कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

थरीथरीका गहना

आरके अदीप्त गिरी

नाकमा– बुलाकी, शिरमा– शिरबन्दी, कानमा– ढुङ्ग्री, गलामा– गलबन्दी । देशको पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्मै यस्ता गरगहना लगाउने प्रचलन छ । गरगहनाहरूमा महिलाहरू निकै खुल्छन् । यो महिलाहरूको सौन्दर्य चिनारी पनि हो । नेपाली समाजमा गहना लगाउने परम्परा निकै पुरानो मानिन्छ ।

थरीथरीका गहना

विशेषगरी हाम्रा गाउँघरहरूमा प्रचलित ढुङ्ग्री, बुलाकी, फुली, नौगेडी, शिरबन्दी, कल्ली, गलबन्दीलगायतका गरगहनाहरूको प्रचलन र सौन्दर्य विशेष छ ।
नेपाली समाजमा गरगहनाको ठूलो महत्त्व छ । त्यसमा पुरानो शैलीका परम्परगत गहनाहरूको त झनै ठूलो महत्त्व देखिन्छ । तिनै पुराना गरगहनाहरू हिजोआज अस्तित्व संकटमा छन् । नयाँ पुस्ताले पुराना शैलीका गहनाहरू लाउन छाड्दै वा बिर्संदै जाँदा परम्परागत गरगहनाहरू लोप हुँदै गएका हुन् ।
०००

पछिल्लो समयमा आधुनिकतासँगै नयाँ पुस्तामा आएको परिवर्तित फेसन ‘ट्रेन्ड’ ले पनि यस्ता गरगहनाहरूको परिचय संकटमा परेको छ । नयाँ–नयाँ फेसन ट्रेन्ड, देशी–विदेशी टेलिभिजन च्यानलहरूको प्रभाव, सुनको महँगी आदि लगायतका समस्याले गर्दा पनि पुरानो संरचनाका गहनाहरू नयाँ पुस्ताले लाउन छाडेको बूढा–पाकाहरूको कथन छ । सबै जाति समुदायका गरगहनाको आ–आफ्नै रूप–आकार र तिनीहरूको सामाजिक सौन्दर्य पनि फरक–फरक र विशिष्ट छ । जति देश सुन्दर छ त्यति सुन्दर छन् हाम्रा गरगहनाहरूका स्वरूप र सौन्दर्य ढाँचा पनि । हामीले बाहिरी अरूको नक्कल गर्दा पनि हाम्रो गहनाहरू जत्तिको सौन्दर्य कहीं कतै देखिँदैन । गहनाको सामाजिक सौन्दर्य फूल र फूलबारी जत्तिकै अन्योन्याश्रित छ ।
आज देशको विकास उन्नतिले परम्परागत गहनाहरू केही ओझेल परे पनि फेरि पुरानै नक्कल र सौन्दर्य पछ्याउनेमा आफू विश्वस्त भएको संस्कृतिविद् तुलसी दिवस बताउँछन् । ‘नेपाल सबै जातको फूलबारी हो । अलग–अलग जात समुदायको परिचय, संस्कृति र परम्परा फरक–फरक भएझैं जातिपिच्छे हाम्रा गहनाको ढाँचा र आकार पनि फरक–फरक छ,’ उनी भन्छन् । आधुनिकता र नयाँ विश्वमा देखिएका प्रचलनहरूले पुराना गहनाहरू बिस्तारै विस्तापित हुँदै गए पनि समाज परिवर्तनशील भएकाले उहिल्यैदेखि हुर्किएको यो परम्परा कहिल्यै नहराउने उनको ठहर छ ।
मेची–महाकाली, तराई–पहाड–हिमाल सबै स्थानका महिलाहरूले आफ्नो परम्परामा चल्दै आएका गहनाहरू नै लगाउने गरेको देखिन्छ । यो परम्परा जातिपिच्छे फरक–फरक छ ।
लेखक तथा समाजअध्यता शौरभ भने नेपाली महिलाहरूको विशिष्टता गहनाहरूमा मौलिक रूपमा झल्कने बताउँछन् । उनका अनुसार नेपालका विभिन्न जातिहरू राई, लिम्बु, नेवार, तामाङ, गुरुङ, मगर, सुनुवार, बाहुन, क्षत्री, ठकुरी, दनुवार, थारू, भोटे आदि–आदि जाति समुदायको आ–आफ्नै आकार र ढाँचाका गहनाको स्वरूप छ । र, परम्परागत रूपमा हुर्के बढेको गहना पहिरिने परिपाटी पनि समाज व्यवस्थासँगसँगै हुर्कदै गएको उनले बताए ।
०००

यी तस्बिरमा प्रस्तुत महिला अनुहारहरू त आंशिक उदाहरण मात्रै हुन्, जसले नेपाली समाजमा गहना पहिरिने परम्पराको प्रतिकात्मक अर्थ बोल्न सक्लान् ! तर, अरू असाधारण गहना सौन्दर्य भने हाम्रो समाजभित्रै लुकेको छ । जो खोजको विषय बन्न सक्छ !

प्रकाशित : चैत्र ५, २०७३ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?