१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दोचा

कुमारजी उवाच
हिमाली डाँकुहरूले लगाएको जस्तो दोचा उसलाई जसरी भए पनि चाहियो । आमाबालाई जिद्दी छोराले हत्तु पार्‍यो । अब काँबाट ल्याइदिने भोटे जुत्ता ?
कुमार नगरकोटी

यो विक्रम संवत् २०३७/०३८ तिरको कुरा हो । चिन्डे नगरकोटी त्यस बेला एक अबोध बालक थियो । यो कुरा भने बेग्लै हो कि त्यो बचपनको अबोधपना –अरू मानिसहरूझैं– जवानीमा नष्ट भयो ।

दोचा

जवानीले भर्जिन बाल्यकालका निश्छलता, निर्दोषपना तथा कौमार्य पवित्रताहरूलाई भ्रष्ट एवम् नष्ट गर्ने कुरा सायद मानव समुदायका निम्ति सामान्य कुरा हुँदो हो । हामी चराहरू यस विषयमा के जानुम् !
अँ त ! यो डोल्पाको कुरा हो ।
कुमारको बुबा –पिता/फादर/ड्याड/बा जे भन्नुस्– माइग्रेटिङ चराजस्तो मान्छे थियो । भुर्र–भुर्र कहिले कता, कहिले कता उडिरहनुपर्ने । कहाँकहाँ उडिजान्थ्यो र
आफ्नो बचेराहरूका निम्ति परदेशमा गुँड बनाउँथ्यो । त्यो मान्छेको नाम रत्नबहादुर थियो । थर भनिरहनचाहिँ मलाई उचित लागेन किनभने हामी चराहरूलाई मान्छेको थर सुन्दा सधैँ अचम्म, अनौठो लाग्छ । मान्छेहरूको नामपछाडि झुन्डिने थर र जात हामीलाई पुच्छरजस्तो लाग्छ ।
हामी पक्षी तथा जनावरहरूको पुच्छर भएकाले चाहिँ हाम्रो थर, जात, गोत्र नभएको पो हो कि ! थप एक्स्ट्रा पुच्छर नचाहिएको हो कि ! मौका मिले यस विषयमा तपाईंले कुनै दिन डा. तीर्थबहादुर श्रेष्ठको कानमा सुटुक्क सोध्नु हुने नै छ ।
अँ त !
रत्नबहादुरको पोस्टिङ प्राय: एयरपोर्टतिर हुने गथ्र्यो । ऊ अक्सर एयरपोर्टको प्रहरी इन्चार्ज हुन मन पराउँथ्यो । चरा भई उड्ने इच्छा उसको मनभित्र कतै सुषुप्त अवस्थामा सदा बिराजमान थियो सायद । त्यसो नहुँदो हो त रत्नबहादुर आफ्नो पोस्टिङ प्राय: एयरपोर्टहरूतिर किन मिलाउँदो हो ? डोल्पाको जुफाल एयरपोर्ट । रुकुमको चौरजहारी एयरपोर्ट । अनि नेपालगन्जको राँझा एयरपोर्ट । टु नेम अ फिउ ।
तर, यो एयरपोर्टसित सम्बन्धित घटना भने कदापि होइन ।
कुमारसित जोडिएको यो दोचा–कथाको प्रसङ्ग या प्रकरण जुफाल एयरपोर्ट नभई डोल्पाको सदरमुकाम दुनैमा उद्घाटित र पटाक्षेप भएको थियो । जुफालबाट रत्नबहादुर काजमा खटेर गएको दुनैको प्रहरी चौकीमा । एज् अ पुलिस इन्चार्ज ।
यो कथा एउटा हत्याको प्रसङ्गबाट सुरु हुन्छ । एउटा यस्तो हत्या जसले हिमालको काख/कोखमा बसेको शान्त बस्तीमा हलचल ल्याएको थियो । भय र त्रासको बबन्डर मच्चाएको थियो ।
असिस्टेन्ट सबइन्स्पेक्टर रत्नबहादुर एक दिन कन्स्टेबलहरूलाई अघिपछि लगाउँदै प्रहरी चौकीबाट निस्क्यो हत्याराहरूको खोजमा । स्वास्नी र छोरालाई घरमै छाडी ।
दिनहरू बिते तर ऊ फर्केन । हत्याराहरूको खोजमा हिँडेको लोग्ने हिउँमा अलपत्र पर्‍यो कि ! या हिउँमै पुरिएर मर्‍यो कि भन्ने त्रासमा उसकी स्वास्नी कुमारलाई च्यापेर बस्थी ।
पाँच दिनपछि ऊ सदरमुकाम झर्‍यो । हत्याराहरूलाई साथ लिई ।
उसले दुई जना भोटेहरूलाई पक्राउ गरेको थियो । ती भोटेहरू तिनै हिमाली डाँकुहरू थिए, जसले जर्मन पदयात्रीहरूलाई खुकुरीले छप्काएर मारेका थिए र तिनका मृत देहलाई हिउँमा खाल्डो खनी पुरिदिएका थिए ।
त्यो एक बीभत्स हत्या थियो ।
दम्पतीमध्ये लोग्नेको घाँटी रेटिएको थियो र स्वास्नीको स्तन काटेर मिल्काइएको थियो । दुवैको भुँडीमा कैयौँपटक खुकुरी घुसाइएको थियो । लासहरूलाई तिनै भोटेहरूले डोकोमा बोकी ल्याएका थिए ।
दुनै बजारमा मानिसहरूको भीड लागेको थियो । टोलका घरघरबाट मानिसहरू ती भोटेलाई हेर्न तँछाडमछाड गर्दै निस्किरहेका थिए । हत्याराहरू पक्रmाउ गरेको सफलतामा असिस्टेन्ट सबइन्सपेक्टर रत्नबहादुर गर्वका साथ जुँगामा ताउ दिँदै बडो शानपूर्वक कन्स्टेबलहरूलाई आदेश दिँदै हिँडिरहेको थियो । तमासा हेर्ने मानिसहरूको भीडमा उसकी स्वास्नी र छोराहरू पनि थिए ।
प्रहरी चौकीसम्मै मान्छेहरूको ओइरो लाग्यो ।
आमाको हात समाती कुमार पनि चौकीभित्र दाखिला भयो । डोकोमा लास देखेर ऊ निकै तस्र्यो । ती लासका मासु फतक्क गलिसकेका थिए र डोकोको कापबाट दुर्गन्धित झोल चुहेर भुइँ भिजेको थियो ।
जीवनमा पहिलोपटक कुमारले लास देखेको थियो । क्षतविक्षत, बीभत्स लास । जर्मन डेड बडिज् ।
भोटेहरूलाई खोरमा थुनिएको थियो । तिनको हातमा हत्कडी लगाइएको थियो र दुवैलाई फलामको साङ्लोले बाँधिएको थियो । ती हिमाली डाँकुहरू भुइँमा बसेका थिए र तिनका गोडालाई नेलबन्दी गरिएको थियो । लौह–नेलको प्वालबाट निस्किएका तिनका नङ्ग्रा खुट्टा/पाइतालाहरू ढुसी परेको पाउरोटीझैं ज्यादै विरूप देखिन्थ्यो । तिनका भोटे जुत्ताहरू भुइँमा मिल्काइएका थिए । घुँडाघुँडासम्म लगाउन मिल्ने तिनै भोटे जुत्ताहरूलाई कुमार एकतमासले हेरिरहेको थियो, जसलाई मानिसहरू दोचा भन्थे ।
आमा ती भोटेहरूलाई तथानाम गाली गरिरहेकी थिइन् । हत्यारा डाँकुहरूलाई थुक्थिन् । सराप्थिन् । हाकिम सा’बकी पत्नी त्यसरी रूद्रीचण्डी भएको देखी कन्स्टेबलहरू भन्थे– साहब्नी ! घर जानुस् । रत्नबहादुरले पनि घर जा भनेपछि आमा घर जानुपर्ने भयो । कुमारलाई तान्न थालिन् । तर, कुमार घर जान मानेन । मान्दै मानेन । जति कर गर्दा पनि जाने मनै गरेन ।
किनभने उसको मन चोरेको थियो तिनै दोचाले । जो भुइँमा असरल्ल फिजिएका थिए ।
ती दोचा ज्यादै आकर्षक थिए । रातो, कालो, सेतो धागो मुछिएर बनेको त्यो भोटेजुत्ताबाट उसको आँखा हट्नै मानेन । उसलाई पनि दोचा चाहियो । ऊ बडा जिद्दी बच्चो थियो । मायाले पुलपुलिएको ।
उसलाई मन लागेको वस्तु चाहियो भनेपछि कुनै पनि हालतमा चाहियो । मन लाग्यो भने आफ्नो जिद जसरी भए पनि पूरा गथ्र्यो । बलियो बन्न भित्तामा बक्सिङ हानेर हात सुन्नाउँथ्यो । कहिले खाँदाखाँदैको भात बोकेर घरबाहिर थुप्रेर जमेको हिउँ थालमा राख्थ्यो र भातसित मुछ्ने गथ्र्यो ।
अस्ति भर्खर मात्रै त हो नि ! एउटा चौँरीगाईसित उसले कुस्ती खेलेको ।
हातमा मग बोकी –पानी खाने/भर्ने निहुँमा– भेरी नदीतिर गएको थियो । चौरमा चौँरीहरू चरिरहेका थिए । छेउ लागेर पनि त जान सकिन्थ्यो नि ! तर, होइन । उसलाई लाग्यो मूला चौँरीले असिस्टेन्ट सब–इन्स्पेक्टरको छोराको बाटो छेक्ने ? हाटहुट गर्दै केही चाँैरीलाई लात मार्दै अघि बढ्दै थियो– एउटाले हान्दी हाल्यो । टाउकोमा तीन ठाउँमा टाँका लगाउनुपर्‍यो । त्यो खत उसको चिन्डो टाउकोमा अझै पनि देख्न सकिन्छ ।
अँ त !
उसले आमासित भन्यो— मलाई भोटेको जस्तो दोचा चाहियो । रत्नबहादुरसित पनि भन्यो— बा ! मलाई दोचा चाहियो ।
हिमाली डाँकुहरूले लगाएको जस्तो दोचा उसलाई जसरी भए पनि चाहियो । बाआमाहरूसित उसले धेरै दिन किचकिच, कचकच गर्‍यो । आमाबालाई जिद्दी छोराले हत्तु पार्‍यो । छोराको इच्छाले हैरान खेलायो । अब मूलालाई काँबाट ल्याइदिने भोटे जुत्ता ? बजारमा किन्न पाइने भए पनि एउटा कुरा हुन्थ्यो । कस्तो डाँकु छोरो परेछ ! भविष्यमा डाँकु नै बन्लाजस्तो छ । कस्तो आँडे पुत्र जन्माइएछ !
तर त्यो आँडे बच्चोको इच्छा/जिद एक दिन पूरा भयो ।
कुमारकी एउटी मित–आमा थिइन् । भोटेनी । मानिसहरू तिनलाई धारापानी माइली भन्थे । दुनै बजारदेखि टाढाको गाउँमा बस्थिन् । ती भोटेनी महिलासित कुमारको गुरुङसेनी आमाले मित लगाएकी थिइन् । आफ्नो मितिनीलाई भेट्न तिनी बेला–बेला गाउँबाट कोसेली बोकी आउँथिन् । मितिनीको लोग्ने –रत्नबहादुर, द असिस्टेन्ट सबइन्स्पेक्टर–लाई जर्किनमा रक्सी ल्याइदिन्थिन् र मितछोरा– कुमार, द फुच्चे डाँकुलाई छुर्पीहरू ।
तिनै मित–आमाले एक दिन कुमारका निम्ति छुर्पीको साथसाथै बख्खु मात्र होइन कि एक जोर चिटिक्क परेको दोचा पनि ल्याइदिइन् ।
बाफ्रे ! ऊ कति गद्गद् पर्‍यो !
दोचा उसको प्राणप्यारो वस्तु भयो ।
त्यो दोचा लगाएर ऊ कहाँकहाँ पुगेन ? काँडाहरू टेकेन कि ! हिउँमा चिप्लँदै हिँडेन कि ! तिखातिखा पत्थर/ढुङ्गाहरूमा कुदेन कि ! फापर–बारीमा भेडाको बच्चोझैं बुर्कुुसी मार्दै उफ्रेन कि ! भोटेका बच्चाहरूसित बख्खुको लाम्काने बहुलाले सिङ्गान पुछ्दै सिङ्गौरी खेलेन कि ! के के गरेन ?
त्यो दोचा उसको जान थियो । शान थियो ।
कालान्तरमा ऊ कुख्यात अण्डा–हन्टर भएर निस्क्यो । बाउले भन्याझैं डाँकु नै बन्ने छाँटकाँट र हैसियत देखाउन थाल्यो । छिमेकीका कुखुरा–खोरमा ऊ सुटुक्क छिथ्र्यो र अण्डाहरू खुसुक्क चोथ्र्यो । ती अण्डालाई ऊ सुत्ने बेलामा दोचाभित्र राख्थ्यो । राति घर फर्कँदा रत्नबहादुर छोराका निम्ति पाइनएप्पलको बिस्कुट नबिराई ल्याउँथ्यो । बिस्कुटलाई समेत कुमार दोचामा राख्थ्यो । बिहान काँचो अण्डासितै बिस्कुट खान्थ्यो । रमाउँथ्यो ।
वास्तवमा त्यो दोचा उसको त्यस्तो खजानाको सन्दुक थियो, जसभित्र ऊ आफ्ना गुप्त रहस्यहरू लुकाउँथ्यो । बचपनका स्मृतिहरू जम्मा गथ्र्यो ।
अण्डा । गुच्चा । गट्टा । छुर्पी । सलाईका बट्टाहरू ।
फट्याङ्ग्रा । चकलेट । झ्यालिन्चा । पाइनएप्पल बिस्कुटका टुक्राहरू ।
त्यो दोचा उसको हिडन–सेक्रेट थियो, जहाँ ऊबाहेक अरू कसैको पहुँच थिएन । उसको बचपन –उसलाई लाग्थ्यो सायद– स्वयम् एक यस्तो रहस्यमय स्मृति थियो, जसलाई सबैको नजरबाट बचाउँदै ऊ आफ्नो दोचाभित्र लुकाएर राख्न चाहन्थ्यो ।
त्यो दोचा पुरानिँदै गयो ।
डोल्पामा हाफ दर्जन वर्षहरू बिताएपछि रत्नबहादुर फेरि एक दिन झोलीतुम्बा बोकी जहान–बचेराहरूसितै भुर्र उडी काठमान्डु रवाना हुनुपर्ने भयो । सामान/गुन्टाहरू कस्ने बेला कैयौँ काम नलाग्ने जिनिसहरू भेरी नदीमा फ्याँकिए । पुरानो दोचाको आयु पनि निख्रिसकेको थियो । त्यसलाई समेत नदीमा बगाइदिनुपर्ने भयो । कुमार त्यसो गर्न काँ मान्थ्यो र ! आमाले उसलाई सम्झाउनुपर्ने भयो :
– हिमालमा लगाउने फाटेको दोचा अब के काम ? काठमान्डुमा तिमीलाई बुवाले नयाँ जुत्ता किनिदिनुहुन्छ ।
तर ऊ बहुत जिद्दी बच्चो थियो । दोचालाई नदीमा बगाउन ऊ किन पो मान्थ्यो र ! बरु मैलाई भेरीले बगाउस् । मेरो दोचालाई म बगाउन दिन्नँ । एक दिन्नँ । दुई दिन्नँ । तीन, चार, पाँच दिन्नँ । आमाको केही सीप लागेन ।
प्लेनमा गुन्टा/सामानहरू लादिए । सामानहरूको कार्गोसहित त्यो दोचा नेपालगन्ज झर्‍यो । नेपालगन्जबाट भारतमार्ग हुँदै भैरहवा पुग्यो ।
र, त्यो दोचा भैरहवाको एउटा लजमा छुट्यो । बुवाको सुट्केससितै ।
***

प्रिय डायरी रिडर !
भदौरे झरीमा/हुरीबतासमा जब हाम्रो गुँड भत्क्यो, तहसनहस भयो र अण्डा पनि नष्ट भयो, त्यस दिनको साँझ चिन्डे नगरकोटी भैरहवाको लजमा बुवाको सुटकेससितै छुटेको आफ्नो त्यही दोचा सम्झिरहेको थियो । उसकी आमाकी मितिनी –धारापानी माइली– ले उसलाई दिएको त्यो दोचा जहाँ ऊ बचपनका स्मृति/रहस्यहरू लुकाउँथ्यो । छुर्पी, पाइनएप्पल बिस्कुटका टुक्रा र अण्डाहरू लुकाउँथ्यो ।
त्यही दोचामा सायद ऊ किम्याले पारेको अण्डा पनि लुकाउन चाहन्थ्यो । एउटा ट्राजेडीबाट हामीलाई जोगाउन चाहन्थ्यो ।
आमिन ! गुडनाइट !
(नगरकोटीको आज लोकार्पण हुने संस्मरण ‘दोचा’ को अंश ।)

प्रकाशित : भाद्र १७, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?