कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्को चुपचाप विद्रोह

अनुभूति
बिनु सुवेदी

काठमाडौँ — प्रेम कुनै मापनयन्त्रले नाप्नै नसक्ने गरी गहिरियो । प्रेम मात्रै गहिरिए त ठीकै हो, साथमा हरहमेसा सँगसँगै बस्ने चाहना यसरी अग्लियो कि त्यो गहिराइ र अग्लाइको तादात्म्यता मिलाउन बिहे गर्नैपर्ने भो । हो, बिहे गर्नैपर्ने भो । कसैको कर हैन आफ्नै मनको ठहर थियो यो । नत्र उमेरले भर्खरै २० मा टेक्दा, पढाइ आधाउधी पुग्दा नपुग्दा र करियर भर्खरै वामे सर्दै गर्दा म बिहे गर्दिनँ भन्न सक्ने थुप्रै आधारहरू भेटिन्थे ।

अर्को चुपचाप विद्रोह


आधा रातसम्म च्याटमा भुलेर अनिदो आँखा लिएर कलेज जानुभन्दा, अफिसमा चापाचाप काम थाती राखेर मनभरि याद बल्झाउनुभन्दा जिन्दगी बरु छिट्टै उसकै आसपासमा अल्झाइदिन्छु भन्ने ठहर प्रस्तावका रूपमा अघि बढ्ने भयो । पहिले त उसैसँग, त्यसपछि आमासँग । पिरतीको राप रातोपिरो हुनेगरी बलिरहेका बेला उसले प्रस्ताव सदर गर्नु स्वाभाविकै थियो । तर कोख, काख र पाखासम्म आफ्नै छत्रछायामा हुर्काएकी आमालाई छोरी जवान भइसकी भन्ने हेक्का सायद त्यतिबेला मात्रै भयो ।

सुरुमा त म प्रेममा छु भन्ने कुराले नै आमा छाँगाबाट खस्नु भो । हो म हुर्केको संस्कारमा बिहेअघिको प्रेम वर्जित छ, आजपर्यन्त । कसैलाई प्रेम गर्नु पूरापूर बिग्रिनु हो, र म प्रेममा छु भनेर जानकारी गराउनु हाकाहाकी अपराध गरेको हुँ भन्नु हो । त्यसकारण, म एक अपराधीसरह आँखा झुकाएर उभिएँ आमाका अगाडि । त्यतिबेलै देँखे, आमाको बायाँ गोडाको बुढीऔँलामा ठूलो चोट लागेको रैछ । कतै ठेस लाग्यो भन्दै हुनुहुन्थ्यो । नत्र कैयौँ दिनसम्म आमाको अनुहारसमेत हेर्न नपाउने चटारोबाट गुज्रिरहेका बेला खुट्टाको घाउमा के आँखा पर्दाे हो र † तर म कम्तीमा महसुस गर्न सक्थेँ, त्यो सुक्नै आँटेको घाउभन्दा मेरो आलो प्रस्तावले कैयौँ दुखाएको छ आमालाई । दुखाइ छोरीले मनमौजी गरेकोमा त छँदै थ्यो, साथमा दुखाइ अब छोरीलाई बिदाइ गर्ने बेला भयो भन्नेमा पनि । तर, बिनासल्लाह मेरो प्रस्तावबारे निर्णय सुनाउन सक्ने अवस्था आमाको थिएन । आमाहरू छोराछोरीलाई एक्लै हुर्काउन सक्छन् तर उनीहरूबारे निर्णय गर्न सक्दैनन् । यो मैले हैन, हाम्रो चलनचल्तीले भनेको हो । आमाले घरमा सल्लाह गर्छु भन्नु भो, मेरो मनमा आशाका काजुहरू फुर्न थाले, खै आमाका माथि के के बिते त्यो अनुभव गर्न मैले कम्तीमा अरू २० वर्ष त कुर्नैपर्छ होला । अहिले छोरीलाई काखमा राखेर यो लेखिरहँदा मलाई लागेको छ, त्यो बेला म पक्कै दुख्नेछु । सम्भवत: आमाभन्दा धेरै दुख्छु होला ।

मेरो प्रस्ताव अघि बढेको तीन दिनपछि आमाले भन्नुभो, ‘बुबासित कुरा भाथ्यो, यदि तैँले सोचेकै होस् र जिन्दगी राम्रै चल्छ भन्ने लाग्छ भने हाम्रो असहमति छैन ।’ आमाले अझै थप्नु भो, ‘यस्तो सम्बन्धलाई धेरै समयसम्म राखेर भन्ने बाटो पार्न हुन्न यही महिना बिहे गर्नुपर्छ ।’ आमा मेरो निर्णयमा असहमत पो हुनुहुन्थेन त, यसको अर्थ सहमत हुनुहुन्थ्यो भन्ने पक्कै होइन । खैर, बिहे हुनेभो आफैंले रोजेको र आफैंले खोजेको केटासँग । केटा पनि के भन्नु, आफ्नै प्रेमीसँग । तत्कालका लागि मेरो उपलब्धि त्यही थियो । म फुरुङ्ग भएँ, मनले पखेटा हाल्यो । झ्यालबाट बाहिर हेरेँ, असारे झरी सिमसिम बर्सिरहेको थियो । सोचेँ, ‘यस्तो झरीमा बिहे गर्नु र ?’

तर सोधिनँ ।

बुबा परदेशमा हुनुहुन्थ्यो, त्यसैले मेरो बिहेको तयारीका लागि आमालाई भरथेग गर्न बेनीबाट दाइ आउने भयो । दिनदिनै असनका पसलहरू चाहरिन थाले । घरमा रातो साडीको सेट भित्रियो । असारे चटारोले गर्दा अंकलहरू बिहेमा सरिक हुन नसक्ने खबर दाइले पहिल्यै ल्याइसकेको थियो । त्यसैले बहिनीको हात ज्वाइँलाई सुम्पिने जिम्मा पूरापूर दाइको काँधमा आयो । तयारी पक्कै केही गरिरहेको थियो होला । म बिहान पाँच बजे निस्केर बेलुका ८ बजे मात्रै कोठामा आइपुग्थेँ । बीचमा के–के भयो, खास केही थाहा पाइनँ ।

बिहेको अघिल्लो रात !

आज मैले हातभरि मेहन्दी लाउनुपथ्र्याे । भोलि राम्री देखिन आजै पार्लर गइसकेको हुनुपथ्र्याे । सिलाइएको ब्लाउज म्याच गर्छ कि गर्दैन नापिसकेको हुनुपथ्र्याे । तर, राजनीतिक वृत्तमा चर्केको राज्य पुनर्संरचनाको बहसले मलाई राति अबेरसम्म घरबाहिरै राख्यो, अरू संसदीय पत्रकारहरूलाई जस्तै । म बिहेको अघिल्लो दिन बिदै पनि बस्न सक्थेँ हुँला तर यी सब तयारी हेर्नमा जति रंगीन देखिन्थे, मेरा लागि उत्ति नै फिक्का । मलाई त बस् साथ चाहिएको हो । म जान्दथेँ, मीठो सम्बन्धले श्यामश्वेत जिन्दगीमा पनि इन्द्रेणी छर्छ भनेर । राति हस्याङफस्याङ गर्दै आएको देखेपछि आमाले भोलिको बिहेबारे वृत्तान्त सुनाउनुभो । को–कोलाई बोलाइएको छ र बोलाउने लिस्टमा अरू को–को बाँकी छन् लगभग एकै सासमा भनेर भ्याउनुभो । उहाँको प्रश्न थियो, तेरा साथीहरूलाई नि बोलाइस् ? म मुस्काएँ । आमाले बुझ्नुहुन्छ म फिस्स हाँस्नुको अर्थ कुनै विषयमा फरकमत जनाउन सुरु गर्नु हो । हो, फरकमत ।

आगोको लप्काले पोल्ने गरी फनफनी जग्गे घुमाएर ‘मारे पाप पाले पुण्य’ भनेर सुम्पिएका छोरीहरू घर न घाट भएको धेरैचोटि देखेको छु । माइतीले परायालाई दान गरिसकेपछि फेरि माइतीलाई आँसु देखाउन हुन्न भनेर घरमै आँसुको आहाल बनाउने आमाहरूको जिन्दगी महसुस गरेकी छु । त्यसैले म पराइकै भए पनि दु:ख पर्दा फर्केर आउने आँगन र टाउको अड्याउने काख उस्तै होस् भन्ने चाहन्थेँ हमेसाका लागि । मलाई मान्छे वस्तुसरह भएकोमा अत्यधिक पीर पथ्र्याे, अहिले पनि त्यही पीरमा छु । फलाम दान हुन्छ, सुन पनि दान हुन्छ, गाई दान हुन्छ, अनि छोरी पनि । जान्ने बुझ्ने भएदेखि नै यो कुरामा चित्तै बुझ्नैथ्यो । आमा मरेपछि दागबत्ती दिनु र आँगन पोलेर छोरी सुम्पिनु सरोबरी हो भन्ठान्थ्यो मेरो दिमागले । अनि मनले पनि ।

...आमाले साडी देखाउनुभो... स्यान्डिल देखाउनुभो । भाइ, कुनामा बसेर पिलपिल गरिराथ्यो । दाइ बन्दोबस्तीमै व्यस्त थियो । आमालाई भनेँ, ‘आमा मलाई यस्तो केही पनि मन पर्दैन,’ दाइले जवाफ फर्कायो ‘यति त हाम्ले तेरा लागि गर्न पाउँछौँ होला †’ आज दाइलाई सोध्न चाहन्छु ‘दाइ मेरो दान मेरै लागि कसरी हुन्छ ?’ हो आमा, मलाई वस्तु हुन मन थिएन, गाई हामीले सम्मान गर्ने प्राणी हो तर पशु हो, मलाई पशु पनि हुन मन थिएन, त्यसैले मेरो विनिमय मैले स्विकार्न सकिनँ ।

भोलि बिहेको लगन छ, मलाई बिहे गर्नु छ तर दुलही बन्नु छैन । किन हो किन गहनालाई कहिल्यै सुन्दरताको प्रतीक मान्न सकिनँ । यही कुरा सुनाएँ, आमा र दाइलाई । एउटा टीभीको रिमोटमा समेत लड्न नसक्ने दिदी कसरी यति धेरै क्रान्तिकारी बनी भन्ने भावमा बिस्ताराको पल्लो छेउबाट हेरिरह्यो उसले । अब छोडेर जाँदै छे भनेर पनि होला सायद, दाइ र आमा मेराअघि गले । मैले मेरा तर्कले जितेँ या यो घरमा मेरो अन्तिम लडाइँ हो भन्ठानेर उनीहरूले नै जिताए । जे होस्, जितेँ । बिनासाडी चोलो, बिनापूजा, बिनाकन्यादान, बिनाकुनै खर्च बिहे गर्ने भएँ । मैले साँच्चै जितेँ, कन्यादानविरुद्धको एउटा युद्ध जितेँ । मैले दान हुन परेन । मेरो यो विजयका निमित्त मेरी आमाले रातभरि आँसु पिएकी छन् । मैले बिहेको नाममा जुटको झोलामा केही थान कपडा र किताब बोकेर हिँडेपछि पनि आमा बेस्सरी रोइन् रे । मनमा नलागेको हैन, मैले मेरो जित आमाको आँसुसँग साटेँ भनेर । तथापि कन्यादान गरेर डोली नै चढाएका छोरी चेलीका बुवाआमाले पनि हाँसीहाँसी बिदाइ गरेको मैले देखेको छैन ।

तर यसको परिणाम भयावह निस्कियो, यही दिनदेखि मामाघरमा आउने–जाने मेरो बाटो बन्द भो । संस्कार नमानेको अभियोगमा दिदीबहिनीहरू टाढिए ।

बिहे गर्दा एउटा साडी पनि लगाउन नसक्ने बरु जिन्दगीभरि यसै बसेको भए पनि हुन्थ्यो भन्नेहरूको पनि लाइन थियो ।

लाग्छ मनमा कहिलेकाहीं, सबैले जस्तै गरी बिहे गरेको भए...? तर फेरि आफैंलाई धाप मार्छु, निदाइरहेकी छोरीतिर फर्किन्छु र अठोट गर्छु, कम्तीमा मेरी छोरीले दान हुने र नहुने विरोधाभासका बीचमा तनाव लिनुपर्ने छैन ।

दु:खसहित भन्छु, परिस्थिति आज उस्तै छैन । मैले त्यो विद्रोहसहित पहिरिएको सिन्दूर पुछिएको त हैन, खोसिएको छ । त्यो सानो विद्रोहले उचाइ लिन नपाउँदै बाटो बिराएको छ । तर विरासतको भारी थेग्न नसकेर म जिन्दगीभरि कसैकी श्रीमती हुन नसक्नुमा धेरै दोष मेरो होला, अलिकति दोष उसैको होला र केही दोष परिस्थितिको पनि । तर कुनै वस्तुजस्तै आफ्नैले आफ्नालाई जिम्मा लगाइरहँदा आँसुले बाटो छेक्दाछेक्दै पनि बाटो लाग्नुपर्ने बाध्यता कम्तीमा बेहोर्नु परेन । आफ्नै पदचाप फर्केर हेर्छु धेरैचोटि उदास भएहुँला तर कहिल्यै दास बन्न परेन । जिन्दगी आखिर सन्तुष्टिको त्यान्द्रोभन्दा बढ्ता के नै रैछ र ?



प्रकाशित : पुस ८, २०७४ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?