बाबा

कथा
रामलाल जोशी

कसमा बाबालाई पो आफ्ना सन्तानको चिन्ता हुँदैन र ? चराहरूले पनि आफ्ना सन्तानका लागि गुँड बनाएकै हुन्छन् । पखेटा लगाएर आकाशमा उडाइदिएकै त हुन्छन् नि ।

कसका बाबाले के पो दिएका हुँदैनन् र ? शिक्षा र चेतना दिएका हुन्छन् कसैले । नैतिकता र संस्कार दिएर गएका हुन्छन् कोही । कसै–कसैले आफ्नो राजपाठै सन्तानलाई सुम्पिदिएका हुन्छन् । हरेक मानिसहरूलाई तिनीहरूका बाबाले केही न केही दिएरै गएका हुन्छन् । आफ्ना सन्तानलाई केही न केही बनाएरै गएका हुन्छन् । यो त संसारको रीति नै हो नि । आफ्नो पितृ कर्तव्यबाट बाबाहरू कसरी चुक्न सक्छन् र ?
आँखिर रेणुलाई उनका बाबाले महानगरको मेयर बनाएरै छोडे । जसले जे भने पनि प्रकाशलाई उनका बाबाले प्रधानमन्त्री हुँदा स्वकिय सचिव मात्रै कहाँ बनाए र ? स्याबास् छोरा भनेर उनको वीरताको कदर गर्दै तक्मा नै दिए । छोराको वीरता आँखिर बाबुबाहेक अरू कसले पो बुझ्न सक्छ र ? सुजातालाई पनि उनका बाबाले आफू जिउँदो छँदै नेपाल राष्ट्रको उपप्रधानमन्त्री बनाएर गए । सुनिलका बाले पनि अरूको कुरै कहाँ सुने र ? आफ्नो शेषकालमै छोरालाई मन्त्री बनाएरै गए । जयन्तका बाबाले पनि त्यसै त गरे नि । प्रिय छोराका अगाडि कसलाई आँखा देखे र उनले ? जसले जे भने पनि छोरा जयन्तलाई मन्त्रीको माला पहिराएरै छोडे । पारसका बाबाले पनि दुनियाँले लगाएका आरोपको कहाँ पर्वाह गरे र ? कसैको पर्वाह नगरी पारसलाई राजै बनाउन लाग्या थे नि । आँखिर दिनदसा लागेर मात्रै त हो । मान्छेका हातको कुरा कहाँ थियो र त्यो, नियतिको खेल न थियो । बाबा भन्नुहुन्थ्यो—‘नियति सधैं दक्षिण कुनामा बसेको हुन्छ नानी, त्यसले मान्छेको दिनदशा र भाग्यलाई कहिल्यै उत्तर फर्किन दिँदैन । बरु शिशिरको याममा प्रवासमा गएकी कोइलीका दिन वसन्त ऋतुमा उत्तर फर्किन्छन् तर दक्षिण दिशामा दसा बसेका मान्छेका दिन उत्तर फर्किंदैनन् ।’ आज यतिका वर्षपछि आएर बुझ्दै छु, बाबाले कति अकाटय कुरा बोल्नुभएको थियो त्यस बेला ।
विराजका बाबाले पनि आफ्नो पुत्र बात्सल्य कहाँ भुले र !  बरु विद्रोह गर्न तयार भए तर छोरालाई मन्त्री बनाउनबाट कहाँ चुके र उनी ? छोरा विराजलाई मन्त्री बनाएर एउटा आदर्श बाबुले गर्ने माया तमाम गरे उनले । जनताको घाउमा मल्हम लगाएर हृदयमा बसेका चन्द्रमोहनलाई पनि उनका बाबुले कहाँ गाउँमै रहन दिए र ? सांसदको टिकट दिएर आफ्नो छोरालाई ठूलो मान्छे बनाउने सपना पूरा गरे । उत्तरस्थानका कलिला अखिलेशलाई पनि त धेरैको चित्त दुखाएर प्रमुख मन्त्री बनाइदिएका थिए उनका बूढा बाबुले । अरूको चित्तसँग बाबाहरूको के नै सरोकार रहन्छ र ? केवल आफ्ना सन्तानहरूको चित्त दुख्नु हुँदैन, बस् ।
उदास बुधबारको साँझ रुफटपको माथिबाट शैलेश आकाशतिर उडेका चरालाई हेरिरहेथ्यो । उसको टेबुलको गिलासमा रुस्लान भोड्का थियो । एक अद्दी रुस्लानले आकाशतिर हेर्ने बनाउन सक्छ र ? तर उसले टुहुरिएर आकाश हेर्नुको पीडा फरक थियो । ऊ भन्दै थियो, ‘मेरो बाबालाई युद्धमा मर्न नपठाएका भए आज म यस ठाउँमा हुने थिएन । रेडियोले मेरो नाम साँझ–बिहान भनिरहेको हुन्थ्यो आज । मेरा बाबालाई मर्न लगाएर आफ्ना छोराछोरीलाई कहाँ–कहाँ पुर्‍याए सैतानहरूले ।’ बिचरा शैलेशको उदास अनुहार देखेर मेरो मनमा करुणा जागेर आयो । मैले सम्झेँ उहिल्यैका कुरा । ओ हो † जोतिषशास्त्रका कुरा कति अकाट्य हुँदा रैछन् । आज बल्ल ज्ञात हुँदै छ । उहिले भनेका कुरा आज प्रमाणित भएको देख्छु । उहिले ज्योतिष बा भन्नुहुन्थ्यो, ‘बाबा बाँचेकाहरूले राजनीतिमा लाग्नू, ठूलो पद खानू, बाबा नबाँचेकाहरूले तिनीहरूका झोला मात्रै बोक्नू अथवा आफ्नै कुटो कोदालो चलाई खानू बाबै ।’ बाबा नहुनेहरूले यो कुरा बुझेको भए किन लाग्दा हुन् राजनीतिमा कठै †
उहिले स्कुले जीवनमा कुर्कुरै बैंसका बेला म आफूलाई केटीहरूको राजा सम्झिन्थेँ । मायाको फरिया समातेर कहिले काप्रोको फेदमा उसका तिघ्रा चिमोटिरहेको हुन्थेँ त कहिले नन्नीको लामो चुल्ठो खेलाउँदै सल्लाको फेदमा उसलाई सिउँती बिजौलो खुवाइरहेको हुन्थेँ । पानीको तालमा कहिले मन्धराको फ्रक उचालिरहेको हुन्थेँ त कहिले दायाँ हातको पाखुरीमा शिशा कलमले पद्माको नाम लेखिरहेको हुन्थेँ । देखेर बाबाका आँखा राता भएर आउँथे । आफूलाई काबुमा राखेर कहिले सम्झाउनुहुन्थ्यो, ‘हेर छोरा, केटी मान्छेको मन सारै कमलो हुन्छ । मायामा गलेर फतक्क भैजान्छन् । यिनीहरूलाई पिरतीमा डुबाएर अपराध गर्नु हुँदैन । एकचोटि कसैलाई माया गरिसकेपछि काँक्राको लहराजस्तो यिनीहरू अर्काे थाक्रोमा उक्लिन सक्दैनन् । 
सेतो कागजजस्तै हुन्छ यिनीहरूको जीवन । कतै सानो धब्बा लाग्दा चरित्रमा दाग लगाइदिन्छ समाजले ।’ अनि कहिले अचाक्ली रिस आएपछि गालामा चड्कन लाएर हकार्नुहुन्थ्यो, ‘तेरो मात्रै आयो बैंस चरित्रहीन डाँका ? चार–चार जनालाई मायाजालमा फसाएर आफूलाई कृष्ण सम्झेको छस् बिगुवा ?’ हत्तेरी अहिले सम्झिन्छु, अल्लारे यौवनका दिनमा सामान्य मायाप्रेम गर्दा त मेरा बाबाले गालामा डाम बस्नेगरी चड्कन लाउनुभो भने चारै जनालाई विवाह गर्दै छोड्दै गरेको भए के हालत गर्नु हुँदो हो मेरो ? रूखमा बाँधेर सायद अवश्य डाम्नु हुँदो हो सिस्नोपानीले लिङ्गमा । लाग्दै छ, मेरा बाबा साना मान्छे हुनाले पो छोरालाई असल बनाउनेतर्फ चिन्ता गर्नुभो । यदि मेरा बाबा ठूला मान्छे भैदिया भए सायद त्यतिबेलै स्याबासी पाउँदो हुँ र अहिले तक्मा पनि । मोदिआइनको उपदेशलाई संशोधन गरेर उहिल्यै मेरा बाबा केटाकेटीहरूको हूलमा प्राय: भनिरहनुहुन्थ्यो, ‘धनी र ठूला बाबा हुनेहरू ठूलो मान्छे बन्ने कोसि गर्नू नानी, गरिब र साना बाबा हुनेहरू असल बन्ने प्रयास गर्नू ।’
उफ † विगतका वाणीहरू कति निर्मम यथार्थ बनिदिन्छन् भविष्यका सन्ततिका लागि । अहिलेको पुस्ताको अनुभूति र यथार्थ पनि कम रोमाञ्चक कहाँ छ र ? अघिल्लो वर्ष कैलाली क्याम्पसको वार्षिकोत्सवका अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा एउटा गजबको सवाल सोधिएको थियो, ‘बाबा हुनु र नहुनुमा के फरक छ भन्नोस् ।’ स्नातक तहका लाक्पा शेर्पाको बेजोडको तर्कयुक्त उत्तर सुनेर कायल भएथेँ म । आफ्नो समूहको नेतृत्व गर्दै उनले भनेका थिए, ‘बाबा नभएकाहरू ज्यान हत्केलामा राखेर सगरमाथा चढ्छन् तर बाबा भएकाहरू पैसाको सिँढी बनाएर छोरालाई सगरमाथा चढाइदिन्छन् ।’ अहो † यी उत्तरहरू कुनै शास्त्रीय पुस्तकबाट सिकेका ज्ञानका कुरा कहाँ हुन् र ? यी त यस युगका ठूला बाबाहरूले आफ्ना सन्तानका लागि गरिदिएका अविस्मरणीय उदाहरण न हुन् ।
कसका बाबाले पो कहाँ चढाउँदैनन् र आफ्ना सन्तानलाई ? 
काँधमा चढाउँछन् कोही–कोही कुर्सीमा चढाउँछन् पदमा चढाउँछन् कोही–कोही ओहदामा चढाइदिन्छन् । 
उहिले लामबस्तीका मुखिया आफू प्रधानपञ्च भएका बेला सानो छोरा नयनबहादुरलाई घोडामा चढाएर गाउँ घुमाउँदा भन्थे, ‘तिमीहरू यसैका रैती हौ भोलिका । यसैको खुट्टामा माथा टेकाउनू अब ।’
अनि गाउँलेहरू झुकेर प्रणाम गर्थे बालक नयनबहादुरलाई— ‘स्वस्ती राजन ।’ बिचरा दलितहरू आफूले बनाएका चिम्टा अथवा केही उपहार टक्र्याएर झुक्थे, ‘जदौ रौतेला । जदौ साई मालिक । सरकारको खातिरदारीमा यो गरिब सदा हाजिर छ मालिक ।’
घोडा आफ्नो टाप बजाउँदै हिनहिनाएर जब अगाडि बढ्थ्यो गाउँलेहरू आँखाबाट ओझेल नपर्दासम्म हेरिरहन्थे टिठाउँदा भएर । भन्न मन लाग्थ्यो, कठै † कहिलेसम्म त्यसरी टिठाउँदा भएर हेरिरहन्छौ हँ छोराका शासितहरू हो । जब मुखिया बितेर गए उनले बालकालमै घोषणा गरेको राजकुमार नयनबहादुर रङ्गमञ्चबाट कता हरायो कता, थाहा छैन । अहिले भन्न मन लाग्छ, कठै † बाबाका शासक छोराहरू ।
राजी हर्कबहादुरले पनि जिन्दगीभर आफैं माछा मारेर खुवायो नि आफ्ना सन्तानहरूलाई । कहिले माछा मार्न सिकायो र उसले आफ्ना छोराछोरीहरूलाई ? जब ऊ सकियो यस संसारबाट उसका सन्तानहरू पनि रहेनन् सिरुखोलामा । कताकता बिलाएर हराए संसारबाट खै । मलाई लाग्छ–बाबाले बनाइदिएका माटाका मूर्तिजस्ता सन्तानहरू कहाँ खुट्टा टेकेर हिँड्न सक्छन् र काँडाहरूमा ? सधैँ चारा ल्याएर गुँडमै खुवाएका चराका बचेराहरू कहाँ उड्न सक्छन् र स्वतन्त्र आकाशमा ? वीर सन्तानका लागि बाबाले पखेटा लगाइदिनुपर्छ— आफंै उड्न सक्छन् स्वतन्त्र आकाशमा । बाबाले बाटो देखाइदिनुपर्छ— आफैं हिँड्न सक्छन् बाङ्गाटिङ्गा बाटाहरूमा ।

 

प्रकाशित : भाद्र १०, २०७४ ०९:४७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT