१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पृथ्वीनारायणलाई चिनाउने केही पुस्तक 

पुस्तक
हिमेश

काठमाडौँ — पृथ्वीनारायण शाहबारे अझै लेखिनु बाँकी छ, उनीबारे अझै अनुसन्धान हुन बाँकी छ,’ इतिहासकार तुलसीराम बैद्यको भनाइ हो, यो । जसले पृथ्वीनारायण शाहबारे लामो अनुसन्धान गरे, उनकै यस्तो भनाइले प्रस्ट पार्छ, यस विषयमा खोजी अझै गर्न सकिन्छ र नयाँ तथ्यहरू बाहिर ल्याउन सक्छ ।

पृथ्वीनारायणलाई चिनाउने केही पुस्तक 

अहिलेको नयाँ परिस्थितिमा पृथ्वीनारायण शाहबारे फरक आयाम र दृष्टिकोणले ऐतिहासिक व्याख्या गर्ने अवसर पनि उत्तिकै छ ।

‘अबको नयाँ पुस्ताका इतिहासकार त्यसतर्फ लाग्नुपर्छ, किनभने अनुसन्धानको सम्भावना कहिले पनि समाप्त हुन्न,’ वैद्य मान्छन् । यसपछाडिको कारण, पृथ्वीनारायण शाहबारे विस्तृत अनुसन्धानपछि लेखिएका अब्बल दर्जाका इतिहासका पुस्तक धेरै छैनन्, जति छन्, ती औंलामा गन्न सकिने खालका छन् । त्यसमाथि उम्दा पुस्तकको अभाव नै छ ।

त्यसो भए, पृथ्वीनारायण शाहलाई राम्रोसँग बुझ्न प्रयास गर्ने हो, भने उनीबारे लेखिएका इतिहासका राम्रा कृति कुन–कुन हुन त ? अर्को साता पुस २७ । यो दिनलाई पृथ्वी जयन्तीका रूपमा मनाइन्छ । यसकै सेरोफेरोमा पृथ्वीनारायण शाहबारे लेखिएकामध्ये पाँच पुस्तकको सूची तयार पार्ने प्रयास गरिएको छ । इतिहासकार त्रिरत्न मानन्धरलगायतका लेखकहरूसँग कुराकानी गरी यो सूची तयार पारिएको हो ।


‘राइज अफ द हाउफ अफ गोर्खा’

लुडविक स्टिलर

पृथ्वीनारायण शाहबारे चर्चा गर्नुपर्दा धेरैले उल्लेख गर्ने पुस्तक हो, ‘राइज अफ द हाउस अफ गोर्खा’ । यसका लेखक लुडविग स्टिलर विदेशी हुन्, तर उनले नेपाललाई नै आफ्नो कर्मभूमिका रूपमा रोजे । त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधिका लागि उनले २०३७ सालमा यसै नामको थेसिस तयार पारेका थिए र पछि यसलाई पुस्तक आकार दिइएको हो । इतिहास विधामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिएको यो नै पहिलो अवसर थियो ।

यस पुस्तकमा लेखक स्टिलरले कसरी पृथ्वीनारायण शाहले एकीकरणको काम सुरु गरे भन्ने वर्णन गरेका छन् । र, यसपछाडि रहेको राजनीतिलाई ब्याख्या गर्ने प्रयास गरेका छन् । गोर्खा राज्यको विस्तार नेपाली इतिहासकै सबैभन्दा महत्त्वपूर्ण घटनाका रूपमा रहेको छ र यसैले

अहिलेसम्म पनि नेपालले तय गरेको बाटोलाई तय गरेको मानिन्छ । बाइसे र चौबीस राज्यसँगै काठमाडौं उपत्यकामाथि पृथ्वीनारायण शाहले कसरी जित हात पारेका हुन्, त्यसबारे स्टिलरले ब्याख्या गर्ने प्रयास गरेका छन् ।


‘पृथ्वीनारायण शाह द फाउन्डर अफ मोर्डन नेपाल’

तुलसीराम वैद्य

तुलसीराम वैद्य यसै पुस्तकका लेखक हुन् । उनले पनि विद्याविरिधिका लागि तयार पारेको आफ्नो थेसिसलाई पुस्तकको आकार दिएका हुन् । यसमा पनि लेखकले पृथ्वीनारायण शाहलाई नेपाली इतिहासकै सबैभन्दा महत्त्वपूर्ण पात्रका रूपमा चित्रण गर्ने प्रयास गरेका छन् । लेखककै शब्दमा पृथ्वीनारायण शाहले छरिएर रहेका सानासाना राज्यलाई जितेर गोर्खालाई ठूलो पार्ने प्रयासले नै अहिलेको आधुनिक नेपाल अस्तित्वमा आएको हो ।

यस पुस्तकको नयाँ संस्करण भर्खरै बजारमा आएको छ । यस पुस्तकको निचोड सबैभन्दा महत्त्वपूर्ण छ र यसैले पुस्तकको विशेष अर्थ राख्छ । लेखकले भनेका छन्, ‘पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार नगरेको भए, अहिलेको नेपाल रहने थिएन । उनकै कारण नेपाल राज्य बन्यो र यो अहिलेसम्म रहेको छ । पृथ्वीनारायण शाहले सुरुमा नेपाल राज्य बनाउँछु भनेर आफ्नो काम सुरु गरेका होइनन् । यो गोर्खा राज्यको विस्तार नै हो ।

गोर्खा राज्य विस्तारकै क्रममा पछि

नेपाल राज्य बन्न गयो । यसका लागि सबै श्रेय पृथ्वीनारायण शाहलाई ठूलो

श्रेय दिनुपर्छ । उनी आपंैmले नेपालको एकीकरण भनेका छैनन् । दिव्य उपदेशमा

पनि एकीकरण शब्द उल्लेख छैन । यो वास्तवमै गोर्खा राज्यको विस्तार हो, यही विस्तारकै क्रममा नसोचेको किसिमले पछि गएर नेपाल एकीकरण हुन गयो ।’ पुस्तकमा लेखकले पृथ्वीनारायण शाहको जीवनी, उनको विदेश र अन्य नीतिबारे विस्तारले व्याख्या गरेका छन् ।


‘पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’

बाबुराम आचार्य

बाबुराम आचार्यले पृथ्वीनारायण शाहको जीवनीबारे चार भागमा पुस्तक लेखेका छन् । यसमा पृथ्वीनारायणबारे विस्तृतमा ब्याख्या छ । निकै विस्तृत र चार भागमा लेखिएको हुनाले यसबाट पृथ्वीनारायण शाहबारे धेरै थाहा पाउन सकिन्छ ।

पृथ्वीनारायण शाहबारे आफूलाई चाहिँदो जानकारी लिन आचार्यकै ‘पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ निकै उपयोगी पुस्तक हो । नेपालीमा लेखिएका पुस्तकमध्ये धेरैले यसलाई राम्रो स्रोतका रूपमा लिने गरेका छन् ।


‘मोर्डन नेपाल भाग १’

डिल्लीरमण रेग्मी

पृथ्वीनारायण शाहबारे जानकारी लिने हो भने अंग्रेजीमा लेखिएको यो पुस्तक पनि उत्तिकै उपयोगी छ । यसमा पृथ्वीनारायण शाहले दिएका दिव्य उपदेशबारे लेखक डिल्लीरमण रेग्मीले व्याख्या गर्ने प्रयास गरेका छन् । पृथ्वीनारायण शाहबारे उल्लेख गर्दा उनीसँग जोडिएर आउने प्रसङ्ग दिव्य उपदेश नै हो । दिव्य उपदेशको माध्यमबाट पृथ्वीनारायण शाहले देश कसरी चलाउनुपर्छ भनेर सल्लाह दिएका छन् । पुस्तकमा पृथ्वीनारायण शाहको पालाको चिठ्ठीपत्र र वंशावलीको पनि उल्लेख छ ।


‘गोर्खा कनक्वेस्ट’

कुमार प्रधान

पृथ्वीनारायण शाहबारे फरक धारमा लेखिएको कृति हो, कुमार प्रधानको ‘गोर्खा कनक्वेस्ट’ । कोलकाता विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्रधानले दार्जिलिङ गभर्मेन्ट कलेजमा लामो समय इतिहास विभागको प्रमुखका रूपमा बिताए र यसक्रममा नेपालको इतिहासबारे धेरै लेखे । उनले नेपाली साहित्यको इतिहासबारे पनि लेखेका छन् । तर पृथ्वीनारायण शाहबारे फरक दृष्टिकोण दिएर अंग्रेजीमा तयार पारेको यसै पुस्ककका कारण उनी चर्चित रहे ।

अर्का चर्चित लेखक जोन ह्वेल्पटनले यस कृतिलाई नेपाली इतिहासकै कोसेढुंगा पुस्तकका रूपमा व्याख्या गरेका छन् र यसको कारण छ, नेपालमा पृथ्वीनारायण शाहलाई जसरी सर्वथा नायकका रूपमा प्रस्तुत गरिएको छ, त्यसविरुद्ध प्रधानले सीधै चुनौती पेस गरेका छन् । एक प्रकारले नेपालको राष्ट्रवादबारे जुन प्रकारको एउटा पुरानो सोच छ, त्यसविरुद्ध पनि यो चुनौती हो । अर्को शब्दमा पृथ्वीनारायण शाहबारे जुन धारणा बनेको छ, त्यसविपरीत व्याख्या गर्ने प्रयास छ, यस पुस्तकमा ।

पृथ्वीनारायण शाहको आलोचना गर्दा सबैभन्दा बढी उल्लेख हुने दुई तथ्य छन्, पहिलो कीर्तिपुरमाथि जित हात पारेयता त्यहाँका जनताको नाक काट्नु । अर्को जयन्त रानामाथि भएको अत्याचार । केही इतिहासकारले कीर्तिपुरका जनताको नाक काटिएको घटनालाई नै असत्य सावित गर्ने प्रयास गरे । तर पछिल्लो समय यसको सत्यतालाई धेरैले स्विकारेका छन् । यी सबै अर्थमा प्रधानले आफ्नो पुस्तकको माध्यमबाट पृथ्वीनारायण शाहबारे नयाँ बहस सुरु गर्ने प्रयास पनि गरे । र, यसैको मद्दतले पृथ्वीनारायण शाहबारे नवीनतम तथ्य बाहिर आउने सम्भावना छ ।

twitter : @himeshratna

प्रकाशित : पुस २२, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?