‘सोह्र साँझ’ र विचलित वर्तमान 

भूमिका
सुरेश ढकाल

काठमाडौँ — प्रेसबाट आएको आफ्नो पहिलो पुस्तकको पहिलो प्रति उनले मलाई सगर्व र सहृदयका साथ उपहार दिन चाहे । सल्लाहबमोजिम हामीले चाबहिल चोकमा भेट्यौं र नजिकैको चिया पसलमा पस्यौं । सोह्र साँझ : युद्धका असरबीच यात्रा मलाई दिँदै गर्दा उनको अनुहारमा एक सफल योद्धाको अनुहारमा देखिनेजस्तो तेज थियो ।

पुलकित हुँदै मैले पुस्तक हातमा लिएँ, प्रेमपूर्वक सुमसुम्याएँ । मैले उक्त पुस्तकमा उनको हस्ताक्षर लिने रहर गरें । उनले थोरै लजाउँदै, अप्ठयारो मान्दै सप्रेम केही शब्द लेखे र हस्ताक्षर गरे— गोविन्द वर्तमान ।
त्यसै साँझ सुरु गरेर मैलै भोलिपल्ट पुस्तक पढिसकेपछि म दुई कारणले आह्लादित भएको थिएँ । एक, विचारको तीव्रता, भावनाको आवेग र शब्दको प्रवाहको कुशल संयोजन थियो, सोह्र साँझ । दुई, सोह्र साँझको सम्पूर्ण यात्रा र यात्रा अनुभूतिसँग म भावनात्मक रूपले गाँसिएको थिएँ, जुन मेरा लागि अझै महत्त्वपूर्ण थियो ।
सन् २००२ कुरा हो । अर्थात्, आजभन्दा १५ वर्षअघि, अप्रिल महिनाको कुनै शनिबार बिहान चाबहिल गणेशस्थानको तरकारी बजारछेउको चिया पसलमा हामी थियौं । यही चिया पसलमा हाम्रो नियमित अखडा हुने गथ्र्याे, जुन भेटघाट, समाचार आदानप्रदान, विचारविमर्श, तर्कहरूको रस्साकस्सी, धारणा निर्माण आदिका लागि एउटा ‘भर्नाकुलर पब्लिक स्पेस’ जस्तै थियो । त्यस बिहान हामी तीन मात्र बाँकी थियौं अखडामा : खगेन्द्र सङ्ग्रौला, गोविन्द वर्तमान र म । बिहान छिप्पिइसकेको थियो । सायद हामी त्यस बिहानको अन्तिम चिया खाएर छुट्ने तरखरमा थियौं । कुनै खास विषयमा कुराकानी भइरहेको थिएन । कुरैकुरामा खगेन्द्र दाइले माओवादी आन्दोलनको उद्गमस्थल रोल्पा–रुकुमतिर जान पाए नि हुन्थ्यो भन्ने मनसाय व्यक्त गर्नुभयो ।
संयोगले माओवादी र सरकारबीचको सशस्त्र द्वन्द्वले पारेको आर्थिक, सामाजिक, सांस्कृतिक असरबारे स्थलगत अध्ययनको जिम्मा मैले लिँदै थिएँ । द्वन्द्वग्रस्त क्षेत्रको भ्रमण गर्ने हुटहुटी ममा पनि थियो र मलाई नै खोज्दै आएझैं मेरै दैलोमा आइपुगेको त्यो काम सुखद संयोग थियो । उक्त अध्ययन गैरसरकारी संस्था महासङ्घको कुनै एक परियोजनाअन्तर्गत हुँदै थियो । त्यस परियोजनाका प्रमुख भूपदास राजभण्डारी थिए । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र मानवशास्त्र विषयको पहिलो छिमलका विद्यार्थी भूपदासजीमार्फत मैले त्यस अध्ययनको जिम्मेवारी पाएको थिएँ ।
खगेन्द्र दाइले व्यक्त गर्नुभएको रहरमा उकेरा लगाउँदै मैले भने, ‘म त जाँदै छु, दाइ । त्यस्तै एउटा अवसर मिलेको छ ।’
‘लौ न यार, सुरेशजी, मिल्छ भने सँगै जाने मेसो मिलाउनुस् न,’ खगेन्द्र दाइले भन्नुभयो ।
‘हुन्छ दाइ, म सम्भावना के छ हेर्छु र प्रयत्न गर्छु नि ।’
गोविन्द वर्तमानले पनि त्यस्तो यात्रा गर्ने रहर पोखे, ‘मिल्छ भने म पनि जान्थें । ल मिलाऊ न, सुरेश ।’
गोविन्द वर्तमान यात्रा भनेपछि हुरुक्कै हुन्थे । तसर्थ उनको अनुरोध अपेक्षित नै थियो ।
तीनै जना सँगै यात्रामा जान सके त कत्ति मज्जा हुँदो हो ! अनुमान गर्दा मात्रै पनि रमाइलो अनुभूति भयो । अनि मैले त्यसैअनुरूप अध्ययनको खाका तयार पारें । यात्रामा अनुसन्धान सहयोगी चाहिने र मैले खगेन्द्र सङ्ग्रौलालाई लैजान चाहेको कुरा भूपदासजीलाई भनँे । उहाँ साथमा हुँदा अध्ययनका क्रममा विशेषत: माओवादीहरूसँग सम्पर्क पहिल्याउन सहज हुने तर्क अघि सारें । भूपदासजी सहमत भए । अब गोविन्द वर्तमानलाई संलग्न गराउने वैधानिक उपाय खोज्नु थियो । एउटा जुक्ति निकालें— उनलाई केही सरकारी सूचना र जानकारी सङ्कलनका लागि अनुसन्धान सहयोगीकै रूपमा लैजाने । त्यसका लागि तर्क पर्याप्त छँदै थियो, उनी स्थापित पत्रकार पनि थिए र सूचना सङ्कलनका काममा पत्रकार उपयुक्त हुन सक्थ्यो । ती सब प्रक्रियागत र प्राविधिक कुरा थिए । मैले उक्त कामको जिम्मेवारी लिइसकेका कारण मेरो निर्णयमा भूपदासजीको सदाशय, सहमति र विश्वास हुन्थ्यो नै । हाल संयुक्त राज्य अमेरिकाका लागि राजदूत अर्जुन कार्की गैरसरकारी महासङ्घका तत्कालीन अध्यक्ष थिए । उनलाई भने केही संशय थियो मेरो निर्णयप्रति र उनलाई व्यक्तिगत तहमा नै मैले केही कुरा आश्वस्त पार्नुपरेको थियो तर त्यो गाह्रो काम थिएन । यसरी विभिन्न माध्यमबाट काठमाडौंसम्म आइपुग्ने माओवादी युद्धका मिथकजस्ता लाग्ने कथा र तिनका पात्रहरूसँग साक्षात्कार गर्ने, खासमा द्वन्द्वले बिथोलिएको जीवनलाई जति सकिन्छ नजिकबाट नियाल्ने, स्पर्श गर्ने सुखद अवसर मिलेको थियो ।
स्थलगत अध्ययनका लागि द्वन्द्वका प्रभावका आधारमा तत्कालीन पाँच विकास क्षेत्रको पाँच प्रतिनिधि जिल्ला छनोट गरिएको थियो र पहिलो खेपमा पश्चिमका कैलाली, रोल्पा र बागलुङ जिल्लाको भ्रमण गर्ने विचार हामीले बनाएका थियौं ।
यात्रा सुरु गर्नुभन्दा दुईतीन दिनअघि मात्र तत्कालीन मूल्याङ्कन मासिकको कार्यालयमा सरकार–माओवादी टोलीका नेता बाबुराम भट्टराईसँगको एक अन्तक्र्रियामा हामी तीनै भाइ थियौं । त्यस कार्यक्रममा भट्टराईले भनेका थिए, ‘माओवादी साँच्चै नै वार्ताका माध्यमबाट समाधान खोज्न इमानदारीका साथ आएको छ तर कथम्कदाचित् फेरि जगङ्ल जानुपर्‍यो भने हामी तपार्इंहरूलाई समेत लिएर जान्छौं ।’
उनको यो ‘कथम्कदाचित्’ माओवादी वार्तामा टिकिरहन्छ भन्ने कुरामा आशङ्का गर्न पर्याप्त थियो ।
वार्ता लामो समय नचल्ने र जहिले पनि टुङ्गिन सक्छ भन्ने संशय भएपछि अध्ययन रोल्पाबाट नै सुरु गर्ने निधो गर्‍यौं । र, २ मे २००२ का दिन हामीले यात्रा सुरु गर्‍यौं र त्यसको १६ दिनपछि अर्थात् मे १८ का दिन हामी पोखरा हुँदै काठमाडौं फर्कियौं, केही थकान, केही पीडा, केही अनपेक्षित अनुभवहरू लिएर । त्यसबीचका बाँकी कुरा वर्तमानले लेखेकै छन् विस्तारमा ।
रोल्पाको लिबाङ पुग्नेबित्तिकै हामी भेटघाट र कुराकानीमा व्यस्त भइहाल्यौं । हामी सबैले आआफ्नो ढङ्गबाट गरेका कुराकानी र अवलोकनका दृश्य टिपोट गथ्र्यौं । यो टिपोट कार्यमा वर्तमान विशिष्ट देखापरे । उनी कुनै दस्तावेज उतारेझैं एकचित्त लगाएर टिपोट गर्थे । जब उनी यात्राका लागि तयार हुन्थे प्रत्येक दिन एउटा पातलो कापी ठाडो दोबारेर पाइन्टपछाडिको गोजीमा घुसार्थे, कुनै अल्छी र अल्लारे कलेज ठिटोले जसरी तर उनी जब सुन्न बस्थे, मान्छेहरूका दु:ख वृत्तान्त, कुनै भक्तले एक टकले कुशल वाचकलाई सुनेझैं अविचल हुन्थे । अनि चकित हुन्थे, विष्मयमा पर्थे अनि धेरैजसो आक्रोशित बन्थे । सहन गाह्रो पर्ने, झन्डै दन्त्यकथाजस्तो लाग्ने घटना र पीडागाथा सुनिसकेपछि उनी नराम्ररी रन्थनिन्थे । बिथोलिन्थे । हामीलाई सुनाइने कथा विनाशका हुन्थे, वियोगका हुन्थे, विवेकहीन अत्याचारका हुन्थे, परिवार र नातागोताबीचको विग्रहका हुन्थे । उनी तिनमा यस्तरी चुर्लुम्म डुब्थे कि उनी कैयौं समयसम्म पनि उत्रिन सक्दैनथे । लाग्छ, वर्तमानको आफ्नै राजनीतिक पृष्ठभूमि र सामाजिकीकरण, बुझाइ, कम्युनिस्ट, आस्था र मान्यताले उनलाई यसरी बिथोलिन थप प्रभावित गर्थे ।
प्रत्येक साँझ हामीले दिनभर साक्षात्कार गरेका घटना र अवलोकनबारे छलफल गथ्र्यौं र एउटै निर्णयमा पुग्थ्यौं— कुनै सुन्दर लक्ष्यको प्राप्ति कुरूप उपाय र माध्यमबाट हुन सक्दैन । हामीलाई लाग्थ्यो— एउटा भयकङ्र अत्याचारी शासकको राजमा मात्र अनुमान गर्न सकिने खालका अमानवीय, क्रूर दमनकारी शासन, जुन हामीले भोगिरहेका थियौं, त्यसको निरन्तरता कुनै हालतमा पनि सम्भव छैन । हामीलाई यो पनि लाग्थ्यो— माओवादीहरूले जुन प्रयोग गरिरहेका थिए, त्यसले राजनीतिक रूपमा केही उपलब्धि दिलाउन त सक्ला तर त्यसले ती उपलब्धिलाई थेग्ने सामाजिक संरचना र सांस्कृतिक संस्कार भने भत्काउनेछ । अनि काठमाडौंका चिया पसलहरूको चर्चा र बाबुरामजीहरूका लेखमा भेटिने कुनै सुदूरमा देखिएका सम्भावना र आशाहरू पनि शिथिल हुन्थे । आजको असगङ्त राजनीति, स्वाभाविक रूपमा घटित माओवादीहरूको अस्वाभाविक विघटन, सपनाहरूको अवसान, सम्भावनाहरूको असामयिक अन्त्य आदिले त्यतिखेरका हाम्रा मूल्याङ्कनहरूलाई सही ठहर्‍याएका छन् ।
युद्धका त्रासदीबाट बाँचेकाहरूकै घरआँगनमा उनीहरूको कहालीलाग्दो वृत्तान्त अहिले सम्झिँदा आजकै स्थितिमा आउनु थियो त त्यत्रो मूल्य चुकाउनुपर्ने थियो र भन्ने एउटा सहज प्रश्न मनमा उठ्ने गर्छ । सायद यस्ता प्रश्नले कुनै उत्तरको भने खोजी गर्दैनन् । किनकि यस्ता प्रश्नहरूको सही जवाफ छैनन् र हुनेछैनन् । तर पनि प्रश्नहरू जीवित नै रहनेछन् कालान्तरसम्म, कुनै दिन जवाफ मिल्ने मृगतृष्णामा ।
त्यो युद्धविरामको समय थियो । मानिसहरूले आतङ्क र बारुदका गन्धबिनाको हावामा सास फेर्न सक्ने समय पाएका थिए तर टाउकोमाथि मडारिइरहेको त्रासको भुमरीबाट भने उनीहरू मुक्त हुन सकेका थिएनन् भन्ने प्रस्टै महसुस गर्न सकिन्थ्यो । विदित नै छ युद्धविरामपछिका थप चार वर्ष अझै कहालीलाग्दा थिए ।
हाम्रा प्रत्येक साक्षात्कार एउटा आतङ्कित जीवन र अन्योलपूर्ण समय बाँचिरहेका मान्छेका आत्मवृत्तान्त थिए । तिनले हाम्रा मनमा आशाभन्दा बढी निराशा, युद्धका सुखद परिणामभन्दा त्रासदी, सपनाहरूप्रतिको आसक्तिभन्दा मोहभङ्ग मात्र भएको थियो । यात्राका जति दिन थपिँदै जान्थे लाग्थ्यो, हामी द्वन्द्वका थप कुरूप पक्षहरूसँग साक्षात्कार गर्दै छौं ।
कुनै पनि यात्राको सुखद पक्ष भनेको यात्रामा सबै सँगै पनि हुन्छन् र अनुभूतिको तहमा नितान्त एक्लो पनि हुन्छन् । हाम्रो यात्रा पनि संयुक्त थियो, भोगाइ साझा थियो तर अनुभव, अनुभूति र संवेदनाको तह सायद फरक थियो । तसर्थ वर्तमानले ती यात्रा र भोगाइलाई निजत्व दिए, जुन प्रशंसनीय थियो । हो, सहयात्री भएका कारण केही कुरा नलेखिदिएको भए हुन्थ्यो वा केही अझै छुटेको र तिनलाई नछुटाएको भए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो तर लेखनमा इमानदारी कतै बिराएनन् । बताइएका, देखे–सुनेका घटना वृत्तान्त, तिनका पात्रहरूप्रतिको संवेदनशीलता र निष्पक्ष अभिलेखन एवम् प्रस्तुति लेखकका विशेषता हुन् । लोकप्रिय हुन सनसनीपूर्ण खोजलेखन वा उत्तेजनात्मक लेखनका विरोधी थिए वर्तमान । उनले सोह्र साँझमा त्यसलाई प्रमाणित गरेका छन् ।
नेपाली यात्रा साहित्यमा सोह्र साँझको विशिष्टताबारे समीक्षा होला नै तर तात्कालिक द्वन्द्वग्रस्त समयको वास्तविकता यसमा पढ्न र महसुस गर्न सकिन्छ । तसर्थ यो तत्कालीन समयको भुइँ तहका यथार्थहरूको अभिलेखन हो, इतिहास पनि हो । सरकार–माओवादी द्वन्द्वका थुप्रै असहज पाटा उजागर भएका छन् यसमा । यो केवल द्वन्द्वका घटनाहरूको सपाट विवरण मात्र होइन, अनुभवजन्य विश्लेषण पनि हो, जहाँ उनको कलाचेत र वैचारिक पक्ष प्रकट भएका छन् ।
‘सोह्र साँझ’ को पठनले कस्तो अर्थ राख्न सक्छ अहिलेको समयमा ? राजनीतिक रूपले उथलपुथल भोगेको डेढ दशकपछि माओवादीहरू विघटनको खास चरणमा आइपुगेका छन्, के सोह्र साँझको पठनले अहिलेको यी रूपान्तरणहरू सङ्केत गरेको छ ? सायद सोह्र साँझको पठनले नेपाली राजनीतिलाई प्रभावित गर्न त सक्दैन तर अहिलेको परिवर्तित सन्दर्भमा, विशेषत: माओवादीहरूको रूपान्तरणको परिप्रेक्ष्यमा, सोह्र साँझको पठनले अर्थ र महफ्व राख्छ । यद्यपि यसरी सन्दर्भित गरेर पढ्दा यसले पाठकलाई सायद थोरै चैन र धेरै निरास बनाउन पनि सक्ला ।
गैरजिम्मेवार ढङ्गबाट बिनाकसुर हजारौं मानिस मारिए । अहिले पनि कैयौं मानिस बेपत्ता छन् । परिवारजन र आफन्तहरूका आँखामा आँसु सुकिसकेको छैन । माओवादीहरूलाई दबाउने नाममा जघन्य युद्ध अपराधजस्ता लाग्ने दमनका त्यस्ता शृखङ्लाका लागि कोही जिम्मेवार बन्नुपरेन । व्यवस्था परिवर्तन भयो, शासनको स्वरूप फेरियो तर तात्कालिक शासकहरू पानीमाथिको ओभानो नै रहे । प्रामाणिक मानवअधिकार उल्लङ्घनका जघन्य अपराध कर्ममा संलग्न भएबापत कोही दण्डित हुनुपरेन ।
त्यसो त माओवादी ज्यादती कम त्रासदीपूर्ण थिएन । राज्य विप्लवका आवरणमा कैयौं अपराधकर्म लुकेको कुरा आज अनावरण भइसकेको छ । अर्कोतिर, माओवादी बनेकै कारण यातना खेप्न बाध्य हुनुपरेका, परिवारका सदस्य गुमाउनुपरेकाहरूको पीडा कम गराउन पनि सत्तासीनसमेत बनिसकेको माओवादी नेतृत्व जिम्मेवार बन्न नसकेका गुनासा उनीहरूबाट नै आइरहेका छन् । माओवादी नेतृत्व जसको आह्वानमा कैयौंले ज्यान आहूति दिएका थिए, आज आफैंले भन्ने गरेको जनयुद्धको इतिहासप्रति मानौं क्रूर मजाक गरिरहेका छन् । समयले गरेको यो कस्तो ठट्टा हो ? परिणामत: मुलुकमा भयकङ्र डरलाग्दो र दूरगामी असर पर्ने दण्डहीनताको कुरूप संस्कृति विकास हुन पुगेको छ । माओवादी–सरकारबीच शान्ति सम्झौतापछिका यी वर्षले न त्यस्तो भयावह युद्धको अनिवार्यलाई स्थापित गर्न सकेका छन् न त्यसका उपलब्धिहरूलाई संस्थागत गरेर मान्छेहरूका घाउमा थोरै मात्र पनि मल्हम लगाउन सकेका छन् । केही वस्तुगत र धेरै सङ्कथनहरूमा उपलब्धिका भ्रम छन् । यो अवस्थामा फेरि पनि प्रश्न, यस्तो बिप्ल्याँटो समयमा ‘सोह्र साँझ’ को पठनको अर्थ के हुन सक्छ ? युद्ध सकिएको छ । एक दशकपछि पनि यसका असरहरूबारे समग्र लेखाजोखा हुन सकेको छैन । दीर्घकालीन असरको अनुभव लामो समयको पर्खाइमा मात्र सम्भव हुन्छ । अनुमान गर्नु एउटा कुरा हो तर अहिले नै आँकलन गर्नु हतारो हुन पनि सक्छ । तसर्थ सोह्र साँझको पठन आफैंमा एउटा निरन्तर प्रक्रिया पनि हो । प्रत्येक राजनीतिक विघटनसँग ‘सोह्र साँझ’ का पाठहरूको नयाँनयाँ अर्थ पनि उद्घाटित हुँदै जानेछन् ।
एउटा व्यक्तिगत प्रसङ्ग उल्लेख गरौं । व्यावसायिक जिम्मेवारीका सिलसिलामा म पछि पनि ती गाउँबस्ती र तिनै ठाउँ पुगेको छु, जहाँ हामी ‘सोह्र साँझ’ का यात्राका क्रममा पुगेका थियौं । प्रत्येक पटक म ती ठाउँनजिक पुग्दा वा ती ठाउँबाट ओहोरदोहोर गर्दा मलाई डर लाग्छ, कतै तिनै बाँचेका पीडितहरू भेटिएलान् कि, चिन्लान् कि र कतै सोधी पो हाल्छन् कि— ‘हामीले अब न्याय नपाउने नै भयौं त ?’
‘बिनादोष बेपत्ता परिएका हाम्रा आफन्तहरूको खोजी बेकार भएकै हो ?’
‘राजनीतिक विचार बोकेकै भरमा सैनिक ब्यारेकभित्र मारिएकाहरू वा विद्रोही पक्षको राजनीतिक बोधोपनका सिकार भएकाहरूको रगतको अर्थ बाँकी रहेन अब ?’
‘दोहोरो मारमा परेर पनि ज्यान जोखिममाराखेर परिवर्तनको आकाङ्क्षा र आससँगै त्यतिबेला माओवादी विद्रोहीहरूलाई गरेको सहयोग खोटो भइसकेको हो ?’
हो, यस्ता प्रश्नहरूको सामना गर्नुपर्ला भनेर मलाई धेरै डर लाग्छ । यस्तो डर म कुनै जवाफ दिनुपर्ने वा जिम्मेवारी लिनुपर्ने निकायमा भएका कारणले होइन, मलाई डर उनीहरूको आँसुको लाग्ने गर्छ । यद्यपि, यी करुणाका कुरा मात्र होइनन्, नैतिकताका प्रश्न हुन् । म भाग्यमा विश्वास गर्दिनँ तर किन हो उनीहरू यस मुलुकका सर्वाधिक अभागी नागरिक हुन्झैं लाग्छ । म धेरैपटक अलमलमा परेको छु, यो युद्धले कसलाई जितायो र कसलाई हरायो ? कसलाई मुक्त गरायो र कसलाई दास बनायो ? कुन इतिहास मेटायो र कस्तो इतिहास निर्माण गर्‍यो ? यो युद्ध कसको पक्षमा थियो र यस युद्धले कसलाई विपक्षमा पुर्‍यायो ? यो युद्धमा कुन आकर्षण थियो र किन अलगाव पैदा गर्दै छ यो युद्धको परिणामले ? शान्तिपूर्ण रूपान्तरणको सङ्कथन र वर्तमानको राजनीतिक यथार्थ किन बेग्लैबेग्लै लाग्दै छ ? गरिब, भूमिहीन, महिला र सीमान्तकृतहरू शक्तिविहीन छैनन् भनेर प्रमाणित गर्न सफल त्यस समय र आजको यथार्थ किन मेल खाइरहेको छैन ? कसले अपहरण गर्‍यो त्यो प्रतिरोधी चेतना ? कुन इतिहासको परिणाम थियो यो वर्तमान ?
सोह्रौं दिनको यात्रान्तमा वर्तमानलाई लागेको थियो—‘युद्ध, मारकाट, सामाजिक खण्डीकरण, आतङ्क, यातना, अन्योल, आशङ्का, घना अँध्यारोको आभासले हाम्रो मस्तिष्कलाई अप्रत्यक्ष रूपमा आघात गरिरहेको छ... हामीले एकअर्काप्रति अलगाव अनुभव गरिरहेका थियौं । हामीलाई अलगावको यो सीमासम्म पुर्‍याएको युद्ध र त्यसका कुरूप परिणामहरूले नै हो । त्यसैले युद्धलाई कुरुप र कलाहीन अनुहारमा जन्म दिनु क्रान्तिकारी कार्य होइन भन्ने विचार मलाई भित्रैदेखि सही लागिरहेको थियो ।’
उनको यो अनूभूतिजन्य निष्कर्ष आज यत्तिका वर्षपछि पनि हामीलाई किन उत्तिकै सही लाग्दै छ ?
यहीँनिर सोह्र साँझको पठनको अर्थ खुट्याउने जिम्मा पाठकमा नै छोडेर म पूर्वकथाको बाँकी अंशतर्फ लाग्छु ।
सुरुमा नै भनें, भ्रमणको मूल उद्देश्य सरकार–माओवादी युद्धका कारण चुकाउनुपरेको भोक्ताको अनुभव र यथार्थमा आधारित आर्थिक, सामाजिक र सांस्कृतिक मूल्यको आँकलन गर्ने, तिनका असरप्रभावहरूको लेखाजोखा गरेर रिपोर्ट प्रकाशन गर्ने थियो । त्यो प्रकाशन पनि भयो, ‘हुज वार : इकोनोमिक एन्ड सोसियो कल्चरल इम्प्याक्ट्स अफ नेपाल्स माओइस्ट गभर्नमेन्ट कन्फ्लिक्ट’ शीर्षकको पुस्तकका रूपमा । यसका पनि केही अन्तर्कथा छन्, जाँगर चल्दा लेख्न मिल्ने खालका । तर यता यो यात्रा तय भइसकेपछि हामीले केही अलिखित सहमति गरेका थियौं— यो हामी तीनै जनाका लागि अवस्मरणीय र अतुलनीय यात्रा हुने पूर्वानुमान गर्दै सबैले केही न केही लेख्ने, कम्तीमा पनि एउटा संयुक्त लेखनमा र बाँकी एकल लेखनमा केही न केही प्रकाशन गर्ने । यसो गर्दा मात्र यो जुरेको संयोगको सही उपयोग हुन सक्थ्यो । हामीले यस्तो सहमति गरिरहँदा उत्साह र आशा दुवै पर्याप्त थिए तर परिणाम सोचेजस्तो हुन सकेन । गोविन्द वर्तमानले मात्र आंशिक रूपमा भए पनि त्यो पूरा गरेका थिए । उनको त्यही लगावले नेपाली पाठकका लागि एउटा गतिलो द्वन्द्वग्रस्त समयको समकालीन इतिहास उपलब्ध गराएको छ ।
र अन्त्यमा,फाइनप्रिन्टका नीरज भारी र अजित बरालले ‘सोह्र साँझ’ को तेस्रो संस्करण निस्कन लागेको र त्यसका लागि केही सन्दर्भ शब्दहरू लेख्न अनुरोध गरेपछि यिनै हरफ लेखिरहने क्रममा गोविन्द वर्तमान पुन: एकपटक स्मृतिमा आए । ‘सोह्र साँझ’ फेरि र्‍याकबाट निकालें, एकपटक उस्तै स्नेहका साथ सुमसुम्याएँ । केही पन्ना पल्टाएँ । उनीसँगका ती यात्राका दिन सिनेमाका रिल घुमेझैं झलझली आँखासामु ताजा भएर आए । जब म बजारमा नाफाका लागि निर्माण भएका वस्तुझैं साहित्यको विनिमय भएको देख्छु म उनको सम्झना अझै सान्दर्भिक र अर्थपूर्ण ठान्छु । केही कुण्ठा, केही आग्रह र केही व्यक्तिगत कमजोरीका बाबजुद वर्तमान नेपाली साहित्यका लागि एक अनिवार्य तत्त्वजस्ता लाग्थे । लेखनमा शैलीगत कुशलता र वैचारिक प्रतिबद्धताका साथै जीवनमा इमानदारी एवम् स्वाभिमानँग सम्झौता नगरेका उनी व्यक्तिगत तहमा पनि एक साहित्यकारका रूपमा सोह्र साँझसँगै नेपाली साहित्याकाशमा पछिसम्म सम्झनलायक व्यक्ति हुन् । उनका अन्य समीक्षा, निबन्ध र कविताकृति पनि उत्तिकै शक्तिशाली छन्, उनको लेखनको शक्तिप्रतिको विश्वासजस्तै ।
वर्तमान आफूले भेटेका ती संयोगले बाँचेकाहरूको सम्झनाबाट धेरै टाढा नजाँदै उनीहरू र हामीबाट टाढा भए । उनको निधन असामयिक र दु:खद थियो । उनको निधनसँगै उनैले भन्ने गरेझैं उनको आक्रोशको पनि अन्त्य भयो । उनी दण्डहीनताको अवस्था, पीडितहरूले न्याय पाउन नसकेको स्थिति र माओवादीहरूमा क्रमश: आइरहेको वैचारिक एवम् राजनीतिक विचलनप्रति आक्रोशित थिए । आक्रोशको कारण तिनै पीडितहरूले न्याय अनुभूत गर्न नपाउनु थियो, जसको दु:ख उनले नजिकबाट देखेका थिए । पीडा महसुस गरेका थिए । र, सोह्र साँझ लेखेका थिए । मेरा लागि भने यो एउटा थप कारण पनि हो, ‘सोह्र साँझ’ को पुन: पठन ।
प्रत्येक पठनपछि ममा एउटा विश्वास झनै प्रबल बनेर आउँछ : एउटा अशान्त जीवन बाँचेर, असङ्त समयमा असामयिक मृत्युवरण गरेका एक शक्तिशाली कवि र निबन्धकार वर्तमानलाई नेपाली पाठकले ‘सोह्र साँझ’ कै कारण कालान्तरसम्म सम्झिनेछन् ।
(‘सोह्र साँझ’ को तेस्रो संस्करणबाट)

प्रकाशित : पुस १५, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जयस्थिति मल्लको वंश

इतिहास
जयस्थिति मल्ललाई दक्षिण मधेसबाट उपत्यका ल्याइ राजलदेवीसित विवाह गराइएको थियो । यसैको आधारमा उनी तत्कालीन नेपालको शासन व्यवस्थामा क्रमश: स्थापित हुन पुगेका थिए ।
वासुदेवलाल दास

काठमाडौँ — नेपालको मध्यकालीन इतिहासमा राजा जयस्थिति मल्ल (सन् १३५४–१३९४ ई) को ठूलो महत्त्व छ । तत्कालीन समयमा अव्यवस्थित देशको राजनीतिक, सामाजिक, आर्थिक इत्यादि क्षेत्रहरूमा समसामयिक अनेक सुधारहरू गरी एक प्रकारको व्यवस्थित शासन प्रणाली तथा सामाजिक रीति–व्यवहारको स्थापना यिनले गरेका थिए । परन्तु, यस्ता प्रख्यात राजाको वंश र परिवारबारे अहिलेसम्म निश्चित रूपमा भन्न सकिने अवस्था छैन ।

यी राजाको नामका अनेक पाठहरू, जस्तै स्थिति मल्ल, स्थिति मल्लदेव, स्थितिराज मल्ल, जयस्थिति मल्ल, जयस्थितिराज मल्लदेव, जयस्थितिराज मल्लदेव ठाकुर इत्यादि देखिन्छन् । नेपालको इतिहासको अध्ययनका लागि अति नै महत्त्वपूर्ण स्रोतको रूपमा रहेको ग्रन्थ ‘गोपालराजवंशावली’ यिनकै पालामा तयार पारिएको भनिन्छ । ‘गोपालराजवंशावली’ ग्रन्थको पत्र २८–२९ मा ‘तदन्तरे श्रीदेवलदेवीना स्मानीयात....श्रीजयस्थितिराजमल्लदेव विजयी भवे, तस्य विवाहं कृतम् श्रीराजलदेवीनां स्वामी भवान्’ अर्थात् ‘यसपछि श्रीदेवलदेवीद्वारा ल्याइएका... श्रीजयस्थिति मल्लदेव विजयी हुनुभयो । उहाँको श्रीराजलदेवीसँग विवाह भयो’ भनेर उल्लेख गरिएको छ । यसैगरी, त्यसै ग्रन्थको पत्र ५३ मा ‘स ४७४ अश्विनी शुद्धि ९ श्रीजयस्थितिराजमलदेवस कोवनम्बिज्याङा ख्वपोन्दुबिया त्यंखो चोन ङाला लिव विवाह जुव’ अर्थात् ‘नेसं ४७४ (विसं १४११, सन् १३५४ ई) आश्विन शुक्ल नवमीका दिन श्रीजयस्थितिराज मल्लदेव कोवनं (दक्षिण मधेस) बाट आउनुभई भक्तपुर पसी त्यंखोमा बस्नुभयो । पाँच महिनापछि विवाह भयो’ भनी लेखिएको छ ।
यस सन्दर्भमा जयस्थिति मल्ललाई भक्तपुरमा ल्याउनमा प्रमुख भूमिका निर्वाह गरेकी देवलदेवीबारे चर्चा गर्नु मनासिब हुन्छ । देवलदेवी (देवलक्ष्मीदेवी) भक्तपुरका राजा जयतुंग मल्लकी कन्या थिइन् र उनको विवाह मिथिलाका कर्णाटवंशीय अन्तिम शासक हरिसिंहदेवसित भएको थियो । दिल्लीका बादशाह गियासुद्दिन तुगलकले मिथिलाको राजधानी सिमरौनगढमाथि आक्रमण गर्दा राजा हरिसिंहदेव आफ्ना परिवारजनका साथ सन् १३२६ ई, जनवरीमा उपत्यकातिर पलायन भएका थिए । हरिसिंहदेवको बाटोमै निधन भएको थियो तथा देवलदेवीलाई उनका छोरा राजकुमार जगतसिंहदेव तथा अन्य परिजनका साथ भक्तपुरको युथुनिमम् दरबारमा आदरसाथ स्वागत गरिएको थियो । त्यसपछिको समयमा भक्तपुरको राजनीतिक मञ्चमा देवलदेवीको प्रभावशाली भूमिका रहेको पाइन्छ । यिनको नामका साथ ‘विजयराज्ये, राजाधिराज परमेश्वर परमभट्टारक’ जस्ता विरुदहरूको उल्लेख गरिएको छ । देवलदेवीको मृत्यु सन् १३६६ ईमा भएको थियो । यसप्रकार लगभग ४० वर्षसम्म भक्तपुरको शासन व्यवस्थामा देवलदेवीको प्रभुत्वपूर्ण भूमिका रहेको थाहा हुन्छ ।
जयस्थिति मल्ल नेपालको शासन व्यवस्थामा राजलदेवीका पति भएकाले स्थापित हुनपुगेका हुन् । अब राजलदेवीको विषयमा केही चर्चा आवश्यक छ । भक्तपुरका शासक जयरुद्र मल्लको देहान्त हुँदा उनकी एक मात्र सन्तान छोरी नायकदेवी राज्यको उत्तराधिकारी थिइन् । नायकदेवीको पालन–पोषणमा दरबारमा प्रभावशाली रहेकी देवलदेवीको सहयोग थियो । ‘गोपालराजवंशावली’ ग्रन्थको पत्र २७ मा ‘अत्रान्तरे काशेस्वरवस्संज श्रीहरिचन्ददेवस मानवेन: विवाहंकरोति श्रीनायकदेवी’ अर्थात् ‘यसपछि काशीका राजाको वंशमा जन्मेका, मानवगोत्रका श्रीहरिचन्ददेवसँग श्रीनायकदेवीको विवाह भयो’ भनेर उल्लेख गरिएको छ । नायकदेवीसित विवाहित भएको आधारमा हरिचन्ददेवको भूमिका शासन व्यवस्थामा बढ्न थाल्दा दरबारको तत्कालीन षड्यन्त्रपूर्ण राजनीतिक वातावरणले गर्दा सम्वत् ४५३ (विसं १३९२, सन् १३३५ ई) वैशाख कृष्णपक्ष तृतीया तिथिका दिन विष–प्रयोगद्वारा उनको हत्या भएको थियो । त्यस बखतमा देवलदेवी र उनका पुत्र जगतसिंहदेव दरबारमा नै बसेका थिए । भनिन्छ कि नायकदेवी र जगतसिंहदेवबीच प्रेम बढ्दै गयो र अन्तत: जगतसिंहदेवद्वारा नायकदेवीलाई पत्नीको रूपमा स्वीकार गरिएको थियो । यस कुरालाई ‘गोपालराजवंशावली’ ग्रन्थको पत्र २८ मा ‘कर्णाटकवंशज श्रीजगत्सिंहदेव समाहित संगृह्य कृतं नायकदेवी’ अर्थात् ‘कर्णाट वंशज श्रीजगत््सिंहदेवले बिस्तारै नायकदेवीलाई संगृहिणी भार्या बनाए’ भनेर उल्लेख गरिएको छ । यसरी, तत्कालीन दरबारको राजनीतिक परिवेशमा देवलदेवी र उनका छोरा जगतसिंहदेवको प्रभाव सुदृढ भएको थियो । यसै सिलसिलामा नेसं ४६७ (विसं १४०३ साल, सन् १३४६ ई) पौष कृष्ण दशमी तिथि अनुराधा नक्षत्रमा श्रीजगतसिंहदेव र श्रीनायकदेवीकी कन्या राजलदेवीको जन्म भयो । कन्या जन्मेको १० दिनपछि नायकदेवीको देहान्त भइहाल्यो । यसपछि राज्यकी उत्तराधिकारी राजलदेवीको पालन–पोषण पितामही देवलदेवीद्वारा नै भएको थियो । यिनै राजलदेवीको विवाह जयस्थिति मल्लसित भएको हो ।
जयस्थिति मल्ललाई दक्षिण मधेसबाट विक्रम संवत् १४११ (सन् १३५४ ई) आश्विन शुक्ल नवमीका दिन ल्याइएको थियो । उनलाई भक्तपुरमा राखी ५ महिनापछि अर्थात् सन् १३५५ ईमा राजलदेवीसित विवाह गराइएको थियो । यसैको आधारमा जयस्थिति मल्ल तत्कालीन नेपालको शासन व्यवस्थामा क्रमश: स्थापित हुन पुगेका थिए । आफ्नी पौत्री (नातिनी) का लागि योग्य वरको खोजीमा देवलदेवीको सर्वोपरि भूमिका रहेको ‘गोपालराजवंशावली’ ग्रन्थमा ‘श्रीदेवलदेवीना स्मानीयात’ अर्थात् ‘श्रीदेवलदेवीद्वारा ल्याइएका’ भनेर स्पष्ट उल्लेख गरिएको छ । यसका साथै जयस्थिति मल्ल ‘दक्षिण मधेसबाट’ ल्याइएका भनेर पनि स्पष्ट उल्लेख छ । यस प्रसंगमा विचारणीय कुरो के छ भने देवलदेवी स्वयम् मिथिलाकी महारानी थिइन् । भक्तपुर उनको पितृगृह थियो । भक्तपुरमा उनी आफ्नो राजनीतिक र प्रशासनिक प्रभुत्व स्थापित गर्न सफल भइसकेकी थिइन् । राजलदेवी उनकी पौत्री थिइन् । यस्तो अवस्थामा एउटी राजकुमारीको विवाहका लागि कुनै राजपरिवारका वर नै उपयुक्त हुने कुरा देवलदेवीजस्ती प्रखर, प्रबुद्ध र योग्य शासकीय क्षमता भएकी व्यक्तिका लागि सम्झाइराख्ने कुरो हुन सक्दैन । अत: उनले आफ्नी पौत्रीका लागि अत्यन्त योग्य, उच्च कुलका राजपरिवारका राजकुमारलाई नै अवश्य ल्याएकी हुनै पर्दछ ।
यस सन्दर्भमा रामदेव राय दनुवारद्वारा लेखिएका ‘दनुवार जातिको ऐतिहासिक रूपरेखा’ नामक पुस्तकमा उल्लेख भएको प्रसंग विचारणीय देखिन्छ । उक्त पुस्तकको पृष्ठ ३५ मा उल्लेख छ, ‘राजा पुरादित्य सिंहको कान्छा छोरा स्थितिदेवबारे खरियानी निवासी जाति राजा स्व.उत्तीम
सिंहको भनाइ विचारणीय छ । उनको भनाइअनुसार स्थितिदेव सप्तरीका थुप्रै तागाधारी दनुवारहरूलाई जन्तीको रूपमा लिएर पहाड उपत्यका (खुपुदेश) विवाह गर्न गएकोमा आजसम्म जन्तीसहित पुन: फर्केर आएको छैन ।’ राजा जयस्थिति मल्लको नामको पाठहरूमध्ये स्थितिदेव पाठ रहेको प्रमाण जयज्योतिर्मल्लको नेपाल संवत् ५३३ (सन् १४१३ ई) को पशुपति अभिलेखमा राजलदेवीका पति स्थितिदेव भनी उल्लेख भएकोबाट पाइन्छ ।
यस प्रसंगमा उपर्युक्त उत्तीम सिंहद्वारा भनिएको कुरा उनको व्यक्तिगत अनुमान नभएर उनको परिवारमा एवम् त्यस क्षेत्रमा प्रचलित अनुश्रुति हो । अनुश्रुतिलाई इतिहास लेखनको सन्दर्भमा एउटा महत्त्वपूर्ण स्रोतको रूपमा ठानिन्छ । अर्कोतिर, उपर्युक्त उत्तीम सिंह भन्ने व्यक्ति सप्तरीका द्रोणवार राजा पुरादित्य सिंहका वंशजभित्रकै हुन्, त्यसै कारणले उनका परिवारका सदस्यहरूलाई आजसम्म पनि जातीय समाजमा ‘राजा’ भनेर सम्बोधन र सम्मान प्राप्त छ । यस्तै, एकातिर पुरादित्य सिंहको वंशावलीमा उनका कान्छा छोरा स्थितिदेव भनेर उल्लेख छ भने अर्कोतिर, जयस्थिति मल्लका माहिला छोरा जयज्योतिर्मल्लको अभिलेखमा समेत स्थितिदेव भनी उल्लिखित छ । यसरी नै, ‘गोपालराजवंशावली’ ग्रन्थमा ‘दक्षिण मधेसबाट जयस्थिति मल्ललाई ल्याइएको’ कुरा स्पष्ट रूपमा उल्लेख छ । यता, सप्तरीदेखि महोत्तरीसम्मको भूभाग पर्ने (वर्तमान सिरहा र धनुषासमेत) जिल्लाहरूका क्षेत्रका गाउँ तथा नगरहरूमा द्रोणवार वंशीय राजा पुरादित्य सिंहका वंशज अनेक दोनवार परिवारहरूको बसोबास छ । यिनीहरू आफूलाई रजहन दोनवार भनेर ‘सप्तरिया राजा’ परिवारका भन्ने गर्छन् । यिनीहरूको परिवारमा भन्ने गरिएको अनुश्रुतिअनुसार स्थितिदेव विवाह गर्न जन्ती लिएर खुपुदेश गएका थिए । नेवारी भाषाको शब्द खुपुदेश भनेको भक्तपुर नै हो । देवलदेवीले जयस्थिति मल्ललाई सन् १३५४ ईमा भक्तपुरमा नै ल्याएकी थिइन् । भक्तपुरदेखि दक्षिणतिर रहेको मधेसको भूभागमा नै सप्तरी क्षेत्र पर्छ, जहाँ स्थितिदेवका पिता पुरादित्य सिंहको राज्य थियो । यसप्रकार जयस्थिति मल्ल सप्तरीका राजकुमार निश्चित हुन आउँछन् । द्रोणवार वंशीय राजा पुरादित्य सिंहको शासनकालमा सप्तरी राज्य अत्यन्त सबल र सम्पन्न राज्यको रूपमा रहेको थियो । मिथिलाका ओइनवारवंशीय राजा शिवसिंह ठाकुर (सन् १४१३–१४१६) युद्धमा अन्तर्हित भएपछि उनकी महारानी लखिमादेवीका साथ मैथिली भाषा र साहित्यका महाकवि विद्यापति सप्तरीमा राजा पुरादित्य सिंहको दरबारमा आएर बाह्र वर्षसम्म प्रवास बसेका थिए ।
मिथिलामा कर्णाट वंशको शासन समाप्त भएपछि ओइनवार ब्राह्मण वंशको शासन स्थापित हुन पुगेको थियो । त्यस अवस्थामा सप्तरी क्षेत्रका साथै मिथिला क्षेत्रका अन्य भूभागमा अनेक राजवंशका शासनहरू स्थापित भएका थिए । यसै सन्दर्भमा द्रोणवार ब्राह्मण राजवंशका अधीनमा नेपालका सप्तरी र महोत्तरी लगायत भारतको बिहार राज्यमा पर्ने नरहनजस्ता राज्यहरू स्थापित हुन पुगेका थिए । मिथिलामा ओइनवार ब्राह्मण राजवंश र द्रोणवार ब्राह्मण राजवंशहरूबीच परस्पर सम्बन्ध रहेको देखिन्छ । मिथिलाको इतिहासको अध्ययनबाट थाहा पाइन्छ कि काशीको राजपरिवार र नरहन राज्यको द्रोणवार ब्राह्मण राजपरिवारबीचमा वैवाहिक सम्बन्ध थियो । यस सन्दर्भमा ध्यान दिनुपर्ने कुरा के छ भने भक्तपुरकी राजकन्या तथा राजगद्दीका उत्तराधिकारी नायकदेवीको विवाहको सन्दर्भमा सन् १३३० ईमा काशीका राजवंशका कुमार हरिचन्ददेवलाई ल्याइएको थियो । यसप्रकार, सप्तरीका द्रोणवार ब्राह्मण वंशका प्रभावशाली राजा पुरादित्य सिंहका राजकुमारले तत्कालीन भक्तपुरको अस्थिर राजनीतिक परिवेशलाई सहजता र स्थिरता प्रदान गर्न सक्ने कुरामा विश्वस्त भएर नै देवलदेवीले राजलदेवीको विवाहका लागि राजकुमार स्थितिदेवलाई भक्तपुरमा ल्याएको देखिन्छ । काठमाडौं उपत्यकामा मल्ल राजाहरूको समयमा नामको अगाडि ‘जय’ र पछाडि ‘मल्ल’ लेखिने पुरानो परम्परा पाइन्छ । अत: स्थितिदेवको नाम जयस्थिति मल्लदेव हुन गएको बुझिन्छ ।
अब यस प्रसंगमा एउटा अर्को पक्ष के रहेको छ भने कान्तिपुर, भक्तपुर र ललितपुरका मल्ल राजाहरू जयस्थिति मल्लका वंशज नै थिए । अर्कोतिर, ललितपुरका राजा सिद्धिनरसिंह मल्लको मंगलबजारको विश्वेश्वर मन्दिरको अभिलेखमा स्वयम्लाई मिथिला प्रदेशका राजा हरिसिंहदेवको वंशमा उत्पन्न भएको भनिएको छ । यस्तै विवरणहरू ज्योतिर्मल्लको पशुपति अभिलेख, प्रतापमल्लको हनुमानढोका अगाडिको कृष्णदेवल अभिलेख आदिमा पाइन्छन् । यसरी, उपत्यकाका मल्ल राजाहरूले मिथिलाका कर्णाटवंशी राजा हरिसिंहदेवलाई आफ्ना पुर्खा मान्नु एवम् सप्तरी र महोत्तरी क्षेत्रका रजहन दोनवार परिवारमा हरिसिंहदेवलाई पुर्खा मानेर पूजा गरिनु आदि विषय विचारणीय छन् ।
यस सन्दर्भमा कुलचन्द्र कोइरालाद्वारा लिखित ‘श्रीतलेजु र दिगुतलेजु’ नामक पुस्तकमा वर्णन गरिएको छ कि ‘मावलीपट्टिको कुल चलाउन यस कन्याबाट जन्मेको पुत्र यौटा वा सबै मलाई दिनुपर्छ भनी सर्तसाथ कन्यादान दिएको छ र त्यसबाट छोरो जन्म्यो भने त्यो पुत्रिका–पुत्र हुन्छ र मावलीपट्टिको कुलगोत्रमा जान्छ ।... त्यस्ता पुत्रले मावलीपट्टिकै कुलगोत्र चलाउने हुन्छ भन्ने कुरा स्मृतिकार मनु, गौतम, वशिष्ठ, बृहस्पति आदि धर्मशास्त्रकारको कथन छ । यस्तो सर्त मञ्जुर गर्न जयस्थिति मल्ल चुकेनन् होला... ।’ यसै आधारमा कर्णाटवंशका मिथिलाका राजा हरिसिंहदेवकी रानी देवलदेवीले स्थितिदेव (जयस्थिति मल्ल) को हातमा आफ्नी पौत्रीलाई कन्यादान गरिदिएकी हुन सक्छ । अत: जयस्थिति मल्लका सन्तति मल्ल राजाहरूले आफ्नो पूर्वज नान्यदेवलाई मान्नु, श्रीतुलजादेवीलाई आफ्नो कुलदेवता मान्नु र आफूलाई रघुवंशी मान्नु आदि कुरा धर्मशास्त्रसम्मत नै थिए भन्ने स्पष्ट हुन्छ । अत: जयस्थिति मल्लका सन्तानहरूले द्रोणवार ब्राह्मण वंशको सट्टा मावलीपट्टिका कुल कर्णाट वंशको उल्लेख गरेका थिए । अत: स्थितिदेव, स्थिति मल्ल, स्थिति मल्लदेव, स्थितिराज मल्ल, जयस्थिति मल्ल, जयस्थितिराज मल्लदेव, जयस्थितिराज मल्लदेवठाकुर आदि नामहरूबाट सम्बोधित गरिएका नेपालका मध्यकालीन राजा भएका व्यक्ति सप्तरी राज्यका गिरिनारायण प्रशस्ति भएका द्रोणवार ब्राह्मण वंशीय राजा पुरादित्य सिंहका कान्छा छोरा स्थितिदेव नै हुन् । यसप्रकार, अहिलेसम्म जयस्थिति मल्लको वंशबारे अनेक अनुमानहरूले गर्दा विवादास्पद रहेको विषय एउटा निश्चयमा पुग्न सकेको देखिन्छ ।

प्रकाशित : पुस १५, २०७४ ०९:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×