कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एउटा सहरको कथा

पुस्तक

काठमाडौँ — विसं २०६५ मा नयाँ बुहारीको रूपमा बन्दीपुर गएपछि मलाई सबैभन्दा प्रभावित पारेको कुरो थियो यहाँका कलात्मक घरहरू, बजारको सफाइ र यहाँबाट देखिने सुन्दर दृश्यहरू । ढुङ्गाको छाना भएका काठ र इँटाका घरहरू, मिलाएर ढुङ्गा छापिएको सफा बाटोमा परम्परागत जात्रामा झुमिरहेको बन्दीपुर देख्दा आदिम सभ्यतासँग साक्षात्कार भएझैँ लाग्थ्यो । भदौको सुरुदेखि नै जब खेतीको कामबाट अलिकति फुर्सद मिल्न थाल्छ, दैनिकजस्तै हुने जात्राहरूमा विविध बाजाका साथमा झुल्न थाल्छन् बन्दीपुरेहरू । र बन्दीपुर यिनै कुराहरू नै आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणका
केन्द्र बन्छन् ।

एउटा सहरको कथा

विसं २०६५ मा नयाँ बुहारीको रूपमा बन्दीपुर गएपछि मलाई सबैभन्दा प्रभावित पारेको कुरो थियो यहाँका कलात्मक घरहरू, बजारको सफाइ र यहाँबाट देखिने सुन्दर दृश्यहरू । ढुङ्गाको छाना भएका काठ र इँटाका घरहरू, मिलाएर ढुङ्गा छापिएको सफा बाटोमा परम्परागत जात्रामा झुमिरहेको बन्दीपुर देख्दा आदिम सभ्यतासँग साक्षात्कार भएझैँ लाग्थ्यो । भदौको सुरुदेखि नै जब खेतीको कामबाट अलिकति फुर्सद मिल्न थाल्छ, दैनिकजस्तै हुने जात्राहरूमा विविध बाजाका साथमा झुल्न थाल्छन् बन्दीपुरेहरू । र बन्दीपुर यिनै कुराहरू नै आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणका

केन्द्र बन्छन् ।

सुन्दर वन्दीपुरको यस्तै मेला, पर्वहरू र विशेषगरी नयाँ वर्ष (वैशाख १) को समयमा प्राय: सधैँजसो एक अनुहारमा मेरो दृष्टि पथ्र्यो । मान्छेहरूको भीडमा एक सानो कद, सौम्य अनुहार, तिलचामले कपाल, हेर्दैमा उच्च व्यक्तित्वको जस्तो लाग्ने व्यक्ति हातमा क्यामेरा बोकेर यताउता गरिरहको देख्थेँ । तीन–चारपटक त्यस्तै अवसरमा त्यस्तै अवस्थामा देखेपछि उनको बारे जिज्ञासा राखेको थिएँ । ‘अकेला सर, चीजकुमार अकेला, वल्र्ड एजुकेसनका डाइरेक्टर हुन्, पहिले यहीँको हाइस्कुलको हेडसर थिए रे’ भन्ने उत्तर पाएँ । पछि कुनै बेला घरमा भएका पुराना पुस्तकहरूको चाङमा ‘बन्दीपुरे उकाली’ नामका साना पुस्तिकाको दुई अङ्क पाएको थिएँ । दुवै अङ्कमा अकेला सरको बारे ससम्मान सामग्री लेखिएको थियो । बन्दीपुरको शिक्षामा उनको योगदानबारे उल्लेख गरिएको थियो ।

इतिहासको कुनै कालखण्डमा भोटका व्यापारीहरू बन्दीपुरको बाटो हुँदै भारतसम्म व्यापारका लागि जान्थे । भोटदेखि भारतसम्मको लामो व्यापारिक यात्रामा व्यापारीहरूको बिसौनीको रूपमा रहेको बन्दीपुर आफैंमा व्यापारिक केन्द्रको रूपमा स्थापित हुँदै थियो । आजभन्दा झन्डै ५० वर्ष पहिलेसम्म त बन्दीपुर तनहुँ जिल्लाको सदरमुकाम थियो । तर पृथ्वी राजमार्गको निर्माणसँगै २०२५ सालमा तनहुँ जिल्लाको सदरमुकाम दमौली सारियो । व्यापारीहरू पनि सदरमुकामका साथै राजमार्गको छेउछाउमा केन्द्रित हुन थाले । जिल्लाको प्रशासनिक केन्द्र र व्यापारीहरूबाट परित्यक्त बन्दीपुर त्यसैत्यसै उदास र मृतप्राय: बन्दै गयो । झन्डै २० वर्षसम्म बन्दीपुर सायद ‘शीत निद्रा’ मा थियो । तर अहिले बन्दीपुर ‘फिनिक्स’ जस्तै बौरिएको छ । यसरी मृतप्राय: बन्दीपुर फेरि गुल्जार बनाउन अरू केहीसँगै चीजकुमार श्रेष्ठको भूमिका केन्द्रीय थियो भन्ने कुरा बन्दीपुरबारे जानकार कसैले नकार्न सक्दैन ।

हो, उनै चीजकुमार श्रेष्ठको पुस्तक ‘घुमीफिरी बन्दीपुर’ बजारमा आएको छ । पुस्तकमा केदारभक्त माथेमाले चीज सरको ‘आत्मकथा’ का बारे भूमिका लेखेका छन् । २८ वटा उपशीर्षकहरूमा लेखिएको पुस्तकमा लेखकका विभिन्न कार्यअनुभव, पारिवारिक वर्णन र अधिकांश त मृतसहर भैसकेको बन्दीपुर पुन: कसरी बौरियो भन्नेबारे उल्लेख छ ।

चीजकुमार श्रेष्ठको बारेमा बन्दीपुरेलाई सोध्दा अधिकांशले बन्दीपुरको हाइस्कुल भानु माविको पहिलेका हेडसरको रूपमा लिँदा रहेछन् । यस तथ्यलाई उनले पनि पुस्तकमा प्रशस्त उल्लेख गरेका छन् । पाँच दशकभन्दा लामो जागिरे जीवनमा सबैभन्दा सन्तुष्ट शिक्षक रहेको कालखण्डमा नै रहेको उल्लेख गरेका छन् । जीवनको ठूलो कालखण्ड शिक्षा क्षेत्रमा बिताएका श्रेष्ठले आफ्नो पुस्तकका केही पेजहरू नेपाली शिक्षा प्रणालीको आलोचना र सुझावका लागि खर्चिएका छन् । तारतम्य नमिलेको शिक्षा, शिक्षा किन रोजगारमूलक हुन सकेन, शिक्षाको दुइटा स्तर, पाठ्यक्रम र नीति कार्यान्वयनमा कमजोरी, मध्यमकोटीको शिक्षाको परिणाम र विद्यार्थी किन फेल हुन्छन्जस्ता उपशीर्षकहरूमा नेपाली शिक्षा प्रणालीको कमजोरी औंल्याउनुको साथै सुधारका लागि सुझाव पनि प्रस्तुत गरिएको छ । गरिबीको दुष्चक्रबाट माथि आउन व्यावहारिक र जीवनोपयोगी शिक्षाको आवश्यकताबारे लेखकले पुस्तकामा चर्चा गरेका छन् ।

पुस्तकमा आक्रोश पनि छ । आम मानिसले जस्तै नेपालको राजनीति, नेताहरू अनि नेपालको सार्वजनिक प्रशासन र उनीहरूको भ्रष्टाचारी प्रवृत्तिप्रति उनले आक्रोश पोखेका छन् । विश्वका विविध देशहरू घुमेको अनुभव बाँडेका श्रेष्ठको इन्डिया अनुभव भने राम्रो रहेनछ । देशविदेशको अनुभव सँगालिसकेका लेखकको इन्डिया अनुभवले हाम्रो दक्षिणी छिमेकीको हामीप्रतिको व्यवहारले मन कुँड्याउँछ ।

पुस्तकमा कमजोरी नभएको होइन । लेखकले सुरुआतमै स्विकारेझैं कतिपय घटना सन्दर्भहरू समयरेखामा नमिलेझैं लाग्छ । कुनै विषय झ्वाट्ट र अप्रासङ्गिकझैं आएर त्यसै हराएर गएका छन् । केही व्याकरणिक गल्ती तथा केही प्रसङ्ग दोहोरिएका पनि छन् । यस्ता कमजोरीलाई अर्को संस्करणमा सच्याउन सकिन्छ । र अर्को कुरा पुस्तकमा बन्दीपुरलाई झन्डै बजार सेरोफेरोमा मात्र सीमित पारिएको छ । समग्र बन्दीपुरवरिपरिका गाउँहरूलाई समेटिएको भए अझ उत्तम हुन्थ्यो । किनकि बन्दीपुरको समृद्धि वरिपरिका गाउँहरूसँगै जोडिएर मात्र दिगो हुन्छ । पुस्तकमा नसमेटिए पनि समृद्ध बन्दीपुरका लागि बन्ने कुनै पनि योजनामा पेरिफेरीका गाउँहरू छुट्नु हुँदैन ।

अनियन्त्रित बसाइसराइँ नेपालको समस्या बन्दै गएको छ । यस्तो प्रवृत्तिले तराई र केही सहरी क्षेत्रमा जनघनत्व थेगिनसक्नु भएको छ भने अधिकांश पुराना पहाडी बस्तीहरू सुनसान र मृतप्राय: भएका छन् । यसको समाधानका लागि बन्दीपुर पुनरुत्थान अभियान एउटा मोडल हुन सक्छ । यसैबाट प्रेरित भई नेपाल उद्योग वाणिज्य महासंघका पहिलेका अध्यक्ष कुशकुमार जोशीलगायतले लेखकसँग अनुभव सेयर गरेका कुरा पुस्तकमा उल्लेख छ । पुस्तकमा बन्दीपुर र शिक्षा मात्र होइन राजनीति, समाज र यसभित्रका विविध पाटोलाई पनि समेटिएको छ ।

लेखकले जीवन संयोगहरूको संग्रह हो भनेका छन् । उनले उल्लेख गरेका जीवनका संयोगहरूलाई सामान्य मान्छेको आँखाबाट हेर्दा लेखकको जीवनमा सुखद संयोगको बाहुल्य बढी भेटिन्छ । झन्डै ३०० पृष्ठको पुस्तक एकै बसाइमा पढिसकेपछि निर्धक्क

लेख्न सकिन्छ, लेखन सलल्ल बगेको छ, विषयहरू रोचक र शिक्षाप्रद छन् । त्यसैले पनि बन्दीपुरवासी र बन्दीपुरसँग प्रत्यक्ष सरोकार राख्नेलाई त पुस्तक चासोको विषय भयो नै, खण्डहर बन्दै गएका पहाडी गाउँहरूको पुनर्निर्माणमा रुचि राख्ने जो कोहीलाई ‘घुमीफिरी बन्दीपुर’ रोचक, शिक्षाप्रद र उपयोगी लाग्नेछ ।

त्यसो त पछिल्ला केही वर्ष नेपाली बजारमा आत्मकथाका रूपमा स्वमाहात्म्यहरूको बाढी नै आएको छ । यस्ता आत्मकथाहरूमा यो देश मात्र होइन सारा प्राकृतिक चक्र नै उनीहरूको इसारामा चलेको जस्ता कथाहरू पढ्न पाइन्छ । तर चीज सरको ‘घुमीफिरी बन्दीपुर’ पढ्दा कत्ति पनि त्यस्तो लाग्दैन । पुस्तकमा लेखकले विनम्रतापूर्वक आफ्नो माहात्म्य गाएका छैनन् । यस अर्थमा पनि बजारमा आएका आत्मकथाहरूको भीडमा ‘घुमीफिरी बन्दीपुर’ पृथक् छ ।

र अन्त्यमा, आम बन्दीपुरेका साथै विशेषगरी पिछडिएका समुदाय र बालवालिकाको शिक्षामा निरन्तर योगदान दिने तथा आदिम सभ्यताको झझल्को दिने समृद्ध संस्कृतिलाई जोगाइराख्न चीज सरले पुर्‍याएको योगदानप्रति नमन् ।

[email protected]

प्रकाशित : पुस ८, २०७४ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?