‘फ्री एट लास्ट’...

पुस्तक
कुमारी लामा

काठमाडौँ — सन् १९५३ को एक उदास दिन इरानका राष्ट्रवादी प्रधानमन्त्री मोहमद मोसादे सैनिक कुमार्फत हटाइन्छन् । उनको अपराध थियो देशको तेल उद्योगहरू राष्ट्रियकरण गर्नु । त्यसपछि अमेरिकाको विशेष अनुग्रहमा चौतीस वर्षीय सैनिक अधिकृत रेजा सा सत्ताको बागडोर सम्हाल्न पुग्छन् ।

‘फ्री एट लास्ट’...

कट्टर मुस्लिम राष्ट्रले बिस्तारै खुकुलो महसुस गर्छ । महिलाहरू हिजाव बिनै हिँड्न थाल्छन् । यसैबीच १९६४ मा धार्मिक नेता आयोटोल्ला खोमेनी पदबाट हटाइन्छन् । त्यसको केही समयपछि उनी फ्रान्सतिर लाग्छन् । तर समयसँगै साको शासनविरुद्ध देशमा क्रान्ति सुरु हुन्छ जसले लिएको उग्ररूपले उनी देश छाडी भाग्न बाध्य हुन्छन् १९७९ मा । निर्वासनमा रहेका धार्मिक नेता खोमेनीको चौधवर्षे वनबास टुङ्गिन्छ । उनी १ फेब्रुअरी १९७९ मा देश फर्किन्छन् । त्यसको ठीक दस वर्षपछि सन् १९८९ फेब्रुअरी १४ मा विश्वलाई चकित पार्दै खोमेनीले एक लेखकविरुद्ध फतवा जारी गर्छन् । ती लेखक हुन्, सलमान रुस्दी ।

यतिखेर मेरो चासोको विषय पटक्कै हैन इरानको उबडखाबड राजनीति । मात्र थोरै पृष्ठभूमि तयार गर्नु थियो रुस्दीका खातिर । सन् २०१२ मै विश्व साहित्यिक बजारमा सनसनी मच्चाइसकेको थियो उनको एक पुस्तकले । म भने बल्ल पाँच वर्षपछि रहलपहल उत्सुकतासहित त्यही पुस्तकको प्रसंग उप्काउने प्रयत्नमा छु । सलमान रुस्दीको संस्मरण कृति ‘जोसेफ एन्टोन’ जो भर्खरै पढिभ्याएकी छु ।

रुस्दी र ‘कन्ट्राभोर्सी’ सधैँ सहयात्रामा हुन्छन् । ‘द स्याटानिक भर्सेस’ का लागि फतवा जारी, चार जना श्रीमतीसँगको टुक्रिएको सम्बन्ध, आफूभन्दा आधा उमेरका युवतीहरूसँगको अन्तरंग सम्बन्धलगायत सूची निकै लामै छन् उनलाई सधंै विवादमा ल्याइरहने । तर सधैँ ‘लाइमलाइट’ मा रहने तथा सानदार जीवन बाँचिरहेका सेलिब्रेटी लेखकको भित्री व्यथा के कसो थियो त ? ड्यामोकल्सको तरबारजस्तो सधैँभरि टाउकोमा मडारिरहेको मृत्युलाई स्विकारेर बाँच्नु सहज थियो होला ?

फतवा जारी भएपछि एक सामान्य लेखकको जीवनले भोगेको अकल्पनीय भोगाइहरू साथै तेह्र वर्षसम्म बढी स्कटल्यान्ड यार्ड (मेट्रोपोलिटन पुलिस सर्भिस) को चौबीसघण्टे सुरक्षा घेरामा रहँदाको समयको दस्तावेज हो संस्मरण ‘जोसेफ एन्टोन’ ।


चिसो समय

बम्बेको उच्चमध्यमवर्गीय मुस्लिम परिवारमा जन्मिएका अहमद सलमानले रुस्दीचाहिँ बुबा अनिशबाट सापटी लिएका हुन् । केम्ब्रिज पढेका उनका बुबाले दार्शनिक इबन रुस्दीको सम्मानमा आफ्नो नामको पछाडि रुस्दी जोडेका थिए त्यही चीज प्रिय लाग्यो र अपनाए छोरा सलमानले पनि । बम्बेको सुखसयलमा हुर्किंदै गरेको उनलाई साथीभाइ परिवार छाडी पढाइका लागि बेलायत जाने मनै थिएन । तर बाबुको कडा नियम पालना नगरी धरै पाएनन् ।

बिरानो र चिसो मुलुकमा एक्लो भए । स्कुल, कलेज गर्दै केम्ब्रिज युनिभर्सिटीमा इतिहास पढ्न भर्ना भए । छोराले अर्थशास्त्र पढिदियोस् भन्ने बाबुको चाहनामा तुसारापात भयो । बाबु–छोराको सम्बन्ध चिसियो । ग्रयाजुएसनमा पनि बुबाआमा आएनन् । सलमान आफ्नै खाले संघर्षमा अल्झिए लन्डनमा । उनले विज्ञापन एजेन्सीमा विज्ञापन लेख्ने काम थाले । यसैबीच उनका बुबाआमाले बम्बेको सम्पत्ति बेचबिखन गरेर कराँचीतिर सरे । उनका लागि सधैँ रहस्य नै

रह्यो, आखिर अनिश रुस्दीले किन त्यसो गरे ?.

अनिश र सलमानबीचको मनको चिसो धेरै काल रहिरहन्छ । उनले कुनै समय बुबामाथि हात उठाएको कुरा स्विकार्छन् । र, उही ग्लानि र चिसिएको सम्बन्धको क्षतिपूर्ति बन्छ क्यान्सरले थालिएको बुबाको स्याहारसुसार । उनी तृतीय पुरुष दृष्टिकोणबाट घटना अगाडि बढाउँछन् । यस पुस्तकभरि नै आफूलाई ऊ भनी सम्बोधन गर्छन् । लन्डनमा पढ्न हिँडेपछिको साढे बाह्र वर्षपछि मात्रै देश फर्किने मौका जुर्छ । त्यही पनि बिरामी बुबाका अन्तिम दिनहरूको साक्षी बन्न ।

बुबासँगको बिग्रिएको सम्बन्ध, आफ्नै अनेकन संघर्षलगायतका कारण उनी धेरै लामो समय घरपरिवारबाट टाढा रहे या रहन बाध्य भए । बारम्बार आफ्नै अस्तित्व र पहिचानप्रति प्रश्न उठ्थ्यो उनको मनमा । बेलायतले अझै आफ्नो नमानेको जस्तो महसुस गर्थे उनी । अस्तित्व र पहिचानको संकट साथै कहींको नहनुजस्तो एक्लो खोक्रो अनुभूतिले उनी नराम्ररी अचेटिएका हुन्थे । भारतीय र बेलायती हुनुबीच अल्झिएको आफ्नो अवस्थाप्रति थोरै असन्तुष्टि पोख्छन्– ‘ऊ बम्बेको ठिटो थियो जसले अंग्रेजहरूको बीच लन्डनमा आफ्नो जीवन बनायो, तर ऊ अक्सर गरी आफू दुवैतिरको हुन नसक्नाले श्रापित महसुस गथ्र्यो (पृष्ठ ५४) ।’


न्यानो पल

ऊ भन्छ,

अब हामी गरिब हुने तयारीमा लाग्नुपर्छ ।

बिना हिच्किचाहट उनी स्विकार्छिन्,

हुन्छ । (पृष्ठ ५८)

सलमान र उनकी श्रीमती क्लारिसाबीचको संवाद हो यो । सुन्दा अनौठो लाग्छ । सायद एउटा लेखकले मात्रै यसरी गरिब हुन तयार होऊ भन्न सक्ला । उनले ओगिल्भि नामक विज्ञापन एजेन्सीमा राम्रो आर्जन गरिरहेकै बखत सन् १९८१ मा ‘मिड नाइट्स चिल्ड्रेन’ नामक उपन्यास प्रकाशित हुन्छ । अप्रत्याशित सफलता हासिल गर्छ उपन्यासले । १९८१ को बुकर प्रइज पाएपछि लन्डनमा गुमनाम जीवन बाँचिरहेका बम्बेको ठिटो अन्तर्राष्ट्रिय व्यक्ति बन्छन् । उनलाई लाग्छ यसरी विज्ञापन लेखिबस्नु ठीक होइन ।

‘मिडनाइट्स चिल्ड्रेन’ को सफलतापछिको सात वर्ष उनको जीवनकै सबैभन्दा सुन्दर समय बनिदिन्छ । उनी पूर्णकालीन लेखक हुन्छन् । सन् १९८३ मा सेम नामक उपन्यास ल्याउँछन् । त्यसले पनि उत्तिकै चर्चा र सफलता पाउँछ । भौतिक सुख सुविधा, लेख्ने वातावरण, एकदमै सहयोगी श्रीमती र छोरा जफर । जीवन सोचेजस्तै अगाडि बढ्दै गइरहेको छ । तर जीवनले कतिखेर अर्कै मोड लिन्छ पत्तै नहुने । समयले आफ्नो पोल्टोमा सलमानका लागि केही लुकाएको हुन्छ । बिस्तारै खुल्दै जान्छ रहस्यको सन्दुक ।


फतवा ग्लुम

समय बद्लिन्छ र सायद बद्लिन्छ मन पनि । १९८८ मा आइपुग्दा रुस्दीको समय बेग्लै छ । पत्नी क्लारिसासँग सम्बन्धविच्छेद भइसकेको छ । छोरा जफरको कस्टडी उनैले पाएका छन् । त्यससँगै नयाँ उपन्यास ‘द स्याटानकि भर्सेस’ ले बजार तताउँदै छ भने घर भित्रिसकेकी छन् दोस्रो नम्बरकी दुलही मरियन । सायद अघिल्लो सम्बन्धको टुक्राइसँगै उनको पछि लागेको हुन सक्छ प्रतिकूल समय । द स्याटानिक भर्सेसले पनि अघिल्ला पुस्तकहरूले जस्तै चर्चाको

रफ्तार मात्रै के पक्डेको हुन्छ, झ्याप्पै ब्रेक लाग्छ । त्यस उपन्यासले इस्लाम धर्म र मोहमदमाथि प्रहार गरेको भनी फेब्रुअरी १४, १९८९ मा इरानी धार्मिक नेता खोमेनीले उनीविरुद्ध फतवा जारी गर्छन् । संसारभरका मुस्लिम उनीविरुद्ध खनिन्छन् । पुस्तक ‘ब्यान’ हुन्छ । उनको जीवन कल्पनै नगरेको मोडमा अल्झिन पुग्छ ।

लन्डनकै कति लाइब्रेरीमा बम पड्कन्छन् । मुस्लिमहरूको विरोध जुलुसले लन्डनका सडकहरू तातिन्छन् । एकाएक भिन्न समयको घेरामा पर्छन् उनी । अब उनको गुमनामीको समय आउँछ । राज्यले एउटा लेखकको ज्यानको सुरक्षाका लागि चौबीसै घण्टा सुरक्षा दिने निर्णय गर्छ । त्यसै समय उनले आफ्ना प्रिय लेखक जोसेफ कनरडबाट जोसेफ र एन्टोन चेकोबबाट एन्टोन सापटी लिई बन्छन् सलमान रुस्दीबाट जोसेफ एन्टन ।

एउटा लेखकको अप्ठयारो समयमा साथ दिन एकट्ठा हुन्छन् सुसान सन्टेज, डन डी लिलो, नम्र्यान मेलर, क्लेर ब्लुम, ल्यारी म्याकमर्टीजस्ता विश्वविख्यात लेखक, प्रकाशक र धेरै पाठक शुभचिन्तकहरू पनि । उनका प्रकाशकहरूलाई अनेकन धम्की आउन थाल्छन् । यसैबीच उनले छोरा जफरका लागि बालकथासंग्रह तयार पार्छन् तर त्यसलाई टाइम बमको संज्ञा दिन्छन् प्रकाशकहरू । प्रकाशनका लागि कोही तयार हुँदैनन् । अब उनको चिसो समय सुरु हुन्छ पेनग्विन, भाइकिङजस्ता प्रकाशनगृहसँग । एक प्रख्यात लेखक एकाएक प्रकाशकविहीन हुन्छन् । त्यही अप्ठयारो समयमा अर्को जोडदार प्रहार खेप्नुपर्छ उनले । उनकी दोस्रो श्रीमती मरियनले उनको साथ छाडिदिन्छिन् ।

केही समयपश्चात् जर्मनी र डेनमार्कबाट द स्याटानिक भर्सेस पेपर ब्याकमा प्रकाशित त हुन्छ तर त्यसलगत्तै उनका इटालियन अनुवादक इटोरी क्याप्रियालो हमलामा पर्छन् । उनको ज्यान जोगिए पनि जापानी अनुवादक हिटोसी इगारासी भने अफिस नजिकको लिफ्टमा हत्या गरिएको अवस्थामा भेटिन्छन् । अब त झन् बढी चर्चा चल्छ सलमान र उनको उपन्यासको । उनलाई दिने स्कटल्यान्ड यार्डको सुरक्षा झन् कडा पारिन्छ । गाडीदेखि घरको सिसासम्म बुलेटप्रुफ हालिन्छ ।

उनको जीवनका भोगाइहरू सिनेमाका घटनाहरूझैँ लाग्छन् । बिल्कुल ड्रामाटिक । तर उनले त टाउकोमा मडारिरहेको मृत्युलाई सहर्स स्वीकार गरेर बिताएका हुन् त्रासद समय । त्यही सन्त्रासका बीच पनि कहिले अमेरिका त कहिले युरोपका युनिभर्सिटीहरूमा भाषण दिन पुग्थे उनी । फतवाको लम्बाइसँगै उनलाई त्यो असुरक्षित समयको पनि बानी पर्दै जान्छ । या भित्र डर भए पनि उनी देखाउँदैनन् र हिँडिदिन्छ विभिन्न देशको यात्रामा । लाग्छ पीडा पनि बानी पर्छ मानिसलाई । उनको टाउकोको मूल्य अझै बढाइन्छ । कैदीजस्तो जीवनबाट दिक्किएका उनी एकपटक त आफ्नै तरिकाबाट पनि मुक्तिको बाटो खोज्ने प्रयत्न गर्छन् । फतवा हटाउन सहयोग गर्न सक्ने सम्भावनादेखि केही इजिप्सियन मस्लिम हेडहरूसँग भेटी म मुस्लिम हुन्छु भनी दस्तखत पनि गरिदिन्छन् । आखिर जीवनका लागि के पो गर्दैन र मानिस ?

तर पछि त्यस दस्तखत नै आफूले आफैंप्रति गरेको सबैभन्दा ठूलो अपराध हो भन्ने लाग्छ उनलाई ।

असामान्य जीवन तर सामान्य तरिकाबाट चलाइरहन्छन् उनी । अब त दसौं वर्ष भइसकेको छ उनको गुमनामी र लुकीछिपी । उनी युरोप, अमेरिका धाई नै रहेका छन् कार्यक्रमहरूका लागि । लेखन पनि जारी नै छ । प्रकाशकहरूसँग चिसिएको सम्बन्ध पनि फेरि न्यानो हुन थालिसकेको छ । यसैबीच २२ सेप्टेम्बर १९९८ मा इरानी राष्ट्रपति मोहमद खतामीले फतवा हटाए भनी सीएनएनले खबर फुक्छ । तर स्वतन्त्र भएको खुसियालीमा मज्जाले मुस्कुराउन पनि नपाई उनको त्यस खुसी उसै बिलाइजान्छ जब सुरक्षा निकायले उनको ज्यानको खतरा उत्तिकै रहेको जानकारी दिन्छन् । इरानी धर्मगुरु आयोटोल्ला जनातीले एक कडा विज्ञप्ति दिन्छन्– फतवा इस्लामको शत्रुको घाँटीमा अड्किएपछि उसको मृत्युअघि बदर हुन सक्दैन (पृष्ठ ४३९) ।

सलमानको फलवाकालीन समयले मार्गरेट थ्याचर र टोनी ब्लेयरको शासनसमय पनि देख्न भ्याइसक्छ । युरोपियन युनियन, मुख्यगरी फ्रान्सले उनको फतवा हटाउनका लागि इरानसँग कुरा अगाडि बढाए पनि त्यसको परिणामा सकारात्मक आउँदैन । उनको स्वतन्त्र जीवन बाँच्न पाउने आशा झन्झन् टाढिँदै जान्छ ।

अप्ठयारो समयका बाबजुद पनि उनको लेखन जारी छ । यसैबीच ‘द मुर्स लास्ट साई’, ‘द ग्राउन्ड बिनिथ हर फिट’ र ‘फयुरी’ उपन्यासहरू प्रकाशित भइसकेका छन् ।

समय न हो एकनास कहाँ रहन मान्छ र । पत्तै नपाई उनका विरोधका स्वरहरू मत्थर हुँदै छन् । पुस्तकालय जलाइ र मुस्लिमहरूको आन्दोलन नेपथ्यमा कतै बिलाउँदै छ ।


रुस्दी, द कन्ट्रोभर्सी

बम्बे बोई अब प्रख्यात लेखक मात्र नभई फतवा सेलिब्रेटी पनि भइसकेका छन् । एकातिर आफूलाई जुनै पल झम्टिन सक्ने मृत्युको त्रास छ भने अर्काेतिर दिनानुदिन चुलिँदै गरेको उनको पपुलारिटी । दोस्रो श्रीमती मरियनसँगको विच्छेदपछि पनि उनी अनेकन सम्बन्धमा गाँसिन्छन् । तेस्रो श्रीमतीको रूपमा उनको जीवनमा भित्रिन्छिन् एलिजावेथ । उनीबाट छोरा मिलान लुका बेस्ट रुस्दीको जन्म हुन्छ । रुस्दीको अमेरिका, युरोपतिरको यात्रा बढ्ने क्रमसँगै उनीहरूको सम्बन्धमा तिक्तता पैदा हुँदै जान्छ । धेरैजसो न्युयोर्कतिर बस्न थालेका रुस्दी सेलिब्रेटी सेफ पद्मालक्ष्मीसँग लहस्सिन थालेपछि श्रीमतीसँगको सम्बन्ध थप बिग्रिन्छ र अन्तिममा उनीहरू छुट्टिन्छन् नै । दुई छोराका बाबु रुस्दी अब चौथो श्रीमती भित्र्याउन स्वतन्त्र हुन्छन् । आफूभन्दा आधा उमेरकी पद्मालक्ष्मीसँग २००४ मा उनले बिहे गर्छन् । तर सोचेजस्तो सहज समय बग्दैन सम्बन्धको । उनको चौथो विवाह पनि केही समयपछि टुक्रिन्छ ।

सधैँ स्वतन्त्र हुन रुचाउने रुस्दी नचाहँदानचाहँदै पनि अनेकन बन्धनमा परिबस्छन् । फतवादेखि विभिन्न सम्बन्धका परिबन्धहरू उनी झेलिबस्छन् । तर जो जससँग उनले जीवनका केही समय गुजारेका थिए उनीहरूलाई भने सम्झेका छन् आफ्नो संस्मरणमा ।


स्वीकारोक्ति पनि

जोसेफ एन्टोनका धेरै पानाहरू स्वीकारोक्तिले भरिएका छन् भने कति कुराहरू उनले देखाउन नचाहँदा नचाहँदै पनि उदाङ््गिएका छन् । फतवाकालीन समय रुस्दीको जीवनले सबैभन्दा बढी उतारचढाव झेलेको समय हो । त्यही समयमा ब्रेस्ट क्यान्सरबाट थलिएकी क्लारिसा (पूर्वपत्नी) का प्रसंगहरू निकै आउँछन् पुस्तकमा । तर क्लारिसाको कुरा गर्दा उनी प्रत्येकपटक एउटै कुरा दोहोर्‍याउँछन्, उनी मेरो छोरो जफरकी आमा, क्लारिसा ।

उनको कुरा पढ्दा यस्तो लाग्छ क्लारिसाको अस्तित्व भन्नु मात्र उसको छोराकी आमा हुनुमा अडिएको छ, बस् ।

उनकी चौथो श्रीमती पद्मालक्ष्मीले आफ्नो संस्मरण पुस्तक ‘लभ लस एन्ड ह्वाट वी एट’ मा रुस्दी निकै असंवेदनशिल भएको कुरा उप्काएकी छन् । इन्डोमेट्रियासिस नामक बिरामीका कारण उनमा उत्पन्न भएको यौनप्रतिको वितृष्णालाई नबुझिदिएर निकै पीडा दिएको उनले स्पष्ट लेखेकी छन् । एकपछि अर्को सम्बन्धहरू टुक्रिनुका पछाडि सायद उनले ती महिलाहरूको भावनालाई राम्ररी बुझ्न र सम्मान गर्न नसक्नु पनि कारक हुन सक्छन् ।


फ्री एट लास्ट

मार्टिन लुथर किङ जुनियरको बहुचर्चित भाषण ‘आई ह्याभ ए ड्रिम’ बाट सापटी लिएकी हुँ ‘फ्री एट लास्ट’ । निकै त्रासद समय बिताए सलमान रुस्दीले । तर थाहै नपाई उनीमाथि मडारिएको संकटको बादल फाट्दै गइसकेको उनलाई ख्यालै रहन्न । अवाक हुन्छन् जब मार्च २७, २००२ को एक दिनमा सुरक्षा टिमका अधिकारीले खतराको लेभल एकदमै न्यून भइसकेको जानकारी गराउँछन् । स्कटल्यान्ड यार्डले दिएको एक सानदार बिदाइ पार्टीमा सामेल भई स्पेसल ब्रान्च अफिसर बब सेइट र निक कटेजलाई बिदाइको हात हल्लाएसँगै तेह्र वर्षभन्दा बढीको पुलिस सुरक्षा घेराबाट उनी मुक्त हुन्छन् । हाल्सियन होटलबाट बाहिर निस्किन्छन् र टयाक्सीका लागि हात उठाउँछन् । आजबाट ऊ जोसेफ एन्टोनबाट ओरिजिनल सलमान रुस्दी भएको छ ।

गुण र अवगुणसहितका एक आम मानिस अहमद सलमान उर्फ सलमान रुस्दी उर्फ जोसेफ एन्टोन अन्तत: स्वतन्त्र हुन्छन् ।

फ्री एट लास्ट ।

प्रकाशित : पुस १५, २०७४ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?