१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आउँदै अरुन्धती

अरुन्धती फेरि एकपटक न्युजमेकर बनेकी छन्, २० वर्षको अन्तरालमा अर्को आख्यान आउन लागेको छेकोमा । यही जुन ६ मा उनीद्वारा लिखित दोस्रो उपन्यास ‘दी मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस’ रिलिज हुँदै छ ।
सिपी अर्याल

मे तेस्रो साता बलिउड अभिनेता तथा भाजपा नेता परेश रावलले एउटा ट्वीट गरे, ‘आर्मीको जिपमा आन्दोलनकारीलाई बाँध्नुको साटो अरुन्धतीलाई बाँधे हुन्छ ।’

आउँदै अरुन्धती


परेश रावलको यो ट्वीटले एकाएक सनसनी मच्चायो । कश्मीरमा आन्दोलनकारीले सेनाको जिपमा ढुंगा हान्न थालेपछि सेनाले अनौठो उपाय लगायो, आन्दालेनकारीलाई पक्रेर त्यही जिपको अघिल्लो भागमा बाँधिदिने ताकि उताबाट ढुंगा नबर्सिओस् । भारतीय लेखिका अरुन्धतीलाई नै त्यसरी जिपमा बाँधिदिए आन्दोलनकारीले ढुंगा हान्न सक्दैनथे, किनभने कश्मीरको स्वतन्त्रताको पक्षमा वकालत गर्ने बुद्धिजीवीमध्येकी एक हुन् रोय । परेशको आशय यही थियो ।
अरुन्धतीको समर्थन वा विरुद्धमा हरेक दिनजसो एक न एक हंगामा भारतमा भइरहन्छन् । कहिले तीव्र र कठोर भाषण र आलेखहरूमार्फत्, कहिले अमेरिकी सरकारलाई युद्ध पिपासु भनिदिएर, भारतीय समाजमा रहेको विभेद र क्रूरता अन्त्य माग गर्दै त कहिले बीसौँ वर्षअघि पाएको पुरस्कार फर्काएर भारतलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार निर्माता भइरहने अरुन्धती यसपालि केही भिन्दै स्वरूपमा आफूलाई देखाउँदै छिन् । सन् १९९७ मा प्रकाशित रोयको ‘गड अफ स्मल थिङ्स’ ले त्यही वर्षको प्रतिष्ठित बुकर पुरस्कार बाजी मारेको थियो । रातारात सुपरस्टार लेखिकामा दरिएकी रोयको दोस्रो किताबको प्रतीक्षा त्यसै बेलादेखि गरिरहेका थिए पाठकले । बीस वर्षदेखि ! एउटी सुपरस्टार लेखिकाको दोस्रो उपन्यासको पर्खाइको समय निकै लामो हो । पाठकहरू व्यग्र थिए ।
यसपालि अरुन्धती फेरि एकपटक न्युजमेकर बन्नुको कारण अर्कै भएको छ, २० वर्षको अन्तरालमा अर्को आख्यान आउन लागेको छेकोमा । यही जुन ६ मा उनीद्वारा लिखित दोस्रो उपन्यास ‘दी मिनिस्ट्री अफ अटमस्ट ह्यापिनेस’ रिलिज हुँदै छ । सन् २००७ मा लेख्न सुरु गरेर १० वर्षमा दोस्रो उपन्यास सकेकी हुन् उनले । पुस्तक हेमिस हेमिल्टन यूके र पेन्गुइन इन्डियाले प्रकाशन गर्दै छन् ।
गत वर्षको अगस्तमा सकिएको थियो किताब । २० वर्षपछि तयार उपन्यासको पहिलो खेस्रा लेखेर सक्नेबित्तिकै आफ्नो सम्पादकलाई मेसेज गरिन् रोयले, ‘सकियो ।’ यत्ति । अरू केही लेखिनन् ।
एकै शब्दले २० वर्षदेखिको थकान मेटिदियो । शब्दले दशकौँदेखिको गहिरो थकान मेटिदिएर हलुको बनाइदिन्छ । अहिले अरुन्धती हलुकी भएकी छन् ।
उनका लिटरेरी एजेन्ट डेभिड गडविनले तारिफ गर्छन्, ‘यो उपन्यास अरुन्धतीले मात्रै लेख्न सक्ने थिइन् । यो एकदम ओरिजिनल लेखाइ छ । यो लेख्न उनलाई २० वर्ष लाग्यो ।’ गोडविनका अनुसार यो उपन्यास ‘देर आया पर दुरुस्त आया’ खालको छ ।
ब्लर्बहरूमा उल्लेख भएअनुसार अरुन्धतीको दोस्रो उपन्यास प्रमुख गरी दिल्लीको वरिपरि घुमेको छ । गम्भीर कथा घुम्दै–घुम्दै इराक र क्यालिफोर्निया हुँदै विभिन्न भारतीय उपमहाद्वीपतिर अघि बढ्छ । ‘अरुन्धतीले जसरी भुइँमान्छेको बारेमा सुन्दर ढंगले लेख्न सक्ने क्षमता कसैको पनि छैन,’ लेखक पंकज मिश्र अरुन्धतीको लेखाइको तारिफ गर्छन् ।
एकैचोटि ३० मुलुकमा प्रकाशित यस उपन्यासमा हास्यचेत छ, गाम्भीर्य छ, भ्रष्टाचारले सिर्जेको समाजको रुवाइ छ । अरुन्धतीले भारतमा निधारमा पाली लगाएर हेर्नुपर्ने भब्य महलको मात्रै होइन रछ्यानमा फालिएको खानाले हरेक दिन भोक मेट्ने दु:खी जनताको पनि कथा भन्छिन् ।
यसअघि उनको पहिलो उपन्यास ‘दी गड अफ स्मल थिङ्स’ लगभग ८० लाख प्रति बिक्री भएको र ४३ वटा जति भाषामा अनुवाद भएको आँकडा न्युयोर्क टाइम्सको छ । विलियम फल्कनर वा चाल्र्स डिकेन्सका प्रतिष्ठित लेखाइसँग बेला–बेला तुलना भइरहन्छ अरुन्धतीको आख्यान शिल्प । यस उपन्यासमा वर्जित प्रेमसम्बन्ध, भारतीय इतिहास र राजनीति, वर्गसम्बन्ध र सांस्कृतिक उल्झन, सामाजिक विभेद, छलकपट, पारिवारिक वर्णन र कडा राजनीतिक इतिहासको चक्रबातको मिसमास छ । आफ्नो जीवनभित्रैका थुप्रै कुरा समेटिएकाले यस कथालाई अरुन्धतीको अटोबायोग्राफिकल उपन्यास पनि भनिन्छ । अझ, त्यसबाहेक यसमा समावेश विषयलाई लिएर धार्मिक कट्टरपन्थीहरूले व्यापक विरोध गरे । हरेक दिन अरुन्धतीको स्टारडम बेस्कन चुलिन थाल्यो । सन् २००० सुरु हुन–हुन लाग्दा भारतमा जारी व्यापक भ्रष्टाचार, सैन्य अभ्यास, गरिबी र आर्थिक चलखेलको कुराले अरुन्धतीलाई छोयो । यी सबै कुराले समाजलाई घात गरिरहेको उनलाई लाग्यो । अनि, आफूलाई आख्यानको परिधिमा खुम्च्याउन सकिनन् । लेख्न थालिन्, गैरआख्यान ।
भारतीय सत्ता, हिन्दुवादी कट्टरपन्थीको क्रूरता, अमेरिकी र बेलायती ‘गुन्डागर्दी’ आदिको कडा विरोधसाथ लेखहरू लेख्न थालिन् । संसारका विभिन्न ठाउँमा गएर प्रवचन दिन थालिन् । उनका भाषणहरू किताबको स्वरूप पाएर भकाभक निस्कन थाले ।
उनका तीव्र राजनीतिक लेखहरूका केही संग्रह यस्ता छन् : ‘लिस्निङ टु ग्रासहप्पर’, ‘एन अर्डिनरी पर्सन्स गाइड टु अम्पायर’, ‘ब्रोकन रिपब्लिक, कम सेप्टेम्बर’, ‘द अल्जेब्रा अफ इन्फाइनाइट जस्टिस’, ‘वाकिङ विद दी कमरेड्स’ इत्यादि ।
भारत र विश्व राजनीतिमा यस्ता–यस्ता घटनाहरू घट्न थाले त्यसले अरुन्धतीलाई झन्पछि झन् उचालिरहेको थियो । सन् १९९८ मा भारतले आणविक परीक्षण गरेपछि रोयले ठानिन्, आफू चुपचाप बस्नु भनेको गलत काममा उत्सव मनाइदिएझैँ हो । त्यसैले उनले सरकारको उक्त कामको कडा विरोध गर्दै ‘इन्ड अफ इम्याजिनेसन’ लेखिन् । त्यसपछि, रातारात परिवर्तन भइन्, सुन्दर फिक्सन लेखकबाट अति कडा राजनीतिक टिप्पणीकारका रूपमा । २० वर्ष त्यही गर्दैमा उनलाई फुर्सद भएन । भारतको कट्टर हिन्दुवाद, वातावरणीय विनाश, कश्मीर उपत्यकामा चलिरहेको युद्ध, आर्थिक भ्रष्टीकरण, दलितलाई थिचोमिचो आदिका विषयमा वाम झुकावसहितका तिखा प्रवचन दिँदै संसारभरि डुल्न थालिन् ।
अरुन्धतीले १९९७ देखि २०१७ सम्म फेस गर्नुपरेको, लाखौँ प्रति बिकेको पहिलो उपन्यास अधिक रुचाएका पाठकलगायत प्रकाशकले वाक्कै पारेको प्रश्न थियो, ‘अर्को किताब कहिले आउँछ ?’ लेखेको दुई दशकसम्म उनी बल्ल अर्को उपन्यास लिएर झुल्कनुको कारण खुलाउने गरेकी छन्, ‘देशमा राजनीतिक, आर्थिक विभेद छ, सरकार भ्रष्ट छ त्यसैले मेरो ध्यान उतै गयो ।’ हुन पनि हो, राजनीतिलाई हामीले मतलब नगरे पनि राजनीतिले हामीलाई त छोइरहेकै हुन्छ । बेला–बेला घिसारी पनि दिन्छ । भारतको व्यापक सामाजिक–राजनीतिक संस्कारले अरुन्धतीलाई घिसारिरह्यो ।
आफू कथा–लेखक नै भएकोमा ढुक्क छिन् उनी । त्यही कारण उनका पाठक मख्ख पनि छन् । राजनीतिक लेखन उनलाई हिँडेको जस्तो लाग्छ, उपन्यास लेखनचाहिँ नाचेको जस्तो । लगभग तीन साढे तीन दशकअघि घरको नक्सा कोर्ने विज्ञानको पढाइमा उनको लगाव थियो । जुन चाँडै मोडिएर घरको होइन अक्षरको आकार कोर्नेतिर बढ्यो । लेखन यात्राको सुरुका दिनमा उनले सिनेमा लेखिन्, अभिनय पनि गरिन् । तर, १९९७ मा मात्रै आएर उनलाई एउटी सशक्त लेखिकाको रूपमा संसारले चिन्यो । उनलाई संसारभरि चिनाउने काम आख्यानले नै गरेको थियो, त्यसैले उनलाई आख्यानप्रति अधिक प्रेम छ । सम्मान छ । मन हरर बनाउने गरी आख्यान लेख्ने अरुन्धतीको गैरआख्यानचाहिँ अत्यन्त कडा शैलीको हुन्छ । अमेरिकी प्रशासन, भारतीय हिन्दुवादीहरू अतिवाद, भ्रष्ट राजनीतिको कसीमा स्थापित सरकार, कश्मीरको समस्या, अफगानिस्तानमाथिको हमला आदि जल्दाबल्दा विषयमा आफ्ना कडा टिप्पणी दिएकी हुन्छिन् ती गैरआख्यानमा । भारतीय डेमोक्रेसीलाई डेमोक्रेसी नभनेर ‘डेमन क्रेजी’ अर्थात्, राक्षसहरूको राज भनेकी छन् उनले आफ्नो किताब ‘लिसनिङ टु ग्रासहप्पर’ मा । भारतमा यति धेरै सामाजिक असमानता भए, वातावरणमाथि सांघातिक हमला भए, आर्थिकोपार्जनमा यति धेरै असमानता भए कि अरुन्धतीलाई गैरआख्यान लेख्नै भ्याइनभ्याई भयो । उनी आक्रामक राजनीतिक टिप्पणीकारसँगै अधिकारकर्मी पनि भइन् । नर्मदा बचाओ आन्दोलनजस्ता अभियानमा खुलेर लागिन् । त्यसैले आख्यान लेखिहाल्न समय पनि लाग्यो । मान्छेहरूले आख्यान खै ? भनेर सोध्दा झिज्याहट पनि मान्थिन् यद्यपि, नयाँ उपन्यासमा काम त उनले सन् २००७ बाटै सुरु गरिसकेको खबर आइरहेको थियो । मनमनै हुर्काइरहेकी थिइन्, पात्रहरूलाई । जो अहिले उति बेलै उनले जन्माएको भए पनि २० वर्षका पुगिरहेका छन् ।
यति लामो समय पर्खाएकोमा धेरैले अब अरुन्धती आख्यान लेखनमा फर्कनेबारे प्रशस्तै शंका गरेका थिए । पहिलो उपन्यास लेख्दा उनी ३५ वर्षकी थिइन् अहिले दोस्रो लेखेर बजारमा आउनै लाग्दा ५७ वर्षकी ! बर्सेनि जे पायो त्यही उपन्यासको गर्भाधान गरिरहने लेखकका लागि अरुन्धतीको यो लामो समयसम्मको मिहिनेत, प्रिय पाठकहरूबाट झेल्न सकेको दबाब र लेखिरहेको कथाबाट पात्रहरूले बारम्बार सिर्जिरहेको उल्झन मात्रै सम्झँदा कति उकुसमुकुस भएको हुँदो हो अरुन्धतीलाई ? उनले सबैथोक झेल्न सकिन् ।
स्रष्टा हुनु आमा हुनु हो ।
आमाहरू सबैथोक झेल्न सक्छन् ।

प्रकाशित : जेष्ठ २०, २०७४ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?