‘हुनु वा नहुनु’

मेरो कानमा तीनवटा शब्द पौडी खेल्दा कानमा छिरेको पानी जस्तै छिरे तर जति टाउको हल्लाए पनि निस्केनन् । होप (आशा), फ्युल (इन्धन), प्रोब्लम (समस्या) ।
नवराज पराजुली

म मर्नै बाँकी थियो तर पाकिस्तानमा मेरो लागि चिता बनिसकेको थियो । काठमाडौंबाट सीधै पाकिस्तानको हवाईजहाज नपाइने भएकाले मैले पाकिस्तानमा गएर मर्नका लागि, म पहिले दुबई पुगेर अनि फेरि पाकिस्तान जानु पर्नेथ्यो । बुढाबुढीले ‘मर्ने सजिलो बाटो हुन्न’ भन्थे, हो रहेछ !

‘हुनु वा नहुनु’

मैले पाकिस्तान पुग्नु थियो, त्यहाँ पुगेर मर्नु थियो, कात्रोमा बेरिनु थियो, चार जनाले ‘राम ! राम !’ भन्दै चिताको वरिपरि घुमाएर मलाई चितामा सुताइनु थियो । र, केही बेरपछि मैले चिताबाट जुरुक्क उठेर भन्नु थियो, ‘ह्याम्लेट, मेरो जाने बेला भइसक्यो !’
आफ्नो जीवनको पहिलो नाटक विदेशी भूमिमा गर्न पाउनु, त्यसमा पनि एक अन्तर्रास्ट्रिय नाटक महोत्सवमा । त्यो मेरा लागि रोमाञ्चक कुरा थियो तर दुबई पुग्नुअघि आकाशमा केही यस्तो भयो कि मैले मेरो जिन्दगीको आकाशका सबैभन्दा नजिकका ताराहरू कुन–कुन रहेछन् भन्ने थाहा पाएँ । दुबई पुग्ने अनुमानित समय बितेको पन्ध्र मिनेटपछि त्यो हवाईजहाजका ड्राइभर दाइले अंग्रेजीमा भने, ‘दुबईको खराब मौसमका कारण त्यहाँको विमानस्थलसँग हाम्रो स्पष्ट सम्पर्क हुन सकेको छैन र हामी अर्काे कुनै वैकल्पिक विमानस्थलसँग सम्पर्क गर्ने कोसिस गर्दैछौं ।’ यति सुन्दै मेरो मोजाले भित्रैबाट जुत्ता च्यातौंला झैं गर्न थालिसकेको थियो । त्यसको आधा घण्टा जहाजलाई नै रिंगटा लागुन्जेल आकाशमा घुमिसकेपछि तिनै ड्राइभर दाइले फेरि अंग्रेजीमा भने, ‘दुबईको खराब मौसमको कारणले त्यहाँको विमानस्थलसँग हाम्रो स्पष्ट सम्पर्क हुन सकेको छैन । र, हामी अर्को कुनै वैकल्पिक विमानस्थलसँग सम्पर्क गर्ने कोसिस गर्दैछौं ।’ र, थपे, ‘हामीलाई आशा छ कि अझै केही समय इन्धनको अभावले समस्या हुने छैन ।’ मेरो कानमा तीनवटा शब्द पौडी खेल्दा कानमा छिरेको पानी जस्तै छिरे तर जति टाउको हल्लाए पनि निस्केनन् । होप (आशा), फ्युल (इन्धन), प्रोब्लम (समस्या) । त्यो ड्राइभर दाइले ‘आशा’ शब्दको ठाउँमा ‘विस्वास’ भनेको भए म डराउँदिनथें होला । ‘सशांक रिडेम्प्सन’ फिल्ममा मुख्य पात्रले भन्छ, ‘आशा सुन्दर कुरा हो ।’ तर, मलाई ‘आशा’ सुन्दर लागेन । त्यही फिलिमको अर्को पात्रले भन्छ, ‘आशा खतरनाक कुरा हो ।’ मलाई होजस्तै लाग्यो । 
त्यसपछि पनि हवाईजहाजले आधा घण्टाभन्दा बढी आकाशको वरिपरि ‘रुमाल लुकाई’ खेल्यो । अब के हुन्छ केही अत्तोपत्तो भएन । हाम्रो नाटक ‘ह्याम्लेट’ का ह्याम्लेट (दिलीप रानाभाट) ले आफ्नो मरेका बाबुको कात्रोले घाँटी कसेर भन्छन्, ‘हुनु वा नहुनु, त्यही नै त हो प्रश्न ।’ मैले त्यो संवादको अर्थ दुई महिनाको रिहर्सलमा बुझेको थिइनँ तर त्यो आकाशमा बुझें । त्यसपछि हवाईजहाजमा घुमिरहँदा मलाई आकाशमा पनि खाल्टाहरू छन् जस्तै लाग्न थाल्यो । मेरो गुरु (नाटक र जीवन दुवैको) विमल सुवेदी भन्छन्, ‘नाटकका संवादले नाटकमा भन्दा बढी जीवनमा अर्थ राख्छन् ।’ मेरो पहिलो संवाद, ‘ह्याम्लेट, मेरो जाने बेला भइसक्यो !’ को अर्थ पनि त्यही आकाशमा खुल्यो । मलाई लाग्यो, हामीले जमिनमा रोपेका कत्ति शब्दका अर्थहरू माथि आकाशमा फलिरहेका हुँदारहेछन् ।
अर्को आधा घण्टा बित्यो तर हवाईजहाजले कुन विमानस्थलको ढाड पछाडि त्यो हाम्रो जीवनको रुमाल राख्ने हो भन्ने थाहापत्तो थिएन । थिएटर भिलेजको ‘लेटेस्ट पास आउट’ विद्यार्थी भएको नाताले खराबै भए पनि म नडराएको अभिनय गर्दै थिएँ । ‘हवाई यात्रा संसारकै सबैभन्दा कम जोखिमपूर्ण यात्रा हो’ भनेर विमल सरले ज्ञान दिएका थिए तर ‘राधा’ उपन्यासमा कृष्ण धरावासीले लेखेजस्तै ज्ञानले भावनालाई थिच्न नसक्दोरहेछ । मेरो भावनाले के भन्दै थियो भने हवाईजहाजको एउटै दुर्घटना मेरो जीवन सिध्याउन पर्याप्त थियो । ‘ह्याम्लेट’ नाटकको रिहर्सलमा धेरैचोटि मरेको थिएँ तर त्यसले मलाई एकचोटि मर्नका लागि तयार गरेको रहेनछ । मान्छेलाई जति नै लामो आयु दिए पनि ऊ मर्नका लागि पूरै तयार हुँदैन होला ।
हवाईजहाजका प्राय: यात्रु निदाएकाले गर्दा ड्राइभर दाइले भनेको डरलाग्दो कुरा प्राय:ले सुनेका थिएनन्, त्यसैले डराएका थिएनन् । मान्छे डराउनका लागि डरलाग्दो अवस्था भएर नहुने रहेछ, डर ‘थाहा हुनु’ पर्दाेरहेछ । 
‘यो जहाजलाई केही नहोस्, अर्थात् हामी जिउँदै रहुँ, मलाई योबाहेक केही चाहिएन’ भन्दै थिएँ म, मनमनै । तर, जहाज चढ्नुअघि त म के–के चाहन्थें, मलाई जिउँदो हुनुले मात्र पुगेको थिएन । जिउँदो हुनु त मेरो चाहनाको काउन्टडाउनको पुछारतिर कता थियो । मलाई त अरू नै केही हुनु थियो, अरू नै कोही हुनु थियो, अरू नै कसैसँग हुनु थियो । अन्तै कतै हुनु थियो । तर, हवाईजहाज आकाशका खाल्टाहरूमा उडेको बेला भने मलाई केबल ‘हुनु’ थियो ।
विमल सरले कुनै दिन हाम्रो कफी गफमा भनेका थिए, ‘हामीसँग दु:खका गनेर नसकिने कोठाहरू हुन्छन्, हामी एउटा दु:ख नसकिउन्जेल मात्र त्यो कोठामा बस्छौं, दु:ख सकिनेबित्तिकै दु:खको अर्को कोठामा डेरा सर्छौं, दु:ख सकिएको कोठामा बस्न हामीलाई मन पर्न छाड्छ ।’ मलाई त्यो जहाज दु:खको अन्तिम कोठा होजस्तो लाग्यो । 
अब त ड्राइभर दाइ पनि बोल्न छाडे । उसै तालिमप्राप्त कृत्रिम हाँसो हाँस्ने जहाजका एअर होस्टेस बहिनीहरूको हाँसो झन् कृत्रिम लाग्न थाल्यो । मलाई जान्न मन लाग्यो कि उनीहरू साँच्चै डराएका छैनन् या यिनीहरूले पनि आफ्नो देशको ‘थिएटर भिलेज’ बाट अभिनयको तालिम लिएका छन् !
निदाएका यात्रुहरू उठेर चल्मलाउन थाले, जसलाई थाहै छैन कि हाम्रो ‘ह्यामलेट’ को पहिलो र अन्तिम सो जहाजमै हुने डर भइसक्यो भनेर ! एकछिन आफैंलाई भुलाउन मैले सोचें, ‘यदि ह्याम्लेट जहाजमै देखाउने भए कस्तो हुन्थ्यो होला !’ 
दिलीप रानाभाट, ‘मर्नु भनेकै निदाउनु होइन ?’
विजय ताम्राकार, ‘प्रार्थना दुई चीजका लागि त गर्ने हो, हामीलाई पाप गर्नबाट बचाउन र गरेकोलाई क्षमा गर्न ।’
जेनी सुनुवार, ‘हामी के हौं हामीलाई थाहा छ तर हामी के हुनेछौं हामीलाई थाहा छैन ।’
रेनुका कार्की, ‘यदि स्वास प्राणले बनेको हुन्छ भने तिमीसँग कुरा गर्नका लागि मसँग अरू प्राण बाँकी छैन ।’
समुन्द्रराज घिमिरे, ‘सरकार, यसमा अलिकति विष अझै बाँकी छ, मलाई दिनुस् म पिउँछु ।’
श्रवण राना, ‘बिदा लिन पाए हुन्थ्यो सरकार ।’
साजन सुनुवार, ‘सरकारले मनको कुरा हामीलाई भने चिन्ताबाट मुक्त हुनुहुन्थ्यो कि ।’
रामप्रसाद बस्याल, ‘हजुर एकताका मलाई एकदमै माया गर्नुहुन्थ्यो ।’
दीपेश राई, ‘तिमीसँग अब आधा घण्टा समय पनि बाँकी छैन, ह्याम्लेट । संसारको कुनै पनि औषधिले तिमीलाई बचाउन सक्दैन ।’
रूपेश सुवेदी, ‘यो सब छोडिबक्स्योस् ।’
नवराज पराजुली, ‘कमजोर मानिसमा डर झन् गडेर बस्छ ।’
जहाजको उज्यालो बत्ती बल्यो । मलाई नाटक सक्किएर दर्शकतिरको बत्ती बलेजस्तो लाग्यो । तर, कसैले ताली बजाएन । बरु मेरो मनमा ढ्यांग्रो ‘रूपक’ तालमा बज्न थाल्यो । ड्राइभर दाइले बोले तर उफ्, ‘अबको चालीस मिनेटमा सायद हामी केही भन्न सक्छौं । तपाईंको धैर्यका लागि धन्यवाद ।’ जोखाना भन्नुअघि कामेको झाँक्रीले बजाए जसरी ढ्यांग्रो बज्न थाल्यो छातीमा । नाटकको क्लाइमेक्स बल्ल पो सुरु भयो । 
त्यसपछिको हरेक सेकेन्ड मलाई याद छ । मैले त्यो आकाशमा थाहा पाएँ, मेरो जिन्दगीको आकाशका सबैभन्दा नजिकका ताराहरू कुन–कुन रहेछन्, ‘भन्नुपर्ने कत्ति कुराहरू भन्नै नपाइने भो जस्तो लाग्यो । कसैसँग झूट बोलेकोमा माफी माग्नुथियो, कसैसँग साँचो बोलेकोमा । कसैलाई नभन्नुपर्ने भनेकोमा माफी माग्नु थियो, कसैलाई भन्नैपर्ने नभनेकोमा । कसैसँग म ऊजस्तो नभएकोमा माफी माग्नु थियो, कसैसँग ऊ आफूजस्तो नभएकोमा । कसैसँग आँट गरेकोमा माफी माग्नु थियो, कसैसँग डराएकोमा । जिन्दगीको सबैभन्दा बढी माया लागेको बेला मान्छे पछुतोले भरिएको हुँदोरहेछ ।
धेरै घुमिसकेपछि, हामी चढेको जहाजले दुबईको वर्षाले भिजेको विमानस्थलको ढाड पायो, हाम्रो जिन्दगीको रुमाल लुकाउन । दुबईमा ओर्लेपछि थाहा भयो कि धेरै देशको मौसम खराब रहेछ । काठमाडौंमा त झन् असिनापानी नै परेछ, चिसो नै बढ्ने गरी । चिसो सम्झिसक्दा मेरा हड्डी दु:खेजस्तै भयो, काठमाडौंका हड्डीहरूको माया लाग्यो । बाँचेको खुसियालीमा सबैले मोबाइल खोल्यौं । मोबाइल नै न्यानो हुनेगरी ताता म्यासेजहरू आएका रहेछन् । मोबाइल चलाइरहेका सबैको अनुहारमा म देखिरहेको थिएँ, घरबाट टाढा आएपछि घरबाट आएको सन्देश हेर्दाको रंग ! खुसीको रंग न्यानो हुँदोरहेछ, तातो कफीको जस्तो । दुबईको त्यो चिसो विमानस्थलमा हामी तिनै ताता म्यासेज ओढेर सुत्यौं । 
अझै पनि म मर्नै बाँकी थियो तर पाकिस्तानमा मेरो लागि चिता बनिसकेको थियो ।

प्रकाशित : चैत्र २६, २०७३ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?