कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पूर्णाड्ढ ३० !

पुस्तक अंश
गीत/सङ्गीत, हास्यव्यङ्ग्य र अभिनयको चार दशकभन्दा लामो यात्रामा कैयौं काम गरियो । धेरैजसो काम गुपचुप गरियो, त्यसको नतिजा मात्रै दर्शकसामु ल्याइयो । तर, उमेरको उत्तराद्र्धमा केही काम सबैलाई थाहा दिन मन लागेको छ ।
मदनकृष्ण श्रेष्ठ

आफूले आफैंंलाई मूल्याङ्कन गर्दा स्कुले जीवनमा म पढ्ने खालकै विद्यार्थीको पङ्क्तिमा पर्थेंजस्तो लाग्छ । तर, पढाइका लागि घरको वातावरण, घरदेखि स्कुलसम्मको दूरी, आर्थिक अवस्था, परिवारको व्यवहार र आफ्नो पढ्ने क्षमताले विशेष असर पार्छ ।

पूर्णाड्ढ ३० !

मेरो स्कुले जीवनमा पनि यस्तै एकाध कुराले धेरै असर पारे । त्यसैले मेरो स्कुले जीवन ध्वस्तै थियो । 

हुन त सुरुमा एक क्लास मेरो मन्टेस्सोरी स्कुलबाट सुरु भयो । सुरुआत राम्रै थियो । मैले पढ्ने मन्टेस्सोरी स्कुल जमलस्थित विश्वज्योति सिनेमा हलअगाडि रानीपोखरीछेउमा थियो, जुन दरबार स्कुलकै डिजाइनमा बनेको दुईतले भवनमा सञ्चालित थियो । धेरै वर्षपछि त्यही भवनमा क्षेत्रीय अदालतको साइनबोर्ड झुन्डिएको देखेको थिएँ । 
मन्टेस्सोरी स्कुलमा पढ्दा मैले गुरुआमा नै भाग्न पर्ने गरी एकपछि अर्को, अर्कोपछि अर्को प्रश्नहरू लगातार सोधेको सोध्यै गरेको थिएँ रे भनेर बाले १२/१५ वर्षपछिसम्म पनि अरूलाई सुनाएर हाँस्नुहुन्थ्यो । मैले मन्टेस्सोरीमा कति महिना पढें ? मलाई केही सम्झना छैन । त्यसबेला हामी यट्खाटोलको एउटा घरमा भाडामा बसेका थियौं, जुनबेला म पाँच वर्षजतिको थिएँ होला । 
त्यसबेला बाटोमा कहिलेकाहीँ एउटा गाडी गुडेको देख्थें । त्यसैगरी फाट्टफुट्ट एक दुईपल्ट मोटरसाइकल हुइँकिन्थे । तिनको आवाज परपरसम्म सुनिन्थ्यो । गाडीको आवाज सुन्नेबित्तिकै हामी केटाकेटी झ्यालझ्यालबाट टाउको निकालेर हेथ्र्यौं । 
त्यतिबेला हाम्रो घरमै आफ्नै उलिन काठ थियो, जसलाई दुई जना भरियाले बोक्नुपथ्र्यो । एकपटक 
यट्खाटोलबाट उलिन काठमा बसेर जितपुरफेदी जाँदा हजुरआमासँगै म पनि उलिन काठबाट भुइँमा खसेको दृश्य भने अहिले पनि बेलाबेलामा सम्झना हुन्छ । त्यही यट्खाटोलमा बसेको समयमा हजुरआमा बित्नुभएको थियो । 
दुई कक्षादेखि मेरो पढाइ घरछेउको खडुवालकोट आधार स्कुलमा सुरु भयो । चार कक्षासम्म मैले त्यहीँ पढें । बा र हजुरबा सहर र गाउँ गरिराख्नुहुन्थ्यो । उहाँहरूले मलाई जहाँ जाँदा पनि आफूसँगै लैजानुहुन्थ्यो । कहिलेकाहीँ म उहाँहरूसँगै सहरमा कैयौं दिनसम्म बस्थें, जसले गर्दा मेरो पढाइ नियमित हुँदैनथ्यो र जाँच पनि राम्ररी दिन पाउँदिनथें । 
बा र हजुरबाको सामाजिक प्रभाव गाउँमा निकै राम्रो थियो । उहाँहरूलाई सबैले इज्जत गर्थे । मेरो कक्षा नियमित नभए पनि र मैले जाँच नदिए पनि अन्तिम परीक्षाफलका बेला हजुरबाले हेडमास्टरलाई ‘यसपल्टलाई पास गरिदिनुस्’ भने पुगिहाल्थ्यो । दुई र तीन कक्षा त राम्रोसँग जाँचै नदिई पास भइयो । चार कक्षा पढेको वर्ष पनि कहिले एक हप्ता सहर त, दुई हप्ता गाउँ, पाँच हप्ता गाउँ त, तीन हप्ता सहर गरी वर्ष बिताएँ । तर, चार कक्षाचाहिँ जाँच नदिई पास गर्ने वातावरण बनेन । हजुरबाले पनि हेडमास्टरलाई जाँचै नदिई मेरो नातिलाई पास गरिदेऊ भन्ने मन गर्नुभएन ।
म पढ्ने स्कुलमा महाँकाल भन्ने गाउँदेखि गोविन्द मास्टर साहेब, हरिहर मास्टर साहेब र केदार मास्टर साहेबहरू पढाउन आउनुहुन्थ्यो । उहाँहरू पढाउनमा विशेष लगनशील र कडा पनि हुनुहुन्थ्यो । तर, पर्याप्त समय नदिएकै कारण मेरो पढाइ भने गतिलो हुन सकेन ।
यसपछिका वर्षहरूमा मेरो पढाइ सहरमा भयो । चार कक्षा पास नगरे पनि बाले मलाई क्षेत्रपाटीस्थित कन्या मन्दिर स्कुलमा लगेर पाँच कक्षामा भर्ना गरिदिनुभयो । कन्या मन्दिर केटीहरूलाई मात्र पढाउने स्कुल हो । तर, त्यसबेलासम्म पाँच कक्षासम्मचाहिँ ‘कोएजुकेसन’ थियो । त्यसबेला ठुल्दाइ भन्ने हिसाब सिकाउने एक जना कडा स्वभावका मास्टर हुनुहुुन्थ्यो । होमवर्क गरेर लगेन भने कुटिहाल्ने उहाँको डरलाग्दो स्वभाव थियो । उहाँको नामै सुन्दा पनि सबै विद्यार्थी थर्कमान हुन्थे । त्यसैले, अरू मास्टरको होमवर्क छुटाए पनि ठुल्दाइ मास्टर साहेबको होमवर्क छुटाउँदैनथें । तैपनि उहाँले खरो स्वरमा ‘खै, तिम्रो होमवर्क देखाऊ’ मात्रै भन्दा पनि मुटु ढुकढुक हुन्थ्यो । 
काठमाडौं र घरको दूरी न नजिक थियो, न धेरै टाढा नै । टाढा भएको भए पनि बरु डेरा नै लिइन्थ्यो होला । तर, त्यति धेरै नजिक पनि थिएन कि, हरेक दिन तुरुन्तातुरुन्तै आउजाउ गर्न सकियोस् । त्यही भएर म कहिले त्यौडकी माइली फुपूको घरमा केही महिना बस्थें । कहिले ज्याठाकी ठूलीआमाको घरमा केही समय बस्थें । कहिले फसिकेबकी ठूली फुपूकहाँ बस्थें त कहिले मखनस्थित मामाबाजेको घरमा । कहिले त बाहरू घरका कामदारलाई घर नै जिम्मा लगाएर काठमाडौंमा डेरा बस्ने गरी आउनुहुन्थ्यो । जसरी मेरो बसाइ अस्थिर थियो, त्यसैगरी मेरो पढाइ पनि । अरू बेलाजस्तै त्यो वर्ष पनि कहिले गाउँ त कहिले सहर गर्ने क्रम जारी रह्यो । त्यसैले, गाउँको स्कुलमा जस्तै मैले कन्या मन्दिर स्कुलमा पनि जाँचै दिइनँ । जाँचै नदिएपछि पास हुने पनि कुरै भएन । 
पास नभए पनि बाले अर्को साल रानीपोखरीको दरबार स्कुलमा छ कक्षामा भर्ना गरिदिनुभयो । दरबार स्कुल ठूलो भएको हुनाले यताउता र तलमाथि गर्दा रमाइलो लाग्थ्यो । बाटोमा फाट्टफुट्ट मात्र गाडी गुड्ने हुँदा स्कुल क्षेत्र दिउँसै शान्त हुन्थ्यो । त्यस्तो बेला घन्टाघरको आवाज ठूलो सुनिन्थ्यो । घन्टाघरको घन्टी ट्वाङ टुङ टिङ टाङ गर्दै ११ बज्दा एघारैपल्ट, १२ बज्दा बाह्रैपल्ट बज्थ्यो । त्यसरी घन्टी बज्दा ११ बज्दा एघारैपल्ट, १२ बज्दा बाह्रैपल्ट मनले पनि ट्वाङट्वाङ घन्टी गन्थ्यो । कक्षामा पढाइरहेका बेला घन्टी बज्यो भने आधा ध्यान मास्टरको अनुहार र आधा ध्यान घन्टाघरको आवाजमा जान्थ्यो । 


कहिले गाउँ त कहिले सहर गर्दैमा त्यो वर्ष पनि त्यसै बित्यो । त्यस वर्षको आधा समय म कक्षामा उपस्थित भइनँ । सधैं स्कुल नजाने भएकैले कक्षामा बस्दा पनि मेरो ध्यान पढाइमा एकोहोरिँदैनथ्यो । अधुरो पढाइकै बीच मेरो छ कक्षाको पढाइ पनि त्यत्तिकै तुहियो । 
छ कक्षा पूरै नपढे पनि म नयाँ स्कुलमा सात कक्षामा भर्ना हुने भएँ । त्यसताका जुद्धोदय र पद्मोदय हाई स्कुल काठमाडौंमा उत्कृष्ट र लोकप्रिय थिए । बाले फुपू बज्यैको नाति नारायण दाइलाई मेरो भर्नाको जिम्मा दिनुभयो । नारायण दाइले स्कुल मात्रै फेरिदिनुभएन, मेरो नाम पनि फेरिदिनुभयो । त्यतिबेलासम्म मेरो नाम मदन राजा थियो । बाको नाम रामकृष्णलाल भएकै कारण नारायण दाइले मेरो नामको बीचमा रहेको राजा शब्द हटाइदिनुभयो र कृष्ण शब्द राखिदिनुभयो । यसरी म मदनराजाबाट मदनकृष्ण भएँ । कृष्ण हुन पाएपछि मलाई राजा हुन मन लागेन । राजाभन्दा त कृष्ण नै माथि हुन् भनेर खुसी भएँ । नाम फेरेर दाइले पुतलीसडकस्थित पद्मोदय हाई स्कुलमा सात कक्षामा मेरो भर्ना गरिदिनुभयो । 
त्यो वर्ष भने दुई साता गाउँ, तीन साता सहर बस्ने नियम तोडियो । वर्षभरि नै म डिल्लीबजारस्थित फुपू बज्यैका नातिहरू नारायण दाइ र प्रयाग दाइको घरमै बसेर स्कुल जाने–आउने गरें । अघिका वर्षहरूमा वर्षभरि पढ्ने मौका नपाएकाले त्यो वर्ष सात क्लासमा अलि धेरै नै मिहिनेत गरेर पढें । 
कक्षामा बस्दा पनि नपढ्ने–नपढ्ने खालका साथीहरूसँग अलि परपर हुन्थें र पढ्ने–पढ्ने खालका साथीसँग नजिकिन प्रयास गरिरहन्थें, ताकि उनीहरूबाट पनि आफूलाई पढाइमा केही सहयोग पुगोस् । त्यसबेलाका साथीहरूमध्ये रामेश्वर केसी, वसन्त मिश्रहरूसँग पछिसम्म पनि मित्रता र सम्बन्ध कायम रहिरह्यो । नियमित पढाइले त्यो वर्ष मेरो पढाइ थोरै सुध्रियो । सात कक्षाको अर्धवार्षिक जाँच आइपुग्यो । यसअघि छ कक्षासम्म पढुन्जेल मलाई जाँच दिएको अनुभव नै थिएन । जाँचको एक दिनअघि एउटा साथीलाई सोधें, ‘भोलि जाँचमा के के गर्नुपर्छ ?’ साथीले भन्यो, ‘जाँचमा मसी बाँड्न ल्याउँछ, त्यो मसी घर लैजान दुई/तीनओटा खाली सिसी लिएर आउनुपर्छ ।’ 
त्यसताका फाउन्टेन पेनमा मसी भर्नुपथ्र्यो । मसी भर्दा हातभरि लाग्थ्यो र त्यो मसी लागेको हातले जहाँजहाँ छोयो, त्यहाँत्यहाँ मसीको दाग बस्थ्यो । तर, हातमा मसी लाग्दा खुब पढैयाजस्तो देखिने हुनाले रमाइलै लाग्थ्यो । 
भोलिपल्ट जाँचको दिन मसी भर्न भनेर मैले दुईओटा ससाना सिसी गोजीमा बोकेर गएको थिएँ । परीक्षा सुरु हुनुअगावै ‘मसी ककसलाई चाहिन्छ ?’ भन्दै पालेदाइले ठूलो सिसीभरिको मसी बाँड्न ल्याए । सबैले लुटालुट गरेर मसी थापे । मैले पनि के के न पाएसरी दङ्ग पर्दै दुइटै सिसीभरि मसी थापें । एक छिनपछि सरले कापी बाँडे । सबैले लिए, मैले पनि लिएँ । छेवैको साथीले सुरुमा कापी ढोग्यो र आफ्नो नाम लेख्यो । मैले पनि त्यसैगरी कापीलाई ढोगें र कापीमा आफ्नो नाम र रोलनम्बर लेखें । 
एकै छिनपछि प्रश्नपत्र बाँड्न ल्यायो । छेवैको साथीले प्रश्नपत्र ढोग्यो अनि मैले पनि उसैगरी ढोगें । त्यो साथीले भन्यो, ‘उत्तर लेख्नुभन्दा पहिले प्रश्नपत्रमा फुल मार्क कति लेखेको छ, पास मार्क कति लेखेको छ, त्यो हेर्नुपर्छ । अनि पास मार्क जति लेखेको छ, त्यतिमात्रको उत्तर लेखे पुग्छ ।’ 
मैले पनि कत्ति न टाठो हुँदै प्रश्नपत्र पढें । त्यसमा सबभन्दा माथि फुल मार्क १०० र पास मार्क ३० लेखिएको रहेछ । साथीले भनेअनुसार पास मार्क ३० लेखिएको हुनाले ३० नम्बरबराबरको मात्रै उत्तर लेखे पुग्छ भन्ने बुझें । त्यसैले ३० नम्बरबराबरको प्रश्नको मात्रै उत्तर लेखेर तोकिएको समयभन्दा अगाडि परीक्षा सकेर मख्ख परें । बाँकी ७० नम्बरबराबरको प्रश्न त मैले राम्ररी हेर्न पनि हेरिनँ । 
जाँच सकेर बाहिर आएपछि साथीहरूले सोधे, ‘जाँच कस्तो भो ?’ मैले दङ्ग पर्दै भनें, ‘एकदम राम्रो भो ।’ 
भोलिपल्ट पनि उसैगरी जाँच दिन बसें । उसैगरी प्रश्नपत्र बाँड्न ल्यायो । सबैभन्दा पहिले पास मार्क कति छ र फुल मार्क कति छ भनेर हेरें । त्यसमा पनि पहिलो दिनको प्रश्नपत्रमा जस्तै फुल मार्क १००, पास मार्क ३० नै लेखिएको थियो । त्यो दिन पनि मैले ७० नम्बरबराबरको जवाफ नलेखी ३० नम्बरबराबरको उत्तर मात्र लेखेर दङ्ग पर्दै घर आएँ । यसैगरी प्रत्येक दिन के के न गरेजस्तो दङ्ग पर्दै सबै विषयको जाँच सकें । 
नतिजा आउँदा म सबै विषयमा फेल भएँ । त्यसपछि पो थाहा पाएँ, सय नम्बरबराबरका सबै प्रश्नको उत्तर लेखेपछि पो ३०, ४० वा ५०, ६० नम्बर आउँदो रहेछ । मैले त कुनै पनि विषयमा ७० नम्बरको उत्तर नै लेखेको थिइनँ । मैले कुनै विषयमा १२, कुनैमा नौ त कुनैमा पाँच र सात नम्बर मात्रै पाएको थिएँ । के भएको होला भन्दै आफ्नो मार्कसिट हेरेर जिल्ल पर्दै घर फर्किएँ । 
घर पुग्नेबित्तिकै बाले सोध्नुभो, ‘रिजल्ट के भो ? पास भो ?’
मैले ठुस्स परेर भनें, ‘बा मैले त सबै प्रश्नहरूको उत्तर राम्रैसँग लेखेको थिएँ । तर, नम्बरचाहिँ कस्तो थोरै–थोरै दिएर होल सब्जेक्ट फेल गर्देछ ।’ 
बाले कड्किँदै भन्नुभयो, ‘तंैले राम्रो लेख्नै सकिनस् होला ।’
मैले बालाई विश्वास दिलाउन खोज्दै भनें, ‘हेर्नु बा, मैले सबै पेपर राम्रोसँगै लेखेको थिएँ ।’
नियमित स्कुल गएको र मैले ध्यान दिएर पढेको देखेको हुनाले बाले मेरा कुरा पत्याउँदै भन्नुभयो, ‘पक्का हो ?’
मैले ठोकुवा गर्दै भनें, ‘पक्का ।’
‘ल, उसो भए तेरा कापी एकचोटि रिटोटल गराउनुपर्‍यो, ल मसँगै स्कुल हिँड् ।’ 
बाको ठुल्ठूलो स्वर सुनेर अर्को कोठाबाट के भो मामा ? भन्दै फुपू बज्यैको छोरा प्रयाग दाइ आउनुभयो । बाले दाइलाई दिक्क मानेको स्वरमा भन्नुभयो, ‘हेर न प्रयाग, बिचरा मदनले जाँचमा राम्रै लेखेर आएको रहेछ । पढ्न पनि राम्रै पढेको थियो । मास्टरहरूले कस्तो लापरबाही गरेर नम्बर दिएको हेर न ल । एकचोटि रिटोटल गराउनुपर्‍यो कि भनेर ।’
प्रयाग दाइले मेरो मार्कसिट माथिदेखि तलसम्म हेर्दै भन्नुभयो, ‘ल एक दुई पेपर भए पो रिटोटल गराउनु । सबै पेपरमा फेल रैछ । के रिटोटल गर्नु ?’ यति भनेपछि दाइले मतिर हेर्दे सोध्नुभयो, ‘खै, मदन तिमीसँग जाँच दिएका प्रश्नपत्र बाँकी छन् ?’ त्यतिबेलासम्म पनि सबै विषयमा फेल हुनुको पत्तो मलाई थिएन । मैले सबै विषयका प्रश्नपत्र दाइलाई एकएक गरी देखाउँदै ढुक्क भएर भनें, ‘मैले यो यो यो गरेर ३० नम्बरबराबरको पूरै एन्सर लेखेर आएको थिएँ ।’ 
मेरो कुरा सकिन नपाउँदै दाइले छक्क पर्दै सोध्नुभयो, ‘३० नम्बरबराबरको मात्रै उत्तर लेखेको ? बाँकी ७० नम्बरबराबरको किन नलेखेको त ?’ 
मैले निर्धक्क भएर दाइलाई कुरा बुझाउँदै भनें, ‘पास मार्क त ३० मात्र हो नि त । पास मार्क ३० मात्र भएपछि यति लेखे पुगिहाल्छ नि ।’ 
मेरो कुरा सुनेर दाइले अचम्म मान्दै सोध्नुभयो, ‘सबै पेपरमा ३०/३० नम्बरबराबर मात्र उत्तर लेखेको ?’ 
मैले भनें, ‘अँ ।’ 
मेरो पछिल्लो उत्तर सुनेपछि दाइले हल्का कड्किएको स्वरमा भन्नुभयो, ‘कसले भनेको तिमीलाई यत्ति मात्र लेखे पुग्छ भनेर ?’ 
मैले अलिकति हच्किँदै भनें, ‘साथीले ।’ 
दाइले रिसाएको स्वरमा भन्नुभयो, ‘साथीले ? को साथीले ? त्यो साथीको रिजल्ट के भो ? पास भो कि फेल भो बुझ ।’
पछि बुझ्दा त्यो साथीको पनि मेरैजस्तो गति भएको रहेछ । यो गल्तीबाट मैले जिन्दगीभरलाई पुग्ने गरी पाठ सिकें । सोही वर्षको फाइनल परीक्षामा मैले कुनै गल्ती नगरी उत्तर लेखें र होल सब्जेक्ट पास भएँ । 
पहिलापहिला फेल भएर मेरो स्कुल बदलिन्थ्यो । यसपालि भने पास भएरै पनि बदलियो । त्यसताका स्कुल बदल्दै पढ्ने विद्यार्थी धेरै हुन्थे । कोही समयमै भर्ना नगरेका कारण स्कुल फेर्थे, कोही फेल भएका कारण, कोही फी तिर्न नसकेका कारण त कोही अन्य कारण । मेरो भने अनेक कारण वर्षैपिच्छे स्कुल बदलिइरह्यो । 
बाले मलाई लैनचौरको शान्ति विद्यागृहमा आठ कक्षामा भर्ना गरिदिनुभयो । ज्याठामा आमाकी दिदी अर्थात् ठूलीआमाको घर थियो । बाले मलाई त्यहीँ बसेर पढ्ने चाँजो मिलाइदिनुभयो । 
(मंगलबार विमोचन हुने श्रेष्ठको आत्मकथा ‘महको म’ को अंश )

प्रकाशित : भाद्र १७, २०७४ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?