२५० वर्षका २५

आधुनिक नेपाल राज्य निर्माण सुरु भएयता समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका प्रतिनिधि पात्रहरू
पुरुषोत्तम सुवेदी

विश्वमा विरलै देश यस्ता छन्, जसको क्यालेन्डरमा ‘राष्ट्रिय स्वतन्त्रता दिवस’ छैन । हामी तिनैमध्येमा पर्छौ, जो कहिल्यै पराधीन भएनौं । तर नागरिक स्वतन्त्रताका लागि आफ्नै देशका शासकविरुद्ध भने हामीले पटक–पटक लड्नुपर्‍यो ।

२५० वर्षका २५

यो भूखण्डका अन्य कैयौं मुलुकहरूले जस्तो सार्वभौमसत्ता गुमाउनु नपरेको गौरव पनि हामीलाई उपलब्ध छ । यो बिनाकसैको कर्म वा ‘आफ से आफ’ प्राप्त भएको चाहिं होइन । यसका पछाडि कैयौं व्यक्तित्वहरूको योगदान छ । कैयौंको बलिदान जोडिएको छ । यसरी राष्ट्र निर्माण गर्न योगदान दिने तिनै असंख्य व्यक्तिहरूमध्ये केही प्रतिनिधि पात्रहरूलाई सम्झने प्रयत्न हो— कोसेलीको यो विशेष अंक ।
नेपाली राज्यको सयौं वर्षे इतिहास धान्ने धरोहरहरू सबैको नाम अखबारका केही पृष्ठमा एकैपटक अटाउन सम्भव छैन । त्यसैले आधुनिक नेपाल राज्य निर्माण सुरु भएयता समाजका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका केही प्रतिनिधि पात्रहरूलाई हामीले यहाँ समेटेका छौं । अर्को साता पृथ्वीनारायण शाहले तत्कालीन कान्तिपुर राज्य जितेर आधुनिक नेपालको जग हाल्न थालेको २ सय ५० औं वर्ष प्रवेश हुँदै छ । उसबेला पृथ्वीनारायणले मुलुकको एउटा भौगोलिक प्रारूप कोर्ने काम गरेका थिए । त्यो ‘हार्डवेयर’ मा समयक्रममा ‘सफ्टवेयर’ हरू थप्दै जाने काम अरू कैयौं सपूतहरूले गरे । तिनैको सत्कर्मको फल हो आजको नेपाल । यहाँ हामीले यही २ सय ५० वर्षका २५ प्रतिनिधि कर्मवीरहरूको योगदानलाई सम्झेका हौं ।
पक्कै पनि, विकसित मुलुकहरूको दाँजोमा हामी आधुनिक विकासको सवालमा निकै पछाडि परेका छौं । मतलब यो होइन कि हामीले कत्ति पनि पाइला चालेका छैनौं । अकण्टक स्वतन्त्र राष्ट्रका रूपमा मात्र होइन, राजनीतिक तथा सामाजिक जागरण र नागरिक चेतनाका दृष्टिले हामी उत्तिकै अगाडि छौं । गत नोभेम्बरमा अमेरिकामा ४५औं राष्ट्रपति पदको निर्वाचनमा हिलारी क्लिन्टन पराजित भइन्, विश्वकै शक्तिशाली लोकतन्त्रले फेरि पनि पहिलो महिला राष्ट्रपति पाउने अवसर गुमायो । हामीले भने त्यसको एक वर्षअगावै विद्यादेवी भण्डारीलाई गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित गरिसकेका थियौं । संसद्मा महिला प्रतिनिधित्वका सवालमा हामी दक्षिण एसियामै अग्रस्थानमा छौं । गणतान्त्रिक नेपालको संविधानले राजनीतिक अधिकारहरूको मात्र सुनिश्चितता गरेको छैन, शिक्षा र स्वास्थ्यलाई पनि मौलिक हकका रूपमा स्थापित गरेको छ । प्राथमिक विद्यालय भर्नाको समुदायगत अन्तर निरन्तर घट्दै छ । यी त प्रतिनिधि उदाहरण मात्र हुन्, अरू कैयौं सवालमा हामी प्रगतिपथमा छौं । 
यी सब उपलब्धि एकाएक सम्भव भएकाचाहिं होइनन् । यहाँसम्मको बाटो पहिल्याउनमा ज्ञात–अज्ञात असंख्य व्यक्तित्वहरूको प्रेरणादायी भूमिका छ । इतिहासमा नाम अंकित भइसकेकाहरू मात्र होइन, इतिहासले भुलेकाहरूको योगदानलाई पनि सम्झेर कदर गर्नु हाम्रो दायित्व हो । हामीलाई थाहा छ, राष्ट्र निर्माणको महाभियान सामूहिक योगदानको प्रतिफल थियो । त्यस क्रममा समाजका विविध क्षेत्रको अगुवाइ गरेका व्यक्तित्वहरूमध्येबाट हामीले केही अनुहारहरू यहाँ प्रस्तुत गरेका छौं । चाहे सामाजिक आन्दोलन होस् या प्रगतिशील आन्दोलन, सबैका नेतृत्वकर्तामध्ये हामीले केहीलाई मात्र समेट्न सकेका छौं । यस्तै, भाषा साहित्य र अन्य बौद्धिक फाँटमा योगदान पुर्‍याएका पनि केहीलाई मात्र स्थान दिन सकेका छौं । अर्थतन्त्र, समाजसेवा र अन्य थुप्रै क्षेत्रमा योगदान दिनेहरूमध्येबाट पनि हामीले केही प्रतिनिधि पात्रलाई मात्र अटाउन सकेका छौं । 
हामीलाई विश्वास छ, विद्रोही अभियन्ता योगमायालाई सम्झिँदा राणा शासनको परिधिभित्र पनि सामाजिक सुधारका कार्य गर्ने प्रधानमन्त्री चन्द्रशमशेरप्रति पनि न्याय हुनेछ । लौहपुरुष गणेशमान सिंहलाई सम्झिँदा सँगै लामो आन्दोलन लडेका कृष्णप्रसाद भट्टराईको पनि कदर हुनेछ । मदन भण्डारीलाई सम्झिँदा पुष्पलाल श्रेष्ठदेखि मनमोहन अधिकारीसम्मको पुस्तालाई सम्मान पुग्नेछ । साहना प्रधानलाई सम्झँदै गर्दा साधना अधिकारी र मंगलादेवीदेखि शैलजा आचार्यप्रति पनि कृतज्ञता झल्कनेछ । रामसागर–रामस्वरूपलाई सम्झिँदा बालगुरु षडानन्दप्रति पनि आदर पुग्नेछ । प्रथम सहिद लखन थापाको नाम लिँदा राणाकालका चार सहिद हुँदै दुर्गानन्द झादेखि रत्नकुमार बान्तवासम्मको पुस्ता समेटिनेछन् । रामलाल गोल्छाको योगदान खोतल्दा मणिहर्ष ज्योतिदेखि जुद्धबहादुर श्रेष्ठसम्मलाई सम्मान दिइएको ठहर्नेछ । महेशचन्द्र रेग्मीको विपरीत धारको प्राज्ञिक योगदान केलाउँदा डोरबहादुर विष्टको भूमिकालाई पनि स्मरण गरेको रूपमा बुझिनेछ ।
सूची बनाउँदै जाने हो भने इतिहासमा यस्ता थुप्रै नामहरू भेटिन्छन्, जो उत्तिकै स्मरणीय र बन्दनीय छन् । यी सबैका प्रतिनिधि पात्रका रूपमा मात्र हामीले यहाँ २५ व्यक्तित्वहरूलाई अगाडि सारेका हौं । हाम्रो अपेक्षा छ, आधुनिक नेपालको निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याइआएका अरू थुप्रै नामहरूमाथि भविष्यमा थप बहस हुँदै जानेछ । नेपाल निर्माताहरूको नाम थपिँदै आउनेछ । कान्तिपुरको यो प्रयास यस क्षेत्रमा एउटा थालनी मात्र हो । 

 

प्रकाशित : आश्विन ७, २०७४ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?