कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

के चक्रपाणि भजनलाल थिए?

टिप्पणी
कतिपय ठान्दछन्, चक्रपाणि चालिसे विरुदावली लेख्ने व्यक्ति थिए । चालिसेको १३५ औं जन्मजयन्तीका सन्दर्भमा उनको व्यक्तित्व र कृतित्वबारे चर्चा :
हरिहर तिमिल्सिना

काठमाडौं — चक्रपाणि स्मारक प्रतिष्ठानले प्रत्येक वर्ष कात्तिक २० गते चक्रपाणि चालिसेको जन्म दिवस पारेर विविध कार्यक्रम आयोजना गर्छ । प्रतिष्ठानका मित्रहरूको ममता र सदाशयताका कारणले विगत केही वर्षदेखि यो पङ्क्तिकार पनि प्रतिष्ठानको सदस्य छ ।

 के चक्रपाणि भजनलाल थिए?

प्रतिष्ठानकै पहलमा विगतमा जिल्लाव्यापी र राष्ट्रव्यापी कविता प्रतियोगिता पनि हुने गरेका थिए । हाल भने प्रत्येक वर्ष एक जना स्रष्टालाई ‘चक्रपाणि स्मरण पुरस्कार’ प्रदान गरिनुका साथै भक्तपुर जिल्लाबाट एसएलसीमा नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गरिँदै आएको छ । कार्यक्रममा कविता गोष्ठी त हुने नै भयो । कवितावाचनका लागि आमन्त्रण गर्ने क्रममा केही युवा साथीहरूको टिप्पणी सुनिसकेपछि चक्रपाणिका सन्दर्भमा युवावर्गको बुझाइ र यथार्थबीचमा केही भ्रम सिर्जना भएको हो कि भन्ने बोध हुन थालेको छ । केही साथीहरूको आशय थियो— चक्रपाणि विरुदावली लेख्ने व्यक्ति हुन् । उनी भजनलाल हुन् । उनी प्रशस्ति प्रवक्ता हुन् । आदि, इत्यादि ।

हो, चक्रपाणि ‘श्रीमान् गम्भीर नेपाली...’ बोलको नेपालको पूर्वराष्ट्रियगानका रचनाकार हुन् । पुराना कुराहरूको समीक्षा गर्दा साक्षी पनि पुराना कुरालाई नै राख्नुपर्ने हुन्छ । त्यतिखेरको राजनीतिक र सामाजिक सन्दर्भको पनि ख्याल गर्नुपर्ने हुन्छ । ‘श्रीमान् गम्भीर’ लेखेकै आधारमा उनलाई भजनलाल भन्नु सरासर अन्याय हुन जान्छ । उनका ग्रन्थहरू पढ्दा, उनको जीवनीको अध्ययन गर्दा उनी नेपाली भाषा र साहित्यका एक नि:स्वार्थ साधक हुन् भन्ने कुरामा कुनै 
शङ्का गर्ने ठाउँ देखिँदैन । बरु उनले जीवनमा धेरै हन्डर र गोता खाएका प्रशस्त उदाहरण भेटिन्छन् । आफ्नै नियतिले उनलाई पटक–पटक लखेटेको पाइन्छ । परिवारले रुवाएको र तत्कालीन राजनीतिले सताउनुसम्म सताएको पाइन्छ । 
विसं १९४० को कार्तिक शुक्ल त्रयोदशीका दिन भक्तपुरको कटुन्जेमा चक्रपाणिको जन्म भयो । उनका पिता प्रेमलाल डिठ्ठा थिए । माता चन्द्रमायाको मृत्यु विसं १९४३ मा भयो, जतिखेर चक्रपाणि मात्र तीन वर्षका थिए । यहीँबाट उनको जीवनमा अन्धकार, निराशा र कुण्ठाको प्रवेश भयो । आमाको माया, ममता र रेखदेखबिना नै उनको बाल्यकाल रुमल्लिन थाल्यो । बालापन खाने, खेल्ने रमाउने र पढ्ने उमेर हो । उनको बाल्यकाल भने आँसुमा डुब्न थाल्यो । आमा बितेपछि रेखदेखका लागि चक्रपाणिलाई मामाघर सिस्नेरीमा लगियो । त्यहाँ पनि उनी एक वर्षभन्दा बढी टिक्न पाएनन् । पछि उनलाई ललितपुरको गोदावरी लगियो जहाँ उनको बुढोमावली थियो । करिब चार वर्ष गोदावरी बसेपछि बुवाले उनलाई आफ्नै घरमा बोलाए । त्यतिखेर उनी आठ वर्षका थिए । विसं १९४८ मा चक्रपाणिको व्रतबन्ध र बाबुको बिहे एउटै समयमा भयो । आमाको ठाउँमा सौतेनी आमा आइन् । हाम्रा प्राय:जसो पौराणिक र लोककथाहरूमा आमा बनेर आएका सौतेनी आमाहरूले बच्चाहरूमाथि क्रूरतम व्यवहार गर्छन् । यथार्थ जीवनमा पनि अधिकांश सौतेनी आमाहरूको व्यवहारले बालबालिकाको हृदयमा छुरा रोप्ने काम गर्छ । चक्रपाणि पनि सौतेनी आमाको प्रताडनाबाट मुक्त रहन सकेनन् । सौतेनी आमाको क्रूर पञ्जाबाट मुक्ति दिलाउन चक्रपाणिलाई उनका बुवाले नै कमलपोखरीमा अवस्थित भान्जीको घरमा पठाए । फुटबल मैदानको भकुन्डोझैँ उनको बाल्यकाल घरी मावली, घरी बुढोमावली र घरी फुपूको घरमा हुत्तिन थाल्यो । घृणा र अपमानको सिकार हुँदै बित्न थाल्यो ।
विसं १९५२ मा जब उनी १२ वर्षका थिए तब फर्पिङ भतेरेचौरकी गायत्रीदेवीसित उनको लगनगाँठो कसियो । उनी १९४९ सालमै तीनधारा पाठशालामा भर्ना भइसकेका थिए । यहाँ उनले व्याकरण र वेदान्तको अध्ययन गरेका थिए । यहीँबाट उनको साहित्य लेखनको जग निर्माण भएको थियो । उनी काठमाडौँमै रुमल्लिन थाले । भक्तपुर फर्केर घर व्यवहार धानेर जीवनरथ अगाडि बढाउन उनी उदासीन देखिए । त्यतिखेरका डिठ्ठाका छोरा भएकाले उनलाई बाबुको सम्पत्तिको कुनै कमी हुनु नपर्ने थियो तर त्यसो भएको देखिँदैन । उनी केलटोलमा डेरा गरी बस्न थाले र वरिपरिका साहु–महाजनका छोराछोरीलाई ट्युसन पढाउन थाले । आफ्नो पढाइको स्तरोन्नति पनि गर्नुपर्ने भएकाले १९६२ मा बनारस गए । साहित्यमा उनको रस बसिसकेको थियो । जहाँ पुगे पनि जुन अवस्थामा रहे पनि साहित्य रचना गर्न सक्ने उनको खुबी थियो । १९७० सालमा स्थापना भएको गोरखा भाषा प्रचारक समितिमा उनी जागिरे भए । त्यसपछि उनको साहित्य लेखनको गति झनै तीव्र भएको पाइन्छ । 
चक्रपाणिका भाषा र साहित्य विषयका दर्जनाँै कृति प्रकाशित भएका छन् । उनका अनेक कृति अप्रकाशित छन् । ‘चक्र कविता तरङ्गिणी’, ‘साहित्य मीमांसा’, ‘नेपाली पर्यायवाची कोश’, ‘नेपाली बगली कोश’, ‘मेघदूत छायाँ’, ‘नीतिरत्न मञ्जुषा’, ‘मछिन्द्रनाथको कथा’, ‘नेपाली सङ्क्षिप्त रामायण’, ‘सङ्क्षिप्त भारत’ आदि उनका चर्चित कृति हुन् । उनले लेखेका कृतिहरूको सङ्ख्यात्मक हिसाब गर्ने हो भने चालीसको हाराहारीमा पुग्छन् । नेपाली भाषा, साहित्य र व्याकरणको स्तरोन्नतिका लागि उनले दिएको योगदानलाई कम्ती आँक्न मिल्दैन । 
चक्रपाणिको जीवन दु:ख र शोकले भरिएको थियो । उनले कहिले डेरा त कहिले अरूको घरमा बसेर जीवनरथ घिसारेको पाइन्छ । गोरखा भाषा प्रचारक समितिबाट गोरखापत्रको पु्रफरिडरमा सरुवा गरियो । हेर्दा सरुवाजस्तो देखिए पनि यो एक किसिमको घटुवा थियो । यसरी उनको मानमर्दन गरियो । विसं १९७१ मा उनका प्रथम पुत्रको ८ वर्षको उमेरमा निधन भयो । बाँकी रहेका अर्का एक मात्र पुत्र लक्ष्मीनन्दनलाई १९९७ सालमा बीएको परीक्षा दिने क्रममा उत्तर पुस्तिकामा ‘नपुंसक राणा’ लेखेबापत अंश सर्वस्व हरण गरी आजीवन कारावासको कठोर सजाय सुनाइयो । जेलभित्र चरम यातना दिई मर्ने निश्चित भएपछि जेलमुक्त भएको नाटक गरियो । जेलबाट निस्केको केही दिनपछाडि लक्ष्मीनन्दनको निधन ३२ वर्षको उमेरमा भयो । बिधवा बुहारी र टुहुरा लालाबाला लिएर जीवनको उत्तराद्र्ध गुजार्न चक्रपाणि बाध्य भए । २०१४ सालमा राजा महेन्द्रले दरबारमा बोलाएर ‘तपाईंलाई के चाहिन्छ’ भनी सोधेका रहेछन् । चक्रपाणिको जवाफ यस्तो थियो रे, ‘नेपाली भाषा र साहित्यको सेवा गरेर आफ्नो पूरा जीवन बिताएँ । यस क्रममा अनेक गोता खाएँ । अब यो विक्षिप्त आत्मालाई के चाहिन्छ ? केही पनि चाहिँदैन ।’
चक्रपाणिले कहिल्यै आफ्नो स्वाभिमान बेचेनन् । बरु जीवनभरि आफ्नै दु:खको सारङ्गी रेटे । उनी ‘भजनलाल’ थिए भने तल्कालीन समयमा आफूले सोचेजस्तो पद प्राप्त गर्न अनि चाहे जति पैसा कमाउन उनलाई कसैले रोक्न सक्दैनथ्यो । तर उनले त्यसो गरेको भेटिँदैन । अब तपाईं नै भन्नुस् उनी के थिए ?

प्रकाशित : कार्तिक १८, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?