रक्सीको राज्य

अर्जुन पन्थी

हिजोआज सराव पिएर सवारी गरेमा मादक पदार्थ सेवन (मापसे) को कसुरमा प्रहरीले समात्न सक्छ। तर पनि कतैकतै मद्यशालेहरूले चुनौती दिने नियम बनाएका छन्, ५ हजारसम्मको मापसे गर्नेलाई आफ्नो गाडीमा घरैसम्म पुराइदिने व्यवस्था।

रक्सीको राज्य

यस्ता मद्यशाला या जमघटमा नयाँ पन्थेलाई पिलाउन खुब बल गरिन्छ। उनीहरूले फिरीमा खाइदिए पुग्छ, सुरुमा। यत्र, तत्र, सर्वत्र अपार छ, मद्यको बेपार। त्यही रक्सीको राजबारे यस लेखमा चर्चा गर्न खोजिएको हो। आधुनिक नेपालमा व्यावसायिक हिसाबले रक्सी पार्ने र सार्वजनिक रूपमा घुट्काउने चलन कहिले भएहोला भन्ने चासोले यो लेखमा एउटा पोयो बाट्न खोजिएको छ। 

भीमबहादुर पाँडेका अनुसार तुर्की, इराकी तथा जर्मनसँग लड्न पहिलोपटक युरोप पुगेका नेपाली ठिटाहरूले त्यहाँको रहनसहन देखेका थिए। उनीहरूले चिया खाने, चुरोट पिउने, तास खेल्ने, रक्सी खाने र पैसालाई हत्केलाको मयलझैँ ठान्ने आदत सिकेका थिए। उनीहरू गाउँघरमा फर्केपछि तास खेल्ने बानी समाजमा छिट्टै चल्यो। थोरैले जित्ने र धेरैले हार्ने यो खेलले जित्तल र हरल दुवैलाई भट्टीमा बसेर रक्सी खान पनि सिकायो। उनका अनुसार जुवाडी बाहुन–क्षत्रीले पनि जुवा जितेको सुरमा मद्यभट्टीमा पसेर जाँड खान सुरु गरे। त्यही बेलादेखि नेपाली गाउँघरमा रक्सी सार्वजनिक पेय भएको हुनुपर्छ। 
पाँडेको तर्क छ, जुवाले जाँड खान त सिकायो, यसको प्रकोप जारीमा बिस्तारै पर्न थाल्यो। स्वास्नी पिट्ने बानी मौलाउँदा विपत् खप्न नसकेर महिलाले घर पनि छाडे। अन्य समस्या थपिए र अड्डाखाना पनि त्यसपछि बढ्न थालेका हुन्। जुवा, जाँड र जारीले निखारिएका एकथरी गाउँलेहरूलाई उनले ‘जाली’ भनेका छन् (पृ. १०३)। यसरी दुई लाख नेपाली युवाहरूले भाग लिएको पहिलो विश्वयुद्धपछि नेपाली समाज उस्तै रहेन। सांस्कृतिक लेपमा समाज कसिकसाउ देखिए पनि भित्रभित्रै उध्रिएको थियो। प्रचार गरिएजस्तो समाज बन्द थिएन। 
विश्वयुद्धपछि लाहुरबाट फर्केका किशोरलाई लक्षित गरेर तराईका नाकाहरूमा मद्यभट्टीहरू खोलिएका थिए। दोस्रो विश्वयुद्धताका सन् १९४३ मा भर्ती भएका कास्की लुम्लेका ललितबहादुर गुरुङले लेखक झलक सुवेदीलाई ‘ब्रिटिस साम्राज्यका नेपाली मोहरा’ पुस्तकमा भनेका छन्, ‘बाटामा थकाली र मगरका भट्टीहरू हुन्थे, खान र बास बस्नका लागि। यस्ता भट्टीहरू लाहुरेको सिकार गर्न बसेका जस्ता लाग्थे।’ (पृ. १०२) अझ ब्रिटिस भारतबाट फर्केका यी लाहुरेहरूले पतिया लिनलाई एक साता जति त तराईमा बस्नुपथ्र्यो। 
मुलुकबाहिर गएपछि बिटुलो भएको भनी चोख्याउन पतिया लिनुपर्ने चलन थियो। पतियाको नाममा बाहुनहरू लगाएर पैसा लिइन्थ्यो। पूर्वलाहुरेहरूले सुवेदीसँगको कुराकानीमा भनेका छन्, एक सातासम्म बस्दा लाहुरेहरूको कमाइको पोको पनि भट्टीवालका थैलामा पथ्र्यो (पृ. १४८)। यी भट्टीहरूमा पसेका कतिपय त बेखर्ची भएर फर्कन्थे, बिचरा। नभए तुम्मडी भएर पहाडतिर उकालो लाग्थे। कसैले रिक्सा चलाएर बस्थे। भूपी शेरचनको ‘भैरहवा’ कविताले पनि लाहुरे, भट्टी र रक्सीको झल्को दिन्छ :

लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली? ‘अच्छा यार’
र देखिन्छ केवल
साँझमा
रिक्सा, साइकल, भट्टी र सडकमा
लाहुरेहरू र कान्छीहरूको मांसाहारी प्यार
उफ्† यो पट्याइलाग्दो ठाउँ

यो पट्याइलाग्दो ठाउँ बन्नुमा ब्रिटिसकालीन भारतका सुगरमिलको कथा पनि जोडिन्छ। अंग्रेजको शासनकालमा उत्तरी भारतका गोरखपुरदेखि कलकत्तासम्मका ठाउँहरूमा प्रशस्त सुगरमिल खोलिएको थियो। त्यसबाट चिनीबाहेक वाइप्रोडक्टको रूपमा भेली पनि बन्थ्यो। उत्पादित भेली रक्सी बनाउने कच्चा पदार्थको रूपमा नेपालमा भित्रिएको थियो। मेरा माइला मामाले भनेअनुसार खस्यौलीका नेवारहरूले सुनौलीदेखि खस्यौलीसम्म गोरुगाडामा सामान ओसार्थे। त्यस्तो सामानमा ज्वानो, तमाखु, भेली, साबुन, कपडा आदि पाइन्थ्यो खस्यौली बजारमा। 
सन् १९३९/४० तिर उखु उत्पादन गरिने भारतभरको जम्माजम्मी थलोमध्ये ५० प्रतिशतभन्दा धेरै जमिन उत्तरप्रदेशको थियो भनी सन् १९८४ मा लेखक सहिद अमिनले आफ्नो पुस्तक ‘सुगरकेन एन्ड सुगर इन गोरखपुर’ मा लेखेका छन्। यस्तो भेली जोगवनी, भैरहवा, गौरीफन्टा, पक्लिहवा, कोइलाबासलगायतका भन्सार वा छोटी भन्सारबाट भित्रिएर तराई मात्र हैन नेपालका पहाडमा पुगेको छ, जसबाट बनाइएको रक्सीलाई पहाडमा ‘भेलीको झोल’ पनि भनिन्थ्यो। यस्तो झोल बनाउने कारखाना नेपालमा पनि खोलिँदै थियो।
मोरङ सुगर मिल्स २००३ सालमै खुलेको थियो। यो ब्रिटिस भारतको थोत्रे मिसिन थियो। अहिले पनि काठमाडौँमा काम गरेर थोत्रा बनाइएका कम्प्युटर गाउँघरतिर सप्लाई गरिएजस्तै भारत पाकिस्तान विभाजन हुनुअघि पाकिस्तानतिर पर्ने नारायणगन्ज भन्ने ठाउँमा बेकामे भएर बसेको मिसिनलाई विराटनगरमा ल्याएर जडान गरिएको थियो। कलकत्ते सेठले १५ लाख मूलधनमा खोलेको भनिएको यो कारखानाले त्यति बेला भारतबाटै उखु ल्याएर चिनी र रक्सी उत्पादन गथ्र्याे। त्यसका नेपाली प्रतिनिधि जुद्धबहादुर श्रेष्ठले ‘बितेका ४ वर्षतिर फर्केर हेर्दा’ भन्ने पुस्तकमा यसबारे लेखेका छन्। तराईमा यस्ता सुगर मिल थपिने उपक्रम चलिरह्यो। 
त्यत्तिकै बेकामे पल्टेका पुराना कलकारखानाहरूलाई यसका कारखानेदारले नेपाली पाटनर खोजेर तराईमा विभिन्न उद्योग स्थापनाको प्रयास गर्न थाले। यसै उपक्रममा रक्सी उत्पादनको एउटा कथा जोडिन्छ। यो कथा बोरिस लिसानेभिचसँग जोडिएको छ। ब्रिटिसकालीन भारतको कलकत्तामा रहँदा यी रुसी नागरिकले नेपालका पनि केही सम्भ्रान्तहरू वा भविष्यका सत्ताधारीलाई साथी बनाएका थिए। तीमध्ये सी क्लासका कलकत्ते राणाहरू पनि थिए। उदाहरणको रूपमा महावीरशमशेर पनि हुन्। यिनीसँग मिलेर पश्चिम बंगालको कुच विहारमा मद्यशाला खोलेका थिए। तर सन् १९४७ मा भारत पाकिस्तान विभाजन भएपछि कुच विहारमा अलपत्र परेको सामान नेपालमा ल्याएर रक्सी उत्पादन गर्ने सरसल्लाह महावीरशमशेरसँग गरे।
काठमाडौँ तथा तराईमा पनि रक्सी पिउने बानी रहेको र रक्सीमा प्रतिबन्ध नभएकाले राणादेखि सर्वसाधारणमा पनि सामाजिक रूपमा नै रक्सी स्वीकार्य रहेको देखाई महावीरलाई बोरिसले फकाएका थिए। भारतबाट पनि प्रशस्त उखुहरू ल्याउन सक्ने सम्भावना भएकाले सुरुमा विराटनगरमा यस्तो उद्योग खोलेमा फाइदा हुने र त्यसबाट आउने करले सरकारलाई सहयोग हुने बताएका थिए। उनीहरूले सम्भवत: तराईका भट्टीपसलले देखाएको सम्भावनालाई पनि ख्याल गरेका थिए। २००७ सालपछिको तत्कालीन मन्त्रिमण्डलमा महावीर उद्योग मन्त्री पनि भए। त्यसपछि त बोरिसलाई गज्जब भयो। कुच विहारबाट सामान आइनसकेको हुँदा विराटनगरमा उद्योग सेटअप भएको थिएन। त्यति बेलासम्म हतार भएकाले भारतबाट महिनाको ५ हजार ग्यालेन रक्सी बोकी ल्याएर तराई र काठमाडौँमा पनि बेच्न थाले। 
यसबाट महावीर र बोरिसले ४५० ससाना पसललाई ग्राहक बनाए। तर त्यति बेला विभिन्न फलफूलको स्वाद आउने रक्सीलाई गैँडा, बाघ, चितुवा नामका कागजले सिसीमा बेरेर आकर्षक र सस्तो मूल्यमा यिनले रक्सी बेचे।
तराई क्षेत्रमा खोलिएका मद्यभट्टीहरूमा बोरिसले रक्सी सप्लाई गर्थे। बोरिसको व्यापारलाई करिब १२ सय मद्यशालेहरूले विरोध गरेका थिए। नगरुन् पनि किन? विभिन्न स्वादको रक्सीले, भेलीको रक्सी बिक्री भएको थिएन। उता बोरिसलाई सरकारले पनि १ लाख ७५ हजार रुपैयाँ पनि करस्वरूप मागेको थियो। त्यो झोँकमा उनले पैसा दिएनन्। सरकारले पनि बाँकी राखेन। बोरिस पनि सरकारले मागेको पैसा नतिरी डिल्लीबजार सदरखोरमा बसे। सन् १९५४ मै बोरिस–महावीरले आफ्नो मद्यशाला नै बन्द गर्नुपर्‍यो। यसले भट्टीवाललाई फाइदा नै भयो। यो कथा मैले मिसेल पिसेलले लेखेको ‘टाइगर फर ब्रेकफास्ट’ भन्ने पुस्तकबाट लिएको हुँ। बोरिसको लामो कथा ‘सिन्हास’ जर्नलमा मार्क लिक्टीले पनि लेखेका छन्। 
राणाकालमा भारतमा उत्पादित वस्तुहरू नेपालका पहाडी इलाकामा जताततै पुग्थे। भेलीको पहाड यात्रा पनि यससँग जोडिन्छ। टोनी हागनले नुन बोक्ने यात्रामा सन् १९५० को मध्यतिर २० देखि ३० लाख मानिस संलग्न हुन्थे भनेका छन्। पहाडबाट झरेका खचाखच मान्छेले आफूलाई चाहिने सरसामानहरू घ्यूसँग साटेर लैजान्थे। सन् १९६६ मा धनगढी बजारबाट कम्तीमा १ लाख केजी घ्यू भारत निकासी हुने तथ्य हर्क गुरुङले ‘मैले देखेको नेपाल’ पुस्तकमा उल्लेख गरेका छन्। 
सन् १९६५–६६को एक वर्षमा बैतडीको झुलाघाटबाट सबैभन्दा धेरै ३ लाख ३३ हजार ६४८ केजी घ्यू भारत निर्यात भएको थियो। बुटवल पनि त्योभन्दा कम थिएन। घ्यू नै पैसाजस्तो थियो। पहाडमा घ्यू उत्पादन नगर्नेहरूले राडीपाखी, अन्न, छाला आदि लिएर तराई झर्थे। यसैले बाजेका पालादेखि नै अन्य विदेशी वस्तुको स्वाद नेपाली समाजले चाखेको थियो। त्यसपछि त नेपालमै पनि सुगर मिल स्थापित भएका र तिनीहरूले बाइप्रोडक्टको रूपमा भेली वा रक्सी बनाउन थालेका थिए। 
नेपालमा २०२३ सालदेखि खोलिएको महेन्द्र सुगर मिल्सले चिनी त उत्पादन गर्ने नै भयो। यसले उच्च कोटिको मदिरा पनि उत्पादन सुरु गर्न थाल्यो। त्यति बेला यसले ८ हजार सिसी रक्सी प्रतिदिनमा उत्पादन गथ्र्याे। यसले उत्पादन गरेको रक्सीमध्ये २०३६ सालतिर ‘थ्री लायन्स ह्वीस्की’ पपुलर थियो भनेर किशोर नेपालले आफ्नो संस्मरणात्मक पुस्तक ‘मेरो समय’ मा लेखेका छन्। उनका अनुसार त्यति बेला काठमाडौँको आभिजात्य समाजमा फ्रेन्च वाइन र ब्रान्डीका पारखी थिए।
२०२८ सालसम्म मुलुकमा ३ ओटा चिनी कारखाना थिए। भैरहवा, वीरगन्ज र मोरङ। सँगसँगै रक्सी उत्पादन गर्ने डिस्टिलरी उद्योग पनि खोलिए। जस्तो काठमाडौँ डिस्टिलरी, दी नेपाल डिस्टिलरी, जावलाखेल डिस्टिलरी, भीम डिस्टिलरी–धरान आदि। यी कम्पनीले भट्टी खारेज गराई डिस्टिलरी खुलाउने गरी सरकारसँग इजाजत माग्ने गरेको देखिन्छ। यसबाट पनि डिस्टिलरी उद्योगलाई त्यो बेला भट्टी चुनौती बनेको देखिन्छ। त्यसैले भट्टी–राज्य पनि धेरै समय चलिरहे। डिस्टिलरीले उत्पादन गरेका रक्सीका पाउँच गोजीमा राखेर मानिसले गाउँघरतिर तन्काउँदै पनि हिँडे। कुनै जमानामा तमाखुका अम्मलीझैँ पहाडमा पनि मानिसहरू रक्सीका अम्मली बने। 
रक्सी उपभोगसँग अन्य पक्षहरू पनि जोडिएका हुन्छन्। नयाँ शिक्षा लागू भएपछि २०२८ सालमा राष्ट्रिय विकास सेवा (राविसे) उच्च शिक्षाको एउटा पाटोको रूपमा लिइयो। त्यति बेला विद्यार्थीलाई आफ्नो देशको वास्तविक स्थिति बुझ्न पठाइयो। सुरुमा राविसे विद्यार्थीलाई शिक्षकको अभाव पूर्ति गर्न पठाइएको थियो। त्यो बेला कतिपय शिक्षकले रक्सी पिउने बानी पनि सिकेर आए। सरकारको तर्फबाट गाउँघरमा खटाइएका साना तथा मझौला कर्मचारीले पनि गाउँघरबाट फर्किँदा रक्सी खान सिकेर फर्कन्थे। पञ्चायतकालमा अनुगमन गर्न गएका कर्मचारीलाई रक्सी र कुखुराको मासुले स्वागत गरिन्थ्यो। उनीहरू ठाउँ–ठाउँमा स्वाद चाखेर डुल्थे। मेरो विचारमा ब्रिटिसहरूले स्थापना गरेका सुगरमिलबाट उत्पादित भेली र रक्सीले नेपाली पहाडलाई उहिले नै एउटा आदत उपहार दिएर गएको थियो।
सन् १९९० पछि नेपालमा धेरै संस्थाहरू जन्मे। बाटोघाटोहरू बने। पर्यटन फस्टायो। राणाकालीन भट्टीहरू होटलमा रूपान्तरित भए वा बाटोघाटो पुगेका ठाउँहरूमा भट्टी बिस्तारिए। चलायमानता बढ्दै जाँदा उपभोग्य बानी पनि कमजोर भएन। बरु वर्गीय खाडलअनुसार खानेबानी पनि वितरित भयो। त्यसैले रक्सी सस्ता र महँगा हुन थाले। अहिले दरबारमार्गमा खुब महँगा रक्सीहरू पनि बिक्री हुन्छन्। ५ देखि १० हजारसम्मका रक्सीहरू मझौला नेपालीको रोजाइमा परे पनि लाखे रक्सीहरू पनि नेपालमा धेरै बिक्री हुन्छन्। कान्तिपुर दैनिकको एक रिपोर्टिङमा विष्णु पोखरेलले २०७३ साउनदेखि माघसम्मको आयातको आधारमा नेपालमा हरेक दिन ७२ लाख ३५ हजार रुपैयाँको मदिरा भित्रिने गरेको उल्लेख गरेका छन्। यसमा अनौपचारिक कारोबारको गणना छैन। 
गएको फागुन पहिलो साता मन्त्रीस्तरीय बैठकले ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ पारित गरेको छ। जसमा २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने उल्लेख छ। नीतिले सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरेको छ। बिहान ५ देखि साँझ ७ बजेसम्म फुटकर मदिरा खरिद–बिक्री गर्न नपाइनेलगायतका व्यवस्था यसमा छन्। तर यो नीति के–कसरी लागु हुन्छ, त्यो हेर्न भने बाँकी छ। अहिलेसम्म पनि रक्सी व्यापार निस्फिक्री चलेकै छ।
भारतबाट खरिद गरी ल्याएको कोदोबाट काठमाडौँ वरिपरिका केही गाउँहरूले रक्सी उत्पादन गरी काठमाडौँलाई पनि बिक्री गर्छन्। अहिले पनि तरकारीजस्तै केही काठ क्षेत्रबाट रक्सी ग्यालेनमा भित्रिन्छ। भेली, कोदो र कनिकाजस्ता कच्चापदार्थबाट रक्सी बनाई साताको ८० लिटरसम्म एक परिवारले रक्सी पारेर उपत्यकामा बिक्री गर्छन्। तर यस्ता साना उत्पादकलाई कानुनी अनुमति छैन। ठूला डिस्टिलरीबाट मोटो कर असुल्न पाएकाले पनि साना अवैध भएका हुन्। त्यसैले यस्तो बनुवा रक्सीको गणना छैन। 
यसरी, नेपालमा पानी जसरी रक्सीको पैसा पनि उँधो बगेको छ। लाग्छ, रक्सी–राज्यको यस्तै कथा अन्य वस्तु–राज्यमा पनि देखिन्छ।

प्रकाशित : वैशाख ९, २०७४ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?