१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

फर्पिङको ‘चन्द्रबत्ती’

इतिहास
बेलायती इन्जिनियर प्वान्टेले चन्द्रशमशेरको सभामा प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदन बडो रोचक छ । उनले यो काममा जम्मा साढे नौ लाख मान्छे लागेको भनेका छन् ।
अर्जुन पन्थी

काठमाडौं — अहिले बिजुलीसँगको दैनिकी बडो घनिष्ठ छ, तर कैदपूर्ण । लामो रुटमा यात्रा गर्दा केही सवारीले वाइफाई सेवा मात्र हैन, चार्जर घुसार्ने प्लग बनाइदिनुपर्ने बाध्यता बन्दै छ । खानाखाजा खाने ठाउँमा यात्रु ओर्लेपछि अडर गर्नु पहिला प्लग खोज्दै हिँड्नेहरू देखिन्छन् ।

 फर्पिङको ‘चन्द्रबत्ती’

घरपरिवारको कुरै नगरौँ, प्लगकै छेउमा बिस्तरा कसेर राखिएको हुन्छ । हावा जत्तिकै आवश्यकता हो कि दासता, यो बिजुली ? जे भए पनि नभइनहुने चीज भइसकेको छ । तर १९६९ माघको ‘गोर्खापत्र’ पल्टाएर हेर्दा, बिजुली प्रयोग गर्न साहु–महाजनलाई त सरकारले निकै बिन्ती बिसाउनुपरेको थियो । यो पढ्दा साधारण मानिसहरू बिजुलीको दासताबाट स्वतन्त्र थिएजस्तो लाग्छ, गोर्खापत्रकै एउटा अंश यस्तो छ,

‘बिजुलीको पावर चलेको डेढ, दुई वर्ष भइसक्यो र पनि कुनै साहु–महाजनले यसबाट फाइदा उठाउने काम गरेका छैनन्, फगत किसन साहुले सहरभित्र काठ चिर्ने र पीठो पिँध्ने चलाएको थाहा छ ।’
डेढ दुई वर्षसम्म यी महाजनले बिजुली प्रयोग गर्न डराउँदा सरकारलाई कत्रो चिन्ता ? उसलाई त्यही बिजुलीबाट कमाउँला खाउँला भन्ने आशा थियो । तर त्यसको प्रयोग भने न्यून रह्यो । यो लेख संवत् १९६८ मा फर्पिङबाट काठमाडौँमा ल्याई बलेको ‘चन्द्रबत्ती’ को सुरुआती कथालाई त्यति बेलाको गोर्खापत्र पढेको आधारमा लेखेको छु ।
यो नयाँ प्रविधिलाई त्यो बखतमा तामझाम गरेर स्वागत गरिएको थियो । नयाँ बाटोमा पहिलो गाडी गुड्दा बाजागाजा र फूलमाला लगाइदिएर स्वागत गरेजस्तै । तर त्योभन्दा तामझामपूर्ण ।
१९६८ जेठ ९ गते टुँडिखेलमा भएको सभा त्यसको उदाहरण थियो । सभामा बिजुलीलाई स्वागत गर्न डायस घर बनाइएको थियो । डायसको बायाँ पण्डित, मास्टर, बत्तीसकोठीका साहु बस्ने ठाउँ बनाइएको थियो । डायसको उत्तरमा स्त्री बस्ने ठाउँ । त्यो ठाउँमा पुरुषका नाउँमा मुसा पनि छिर्न नपाइने रे । 
‘इज्जत’ प्रधान समयमा बिस्तारै साहु महाजनको पनि हैसियत बढ्दै थियो । पण्डित र मास्टर जत्तिकै इज्जत दिएर साहुलाई पनि बिजुलीलाई स्वागत गर्ने डायस घरमा सँगै राखिएको थियो । पुँजीलाई पनि राज्यले महत्त्व दिएको संकेत थियो । मेरो विचारमा साहुहरूले पनि बिजुली प्रयोग गरेर कर तिरून् भन्ने उद्देश्य सरकारको थियो । कम्तीमा बिजुली भित्र्याउँदा लागेको खर्च उठोस् । 
उल्लिखित सभामा ‘बिजुली बल्छ रे’ भनेर तमासा हेर्नेहरू हस्याङफस्याङ गर्दै टुँडिखेलतर्फ आएका थिए । सभामा सर्वसाधारण नआउने त कुरै थिएन । उर्दी जारी गरेर भए पनि मान्छे जम्मा पार्ने जमाना थियो । तर बिजुली नदेखेका जनतालाई त त्यो सभा उत्साहकै विषय थियो । सरकारका मान्छेहरूले निर्देशित पोसाक लगाएर आएका थिए । जंगीले जंगी, सिभिलले सिभिल र नहुनेले सेतो पोसाक लगाउने उर्दी थियो ।
सर्वसाधारण खचिखचाउ र डायस भरिएपछि क्रमैसँग अतिथिहरू आए । पहिला तत्कालीन श्री ३ महाराणा आए । त्यसपछि श्री ५ महाराजा । त्यसपछि लैनका राजा । लैनका राजा अर्थात् लैनचौरमा बस्ने ब्रिटिस रेजिडेन्टहरू । उनीहरू आफूलाई राजैसरह ठान्थे । नत्र प्रमुख अतिथिजस्तो किन अन्ततिर आउँथे र ? त्यति बेला राणाहरूलाई बिजुली घर बनाउन सामान बेच्नेहरू उनै थिए ।
फर्पिङको बिजुली घरबाट टुँडिखेलको सब स्टेसनसम्म तारबाट करेन्ट ल्याई बिजुली बत्तीहरू साँझपख एकदम बले रे । गोर्खापत्र लेख्छ, ढकमक्कै, ‘सूर्यभक्त फूलहरूझैँ ढकमकाउन थाले ।’ त्यो बिजुलीको नाउँ ‘चन्द्रबत्ती’ थियो । महाराणाहरूले आफ्नो नामको ज्योति फिँजाउन फुर्को जोडिहाल्थे । त्यसैले चन्द्रशमशेरकै नामबाट चन्द्रबत्ती भयो । यसअघि उनका दाजुले काठमाडौँका धाराको नाम वीरधारा, अस्पतालको नाम वीरअस्पताल, तराईको गाउँको नाम वीरगन्ज राखेका थिए । हुन त चन्द्रबत्ती ‘बेलायती बत्ती’ नै थियो, सरसामान र व्यापार बेलायती कम्पनीको भएकाले । तर पैसा नेपालको भएकाले ‘चन्द्रबत्ती’ भने पनि भयो ।
चन्द्रबत्ती बल्दा जनताले के सोचे हुनन् त्यो मेरो कल्पना मात्र हुन्छ । तर गोर्खापत्रले यसलाई ‘श्री ३ का प्रतापले’ भनिरहेको थियो । ‘असम्भव कुरो देख्न भोग्न पायौँ’ भनी लेखेको थियो । 
यो श्री ३ का प्रतापले मात्र थिएन । फेरि नेपालमा असम्भवै पनि थिएन । भारतका विभिन्न ठाउँ र अफगानिस्तानमा पनि बेलायती व्यापारले बिजुली बल्दै थियो । नेपालमा पनि चन्द्रशमशेर ती व्यापारीका गाहकी थिए । फेरि पावर हाउस बनाउन अंग्रेजले पैसा नलिएका पनि होइनन् । सरसामान र प्राविधिक नेपाललाई बेचेका थिए । उनका इन्जिनियरले महँगो मूल्यमा काम गरेका थिए । यही आर्थिक सम्बन्धका आधारमा विश्व साम्राज्यसँग नेपाल एकाकार हुँदै गएको पनि थियो । 
चन्द्रबत्ती बनाउने इलेक्ट्रिकल इन्जिनियर बेलायतका मिस्टर वार्ना ऊ प्वान्टे थिए । नेपाली दक्षताले नपुगेर हो कि, किन हो काम सुरु भएको ३ महिनापछि उनी पनि काममा संलग्न भएका थिए । उनलाई सहयोग गर्ने नेपाली सहायक इन्जिनियर पनि थिए । प्वान्टेले त्यो सभामा चन्द्रबत्तीसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदन बडो रोचक छ ।
उनले यो काममा जम्मा साढे नौ लाख मान्छे लागेको भनेका छन् । मेसिनले काम गर्ने जमाना थिएन । सबै मान्छेले गर्थे । गाडीले सामान बोक्दैनथे । यसको विश्वसनीयता गोर्खापत्रको एउटा उर्दी समाचारबाट पनि देखिन्छ ।
सो समाचारमा भीमफेदीबाट सामान बोक्न जान सरकारले उर्दी जारी गरेको छ । देशावरबाट ल्याएको सरसामान फर्पिङ र काठमाडौँ एकैपटक नल्याए वर्षाले खत्तम पार्छ भनेर घरपिच्छे दुई जना खेताला जाने उर्दी थियो । सो कामका लागि विष्णुमती पूर्व, वाग्मती पश्चिम, बाँसबारी बालाजु दक्षिण, वाग्मती उत्तर यति सिमानाभित्र घर भएका दुनियाँहरू जानैपर्ने थियो । यसरी दुनियाँ नै लागेका हुनाले प्वान्टेले साढे नौ लाख मानिसको अनुमान गरेका होलान् ।
भीमफेदीबाट सरसामान ओसार्न दुनियाँहरू गए–नगएको जाँच्न सरकारले आफ्नोतर्फबाट कारिन्दा नै खटाएको थियो । दुनियाँमध्ये कोही जान नसक्ने भएमा एक जनाको दुई मोहर रुपैयाँका दरले दुई जनाको चार मोहर जम्मा गर्नुपर्ने उर्दी थियो । त्यति बेला एक धार्नी घ्यूको मोल दुई मोहर थियो । भीमफेदीबाट थानकोट आउने भरियाको ज्याला लगभग उस्तै थियो । 
सर्वसाधारणलाई गरिएको यस्तो आदेश ‘हाम्रोमा मात्र हैन अरू मुलुकमा उस्तै हो’ भनी गोर्खापत्रमार्फत् सम्झाउन खोजिएको छ । अरू मुलुकमा नलपानी, सडक बनाउने, सहर सफाइ गर्ने कामका लागि नगरमा बस्नेहरूले पैसा तिर्नुपर्छ । तर काठमाडौँमा ती कामको हरसाल पैसा लागेको छैन । सरकारले पानी ढलको दस्तुर पनि लिएको छैन । त्यसैले पनि ‘तिमी दुनियाँहरूले’ सरकारको काम गर्न भीमफेदी जानैपर्छ, जस्तो आदेश थियो ।
साह्रै गरिब, आफैंले काम गर्न नसक्ने, सट्टा पठाउन नसक्नेलाई चाहिँ छुट थियो । घरमा अरू कोही नभई बिधवा भएकालाई पनि छुट थियो । घरमा कोही नभएका तर ६० वर्षमाथि वृद्ध र १६ वर्षमुनिका बालक मात्र भएकालाई पनि काम नलगाउने उर्दी थियो ।
उर्दी नमान्नेहरूलाई भने कारबाहीको व्यवस्था थियो । त्यसका लागि वाग्मती पुल बन्दाको नजिर देखाइएको थियो । संवत् १८६७ मा वाग्मतीको पुल बन्नेताका उक्त पुलको काममा ‘हाजिर नहुने पूर्वका रैती’ लाई उसबखतदेखि सालबसाल संवत् १९६० को दशकसम्म ‘भार रकम’ तिरिरहेको नजिर देखाइएको छ । ‘पूर्वका रैती’ भनेका भादगाउँले हुन् कि अन्तका हुन् अलि बुझिँदैन । कति तिर्दा हुनन्, जिज्ञासा भए पनि त्यसबारे भने केही लेखिएको छैन ।
यसबाट के बुझियो भने उसबखतमा बेला–बेलामा उठ्ने काममा कतिपय रैती सामेल नहुने पनि रहेछन् । त्यस्तो निरंकुश व्यवस्थामा पनि कसरी अटेर गर्न सकेका होलान् ? यो पनि जिज्ञासाको गर्भमै रह्यो । 
उबेला चन्द्रबत्तीका लागि जनसागर नै उर्लेछन् । काम गर्दा कोही मर्नुपरेनछ । घाउचोट पनि लागेनछ । तैपनि खर्च थुप्रै लागेको देखिन्छ । प्वान्टेको रिपोर्टले सात लाख १३ हजार दुई सय ७३ कम्पनी रुपैयाँ लागेको बताउँछ । त्यसमध्ये झन्डै आधा, तीन लाख ६७ हजार ९८४ कम्पनी रुपैयाँ नेपालमै खर्च भएको भनिएको छ । नेपालमा कुन–कुन विषयमा के कति खर्च भयो भन्ने रिपोर्टबाट खुल्दैन । 
पावरहाउस बनाएको ठाउँमा ठूलो पैह्रो गएर, नजिकैको कुट्ली खोलालाई फर्काउन परेर र पानी जम्मा गर्ने पोखरीमा ठूल्ठूला ढुंगा भेटिएर अलि कष्ट पाउनुबाहेक केही दु:ख भएनछ । एक वर्षायाममा हैजाको बिरामी पनि उठेको रहेछ । रक्सौलबाट नेपालसम्म ज्यादा भारी भएका सामानहरू ओसार्दा पनि दु:ख नभएको होइन । तैपनि सैसलामत काम भयो भनिएको छ ।
संवत् १९६४ मै बिजुली बनाउने योजना बने पनि सुरु हुन सकेको थिएन । त्यसको दुई वर्षपछि १९६६ पुसमा सुरु गर्दा नेपालकै इन्जिनियर कुमारनरसिंह राणा यो बिजुलीबत्तीको योजना बनाएका थिए । काम सुरु भएको तीन महिनापछि १९६६ चैतमा आएका प्वान्टेले नेपाली इन्जिनियरले तयार पारेको डिजाइनमा सामान्य फेरफार गर्दै काम गरे ।
नेपालमा त्यति बेलै पनि सिमेन्टको प्रयोग भएको छ । पानी जम्मा गर्ने पोखरीको पिँधमा इँटा, चुन, सुर्तीका साथमा सिमेन्टको लिवन लगाइएको थियो । २०० फिट व्यास र १८ फिट गैरो पोखरीमा पाँच लाख २८ हजार सात सय ८३ क्युविक फिट पानी अटाउने गरी तयार गरिएको थियो ।
एक मिनेटमा छ सय फेर चक्का घुमेर २५० किलोवाट बिजुली निकालिएको थियो । बिजुली हिँड्ने तारको लम्बाइ ७ माइल थियो । करिब साढे ११ किलोमिटर । कतै सालका खम्बामा कतै स्पातका खम्बामा अड्याई सब स्टेसनसम्म तारबाट बिजुली ल्याइएको थियो ।
यो योजनाबाट २ हजार ४ सय ७ वटा बत्ती राखिने र सडकमा राखिने बत्तीको २६० रुपैयाँसमेत १ हजार ८ सय ८१ कम्पनी रुपैयाँ आम्दानीको अनुमान प्वान्टेले गरेका छन् । एक युनिटको आधा रुपैयाँको दर राखिएको थियो । तर आम्दानी हुने गरी यसको प्रयोग भएको देखिँदैन ।
यसलाई इँटा बनाउने कामलगायत, पिस्ने कल, घट्टका लागि, ढुंगा फोर्ने काममा, बरफ र मीठापानी बनाउने कल, काठ चिर्ने कल, पानी र ढल सफा गर्ने काम, धागो कात्ने र लुगा बुन्ने काम गर्न सकिने बताइएको छ । भारतमा प्रयोग भएको आधारमा यी काम गर्न सकिने भनिए पनि नेपालमा त्यसको उपयोग कति भयो प्रश्न बाँकी नै छ ।
१७ महिना काम गरेर यो बिजुली निकालिएको थियो । त्यस कामको लागि तत्कालीन जनरल पद्मशमशेर अफिसर थिए । मोहनशमशेरले पनि सहयोग गरेका थिए । त्यस्तै केशरशमशेर, सुपरिटेन्डेन्ट इन्जिनियर कुमारनरसिंह राणा, दोभाषेको रूपमा हेमबहादुर, दिलबहादुर थिए । यीबाहेक प्वान्टेले दाबी गरेका साढे नौ लाख व्यक्ति यसमा संलग्न थिए । यसबाट समग्र राज्य नै लागेको देखिन्छ । १७ महिना लागे पनि ३ महिनाको काम त बेलायती इन्जिनियर आउनुअघि नै सकिएको थियो । प्वान्टेबाहेक पनि अर्का एक युरोपेली इन्जिनियर थिए, लिन्च ।
चन्द्रशमशेरले त यो बिजुलीलाई दाउराको गोल पोल्न प्रयोग गरिने बताएका थिए । काठमाडौँमा दाउराको अभाव भएकाले । उनको योजना खानेपानीको कल राख्ने पनि थियो । यस काममा प्रयोग भयो भएन जान्न बाँकी नै छ ।
त्यति बेला लन्डनदेखि कलकत्तासम्म बिजुली जडान गर्ने सरसामान ल्याउँदाको जहाज भाडा, एजेन्टको कमिसन र प्याकिङ खर्च २८ हजार ६ सय ९९ कम्पनी रुपैयाँ भए पनि त्योभन्दा बढी खर्च कलकत्तादेखि भीमफेदी ल्याउँदाको भएको छ । त्यो ४० हजार ३११ कम्पनी रुपैयाँ परेको थियो । अझ त्योभन्दा बढी खर्च त भीमफेदीदेखि काठमाडौँसम्म ल्याउनलाई भएको थियो । त्यो खर्च ४० हजार ३७२ कम्पनी रुपैयाँ थियो । आठ हजार कम्पनी रुपैयाँ बचत भए पनि सानामसिना कामहरूका लागि प्रयोग भएको थियो । नेपालमा भन्दा बाहिर नै आधाभन्दा बढी पैसा खर्च भएको छ । नेपालमा भएको खर्चमा पनि सरसामानको हिसाबकिताब जोडिएजस्तो देखिन्छ । ज्याला मजदुरीको छुट्टै गणना छैन । त्यसैले मेरो विचारमा यो बेलायती कम्पनीको व्यापार पनि थियो । यो विकास मात्र थिएन ।
नेपालमा यो बेलायती वा विदेशी ‘व्यापार–विकास’ प्रवेशको एउटा उदाहरण थियो । सरसामान पनि बेलायतबाटै ल्याएर जडान गरिएको थियो । काममा लागेको धेरै पैसा त प्रविधि र प्राविधिक नाममा बेलायततिरै फर्केको रहेछ । 
त्यत्रो लगानीबाट बनाइएको बिजुलीको आम्दानी महिनाको १ हजार ८ सय ८१ कम्पनी रुपैयाँ भनिए पनि त्यति बेला बिजुलीको क्षमतालाई प्रयोग गर्न सकिएको छैन । माथि नै भनेभैँm डेढ दुई वर्ष बित्दासम्म किसन साहुले बाहेक अरूले बिजुलीबाट काम गरेनछन् । बिजुलीले असर गर्छ भनेर मान्छेहरू यसको प्रयोग गर्न डराएछन् । त्यसैले त ‘महाभारतका कथाहरूमा प्रयोग हुने वाणको ताकत बिजुलीका वेगले नै हो’ भन्दै गोर्खापत्रले ताकतिलो व्यापारी बन्न बिजुली प्रयोग गर्नुपर्ने बिलौना पोखेको छ ।
जादु नै ठानिने भएकाले पनि त्यति बेला बिजुलीको प्रयोग सर्वसाधारणसम्म पुगेन । उनीहरूको दैनिकीसँग यो अभ्यस्त हुन सकेन । मान्छे हातैले सबै काम गर्न सक्ने बेला थियो । घरमा घण्टी बजाउन काम लाग्नेजस्ता आरामदायी उदाहरण त्यति बेला रुचिको विषय थिएन । यो तत्कालीन राणा परिवार तथा भारदारहरूका लागि उपयोगी भए पनि सर्वसाधारणका लागि थिएन । यसबाट प्रविधि सुरुमा महँगो खर्चमा भित्र्याए पनि त्यसलाई सर्वसाधारणले प्रयोग गर्दैनन् भन्ने निचोड निकाल्न सकिन्छ । अरू प्रविधिमा पनि यस्तै हो । बरु बिस्तारै यसले सर्वसाधारणलाई पनि चेप्दै जान्छ । व्यापारको दायरा बढाउँछ ।
उति बेला सर्वसाधारण शासकका वेगले उनीहरूका दास थिए, तर बिजुलीको दासतामा पस्न डराइरहेका थिए । त्यसबाट स्वतन्त्र थिए । अहिले शासकबाट तुलनात्मक स्वतन्त्र भए पनि बिजुलीको वेगले त्यसका दास भएका छन् । बिजुलीले मात्र होइन अन्य वस्तुहरूले पनि दास बनाएका छन् । वस्तुको दासले व्यापारको चक्र फराकिलो बनाएको छ ।

[email protected]

प्रकाशित : कार्तिक १८, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?