बाबुआमा कसले पाल्ने ?

चेतन अधिकारी

छोरा बुहारी जागिरमा, छोरी ज्वाइँकोमा, नातिनातिना स्कुल कलेजमा, बाबुआमा घरमा । आम नेपालीको पारिवारिक स्थिति यस्तै छ अहिले । ५० वर्षअघि २७ वर्ष रहेको नेपालीको औसत आयु झन्डै तीन गुणा बढेर ७१ वर्ष पुगेको छ ।

बाबुआमा कसले पाल्ने ?

स्वास्थ्य सुविधामा पहुँच, घट्दो भोकमरी, हट्दो अन्धविश्वासले आम नेपालीको जिउने समय क्रमश: बढ्दै छ । छरछिमेकका घरहरूमा चार पुस्तासम्मका मानिस सजिलै पाउन सकिन्छ । पछिल्ला दिनमा पाँचपुस्ते परिवार पनि देखिन थालेका छन् । तर सबैलाई एउटै पिरलो छ बाबुआमा पाल्ने कसले ?

 व्यस्त र आधुनिक जीवनशैलीले छोराहरूले बाबुआमालाई समय दिन सकेका छैनन् । हिजो मानिस कृषिमा आश्रित थिए । दिनभरि खेतीको काम गर्थे । साँझ घरमा आउँथे, बाबुआमासँग गफगाफ गर्थे । बिहानसँगै खाना खान्थे । बूढा बाबुआमा नातिनातिना स्याहारेर दिन बिताउँथे । उनीहरूले कुनै पटयार र दिक्दारीको महसुस गर्दैनथे । तर समय बदलियो । परिवारको संरचना बदलियो । रोजगारीको प्रकृति बदलियो । मान्छेका चाहना बदलिए । हिजो हजुरबाबुदेखि नाति, पनातिसम्म एउटै चुल्होमा खाना खान्थे । एउटै छाप्रोमा ओत लाग्थे । संयुक्त परिवारको शैली थियो । अहिले क्याम्पस पढ्नका लागि डेरा बस्दादेखि बाबुआमासँग छुट्टिएका छोराछोरी फेरि बाबुआमासँग आएर बिरलै मिसिन्छन् । पढ्न सहरतिर छिरेका छोराहरू गाउँ नफर्किने सर्तमा सहर वा अर्को गाउँकी बुहारी भित्र्याउँछन् । उसैगरी गाउँ नजाने सर्त राखेर छोरीहरूले सहरतिरै ज्वाइँ खोज्छन् । यदाकदा गाउँ फर्किने परिस्थिति आए पनि सासुससुरासँग नबस्ने सर्त गराएर गाउँ फर्किन्छन् ।
१६ वर्ष पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि छोराहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान राहदानीको लाइनमा बस्छन् । राहदानीको फारम भरेपछि बाबुआमाको करकापमा बुहारी भित्र्याएर आफू वर्षौंका लागि विदेश भासिन्छन् । अहिले त कति छोरी–बुहारी पनि रोजगारीका लागि विदेश पुगेका छन् । वैदेशिक रोजगारीको ‘साइडइफेक्ट’ पनि समाजमा देखिन थालेको छ । त्यसले उनीहरूको जीवनमा नयाँ तनाव सिर्जना गरेको छ । आफ्नै तनाब व्यवस्थापनमा बाबुआमाको रेखदेख उसको प्राथमिकतामा पर्ने कुरै भएन । 
बाबुआमा कसले पाल्ने ? छोराहरूको विवाह भइसकेपछि नेपालीका घरघरमा उहिलेदेखि चलिआएका आहान हो यो । अनि समाजको चासोको विषय पनि । समयान्तरमा यो आहान भनौं वा प्रश्न अझ पेचिलो हुँदै गएको छ । उतिखेर धेरै भाइ छोरा हुने भएकाले बाबुआमा कोसँग बस्ने भनेर प्रशस्त विकल्प हुन्थे । फेरि प्राय:को बसाइ गाउँमै भएकाले बाबुआमालाई कुनै नयाँ समाज वा परिवेशमा समायोजन भइरहनु पर्दैन थियो । तल्लाघर माथ्ला घर, ओल्लो घर, पल्लो घर सबै पुरानै । छिमेकी र उही समुदाय । तर अहिले परिवेश बदलियो । एउटा वा दुइटा मात्र छोरा । अथवा एक वा दुईमात्र छोरी । समाज संस्कृतिअनुसार छोराले नै बाबुआमा पाल्नुपर्ने थिति । यसले समाजमा एकपछि अर्को समस्या र चुनौती थपिरहेको छ । अहिले औसतमा ७० वर्षभन्दा माथिको उमेर बाँच्छन् नेपाली । ६० वर्षदेखि अशक्त भएका वृद्धवृद्धाको दैनिकी क्रमश: टिठलाग्दो बन्दै छ । संयुक्त परिवार भए पनि हिजोजस्तो हजुरबाहजुरआमाले लोरी गाएर रुँदै गरेको नातिलाई खुसी पार्न सक्दैनन् । हजुरआमाहरूले कोक्रो हल्लाएर नातिनीलाई निदाउन सक्दैनन् । गर्भमै प्रविधिको सिको गरेर जन्मिएकाझैं गरी नातिनातिनालाई मोबाइल वा टयाबबाट गीत सुनाउनुपर्छ । फिल्म देखाउनुपर्छ । अनि मात्र खाना खान्छन् । अनि मात्र निदाउँछन् । लोरी गाएर हुर्किएको हुजरबाहजुरआमा पुस्ता र मोबाइलका गीत सुनेर हुर्किंदै गरेको नाति पुस्ताबीच ठूलो पुस्तान्तर छ । जसले गर्दा पनि हजुरबाहजुरआमाहरू नतिनातिनाका लागि अपरिहार्य बन्न छोडेका छन् । अलि अघिसम्म नातिनातिनालाई अक्षर चिनाउन, श्लोक भन्न र घरेलु हातेसीप जस्तै: डोरी, नाम्लो बाट्न, गुन्द्री बुन्न, हतेउरी बाट्न उनै हजुरबाहजुरआमाका सीप काम लाग्थे । तर अहिले स्मार्ट फोन टयाब, फेसबुक र युटयुब चलाउन हजुरबाहजुरआमाहरू निकम्मा भएका छन् । त्यस कारण पनि बाबुआमा कसले पाल्ने ? विज्ञहरू भन्छन्– हजुरबाहजुरआमासँग बसेका नानीहरूको बौद्धिक क्षमता एकल परिवारमा बसेका नातिनातिनाभन्दा बढ्ता हुन्छ । नातिनातिनासँग बसेका हजुरबाहजुरआमाहरूलाई पनि बिर्सने रोग (अल्जाइमर) न्यून हुन्छ ।
अनुसन्धानहरूले भन्छन्– ‘बुढेसकालमा आमाहरू छोराबुहारीभन्दा छोरीसँग बढी खुसी हुन्छन् ।’ आमा छोरीको सम्बन्ध साथीसाथी जस्तो हुन्छ । उनीहरू बुहारीलाई भन्दा छोरीलाई आफ्ना मनका बहदेखि खुसीका पलहरू बाँड्न पनि सकस मान्दैनन् । हाम्रो चालचलनले आमालाई सजिलै छोरीका घरमा गएर बस्ने अनुमति छैन । यसका लागि ज्वाइँ पनि तयार छैनन् । न त ज्वाइँ नै ससुरालीमा आएर सासुससुरा पाल्न तयार हुन्छन् । जसरी आमा–छोरीबीच साथीको सम्बन्ध हुन्छ, त्यसरी बाबुछोराबीच साथीको सम्बन्ध हुँदैन । ज्वाइँसँग त झन् हुने कुरै भएन । 
नेपाली संस्कृतिअनुसार घरमा पाहुना आउँदा प्राय: सबै खुसी हुन्छन् । तर हिजोआज घरघरका बूढाबूढी यसमा खुसी हुन सकेका छैनन् । हिँडडुल गर्न सक्ने उमेरका आफन्तहरू मात्र पाहुना बनेर आउँछन् । पाहुना आएका दिन परिवारका अन्य सदस्य उनीहरूसँग खुसी बाँड्छन् । बूढाबूढी एक्लिन्छन् । उनीहरूलाई बोलाइदिने वा उनीहरूसँग कुराकानी गर्ने मान्छेको अभाव हुन्छ । युवा आफन्तहरू बूढाबूढीबाट टाढिन चाहन्छन् यसको विपरीत बूढाबूढी सधैं कुरा गरिरहन, आफ्ना अनुभव भन्न र अरूका सुन्न बालबालिका जतिकै आँतुर रहन्छन् । जब उनीहरूले बोल्ने साथी पाउँदैनन् वा आफूलाई बेवास्ता भएको महसुस गर्छन् तब उनीहरूले निराशा र आफू विभेदमा परेको महसुस गर्छन् । बूढाबूढी समूहमा बस्न, अरूले बोलेको सुन्न र आफ्ना कुरा सुनाउन कति लालायीत हुन्छन् भन्ने कुराको एउटा रमाइलो उदाहरण छ । संसारको सबभन्दा बढी आयु भएको देश– जापान । त्यहाँका मान्छे औसत ८७ वर्ष बाँच्छन् । नेपालभन्दा सयौं गुणा आधुनिक र व्यस्त यस देशमा बूढाबूढीलाई घरमा छोडेर वयस्कहरू दैनिक काममा जानु त्यहाँको बाध्यता हो । तर बूढाबूढीको समूहमा बस्ने यति जबरजस्त चाहना हुँदो रहेछ कि उनीहरू जहाँ मान्छेको समूह छ त्यही गएर बस्ने उपयुक्त थलोको रूपमा जेललाई लिँदा रहेछन् । यसका लागि डिर्पाटमेन्ट स्टोरमा गएर सामानहरू चोर्ने वा सार्वजनिक स्थलमा गएर कुनै उपद्रो गर्न बूढाबूढीहरू उद्धत हुन्छन् । यस्तो उपद्रो गरेबापत् प्रहरीले उनीहरूलाई समाएर जेलमा लान्छ । जेलमा थुप्रै मानिस स्थिर भएर बसेका हुन्छन् । विभिन्न अभियोगमा जेलमा बसेका बन्दीहरूलाई बूढाबूढीले आफ्ना कुरा सेयर गर्ने उपयुक्त पात्र ठान्छन् । समूहमा बस्न पाउनु र आफ्ना कुरा सेयर गर्न पाउँदा आफूले पाउने कानुनी सजाय उनीहरूले गौण ठान्छन् ।
बाबुआमा कसले पाल्ने त ? बहस सकिएको छैन । बाबुआमा पाल्नका लागि हाम्रो समाज र संस्कारले विगतदेखि नै केही न केही प्रबन्ध गरेको छ । जस्तै दाजुभाइबीच पुस्तौनी सम्पत्तिको अंश गर्दा बाबुआमा पाल्नका लागि ‘जिउनी’ राख्ने चलन छ । जसले बाबुआमा पाल्छ उसले बाबुआमाको मृत्युपछि उक्त जिउनीको अधिकार पाउँछ । विकसित देशले यस प्रकारको सम्पत्तिलाई ट्रस्ट भन्छन् । नेपालमा पनि बुढयौलीको सुरक्षाका लागि ट्रस्टको अवधारणा आइरहेको छ । विकसित देशमा बाबुआमा पाल्न राज्यले खास प्रावधान राखेको छ । केही वर्षअघिसम्म जापानमा बाबुआमालाई जेठो छोराले पाल्नै पर्ने कानुन थियो । यो प्रावधानले जेठा छोराहरू आफूले फुक्का जीवन जिउन नपाएको भन्दै विरोध गरेपछि त्यहाँको सरकारले यो प्रावधान हटायो । अहिले त्यहाँका वृद्धवृद्धाहरूको सन्तानले बिमा गरिदिन्छन् । उनीहरूलाई पाल्ने जिम्मा बिमा कम्पनीले लिएका हुन्छन् । दु:खको कुरा, जसका छोराछोरीले बाबुआमाको बिमा गरिदिएका हुँदैनन् उनीहरू सडकमा अलपत्र अवस्थामा छन् । जापानलाई ‘सुपर एजिङ सोसाइटी’ को देश भनिन्छ । छोराछोरीले नपालेका कारण यहाँका बाबुआमाको आत्महत्याको दर उच्च छ ।
नेपालमा बाबुआमा पाल्ने विषय राज्यका नीतिदेखि घरघरमा बहसको विषय बनेको छ । २०६८ सालको जनगणनाअनुसार नेपालमा अहिले ३० लाख वृद्धवृद्धा बाबुआमा छन् । उनीहरूको दैनिकीलाई सहज बनाउन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमाको खातामा राख्नै पर्ने प्रस्ताव ल्याएको छ । यसैगरी, बाबुआमाले आफ्नो सम्पत्तिको २५ प्रतिशत आफू छउन्जेल आफैंसँग राख्नुपर्ने नियम पनि प्रस्ताव गरेको छ । सरकारले वृद्धभत्ताका नाममा दिएको मासिक २ हजार रुपैयाँले गाउँतिरका बाबुआमालाई केही राहत दिएको छ । यो समाधान होइन । केही वर्षभित्रै हाम्रो देशमा दुई/तीन पुस्ता बाबुआमा हुन्छन् । नेपालीको बढेको औसत आयुले यही कुराको संकेत गरेको छ । ९० वर्षभन्दा माथिका हजुरबाहजुरआमा ७० वर्ष आसपासका बाबुआमा पाल्नुपर्ने तेस्रो पुस्ताको नियति हुनेछ । त्यसो भए अब बाबुआमा कसले पाल्ने त ? हामीकहाँ अहिले बाआमा पाल्नका लागि वृद्धाश्रमको चर्चा भइरहेको छ । केही ठाउँमा स्थापना पनि गरिएका छन् वृद्धाश्रम । ज्येष्ठ नागरिकविज्ञहरू यसलाई बाबुआमा पाल्ने उपयुक्त माध्यम मान्दैनन् । वृद्धाश्रम शब्दको अर्थ नै नकारात्मक छ । यसलाई अक्सर सन्तान नहुने वृद्धवृद्धाहरूले आश्रय लिने ठाउँको रूपमा बुझिन्छ । अथवा घरबाट गलहत्याइएका बूढाबूढीले आफ्नो उत्तराद्र्धको जीवन कष्टपूर्ण बाँच्ने ठाउँको रूपमा चिनिन्छ । अक्सर वृद्धाश्रम घरभन्दा टाढा हुन्छन् । जुन बूढाबूढीका लागि झन् कष्टकर हुन्छन् । त्यसैले भरसक छोराछोरीले नै बाबुआमा पाल्नुपर्छ । फागुन अन्तिम साता ज्येष्ठ नागरिकसँगको भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाबुआमा पाल्ने वा उनीहरूको सामाजिक सुरक्षाको विषयमा एउटा गम्भीर प्रश्न उठाएकी छन् । ‘हजुरबाबुले अंश दिएनन् भनेर नातिले अदालतमा मुद्दा हाल्न सक्छन् भने नातिले हजुरबाहजुरआमालाई पालेन वा हेरचाह गरेन भने किन अदालतमा मुद्दा नलाग्ने ?’ उनको प्रश्न थियो ।
 बाआमालाई सामूहिक रूपमा पाल्नका लागि ज्येष्ठ नागरिक स्याहार केन्द्र खोल्न पनि सकिन्छ । यस्ता केन्द्र समुदायभित्रै सञ्चालन गर्नुपर्छ । समुदायमै स्याहार केन्द्र भएमा उनीहरूले बिरानो र नौलो महसुस गर्नु पर्दैन । सबै आफ्नै गाउँ छिमेककै साथीसंगीसँग उनीहरूले रमाइलो महसुस गर्न सक्छन् । ज्येष्ठ नागरिकविज्ञ डा. होमनाथ चालिसे भन्छन्, ‘बाबुआमा भरसक घरमै राख्ने नभए घरनजिकै समुदायमा खोलिएका ज्येष्ठ स्याहार केन्द्रमा राख्ने ताकि उनीहरूले बिरानो महसुस नगरून् । तर यस्ता केन्द्रमा राखिएका बाबुआमाको स्याहार चाकर खर्च आफ्नै सन्तानलाई व्यहोराउनु उपयुक्त हुन्छ ।’
बाबुआमालाई सन्तानले नै पाल्नुपर्ने पहिलो मागसहित ज्येष्ठ नागरिकहरू लामो समयदेखि आन्दोलित छन् । ‘घरबाहिर बाबुआमा कल्पना गर्नै नसकिने कुरा’ उनीहरूको तर्क छ । छोराबुहारी, नातिनातिना सबै जागिर वा व्यवसायमा छन् भने बाबुआमाको स्याहार चाकरका लागि घरेलु श्रमिकको व्यवस्था गरिदिनुपर्ने उनीहरूको माग छ । यसका लागि ज्येष्ठ नागरिकहरू इजरायलको उदाहरण देखाउँछन् । जहाँ कुनै बेला प्यालेस्टाइनीसँगको युद्धका कारण बम र बारुदले शारीरिक र मानसिक रूपले रुग्णता व्यहोरिरहेका बाबुआमाका लागि नेपालजस्ता देशबाट ‘केयर टेकर’ हरू आपूर्ति गरिएको छ । केयर टेकरको खर्चको एक हिस्सा बिमा कम्पनी र अर्को हिस्सा उनकै छोराछोरीले व्योहोर्ने गरेका छन् । बाबुआमा पाल्न वृद्धाश्रमलाई प्राथमिकतामा राख्न नहुने ज्येष्ठ नागरिक महासंघका महासचिव छत्र प्रधान बताउँछन् । यसले घरभित्र सानो मनमुटाव भयो भने पनि छोराले बाबुलाई वृद्धाश्रममा लगेर राखिदिने खतरा बढ्ने प्रधानको कथन छ । ‘बाबुआमा पाल्ने’ भन्ने वाक्यांशलाई संशोधन गर्नुपर्ने प्रधानको धारणा छ । बाबुआमालाई पाल्ने होइन ‘बाबुआमासँग हामी बसेका छौं’ भन्ने वाक्यांशले बाबुआमाको आत्मसम्मान उचो बनाउने उनको तर्क छ । नेपालीको बढ्दो औसत आयुले वृद्धावस्थाको बहस बढिहरेको तर राज्यका नीतिनियम फेरबदल हुन नसकेकाले पनि बाबुआमा पाल्ने विषय सबैका लागि टाउको दुखाइ भएको छ । प्रधान भन्छन्– ‘राज्यले छोराछोरीलाई बाबुआमाप्रति उत्तरदायी हुने कानुन बनाउनै पर्छ । वृद्धावस्थामा बाबुआमाले घरभित्रै संरक्षण पाउनुपर्छ । सन्तान नहुनेहरूलाई वृद्धाश्रममा राख्न सकिन्छ । त्यसका लागि राज्यले सबै प्रबन्ध गरिदिनुपर्छ । यति भए बाबुआमा कसले पाल्ने भन्ने बहस नै समाप्त हुन्छ ।’

प्रकाशित : चैत्र १९, २०७३ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?