणाको अभ्यासले जीवनमा सबभन्दा धेरै शान्ति र आनन्द दिन्छ भन्ने अनुभूति गर्दै आएका छन् । मैत्री र करुणाको अभ्यास गर्नुलाई बौद्ध दर्शनका अनुयायी र पारखीहरूले बोधीसत्त्व चर्या भन्छन् ।


सकारात्मक मनोविज्ञानका ज्ञाताहरूले व्यक्तिगत र पारिवारिक, सामाजिक सम्बन्धहरूमा सौहार्दता विकसित गर्न सके खुसी र आनन्द विस्तार हुन्छ त भने । यो कुरा सैद्धान्तिक रूपमा सही भए पनि व्यक्तिले व्यवहारमा उतार्न सकेको पाइँदैन । किनभने, वर्तमान समयमा पढ्न पाइने र सुझाव पाइने कुराहरू अनगिन्ती हुन्छन् । मानिसको मनको गहिराइसम्म ती सुझावहरू पुग्न सक्दैनन् । बुद्धले बाहिरबाट पाएको ज्ञानको सीमा देखेका थिए । उनले भनेका थिए, सुनेको ज्ञान अर्थात् श्रुतमयी प्रज्ञालाई चिन्तनमनन गरेर परिष्कार गर्नुपर्छ र ध्यानको अभ्यासमार्फत अनुभूति गर्नुपर्छ । यसप्रकार ज्ञान भावनामयी प्रज्ञा बन्छ जसले व्यक्तिलाई भित्रैदेखि रूपान्तरण गरिदिन्छ, भित्रैदेखि मैत्रीभावयुक्त र करुणावान् बनाइदिन्छ । जति करुणाको भावना विकसित हुन्छ उति आनन्दको अनुभूति हुन्छ । सकारात्मक मनोविज्ञानले बौद्ध दर्शनबाट धेरै कुरा ग्रहण गर्न बाँकी छ । बुद्धत्व र बोधीसत्त्वचर्यालाई सही रूपमा बुझ्न सके सकारात्मक मनोविज्ञान अधिक प्रभावी हुन सक्छ र यसबाट सबै लाभान्वित हुन सक्छन् ।

[email protected]

प्रकाशित : माघ ६, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?