यसपालि यस्तै भयो

अनुभूति
नवराज पराजुली

काठमाडौं — गाउँ छोडेर अलि टाढा बस्न थालेपछि मैले गाउँलाई अलि नजिकबाट चिनेको थिएँ । घर छोडेर अलि टाढा काठमाडौं आएपछि बुवालाई अलि नजिकबाट चिनेको थिएँ ।

यसपालि यस्तै भयो

देश छोडेर अलि टाढा आएपछि देशलाई अलि नजिकबाट चिन्दै थिएँ । मलाई डर लाग्दै थियो, जिन्दगी चिन्न जिन्दगीबाट कति टाढा पुग्नुपर्ने हो मैले !

वेस्टोटर, बेल्जियम
हामी उभिरहेको ठाउँमा बेल्जियमकी एक युवती आइन् अनि हामीसँगै लहरमा उभिएको एक बेल्जियमकै युवकको ओठमा एक सेकेन्ड म्वाई खाइन्, करिब एक ग्राम म्वाई । त्यसपछि, मेरै छेउको अर्को युवकको ओठमा एक ग्राम । त्यतिन्जेलमा मैले बुझिसकेको थिएँ कि यसरी उनीहरूले ओठ जोड्नु भनेको नेपालमा हामीले नमस्ते भन्न हात जोडेजस्तै हो । तर मैले यति बुझ्न नपाउँदै ऊ मेरो छेउमा आइपुगी । तेस्रो ग्राम मेरो ओठ थियो । मेरो आँखा ‘अगाडि’ उसको ओठ थिए तर मेरा ‘आँखामा’ उसका ओठ थिएनन् । मेरा आँखाभित्रका ओठले मेरो आँखा अगाडिका ओठलाई त्यस्तरी हेरे जसरी आफ्ना चल्लातिर आउंदै गरेको चिललाई चल्लाको माउले हेर्छे । त्यही माइक्रो सेकेन्डमा मैले चल्लाको माउको ओठ सम्झें । मेरा आँखामा भएका ओठ सम्झें । आँखाका ओठको आँखा सम्झें । आफ्नो टाउको घुमाएँ, ओठ जोगाएँ, अनि अँगालो हालिदिएँ, सान्त्वना पुरस्कारस्वरूप । उसले अचम्म मान्दै मलाई सोधी, ‘यु गाइज डउन्ट किस् इन योर कल्चर ?’ (तिमीहरूकोमा म्वाई गर्ने चलन छैन ?)
मैले भने, ‘डिपेन्ड्स्’ (भर पर्छ)
‘अन ?’ (केमा भर पर्छ ?)
‘वेर यु आर एन्ड हु यु आर विथ’ (तिमी कहाँ छौ र कोसँग भन्ने कुरामा भर पर्छ ।)
‘सोउ यु डउन्ट किस न्यू पिपल ?’ (उसो भए तिमीहरू नयाँ मान्छेलाई म्वाई खाँदैनौ ?)
‘डिपेन्ड्स’
‘अन ?’
***

मलाई उत्तर मुखैमा आएको थियो, लोक सेवा आयोगमा सोधेको बहुवैकल्पिक प्रश्नको सबै विकल्पै नहेरी गोलो लगाउन मिल्ने उत्तरजस्तो । तर पुलुक्क हेरें, मेरो छेउमा विमल (सुवेदी) सर र राजेन्द्र (महर्जन) सर उभिनुभएको थियो, अलि पर दिलीप (रानाभाट) सर र सुजन (ओली) सर उभिनुभएको रहेछ । गुरु र सिनियरहरूको अगाडि लाज भो । म लोक सेवा आयोगमा सोधेको आईक्यूको सबै विकल्प ठीक लागेर अल्मलिएको मान्छेजस्तै चुप बसें । दीपेश (राई) जी, जेनी (सुनुवार) बैनी र विपुल (पाण्डे) भाइ पनि आइपुगे । ती बेल्जियमकी युवतीले सबैलाई पालैपालो अँगालो मात्र हालिन् । यसरी बेल्जियममा नेपालले छ ग्राम म्वाई बचायो ।
ऊ म्वाई खानुको गुणको महत्ता दर्साउँदै प्रवचन दिन थाली, किसशास्त्रको पहिलो अध्याय सुरु भो । म त्यो आँगनैअगाडिको चौरमा त्यो रातको एघार बजे घाँस चरिरहेका अग्लाअग्ला घोडाहरू हेर्न थालें । सोचें, यी घोडाहरू यति राति घाँस खान्छन् कि रात खान्छन् ? हुन त घाम भर्खरै राति साढे दस बजे मात्र अस्ताएको थियो । आकाशको कलिलो जून धर्तीका रूखका हाँगाहरू पन्छाउँदै चम्किरहेथ्यो । भोको देखिन्थ्यो जून । भोकाएथ्यौं हामी । वरिपरि पोलेको मासु इत्यादि राखेर थिएटर भिलेज परिवार बस्यो आँगनमा । हाम्रो युरोप यात्राको अन्तिम रात थियो त्यो । राजेन्द्र सरले आफूभित्रको नारायणगोपाललाई बाहिर निकाल्नुभो र गाउनुभो । हामी सबैले आ–आफूभित्रको नारायणगोपाललाई निकाल्यौं र कोरसमा पाँच नारायणगोपालहरूसहित गायौं :
केही मीठो बात गर, रात त्यसै ढल्कँदै छ 
भरे फेरि एकान्तमा रुनु त छँदै छ...
हामी सबैले गीत गएको सुनेर ती युवती पनि आइन्, बसिन् हामीसँगै । हामीले रातलाई ढल्काइरह्यौं । उनले टाउको ढल्काइरहिन् । हामीले ‘दुई कदम साथ हिँडौं, छुट्टिनु त छँदै छ’ भनिसकेपछि उसले सोधी :
‘इस दिस् योर नेइसनल् अ्यान्थम् ?’ (यो तिमीहरूको राष्ट्रिय गान हो ?)
हामी सबैले एकै स्वरमा भन्यौं, ‘नउ’ (हैन)
‘आर यु अ फ्यामली ?’ (तिमीहरू एउटै परिवारको हो ?)
‘नउ’ ।
अचानक उसका आँखा टिलपिल भए । किन हो थाहा छैन ।
मैले गाउन सुरु गरें,
‘तिमी जुन रहरले ममा फुल्न आयौ 
सबै सुख हराए सधैं चोट पायौ ..
फेरि त्यो गीत पनि बाँकी पाँचै जनाले सँगै गाउन थाल्नुभयो । ऊ त बरर आँसु झारेर रुन पो थाली । सुक्सुकाउन थाली । पूरा थिएटर भिलेज स्तब्ध । मैले सोचें, नेपाल फर्केर दिनेश अधिकारी दाइलाई भन्छु, ‘दाइ तपार्इंको शब्द सुनेर बेल्जियमकी एक युवतीको आँसु बरर ।’ फेरि सोचें, धत † उसले नेपाली भाषा कहाँ बुझ्छे ? अनि सोचें, गोपाल योञ्जनको धुनले छोयो होला । फेरि सोचें, त्यो धुनले छुनका लागि त गाउनेले त्यसरी नै गाउनुपर्‍यो नि † आफ्नो सुर महिषासुरले मर्ने बेलामा चिच्याएको आवाज जत्तिको त छैन † त्यसो भए ऊ किन रोई त ? यो प्रश्न त ‘भस्मे हनुमानसँग किन डराउँथ्यो ?’ जत्तिकै अप्ठ्यारो भो । त्यत्तिकैमा तिनले सोधिन् :
‘इस दिस् योर नेइसनल् अ्यान्थम् ?’
हामी सबैले एकै स्वरमा भन्यौं, ‘नउ’ (हैन)
‘आर यु अ फ्यामली ?’
‘नउ’ ।
अब ऊ झन् साह्रो गरी रुन थाली । त्यसपछि एक–एक गर्दै हामी सबैले आ–आफूलाई मन परेको गीत गाउन सुरु गर्‍यौं र सबैले सँगै गायौं । युरोपको त्यो आकाशमा, आँगन भने नेपालको थियो । आँखा मिच्दै उसले सोधी, ‘हाउ मेनी संग्स क्यान यु सिंग टुगेदर ?’ (कतिवटा गीत तिमीहरू सबै जना एकै स्वरमा गाउन सक्छौ ?)
दुब्लो छाती फुकाएर मैले भनें, ‘इफ वी रिटन टु नेपाल अनफुट फ्रम हिअर, विक्यान सिंग द नम्बर अफ् संग्स टुगेदर रिक्वायर्ड टु रिच टु आउअर कन्ट्री’ (यदि हामी युरोपबाट हिँड्दै नेपाल फर्किने हो भने हामी पूरा बाटो त्यति गीत सँगै गाउन सक्छौं जति गीत नेपाल पुग्नलाई गाउनुपर्छ) । ऊ केहीबेर मौन भई । अनि सुनाई वास्तवमा भस्मे हनुमानसँग किन डराउँदो रैछ । उसलाई हाम्रो गीतले हैन, हामी सबै जनाले सबै गीत उस्तै भावमा सँगै गाएको देखेर छोएको रहेछ । उसले भनी, ‘तिमीहरू कति धेरै खुसी छौ । सँगै बच्चैदेखि हुर्केको परिवारजस्तै सँगै बसेर सबै गीत गाउँछौ । हाम्रोमा त यसरी केही गरी भेला भयौं भने, कोही सँगै गीत गाउँदैनन् । गीत त केवल रेडियो वा म्युजिक प्लेअरले मात्र गाउँछ । एउटाले सुरु गरेको गीत अर्कोले गाउँदा तिमीहरू सबै एउटै मान्छे हो जस्तो लाग्यो । हामीसँग त एकअर्कालाई सुन्ने फुर्सद नै छैन ।’ अघिसम्म जुन केटी म्वाई गर्ने ओठको संस्कृतिमाथि प्रवचन दिँदै हाँसिरहेकी थिई, अहिले उसको आँसु चुहिएर तिनै ओठ भिजाइरहेका थिए अनि ऊ हाम्रो सँगै गीत गाउने ओठको संस्कृतिमाथि मधुर वचन बोल्दै रोइरहेकी थिई ।
त्यतिखेर अनुभूति भयो, ‘सँगै बसेर सबैले एउटी गीत गाउनु’ जस्तो हामीले ख्यालसम्म नगरेको हाम्रो संस्कृतिको सानोभन्दा सानो कुरा, खुसी हुन चाहिने कति ठूलो कुरा हो रहेछ । खुसीलाई स्वस्थ हुन चाहिने बयरजस्ता हाम्रा संस्कृतिका यी सानासाना फलफूललाई आधुनिक भनिएका फोस्रा कीराबाट बचाउन पाए हुन्थ्यो जस्तो लागिरह्यो । ‘मालिनी’ नाटक देखाउन युरोप यात्रामा गएका थिएटर भिलेजका हामीलाई नाटकको बहानामा हाम्रो संस्कृतिको खुसीको स्वाद भएको फल चिन्ने मौका साबित भयो । जीवनमा हामी कुनै अर्को ठाउँमा पुगेर आफ्नो ठाउँलाई चिन्दा रहेछौं, जसरी कुनै अर्को मान्छेसम्म पुगेर हामी आफूभित्रको मान्छेलाई भेट्छौं । बेल्जियमको त्यो आँगनमा नेपालले भट्याएको अनि बेल्जियमले ‘देउसी रे’ भनेजस्तै भयो । यसपालि यस्तै भयो ।

रुडलस्टार्ट, जर्मनी
‘टेल अ ससम्थिंग् अबाउट नेपाल द्याट युथिंक वी डउन्ट नउ’ (नेपालको बारेमा त्यस्तो केही भन्नुस् जुन हामीलाई थाहा छैनजस्तो तपाईंलाई लाग्छ) हामीलाई तालिम दिन लागेका न्युजिल्यान्डका प्रशिक्षकले छ अरू देशका मान्छेका अगाडि मलाई यो प्रश्न सोधे । लु † अब के भन्ने ? त्यति धेरै उत्तरहरूबाट के छान्ने ? लोक सेवा आयोगलाई भन्न मन लाग्यो, ‘विकल्प कहिलेकाहीं चारवटाभन्दा बढी हुँदा गाह्रो हुँदो रहेछ ।’ उसले सोधेको प्रश्नलाई छिर्के लगाएर मेरो मनमा अरू प्रश्नहरू आए :
हामीले नेपाललाई विश्वमा कसरी चिनाएका छौं ?
बुद्ध र हिमाल ?
नेपाल भनेको बुध्द र हिमाल मात्रै हो ?
बुद्धलाई बुद्ध हुन हामीले सघाएको हो ?
हिमालमा हिउँ र घामको खेल हुन हाम्रो भरपूर योगदान छ हो ?
हामीले आफैंले बनाएको चाहिँ के हो जो हामीले बचाइराखेका छौं ?
ती प्रशिक्षकले म टोलाएको देखेर अलि ढिलो अंग्रेजी बोल्दै मलाई त्यही प्रश्न फेरि सोधे । मैले छिट्टोछिट्टो अंग्रेजीमा जवाफ दिएँ, ‘करिब डेढ लाख वर्गमिटरको मेरो देशमा हामी एक सय पच्चीस भाषा बोल्छौं ।’
कसैले पत्याएनन् । सबैले ट्वाँ परेर मेरो मुखमा हेरे अनि एकै स्वरमा भने, ‘यु मस्ट बी जोकिङ’ (ठट्टा नगर्नुस् न) ।
मैले हल्का नखरा पार्दै भनें, ‘गुगल इट’ (नपत्याए गुगलमा खोज्नुहोस्) ।
त्यो मिनेटपछि, तीन दिनको त्यो तालिममा मलाई सबैले विशेष सम्मानका साथ कुरा गर्न थाले । सबैले भन्थे, ‘ही इज फ्रम द कन्ट्री अफ हन्ड्रेड एन्ड ट्वेन्टी फाइभ ल्याग्विजिज’ (ऊ एक सय पच्चीस भाषा बोलिने देशको मान्छे हो) । त्यो तालिमभरि हामीलाई न्युजिल्यान्डको ‘माओरी’ संस्कृतिका केही सुन्दर चालहरू, नृत्य र माओरी भाषाको एउटा सुन्दर गीत सिकाइयो । ती प्रशिक्षक भन्दै थिए, ‘म यही कुरा विश्वभरि सिकाउँदै हिँड्दै छु ।’ मेरो मनभरि लाग्यो, धाननाच, चण्डीनाच, बालन, देउडा, झिंझिया सिकाउँदै हामी नेपाली विश्व किन नघुम्ने ? न्युजिल्यान्डका कुनै हिमाल र समुद्र वा बुद्धपुरुष चिने वा नचिने पनि मलाई कसैले न्युजिल्यान्डको बारेमा सोध्यो भने म भन्नेछु, न्युजिल्यान्ड माओरी संस्कृति भएको देश हो जहाँ पुरुषलाई आकाश र महिलालाई धर्ती भन्दै नाचिन्छ । त्यस्ता मिथक, नृत्य, गीत त हामीसँग एक युगभरि सिकाउन पुग्नेगरी छन् । राज्यले अलिकति हैंसे गर्दिने हो भने हामी हाम्रै संस्कृति चिनाउँदै, सिकाउंँदै, विश्व घुम्दै, नाम, दाम कमाउँदै हिँड्न सक्छौं । बुद्ध र हिमालजस्तै गरी विश्वले कुनै दिन ‘नेपाल धाननाच, चण्डीनाच, बालन, देउडा, झिंझिया (आदि) नाचिने देश हो’ भन्यो भने शान्त बुद्ध पनि त मुसुक्क हाँस्लान्, हिमालका गाला पनि त खुसीले राता होलान्, पहाडले पनि त आफ्नो नाक फुलाउला, तराईले पनि त आफ्नो छाती फुलाउला †

पर्थ, अस्ट्रेलिया , हिन्द महासागर 
यादवजी भिडियो खिच्दै हुनुहुन्थ्यो, म हिन्द महासागरका छालहरूलाई मेरो ‘मोक्ष’ कविता सुनाउँदै थिएँ ।
म भन्दै थिएँ 
...म तिम्रो किन हुनुपर्‍यो ?
मलाई त आफ्नै हुनु छैन,
मलाई त उसको हुनु छ,
जसको भइसकेपछि 
फेरि कसैको हुनुपर्दैन...

एक्कासि मलाई पैतालामा नचिल्ने काला कमिला दौडिएजस्तै भयो । नीलो आकाश नै पोखिएको जस्तो त्यो समुद्रबाट छाल बनेर आकाश मैतिर आएजस्तै लाग्यो, ढलपलढलपल गर्दै । छालमा म एउटा अनुहार देख्दै थिएँ, कतै चिनेजस्तो अनुहार । त्यत्तिकैमा छालले मलाई निथ्रुक्कै हुने गरी भिजायो । म अल्मलिएँ, मलाई पोखिएको आकाशले भिजायो कि चम्किएको अनुहारले भिजायो ? मेरो जीउभरि ऐले के छ, थोरै आकाश कि धेरै अनुहार ? 
‘कविता कन्सर्ट’ त म अस्ट्रेलिया पुग्ने बहाना मात्र हो रहेछ, हिन्द महासागरको एक चुम्बन पाउनु रहेछ । एउटा सिंगो आकाशको चुम्बन, एउटा विशाल मुहारको चुम्बन ।
...मलाई त उसको हुनु छ,
जसको भइसकेपछि 
फेरि कसैको हुनुपर्दैन...

 ‘मोक्ष’ कवितामा मलाई जसको हुनु थियो, उसैलाई भेटेजस्तै भयो, यसपालि यस्तै भयो ।

प्रकाशित : भाद्र १०, २०७४ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?