महान् तर बदनाम नाम

ईश्वर बुढाथोकी

जर्मनको एउटा प्रसिद्ध उखानले भन्छ, ‘बेवकुफ र समझदारले कसैको पनि नोक्सान गर्दैनन् मात्र केही पागल र बुद्धिमान खतरनाक हुन्छन् ।’

यद्यपि पागलपन र बुद्धिको ‘फ्युजन’ यदि एउटै व्यक्तिमा भयो भनेचाहिँ त्यो व्यक्ति झन् कस्तो होला त ? त्यसैको एउटा गजबका उदाहरण हुन् जापानका प्रख्यात लेखक ओसामु दाजाई । जसको विचित्रको पागलपन र लेखन प्रतिभाबारे पढेर अहिले पनि मानिसहरू दाँतका मुनि जिब्रोलाई अठ्याउँछन् ।
कलात्मक लेखनशैली, अद्भूत कल्पनाशीलता, प्रेम सम्बन्ध, आवारापन, सनक, दुव्यर्सन र पटक–पटक गरेको असफल आत्महत्याको प्रयासले विश्व चर्चित दाजाईमा पागलपन र बौद्धिक प्रतिभाको अनौठो मेल थियो । जसले दोस्रो विश्वयुद्धको अन्त्यपछिको जापानी साहित्यिक परिवेशलाई कब्जामा लिएर आधुनिक विश्व साहित्यलाई विशिष्ट र सुन्दर गद्य रचनाहरू दिएका थिए ।
आख्यानात्मक साहित्यलाई बेजोड र मर्मभेदी बनाएर त्यसमा आत्मीय भाषाशैलीलाई उपस्थित गराई सुरुमै संवेदनशील पाठकलाई हिरासतमा लिने र उल्टै उनीहरूबाट सहानुभूति पनि बटुल्ने अपारको बौद्धिक खुबी थियो दाजाईमा । पारिवारिक पृष्ठभूमि सम्भ्रान्त र सामन्ती प्रकारको भए पनि उनी स्वभावले निकै भावुक प्रकृतिका थिए । जमिनदारी प्रथाको आलोचना गर्थे तर पागलपनजस्तो अनौठो आनीबानीका कारण उनी बदनाम पनि थिए । रक्सी उनी उधुम पिउँथे र बारम्बार वेश्यालय गइरहन्थे । उनको जीवनशैली अत्यन्तै अव्यवस्थित र अपरम्परागत थियो । उनी जिन्दगी निस्फिक्री तरिकाले जिउँथे । रक्सी, अफिम उनको शरीरको इन्धन थियो । नारीदेहको सामीप्यता र गन्ध उनका लागि औधीप्रिय थियो ।
आफ्नै एक प्रशंसकसितको अवैध सम्बन्धले जन्मिएको बच्चालाई वर्षांैपछि स्वीकारेर पितृत्व प्रदान गर्ने दाजाई जीवनमा के चाहन्थे ? त्यो उनी पनि जान्दैनथे । उनी त बस् यत्ति मात्र जान्दथे कि उनले जे चाहेका थिए त्यो यो दुनियाँमा छैन ।
संसारमा सूर्योदयको देश भनेर चिनिने जापानका बीसौं शताब्दीका यी अग्रणी एवं सौर्यलेखक ३८ वर्षे अल्पायुमै अस्ताएको झन्डै सत्तरी वर्ष हुन लागिसकेको छ । टोकियोको मिताकास्थित जेनरिन परिसरको एक समाधिमा चिरनिन्द्रामा रहेका दाजाईको जन्मजयन्ती जापानमा हरेक वर्ष उत्सवका साथ मनाइन्छ । त्यस क्रममा रक्सीका महापारखी दाजाईको समाधिमा उनका प्रशंसकहरू थुप्रै बियरका सीसी र डब्बा राखिदिने गर्छन् ।
उत्तरी जापानको आओमारी प्रान्तस्थित एक जमिदारको घरमा दाजाईको जन्म सन् १९०९ को जुन १९ मा भएको थियो । जापनको सुदूरकुनामा अवस्थित आओमारी प्रान्तमा रहेको अर्धपश्चिमी शैलीको चार मिटर उचाइको पर्खालले घेरिएको आलिसान महलमा जन्मिएका एघार बच्चाबच्चीमध्येका एक थिए, ‘सुसिमा सुजी’ अर्थात् ओसामु दाजाई । आमाको स्वास्थ्य कमजोर भएका कारण उनको रेखदेखका लागि एउटी सुसारे राखिएकी थिई । जमिनदार बुबा राजनीति पनि गर्ने हुादा प्राय: परिवारबाट टाढै हुन्थे । दाजाईको स्याहारसुसार गर्ने सुसारेले बीचमै छाडेपछि उनको हेरचाह काकीले गरेकी थिइन् । आमाको अगाध र बिनाशर्तको माया उनले पाएनन् । सात वर्षको उमेरमा उनी काकीको घरबाट आफ्नै घर फर्के र स्कुल जान थाले । उनको औपचारिक अध्ययनको सुरुवात कानागी लोअर प्राथमिक स्कुलबाट भयो । सन् १९२२ मा उनी मिजी उच्चप्राथमिक स्कुलमा पढ्दै गर्दा इन्फ्लुएन्जाको कारण उनको पिताको मृत्यु भयो । कलिलै उमेरमा बाबुको अभिभावकत्व गुमाएका दाजाईले माध्यमिक शिक्षाको पढाइ आओमारीको प्रिफेक्चुरल हाइस्कुलबाट पूरा गरेका थिए ।
सन् १९२७ मा दाजाई हिरोसाकी महाविद्यालयमा स्नातक तहमा भर्ना भए । त्यहााका अब्बल विद्यार्थीमध्येका एक उनीसित लेखक बन्नलाई सपना बाहेक अरू केही थिएन । स्थानीय साहित्यिक पत्रिकामा उनका रचनाहरू छापिन थालेका थिए । त्यसै वर्ष उनका प्रिय लेखक रयुनोसुकी आकुतागावाले आत्महत्या गरे । आकुतागावाको मृत्युले विक्षिप्त भएका दाजाई पढाइलाई उपेक्षा गरेर केही समय प्रतिबन्धित कम्युनिस्ट राजनीतितिर लागे । गैरकानुनी क्रियाकलापमा भाग लिएको भनेर तत्कालीन सरकारले उनलाई गिरफ्तार गर्‍यो र केही समयमै छाडिदियो ।

आत्महत्यासित पौंठेजोरी
आबारापन र लापरबाहीका कारण दाजाई एक पटक घरपरिवारबाट निष्कासित भए । एकै रातमा निर्धन भएर सडकमा भौंतारिन पुगे । उनले धेरैसाग मद्दतको भीख मागेर फुनावासीमा एउटा सानो घर भाडामा लिएर बसे । त्यहाा उनी गम्भीर बिरामी भए । बगैंचाको एकातिरको कुनामा रहेको कपली रूखमा फुलेको फूल हेरेर उनी आफूलाई सम्हाल्थे । नितान्त एक्लै सुस्ताइरहेका दाजाईको उदास मनलाई त्यो फूलले शीतलता मात्र दिएको थिएन लेख्ने ऊर्जा पनि दिएको थियो । त्यहाँबाट केही दिनमै उनी घर फर्किए र सन् १९२९ को १० मेमा स्नातक अन्तिम वर्षको परीक्षाको अघिल्लो रात उनले ‘क्यालमोटिन’ नामक निद्राको औषधि अत्यधिक मात्रामा सेवन गरे । बिहान उठ्दा उनी कोमामा गइसकेका थिए । उनलाई अस्पतालमा भर्ना गरियो । केही दिनको उपचारपछि उनी कोमाबाट बाहिर आए ।
सामान्य अवस्थामा फर्किएपछि सन् १९३० मा उनी टोकियो विश्वविद्यालयको इम्पेरियल फ्रेन्च साहित्य विभागमा भर्ती भए । पढाइमा उनको ध्यान कमै जान्थ्यो । त्यसैताका ओयामोर ह्यात्सोयो नामकी युवतीसित उनले भागेर बिहे गरे । परिवारले उनको यस कदमलाई स्वीकारेन । औपचारिक रूपमै उनी फेरि घरबाट निकालिए । करिब नौ दिनपछि उनी पुन: घर फर्किए र त्यसको केही समयमै दाजाईले अर्की प्रेमिका तानावी सिमीकोसँगै कामाकुराको समुद्री तटमा फालहाले । सिमीकोको ज्यान त गयो तर दाजाईलाई भने एउटा माझीले बचाइदियो । त्यसको महिना दिनपछि बिरामी अवस्थामै उनले ओयामा नाम गरेकी युवतीसित दोस्रो बिहे गरे । सन् १९३५ मा उनले एक अखबारमा काम गर्नका लागि परीक्षण परीक्षा दिए । त्यसमा असफल भए । त्यति नै बेला कलेजमा शुल्क बुझाउन नसकेको तनावमा उनले फेरि झुन्डिएर मर्न खोजेतर सकेनन् ।
त्यसपछिका केही दिन उनी गायब भए । परिवारले प्रहरीलाई खोजिदिन अनुरोध गरेको पनि थियो, दाजाई घर फर्किए । समयमै शुल्क नबुझाएकाले टोकियो विश्वविद्यालयले उनलाई निष्कासन गर्‍यो । त्यो वर्ष उपचारका लागि दाजाई एउटा मानसिक अस्पतालमा एक महिनाभन्दा बढी बसे । त्यसैबीच उनले आफ्नी पत्नी र उसका साथी जेन्सिरो कोदाताबीच नाजायज सम्बन्ध भएको थाहा पाए । एक रात फेरि उनले आफ्नी पत्नीलाई अत्यधिक मात्रामा निद्रा लाग्ने औषधि खुवाए र आफूले पनि खाए तर दुवैको मृत्यु भएन । दाजाईले पत्नीसित सम्बन्धविच्छेद नै नगरी एक मिडिल स्कुलकी शिक्षिकासाग तेस्रो बिहे गरे ।
सन् १९४५ मा उनले उपन्यास ‘सुगारू’ लेख्दै थिए । त्यतिबेला उनी छातीको समस्याले बिरामी परे । जापानले प्रशान्त युद्धमा प्रवेश गरेको थियो । टोकियोको विरुद्धमा भएको अमेरिकी हवाई हमलामा उनी बसेको घर जल्यो । उनी आफ्नो मूलघरनजिक बस्न थाले जुन घर दोस्रो विश्वयुद्धपछि बेचिएको थियो । त्यही घरमा उनले २२ वटा साहित्यिककृति लेखे ।
संसारको आधा भागलाई रगतले भिजाएर दोस्रो विश्वयुद्ध थामियो । युद्धपश्चात् दाजाईको लोकप्रियता एकातिर उकालो लाग्दै थियो भने अर्कोतिर रक्सी, चुरोट, नशालु पदार्थ आदिको अत्यधिक सेवनले उनको स्वास्थ्यस्थिति ओरालो लाग्दै थियो । दाजाई एक ब्युटिसियन तोम्ले यामाजाकी नाम गरेकी विधवाको सम्पर्कमा आए जसले बिहे गरेको १० दिनमै युद्धमा लोग्नेलाई गुमाएकी थिइन् । दाजाई श्रीमती र बच्चाबच्चीलाई छाडेर तोम्लेसितै बस्न थाले । त्यसबेला दाजाई उपन्यास ‘नो लङ्गर ह्युमन’ पूरा गरेर अर्को उपन्यास ‘गुडबाई’ लेखिरहेका थिए । त्यसै क्रममा जुन १३, १९४८ मा दाजाई र तोम्ले दुवैले तौजा गावा नहरमा डुबेर ज्यान फाले । यस्तो लाग्छ, यसपूर्वका पटक–पटकका उनका आत्महत्याका प्रयासलाई सायद भावीको विधानले नै उनले लेख्न बाँकी रचनाका लागि असफल तुल्याइरहेको थियो । तर, दुर्भाग्य । उनको आत्महत्याको यही अर्को एक प्रयास अन्तिम बन्न पुग्यो । यसरी विश्वमा सूर्योदयको देश भनेर चिनिने जापानका सौर्यलेखक दाजाई सधंैका लागि अस्ताए । मर्नुअघि उनले आफ्ना समस्त रचना दुनियाँलाई दिए । लेख्नकै लागि जन्मिएका दाजाईको आत्महत्या जुन दिन सफल भयो त्यही दिन उनीभित्रको लेखकको औचित्य समाप्त भइसकेको थियो । त्यसपटक पनि मृत्युले नमारेको भए सायद उनलाई जिन्दगीले नै मारिदिन्थ्यो होला । उनले आफूले लेखिरहेको ‘गुडबाई’ उपन्यासलाई पूरा नगरिकन आत्महत्या गरे । तर, तेस्रो आँखा उघारेर हेर्न सके प्रस्ट देखिएला कतै उनले आत्महत्या गरेर नै त्यस उपन्यासलाई पूरा गरिदिएका पो हुन् कि । उपन्यासको आखिरी अध्याय दाजाईको आत्महत्या पनि त हुन सक्छ ।

दाजाईका प्रवृत्ति र अमर कृति
दाजाईले सन् १९३३ देखि निरन्तर लेखेका थिए । १५ वर्षको सक्रिय लेखन अवधिमा उनले करिब दुई दर्जन जति पुस्तक लेखे । उनी उपन्यास, कथा र निबन्धमा समर्पित थिए । लेखनमा आत्मपरक वर्णन शैलीले नै उनलाई माथि उठायो । पहिलो कथा सङ्ग्रह ‘ब्यानेन’ को प्रकाशनपछि उनको लेखन झन् तीव्र भयो । अर्को ‘ओमोइड’ निकै लोकप्रिय रह्यो । निजात्मक शैलीमा निजी अनुभूति, अनुभव तथा घटनाहरूलाई कथाको आकार दिनमा उनी अत्यन्तै सिद्धहस्त थिए । आफ्ना बाल्यकाल तथा किशोरावस्थाका चाहना, दु:ख, पारिवारिक भाइचाराका सम्बन्ध, मायाको अतृप्तिजस्ता अनुभूतिहरू लेखनका लागि उनका खुराक थिए ।
विश्वयुद्धको बादल मडारिइरहेको असहज र प्रतिकूल वातावरणमा पनि उनले सहज रूपमा निकै कलात्मक शैलीद्वारा राम्रा उपन्यास र कथाहरूको रचना गरे । जापानका १९६८ का नोबेल पुरस्कार विजेता यासुनारी कावाकाता, मिसिहिमा, युकियो, नातसुमी सेकी, हारुकी मुराकामीजस्ता लेखकहरूले अन्तर्राष्ट्रिय उचाइ हासिल गरेका छन् । दाजाईको लेखकीय उचो कदले भने धेरैलाई फेदमै अल्मल्याउँछ किनभने उनका कतिपय पुस्तकहरू अङ्ग्रेजी अनुवाद हुनै सकेका छ्रैनन् । उनको कलात्मक आत्मपरक शैलीलाई अनुवादमा उतार्नु नै जटिल भएको समीक्षक तथा अनुवादकहरूको भनाइ छ ।
सन् १९४० मा छापिएको मित्रताको अटुट सम्बन्धमाथि लेखिएको दाजाईको ‘मेलोस’ लघु उपन्यास जापानका स्कुल, कलेजहरूमा अझै पनि पाठ्यपुस्तकका रूपमा पढाइन्छ । अर्को दाजाईको पुख्र्यौली थलोको पृष्ठभूमिमा लेखिएको ‘सुगारू’ पनि निकै प्रसिद्ध छ । त्यसमा तनाव, औपचारिकता एवं वास्तविक स्नेहलाई प्रदर्शित गर्दै खराब मौसम र बालीनाली उत्पादनमा भएको ह्रासबाट उत्पन्न समस्याले आक्रान्त भएका त्यहाँका मानिसहरूका कठोर बोली, भद्दा व्यवहार र अशिष्ट आचारणका साथै हास्य प्रसङ्गलाई उनले वास्तविक गहिराइमै पुगेर खिचेकाले धेरैले उनको सराहना गरे । सन् १९३९ मा प्रकाशित उपन्यास ‘जोसितो’ (द स्कुल गर्ल) पनि निकै चर्चित छ । भनिन्छ, त्यसमा एउटी स्कुले छात्राको सम्पूर्ण कथाको परिक्रमा गराउने क्रममा दाजाई अप्रत्यशित रूपमा प्रकट भइदिन्छन् ।
दाजाईले शृङ्खलात्मक अर्को सशक्त उपन्यास ‘नीनजिन सिकाक्कु’ (नो लङ्गर ह्युमन) मा मानवको अस्तित्व पतनको सुन्दरतालाई प्रस्तुत गरेका छन् । त्यसमा उनको तेजिलो दृष्टिकोण छ । रोमान्टिक कल्पनाले भरिएको उनको ‘ब्लु ब्याम्बो’ लोककथामा आधारित सात कथाको सङ्ग्रह हो । यही कृतिले दाजाईमा भएको अथाह कल्पनाशक्तिको पुष्टि गरेको थियो । उनी आफ्ना कृतिमा काल्पनिक दुनियाँ खडा गरेर मनोवैज्ञानिक चिन्तनलाई मार्मिक रूपमा प्रस्तुत गरेर पाठकलाई सोचमग्न र मर्माहत बनाइदिन्छन् ।
जापानी मूल भाषामा लेखिएको ‘सायो’ (द सेटिङ सन) उपन्यासले अङ्ग्रेजीमा अनुवाद भएर आएपछि दुनियाँमा तहल्का मच्चायो । निस्सारतावादी यस उपन्यासको चर्चा अझै पनि भइरहेकै छ । नेपालका प्रसिद्ध लेखक शंकर लामिछानेले यसको नेपाली अनुवाद गर्न चाहेका थिए तर पारिजातकृत नेपालको प्रख्यात उपन्यास ‘शिरीषको फूल’ को पाण्डुलिपि पढेपछि त्यसको अनुवादलाई आवश्यक ठानेनन् । ‘शिरीषको फूल’ चर्चित भूमिकामा शङ्कर लामिछानेले लेखका छन्, ‘मैले यस्तै अचम्मित पार्ने एक जापानी उपन्यास पढेको थिएँ, ओसामु दाजाईको द सेटिङ सन । त्यो यति राम्रो लागेको थियो, उल्था गर्ने विचार गरेको थिएँ र सोचेको थिएँ, त्यसले नेपाली साहित्यलाई केही उपलब्धि हुनेछ । अब त्यसको आवश्यकता रहेन ।’
यो उपन्यासले जिन्दगीको तुक खोज्दैन । बरु जिन्दगीे नै कुनै बेबकुफले तुक मिलाएर सुनाएको कथा हो भन्ने आशय राख्छ । जुन कथामा सबै तुकहरू पूर्ण त हुन्छन्, केबल अर्थ हुँदैन । दाजाई चङ्गालाई झैं पाठकलाई उडाएर फेरि बिजुलीको तारमा अड्काइदिने सामथ्र्यका लेखक हुन् । उनी लेखनमा पाठकसँग सीधै सम्पर्क राख्छन् र आफ्नो साहित्यिक शैलीबाट आफ्नै चिन्ता अभिव्यक्त गरिदिन्छन् । अशान्त र अस्थिर मनोदशा भएर पनि निरन्तर लेख्ने दाजाईको मानसिक क्षमता त गजबकै हो ।
उनका प्रमुख कृतिहमा मेमोरिज (१९३३), फ्लावर्स अफबफोनेरी (१९३५), दलेट यर्स (१९३६), द स्कुल गर्ल (१९३९), वन हन्ड्रेड भ्युज अफ माउन्ट फुली (१९३९), मेलोस (१९४०), राइट एन्ड स्माइल (१९४२), सुगारू (१९४४), द सेटिङ सन (१९४७), नो लङ्गर ह्युमन (१९४८), ब्लु ब्याम्बो (१९९३), अ चेरी (१९४७), प्यानडोरा बक्स (१९४४), आई हियर्ड इन दिस वे (१९४७), गुडबाई (१९४८) आदि रहेका छन् ।
पृथक कल्पनाशक्ति, अस्तित्वविहीन जीवनवादी चिन्तन र मृत्योन्मुखी अवस्थाहरूमा पुग्नुको अनुभूतिजन्य परिणतिहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्ने सिर्जनात्मक प्रतिभाले ओसामु दाजाईलाई विश्वसाहित्यका एक अविस्मरणीय स्रष्टाका रूपमा उभ्याएको छ । दाजाईको चरित्र, आदत र खराब आचरणले उनको चुलिएको उचाइलाई कतैबाट पनि छेक्न सक्दैन । उनी जताबाट हेरे पनि देखिन्छन् । उनको बदनामीलाई पनि आज इज्जतका साथ लिइन्छ ।

(विभिन्न सन्दर्भसामग्रीहरूको सहयोगमा)


प्रकाशित : चैत्र २६, २०७३ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

ह्विलचियरबाटै संसद छिर्ने धोको

‘अपांगलाई अवसर दिनुपर्छ’
अगन्धर तिवारी

पर्वत — सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी ।

सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् ।

पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी । २०३० को दशकमा गाउँमा अहिलेजस्तो सडकको परिकल्पनासम्म थिएन । अर्को गाउँसम्म पुग्ने पैदल बाटोसमेत भरपर्दो थिएन । त्यस्तो अवस्थामा घिसँ्रदै पोखरा पुगेर कानुनमा स्नातकसम्मको अध्ययन सकेका न्यौपाने शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल मानिन्छन् ।

उनै न्यौपानेलाई आगामी यही २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले प्रदेश नम्बर ४ को समानुपातिक उम्मेदवार सूचीमा राखेको छ । संविधानअनुसार एउटा प्रदेशमा एक अपांग सदस्य अनिवार्य हुन्छ । प्रत्यक्ष निर्वाचनमा अपांग भएका व्यक्तिको उम्मेदवारी नपरेका कारण आफू समानुपातिक सदस्यमा पर्नेमा न्यौपाने आशावादी छन् । सदरमुकामका हरेक कार्यक्रममा दुई दिन लगाएर भए पनि ह्विलचियरसँग सहभागिता जनाउँदै आएका न्यौपाने २०५४ को जिल्लासभाका सदस्य हुन् । उनी २०५४ मा तत्कालीन राष्ट्रिय जनमोर्चाको तर्फबाट जिविस सदस्यमा निर्वाचित भएका थिए ।

सदरमुकामबाट १६ कोश टाढाको टकलाकबाट डोकोमा बोकिएर नियमित जिविस बैठकमा सहभागी भएका उनी हिजोआज सदरमुकाममा हुने हरेक कार्यक्रममा ह्विलचियरमै देखिन्छन् । गाउँसम्म सडक सञ्जाल भएपछि ४ वर्षयता उनी ह्विलचियरमा सदरमुकाम आउजाउ गर्न थालेका हुन् । प्रदेश संसद्मा पुगेर मुलुकभरका ३ प्रतिशत अपांगका पक्षमा एक्लै लड्ने उनको धोको छ । ‘अहिले हामीजस्ता अपांगले यात्रा गर्ने सवारी छैन, बस्ने होटल, शौचालय, सरकारी भवन कुनै पनि अपांगमैत्री छैनन्,’ न्यौपानेले भने, ‘बजेट विनियोजनदेखि हिँड्ने बाटोसम्म अपांगमैत्री हुनुपर्छ । अब त्यसको नेतृत्व प्रदेश ४ ले गर्नुपर्छ ।’

समग्र समाज, वर्ग, लिंग, जातजातिका कुरा गर्ने राजनीतिक दल र नेतृत्वले ३ देखि ५ प्रतिशत जनसंख्या रहेको अपांगताका विषयमा एक शब्द पनि सम्बोधन नगर्दा दु:ख लागेको बताउँछन् । ‘म कानुनको विद्यार्थी पनि भएकाले कानुनमै अपांगमैत्री समाजको निर्माण गर्न आवश्यक छ । त्यो कुरामा मुलुकका सबै प्रदेशलाई जिम्मेवार बनाइनुपर्छ । अपांगताका विविधताजस्तै उनीहरूका समस्यामा पनि विविधता छ । त्यो राज्यका हरेक निकायले बुझ्नुपर्‍यो,’ न्यौपानेले भने ।

अपांगताको क्षमताअनुसारको उद्यमशीलता र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने उनको तर्क छ । ‘अहिलेसम्म अपांगता भएकालाई दयाभावले हेर्ने शिवाय अरू केही हुनसकेको छैन । अब उनीहरूको क्षमता पनि राज्यले उपयोग गर्न सक्नुपर्छ । अपांगका परिवारको शैक्षिक, सामाजिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि राज्यले गर्नुपर्‍यो । बजेट पनि अपांगमैत्री हुनुपर्छ,’ न्यौपानेले भने ।

प्रकाशित : मंसिर ४, २०७४ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्