३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

‘लू’ को मियोमा नाटकको दाइँ

दशकयता राजनीतिमा सधैँ केन्द्रमा रहेको मधेस नयनराज पाण्डेको उपन्यासमा आधारित नाटक ‘लू’ मा मुख्य रूपमा आएको छ। सीमाञ्चलको पत्थरपुरवा नाउँको गाउँको सजीव चित्र छ यसमा।
विमल आचार्य

कुरा सुरु अलिकति गन्थनबाटै।
नाटकबारे यो मेरो पहिलो सार्वजनिक टिप्पणी हो। लिखित नाटकबारे त यदाकदा टिप्पणी गरिएकै पनि हो तर मञ्चित–प्रदर्शित नाटकबारे छ्वास्सछुस्सबाहेक केही लेखिएन।

‘लू’ को मियोमा नाटकको दाइँ

कुरा सुरु अलिकति गन्थनबाटै।
नाटकबारे यो मेरो पहिलो सार्वजनिक टिप्पणी हो। लिखित नाटकबारे त यदाकदा टिप्पणी गरिएकै पनि हो तर मञ्चित–प्रदर्शित नाटकबारे छ्वास्सछुस्सबाहेक केही लेखिएन। उसो त नाटकको मूल स्वरूप भनेकै दृश्य हो तर मलाई तबसम्म नाटक पढ्ने कुरा मात्र हो जस्तो लागिरह्यो जबसम्म मैले आरोहण गरुकुल, पुरानो बानेश्वर देखेको थिइनँ।

अहिले आरोहण गुरुकुल छैन, तर मलाई त्यहाँ हेरेका दर्जनौँ नाटकको अचाक्ली माया लाग्छ। याद धेरै आउनु, दृश्य–अभिनय–डायलग अहिलेसम्म याद हुनु भनेको मायै लाग्नुका लक्षण त होलान्। अथवा यसो पनि हुन सक्छ, ती मैले जीवनमै पहिलोपल्ट हेरेका नाटक (कमसल भए पनि) भएर पो मन परेका हुन् कि? तर, भावुक नभईकन भन्दा अहिले पनि मलाई के लाग्छ भने नेपाली नाटकको लघुवंशमा त्यो सुनिलकुलका नाटक गुणस्तर चिह्न प्राप्त नाटक नै हुन्।
अस्ति बुधबार मात्रै मैले ‘लू’ नाटक हेरेँ, मण्डला थियटरमा। सरिता शाह निर्देशित त्यो नाटकलाई ‘नयनराज पाण्डेको ‘लू’ उपन्यासमा आधारित’ भनिएको छ, ब्रोसरमा।
त्यस्तो जटिल र बृहत् क्यानभास बोकेको उपन्यासलाई कसरी नाटकमा ढालियो होला भन्ने उत्सुकताले पनि नाटक हेरियो। संयोग कस्तो परेछ भने आफूसमेत चार जनाका लागि टिकट लिन पैसा तिरिइरहेका भेटिए, अनुप बराल। यी अनुप बराल र सुनिल पोख्रेल यस्ता हलगोरु (धेरै कलाकारका गुरु पनि हुन्) हुन्, जसले नारिएर नेपाली नाटकको भूमिलाई उर्वरा बनाए र त्यहाँबाट अरुणा–सरिता–सिर्जनादेखि सौगात–दयाहाङ–खगेन्द्रसम्मका अनेकन् बाली उम्रिए।
अँ, म कुरा गर्दै थिएँ ‘लू’ नाटकको। अनामनगरमा नाटक हेरेर अबेर निस्कँदा बनस्थली जाने माइक्रोबस भेटिएन। महानगर भए पनि साँझ साढे सात बजे नै सार्वजनिक गाडी नपाइने साढे सातको दशा छँदै छ यहाँ। तर, धूवाँ–धूलै सही, एक घन्टा जति हिँड्न मज्जै हुन्छ। एक्लै हिँडिरहँदा नाटकबारे मेरो मनमा अनेक तर्कना खेले।
केही अघि विमल सुवेदीको नाटक हेरिएको थियो, ‘मकैको अर्कै खेती’। सञ्जीव उप्रेतीले लेखेको र मुख्य पात्रमा उनैले अभिनय गरेको त्यो नाटक सेन्सर्सिप प्रश्नको पुलिन्दा थियो। मकैको अर्कै खेतीको सेन्ट्रल थिमझैँ मेरो मनमा प्रश्न उठ्यो, ‘लू’ नाटक यही रूपमा प्रस्तुत गरिन्थ्यो र यसका निर्देशक पहाडी/हिमाली भइदिएका भए, पुरुष भइदिएका भए हाम्रो बहसको डिस्कोर्स के हुन्थ्यो होला? मेरो हाइपोथेसिस के छ भने आनका तान फरक हुन्थ्यो। गैरमधेसी अथवा पुरुषले यस्तो नाटक निर्देशन गरेका भए ऊ ‘मकैको अर्कै खेती’ माझैँ आक्रमणको तारो हुनेथियो।
अघिल्लो वाक्यमा ‘यस्तो नाटक’ भन्नाले यसमा मधेसको सीमावर्ती गाउँमा भन्ने गरिएको आन्तरिक उपनिवेशको चर्चा छैन, सीमापारिको आतंक छ। राज्यीय रूपमा यसमा जे देखाइएको छ, त्यसले राष्ट्रिय अवधारणालाई स्थान नदिएको मात्र होइन, उपहास नै गरेको छ। हालकी नेतृ कोमल ओलीको गीत ‘पोइला जान पाम शिव’ गाइरहने कवितालाई जसरी धोकेबाज र पोइचखुवाका रूपमा देखाइएको छ यदि यो पुरुष निर्देशकको सिर्जना भएको भए? पत्थरपुरवाको खटिया–कचहरीलाई हेर्ने हो भने त्यसमा महिलालाई हेर्ने पुरुष नजरियाकै बोलवाला छ। खटिया–पुरुष नारीलाई सेक्सका रूपमा मात्र हेर्छन्, गफको केन्द्रै त्यही छ।
‘लू’ हेर्नुपर्ने कारण धेरै छन्। दशकयता राजनीतिमा सधैँ केन्द्रमा रहेको मधेस यसमा मुख्य रूपमा आएको छ। सीमाञ्चलको पत्थरपुरवा नाउँको गाउँको सजीव चित्र छ यसमा। जात, धर्म, वर्णले विविध उनीहरू राज्यबाट टाढा, निकै टाढा छन्, तर आपसमा हँसीमजाक, छेडखानी गर्छन्। उनीहरू उपेक्षित छन्, तर दु:खी छैनन् अर्थात् ग्राम्सेली बोलीमा लोली मिलाउने हो भने उनीहरू ‘हेजेमोनाइज्ड’ छन्। सात वर्षकी छोरी बेच्ने गोबरी र मुनियादेखि सधैँ घरबाट गिलास लिएर पछुवा चाय दुकान आउने टुटेपण्डितसम्मका अनेक रङ देख्न सकिन्छ एउटै खटियामा। हिन्दु र मुस्लिमबीच अकारण कसरी मच्चिन्छ दंगा भन्ने कारण बताउँदै यसले समभाव र मानवताको सन्देश पनि दिन खोजेको छ।
यता ‘लू’ मञ्चन हुनुभन्दा ठीक अघिल्लो दिन उता कञ्चनपुरमा भारतीय प्रहरीको गोलीले गोविन्द गौतमको ज्यान गयो। नाटकको राजनीति र राजनीतिको नाटकबीचको धर्साे नै मेटिँदो छ। सीमाञ्चलमा बस्नेहरू कति पीडित (विशेषत: उताबाट) छन् भन्ने देखाइएको छ।
सीमावारि र पारिको साझा भाषा, साझा संस्कृति, साझा भेषलाई भेग मात्र साझा नुहँदाका समस्याले छोपिदिएको छ, नाटकमा। सीमाञ्चलमा हुर्केकाहरू तेरो–मेरो देश भनेर उग्र कठोर हुँदैनन्, जति टाढा रहनेहरू हुन्छन्, लाई नाटकले उल्ट्याइदिएको छ। देशभक्ति र राष्ट्रवादको अन्तरमा मन्थन नपुगेर हो कि !
भारतीय सीमाबाट आधी घण्टा मात्र टाढा महोत्तरीमा जन्मे–हुर्केकी निर्देशक शाह मधेस–मुद्दामा जति संवेदित छिन्, त्यति पहाडी हुन नसक्दो नै हो। महिलाका लागि बन्द समाज हो नेपाल, मधेस त अझै बढी हो कि? गाउँमै एसएलसी सकेर जनकपुरमा प्लसटु पढ्दै उनले रेडियो नाटकमा बोल्न थाल्दा उनकी आमाले भनिन्, ‘छोरी यसो नगर, थाहा पाउँछन्।’ पछि रवीन्द्र झामार्फत काठमाडौँ आइन् नाटक गर्न। आमा ढुक्क भइन्— छोरीले काठमाडौँमा गरेको नौटंकी गाउँलेले थाहा पाउँदैनन्, ठीकै छ। मधेसको बन्द समाजमा हुर्केर बुलन्द भएर ‘मूलधार’ मा नाट्यकर्म गर्नु पनि सशक्तीकरण र क्रान्तिको उदाहरण नै हो।
सकेसम्म राम्रो भनिदिने, नराम्रो भन्नुपर्‍यो भने मौन बसिदिने स्वभावका लेखक नयनराज पाण्डे नाटकसित ‘सन्तुष्ट नभए पनि असन्तुष्ट छैन’न्। उनी भन्छन्, ‘उपन्यासभन्दा फरक नाटक विधाका आफ्ना विशेषता र सीमितता छन्। त्यही विशेषता र त्यही सीमितता ‘लू’ को नाट्य रूपान्तरणमा देखियो। रगमञ्चमा गएपछि त्यो निर्देशक र कलाकारको माध्यम बन्छ। उनीहरूले कथानक, पात्र, घटनाक्रम र परिवेशलाई जसरी बुझ्छन्, त्यो उपन्यासकारकै रूपमा नहुन सक्छ। नाटकमा त्यही भएको छ। निर्देशकलाई मैले यसो–उसो गर भनेर भन्न मिल्दैन र भनिनँ पनि।’
उपन्यास नै नाटक होइन, ‘उपन्यासमा आधारित’ मात्र हो भनेपछि यसबारे थप भनिरहन परेन। लेखकको सन्तुष्टि वा असन्तुष्टिका आधारमा यो टिप्पणी गरिएको पनि होइन। लामो र छरपस्ट उपन्यासका प्लटलाई निर्देशकले र्‍यान्डम्ली तानेको हुँदा ती नाटककारका रोजाइ भने अवश्य हुन्।
भारतीय (प्रहरी) व्यवहार अलि कलात्मक र विम्बात्मक पनि त बनाउन सकिन्थ्यो होला। सरिता भन्छिन्, ‘म आफैँ पनि उता जाँदा साह्रै नै असुरक्षित महसुस गर्छु। उताको पुलिसले महिलालाई अझ हामीजस्ता जवान महिलालाई हेर्ने नजर नै साह्रैभन्दा साह्रै डरलाग्दो र अश्लील हुन्छ। मैले प्रत्यक्ष देखेकै कुरा उतारेकी हुँ।’ शाहले यसो भनिरहँदा लेखक पाण्डेको कुरा झनै डरलाग्दो छ। पाण्डेले लिखितम दिए, ‘एक जना वरिष्ठ निर्देशकले पनि लू मञ्चन गर्न लाग्नुभएकामा त्यसका राजनीतिक कुराप्रति आपत्ति प्रकट गर्दै निज निर्देशकलाई मञ्चन नगर्न चेतावनीसमेत आयो।’ अर्काको भूमिमा आएर निर्दाेष नेपालीलाई गोली ठोक्नेविरुद्ध सिर्जनात्मक हिसाबले बोल्न पनि डराउनुपर्ने र त्यसलाई राष्ट्रवाद भनेर पन्छाइदिने हाम्रंो तथाकथित बौद्धिक जमात पनि हाम्रो खतरा हो। अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहारमा मौन बस्न सुहाउँछ?
मैले निर्देशकलाई सोधेँ, ‘उताको प्रहरीले नेपाली केटी भनेर चिनेरै दुव्र्यवहार गर्ने हो कि जो महिला देखे पनि?’ यसमा सरिताले खै त्यो थाहा भएन भनेर जवाफ दिइन्। त्यो गैरभारतीय भनेर गरेको हिंसा बढी अथवा लैंगिक हिंसा? भारतीय सुरक्षाकर्मीबाट मात्र हैन, नेपाली सुरक्षाकर्मीबाट यतै पनि महिला असुरक्षित महसुस गर्नुलाई पुरुषवादी चस्माले पो बढी हेर्ने हो कि? हिंसाको देश हुँदैन।
जुन कुनै कला, कथासँगै सशक्त प्रस्तुतिले बेजोड हुने हो। नाटकको प्रस्तुति फितलो छ। कलाकार रुँदा दर्शक हाँस्नु ‘नाटक’ नै हो। उपन्यासबाटै स्थापित चरित्र इलैया–नुसरतलाई स्थापित गर्न सकेकी छैनन् निर्देशकले। खटिया कुरा पनि ‘चिप कमेडी’ मा केन्द्रित छ। सहरमा अहिले थियटर कलाकार हिट छन्। फिलिममा उनीहरूको अभिनय र उपस्थितिमा कुनै नौल्याइँ भने भेटिँदैन। बरु यहाँ झुर फिलिमबारे आलोचना आउँछ तर नाटकबारे उति आलोचना देखिँदैन। यो उकुसमुकुस उपत्यकामा अहिले ‘वाकिङ डिस्टन्स’ मै आधा दर्जन थियटर चल्न सक्नु गज्जप कुरा हो। तर सोच्नुपर्ने कुरा के छ भने, संख्यात्मक वृद्धि त छ, गुणात्मक विकास देखिएन। अब ‘ग्रोथ’ बाट ‘डिभलप्मेन्ट’ तिर नलाग्ने हो दर्शक नभड्किएलान् भन्न सकिन्न।
सरिता शाह स्थापित निर्देशक हुँदी हुन् त, ‘लू’ बारे अलि आलोचक भएरै लेखिन्थ्यो होला। तर, यो उनको पहिलो निर्देशन हो। यसमा उनलाई शंकाको अर्थात् समीक्षाको लाभ पनि छ। आगामी दिनमा उनले योभन्दा कमसल प्रस्तुति मात्र होइन, यस्तै निर्देशन गर्दा पनि आलोचना खेप्नुपर्ने हुन सक्छ। चुस्त र बुलन्द नाटक निकाल्न सकून् सरिता शाहलाई शुभकामना † बधाईचाहिँ आगामी नाटकमै दिन पाइयोस्।

प्रकाशित : चैत्र १२, २०७३ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?