इजोरिया

छाती पिट्दै रमधनियाँ काकी आँगन पसिन् । अन्तिम वाक्य पूरा नसुन्दै इजोरियाको आँखा वरिपरि अन्धकार छायो । एकछिनमै गाउँ नै स्तब्ध बन्यो।
मञ्चला झा

धत् बदमास ! सिरानीमा झुन्डिएको ऐना हेर्नेबित्तिकै उनको मुखबाट फुत्केको थियो यो आवाज, मदमस्त निदाइरहेका अल्लारे पतिको गाला चिमोट्दै उनी एक्लै बर्बराइन्, अरूले देखे भने के भन्ला हँ ? लाज पनि लाग्दैन !

गौना भएर ८ महिनाअघि घर भित्रिएकी इजोरियाको गर्धनमा प्रथम मिलनको रातमा पनि यस्तै चुम्बनको दाग बसेको थियो । कम्ता जिस्काएका थिएनन् नन्दहरूले । लाजले त्यसबखत भुतुक्क भएकी थिइन् उनी । बाहिर वसन्त ऋतुको मन्दमन्द बयारसित बारीमा फुलेको चमेलीको सुवास उनको सानो कोठालाई नै मग्मगाएको थियो । कोइलीको कुहुकुहु मन चोर्ने मीठो वसन्ती गायनले ब्युँझाएको थियो त्यो बिहान उनलाई । शरीर अलिक थकित तर मन प्रफुल्लित थियो उनको । मनको प्रसन्नताले शरीरको थकानलाई पनि दूर गर्दो रहेछ । आखिर थकान पनि त परिस्थितिजन्य कारणमाथि निर्भर हुने हो । प्रेमालाप र त्यसपछिको संसर्गको त्यो रातले इजोरियालाई अझै कुत्कुत्याएको थियो । राति अबेरसम्म चन्द्र फागु गीतमा झुम्मिएकाले सुत्न अलिक ढिला फर्केका थिए, त्यो रात । मधेसमा फागुको रौनक नै बेग्लै । एक साता दस दिन अघिदेखि नै फागु गाउने चलन भएकाले दलानभरि होरी गाउनेहरूका साथ झुम्मिएका थिए चन्द्र पनि । महाराजाके द्वार मच्चैया होरीको धुनमा अह्लादित पतिको त्यो मुद्रालाई कोठाको स्यानो खिड्कीबाट लुकी–लुकी चियाइरहेकी इजोरियाको मन आनन्दातिरेकमा बगिरहेको थियो । चन्द्रले कम्ता माया गरेका थिएनन् त्यो रात इजोरियालाई ।

पूर्वी क्षितिजमा उदयाञ्चल उषाकालीन भाष्करको लालीमाझैँ यत्रतत्र मागभरि फैलिएको सिन्दुरलाई नवविवाहित इजोरियाले आँचलको खुँटले मिलाउँदै गर्दा उनको दृष्टि भित्तामा झुन्डयाएको घडीमाथि टक्क अडियो । आमाले दाइजोमा दिनुभाको त्यो घडीमा बिहानको ६ बज्न लागेछ । सधैं बिहान पाँच बजेसम्म उठिसक्ने इजोरियालाई आज उठ्न निकै ढिलो भएछ । ला ! आज त सासूआमाको गाली खाने भइयो । अहँ, तर यसमा मेरो के गल्ती ? सबै उनको छोराले गर्दा त हो नि ! भर्खर सत्र वसन्त पार गरेकी इजोरियाको बालापनले तत्कालै जवाफ फर्कायो । हत्त न पत्त साडी मिलाउँदै उनी सुटुक्क कोठाको ओसारामा निस्किन् । धन्य कोही उठेको रहेनछ । सबलाई बिहानीको वसन्ती पवनले मत्याएछ सायद । आमाले बालक बेलादेखि नै सासू, ससुरा, जेठानीले अह्राएको काम गर्नु एक वचन नफर्काउनुको सिखलाई माइतीबाट विरासतमा ल्याएकी छे इजोरियाले ! सायद, त्यसैले होला आठ महिना भो गौना भएको सबैको प्यारी छिन् उनी । सधैंझैँ आज पनि उनी कर्तव्यपरायण बुहारीको भूमिका निर्वाह गर्दै चुलो लिपपोत गरिन्, रातिको जुठो भाडाको रास माझिन् र भैँसीको बाक्लो दूधको चिया बसालिन् । बिहानीको चिया खाइसकेपछि मात्र जेठानीले पनि उनलाई भान्छामा सघाउँछिन् । सबैको खुसीका लागि मैले यति गरदिँदा के नै बिग्रिन्छ र ? घरमा स–साना कुराले कलह गर्नुभन्दा सके जति गरदिँदा नै वेश । गत वर्ष मात्र कक्षा दस पास गरेकी इजोरियालाई राम्ररी थाहा छ, शान्तिमै सुख र आनन्द छ भनेर । पढ्ने मन त अरू थियो उनको तर बीचमा बिहे भएरै रोकियो । चन्द्रले त उनलाई जति पढ्न मन छ, पढाइ खर्च म बेहोर्छु भनेकै छ । विवाहअघि मात्र वैदेशिक रोजगारबाट फर्केको चन्द्रलाई पनि लोक सेवा परीक्षाको तयारी गर्ने सुर छ, त्यस बेला सँगै पढ्ने सोच बनाएकी छन् इजोरियाले पनि ।
काँचको ठूलो गिलासमा चिया लिएर इजोरिया सासूको अगाडि राख्न नपाउँदै सासूले गोडा जोडिहालिन् घुम्टोले छोपिएको माथ गोडामा राखेर आशीर्वाद थाप्नु बिहानको नित्यकर्म नै थियो उनको । घर खान पठाउनअघि हजुरआमाले पढाएको पाठ सबै कण्ठ छ उनलाई । बिहानको सात बज्न लागेछ चन्द्र अझै उठेको चाल नपाएपछि उनी चियाको अर्को गिलास लिएर आफ्नो कोठातिर लागिन् । एउटा गोडा सिरकमाथि र अर्को सिरकभित्र राखेर गधा बेची निदाएझैँ मस्त निदाएको रहेछ यतिखेरसम्म चन्द्र । केही महिनाअघि मात्र वैदेशिक रोजगारबाट फर्केका पतिलाई यसरी निदाएको देख्दा इजोरिया एक छिन गम्भीर भएर सोच्न थाल्छे, कहाँ सुत्न पाइन्छ र यसरी ? मेसिनझैँ अहोरात्र खटिनुपर्ने, कहाँ छ र सजिलो विदेश गएर पैसा कमाउनु ! मेचमा राखेको चिया सेलाउन लाग्यो, यतिका घाम झुल्किसकेको छ अझै चन्द्र उठ्ने सुर नदेखेपछि उनले बिस्तारै उनको जीउ हल्लाइन् तर ऊ त अझै कोल्टो पो फेरेछ । बिस्तारै चन्द्रको माथ सहलाउँदै हातभरिको चुरालाई नियाल्दै मख्ख परिन् इजोरिया । हिजो मात्रै हटियाबाट वसन्त ऋतुको उपहारस्वरूप पहेलो र रातो चुरा ल्याइदिएका थिए चन्द्रले । गोरो नाडीमा कम्ता सुहाएको थिएन ती नारंगी रंगीन चुराहरू । बाबाले यत्तिकै उनको नाम राखेका होइनन् इजोरिया । (शुक्लपक्ष) इजोरियामा जन्मेकी कारी बरैको पूरै खानदानमा नै उनी सबभन्दा उज्याली ! एक त १८ वर्षअघिको मधेसी समाज र त्यसमा पनि जेठी छोरीपछिकी अर्की छोरी, जन्मेको सुनेर कम्ता रुवावासी गरेकी थिइनन् उनकी हजुरआमा । यसपालि त वंश चलाउने नाति होला भन्ने ठूलो आस थियो उनको । तर न्वारनको रात बुहारीले काँखमा राखिदएपछि इजोरियाको सौन्दर्य देखेर खित्का छाडी हाँसेकी थिइन् बुढीमाउ पनि । इजोरियालाई थाहा थियो चन्द्रलाई चुराको झंकार साह्रै मन पर्छ, दुवै हात उनको काननेरि लगेर चुरा बजाउन थालेपछि मात्र उठेको थियो त्यो बिहान ऊ । जुरुक्क उठेर बेस्सरी आलिंगनमा कँस्दै उनको माथलाई चुमेका थिए चन्द्रले, समरभूमिमा होमिनुअघि योद्धाले चुमेको जस्तो थियो त्यो मायाको चुम्बन !
साँझ करिब ५ बज्दो हो, चन्द्र पानपसलतिर लाग्यो । वैदेशिक रोजगारबाट ल्याएको थोर बहुत कमाइले ऊ चोकमा एउटा सानोतिनो पानपसल थापेको छ, जसमा बाउ–छोरा पालैपालो बस्ने गर्छ । साँझ पाँच बजे इजोरिया पनि फुर्सतमै भइन् । झन् चन्द्र पनि पसलतिर लागेपछि इजोरियालाई साथी कोही भएन । सासू र जेठानीसित धेरै बोल्ने धक अझै खुलेको छैन उनको । एक्लो के गरूँ के न गरूँजस्तो भयो उनलाई । त्यसैले उनी पूवारी खिड्कीबाट बाहिर नियाल्न थालिन् । टाढा–टाढासम्म फैलिएको गहुँ खेतपारि ठूलो मञ्च बनाइएको थियो । एकपछि अर्को नेता भाषण गर्दै जाँदा हजारौँको संख्याले एकैचोटि बजाएको तालीको गडगडाहट र अर्कोतिर जय मधेसको गगनभेदी गुन्जायमान स्वरले त्यो साँझ पूरै गाउँलाई नै तानेको थियो । सायद त्यसैले होला बालकदेखि वृद्धसम्म घर–घरबाट निस्केर त्यो साँझको दृश्य अवलोकनमा लीन देखिन्थे । हजारौँको संख्यामा तैनाथ प्रहरीको घेरा पार गर्न खोज्ने आक्रोशित पक्षलाई प्रहरीले डन्डा लिएर लखेटेको दृश्य टाढाबाट पनि स्पष्ट देखिन्थ्यो ।
पोहोर मधेसमा लाखौँको संख्यामा शान्तिपूर्ण मानव साङ्लोमा साथ दिन इजोरिया पनि नगएकी होइनन् । साहै्र मन परेको थियो उनलाई त्यो शान्तिपूर्ण विरोधको स्वरूप । तर भोलिपल्टको समाचारपत्रमा मानव साङ्लोलाई झिँगा–साङ्लो भनेर मानव जातिको नै खिल्ली उडाउने एक जना ठूला पार्टीका नेताको व्यंग्यपूर्ण अभिव्यक्तिले निकै चित्त दुखाएको थियो उनको । अझै त्यही पार्टीका एक जना नेताले त मधेसलाई धोती प्रदेश नै भन्न भ्याएछन् । के हो यो धोती–टोपीको लडाइँ ? एउटै देशको परिधिभित्र बसेका हामी सबै नेपाली नै होइन र ? यो देश भनेको हाम्रो पनि हैन र ? हामी सबैको रगतको रंग उही रातो, छालाको रंग गोरो र कालो भएर कसैलाई राष्ट्रवादी र कसैलाई अराष्ट्रवादी भन्न मिल्छ ? कति सस्तो परिभाषा बनाइएको छ, यो राष्ट्रियताजस्तो गहन शब्दावलीको, जसलाई जसरी मन लाग्यो आफ्नै अनुकूल व्याख्या गर्न खोज्ने । राष्ट्रियताको भावना त मान्छेको अन्तरमनबाट उत्पन्न हुने हो, व्यवहारबाट झल्किने तत्त्व हो राष्ट्रियता ! आफ्नो मुलुकको शक्तिबोध र सौन्दर्यबोधको ज्ञान हुनु हो राष्ट्रियता । अन्तर्राष्ट्रिय समुदायमा नेपालको चर्चा गर्दा मधेसबिनाको नेपाल भन्न मिल्छ ? अनि मधेसीहरूले पटक–पटक आफ्नै देशमा म नेपाली हूँ भनेर परिचय दिनुपर्ने कस्तो विडम्बना ? एउटै देशभित्र विभिन्न जातजाति, भाषाभाषी, संस्कति, वेशभूषाको बाहुल्य भएको विविधतामा एकताको देश हो नेपाल । हामी दसैँ, तिहार, छठ, होली सधैं सँगै मनायौँ । आज आएर यो पहाडी–मधेसी किन ? होलीमा पोखरेल काकाले मेरी आमालाई भाउजू भन्दै रंग अबिर खेल्नुहुन्छ । मेरी आमाको हातको मालपुवा र पोखरेल काकीको सेलरोटी सधैं एकसाथ बाँडेर नै खायौँ हामी तर आज हामीबीच यो लडाउने भिडाउने काम किन ? मधेसका जनताको भावनालाई उहिले नै बुझिदिएको भए, आज मधेसको नाममा राजनीति खेती गर्ने च्याउसरी न त यति पार्टी हुन्थे न त विखण्डवादी तत्त्वहरू नै सल्बलाउने थिए । तर, आफूलाई राष्ट्रवादी र आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी भन्नेहरूले सधैं मधेसीमाथि शंका मात्र गरिरहे ।
मधेस सबैलाई चाहिने तर मधेसीले अधिकारको कुरा गर्दा ऊ भारतीय हुने ? हो, हाम्रो भूगोल दक्षिणी सीमावर्ती क्षेत्रसित जोडिएको छ, अनुहार–व्यवहार मिल्छ तर यसको अर्थ हामी हाम्रो देशलाई नै भारतसित मिलाउन खोजेका छौँ भन्ने आशंका हामीमाथि किन ? याद छ इजोरियालाई गत साउनको तिलाठी बाँध प्रकरणमा लाठी खाएर भए पनि प्रतिकारमा उत्रेका हाम्रै नेपाली बाबा पुर्खा होइन ? अझै सीमा सुरक्षाका लागि हामी ज्यान फाल्न तयार छौँ । तर हाम्रो राष्ट्रियतामाथि आशंका किन ? बेपत्ता प्रश्नहरूको भुइँचालो उठेको छ, आज इजोरियाको मन मस्तिष्कभित्र ।
२०६३ को माघे मधेस आन्दोलनमा आठ वर्षकी फुच्ची बालिका थिएन उनी । बाबा माघको कठ्यांग्रिने जाडोको परवाहसमेत नगरी नांगै खुट्टा मैदानमा दौडिनुहुन्थ्यो र इजोरिया बाबालाई पछ्याउँदै । आज पनि बाबा नांगै खुट्टा हिँड्नुपर्‍या छ एक जोर जुत्ता र लुगाका लागि हामीजस्ता गरिबलाई दसैँ–तिहार नै कुर्नुपर्ने । भाइ बोर्डिङ स्कुलमा पढ्ने मन गरे पनि सरकारीमै पढाउनुपर्ने आर्थिक विवशता । तर मधेसका नाममा राजनीति गर्नेहरू काठमाडौंमा घर–बंगला, गाडी नहुने सायद विरलै नेता छन् । आफू काठमाडौं बसेर चिया–कफी तताउने र हामीलाई मधेस तताउन लगाउने ? विगत दस वर्षको अन्तरालमा पटक–पटक सत्ताका स्वाद चाखेका मधेसी नेताहरूले के विकास गरे मधेसमा ? बर्सेनि करोडौंको बजेट आउँछ, किन मधेसमा बाटोघाटो उस्तै ? विगत १० वर्षको अन्तरालमा लाखौँ युवा बिदेसिने गरेका छन् । जिउँदोको सहाराको त के कुरा मर्दाको मलामी जाने पनि युवाहरूलाई औँलाले गनेर बोलाउनुपर्ने अवस्था छ यहाँ, जे जति बाँकी छन् ती पनि साँझ–बिहान चोकमा जम्मा भएर राजनीतिक गफ चुट्नुबाहेक केही काम छैन तिनको । मुलुकको सबभन्दा बढी रेमिटयान्सको हिस्सा बनेका मधेसी युवाहरूका लागि खै त रोजगारी र व्यवसायका व्यवस्थापन र चिन्तन ? समतल भूमि र प्रशस्त विकासको सम्भावना बोकेको मधेसको विकासका लागि किन मधेसका नेताहरू आन्दोलन गर्दैनन् ? विरक्त लाग्छ इजोरियालई यस्तो राजनीतिक गतिविधि देखेर ।
साँझको करिब साढे पाँच बजेतिर होला परबाट धाँय धाँयको लगातार चार/पाँचपटक आवाज सुनिन् इजोरियाले, धूवाँको एक मुस्लो गोधूलि साँझलाई अझै धमिल्याएको थियो त्यो बेलुकीपखलाई । चारैतिर भीड तितरबितर हुँदै भागाभाग हुन थाल्यो बचाउ–बचाउको गुहार सर्वत्र सुनिन थाल्यो । इजोरियाको मुटुको धड्कन केही अनिष्टको आशंकाले अचानक तीव्र हुन लाग्यो । मनमनै गुहार्न लागिन् देवी–देवतालाई इजोरियाले । हे भगवान् ! रक्षा गर्नु सबैलाई । कत्तै केही भएको त हैन, नत्र यो भागाभाग किन ? कहीँ कत्तै कुनै अनिष्ट हुँदा मान्छे सर्वप्रथम आफ्नो आफन्तलाई नै सम्झन्छ यो मानवीय प्रवृति र स्वभाव हो । आधी घण्टाअघि मात्र इजोरियासित छुटेका चन्द्रको चिन्ताले उनलाई बग्रेल्ती सताउन थाल्यो । बरु, आज पसल नगए नि हुन्थ्यो ! पसल पुग्यो कि बाटैमा होला ऊ ? कति सम्झाएँ आज पसल नजाऊ भनेर तर लक्का जवान घर बसेर मात्र के गरून् ? सबलाई थाहा थियो आज झडपको सम्भावना छ, अनि किन त्यो ठूलो पार्टीले कार्यक्रम गर्ने हठ गरेको होला ? त्यो पनि हाम्रै गाउँमा !
माय गे माय जुलुम भगेलौ चनरवा नै रहलौ अहि संसारमे । छाती पिट्दै रमधनियाँ काकी आँगन पसिन् । अन्तिम वाक्य पूरा नसुन्दै इजोरियाको आँखा वरिपरि अन्धकार छायो । एक छिनमै गाउँ स्तब्ध भयो । यस्तो डर, त्रास र सन्नाटा कहिले छाएको थिएन त्यो गाउँमा । भोलिपल्टको मन्त्रिपरिषद्को निर्णयले चन्द्रसहित अनाहकमा प्रहरीको गोलीका सिकार भएका निर्दोषहरूको मृत्युको मूल्य दस–दस लाख तोकेको खबर रेडियोले फुक्यो, अखबारका पानाहरूमा छापिए । इजोरिया र उनको परिवारलाई सहानुभूति दिन मानव अधिकारकर्मी, नागिरक समाज सरकारी गैरसरकारी संघसंस्थाका पदाधिकारी, अधिकारकर्मीहरूको ओइरो लाग्न थालेको छ आजभोलि । सबले मोटा–मोटा प्रतिवेदन बनाउनेछन् तर किन ? सबलाई थाहा छ ।
यतिखेर एकअर्कालाई हेर्नै नसक्ने गरी कटाक्ष र तीक्ष्ण व्यंग्य प्रहार गरिरहहेका राजनीतिक दलहरू भोलि सत्ताको अंकगणितीय खेलमा एक ठाउँ आउन बेर छैन, किनकि राजनीतिमा न त कोही कसैको चिरकालीन शत्रु हुन्छ न त मित्र नै । यो राजनीतिको खेल नै यस्तै हो । तर बिचरी इजोरियाको मनभित्र खेलिरहेका हजारौँ भावनाका खेलहरूलाई कसले बुझ्ने होला ? इजोरिया फेरि चम्किन त चन्द्र नै चाहिन्छ । हैन र ?

प्रकाशित : चैत्र १९, २०७३ ०९:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एउटाको खुसीमा अर्काको जिन्दगी

सानै उमेरमा हुने बिहेले एकातिर पढाइ अवरुद्ध हुन्छ, अर्कोतिर कलिलैमा बच्चा जन्माउनाले आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन्छ । महिलाको स्वास्थ्य बिग्रने, कमै उमेरमा शरीर अशक्त हुने, बूढी देखिने जस्ता समस्याले पारिवारमा मनोमालिन्य निम्त्याएको छ ।
सम्झना वाग्ले भट्टराई

उमेर १५ वर्ष । ९ कक्षमा पढ्दै थिएँ । उमेरजन्य अनुभूति थिए होलान् तर बिहेको बारेमा सोचेकै थिइन् । आमाले भन्नुभो बिहेको कुरो । मेरो बिहेको लागि किन त्यस्तो हतार भा’को तपाईंहरूलाई ? आमासँग च्याठिएँ । जा तेरै बासँग सोध् । आमा सहजै पन्छिनुभो । अहिले त बड्डासँग खासै कुरो गर्दिनँ, त्यतिखेर त बोल्ने आँटै आउँथेन । आफूलाई थाम्नै सकिनँ, रोएँ, रोइरहें । कसैले चासो दिएन र पछि आफैं रोकिएँ ।

बजार (सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर) बाट झन्डै ४ घण्टाको पैदल दूरीमा पथ्र्यो मेरो घर (माइतीघर), अहिले त मोटरबाटो घरसम्मै जान्छ । त्यतिखेर बजारबाट माग्न आएका भनेपछि के चाहियो र ? त्यही पनि वीरेन्द्रनगरमा पक्की घर । केटाका बड्डा सरकारी जागिरे ।
बड्डाको मनले खाएपछि अरू के चाहिन्थ्यो र (?) बिहे भैहाल्यो ।
त्यो बेला त के बुझें र ? उसको लगातारको झम्टाइ, सहनै सक्थिनँ । दिन त जेनतेन बित्थ्यो, रात बित्न जुग लाग्थ्यो । के बिहे भनेको यही हो ? बिहेको कुरा चल्दा भन्दा बिहेपछि धेरै रोएँ । बेहिसाब पीडा सहेँ । कसलाई भन्नु ? कसरी भन्नु ? लोग्ने–स्वास्नीबीचको कुरो ।
उसको ‘त्यो’ बिरामी रहेछ । बिहे गरेपछि ठीक हुन्छ कि भनेर बिहे गर्दिएका रे , त्यत्रो सरकारी जागिर खाएका, त्यति धेरै पढेलेखेका हाम्रा बड्डाले, छोराको स्वास्थ्य ठीक हुन्छ भनेर, आफ्नो खुसीको लागि मेरा सारा खुसी खोसे । एक कक्षादेखि फस्ट सेकेन्ड हुँदै आएकी मैले ९ कक्षाको जाँचै दिन पाइन । ऊ बिरामी, उसले नि पढेन, मेरो कथा यस्तो भैहाल्यो । भविष्य सम्झेर कहाली लागेर आउँछ ।’
सीमा बोहोरा (नाम परिवर्तन)े को कथा ।
उनको अहिलेको उमेर २४ वर्ष । ठूली छोरी ८ वर्षकी र छोरा ५ वर्षका छन् । बिहेताका उनको लोग्ने डन्–वानिज्म (पुरुषमा अत्याधिक यौन चाहना हुने बिरामीपन) बाट ग्रस्त रहेछन् । तर अहिले यौनेच्छा नहुने समस्याबाट ग्रस्त छन् । सीमा भन्छिन्– ‘त्यतिखेर त बच्चै थिएँ नि, अहिले भएको भए त के हुन्थ्यो र ? तर आजभोलि उसकै रुचि छैन ।’ झन्डै एक महिनाको मित्रतामा उनले खोलिन्– ‘उसको त्यतिखेरको बिरामी मलाई पो सरे जस्तो छ, मनै अडिँदैन ।’ हामीले मनोविश्लेषकसँग परामर्श पनि गर्‍यौं । उनका अनुसार सीमामा निम्फोमेनिया (महिलामा अत्याधिक यौन चाहना हुने बिरामीपन) का लक्षणहरू देखिएका छन् । उनमा अहिले निम्फोमेनिया देखिनुको कारण उनको कलिलो उमेरको तनावपूर्ण यौनजीवन हुन सक्ने पनि ती मनोविश्लेषकले बताए ।
०००

पार्वती भट्ट (नाम परिवर्तन), उमेर ३१ वर्ष । उनी सुर्खेतकै स्थानीय गैससमा सामाजिक परिचालकको काम गर्छिन् । उनी काम गर्ने गैससले महिला सशक्तीकरणको क्षेत्रमा काम गर्छ । सुर्खेतकै बाबियाचौर, विद्यापुर, साहारे उनको कार्य क्षेत्र पर्छ । सुर्खेतको बाबियाचौर क्षेत्रमा विद्यामान बालबिहेको बारेमा कान्तिपुर दैनिकमा पनि समाचार आइसकेको छ । र, उनको काम पनि बालबिहे तथा महिला घरेलु हिंसाकै विरुद्धमा लक्षित छ । दिनभरि कार्यक्षेत्रमा खटिएर साँझपख घर फर्कंदै गर्दा उनको तन मात्र थाकेको हुँदैन, मन झनै विरक्त भएर आउँछ ।
बिहे भएको १६ वर्ष भयो, ठूली छोरी नै १५ वर्षकी भई । १५ वर्षको उमेरमा १० कक्षा पढ्दापढ्दै पार्वतीको बिहे भयो । पढाइ राम्रै थियो । बिहेपछि पनि धन्न एसएलसी दिन पाइन अनि पास पनि भइन । त्यसैले त अहिले सानोतिनो भने पनि जागिर छ । तर दु:खका पहाडहरू छिचोल्नै नसक्ने गरी अग्ला लाग्छन् उनलाई । दिनभरि बालबिहे तथा महिला घरेलु हिंसाविरुद्ध पैरवी गर्दै हिँडेर के भयो र ? उनी आफैं यसबाट पीडित हुन् । त्यसो त ३१ वर्ष आफैंमा धेरै होइन । भनिन्छ, ३० देखि ३५ वर्ष सम्मको उमेरमा महिला जीवनकै सुन्दर र ऊर्जाशील जीवन बाँच्छन् । तर पार्वतीको हकमा यो लागू हुँदैन । ३१ वर्षको उमेरमा बितेका २ गरी पाँच बच्चा जन्माइसकिन् । उनको अनुसार न तनमा रहर छ न मनमा । त्यसै–त्यसै थकित छिन् । ३४ वर्षका उनका श्रीमान् स्थानीय क्याम्पसमा पढाउँछन् । उनको ठाँट–रबाफ अर्कै छ । आकर्षक शरीरका उनी पार्वतीभन्दा धेरै जवान देखिन्छन् र त पार्वतीसँगै हाकाहाकी भन्छन्– ‘तँ मेरो लागि सुहाउँदिनस् । मेरो लागि बाटो खुल्ला गर्दे ।’ बाहिरफेर केटी लिएर हिँड्ने मात्र होइन कहिलेकाहीँ घरमै लिएर पनि आउँछन् । मानसिक हिंसासँगै शारीरिक हिंसा पनि सहनुपर्छ उनले निरन्तर । लोग्ने बूढी भइस् भनेर बेवास्ता गर्छन् भने छोरी मात्र पाउने भनेर सासुससुरा पनि असन्तुष्ट । पार्वतीको लागि महिला घरेलु हिंसाविरुद्ध जनचेतना तथा पैरवी जागिर मात्र भएको छ । उनको अफिस पनि उनको कथासँग पूर्ण बेखबर छैन । त्यसैले त कार्यक्रम संयोजक अफिस मिटिङमा कहिलेकाहीँ हाकहाकी भन्ने गर्छन्– पार्वतीको कथा नै एउटा राम्रो ‘केस स्टडी’ बन्न सक्छ ।
आफ्नै अफिसको कर्मचारीको पीडा ‘बोस’ लाई ‘केस स्टडी’ भन्दा बढी केही लाग्दैन भने त्यस्तो पैरवीबाट उनले के अपेक्षा गर्ने । त्यसैले त जागिर उनको लागि सिर्फ जागिर बनेको छ । कुरै कुरामा सम्बन्धविच्छेदबारे पनि छलफल भयो । ‘पढ्ने उमेरमा बिहे गर्नुपर्‍यो, तीन–तीन जना छोरी कसरी पाल्ने (?), आफ्नै जीवन त बोझ भैसक्यो । केको लागि सम्बन्धविच्छेद ?’
पार्वतीको व्यथा ।
०००

सुर्खेत कुनाथरीमा भेटिएकी दैलेखकी निउरी मिजारले पनि २८ वर्षको उमेर हुँदासम्म ६ बच्चा जन्माइन् तर दुईजना मात्र बाँचे । उनी अहिले आङ झर्ने समस्याले पीडित छिन् । यस्ता समस्याग्रस्त पात्र खोज्न कुनै गम्भीर अनुसन्धानको जरुरी हुँदैन छरपस्टै भेटिन्छन् ।
यी प्रतिनिधि समस्याहरूको जरा कहीँ न कहीँ कम उमेरमा गरिने बिहेसँग जोडिएको छ । सानै उमेरमा हुने बिहेले एक त पढाइ अवरुद्ध हुन्छ भने, कलिलैमा बच्चा जन्माउनाले आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन्छ । सानै उमेरमा बच्चा जन्माएपछि महिलाको स्वास्थ्य बिग्रने, कमै उमेरमा शरीर अशक्त हुने, बूढी देखिने जस्ता समस्याले पारिवारमा मनोमालिन्य निम्त्याएको छ । परिवारमा विग्रह ल्याएको छ र यसको कष्ट महिलामाथि नै बढी परेको उदाहरणहरूले देखाएका छन् ।
हयुमन राइटस् वाचको सन् २०१६ को प्रतिवेदनअनुसार, विश्वभरमा अहिले पनि ७० करोडभन्दा बढी महिलाहरूको बिहे २० वर्ष भन्दा कम उमेरमा भएको छ । तीमध्ये एक तिहाइ महिलाहरूको उमेर त १५ वर्षभन्दा कम छ । यी एक तिहाइमध्ये पनि आधा दक्षिण एसियाका छन् । बालबिहेको लागि नेपाल दक्षिण एसियामा बंगलादेश र भारतपछि तेस्रो स्थानमा रहेको युनिसेफको तथ्यांकले देखाउँछ । उक्त प्रतिवेदनका अनुसार ३७ प्रतिशत नेपाली किशोरी १८ वर्ष भन्दा कम उमेरमा बिहे गर्छन् भने १० प्रतिशतले १५ वर्षभन्दा कम उमेरमा बिहे गरेको तथ्यांक छ ।
सन् २०११ को जनगणनाअनुसार नेपालमा ७ लाख ५० हजारभन्दा बढी युवतीको बिहे १० देखि १४ वर्षको बीचमा भएको छ । सन् २००१ को नेपाल जनसंख्या स्वास्थ्य सर्वेक्षणको प्रतिवेदनअनुसार १९ वर्षमुनिको विवाहको दर ४० प्रतिशत थियो । सन् २०११ मा आइपुग्दा यो दर २८.२ प्रतिशत छ । घट्दो दरमा भए तापनि यो सन्तोषजनक स्थिति भने होइन ।
सन् २०१४ मा बेलायतमा भएको ‘इन्टरनेसनल गर्ल समिट’ मा नेपालले सन् २०२० सम्ममा बालबिहे अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो । तर सन् २०१६ मा भएको ‘नेसनल गर्ल समिट’ मा यो प्रतिबद्धतालाई दिगो विकासको लक्ष्य हासिल गर्ने वर्ष सन् २०३० सम्ममा सारिएको छ ।
नेपालको कानुनले बालविवाहलाई गैरकानुनी मानेको छ । मुलुकी ऐनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह मानेको छ । कानुनी बन्देज हुँदा पनि किन हुन्छ त बालबिहे ? अध्ययनहरूका अनुसार गरिबी, शिक्षाको कमी, सामाजिक दबाब, दाइजोको दबाब, यौनप्रतिको बुझाइ आदि बालबिहेको कारकका रूपमा देखा पर्छन् ।
गरिबीकै कारणले छोरीको बिहे चाँडै गरिदिने अभिभावक मात्र होइन, गरिबीबाट उन्मुक्ति तथा सुखद जीवनको आशमा छिट्टै बिहे गर्ने किशोरीहरू प्रशस्त छन् ।
अध्ययनकै सिलसिलामा, १५ वर्षकै उमेरमा भागीबिहे गरेका जोडी दिलसरा घर्ती र विराट पुनसँग कुराकानी भयो । केही अरू कुरा गरेपछि यति सानै उमेरमा किन बिहे गरेको भनेर सोधेँ । एकछिन् उत्तर दिन अन्कनाएपछि उल्टै मलाई सोधे– ‘बिहे किन गर्छन्, त्यति पनि थाहा छैन ?’
उनीहरूको संकेत यौनसम्बन्धतर्फ थियो ।
त्यसो त हाम्रो समाजमा यौनसम्बन्ध र बिहेलाई एउटै पाटोको रूपमा हेर्ने गरिन्छ । त्यसो त सँगै हिँड्ने गरेका वा जानअन्जानमा यौनसम्बन्ध राखेकै कारणले अभिभावकले युवायुवतीको बिहे गरिदिएका उदाहरण प्रशस्त छन् । यसले किशोरावस्थामा भएको आकर्षण, त्यही उमेरमै बिहेमा परिवर्तन हुन्छ । सन् २०१२ मा सेभ द चिल्ड्रेनलगायतका संस्थाहरूले गरेको अध्ययनमा केही क्षेत्रमा बढ्दो प्रेमबिहेसँगै बालबिहे पनि बढेको उल्लेख छ । यसरी बालबिहे गरेका अधिकांशले यौनेच्छा पूरा गर्न बिहे गरेको बताएका छन् ।
अब काठमाडौंका कुरा, मेरो छोरा काठमाडौंकै निजी स्कुलमा २ कक्षामा पढ्छ । विद्यार्थीहरूलाई विद्यालयको अतिरिक्त कहिलेकाहीँ यसो बाहिरतिर घुमाउन लगे पनि हुने भनेर स्कुल इन्चार्जसँग भनेकी थिएँ । ती इन्चार्ज शिक्षिकाले भनिन्– ‘कक्षा ६, ७ र ८ का विद्यार्थीलाई केही महिनाअघि रिफ्रेसमेन्टको लागि वनभोज भनेर त्रिभुवन पार्क लगेका थियौं, फर्कने बेलामा ३ जोडी विद्यार्थी आपत्कालीन अवस्थामा फेला परे ।’
‘आपत्कालीन ?’ मेरो प्रश्न ।
‘हो, यौनजन्य क्रियाकलाप, बित्यासै लाग्दो अवस्थामा,’ शिक्षिकाको उत्तर ।
कक्षा ६,७, ८ का विद्यार्थीको औसत उमेर ?– १२ देखि १४ वर्ष ।
उनले ७ कक्षामा पढ्ने एक विद्यार्थीको अभिभावक आफ्नो बच्चाले युटयुबमा ‘एडल्ट प्रोग्राम’ हेरेर हैरान भएको र कसरी छुटाउने होला भनेर सल्लाह मागेको कुरा पनि सुनाइन् । त्यसै त किशोर उमेर उत्सुक उमेर हो, अहिले हातहातामा मोबाइल, घरघरमा इन्टरनेटजस्तै भएको छ । जसले अश्लील श्रव्यदृश्यमा सहजै पहुँच दिन्छ ।
यो काठमाडौंको मात्र होइन, हाम्रो साझा समस्या हो ।
पारिवारिक बेमेल, विखण्डन मात्र होइन शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यलगायतको कारण बनेका छन् बालबिहे । किशोरावस्थामा सही यौनशिक्षा दिनुको साटो बिहे गराइदिनुले व्यक्ति जीवनका धेरै अवसरहरूबाट वञ्चित हुन जान्छ । ‘लाइफ कोर्स अप्रोच’ बाट हेर्दा पनि कम उमेरमा हुने बिहेले व्यक्तिको सम्पूर्ण जीवन नै प्रभावित भएको देखिन्छ । बिहे हुनेबित्तिकै पारिवारिक दायित्वहरू बढ्छन् । अझ हाम्रो सामाजिक संरचना बिहेपछि जिम्मेवारीका तहहरू धेरै थपिन्छन् । त्यस्तै विद्यालय जाने उमेरमा नै बिहे गरेपछि अन्य जिम्मेवारीकै कारण पनि उनीहरू पढाइबाट वञ्चित हुन पुग्छन् । अनि विद्यालय/क्याम्पसमा हुने समाजिक अन्तरक्रियाबाट पनि स्वभावैले विमुख हुन्छन् । रोजगारीका विकल्पहरू सीमित हुन्छन् । र, उनीहरू बाहिरी समाजबाट पाउने अवसरबाट वञ्चित हुन्छन् ।
०००

सुर्खेतको साहारेको दलित बस्तीमा बच्चाहरूको पोषण सम्बन्धमा काम गर्ने गैससको कार्यक्रममा पुगेको थिएँ । ३० जना बच्चाको तौल र उचाइ लिइएकोमा बच्चाको हुनुपर्ने औसत तौल र उचाइभन्दा सबैको कम रहेको पाइयो । धेरैको त औसतभन्दा धेरै कम । यसको एक कारण पौष्टिक आहारको कमी त थियो नै । त्यसमाथि यसो तथ्यांक हेर्छु, त सबै आमाको उमेर १४ देखि १८ को बीचमा । हे भगवान् !

 

प्रकाशित : चैत्र १९, २०७३ ०९:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT