१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

किताब बेच्ने च्याप्टरभित्र

संस्मरण
टंक चौलागाईं

काठमाडौं — टुँडिखेलपछाडिको बाटोले वीर अस्पतालतिर डोहोर्‍याइरहेको थियो । हतारको मेरो लय भत्कियो जब पाइलाहरू भीडकै गति समाउन बाध्य भए । चर्काे घाममा कसैले छाता ओढेका थिए । भीड अनि छाता † छाताभित्रका जोडीको शंखेकीराझैं चिप्ल्याइ । कस्तो दिग्दारलाग्दो । अलि–अलि धूलो पनि उडिरहेको थियो ।

 किताब बेच्ने च्याप्टरभित्र

मेरा आँखा बेच्नलाई फिँजारिएका पुराना किताबहरूमा पुगेर अडिए । जतिसुकै हतार भए पनि किताबले ध्यान तान्छ नै † आफ्नो किताब ‘टालाटुली’ लाई बिक्रीका लागि राखिएको पुराना किताबहरूको चाङमा देखें । धूलोमैलोले मृतझैं !
किताब उठाएँ । फुक्दा केही धूलो त उड्यो । जतनसाथ एक पाना पल्टाएर भित्र हेरेँ । आफ्नो हस्ताक्षर नदेखेपछि निर्धक्क भएँ । आफैंले लेखेको किताब किनें जसमा धूलोको गन्ध थियो ।
***
‘किताब बेच्ने च्याप्टरभित्र’ प्रवेश गर्नुअघि, ‘एसएलसी पास भएपछि आरएनएसीको पर्खालमा पुग्नुअघि’ सम्मको अकस्मात आएको संक्षिप्त ‘फ्ल्यासब्याक’ को दृश्यलाई प्रवेशाज्ञाका रूपमा स्वीकार गर्नैपर्ने भयो— एसएलसी बल्लबल्ल उत्तीर्ण भएपछि फलामे ढोका खुल्यो । यो नै ठूलो उपलब्धि हो भन्ने सोचाइ थियो परिवारमा । आर्थिक अवस्था भ्वाङ परेको थियो नि त † कामको खोजी तीव्र गतिमा हुन थाल्यो । बसाइँ सरेर आएको ठाउँ, ऋण लिएर बनाएको घर, झोल र भात बिहान–बेलुकाकै मुख्य मेनुमा पर्दथ्यो ।
बिहान क्याम्पस पढ्ने दिउँसो काम गर्ने निर्णय परिवारका दुई सदस्य भेलाले पारित गर्‍यो । मैले टाउको हल्लाएर सहमति जनाएँ । बुवा मलाई डोहोर्‍याएर रायमाझी बूढाले सुझाएको कोटेश्वर क्याम्पस खोज्न हिँड्नुभयो । कमर्स पढ्ने लहर चलेको रहेछ †
एउटै टोलका सञ्जीव सिलवाल, दीपक थापा, कुमार खत्री, दिलीपप्रताप राणा हामीले कोटेश्वर क्याम्पस रोज्यौं । गान्धी स्कुलबाट एसएलसी पास गरेका थियौं । बिहानै पाँच बजे घरबाट हिँड्थ्यौं, फटाफट हिँड्दा एक घण्टा लाग्थ्यो क्याम्पस पुग्न । घर फर्किने बेलामा पनि पैदल नै फर्किन्थ्यौं ।
मैले कामको मेलो समाएपछि उनीहरूसँगको आत्मीयता छुट्यो । एक घन्टी पढाइ छोडेर साइकलको पांग्रा नघुमाए ठूलो डिक्चीभित्रको पानीमा पस्मिना घुमाउन पुग्दैनथें ।
पस्मिनामा रंग लगाउने काम गरें, पस्मिना त धेरै रंगाएँ आफ्नो जीवन रंगिएन † कमर्सका किताबमा लाख, करोडका हिसाब हुन्थे तर पैसा कमाउने सूत्र हुँदैनथ्यो † एउटा मोटर वर्कसपमा हेल्परको काम पाएँ, चुलोको गरिबी मर्मत गर्न त्यो कामले ‘हेल्प’ गरेन ।
***
‘हेर जाबो टंक्या जति पनि बुद्धि छैन तिमेरको, ऊ किताब बेच्न थालेछ †’ रायमाझी बा दमको ओखती मुखमा ख्यास–ख्यास पारिसकेपछि आफ्ना नातिहरूलाई सम्झाउँथे । थर्ड डिभिजनमा पास हुँदा पनि रायमाझी बा मलाई आफ्नो उदाहरणको पात्र बनाउँथे आफ्ना नातिहरू अनि टोलका केटाहरूलाई सम्झाउँदा ।
किताब बेच्न आफूसँगै लिएर हिँड्ने पढन्ते कमल दाइ हुन् । उनीसँग भएका मधुपर्क, मुना, साधना, युवामञ्च, हिन्दी उपन्यासहरूको संग्रहले कोठा भरिएको थियो । आफ्नै भोकमरीको कथा अगाडि मलाई त्यस्ता किताब, पत्रपत्रिका पढ्नतिर ध्यान नै गएन । ती किताबहरू पढेर भोक मेटिन्छ ?
उनी सुन्धारा आरएनएसीको पर्खालमा पुराना किताब बेच्ने काम गर्दा रहेछन् † काममा सघाउने ‘अफर’ लाई मैले ‘बम्पर अफर’ ठानेर स्विकारिसकेको थिएँ । अनेक हन्डर खाएपछि पाएको ‘लेटेस्ट’ काम थियो यो । उनीसँगै मिलेर किताब बेच्ने काम सिक्न थालेँ । मध्यसहरमा थरी–थरीका मानिसहरू भेट हुने हुनाले यो काममा म रमाएँ ।
काठमाडौं मलअगाडिदेखि आरएनएसीसम्म पर्खालको सबै भाग किताबले भरिएको हुन्थ्यो । एक बित्ता जतिको भागमा किताबहरू मिलाएर राख्नुपथ्र्याे । एक जना रामेछापका दाइ उनी परिवारसहित नै किताब बेच्न बस्थे । एक जना वृद्ध पनि थिए, गुप्ताजी । अरू पनि थिए अस्थायी व्यापारी ।
पुराना किताबहरूको बिक्री राम्रो थियो । अंग्रेजी र हिन्दी चलचित्रका हिरोइनहरूको फोटो भएको ठूलो–ठूलो पत्रिकाहरू एक नम्बरमा बिक्री हुन्थे । ‘सत्य कथा’, ‘तथ्य कथा’ दुई नं. मा पर्दथे । मोटा–मोटा हिन्दी उपन्यासहरू, ‘साधना’, ‘कामना’, ‘रिडर्स डाइजेस्ट’ पनि मान्छेहरूले खोजी–खोजी किन्थे । कमिक्सहरू मान्छेले धेरै पढ्थे । वेदप्रकाश शर्माको मोटा–मोटा उपन्यासहरू मानिसले कति छिटो पढेर सक्ने हुन् † पढिसकेको भोलिपल्टै बेच्न ल्याइहाल्थे ।
अहिले मैले निकै खोजी गरेर भेटेको ‘जंगबहादुर’ उपन्यास त्यो बेला धेरै बेचेको थिएँ । त्यति बेला मलाई पढाइको रस बसेको थिएन ।
रिमाल थर भएका एक वृद्ध थिए हाम्रा नियमित ग्राहक । घर डिल्लीबजार भन्थे । एक झोला किताब किनेर लान्थे र दुई दिनभित्रै सबै किताब फिर्ता ल्याइदिँदै भन्थे, ‘आफूले मात्रै पढेर हुँदैन । ज्ञान भनेको सबैले पाउनुपर्छ, खै कुरा बुझेको ।’ उनको किताब बोक्ने आफ्नै झोला थियो । झोलामा बट्टाभित्र चस्मा राखेका हुन्थे । सानो सेतो अर्काे बट्टामा ल्वाङ हुन्थ्यो । बेला–बेलामा ल्वाङ क्याप्प मुखमा हाल्थे । उनले ल्याएको किताबमा ल्वाङको बास्ना आउँथ्यो । उनको बोल्ने शैली रमाइलो थियो । बोलेको कुरा उदाहरणसहित बुझाउँथे । उनी नेपाली पढाउने शिक्षक हुँदा हुन् ।
‘पढाइले नै मानिसलाई सचेत बनाउँछ । मान्छे सचेत भएपछि के हुन्छ त ? ...समाज समृद्ध बन्छ, खै कुरा बुझेको !’
उनी पर्खालमा राखेका किताबहरूमध्येबाट खोजी–खोजी छान्थे । किताब छान्दा भित्रका चार पाना पढेकै हुन्थे । अघिल्लो दिन हेरिसकेको किताब पनि ध्यान दिएर हेर्थे भोलिपल्ट । उनको किताब हेराइले मलाई लाग्थ्यो, किताबका पानामा पढ्ने कुरा हरेक दिन फरक हुन्छ । ‘पढ्ने कुरा एउटै हो । तर फरकचाहिँ तिम्रो मुडले पार्छ । तिमी जुन रसमा छौ, किताबमा त्यही रस भेट्छौ । रिसाएको मुडमा जतिसुकै फ्यान्टासी पढ, रमाउन सक्दैनौ । रमाइलो मुडमा जतिसुकै खराब किताब पढ, रिस उठ्दैन । खै कुरा बुझेको †’ साँच्चै म उनको कुरै बुझ्दैनथेँ ।
उनले किताब किन्दा थोरै पैसा दिन्थे । धेरै खोजी गरेको किताब पाउँदा जति पनि पैसा दिन्थे । उनले खोजेका विशेष किताबहरू दाइले ल्याइदिन्थे । त्यस्ता किताबहरू उनी पढिसकेर बेच्न फिर्ता ल्याउँदैनथे ।
किताब पढ्ने नियमित ग्राहक अरू पनि हुन्थे । एक जना विदेशी नागरिक थिए । माहुरी चाकामा बसेकोजस्तो देखिने कालो, चिल्लो, छोटो कपाल, कालो अनुहारमा सेता आँखा, अग्लो कद उनको परिचय थियो । गोल्डेन रंगको फ्रेम भएको चस्मा लगाउँथे । केही बोल्दैनथे । भएभरका अंग्रेजी पत्रिका जति हेर्दै नहेरी उठाउँथे । भनेकै पैसा दिन्थे ।
पछि उनी गुप्ताको नियमित ग्राहक बने । गुप्ताले नयाँ–नयाँ, महँगा अंग्रजी पत्रिकाहरू लिएर आउँथे । हाम्रोभन्दा उनको व्यापार चौबर थियो । त्यस्ता नयाँ अंग्रेजी पत्रिकाहरू पाउने ठाउँ उनले हामीलाई कहिल्यै बताएनन् । हामी भने भृकुटीमण्डप पुराना किताब पसलबाट किताबहरू ल्याउँथ्यौं । कहिले कबाडीहरूकहाँबाट उठाउँथ्यौं ।
बिहानको खाना खाइसकेर रिमाल ल्वाङको बास्ना चलाउँदै हातमा किताबको झोला बोकेर आए । किनेर लगेका पढिसकेका किताबहरू पर्खालमाथि खन्याए । हर्र ल्वाङ बसायो ।
हामी दुई जना बस्ने हुनाले पर्खालको लामो क्षेत्रफल ओगटेका थियौँ । युवतीका अर्धनग्न भएका किताबहरू, पत्रिकाहरू देखे भने सडक बालकहरूले चोरेरै छोड्थे । म भर्खरै बोराबाट किताबहरू झिकेर मिलाउँदै थिएँ ।
‘बुहुनी गरिस् त केटा ?’ रिमालको सोधाइमा ठट्टाको शैली थियो ।
‘छैन, भर्खरै आएँ ।’ उनीतिर नहेरी जवाफ दिएँ । हिँडेको आवाज, उनको शरीरबाट आउने ल्वाङको बास्ना, उनको कद नै परिचय थियो ।
‘तिमी आफू पढ्दैनौ ?’ रिमाल वेदप्रकाश शर्माको उपन्यासको पाना पल्टाउँदै रहेछन् †
‘कमल दाइ पढ्नुहुन्छ ।’ मैले दिएको जवाफ यही थियो ।
‘दाइले पढेर भाइलाई हुन्छ ? दाइले खाएर भाइलाई हुन्छ ?... खै कुरा बुझेको † पढ्ने ...आफू पनि लेख्ने गर्नुपर्छ । नेपालमा लेखक नै छैनन् ...पढे पनि देवकोटा नपढे पनि देवकोटा ...सुम्सुम्याए पनि बीपी, छोडे पनि बीपी । मन परे पनि रिमाल नपरे पनि रिमाल । समजीका नाटकहरू थोरै छन् । म पनि लेखक हुँ, खै कुरा बुझेको ?’ मलाई रिमालको उपदेशभन्दा ल्वाङको बास्ना मन पथ्र्याे । मैले किताबहरू मिलाइसकेको थिइनँ । उनको कुरा मैले केही पनि बुझिनँ । मलाई उपदेशसँग भन्दा किताबको बिक्रीसँग मतलब थियो ।
‘यी यो मेरो किताब हो पढ ।’ उनको हातमा एउटा किताब थियो ।
‘तपाईँसँग अरू किताब छैनन् ? यति मात्रै हो ? सबै दिनु न घरमा किन राख्नुपर्‍यो ?’ मैले उनको हातको किताब हेर्दै नहेरी भनें ।
‘बुद्धि नभएको † यो मैले लेखेको किताब हो के । म लेखक हुँ । ...बेच्ने हैन नि † ...पढ्नुपर्छ, खै कुरा बुझेको ।’ उनले आफूले लेखको किताब मलाई दिए । समाएर हेर्दै नहेरी एक ठाउँमा राखेँ । उनी आफूलाई चाहिने किताब छान्दै थिए ।
‘नासो देख्याजस्तो लागेको थियो हिजो ...लगेछन् ? नासो जतिपटक किनेर लग्यो उतिपटक हराउँछ । हाम्रो समयको उत्कृष्ट किताब हो त्यो ।’ उनले एउटा किताबबारे बताए।
‘अँ, गयो होला ।’ मैले अरू कुरा बताउन सकिनँ ।
उनी आफूलाई चाहिने किताब छानिसकेर बाटो लागे । जति मन लाग्यो त्यति पैसा दिन्थे । यो इमानदारीको हिसाब हो ।
रिमालले दिएको आफूले लेखेको किताब त्यही दिन बिक्री भएछ !
‘मैले लेखेको किताब पढेको हो ?’ उनले हरेक दिन सोध्न थाले ।
‘घरमा राखेको छु, फुर्सद हुनेबित्तिकै पढ्ने भनेर ।’ मैले ढाँटें ।
‘पढ्न मन लाग्ने भए त किन यस्तो किताब बेचेर बस्नुपथ्र्याे । खै कुरा बुझेको ?’ निकै दिनपछि बूढाले गाली गरे । बूढा अन्तर्यामी नै रहेछन् † हो मलाई पढ्न मन नै लाग्दैनथ्यो । कमिक्सको चित्रचाहिँ मन पथ्र्याे ।
***
दिनमा दुईपटक नगरपालिकाका प्रहरी आएर हामीलाई त्राही–त्राही पारिदिन्थ्यो । प्रहरी रिझाउने जिम्मा गुप्ताले लिएका थिए । सबैको नेतृत्व गर्दै उनी पैसा उठाएर त्यो एरियामा घुम्न आउने प्रहरीलाई दिन्थे । हामी पैसा दिँदैनथ्यौं । प्रहरी आएको थाहा पाएपछि किताबहरू बोरामा कोचेर भागिहाल्थ्यौं । यसका लागि निकै सचेत रहनुपथ्र्याे । यदि प्रहरी आइपुगिहाल्यो भने गुप्ताले बिस्तारै भाग्ने समय पाउँथे । हामी पैसा नदिनेले पाउँदैनथ्यौं ।
कमल दाइ खुब पढ्थे । मचाहिँ पढ्दिनथेँ । राम्रा लागेका किताबहरू उनले आफू नपढी बेच्दैनथे । केही किताब नबेची आफ्नो घर लान्थे । ‘टंकसँग मेरो कुरै मिल्दैन, कमल खै कमल ?’ रिमाल आउनेबित्तिकै दाइलाई खोज्न थाले । मेरो नपढ्ने बानीले उनीसँगको दूरी बढायो ।
वर्षाको समयमा हाम्रो किताब पसल बन्द हुन्थ्यो । रिमाल किताब लिन दाइको घरमै आउँथे ।
तिहारपछि भर्खरै किताब पसलमा चहलपहल सुरु भएको थियो । छठ मनाउन गएका गुप्ता फर्किएका थिएनन् । चार बजेतिर किताब पसलमा प्रहरी आइपुग्यो, अलि भीड थियो । म पसलमा एक्लै थिएँ । मेरै पसलअगाडि ल्याएर गाडी रोकेछ †
नगरपालिकाको गाडी देख्नेबित्तिकै किताब बोरामा हाल्न थालेँ । कहिलेकाहीँ किताब बोरामा हाल्न थालेपछि छोडिदिन्थ्यो, त्यस दिन छोडेन । चार जना आएर किताब उठाए । उनीहरूको गाडीमा हाल्न थाले ।
‘सर छोडिदिनु न, अबदेखि राख्दिनँ । धरोधर्म राख्दिनँ । सर भोलिदेखि देख्नुभयो भने जे गर्नुहुन्छ गर्नुस् ।’ मैले प्रहरीको खुट्टा समाएँ । उनीहरूको कृत्य रोकिएन । भएभरका सबै किताब गाडीमा हाले । मैले उठाएर पोको पारेको बोरा पनि गाडीमा हाले । एकै छिनमा रमिते मान्छेहरू जम्मा भइहाले ।
म पनि गाडीमा बसेँ । गाडीमा किताबैकिताब थियो । कुनै किताब च्यातिएका थिए । गाडी गुडेपछि हावाले च्यातिएका पानाहरू उडायो ।
‘जा, अब किताब पाउँदैनस् ?’ गाडी बग्गीखानामा पुगेपछि एउटा प्रहरीले मेरो खल्तीभित्र भएको पैसा झिक्न हात हाल्दै भन्यो । बाहिरबाट जति बेस्सरी थिचे पनि खल्तीभित्रको पैसा बचाउन सकिनँ ।
किताब भित्रतिर कता लग्यो । म त्यही उभिरहेँ । साँझ थाहा पाइसकेपछि दाइ आए ।
किताब फिर्ता पाउन हामी दुवैले निकै अनुरोध गर्‍यौं । दिएनन् ।
‘तिमीहरू गरिबमारा ...घुस्याहा हौ । घूस दियो भने छाडिदिन्छौ ।’ कमल दाइ बेस्सरी सन्किए । उनलाई सबैले सन्काहा भन्थे ।
‘के भनिस् मु... फेरि भन् त ।’ एउटा प्रहरीले उठेर दाइलाई घिसार्दै भित्र कोठामा लग्यो । लात्तै लात्ताले हान्यो । ‘फेरि घुस्याहा भन्छस् ?’ दाइको नाकबाट रगत आयो । जति पिटाइ खाए पनि दाई कराउन छाडेनन् । ‘हो, पैसा दिनेलाई तिमीहरू केही गर्दैनौ, म पैसा दिन्नँ भनेर तिमीहरूले यसो गरेको । ममाथिसम्म कुरा गर्न सक्छु । के मार्छौ मलाई तिमीहरू ?’ दाइको आक्रोश सेलाएन बरु पिट्दापिट्दा उनीहरू थाके । म डराएर ढोकामा कामिरहेको थिएँ ।
***
पछि कमल दाइले संकलन गरेका सबै किताब जलाए । आफ्नो नागरिकता, स्कुलका प्रमाणपत्रहरू पनि जलाए । किताब बेच्ने ‘च्याप्टर’ सधैंका लागि बन्द भयो । मेरो रोजगारी त्यही किताब जलेको धूवाँसँगै चट् भयो ।

प्रकाशित : आश्विन २१, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?