कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खै, विचारको गुदी ?

विचारमा कुनै खराबी छैन । खराबी कहीँ छ भने विचारको जडतामा छ । मेरो विचार सही, संसारका अन्य सब विचारहरू गलत भन्ने पूर्वाग्रहमा हुन्छ खराबी ।
सरस्वती प्रतीक्षा

मान्छे आफ्नै विचारको सिकार कसरी हुन्छ भन्ने जान्न पछिल्लोपटक प्रकाशित माग्ने बूढा अर्थात् कलाकार केदार घिमिरेका अन्तर्वार्ताहरू पढ्दा थाहा लाग्छ । केही महिनाअगाडि पेट दुख्ने समस्याले सताएपछि उपचारको क्रममा उनको आन्द्रामा घाउ देखिएछ ।

खै, विचारको गुदी ?

वैचारिक विद्रुपताको पछिल्लो संस्करण
अल्सर रोग लागेको चिकित्सकको निक्र्योलपछि शल्यक्रिया गरिएछ । अल्सरको शल्यक्रिया गरेपछि पनि उनको पेटको दुखाइ कत्ति कम भएनछ । डाक्टरी रिपोर्ट सबै नर्मल देखियो तर पनि उनलाई पेट दुख्न छोडेन । 
पछि बुझ्दै जाँदा थाहा लाग्यो, उनको दुखाइ केवल उनकै सोचको उपज मात्र रहेछ । भ्रामक दुखाइ । डाक्टरले गरेको शल्यक्रिया असफल भयो कि भन्ने विचार उनीभित्र यति हावी भएछ कि नदुखेको पेट दुखेको भयले उनी डिप्रेसनको बिरामी हुन पुगेछन् । हाल डिप्रेसनको औषधि खाइरहेका केदार घिमिरे फगत एक उदाहरण मात्र हुन्, आफ्नै विचारले आफैंलाई कसरी खान्छ भन्ने कुराको ।
एक व्यक्तिको एक गलत विचारले आफैंलाई यति धेरै दु:ख दिनसक्छ भन्ने सिंगो समाज विचारको सवालमा रोगी निस्क्यो भने के हुन्छ होला ?
पछिल्ल्लोपटक स्थानीय चुनाव र मतगणनाका सिलसिलामा विशेषगरी सामाजिक सञ्जालहरूमा मान्छेहरूले विचारको नाममा डरलाग्दो हिलो छेपाइ र निषेधका तमासाहरू देखाए । एकले अर्कोलाई गिराउन हदैसम्मको कुतर्क र कुहर्कतको तहमा ओर्लिए । फोटोसपबाट काटकुट गरेर अर्को दललाई उडाउन बनाइएका भ्रामक र अतिरञ्जित सामग्री त कति–कति ! प्रचारप्रसारको शैली र सिलसिला नै यस्तो थियो कि त्यहाँ उनीहरूको एजेन्डा र सैद्घान्तिक मुद्दाको कुरै हुन्थेन । उखान, टुक्का बनाएर अरूलाई गाली,घोचपेच गर्‍यो, आफ्ना समर्थकहरूको वाहवाही बटुल्यो, सकियो । 
चुनावको नतिजा आउन सुरु गरेपछि जित्नेहरूले उन्मादमा हार्नेहरूको प्रत्यक्ष छाला मात्र काढेनन्, (भर्चुअल्ली छाला काढ्न मिल्थ्यो भने सायद काढ्थे पनि होलान्) शाब्दिक रूपमा गिल्याउँदै खुइलाउनलाई बाँकी केही राखेनन् । हार्नेहरू पनि गालीगलौजको यति तल्लो स्तरमा ओर्ले कि स्वयम् तल्लो स्तरका शब्दहरू पनि लज्जित हुने गरी शाब्दिक लडाइँमा उत्रे । वैचारिक आस्था र अडान एउटा कुरा, वैचारिक पक्षाघातले बर्बराउनु अर्को कुरा । राजनीतिक आस्था र विचारको नाममा वैचारिक पक्षाघातले ग्रस्तहरूको झुन्ड ठूलै देखियो । 
वर्षौंदेखिका घनिष्ठ मित्रहरूलाई चुनावको रन्को यसरी लाग्यो कि मित्रताको बीचमा राजनीतिक आस्था घुस्न पुग्यो । त्यो राजनीतिक आस्था यति हावी भयो कि आफ्नो मित्रताको मानहानि गर्दै राजनीतिक विचारको नाममा ‘तँ तँ’ र ‘म म’ भन्दै झगडा गरिरहेका परिदृश्यहरू बग्रेल्ती भेटिए । पार्टी फरक भएपछि मेरै छिमेकका एक दाजुभाइ प्रत्येक रातमा अबेरसम्म रक्सी खाँदै ‘तेरो पार्टीमा यो खराबी छ, तेरो पार्टी हार्छ’ भन्दै झगडा गरेको पनि देखियो । भ्रातृत्वप्रेम राजनीतिक विचारहरूको द्वन्द्वमा रगताम्य भयो । सगोलमा वर्षौंदेखि मिलेर बसेका दाजुभाइको प्रेम चुनावको ह्याङ्ओभर सकिएपछि अब पुरानै अवस्थामा फर्किएला वा झन्झन् क्षय हुँदै जाला ? साक्षी बनेर त्यो पनि हेर्नु छ अब । 
अरू त अरू, चुनावको बिदा सकेर स्कुल गएको मेरो सानो छोराले समेत फर्किनासाथ प्रश्न गर्‍यो, ‘मामु, मेरा फलानो, फलानो साथीहरू कांग्रेस रहेछन्, फलानो फलानो साथीहरू एमाले, फलानो फलानो साथीहरूचाहिँ माओवादी रहेछन् । म कुन पार्टीको हो ? तपाईंले बताइदिनुपर्‍यो !’
आठवर्षे फुच्चेलाई कुनै न कुनै पार्टीमा आफू हुनैपर्छ भन्ने सोच कसरी पलायो भन्ने कुरा सोचेरै उदेग लाग्यो मलाई । उसको रहर आफू कुन पार्टीको हुँ भनेर प्रस्ट्याउने रहर मात्र होइन, जानेर, नजानेर अचेतनमा कुनै विचारको पक्षमा लाग्ने रहर हो । विचार निमार्ण गर्ने रहर हो । अहिले नै म यो पार्टीको हो भन्ने कुरा उसको दिमागमा छिर्‍यो भनेपछि जे गरे पनि ऊ अर्को पार्टीमा लाग्दै लाग्दैन । बिनाकारण आफ्नो पार्टीलाई राम्रो देख्ने र बिनाकारण अर्को पार्टीलाई खराब देख्ने रोगले ग्रस्त हुन्छ । राजनीतिक चेतना होइन, जन्मजात लाग्ने राजनीतिक कुपोषणले जीवनभर कुँजिइरहन्छ । यसरी हाम्रो समाज र संस्कारले नै राजनीतिक विचारको जडतामा बाँध्ने प्रपञ्च रच्छ बच्चै उमेरदेखि । 
त्यसो त, विचारमा कुनै खराबी छैन । खराबी कहीँ छ भने विचारको जडतामा छ । मेरो विचार सही, संसारका अन्य सब विचारहरू गलत भन्ने पूर्वाग्रहमा हुन्छ खराबी । ओशोले भनेका पनि छन् ‘विचार समस्या होइन, विचारको उत्पत्ति समस्या हो । विचार कसरी पैदा हुन्छ ? समस्या त्यहाँबाट सुरु हुन्छ ।’

मान्छेको इतिहास अर्थात् विचारको इतिहास 
महान् बरफ युग अर्थात ‘ग्रेट आइस एज’ एउटा यस्तो भौगोलिक युग थियो, जतिबेला पृथ्वीमा बरफ नै बरफ थियो । त्यही बरफको पग्लाइसँगै पृथ्वीमा जीवको विकासले नयाँ गति लियो । जीव विकासको इतिहासको सोझो सम्बन्ध बरफ युगको अन्तयसँगै बनेका भौगोलिक परिवर्तनसँग जोडिएको छ । मानव सभ्यताको इतिहासलाई भने अलि फरक ढंगबाट व्याख्या गर्न जरुरी हुन्छ । 
वास्तवमा मानव सभ्यताको इतिहास भनेकै विचारको इतिहास हो । सबै प्राणीमा नैसर्गिक प्रवृत्तिको विचार हुन्छ । मानव आविर्भाव, त्यसमा पनि होमोस्यापियन्स मानव जातिको आविर्भाव भएपछि मस्तिष्कको विकाससँगै मस्तिष्कीय विचारको जन्म भयो, जसले मान्छेलाई उच्च बनायो ।
आदिम युगदेखि अहिलेको आधुनिक समयसम्म विचारले समयअनुरूप मूल्यमान्यताहरू, दर्शनहरू, राजनीतिक सामाजिक विश्वासहरू स्थापित गरेका छन् । बुद्व र हिटलरबीचको फरक के हो ? उनीहरूको लवाइखवाइ, उनीहरूले बोल्ने भाषा वा उनीहरूले टेकेको पृथक् भूमिको फरक हो ? पक्कै होइन । बुद्व र हिटलरबीचको फरक विचारको फरक हो । विचारले नै कसैलाई बुद्व बनाउँछ, कसैलाई हिटलर । विचारले नै कसैलाई ईशु बनाउँछ, कसैलाई नादीरशाह । विचारले नै कसैलाई नेल्सन मण्डेला बनाउँछ , कसैलाई सद्दाम हुसैन । विचारले नै कसैलाई रमण महर्षि बनाउँछ, कसैलाई खप्तड स्वामी । 
प्रेम हृदयले गरिन्छ भनेर जति नै भने पनि प्रेम पनि एक विचार हो, घृणा पनि एक विचार हो । हामी जसलाई मन भन्छौं, त्यो मनको पावरहाउस अर्थात् केन्द्र मस्तिष्कमा नै हुन्छ । प्रेमघृणाजनित सबै क्रिया,प्रतिक्रिया र तिनका परिणाम विचारसापेक्ष हुन्छन् । ब्रह्माण्ड र जीवनसम्बन्धी सबै खोज विचारले गर्छ । 
विचारको खेतीमा विचारहरूको बीउ छरिन्छन्, बीउ उम्रिन्छन्, फसल काटिन्छन् । खेती सकारात्मक अर्थमा भए विचारले भिन्न र विपरीत विचारहरूलाई आदर गर्छन् । नकारात्मक र विध्वंसात्मक भए अनादर, शत्रुता राख्छन् । आदिम युगदेखि अहिलेसम्म विचारहरूको देवासुर संग्राम चलिरहेछ । 
विचारको इतिहासमा केही विचारकहरूले युगान्तकारी प्रभाव पारेका छन् । जस्तो कि धार्मिक विचारकहरूमा बुद्व, ईशु, मोहम्मद, कृष्ण आदि । राजनीतिक विचारकहरूमा प्लेटो, अरस्तु, कार्लमाक्र्स, महात्मा गान्धी आदि । दार्शनिकहरूमा रेने डेकार्ट, फ्रेडरिक नित्से, जाँ पाल सात्र्रआदि । वैज्ञानिक विचारहरूमा ग्यालिलियो ग्यालिली, सर आइजाक न्युटन, सिगमन्ड फ्रायड, अल्बर्ट आइन्सटाइन आदि । 
विचारको खेती समय र सामाजिक आवश्यकताले हुन्छ । विचारको खेतीबाट नै आजको वैज्ञानिक विश्व अडेको छ । तर आदिम हिंसा, द्वेष, स्वार्थलिप्सा, युद्घ र अशान्ति आदि उस्तै छन् । घटेका छैनन्, अझ बढेका छन् । त्यसैले लाग्छ, मानव इतिहासमा विचारको जुन असल खेती हुनुपर्ने हो, त्यो अझै हुन सकेको छैन । 

द्वन्द्वप्रतिको अगाध प्रेम
हर द्वन्द्वको जगमा विचार हुन्छ । विचारको कित्ताकाटले नै द्वन्द्व जन्माउँछ । पहिलो विश्वयुद्घ होस् वा दोस्रो विश्वयुद्घ, कहाँ त्यो जल, थल र आकाश युद्घ मात्र थियो र ?हातहतियार,गोलाबारुद वा क्षेप्यास्त्रहरूको मात्र युद्घ थियो र ?ती त सब लडाइँका साधनहरू मात्र थिए । साध्य त विचार थियो । एक राष्ट्रले अर्को राष्ट्रलाई सक्ने खतरानाक विचार । एक राष्ट्रले अर्को राष्ट्रको अस्तित्व नै मेट्ने खुनी विचार । आफ्नो विचारलाई प्रमाणित गर्न र आफ्नो विचार शक्तिशाली छ भनेर देखाउने होडबाजीका उपज थिए ती विश्वयुद्घहरू । 
जानेर, नजानेर अधिकांश मान्छेहरू द्वन्द्वको वकालतमा मरिमेटेर लागेको देखिन्छ । हिगेलको द्वन्द्वात्मक समन्वयवाद होस् वा कार्ल माक्र्सको द्वन्द्वात्मक भौतिकवाद, यिनले समाजमा रहेको द्वन्द्वलाई आफ्नै तवरले व्याख्या गर्छन् । अरू त अरू, कुनै नाटक वा सिनेमामा द्वन्द्व र द्वन्द्वको क्लाइमेक्स छैन भने त्यसलाई ‘झुरेस्ट’को पगरी गुथाइहाल्छौं हामी । कुनै किताबमा द्वन्द्वलाई बुनिएको छैन भने फगत रुमानीरहेछ भन्दै रुमानी किताबको संज्ञा दिइहाल्छौं । 
लाग्छ, द्वन्द्वप्रतिको प्रेम मानवीय सभ्यताको परम सत्य हो । मान्छे दिनानुदिनको रुटिनबद्व जीवनबाट ‘बोर’ हुन्छ र त्यही ‘बोरडम’ मेटाउन कुनै न कुनै उत्तेजना चाहन्छ । उत्तेजना केहीमा हुन्छ भने द्वन्द्वमा हुन्छ । हार र जितको सनसनीखेज परिदृश्यले मान्छेको बोरिङ जिन्दगीमा जीवन्त हुनुको भ्रम भरिदिन्छ, रोमाञ्चकता भरिदिन्छ । 
घर हेरौं, घरभित्र कसको शासन स्थापना गर्ने भन्ने सवालमा सासू र बुहारी वा लोग्ने र स्वास्नी बीचमा मनोवैज्ञानिक द्वन्द्व हुन्छ । राष्ट्र हेरौं, राष्ट्रको शक्तिको केन्द्रमा को हुने ? कसले सत्ताको बागडोर सम्हाल्ने ?दलहरूबीच राजनीतिक द्वन्द्व हुन्छ । विश्व हेरौं, विश्वमा कुन राष्ट्रले प्रभुत्व जमाउने र आफूलाई सर्वश्रेष्ठ सावित गर्ने भन्ने होडमा राष्ट्र–राष्ट्रका बीचमा द्वन्द्वहुन्छ । धर्म र जातीयताको नाममा कैयौंपटक रगतको खोला बगिसक्दा पनि र कंकालहरूको पहाड नै खडा भइसक्दा पनि धार्मिक वा जातीय द्वन्द्व जारी नै छ ।
यी साराका साराका द्वन्द्वको जड विचार नै हो । विश्वका सबै द्वन्द्वहरूको अन्त्यका लागि विचारको व्यवस्थापन जरुरी छ । विषवृक्षको बीउ रोपेर त्यसमा कहाँ अमृत फल्छ र ?विचारको सही फसलले मानवताको सही फसल उत्पादन हुन्छ । तर टड्कारो प्रश्न यो छ कि विचारको व्यवस्थापनचाहिँ केले गर्छ ? राजनीतिशास्त्रले गर्छ वा दर्शनशास्त्रले ? नीतिशास्त्रले गर्छ वा भौतिकशास्त्रले ?
त्यसो त सम्पूर्ण कलासहित साहित्य पनि मूलत: एक विचार हो । जति भावना र मनले रचिन्छ भने पनि त्यो विचारशक्तिद्वारा नै साहित्यिक आकारमा आउँछ । पशुहरूसित पनि भावना हुन्छ तर साहित्य हुँदैन । विचार शक्ति हो तर त्यो बमजस्तै हुन्छ । विचारको सही प्रयोगले सिर्जना हुन्छ र गलत प्रयोगले विनाश । विचारको भयानकतादेखि वाक्क भएर दार्शनिक यू.जी. कृष्णमूर्तिले किताब नै लेखे—‘थट इज आवर इनेमी’ (विचार नै हाम्रो शत्रु हो) । 

खै, हाम्रो समयका विचारक ?
दुई–चारवटा वामपन्थी र गैरवामपन्थी विचारधाराका किताबहरू पढेको भरमा र दुई–चारवटा सिद्घान्तहरू रटेको भरमा आफूलाई महान् विचारक सम्झिने रोग छ हाम्रो बौद्घिक वर्गमा । सय, डेढ सय वर्ष पुरानो विचारको जगमा उभिएर आफूलाई उत्पातै विचारक हुँ भन्नुमा कुनै तुक देखिँदैन । हामी त फगत अरूका विचारका अनुयायी मात्र भएका छौंैं । अरूको विचारलाई आफ्नो सुविधाअनुसार व्याख्या गर्ने कला हामीसँग छ, तर विचारमाथि विचार गरेर प्रश्न गर्ने आँट विरलैसँग छ । 
माथि उल्लिखित कलाकार केदार घिमिरेको केशमा न्युरोसाइन्सले जे भन्छ, त्यो पनि बडो रोचक छ । आन्द्राको संक्रमित भाग काटेर फ्याँके पनि त्यो भागलाई सूचना दिने मस्तिष्कको न्युरोनले काम गरिरहन्छ । तर यथार्थमा मस्तिष्को सूचना ग्रहण गर्ने आन्द्राको त्यो भाग हुँदैन, यस्तो अवस्थामा मस्तिष्कले आन्द्राको ‘फेन्टम’ रूप बनाउँछ र पीडा सुरु हुन्छ । यस्तो लाखौंमा एक, दुई बिरामीलाई मात्र हुन्छ र केदार घिमिरेलाई भएको पनि त्यही हो । यही रोगबाट हाम्रा केही नेताहरू पनि सिकिस्त छन् । राजतन्त्रलाई चटक्कै काटेर फाले पनि उनीहरूको मस्तिष्क वा विचारले ‘राजतन्त्रको फेन्टम रूप’ बनाइरहेको छ र देशलाई नयाँ ढंगबाट अगाडि बढ्न पुराना कुराहरूले रोकिरहेको छ । कतिपयको विचारबाट राजतन्त्रको फेन्टम रूप मेटाउन जरुरी छ । 
त्यसो त, नेपालमा विचारकहरू हुँदै नभएका भने होइनन् । वामपन्थी विचारधाराको जगमा उभिएर नेपाली समाज, वर्गसंघर्ष र वर्ण व्यवस्थाका बारेमा तिख्खर विचारहरूको करेन्ट प्रवाह गर्नमा माहिर छन् आहूति ।प्रदीप गिरी, सीके लाल, खगेन्द्र संग्रौला र चैतन्य मिश्रहरूले गर्ने समाजशास्त्रीय व्याख्या र विश्लेषणहरू धेरैको मस्तिष्क खल्बल्याउन काफी छन् । युवा पुस्ताका उज्ज्वल प्रसाई र संगीत स्रोताका बौद्घिक र विश्लेषणात्मक लेखहरू पढेपछि भविष्यका नोम चोम्स्कीहरूको अहिले बाडुली लाग्छ । हाङयुग अज्ञात, सरिता तिवारी र अभय श्रेष्ठका आलोचनात्मक चेत निकै तिख्खर र डरलाग्दो छ । 
औंलामा गन्न सकिने यी विचारक र उड बीविचारकहरूलाई देखाएर सन्तुष्टीको श्वास फेर्न सकिएला त अहिलेको समयमा ? पक्कै सकिन्न । विचारको सवालमा नेपाली समाज संक्रमण र संकुचनको साँघुरो बाटोमा हिँडिरहेको छ । 
उतिबेलै प्लेटोले प्रतिपादन गरेको गुफा सिद्घान्त आज पनि जस्ताको तस्तै मेल खान्छ हाम्रो सन्दर्भमा । प्लेटो भन्छन्, ‘मानौं, मान्छेहरूलाई सानैदेखि एउटा अँध्यारो गुफाभित्र बाँधेर राखिएको छ र जसलाई बाहिरको उज्यालो र वस्तुहरूबारे केही थाहा छैन । यस्तो अवस्थामा यदि उनीहरूको पछाडितिरबाट आगो बालेर गुफाको भित्तामा छायाले खरायोको आकृति बनायौं र त्यो नै खरायो हो भनेर पढायौं भने ती मान्छेहरूका लागि सत्य त्यही छायाको खरायो हो । तर वास्तविक खरायो त गुफा बाहिर छ । राजनीति, धर्म, इतिहास आदि त्यस्तै गुफा हो जहाँभित्र मान्छेहरू बाँधिएका छन् । उनीहरू न पछाडि फर्कन सक्छन्, न गुफा बाहिर निस्कन सक्छन्् ।’ हामी सबै अहिले विचारको त्यही गुफाभित्र छौं । त्यहाँबाट निस्कने कसरी ? अहिलेको मुलभूत प्रश्न नै यही हो । 
 बुद्घ जन्मेको देश हो यो । विचार गर्ने परम्परा हाम्रो विरासतमै छ । अष्टावक्र, याज्ञवल्क्यदेखि फाल्गुनन्द लिङ्देन, शिवपुरी बाबासम्म, गार्गीदेखि योगमाया न्यौपानेसम्मका विचारकहरूको इतिहास हामीसँग छ । रूपचन्द्र विष्टको थाहा आन्दोलन होस् वा मदन भण्डारीको बहुदलीय जनवाद, विचार प्रतिपादनका गतिला उदाहरण हुन् यी । गुरु गोरखनाथको गोरक्ष–गीता होस् वा कपिलमुनिको कपिल–संहिता, हामीसँग विरासतमा विचारकहरूको कमी छैन ।
तर वर्तमानमा कहाँ छन् सबैलाई प्रभाव पार्न सक्ने मौलिक विचारकहरू? यो निकै सोचनीय प्रश्न हो । 
नेपालमा पछिल्लो समयका राजनीति, धार्मिक, आध्यात्मिक, सांस्कृतिक कुनै पनि क्षेत्रमा मौलिक विचार र विचारकहरूनअंकुराउनुमा थुप्रै कुराहरूले निर्देशित गरिरहेछन् । राजनीतिक रूपमा हाम्रा नेतृत्वकर्ताहरू अर्ध–औपनिवेशिक मनस्थितिमा हुनु एउटा कारण हो । दिल्ली वा बेइजिङमा कसैले हाच्छ्युँ गर्नासाथ हाम्रो राष्ट्रियतालाई पनि रुघा लागिहाल्छ । हाम्रा आफ्नै सामाजिक रीतिथिति र वर्जनाहरू(टोटेम एन्ड ट्याबु)ले हाम्रा स्वतन्त्र विचारहरूलाई बन्देज लगाइहाल्छन् । 
कुनै नूतन विचार जन्मन खोज्यो भने पनि जन्मनासाथ कतै न कतैबाट संक्रमित भइहाल्छ । ओपन युनिभर्सिटीको यो जमानामा हामीहरू कोही ओपन विचार प्रक्षेपण गर्नेतर्फ ध्यान नै दिंदैनौं । रुसोले भनेकै छन्, ‘मान्छे जन्मिदा स्वतन्त्र जन्मन्छ, तर जन्मेपछि जताततै साङ्लाहरूले बाँधिन्छ ।’ यहाँनेर मान्छेहरूलाई बाँध्ने साङ्ला फलामे साङ्ला पक्कै होइन । समाजमा पूर्वस्थापित विचारहरूले साङ्ला हो । 
विचार, विचार भन्दै जुन विचारहरूलाई हामीले वर्षौंदेखि पछ्याइरहेछौं, ती विचार हुन् कि विचारका अस्थिपञ्जर मात्रै ? हामीहरू आफ्नै मौलिक विचारहरूको फार्महाउस नखोलीकन किन अरूका ‘सेकेन्ड ह्यान्ड’ विचारहरूको ‘डम्पिङ साइट’ खोतल्नमै व्यस्त छौं ?वर्षौंअगाडि अरूहरूले छोडाएर फालेका विचारका बोक्रैबोक्राहरूले छोपेका छौं स्वयम्लाई, हामीसँग विचारको गुदी कहाँ छ ?मार्टिन हाइजेगर सत्य भन्छन्, ‘अहिलेको विचारोत्तेजक समयको विचारोत्तेजक कुरा के हो भने हामी विचार गरिरहेका छैनौं ।’
साँच्चै, हामी किन विचार गरिरहेका छैनौं? विचार किन गरिरहेका छैनौं भनेर विचार गर्ने समय आइसकेको छ सायद । 

प्रकाशित : जेष्ठ १३, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?