१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

हुनु वा नहुनु –२

त्यहाँ वरपरका मान्छेहरूको गुनगुन सुन्न थालें, ‘माबाप अपने बच्चे को छोड के चले गए ।’ मेरो छातीभित्रको घोगाबाट दानाहरू आफैं छोडिएर झर्न लागेझैं भयो ।
नवराज पराजुली

सम्झिनुस् कि आमाले तपाईंलाई भन्नुभयो, ‘अँगेनोमा रहर लाग्दो रातो भुंग्रो बनेको छ, जा जा दौडिँदै दुई–चार घोगा मकै भाँचेर ले !’ अनि तपाईं यस्तरी दौडिनुभयो कि रु. २२ मा किनेको चप्पल खेतमै कता छुटे । एउटा खेतमा एउटा ११ छुट्यो, अर्को खेतमा अर्को ११ ।

हुनु वा नहुनु –२

चप्पलको जोडी एक्लाएक्लै भए । हुन त जोडी भएर पनि सँगै त कहाँ हुन्छन् र चप्पलहरू ? मान्छे उही भए पनि ,फरक खुट्टालाई छोएर फरक–फरक जीवन भोग्छन् चप्पलहरू । तपाईं कुनै मान्छेको कहाँ हुनुहुन्छ भन्ने कुराले तपाईं उसका बारे के महसुस गर्नुहुन्छ भन्ने फरक पर्दोरैछ । काममा प्रयोग हुनुअघि मात्र चप्पलका जोडी सँगै हुन्छन्, प्रयोग हुन थालेपछि अलग । मान्छेका जोडी जस्तै । हातले सुमसुम्याएर सुरु भएको चप्पलसँगको सम्बन्ध खुट्टामा खिएर सिद्धिन्छ । धेरै मान्छेको सम्बन्ध जस्तै ।... दौडिँदै गरेको तपाईंलाई मैले थाहै नपाई रोकेछु... माफ गर्नुस्... त तपाईं स्याँ–स्याँ हुँदै मकैबारी पुग्नुभएको छ । मकैबारिभरि अग्ला–अग्ला मकैका बोटमा लामालामा हरिया घोगा लागेका छन् । कुनै बोटमा एउटा घोगा कुनैमा दुइटा । तर कुन–कुन घोगा भाँच्ने भनेर तपाईं मकैबारीभरि घुमिरहँदा, तपाईंले लामा घोगा पेटमा बोकेका मकैका बोटहरू देख्न छोड्नुभयो । त्यहाँ तपाईं गाउँभरिका ती सुत्केरी काकी, बडीआमा, दिदी, भाउजूहरू देख्न थाल्नुभयो जो उभिएर आफ्नो नाङ्गो बच्चालाई दूध चुसाइरहेका छन् । कसैले एउटा बच्चा कसैले जुम्ल्याहा । केही सेकेन्डमै, तपाईंले हेर्दाहेर्दै ती आमाहरू बिस्तारै आधा मकैको बोट आधा सुत्केरी नारीजस्तो देख्न थाल्नुभो । अनि सबैको कम्मरमा आधा मकैको घोगोजस्तो र आधा नाङ्गो बच्चाजस्तो देख्न थाल्नुभयो । अब भन्नुस्, तपाईं आँखा चिम्लिएर मकैको घोगो भाँच्नुहुन्छ कि, आँखा खोलेर खाली हात घर फर्किनुहुन्छ ?
पाकिस्तानको कराँची विमानस्थलमा करिब २ वर्षको एउटा मकैको घोगालाई बोकेर एउटा अग्लो मकैको बोट हिंडिरहेको थियो, एकदमै आत्तिएर । स्पष्ट देखिन्थ्यो कि त्यो बोटले अरू नै कसैको बच्चा बोकेर दौडिरहेथ्यो । त्यो मान्छे त्यो बच्चा बोकेर त्यही बाटो ओहोरदोहोर यस्तरी दौडिरहेथ्यो कि लाग्थ्यो उसले त्यो बच्चालाई अरू नै कसैको छातीमा राखिदिएपछि मात्र आफ्नो फोक्सोले सास फेर्नेछ । घोगो काँधमा मस्त निदाइरहेको थियो तर मकैको बोटको निधारबाट भने पसिना बगिरहेको थियो । त्यो पसिना आँसुजस्तो देखिथ्यो । मलाई पहिलोपल्ट निधार रोएझैं लाग्यो । मलाई लाग्यो हाम्रा हरेक अंग रुन्छन् तर आँखा मात्रै त्यो अभागी अंग हो जसले रोएको अरूले देख्छन् । 
त्यो बच्चा कसको होला ? उसलाई के भएको होला ? सोध्न मन लाग्यो । भारतीय मिडिया हेर्दै सुन्दै हुर्केको भएकाले हामीलाई पाकिस्तानीले बोल्दा पनि ओठबम पड्काउँछन् भन्ने भ्रम थियो । तर सम्झिएँ, ‘ह्याम्लेट’ नाटक मञ्चन भएपछिको रात, होटलमा दुई बजे (बिहान) हामीलाई भेट्न त्यहाँको रंगकर्मी साथी हरिस खान आएका थिए र भनेका थिए, ‘कल तुम जा रहे हो, क्या पता फिर मिले या नामिले । तो मैने सोचा कि अभी जाके गले मिल्ना हे । और मैं आगया ।’ यो पाकिस्तानीसँग अँगालो हाल्दा मलाई लागिरहेको थियो, अंगालो आतंककारी हुँदैन, प्रेम आतंककारी हुँदैन । 
मैले सोध्न नपाउंदै एरपोर्ट को इन्ट्री गेट वरपरको स्पिकरमा सूचना बज्न थाल्यो । त्यो बच्चा उसका आमाबाबाट हराएको रहेछ, एरपोर्टको इन्ट्रीअघिको प्रतीक्षा गर्ने ठाउँमा । मलाई बुझ्न गाह्रो भयो, त्यति सानो बच्चा कसरी छुट्छ ? ऊ छुट्यो कि उसलाई छोडेको हो ? त्यहाँ वरपरका मान्छेहरूको गुनगुन सुन्न थालें, ‘माबाप अपने बच्चे को छोड के चले गए ।’ मेरो छातीभित्रको घोगाबाट दानाहरू आफंै छोडिएर झर्न लागेझैं भयो । त्यो बालक बोक्ने एयर पोर्टका कर्मचारी रहेछन् । ती दाइ उसलाई बोकेर हिँडिरहेकै थिए । कोही भेटिएको थिएन । मलाई लाग्यो यदि उसका बाआमा भेटिएनन् भने त्यो बच्चालाई कसले लान्छ होला ? हामी भित्र छिर्ने बेला भयो तर त्यो बालक बाहिरै थियो । त्यो बालकले आफ्ना बाआमा नपाउन्जेल मलाई भित्र जान मन लागेन, तर त्यो हाम्रो भद्रपुरको एयरपोर्ट थिएन, मैले छिर्नैपर्‍यो । मैले देखुन्जेल त्यो अग्लो मकैको बोटलाई हेरिरहें, देख्न छोडेपछि मलाई मभित्रको ढोड भाँचिएझैँ भयो । 
प्लेनभरि सोचिरहें, त्यो दाइले बालकको बाआमा भेटेनन् भने के गर्छन होला ? अरूभन्दा नजिकको नाता उहाँकै छ किनकि उहाँको छातीमा त्यो बच्चा केही समय निदाएको छ । कसैको छातीमा निदाएको नाता अथवा कोही आफ्नो छातीमा निदाएको नाताले एउटा जिन्दगीभरि सपना देख्न पुग्ने न्यानो दिन्छ ।
फेरि सोचें, यदि ऊ छुटेको हो भने, उसका बाआमाले हरेक ठाउँ बच्चा बोकेको मान्छे देख्दा हरेक बच्चाको ढाडअगाडिको छाती आफ्नै बच्चाको हो भन्ने आस गर्दा हुन् । 
छुटेकाहरूसँग आफू झन् बढी छुटिन्छ ।
बाआमाले यदि उसलाई छोडेका हुन् भने, कसरी बाँच्न उनीहरूले यसरी मर्नु रोजे होला ?
छोड्नेहरू नै बढी छुट्छन् छोडिनेहरू भन्दा ।
प्लेन दुबईको एयरपोर्टमा रोकियो । किन–किन मलाई म त्यो बच्चालाई दुबईमा भेट्छु भन्ने लाग्यो । तर उसका बाआमासँगै । दुबई पुग्दा पाकिस्तान छुटिसकेको थियो, तर म बाट त्यो बच्चा छुटेको थिएन । छुट्दा छुट्ने देश हो रहेछ, मान्छे त सधैं सँगै हुँदोरहेछ । 
नेपाल फर्केपछि आजसम्म छातीमा निदाएको बच्चा देख्दा म उसलाई सम्झिरहन्छु । म ‘ऊ’ भनिरहेको रहेछु, उसको नाम के थियो होला ? ऊ कुन देशको थियो होला ? ऊ ऐले आफ्ना बाआमासँग होला कि एयरपोर्टको त्यही अग्लो दाइसँग ? म जो उसलाई सयौंपटक सम्झिरहन्छु, उसलाई थाहा पनि छैन कि मा यो अस्तित्वमा कतै छु भनेर । मेरो र उसको सम्बन्ध के हो ? थाहा नभएको यो सम्बन्धमा मलाई किन यति प्रेम भएको होला ?
सबैभन्दा बढी प्रेम गरिने सम्बन्ध भनेकै थाहा नभएको सम्बन्ध पो हो कि ?
ऊ पछि ठूलो हुनेछ, उसका बाआमाले या त्यो दाइले या अरू कसैले ऊ त्यसरी हराएको कुरा उसलाई भन्छन्, तर उसले कहिल्यै थाहा पाउने छैन कि ऊ हराउनुलाई सम्झिएर म घण्टौंसम्म अझै हराइरहन्छु । सबैभन्दा बढी गरेको प्रेम थाहा नहुने नै पो हो कि ?
कति साना–साना धर्काहरूले छेकिदिन्छन् भेटहरूलाई ! जस्तो कि,म जो लेखिरहेको छु यदि अंग्रेजीमा लेख्दो हुँ र प्रकाशित गर्दो हुँ त के थाहा भोलि खोज्दै गर्दा उसले आफ्नो हराएको कथा, ऊ ठोकिन्थ्यो कि मेरो आँखामा आएर ! उसलाई पनि त हक छ आफू अरूमा बाँचेको थाहा पाउने ! संविधानमा कहीं कतै नलेखी पनि मलाई लाग्छ यो मान्छेको सबैभन्दा न्यानो हक हो । आफू अरूमा कति बाँचेको छु भन्ने थाहा पाउन पाउनुपर्छ । मलाई उनलाई सोधिरहन मन लाग्छ, ‘म तिमीमा कति छु ?’
ओलम्पिया कलेजको बीचमा रहेको कपूरको ठूलो रूखमुनि बसेर रवीन्द्रनाथ टैगोरको नाटक ‘मालिनी’ को रिहर्सल गर्दै गर्दा हामी आजभोलि खाजाको रूपमा प्राय: हरेक दिन पोलेको मकै खान्छौं । विमल (सुवेदी) सर भन्छन्, ‘यहाँ मकै खाँदा गाउँमा अघाएझैं लाग्छ, खोयाले गाउँको याद दिलाउँछ,’ विपुल (पाण्डे) भाइ भन्छन्, ‘मकै खाँदा जहिल्यै ‘खोया’ कविता सम्झिन्छु ।’ म भने पाकिस्तानको त्यो अग्लो मकैको बोट र निदाइरहेको त्यो मकैको घोगो के खाजा खाइरहेका होलान् भन्ने सम्झिन्छु । उसलाई कतै भेट्छु भन्ने अझै लागिरहन्छ । थिएटर भिलेजको ‘ह्याम्लेट’ नाटकले गर्दा उसलाई भेटेको थिएँ अब ‘मालिनी’ नाटक लिएर युरोप जाँदा मेरा आँखाले जर्मनी या बेल्जियमका एयरपोर्टहरूमा उसलाई खोजिरहनेछन् । मलाई विश्वास छ हराएकाहरू कुनै न कुनै बहानामा भेटिन्छन् । दस वर्षको माओवादी द्वन्द्वमा हाम्रो बारीबाट हज्जारौं कल्कलाउँदा घोगाहरू हराएका छन् । गाउँमा आजभोलि आमाले भन्नुहुँदोहो, ‘अँगेनोमा रहरलाग्दो रातो भुंग्रो बनेको छ,जा जा दौडिँदै दुई–चार घोगा मकै भाँचेर ले !’ आजभोलि मकैको घोगो 
भाँच्न मकैबारी गएका केटाकेटीहरू डराउँदै घर फर्किंदा हुन् ।
मलाई लागिरहन्छ त्यसै कसरी हराउँछन् हजारौं मान्छेहरू यति सानो देशबाट ? हराएको सियो भेटिने यो जुगमा मान्छे कसरी हराउँछ ?
कि त त्यस्तो भएको हुनुपर्‍यो जस्तो कवि स्वप्निल स्मृतिले लेखेका छन्—
उनीहरूको बाटो
हिँड्दाहिँड्दै जंगलपट्टि पस्यो र चढ्यो कि रूख
रूखको टुप्पोमा पुगेर चरा भयो कि उनीहरूको स्वप्न
उसो हो त उधौली/उभौलीमा 
घरको निदाल या घर छेउको दुधिलो रूख सम्झेर
आउनुपर्ने हो फर्केर... । 

उनीहरूको बाटो
चढ्दाचढ्दै हिमाल 
चुचुरोमा पुगेर बादलको देशतिर पस्यो कि
त्यसो हो त कुनै ठेगाना नभएको बादलसँगै
आकाश माथि...माथि... कावा खाइरहेका हुन्
तर आमाहरू तुइनमा अड्किरहेका घाटहरू देख्दा त
अवश्य ओर्लनुपर्ने हो ।
उनीहरूको बाटो
पहिल्याउँदा पहिल्याउँदै
अजिंगरको मुुखभित्र पस्यो कि
उसो हो त उनीहरूको बाटो
अजिंगरको पुच्छरको टुप्पोमा टुंगिन्छ
र सारा सम्भावनाहरू समाप्त हुन्छ ।

फूलमाला लगाएर होस् या
बिरालोको चाल मारेर मध्यरातमा
...जो गएका थिए
जिउँदै छन् या छैनन् ?
मानिस भगवान् होइन
जन्मेपछि अवश्य मर्छ
यी मानिसहरू हराएर भगवान् भइसके भनूँ त 
बा ! अन्त मर्न ठाउँ नपाएर
आफ्नै जन्मगाउँमा मर्नलाई 
टेकेर उमेरको लौरो लुखुरलुखुर आइपुग्ने हुन् ?

जो गए
खोलाझैँ, अतीतझैँ
यो हावाको समुद्रमा
ठीक अहिले फुत्केर गइरहेको मेरो आवाजझैँ
उनीहरू त्यति निष्ठुर त थिँदै थिएनन्
छातीमा हात राखेर कस्तरी गाउँदथे राष्ट्र गान !
उनीहरू देश बेचेर गएका पनि त होइनन्
कि उल्टै देशले आधा बाटोमै भेट्यो र
बेचिदियो त उनीहरूलाई ?...

प्रकाशित : असार ३, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?