१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फेरि अर्को ‘रुवाबासी’

हुन त कतिपय पाठकहरूले धरावासीलाई रुवाबासी पनि भन्ने गरेका छन् । मैले आफूलाई धेरै रोक्न खोज्दाखोज्दै पनि त्यसै विषयहरूले मात्र लेख्न प्रेरित गर्छन् ।
कृष्ण धरावासी

पहिलोपल्ट अमेरिका उडेको अस्ति मे चौधमा चार वर्ष पुगेछ । त्यस बेला लागेको थिएन म यति लामो समयसम्म त्यहाँ बस्नेछु । छ महिनाभित्रमै फर्किसक्ने गरी गएको म पाँच महिनामै फर्किएको थिएँ । यो पाँच महिनामा मैले एक हजार पचास डलरको प्लेनको भाडा ऋण र पाँच महिनाको अमेरिका बसाइमा तयार गरिएको युरोप भ्रमणको संस्मरणको कृति ‘कागजको मान्छे’ बोकेर आएको थिएँ । यता यादवहरूले ‘झोला’ कथालाई चलचित्रमा उतारिसकेका थिए । एकैचोटि दुइटै कृति सार्वजनिक भए पुस्तक र फिल्मका रूपमा ।

फेरि अर्को ‘रुवाबासी’


पाँच महिनापछि झोलामा ‘झोला’ फिल्म बोकेर अमेरिका उडेको मैले एक वर्षभरि अमेरिकाका विभिन्न प्रान्तहरूमा फिल्म प्रदर्शन गरेरै समय बिताएँ । विभिन्न बाइसवटा प्रान्तमा छरिएर रहेका नेपाली समुदायहरूसँगको भेट र उनीहरूका विदेशी अनुभवहरूलाई नजिकबाट सुन्ने र बुझ्ने मौका मिल्यो । भ्रमणसँगसँगै गरिएका अनुभव र अनुभूतिहरूलाई लिपिबद्ध गर्दै गएँ । त्यही बेला रूसको मस्कोमा रहेका नेपाली मित्रहरूको सौजन्यमा त्यताको भ्रमण गर्न पाइयो । त्यस भ्रमणले पनि ‘रेड स्क्वायर’ यात्रा संस्मरण लेख्न प्रेरित गर्‍यो ।
मेरो अमेरिकी ‘झोला यात्रा’ को समापनसँगसँगै तयार भयो एक उपन्यास ‘ग्रेट फल्स’ । नेपालबाट सुनिएको अमेरिका र त्यहाँ भोगिने अमेरिकाबारेमा तीतामीठा अनुभवहरूको संकलन थियो त्यो कृति । संसारका विभिन्न कुनामा छरिन पुगेका नेपालीहरूको जीवनचर्याको एक बिम्ब हुन सक्छ त्यो कृति ।
‘ग्रेट फल्स’, आफंैमा अल्मलिएको, अनिर्णयको बन्दी भएको जीवनयात्राको एक त्रासद बिम्ब पनि बनेको छ । हेर्दा, सुन्दा भोग्दा कुनै आक्षेप लगाउन नसकिए पनि मनको धमिलोमा निसासिएको जीवनको कथा बनेको छ त्यो । यसै पनि यो अनुमान गर्न सकिने नै कुरा हो, कि संसारको कुनै पनि मानिसजस्तै सुखको परिवेशमा पनि परदेशी बनेर रमाउन सक्दैन । अमेरिका आफैंमा असुविधा बोकेको मुलुक होइन रहेछ । असुविधा हरेक आप्रवासीको मनमा हुँदोरहेछ । प्लास्टिकको फूलजस्तो खुसी बोकेर जीवन बितिरहेको त्यहाँको कथा बुनियो ‘ग्रेट फल्स’ मा । दोस्रोपल्ट एक वर्षपछि म ती दुई कृति बोकेर आएको थिएँ । पोहोर साल तिनै दुई पुस्तकहरू प्रकाशित भए पैरवी बुक हाउसबाट ।
मैले पन्ध्र वर्षको उमेरदेखि उपन्यास लेख्न थालेको रहेछु । लेख्दै थन्क्याउँदै गरेका पन्ध्रवटा उपन्यासपछिको सोह्रौं उपन्यास थियो ‘शरणार्थी’ जो छापिएकामध्येको मेरो पहिलो उपन्यास थियो । शरणार्थीअघिका पन्ध्र उपन्यासका पाण्डुलिपिहरू अझै बाकसमै बन्द छन् र सायद ती मेरा अभ्यास कृतिहरूको रूपमा सम्मानित भएर त्यत्तिकै रहिरहने छन् । कविताबाट निबन्ध हुँदै उपन्यासमा आइपुगेको मैले पछिल्लो काल यसैमा केन्द्रित गरेको छु ।
पहिला म जेमा पनि कविता देख्थें, मुक्तक देख्थें, चुड्किला र प्रहसन देख्थें । अलिक पछि हरेक चीजमा निबन्ध देख्न थालें । झन्पछि कथामा रमाउने भएँ । जे जेमा रमाउन खोजे पनि मभित्र बालककालदेखि नै बाहिर निस्किन छट्पटाइरहेको उपन्यास विधाले नै जित्दै गएछ । अनि हरेक विषय औपन्यासिक देखिन थाल्यो । मैले जब आफ्नै जीवनी ‘आधा बाटो’ लाई उपन्यास भनें, त्यो विवादास्पद बन्यो । पुराणको विनिर्माण गरिएको ‘राधा’ प्रशंसित भयो । प्रयोगको अनौठो प्रस्तुति बोकेको ‘तपाईं’ पाठकहरूलाई ढुंगो लाग्यो । मन्दिरको टुँडालमा कपिएर रतासनमा आवद्ध भएका पात्रहरू जब ब्युँझे तिनीहरू कविता वा कथामा उभिन सकेनन् उपन्यासको आँगनमा आएर नाच्न थाले ।
सन् दुई हजार नौमा त्यही टुँडाल उपन्यासले उडाएर जर्मनी पुर्‍यायो । अठार दिनको जर्मनी, फ्रान्स, बेल्जियम र लग्जम्बर्गको भ्रमणपछिको तीन वर्ष मेरो दिमागभरि एउटै दृश्य घुमिरह्यो ओरानियन वर्गको ग्यास चेम्बर । अनि आँखामा टाँसिएको त्यसलाई निकालेर फाल्न युरोप र विश्वको इतिहासको अध्ययन गरी लगातार सात महिना लगाई ‘गेस्टापो’ उपन्यास तयार गरें । त्यो उपन्यास लेखनकालभरि हरेक रातजसो म सपनामा ऐठन पर्थें । अरू उपन्यास लेख्दाको भन्दा बढी नै दुब्लाएको पनि थिएँ । लाग्छ सायद भविष्यमा पनि लेखिरहें भने ‘गेस्टापो’ लेख्दाको जस्तो कठिन अवस्थामा म पुग्दिनँ होला ।
पाण्डुलिपि त आधा बाटोकै दोस्रो भाग थियो ‘शोक गद्य’ का रूपमा । त्यसलाई त मैले छापिएपछि आजसम्म एकपल्ट पनि पढेको छैन र सायद कहिल्यै पढ्दिनँ पनि होला । ग्रेट फल्ससम्म आइपुग्दा कथा, कविता, निबन्ध, यात्रा, समालोचना, जीवनी, उपन्यास आदि गरी छब्बीस कृति प्रकाशित भइसकेका थिए ।
गत वर्ष पाँच महिना बसी ‘रेड स्क्वायर’ र ‘ग्रेट फल्स’ प्रकाशित गरेर फेरि अमेरिकातिर उडेको थिएँ । त्यस बेला मलाई लागेको थियो सायद अब मैले केही वर्ष अरू किताब लेख्दिनँ होला । एक प्रकारले दिमाग रित्तिएजस्तो पनि लागेको थियो । तर अमेरिका पुगेको एक महिनापछिदेखि नै फेरि दिमाग चिलाउन थाल्यो । फेरि विषयवस्तु र पात्रहरू आएर निधारकै वरिपरि रङ्मगाउन थाले ।
बारम्बार सुनिरहेको थिएँ, मेक्सिकोको बाटो हुँदै महिनौं लगाएर अमेरिका छिर्ने मानिसहरूका बारेमा । ती यात्रीहरूको भीडमा नेपालीहरूको पनि लामै ताँती हुन्छ भन्ने संस्मरण धेरैका मुखबाट सुनिरहेको थिएँ । अनि त्यो पनि एउटा लेख्ने विषय हो भन्ने लागेर त्यसैबारे खोज र अनुसन्धान गर्न लागें । त्यसरी अमेरिका छिर्न सफल भएका दस जना जति नेपालीहरूसँगको संवादबाट एउटा आख्यानको निर्माण गरियो जसले फेरि अर्काे उपन्यासको रूप लियो । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा यो उपन्यास तयार गर्न मद्दत गर्ने सबै साथीहरूलाई धन्यवाद दिँदै ‘तल्लो बाटो’ तयार भयो एक वर्षको प्रयासमा ।
यसबीच समानान्तर लेखन पनि गर्दै थिएँ ‘लीलाबोध’ बारे । गत वर्ष एकै दिन सिलिगुडीमा भेट गरेको थिएँ श्रद्धेय इन्द्रबहादुर राई र दान खालिङलाई । बूढो भए पनि उति सारो स्वास्थ्य कमजोर थिएन उहाँहरूको । तर अमेरिका पुगेको ६ महिनापछि नै दान खालिङको निधनको समाचारले दु:खित तुल्याएको थियो । अनि झट्ट मनमा लाग्यो आईबी सरको स्वास्थ्यको पनि अब उति भर छैन । अनि लेख्न थालें ‘लीलाबोध’ । उहाँले २०३४ सालदेखि सुरु गर्नुभएको यो दार्शनिक पाटोलाई २०४५ सालदेखि मैले पनि पच्छ्याउँदै आएको थिएँ । यस विषयमा उहाँले कथा, लेख, भाषणहरू गरे पनि सैद्धान्तिक कृति बनाउन भ्याउनुभएन । अनि जस्तो भए पनि उहाँको जीवनकालमै तयार गरौं भन्ने लागी लेख्न थालें ।
एक वर्षको लेखन यात्रामा एक उपन्यास र एक दर्शनको कृति तयार भयो । ‘लीलाबोध सार्वजनिक भइसकेको छ । अर्काे सातासम्ममा सार्वजनिक हुन लागेको ‘तल्लो बाटो’ उपन्यास पछिल्लो कृति भएर मात्र होइन एक विशेष पीडादायी आख्यानका रूपमा आउन लागेको छ ।
हुन त कतिपय पाठकहरूले धरावासीलाई रुवाबासी पनि भन्ने गरेका छन् । मैले आफूलाई धेरै रोक्न खोज्दाखोज्दै पनि त्यसै विषयहरूले मात्र लेख्न प्रेरित गर्छन् । मेरो पहिलो उपन्यास ‘शरणार्थी’ मा सयौं वर्षअघिदेखि विभिन्न कारणले देश छोडी पर्देसिएका नेपालीहरूका सन्तान सयौं वर्षपछि फेरि त्यहाँबाट लखेटिएर शरण माग्दै नेपालतिर फर्किनेहरूको पीडाको कथा थियो । आज यतिका वर्षपछि फेरि एउटा यस्तो दर्दनाद कथा लेखिएको छ, जसमा देशको आन्तरिक वातावरणबाट विरक्त भएर लाखौं रकम दलाललाई खुवाई अवैध बाटो हुँदै अर्काको देशतिर एउटा लर्काे आफ्नो देश छोडेर निस्किरहेछ । हिजो विदेशबाट खेदिएर देश पस्नेहरूकै सन्तान आज फेरि पर्देसिने लर्काे भएका छन् ।
अमेरिका छिर्न गरिएको त्यो यात्राको त्रासद कथाले फेरि पनि लेखकलाई रुवाएको छ । उसो त ‘ग्रेट फल्स’ भित्र पनि सुखको कथा छैन । देशभित्र होस् वा बाहिर जहाँ पुगे पनि किन दु:ख मात्रै रोइरहन्छौं हामी । सोच्छु, म संसारको जुन कुनामा पुगे पनि नेपालीकै दु:ख मात्र किन देखिरहन्छु ? किन टिपिरहन्छु ?
फेरि पनि मलाई लेख्न मन छैन दु:खको कथा । देख्न मन छैन नेपाली आँखामा आँसुको व्यथा । हे सरकार, मलाई सहयोग गर, मलाई दु:ख लेख्नबाट रोक ।

प्रकाशित : जेष्ठ ६, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?