पैताला : कथा उत्खननको आदिअङ्ग- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पैताला : कथा उत्खननको आदिअङ्ग

गनेस पौडेल

मेरा हजुरबा नामी तान्त्रिक र ज्योतिष थिए । विजयपुर खोलाको किनारमा आफैँले हुर्काएको जङ्गलको बीचमा रहेको ढुम्रीको रूखमुनि अनवरत मन्त्रजप गरेर बस्थे ।

हजुरबा उल्कै घुमक्कड पनि थिए । नेपालका सबै भूभाग र तत्कालीन औपनिवेशिक भारतका धेरै भागमा हिँडेरै पुग्थे रे ! उनले हालको बङ्गलादेश र पाकिस्तानका देवस्थल पैतालाले नापे । घुम्ने खर्चको जोहो गर्ने अगल काइदा थियो हजुरबाको : जोगी भएर हिँड्ने । जोगी भएर देश देशावर चहारेका मेरा हजुरबाका किस्सा मैले मेरा बा, काका र गाउँका बूढाहरूबाट सुनेको हुँ । 
मेरो हजुरबाको प्रभाव मेरा बामा पनि थियो । मेरा पुरेत बा पनि पूजापाठको दक्षिणाले खल्ती उकासिनेबित्तिकै घुम्न निस्किन्थे । घरमा आमालाई पिरलो पारेर कसैलाई नभनी राति उठेर सुटुक्क भागिदिने π उनी भागेर कता जान्थे कसैलाई थाहा हुँदैनथ्यो । वर्षामासको रोपाइँ वा मङ्सिरको चटारो छोडेर भागेका बालाई सम्झेर आमाले कसौंडीको भात चलाउँदै गीत गाउनुहुन्थ्यो : 
घर बारेर सरुवा सारेको 
रुन मलाई कर्मले पारेको 
पाइना खबर, घर फर्की आउनुहोस् मेरो हजुर । 

मलाई एकातिर कवि हृदयकी अनपढ आमाको एकांकीपन र ६ जना सन्तान हुर्काउँदाको दु:खको आभासले रुवाउँथ्यो भने अर्कोतिर बाले निस्फ्रिक्री घुम्दै गरेका ठाउँ र भेट्दै गरेका मान्छेका कथाको कल्पनाले रोमाञ्चित पाथ्र्यो । घरबाट भागेको एक–दुई महिनापछि बा घर फर्केर आउँथे र आफूले घुमेका ठाउँ र भेटेका मान्छेको कथा हामी केटाकेटीलाई सुनाउँथे । हामी ठूला हुँदै गएपछि भने बा कहिल्यै भागेर हिँडेनन् । त्यसो पनि होइन । एकपटक त भागे, २०५७ सालमा । कुरा कात्तिकतिरको हो । तिहार मुखैमा थियो । म बीए पढ्दै थिएँ । त्यो बेला हराएका मेरा बालाई खोज्न भनेर मेरो बालसखा महेश भण्डारी र म चितवनका धेरै गाउँ–ठाउँ चहार्दै हिँडेका थियौँ । हामीले बिखर्ची भएर अड्किएका बूढा बालाई चितवन माडीको एउटा घरमा आश्रय लिएर बसेको अवस्थामा भेटेका थियौँ । 
त्यसको ६ वर्षपछि बा अनन्त लोक घुम्न निस्किनुभयो । उहाँलाई भूलोक घुमेर पुग्यो । त्यसपछिको भगुवा विरासत मेरो भागमा आयो । भागेर हिँड्ने पालो अब सायद मेरो थियो । 
मेरो हजुरबा र बाको जिनेटिक प्रभाव ममा पनि छ । म आफँैलाई अति अस्थिर मन भएको मान्छेको रूपमा पाउँछु । एकै पेसा, व्यवसाय, ठाउँ, सम्बन्ध वा काममा अड्किरहन सक्दिनँ । हिँडिरहन मन लाग्छ । म सिनेमा पनि प्राय: एक्लै हेर्छु । घुम्न पनि एक्लै निस्किन्छु । घुम्न चाहिने खल्ती भएन भने घरमा एक्लै चेस खेल्छु । मैले उपन्यासमा प्रयोग गरेको पात्र जोस्मणिमा पनि त्यही घुमक्कड जिन घुसेको छ । किस्सा, कथा र उद्देश्य फरक भए पनि जोस्मणिको चरित्रनिर्माणमा मेरा हजुरबा, बा र मेरो आफ्नै समष्टि अवचेतन मिस्कट परेको छ ।
०००

मेरो बुद्धि विकासमा ‘महाभारत’ को ठूलो प्रभाव छ । सानो छँदा हजुरआमाका लागि ‘रामायण’, ‘महाभारत’ र ‘कृष्णचरित्र’ जस्ता किताब पढिदिन्थ्यौँ । हजुरआमा आफैँ पढ्न सक्नुहुन्थ्यो, तर भरिसक्ये नातिनातिनालाई नै सश्वर कथा वाचन गर्न लगाउनुहुन्थ्यो । 
महाभारतको प्रारम्भमा एउटा प्रेमकथा छ, देवयानी र कछको । यिनको प्रेमको छेकलमा सञ्जीवनी विद्याको प्रसंग छ । देवयानीका पिता शुक्र महान् कवि मात्रै थिएनन्, अन्वेषक पनि थिए । दैत्यका गुरु शुक्रले मृत्युलाई यति नजिकबाट अध्ययन गरेका थिए कि यसको रहस्य नै पत्ता लगाएका थिए । उनैले बनाएका थिए सञ्जीवनी विद्या जसले युद्धमा मरेका दैत्यगणलाई ठामका ठाम ब्युँताइदिन्थ्यो । देवासुर संग्रामका बेलामा शुक्रको सञ्जीवनी विद्या अभेद्य अस्त्र सावित भएको थियो । महाभारत पढ्दाका बखतदेखि नै मेरो बाल मस्तिष्कमा सञ्जीवनी विद्याको गहिरो प्रभाव थियो । खै किन हो ? मलाई भित्रभित्रै लाग्थ्यो कि कुनै दिन म आफैंले पनि त्यो विद्या प्राप्त गर्नेछु । राती निदाउनुपूर्व र बिहान आँखा खुलेपछि बिस्तारामा पल्टेर सञ्जीवनी विद्याको कल्पना गर्थेँ, कहिलेकाहीं अझै गर्छु । 
‘पैताला’ को मूलपात्र जोस्मणि यही सञ्जीवनी विद्याको खोजमा निस्केको छ । 
०००

हामी हुर्केको पुरानो घरमा मात्र २ वटा कोठा थिए । ६ जना छोराछोरीसहित ८ जनाको परिवारका लागि जम्मा दुइटा कोठा थोरै हुने भैहाल्यो । त्यसैले बाहिर पिँढीमा पनि एउटा खाट हुन्थ्यो । पिँढीको खाटमा पल्टेर हेर्दा खरका तान्द्राबाट खसेको बलेनीले ढाक्न नसकेको आधी आकाश देखिन्थ्यो । तिनताका मेरो गाउँमा बिजुली बत्ती थिएन । बिजुलीजस्ता ताराहरू आकाशभरि थिए । हामी केटाकेटी आँगनमा ओछ्याइएको गुन्द्रीमा उत्तानो पर्दै तिनै ताराहरू हेरेर मन लाग्दा चित्रहरू कल्पना गथ्र्यौँ । एकले अर्कालाई आफूले कल्पना गरेको चित्र देखाउने खेल खेल्थ्यौँ । ताराहरूलाई कल्पनाको रेखाले जोड्ने खेल खेल्दाखेल्दै ममा त्यसै–त्यसै आकाशसँग प्रेम बस्यो । अवसर मिलेसम्म जमिनमा उत्तानो परेर म अझै पनि आकाश हेरिरहन्छु । चाहे दिन होस् या रात । 
स्कुलमा एक दिन पृथ्वीको उत्पत्तिको कथा पढेँ । सायद ६ कक्षामा होला । ‘ब्रह्माण्ड (आकाश) यति विशाल छ कि यसको कुनै अन्त्य नै छैन ।’ एउटा यस्तै आशयको वाक्य थियो जसले मलाई निकै दिनसम्म अशान्त बनायो । ब्रह्माण्ड यदी स्पेस हो भने यसको अन्त्य कसरी असम्भव छ ? म प्रश्न सोध्थेँ । तर यसको उत्तर मसँग थिएन । पछि ब्रह्माण्ड उत्पत्तिका अरू धेरै सिद्धान्तहरू पनि पढेँ । स्टेफन हकिन्स पढेँ । तर मेरा प्रश्नहरू कहिल्यै शान्त भएनन् । उल्टै थपिँदै पो गए । 
पृथ्वीभन्दा लगभग सय गुणा ठूलो भनिएको सूर्य अझै तातो छ तर त्यसबाटै टुक्रिएर (?) बनेको भनिएको पृथ्वी किन यति चाँडै सेलाइसक्यो ? सोलर नेबुलाको संयोजनबाट करिब साढे चार अर्ब ६० करोड वर्ष पहिले बनेका हुन सूर्य र पृथ्वी । तर पृथ्वी करिब ३५ मिलियन वर्षअगाडि नै चिस्सिएको भनिन्छ । पृथ्वी किन चिस्सियो ? चिस्सिनु भनेको के हो ? यदि बिग ब्याङ्बाटै ब्रह्माण्डको उत्पत्ति भएको हो भने तिनताकाको ब्रह्माण्डमा जताततै समान ताप वितरण भएको हुनुपथ्र्यो । जब चारैतिर समान ताप छ, तब कसरी कुनै अमूक पिण्ड मात्रै सेलाउन सक्छ ? 
यति ब्रह्माण्ड फैलिरहेको छ भने फैलनाकै लागि भए पनि ब्रह्माण्डबाहिर कुनै स्पेस त हुनैपर्छ । त्यसो भए के स्पेस र युनिभर्स फरक कुरा हुन् ? त्यो ब्रह्माण्डबाहिरको स्पेस तातो छ कि चिसो ? तातो छ भने कुन ऊर्जाले तातो छ ? चिसो छ भने कसरी चिसो छ ? जसरी तातो हुन कुनै बलिरहेको वस्तु चाहिन्छ, चिसो हुन किन कुनै ‘सर्त’ आवश्यक हुँदैन ? के चिसो आफैँ स्थापित हुने अवस्था हो ? 
म के कल्पना गर्थेँ भने, कुनै न कुनै यस्तो पदार्थ हुनैपर्छ जसले हामीले चिनेका आम तत्त्व र ऊर्जाको ठीकविपरीत काम गरोस् । अर्थात् अरू तत्त्वका परमाणुहरू डिफ्युज हुँदा जसरी ठूलो परिणामको ताप निकाल्छन् त्यस्तै कुनै तत्त्व हुनुपर्छ जसका परमाणु डिफ्युज हुँदा उस्तै परिणामको चिसो निस्कनुपर्छ । उपन्यासमा त्यस्तो इलेमेन्टलाई मैले ‘एनएचसिक्ससिवाई’ भनेको छु । ‘एनएचसिक्ससीवाई’ मेरो आकाश–प्रेमको उपज थियो । ‘पैताला’ को मूलपात्र जोस्मणि यसको पनि खोजमा निस्केको छ । 
मृत्यु र ब्रह्माण्ड संसारका सबैभन्दा ठूला रहस्य हुन् । यिनै रहस्यको पर्दामा धर्महरू जन्मिएका हुन् । सिद्धान्तहरू जन्मिएका हुन् । सभ्यताहरू जन्मिएका हुन् । कथाहरू जन्मिएका हुन् । तर यस्ता रहस्यको खोजमा कुनै पात्रलाई हुत्याउँदा हुने असहजतालाई व्यवस्थापन गर्न मात्रै मैले तन्त्रको सहारा लिएको हुँ । कथामा तन्त्रको सिम्बोलिक प्रयोग मात्रै भएको छ । 
०००

व्यवस्थापनको विद्यार्थी भए पनि मलाई इतिहास, दर्शन र मिथकको ठूलो अभिरुचि छ । मलाई के लाग्यो भने, तन्त्रले व्याख्या गर्ने शरीरका चक्रहरू मानव सभ्यताका चरणबद्ध सत्यहरू हुन् । तर कुण्डलिनी तन्त्रको चक्र शरीरको तलदेखि माथितिर जागृत हुँदै जान्छ । दर्शन उत्पादनको चक्र भने माथिबाट तलतिर झर्दै गएको छ । सत्यको उत्पादन कसरी तलतल झरेको छ त ? हेरौँ न π
शास्त्रीय भौतिकवादीहरूले टाउकोलाई सत्य माने । सभ्यताको प्रारम्भिक चरणमा सत्य भनेकै ज्ञानेन्द्रियले दिने अनुभव र अनुभूतिको संयोजन थियो । नाक, कान, आँखा, छाला र जिब्रोले जे भोग्छ, त्यही सत्य । औद्योगिक क्रान्तिपछि वस्तुको उत्पादन ह्वात्तै बढ्यो । मेसिनले गर्ने अतिरिक्त उत्पादनका लागि अतिरिक्त बजारको खोजमा निस्केका देशले संसारभर उपनिवेश फैलाए । बेलायत सूर्य नअस्ताउने देश भयो । उपनिवेशको फैलावट र बचावटमा युद्धहरू जन्मे । युद्धको त्यो बेला सत्य टाउकोबाट ओर्लेर गर्धन, काँध र पाखुराको भागमा बस्यो : पाखुराले हतियार समात्ने, च्वाट्ट गर्धन काट्ने र उपनिवेश फैलाउने, काँधले बोकेर उपनिवेश धान्ने । 
उपनिवेश कालको उपज विश्वयुद्धहरूको क्षतिपछि मान्छे निराश भयो । हतास मनस्थितिकै कारण विसंगतिवाद र शून्यवाद मौलायो । युद्धको विभीषिका देखेर मानवता जाग्यो । राष्ट्रसंघ बने । जेनेभा सन्धि भयो । मानवअधिकारका कुरा आए । अनि अस्तित्ववादको बहससँगै सत्य गर्धनबाट छातीमा अर्थात् हृदयमा ओर्लियो । तर त्यो बेलासम्ममा माक्र्सवादको बहस सुरु भैसकेको थियो । उनले सत्य छातीबाट अझ तल पेटमा झारिदिए । माक्र्सले भने, समाजको सत्य भोका र अघाएका मान्छेको द्वन्द्वबाट स्थापित हुन्छ । उता कार्ल माक्र्सकै छेकलमा सिग्मन्ड फ्राइडले सत्यलाई पेटभन्दा पनि अझै तल ओरालिसकेका थिए । उनी भन्थे, सिर्जनात्मक सत्य पेटमा होइन, यौनांगमा हुन्छ ।
यसरी टाउकोबाट ओर्लिंदै ओर्लिंदै सत्य यौनांगमा आयो तर त्यसपछि अझै तल कहिल्यै झरेन । एक्कासि उत्तरआधुनिकता पो बहसमा आयो जसले पहिले स्थापित सबै सत्यको अवधारणा, केन्द्र र लयलाई भत्काइदियो । सत्यको खोजलाई नै अस्वीकार र अपहेलना गर्न थाल्यो । सभ्यताको योभन्दा ठूलो विडम्बना के हुन्छ ?
मलाई के लाग्न थाल्यो भने, सत्यको आदि–अङ्ग बरु पैताला हो । त्यसलाई स्थापना गरौँ अनि जानुपरे बल्ल जाउँला केन्द्रविहीनताको अवधारणामा । पहिला बाटो त पूरा गरौँ । बाटो नसक्दै गन्तव्यलाई गाली गर्न त भए नि !
सोच्नुस् त, सृष्टिको पहिलो कथा के थियो होला ? मलाई लाग्छ, मान्छेको पैताला र जमिनको आदिम संवाद नै सृष्टिको पहिलो कथा हो । मान्छेका पैतालाले घाँससँग, बालुवासँग, हिउँसँग, महासागरको पानीसँग, पहाडका गल्छेडासँग जुन संवाद गर्‍यो, त्यो संवादको उत्कण्ठा मान्छेको आदिम उत्कण्ठा हो । कथा बनाउने र कथा सुनाउने त्यो अवचेतन इच्छामा नै सभ्यता विकासको सूत्र लुकेको छ । सत्य अन्वेषणको आदि–अङ्ग पैताला नै हो । 

(पौडेलको उपन्यास ‘पैताला’ शनिबार विमोचन हुँदै छ)

प्रकाशित : जेष्ठ १३, २०७४ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×