कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

राणाको हेराइमा राणाकाल

समीक्षा
विनोद सिजापति

यदि राणा शासनले निरन्तरता पाएको भए प्रधानमन्त्रीको रोलक्रममा उपस्थित हुने थिए प्रस्तुत पुस्तकका लेखक श्री सागरशमशेर जबरा ।

राणाको हेराइमा राणाकाल

उनी राणा परिवारको निरंकुश शासनमा पनि कट्टरवादी खेमाका जनरल बबरशमशेर जबराका नाति एवं जनरल मृगेन्द्रशमशेरका कान्छा छोरा हुन् । अक्सफोर्ड विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका लेखक अध्ययन सकेर स्वदेश भित्रिएदेखि नै नेपाली हस्तकला प्रवद्र्धन र त्यसको समुद्रपार व्यापारमा संलग्न छन् । सन् १९७० को दशकदेखि नै सक्रिय राजनीतिमा लागेका उनी पञ्चायतकालमा राष्ट्रिय पञ्चायतको उम्मेदवार थिए भने प्रजातन्त्र पुन:स्थापनापछि नेपाली कांग्रेसबाट सांसदको उम्मेदवार । उनलाई नेपाली कांग्रेसले विभिन्न कालखण्डमा नेतृत्व पंक्तिका महत्त्वपूर्ण स्थान सुम्पिएको थियो । 

लेखकले पुस्तक देशको प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई समर्पित गरेका छन् । बीपीको स्मरण मात्रले पनि आफूलाई निर्भीक, निडर र निष्पक्ष बन्न प्रेरणा मिल्ने उनको विश्वास छ । अनि तिनै सद्गुणहरूको जगमा यो पुस्तकलेखन कार्यमा आफू अग्रसर भएको उनले उल्लेख गरेका छन् । 
वैदिक र एतिहासिक कालदेखिको संक्षिप्त नेपाली इतिहासलाई प्रस्तुत गर्दै लेखकले कुन परिस्थितिमा राणा शासनको उत्पत्ति, उत्थान र पतन भयो भन्ने विवरण पस्केका छन् । तीन खण्डमा विभाजित पुस्तकको प्रथम खण्डले शाही शासनकालको अस्थिरताबाट कसरी राणा शासन उत्पत्तिदेखि श्री ३ देवशमशेरलाई भाइ चन्द्रशमशेरले गरेको ‘कू’ सम्मको अवधिलाई समेटेको छ । उक्त पृष्ठभूमिको वर्णन गर्ने क्रममा लेखकले शाह वंशको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उदय र तिनको देहावसानपश्चात् निम्तेको अस्थिरताको चर्चा गरेका छन् । त्यस कालखण्डमा भएको प्रधानमन्त्री भीमसेन थापादेखि माथवरसिंह थापाहरूको उदय र पतनहरूको गाथाहरूको विवरण पनि लेखकले प्रस्तुत गरेका छन् । 
भीमसेन थापाको निवास थापाथाली दरबारमा जन्मेका जंगबहादुर कुँवरबाट प्रधानमन्त्री माथवर सिंहको निर्मम हत्यापछि भएको राणा शासन उत्पत्तिको बीजारोपण र कोतपर्वपश्चात् सत्ताकब्जादेखि भाइ धीरशमशेरका छोराहरूबाट जंगबहादुरको परिवारको विनाशजस्ता घटनाहरू समेटिइएको छ प्रथम खण्डमा । जंगबहादुर कुँवरलगायतले भारतमा शासन सञ्जाल फैलाउँदै गरेको इस्ट इन्डिया कम्पनीसँग स्थापना गरेको न्यानो सम्बन्धदेखि महाराष्ट्रको राजपूत सूर्यवंशी मेघाद परिवारको वंश आफ्नो भएको भन्ने आधारमा उनले थर परिवर्तन गर्दै कुँवरबाट राणा भएर भारतका राजपूतहरूसँग वैवाहिक सम्बन्ध जोड्न सफल भएको गाथा उल्लेख छ यसमा । लेखकले जंगबहादुरको शासनकालका उपलब्धिहरू सविस्तार पस्केका छन् । दोस्रो खण्ड श्री ३ चन्द्रशमशेर, भीमशमशेर र जुद्धशमशेरहरूको शासनकालका उपलब्धिहरूको वर्णनले भरिभराउ छ । सिंहदरबारका निर्माता चन्द्रशमशेरको शासनकालमा केन्द्रित छ यो खण्ड । दोस्रो कालखण्डलाई लेखकले राणा शासनको उत्सर्ग मानेका छन् । तेस्रो खण्डमा भने राणा शासनको पतन तथा प्रजातन्त्रको उदयको गाथालाई समेटिएको छ ।
एक शताब्दीभन्दा बढी लामो राणाकालीन शासन व्यवस्था विगतका इतिहासकारहरूले उल्लेख गरेजस्तै निरंकुश, राष्ट्र र जनताविरोधी थिएन भन्ने स्थापित गर्न खोजेका छन् लेखक राणाले । इतिहासमा कलंकको रूपमा प्रस्तुत गरिने ‘कोतपर्व’ जसको जगमा १०४ वर्ष लामो निरंकुश पारिवारिक शासन पद्धति निर्माण भयो त्यसलाई मत्थर पार्ने कोसिस गरेका छन् उनले । उनको तर्क छ भीमसेन थापाको सत्तारोहण हुँदा ९० भाइ भारदारहरूको हत्या भएको थियो भने कोतपर्वमा मात्र ३० जनाको । जंगबहादुरका देनहरूको वर्णन गर्ने क्रममा लेखकले कसरी जंगबहादुरले बेलायत भ्रमणबाट आफूलाई सार्वभौमिक स्वतन्त्र राष्ट्रको प्रतिनिधिको हैसियत दिलाएर देशको सार्वभौमिकता जोगाए भन्ने वर्णन गरेका छन् । ‘दूरदर्शी’ जंगबहादुरले ब्रिटिसहरूलाई सन् १८५७ र ५८ को भारतमा भएको स्थानीय सैनिक विद्रोहको दमन गर्न सहयोग गरेर सुगौली सन्धिमा गुमाएको भूभागबाट हुने ४३ वर्षसम्मको आयको क्षतिपूर्ति र दुई हजार वर्ग किलोमिटर पश्चिम तराईको भूभाग नेपाललाई दिलाउन सफल भएको गाथाको वर्णन छ पुस्तकमा । त्यस्तै लखनउबाट चार सय बयलगाडा लुटको सामान मुलुक भित्र्याउन पनि जंगबहादुर सफल भएको तथ्य यसमा छ । तर क्षतिपूर्तिस्वरूप प्राप्त रकम र उक्त लुटलाई जंगबहादुरले राष्ट्रिय ढुकुटीमा दाखिल गरे–गरेनन्जस्ता विषयमा भने लेखक राणा मौन छन् । 
जंगबहादुरका सन्तानलाई सखाप परेर धीरशमशेरका ज्येष्ठ पुत्र वीरशमशेर श्री ३ महाराजा र प्रधानमन्त्रीको पद हत्याउन सफल भएका थिए । वीरशमशेरले आफ्ना सन्तानलाई सत्ताको एक मात्र हकदार तुल्याउन अन्य राणा पारिवारिक रोलक्रमका दाबेदारहरू जस्तै जंग, विक्रम, प्रताप र नर्सिंग खलकहरूलाई धपाए । फलस्वरूप राणा पारिवारिक शासन पद्धतिमा धीरशमशेरका १७ पुत्रहरूको एकलौटी कायम भयो । हुन त वीरशमशेरले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको अभियोगमा पूर्वघोषित उत्तराधिकारी भाइ खडगशमशेरलाई पाल्पा लखेटेर देवशमशेरलाई उत्तराधिकारी घोषित गरे । देवशमशेरलाई तिनका सहोदर भाइ एवं उत्तराधिकारी चन्द्रशमशेरले तीन महिनाकै अवधिमा अपदस्त गरेका थिए ।
पुस्तक चौध सय कोठा तथा ठूला बैठकहरू भएको सिंहदरबार निर्माता श्री ३ चन्द्रशमशेरमा केन्द्रित छ । चन्द्रसमशेरलाई लेखकले चतुर, दूरदर्शी, कुशल कूटनीतिज्ञ, दक्ष एवं मिहिनेती शासकको रूपमा प्रस्तुत गरेका छन् । चन्द्रशमशेरको शासनकालपश्चात् मात्र मुलुकमा स्थिरता आएको लेखकको जिकिर छ । गँजडी र सन्की छविका धनी श्री ३ भीमशमशेरलाई मानवतावादी (मृत्युदण्ड सजायको प्रावधान वर्जित गरेबापत) सुधारक र जुद्धशमशेरलाई मुलुकको औद्योगिकीकरणप्रति समर्पित शासकका रूपमा प्रस्तुत गरिएको छ । जुद्धशमशेरको बहिर्गमनलाई लेखकले धेरै अर्थमा राणा शासन अस्ताउने प्रक्रियाको सुरुआतका रूपमा प्रस्तुत गरेका छन् । लेखकले उल्लिखित तीन शासकहरूले देश हितका निमित्त उठाएका कूटनीतिक र आन्तरिक सुधारकार्यहरूको फेहरिस्त प्रस्तुत गरेका छन् ।
नेपालभित्र र बाहिरका राणा शासनविरोधी गतिविधिका घटनाबारे उल्लेख गर्दा बेलायतमा शिक्षा–दीक्षा हासिल गरेका लेखक राणामा चाल्र्स डिकंसको उपन्यास ‘अ टेल अफ टु सिटिज’ को प्रभाव झल्किन्छ । स्वदेशमा भएका राणा शासनविरुद्धका कार्यहरूमा काठमाडौं, पाल्पा, विराटनगरमा भएका घटनाहरूको वर्णन छ । मुलुकबाहिरका हकमा भने कलकत्ता र बनारसकेन्द्रित राणाविरोधी कार्यहरू समेटिइएको छ । पुस्तकको अन्तमा नेपाली कांग्रेसको नेतृत्वमा सञ्चालित सशस्त्र संघर्षलाई भारत सरकारले कांग्रेस नेताहरू र राजा त्रिभुवनको हातबाट खोसेको वास्तविकतालाई लेखकले उजागार गरेका छन् । पुस्तकको समापन राजा त्रिभुवनबाट सन् ७ फागुन २००७ का दिन भएको घोषणाको तीन सारांश— सन् १८४६ मा राजा सुरेन्द्रविक्रमद्वारा जंगबहादुरलाई दिइएको उनको देहावसानपछि पनि परिवारमा प्रधानमन्त्रीपद सर्दै जाने प्रक्रियाको खारेजी, निर्वाचित जनप्रतिनिधिद्वारा निर्मित संविधानसभाले संविधान तर्जुमा गरी सोहीअनुरूप शासन व्यवस्था कायम गर्ने र संविधान निर्माण नहुन्जेल राजाप्रति उत्तरदायी हुने जनप्रतिनिधिहरू सामेल सरकारको गठन मार्फत राजाले मुलुक सञ्चालन गर्ने– बाट गरिएको छ । लेखकका अनुसार त्यसपश्चात् मुलुकमा विष्णु भगवान्को अवतारबाट शासनको नेतृत्व गर्ने प्रथा थालनी भएको भन्ने छ । 
लेखक राणाले एक दशकभन्दा लामो अवधिसम्मको अनुसन्धान (१५ पृष्ठ लामो ३९७ वटा टिपोट, प्रकाशित र अप्रकाशित अभिलेखहरू) र व्यक्तिगत अन्तर्वार्ताहरूका आधारमा यो पुस्तक तयार परेका हुन् । पुस्तक वर्णनात्मक छ । घटनाहरूबारे उल्लेख गरिए पनि त्यस्ता घटना किन र कसरी घटे, त्यसका निमित्त कसले कस्तो भूमिका निर्वाह गर्‍यो भन्ने विश्लेषण गरिएको छैन । यसको उदाहरण हो, ‘राणाकालीन नेपालले व्यापार घाटा बेहोर्नुपरेन’ मन्तव्य । तर, व्यापार घाटा नहुनाको कारणहरूका विषयमा लेखक मौन छन् । पुस्तक पढिसक्दा उठ्ने अहम् प्रश्न भनेको लेखकले आलोचनात्मक विश्लेषण गर्ने दक्षताचाहिँ किन देखाएनन् भन्ने हो । 
पुस्तकको सबैभन्दा कमजोर पक्ष भनेको विगतमा प्रकाशित राणाकालीन इतिहासहरूमा उल्लेख नभएका वा नयाँ सामग्री समावेश नहुनु हो । लेखकलाई पिता मृगेन्द्रशमशेरको अप्रकाशित डायरीको मात्र नभएर चन्द्रशमशेरदेखि केशरशमशेरकै डायरीमा पनि पहुँच थियो होला भन्ने अड्कल काट्न कठिन छैन । ती सामग्रीहरूको उपस्थितिले अवश्य पनि पुस्तकको ओज बढ्ने थियो । कुनै पनि पाठकलाई यो पुस्तक र राणाकालसम्बन्धी इतिहासकारहरूजस्तै प्रमोदशमशेर राणा, सफल्या अमात्य अथवा अद्रियन सेभेनजस्ता लेखकहरूद्वारा लिखित पुस्तकहरूबीचको भिन्नता उल्लेख गर्न कठिन पर्छ । लेखकले २००७ को क्रान्तिबारे उल्लेख गरेर खर्चिएका पृष्ठहरू रामहरि शर्मा, श्रीभद्र शर्मा, भुवनलाल प्रधान, श्यामकुमार तामाङ तथा भोला च्याटर्जी आदिले उल्लेख गरेका भन्दा पृथक् पाइँदैन । बीपीप्रति समर्पित पुस्तकमा बीपीले मुलुकलाई राणा शासकहरूको चंगुलबाट निकाल्न खेलेको भूमिकासम्बन्धी उल्लेख गर्न लेखकले कन्जुसाइँ गरेका छन् । लेखकले सुवर्णशमशेरको भूमिका र योगदान पस्कन पनि धेरै कन्जुसाइँ गरेका छन् ।
चन्द्रशमशेरको पनाति भएकाले हुन सक्दछ उनले पुस्तकको शीर्षक ठूलो अक्षरमा सिंहदरबार लेखेका छन् । तर पनि सिंहदरबारको कोठा संख्या, बैठकहरू र शून्य शौचालय व्यवस्थाको चर्चामा सीमित छन् उनी । सिंहदरबार निर्माण कार्यमा खर्चिएको रगत पसिनाको मूल्यलगायत त्यसको बिक्रीबाट चन्द्रशमशेरले गरेको राज्यकोष दोहनका विषयमा लेखक मौन छन् । त्यसैगरी पिता मृगेन्द्रशमशेर र दाजु भारतशमशेरको वर्णन गर्दा तिनले दुईबीचको शीतयुद्धका कारणहरूका विषयमा केही पनि उल्लेख गरेका छैनन् । हुन त त्यसको चर्चा सायद लेखकले डाक्टर करण सिंहको सल्लाह मुताबिक १९५१ पश्चात्को नेपाल पुस्तकमा गर्नेछन् । 
‘इनसाइडर’ हुँदाहुँदै पनि पुस्तकमा केही त्रुटि भेटिँदा खल्लो अनुभव हुन्छ । जस्तै : जंगबहादुरले बेलायतबाट फर्किंदा विवाह गरेकी कान्छी महारानी गुजरातको कोचको राजपूत महाराजपुत्री नभएर दक्षिण भारतको क्रुगकी राजकुमारी थिइन् । त्यसैगरी दशरथ चन्द अविवाहित थिए, रूद्रशमशेरको छोरीसँग विवाह हुन पाएको थिएन । सहिद थिर बम मल्ल देहरादूनको सैनिक शिक्षालयमा ‘क्याडेट’ तालिम लिँदालिँदै मुक्ति सेनाको कमान्डमा होमिएका हुन्, उनी भारतीय सेनाको मेजर थिएनन् । त्यसैगरी गिरिजाप्रसाद कोइरालाकी श्रीमतीको प्रथम पतिबाट जन्मिएको छोरी सुजाता होइन, छोरा सुरेश हुन् ।
समग्रमा पुस्तकमा प्रयोग गरेको भाषा सभ्य र उत्कृष्ट छ । नेपाली पाठकहरूका निमित्त भन्दा नेपालसम्बन्धी इच्छुक विदेशी पाठकहरूका निमित्त बडी उपयोगी हुने निश्चित छ ।

प्रकाशित : भाद्र १७, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?