कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

विरहको गुञ्जन

निबन्ध
तारानाथ शर्मा

जीवन भन्नु पनि अचम्मैको भाँडो हुँदो रहेछ । हो, कतै अरूको पकाउने भाँडो हुँदो रहेछ, कतै यो ‘आफूले तेरो ठाँडो’ हुँदो रहेछ, तर धेरैजसो चाहिँ घाँडो हुँदो रहेछ ! जीवनमा मैले न्याय र मानवताको खाँडो जगाएँ, तर यो कतिका लागि घोच्ने काँडो पो भइदियो, छेक्ने डाँडो पो भइदियो र मन नपरे पनि मुखमा कोच्ने फाँडो पो भइदियो ।

विरहको गुञ्जन

भकुन्डो भएँ म हिजोसम्मका अधिकारीका लागि, अचानो भएँ म अधिकारमा भर्खरै चढ्नका लागि र हाउगुजी भएँ म सदाका टपरटुइयाँहरूका लागि । यसरी सेतो हात्ती पो भइदिएँ म समस्त देशवासीहरूका लागि सुदूर उत्तरमा लहरै कञ्चन चाँदीजस्ता हिउँका चुचुराहरू टलल्ल टल्किरहेका छन् र ती चुचुराहरूका तलतिर अँध्यारा गुफाहरूमा मेरैजस्तो कोकोहोलो सुनिन्छ, छातीभित्रको व्यथा सुसाएको सुनिन्छ, कालै बादलभित्र लुकेको हृदयभरिको चीत्कार सुनिन्छ ।
र हुर्हुरे डाँडाको हावा भएर, उद्देश्यहीन आकाशको कावा भएर र सधैं हार्नुपर्ने धावा भएर म हुन्हुनाइरहेको रहेँछु, कराइरहेको रहेँछु र धर्मराइरहेको रहेँछु ।
यस्तै डाँडाहरू छन् मेरो देशमा पनि । यस्तै रूखहरू छन् मेरा डाँडाहरूमा पनि । यस्तै छ वायु, यस्तै छ घाम र यस्तै छ माटो मेरो मातृभूमिा पनि । तर यहाँ जे छ मेरो मुलुकमा छैन, यहाँ जस्ता मानिसहर छन् त्यस्ता मेरो भूगोलमा छैनन् र जुन सुकिला र चौडा बाटाहरूको जालो यहाँ फिँजारिएको छ मेरो देशमा छैन । जति छोटो हुन्छ मन, उत्ति नै साँगुरो हुन्छ बाटो पनि । जति सङ्कीर्ण हुन्छ ज्ञान, उति नै होचा हुन्छन् भवनहरू पनि, योजनाहरू पनि र कार्यक्रमहरू पनि । यस जीवनमा मैले जे देखेँ बाहिरै देखेँ, जसलाई मैले भेटँे बाहिरै भेटेँ र मान्छे हुन जे सिकेँ बाहिरै सिकेँ । ईष्र्याबाहेक, डाहाबाहेक र खिसीबाहेक देखिनँ मैले नेपालको छातीमा यस जीवनभरि । साँगुरो स्वार्थमा अल्झेर खिइँदै र पुड्किँदै जानु नै मेरो देशको विशेषता भएको मैले देखेको छु । ठूलाठूला जननेता हौं, त्यागी सत्पुरुषहरू हौं र सन्तसन्न्यासीहरू हौं भन्नेहरू पनि परिवारभित्रकै मजेरीमा घेरिएका देखेर, अज्ञान, अयोग्यता र अशिष्टतामै मक्ख परेका देखेर अनि गोष्ठी र भेलामा, प्रज्ञा र उच्च शिक्षामा, अध्ययन र गवेषणमा समेत चाकरी नै मौलाएको, कोसेली नै अघि बढाइएको र नभए नाता नै उचालिएको देखेर दामनमा पुग्छु म र उत्तरतिर हेरेर धमिला आँखामा आँसु–आँसु हुन्छु म । गुराँस त रातै फुल्छन्, डाँडैडाँडाभरि सिँदुर छरिन्छ र हरिया वन दुलही हुन पुगेका देखेर चराहरू झुल्छन् र पारिपारिका फाँटहरू प्राकृतिक सौन्दर्यमा खुल्छन्, तर मनको घाउलाई हिमाली शुभ्रताले मलम लगाउन सक्तैन, चिरिएको छातीलाई गुराँसको रातो रङले शीतल पार्न सक्तैन र भोको पेटमा छुत्ती खेल्ने आन्द्राहरूलाई चराहरूको सङ्गीतले शान्त बनाउन सक्तैन ।
सनन्न चिप्लो गाडी स्वात्त सुरुङभित्र सुल्कन्छ । एक्कासि दुवैतिरका आकाश छुने भवनहरू ओझेल पर्छन् ‘एक तमासको गति गुन्गुनाएजस्तो भएर कान झनन्न हुन्छ । आधी घण्टैअघि विमानको झ्यालबाट देखिएका टाढाटाढाजस्ता रमाइला टापुहरू बाटैबाटाले कलात्मक रूपमा काटिएर, टल्कने घरहरू झुरुम्मिएर र चौकुने हरिया खेतहरू सजिएर मेरा आँखालाई मनोरञ्जन दिएको म सम्झन पुग्छु । विशाल नीलो महासागरमा थोप्लाजस्ता पानीजहाजहरू अघि–पछि सेता पानी फाल्दै घस्रिरहेको दृश्य पनि म सम्झन्छु । हेर, मेरो देश भने पानीशक्तिमा श्रेष्ठ मानिए पनि हाम्रा नदीका बाटामा कहिल्यै जहाज चलाउने सद्बुद्धि हाम्रा टाउकेहरूमा पलाएर । यहाँ एक माइल चौडा टापुमा पनि मोटरका चिल्ला र चौडा बाटाले चारैतिर काटाकाट गरेका छन्, तर मेरो देशमा भने सयौं माइल हिँड्दा पनि कुनै सभ्य मान्छे हिँड्ने खालको बाटो भेटिँदैन ।
यत्तिकैमा सनन्न गर्दै गाडी पहाड छेडेर स्वर्गमा पुग्छ । स्वर्ग भन्नु नै सुन्दर, शुभ्र र सफा स्थान हो भने म ताइपेई पुगेँ । वैकुण्ठ भन्नु नै शिष्ट, सौम्य र सुखदायी व्यवहार हो भने म त्यसै व्यवहारमा पुगेँ । म राष्ट्रिय चेङ्ची विश्वविद्यालयमा पुगेँ । सत्ताईस लाख जनसंख्याको सहर ताइपेई, छवटा विश्वविद्यलायहरूले सिँगारिएको यो सहर र डाँडैडाँडा अनि उपत्यकै उपत्यकाको यो मिश्रण प्रकृतिको सुन्दरतामा मान्छेको कलाकारिता थपिएको एक अद्वितीय नमुना रहेछ ।
हो, यसरी म राष्ट्रिय चेङ्ची विश्वविद्यालयमा २०४७ सालमा पुगेको थिएँ ।
विश्वविद्यालयहरू त जुनसुकै मुलुकमा पनि अचेल बनिसकेका छन्, तर ताइपेईको राष्ट्रिय चेङ्ची विश्वविद्यालयको भव्यताले मेरो भावनाभित्रै भास्कर उदायो, त्यसको सौन्दर्यले मेरो शरीरभित्र शिक्षाप्रति स्नेहको बाढी उल्र्यो र त्यसको स्वच्छताले मेरो छातीलाई सङ्लो बनायो, छर्लङ्ग तुल्यायो,
पुलकित पार्‍यो ।
जापानका शुभ्र विश्वविद्यालयहरू हेरेको छु मैले, दक्षिण कोरियाका गगनचुम्बी भवनहरूयुक्त फराकिला विश्वविद्यालयहरूभित्र घुमेको छु म र सौभाग्यवश प्यारिसको सोबोर्न्देखि बेलाइतका अक्सफोर्ड, केम्ब्रिज र एडेन्बर विश्वविद्यालयहरूमा कुल्चन पाएको छु मैले । अमेरिका त अमेरिकै भयो, सहरैपिच्छेका आकाश छेड्न उत्ताउलिएका अग्ला न अग्ला भवनहरूका ताँतीले सिँगारिएको त्यसको शैक्षिक क्षेत्र रमणीय मात्र होइन, उत्साहबद्र्धक मात्र पनि होइन, अनन्त तिर्खा, अशेष ईष्र्या र विराट् वितृष्णा उब्जाएर मलाई सधैं नेपाली भएर जन्मेकामा खिसी गरेझैं पल्टिरहेकै छ ।
मैले विश्वविद्यलायको विराट् क्षेत्रभित्र कुल्चनेबित्तिकै एउटा विचित्रको विशाल घण्ट बज्यो र चारैतिर त्यसको आवाज घननन घन्क्यो । शरीरका अङ्गअङ्गलाई झङ्कृत पार्दै त्यो मेरो मनमस्तिष्कसम्म गुन्जन पुग्यो ।
एकाबिहानै उठेर म वज्रासनमा बस्छु र शान्ता पद्मासनमा जम्छे अनि हामी आफ्ना सारा चिन्ताहरूलाई एकातिर पन्छाएर ओम्को लामो स्वर गुन्जाउँछौं । हाम्रो समवेत ध्वनि भित्रैबाट घन्कँदा समस्त अन्तरिक्ष नै झननन्न भएजस्तो हुन्छ, चिम्लिएका हाम्रा दुवै आँखाका बीचको तेस्रो नेत्रको आज्ञाचक्रमा ओम्को आकृति बनिन्छ र त्यसलाई देदीप्यमान गोलाकार ज्योतिले ढाकेर हामी दुईलाई मात्र होइन, सम्पूर्ण विश्वलाई नै झल्झलाकार तुल्याएजस्तो अनुभूतिमा हामी समय बितेको पत्तै पाउँदैनौं । यस्तो अनुभूति अरू किसिमले त हुनै सक्तैन भन्ने विश्वासमा म थिएँ, तर चेङ्ची विश्वविद्यालयको घण्टबाट प्रतिध्वनित ओम्कारले मलाई आत्मविस्मृत तुल्यायो र सम्भावनाका अनेकौं नयाँ ढोकाहरू उघार्‍यो ।
हो, त्यो ओम्कारै थियो, नत्र किन त्यस्ता फराकिला न फराकिला बाटा, चोक र आँगनमा सल्सलाइरहेका असंख्य नरनारी त्यसरी एक्कासि हल न चल हुँदै साम्सुम्म भएन ? साइकलमा हुइँकिरहेका युवकहरू ठ्याक्क रोकिएर तल ओल्र्हे, फटाफट हिँडिरहेका युवतीहरू जुन ठाउँमा पुगेका थिए त्यहीँ नै टक्क अडिए, सन्साइरहेका मोटरहरू घ्याच्च बीच बाटैमा थामिए र इन्जिन बन्द गर्दै चालक र गाडीभित्रका व्यक्तिहरू आसनमै चुपचाप टाँसिएका जस्ता भए ।
एक्कै छिनमा सुमधुर ध्वनि र लयमा शून्य आकाशबाट गुन्जिएजस्तो सङ्गीतले चारैरित ढाक्यो । हामीले ओम्को उच्चारण गर्दाझैं साराका सारा मानिसहरूले आँखा चिम्ले र आफ्ना शिर श्रद्धापूर्वक झुकाए । त्यहाँका आँगन, आँगनवरिपरिका ताँतीका ताँती भवन र माथिमाथि देखिने रूखैरूखले मनोरम तुल्याएका डाँडाहरूसमेत शान्त मुद्रामा ध्यानमग्न भएजस्तो मलाई भयो । सङ्गीतले नसानसालाई प्रवाहित तुल्याएजस्तो, मांसपेशीका एक–एक अंशलाई झक्झक्याएजस्तो र मुटुलाई मायाले सहलाउँदै थप्थपाए र थुम्थुम्याएजस्तो अनुभूतिले म पनि मन्त्रमुग्ध भएँ ।
हो, सङ्गीत त थियो तर हल्ला थिएन, लय त थियो तर कानलाई कतै बाधा थिएन र सास फेरिरहे पनि, जीवन भोगिरहे पनि, वायु बगिरहे पनि एक प्रकारको शान्ति, एक तमासको शून्य र अनन्तसम्म मौनता, सन्तृप्ति र दिव्यता फिँजारिइरहेको थियो । ठ्याक्क घडी नै अडिएजस्तो, पृथ्वी नै गतिहीन भएजस्तो र समस्त ब्रह्माण्ड नै समाधिको अवस्थामा बसेजस्तो भयो र म हेरेको हेर्‍यै भएँ ।
मलाई सङ्गीतको प्रवाह बन्द भयो भन्ने ज्ञान त त्यति बेला पो भयो जब घ्याच्च युवकहरू हतारहतार वेग मार्न थाले र मूर्तिवत् उभिएका युवतीहरू हस्याङफस्याङ गर्दै कक्षतिर दगुर्न थाले ।
मसितै सम्मेलनभवनतिर जान लागेका एक सज्जनलाई मैले सोधें, ‘यसरी किन ती सङ्गीतको लय गुन्जन छाड्नेबित्तिकै गतिशील भए ?’
‘हरेक दिन बिहान ठीक आठ बजे घण्ट बज्छ र राष्ट्रिय धुन गुन्जन्छ । विश्वविद्यालय परिसरभित्र समस्या छात्रछात्रा, सम्पूर्ण प्राध्यापक–प्राध्यापिका र समग्र कर्मचारीहरू आफ्नो प्यारो राष्ट्रप्रति श्रद्धाविनत हुँदै जहाँको तहीँ शान्त र गम्भीर मुद्रामा उभिन्छन् । राष्ट्रिय धुन सकिनेबित्तिकै ती आफ्ना–आफ्ना गन्तव्यतिर वेगसाथ लाग्छन् । के तपाईंको देशमा यस्तो प्रथा छैन र ?’
मलाई छातीमै कसैले एक मुड्की बजारेजस्तो भयो । त्यहाँजस्तो अनुकरणीय राष्ट्रप्रेम, मातृभूमिप्रतिको अनन्त श्रद्धा र राष्ट्रिय धुनप्रतिको अकथनीय भक्ति मेरो देशमा भइदिएको भए म कति गौरवान्वित हुन्थेँ होला । अवश्य पनि यसरी छाती चसचस दुखाउँदै लाजले पानीपानी हुन्नथेँ होला !
हामी पनि फटाफट सम्मेलनभवनतर्फ लाग्यौं जहाँ बेलाइत, अमेरिका, फ्रान्स, जापान र मूलभूमि चीनका विद्वान्–विदुषीहरू, ताइवानी प्राध्यापक–प्राध्यापिकाहरू र चेङ्ची विश्वविद्यालयका अधिकारीहरूसित उभिएर सामूहिक चित्र खिचाउने तर्खरमा हामीलाई पर्खिरहेका थिए ।
चित्रहरू त खिचिँदै जान्छन्, खिचिए पनि । कार्यपत्रहरू त पढिँदै जान्छन्, पढिए पनि । पूरै ताइवान द्वीप वरिपरिका भ्रमणहरू त हुँदै जान्छन्, भए पनि । तर एउटा कुरालाई भने म कहिल्यै बिर्सन सक्तिनँ । बिर्सने त कुरै छाडौं, त्यस कुराले मेरो शरीरभित्रका समस्त अवयवहरूलाई झङ्कृत तुल्याउँदै आएको छ र मेरो अस्तित्व आधारलाई समेत त्यसले गुन्जायमान बनाउँदै आएको छ ।
हो, मलाई राष्ट्रिउ चेङ्ची विश्वविद्यालयले नेपालमा तिब्बती धर्म र संस्कृतिले पारेको प्रभाव भन्ने विषयमा बोल्न भनेर बोलाएको थियो र मैले बौद्ध धर्म र बोन्पो परम्पराका साथै जातीय र भाषागत अन्तरसम्बन्ध र पारस्परिक प्रभावबारे बोलेँ । खचिखचाउ दर्शकवृन्दले समयसमयमा बजाएका थपडीले र प्रश्नोत्तरपछिका सन्तुष्टि र प्रशंसाका ध्वनिहरूले मलाई प्रसन्न पनि बनाए । तर म जतिसुकै हर्षित र प्रेरित भए पनि र बधाई प्रकट गर्नेहरूप्रति उज्ज्वल मुखमण्डलले मैले जतिसुकै धन्यवाद प्रकट गरे पनि त्यति बेला पो म नितान्त नौलोपना र अवर्णनीय आत्मिक सुखको अनुभूतिमा चुर्लुम्म भएँ जब पेइचिङका प्राध्यापक शेन, फ्रान्सकी प्राध्यापिका फाबियान र जापान, मकाउ टापु र हङकङलाई प्रतिनिधित्व गर्ने विद्वान्/विदुषीहरूसित म सन्यातसेनको भव्य स्मारक हेर्न पुगेको थिएँ ।
विस्तृत खुला क्षेत्रलाई चारैतिरबाट बारेर ताइपेईजस्तो अटेसमटेस भवनहरू भएको घुइँचे स्थानमा सारा प्राचीन चीनलाई सम्झाउने उच्च कलात्मकताले सजिएको एउटा भव्य भवन गर्वसाथ पगोडा शैलीमा उभिएको छ । कतै सुन्दर तलाउहरूमा कमलका फूलहरूसित लुकामारी खेल्दै स्वच्छ सेता रजहाँसहरू तैरिरहेका थिए, बाङ्गाटिङ्गा डिलहरूमा छाँटसित सजाइएका रङ्गीचङ्गी पुष्पहरूका सुवास र सौन्दर्यले घेरिएका पोखरीहरूमा राता, सेता, सुनौला र छिर्केमिर्के माछाहरू नृत्य प्रदर्शन गरिरहेका थिए र कतैचाहिँ विशाल चौरमा थरीथरीका रमाइला रङका लुगा लगाएका, स्याउ गाला भएका र मुस्कान र जिज्ञासामा उत्फुल्ल बालबालिकाहरू आफ्ना शिक्षक–शिक्षिकाहरूसित पङ्क्तिबद्ध भई स्मारकभित्र प्रवेश गर्न लागिरहेका थिए ।
आफ्ना ऐतिहासिक पुरुषको सम्मान गर्न ताइवानले जानेको थियो, आफ्नो चिनियाँ संस्कृतिको संरक्षण गर्ने बिँडो ताइवानले नै उठाएको थियो र बुद्ध, ताओ र कन्फुसिअसलाई छुट्टाछुट्टै रूपमा वा समन्वय गरेर ठाउँ–ठाउँका डाँडा–डाँडामा वास्तुकलाका अनुपम नमुनास्वरूप पूजाआजा आकर्षक पाराले सञ्चालन गरेर चिनियाँ दर्शन, चिनियाँ धार्मिक सहिष्णुता र चिनियाँ प्राचीन सभ्यताको प्रदीप्त ज्वालालाई जनहृदयमा जलाइराख्ने जिम्मा पनि त्यसै ताइवान तापुले बेहोरेको थियो । ताइवानमा मूलभूमिका चिनियाँहरू बहुसङ्ख्यामा प्रवेश गर्नुअगावैका आदिवासीहरू पनि झिलिमिली पोसाकमा झल्याकझुलुक हुन्छन् र तिनका विकास र संवद्र्धनमा पनि ताइनवान जीउज्यानले लागेको थियो । अनि आधुनिक विज्ञान र प्रविधिले झकिझकाउ ताइवानको राजधानी ताइपेई न्युयोर्क, प्यारिस र टोकियोलाई समेत उछिनेर बिजुलीका झिलिमिलीले चम्किनसम्म चम्केको थियो ।
बरन्डाका कुनामा झलमल्ल बिजुलीको प्रकाशमुन्तिर दुई प्रौढ पुरुषहरू बेन्चीमा बसिरहेका र आफ्ना बाल्यकाल र यौवनको सम्झनामा विरक्त हुँदै उँगिरहेका जस्ता मैले देखेँ । चिनियाँ भाषामै तिनसित कुरा गरेपछि अचम्मित भावविह्वल हुँदै शेनले हामीलाई अंग्रेजीमा भने, ‘यी दुवै महान् सङ्गीतकार चीनभरि प्रसिद्ध थिए, तर पछि कसैलाई थाहा नदिई किन हो यिनले आफ्नो कर्मस्थल पेइचिङलाई मात्र होइन, मूलभूमिलाई नै त्यागेका थिए । यी त यहाँ पो आइपुगेका रहेछन् !’
‘यस्ता प्रसिद्ध सङ्गीतज्ञहरूले पनि किन देशै छाड्नुपरेछ नि ?’ फाबियानले फ्रान्सेली उदार स्वभावको प्रदर्शन गरिहालिन् ।
‘अहिले त्यतातिर नजाऔं । बरु यी दुईका सङ्गीतको एउटा सानो टुक्राको रसास्वादन गरौं । यी दुईमा एक जनाका गलाको र अर्काको वीणाको झङ्कारको परिचय तपाईंहरू आफैं पाउनुहुनेछ । अद्भुत प्रतिभा छ यी दुईमा ।’
शेनको विनम्र अनुरोध सुन्दा पहिले त उनीहरूले त्यस्ता ठाउँमा एक्कासि गाउनु र बजाउनुपर्दाको पीडा प्रकट गरे, तापनि एक्कै छिनको अभ्यर्थनापछि ती राजी भएको हामीले बुझ्यौं ।
मेरो ठूलो भाग्य रहेछ । त्यस्तो अप्रत्याशित र अपूर्व मौकाका लागि म चीनलाई, शेनलाई र ती दुवै सङ्गीतज्ञहरूलाई अन्तर्हृदयदेखिको धन्यवाद दिन्छु । म चीनलाई धन्यवाद दिन्छु, किनभने चीनमै ती जन्मेका थिए, हुर्केका थिए र हुर्किसकेपछि निरन्तर साधनामा डुबेर आफ्ना प्रतिभालाई चमत्कारको शिखरमा पुर्‍याउन सफल भएका थिए । म शेनलाई धन्यवाद दिन्छु किनभने चिनियाँ सङ्गीतलाई उनले बुझेका थिए, प्रतिभालाई चिनेका थिए र तिनलाई अकस्मात् भेटिएका ठाउँमै प्रदर्शनका लागि तम्तयार पारेका थिए ।
अकस्मात् वीणा रेटेको तीव्रतम स्वर पूरै छातीलाई थर्काउँदै र पाखुरा, तिघ्रा र पिँडुला नै चिरेजस्तो गरेर रन्कियो । मैले ‘ओम् पणिपद्मे हुँ’ भन्ने पवित्र बौद्ध मन्त्रको ध्वनिले समस्त वायुमण्डललाई गुन्जित पारेजस्तो अनुभव गरेँ ।

प्रकाशित : श्रावण २१, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?