कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

चिया चर्चा

‘नेपाल हुँदै तिब्बत गएका भारतका विक्रमशिला महाविहारका आचार्य दीपंकर श्रीविज्ञानले आफ्ना ३५ अनुयायीसँग भोटमा जाँदा स्वागतमा चिया टक्राउँदा उनी कन्फ्युज भएका थिए ।’
अर्जुन पन्थी

कीर्तिपुरमा सँगै पढेका साथीसँग थापाथलीमा भेट्ने कुरा मात्र होइन चौतारीमा भेटियो पनि । सामान्य सन्चोबिसन्चोपछि बसेर कुरा गरौँ न त भन्ने भयो, तर कहाँ ? कुरा मिल्यो, नजिकैको चियापसलमा । पसलैपसलको सहरमा चिया नपाउने कुरै थिएन ।

चिया चर्चा

एउटा पसलभित्र पसेर, ‘तीन कप चिया है, चिनी कम रङ कडा’ भन्दै अर्डर गर्‍यौँ । चिसो मौसम थियो, कुर्सीमा बिस्तारै पिठ्युँ टेकाउँदै, गफ सुरु भयो । कुरा त्यो बसाइमा गरेको गफको हैन, चियाको बारेमा हो । चिया बनाउने यस्तो टोले पसल कति होलान् ? चाय गफाडी कति होलान् ? अनुमान गर्न सजिलो छैन । राणाकालमा हुन्थ्यो भने यसरी चिया खानेलाई ‘कांग्रेसी बानी’ भएको बात लाग्थ्यो । लुकेर खानुपथ्र्यो । यसप्रकार यो लेख नेपालमा चियाको चलनको बारेमा लेखिएको हो ।

नेपाली सेनाबाट पेन्सन पकाएका लप्टनले २००७ सालअघि डिल्लीबजारको उकालोमा सामान्य चियापसल खोलेका थिए । अरविन्द रिमालले यसबारे ‘डिल्लीबजारको लप्टनको होटल’ नामक संस्मरण पुस्तक नै लेखेका छन् । उनका अनुसार त्यस बखत (राणाकालमा) घरबाहिर चिया खानुलाई नागरिकको स्वतन्त्र विचार तथा व्यवहार ठानिन्थ्यो । त्यसैले खुलेआम खानु हुँदैनथ्यो । सातसाल अघि बीपी कोइरालाले गुप्त रूपमा भेष बदलेर ‘धरहराको माहिला साहुको पसल’मा चिया खान जान्थे । पदमशमशेरको पालामा घरघरमा अलिअलि आँट गरेर चिया खाने चलन सार्वजनिक ठाउँमा पनि हुन थालेको थियो ।
सात सालपछि त मध्यमवर्गीय परिवारमा चिया खाने चलन व्यापक भइसकेको थियो । रिमालका अनुसार लप्टनको होटलमा ५ पैसाको आधा कप चिया पाइन्थ्यो । २००४ सालको जयन्तु संस्कृतम् र त्यसलगत्तै भएको विद्यार्थी आन्दोलनका व्यक्तिहरू लप्टनको होटलका ग्राहक थिए । त्यहाँ पाँडे, गुरुपुरेत, थापाकाजी, राणा शाह, दीक्षित लोहनी आदि सम्भ्रान्त र मध्यमवर्गीय व्यक्ति तथा साहु–महाजन आउँथे । त्यस्तै भेला हुने, गफ गर्ने र चिया पिउने अर्को ठाउँ नयाँ सडक पनि थियो । नयाँ सडकको कथा पनि रिमालले झैं कसैले लेखे जाती हुन्थ्यो । यसरी जम्मा हुने क्रममा डिल्लीबजारलाई चीन समर्थित र नयाँ सडकलाई भारत समर्थित क्षेत्र पनि भनिन्थ्यो भनेर रिमालको पुस्तकमा भूमिका लेख्ने क्रममा श्यामदास वैष्णवले पनि लेखेका छन् ।
नेपाली सेनामा काम गरेका बानेश्वरका ९० वर्षीय रत्नध्वज थापाले २००७ साल वरिपरि खुलेको न्युरोडको एउटा पसलको कथा मलाई सुनाएका थिए । यस होटलको उपल्लो तलामा चिया बनाइन्थ्यो । त्यहाँबाट गिलास छिर्ने प्वाल पनि थियो । तल चिया खान आउनेले प्वालतिर मुख सोझ्याउँदै माग्थे । माथिबाट चिया दिइन्थ्यो । उनका अनुसार इन्द्रचोकमा त दूधैदूधको ‘लतरी चिया’ बनाइन्थ्यो । यहाँ को आउँथे भन्ने कुरा अनुत्तरित छ । तर रिमालले नयाँ सडकको पीपलबोट (अखवारी थलो) र डिल्लीबजार (विवेचनात्मक) पनि भनेका छन् । तर पीपलबोटेहरूले के सोच्दा हुन् जान्न बाँकी नै छ ।
उल्लिखित वयानबाट कम्तीमा सार्वजनिक ठाउँमा चिया खानु भनेको स्वतन्त्रताको उपभोग गर्ने अर्थ पनि लाग्ने बुझियो । यसको अर्थ के चिया ‘प्रगतिशील’ पेय हो ? भन्ने प्रश्न मेरो मनमा उठेको थियो । राणाकाल र त्यसअघिका शासक र भारदारी खलकमा यसको प्रयोगको अभ्यासबारे ज्ञानमणि नेपालको एउटा सामग्री छ । जसले भोट जाने व्यापारीले चियाको चलन ल्याएको बताउँछ ।
२०४४ सालमा निस्केको ‘मुहूर्त’ भन्ने पत्रिका संकलनका सोखिन शिव रेग्मीकहाँबाट पढ्न पाएको थिएँ । सो पत्रिकामा ‘चिया खाने चलन’ शीर्षकमा ज्ञानमणि नेपालले एउटा लेख लेखेका रहेछन् । उनका अनुसार पहिला (?) कुनै पनि नयाँ चलन, नयाँ खाद्यपदार्थ आउँदा धार्मिक दृष्टिले त्यस्ताको खेदो गरिन्थ्यो । भनाइको अर्थ चियामा कुनै कानुनी बन्देज नभए पनि भावनात्मक रूपमा बन्देजजस्तै थियो । तर बसाइ–सराइ, युद्ध, भ्रमण, रोजगारीका सिलसिलामा नयाँ–नयाँ पेय पदार्थबारे ज्ञान लिने र त्यसको प्रयोग चलन सुरु भएको देखिन्छ ।
ज्ञानमणिको स्रोत अनुसार विसं १०९९ सम्म भारतमा पनि चियाको चलन थिएन । नेपाल हुँदै तिब्बत गएका भारतका विक्रमशिला महाविहारका आचार्य दीपंकर श्रीविज्ञानले आफ्ना ३५ जना अनुयायीसँग भोटमा जाँदा स्वागतमा चिया टक्राउँदा उनी ‘कन्फ्युज’ भएका र खाएपछि प्रशंसा गरिएको कुरा अलका चट्टोपाध्यायको ‘अतिशा एन्ड तिबेट’ पुस्तकबाट उद्धृत गरेका छन् । पछिपछि भोट जाँदा नेपाली प्रतिनिधिमण्डलका सदस्यलाई पनि सत्कारमा चिया खुवाउन थालियो । यस अर्थमा चिया सत्कारको प्रतीक मान्न सकिन्छ ।
ज्ञानमणिले भाषा वंशावलीलाई उद्धृत गर्दै लेखेअनुसार तिब्बतसँग ब्यापार सम्बन्ध राख्ने काजी भीम मल्लले चियाको चलन ल्याएका हुन् । मल्लकालका अन्य व्यापारीहरूलाई यसको पहिचान सर्वसाधारणसम्म पुर्‍याउने श्रेय जान्छ । त्यति बेला कचहरी बस्दा मुखियाका घरमा तमाखु र चिया पकाउने व्यवस्था हुने कुरा नेपालले उल्लेख गरेका छन् । एकीकरणपछि भोटका अलावा चीनसम्म जाने चलन पनि भयो । विसं १८४९ देखि ५/५ वर्षमा नेपालबाट काजी सरदारको नेतृत्वमा प्रतिनिधिमण्डल चीन वादशाहकहाँ दर्शन गर्न जाने क्रम चल्यो । फर्केर आउँदा चीनबाट दिएको सौगातको सामानमा चिया पनि अनिवार्य रूपले पथ्र्याे । चियाको साथै चिया पकाउने चाँदीको कित्ली, कचौरा, चिया घोल्ने डोब्बो पनि आउने गर्थे भनेर नेपालले लेखेका छन् ।
विसं १८८४ मा चौतारिया पुस्कर शाहको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपालबाट चीनको कुतीतर्फ गएको थियो । फर्केपछि त्यति बेलाका महाराजाधिराजलाई चौतारियाले लेखेको कुरालाई ज्ञानमणिले यसरी उल्लेख गरेका छन्, ‘यहाँ (त्यहाँ) चिया खुवाउने चलन रहेछ । आइपुग्नासाथ चिया पकाइ बाटैमा पर्खेर बस्दा रहेछन् । अघि–अघि आउने काजीहरूले चिया खाने गर्दा रहेछन् । तर मैले खाइनँ ।’ ठाउँठाउँमा पाल टाँगी चिया खुवाउने चलन भए पनि पुष्कर शाहले चिया नखानुमा ‘आफ्नो धर्म नछाडेको’ अर्थमा उनले बयान गरेका छन् । विदेश जाने मानिसहरू नियममै नरहने र खान नहुने चीज पनि खाने हुँदा भोट वा मुग्लान जाने जोसुकैले सिमानामा पतिया गर्ने वा गोदान गरी चोख्याउने वा प्रायश्चित्त गर्नुपथ्र्यो । 
यसप्रकार ज्ञानमणि नेपालले ऊ बेला चिया खाने चलन भारदारी खलकसम्म र व्यापारीमार्फत सर्वसाधरणकहाँ पुगेको भनेर लेखे पनि साधारण परिवारकहाँ वा गाउँघरमा चिया खाने अभ्यास कस्तो थियो भनेका छैनन् । काठमाडौँबाहेकका अन्य चिसो ठाउँहरूमा चियाजस्तै तातो जिनिसको प्रयोग गरिन्थ्यो होला । यसबारे नेपालको लेख अनुत्तरित छ ।
नेपाली पारिवारिक वृत्तमा चिया पिउने चलन कस्तो थियो भन्नेबारे जान्न सजिलो छैन । तर पनि केही फुटकर सामग्री भने नभएका होइनन् । जनकलाल शर्माले आफ्नो पुस्तक ‘कौतुकमय कर्णाली’ (२०३१) मा जुम्ला हुँदै डोल्पो जाँदा जुम्लाको डिल्लीकोटको एक घरमा बास बस्दा खाएको ‘भोटे चिया’ को बयान गरेका छन् । उनले चिया खाँदा सुरुको सन्दर्भ कोटयाउँदै लेखेका छन्, ‘एकै छिनपछि तिब्बती चिया आयो । चिया खाने क्रम पनि तिब्बती ढंगबाट बनेका चाँदीका फुरु थिए । फुरु भनेको चिया खाने भाँडो हो, गिलासजस्तै । शर्माले लेखेका छन्, ‘तिब्बती चिया खाने परम्पराअनुसार फुरुको चिया घटाघट एकैचोटि खानु हुँदैन । बिस्तारै स्वाद लिईलिई खानुपर्छ ।’ (पृ. २५)
शर्माका अनुसार आधा कप चिया बाँकी भएपछि चुप लागेर धैर्यसाथ बस्नुपर्छ । आधा कप चियामाथि पुन: चिया थपिँदै जान्छ । जहिलेसम्म कपको चिया पूरै समाप्त हुँदैन तबसम्म फुरुमा चिया थपिँदै जान्छ । कसैले अज्ञानवश अथवा जानेर नै फुरुको अन्तिम घुँट लियो भने ऊ तृप्त भएको मानिन्छ र चिया थपिँदैन । चिया खाइसकेपछि स्थानीय मानिसहरू फुरुको भित्री भाग चाट्छन् । घ्यू फुरुको भित्री भागमा जमेर बस्ने हुँदा त्यसलाई निकाल्ने क्रममा चाटिएको हो ।
चिया बनाउने तरिका र यसमा प्रयोग हुने वस्तुबारे पनि शर्माले बयान गरेका छन् । जस्तो चिया बनाउँदा पहिले चियाको पत्ति एउटा भाँडामा हालेर खुबसित पकाइन्छ र त्यसको पानी एउटा काठको थिरीमा हालिन्छ । पुस्तक पढ्दा काठको थिरी कस्तो हुन्छ मैले जानिनँ । मेरो कल्पनामा त्यो मही राख्ने ठेकीजस्तै तर सानो आकारमा हो कि झैँ लाग्थ्यो । त्यसमा चौंरीको नौनी घ्यू र नुन हालेर एउटा फिर्के (सायद मदानीजस्तै सानो औजार होला) ले तलमाथि गरेर खुब घोलेर मथिन्छ । 
यसरी घोलेपछि नौनी त्यसैमा मिलेर जान्छ । लेखकका अनुसार चिया ठीक भयो कि भएन भनेर स्वास्नीमानिसहरू चाख्ने पनि गर्छन् । ठीक भएपछि एउटा ठूलो कित्लीमा हालेर आगाको छेउमा राखिन्छ र बाँडिन्छ । 
कहिलेकाहीँ चिया नसेलाओस् भनेर फुरुको ढक्कन पनि लगाइएको हुन्छ । फुरु भने प्राय: काठको र धेरैजसोमा बाहिरबाट, कसैकसैमा भित्रबाट पनि चाँदीले मोहरेको हुन्छ । पुस्तक पढ्दै जाँदा मलाई अचम्म लागेको पक्ष भने, यसरी स्थानीय स्वाद दिने चियाको पत्ति भने कालिम्पोङबाट नै पैठारी गरिएको हुन्थ्यो । 
पुस्तकमा चियाको कुरा अंग्रेजले स्थापित गरेको चियाबगानसँग ठोकियो । कालिम्पोङबाट आएको चियापत्ती राख्नुअघि कस्तो पत्तीको प्रयोग गरिन्थ्यो भन्ने कुरा जान्न सकिँदैन । किनभने अंग्रेजहरूले चिया खाने चलन चाइनिजहरूबाट सिकेका हुन् भन्ने बुझाइ छ । त्यसैले डिल्लीकोटमा पनि चीन, तिब्बत हुँदै कुनै पत्ति आउँथ्यो कि ? अथवा पत्ति नै नराखी चिया खाइन्थ्यो, शर्माको बयान यसबारेमा अनुत्तरित छ । 
अंग्रेजसँगको युद्धपछि नेपालले केही भूभाग गुमाउनुपर्‍यो । त्यसमा सिक्किम, दार्जिलिङलगायतका ठाउँ थिए । चिया बगान खोलेर अंग्रेजहरूले नेपालीलाई पनि कामदारको रूपमा ती क्षेत्रमा आकर्षण गर्न थाले । सन् १९८५ मा लेखिएको ‘हिमालयन स्टेट फर्मेसन’ लेखमा रिचार्ड इंगलिसले यसबारे विस्तारमा लेखेका छन् । सन् १८२० को दशकमा ब्रिटिस ‘कोलोनियल’ अधिकारीले चीनबाट ल्याएको चियाको बीउलाई कलकत्ताको ‘बोटानिकल गार्डेन’ मा परीक्षण गरेपछि त्यसलाई सोही समयमा नै कुमाउमा रोपिएको थियो । त्यसको केही दशकपछि दार्जिलिङमा पनि परीक्षण गरियो र सन् १८५४ मा दार्जिलिङमा यसको खेती गर्न युरोपियन चिया व्यवसायीले अनुमति पनि पाए । 
    सन् १८७० को दशकमा दार्जिलिङ र पश्चिमी असममा ३ सय चिया बगानहरू बनाइए । त्यो बेला यी ठाउँमा १० हजार मानिसलाई बसोबास गराइयो । खासगरी नेपाली, सिक्किमी, भुटानीलाई । पूर्वाञ्चलमा तैनाथ एक कमान्डर इन् चिफले मेजर जर्नेल केदारनरसिंग कुँवरलाई लेखेको अप्रकाशित पत्रलाई आधार मान्दै ज्ञानमणि नेपालले लेख्छन्, ‘अंग्रेजी चियाबगानमा विसं १९२१ तिर ४ हजार जति नेपाली कुल्ली काम गर्थे ।’ इङ्लिसका अनुसार उनीहरूले त्यहाँ मजदुरी, कुल्ली काम, काठ काट्ने, भवन बनाउने तथा नोकरको रूपमा काम गर्थे ।
ज्ञानमणि नेपालका अनुसार कुल्ली काम गर्न नेपालीहरू भारतमा काम गर्न गएको जंगबहादुरलाई मन परेको थिएन । हुन पनि रिचार्ड इङ्लिसका अनुसार सन् १८८१ देखि १९३१ को बीचको ४० वर्षमा ३ लाख २७ हजार नेपाली मजदुर यी चिया बगानलगायत भारतका विभिन्न ठाउँमा कामको सिलसिलामा गएका थिए । त्यो समयको जनसंख्या सानो कुरा थिएन । 
इङ्लिसले यो पनि लेखेका छन् कि नेपालका स्थानीय जिम्दार मुखियाले लगाउने कर तथा राज्यले त्यसलाई पोस्ने चलन एकातिर र अर्कोतिर अंग्रेजहरूले दिने सुविधाले गर्दा पूर्वी पहाडमा गाउँका गाउँ खाली हुँदै गएका थिए । 
यो सन्दर्भमा जंगबहादुरले केदारनरसिंग कुँवरलाई त्यस्तो (दार्जिलिङमा जस्तै पूर्वी नेपालमा पनि) चिया बगान खोल्न र ती कामदारलाई दिने रकमबारे बुझ्न लगाए । सुरुआती सफलता नपाए पनि त्यति बेला राणाहरूले भारतीय बगानमा काम गर्न जाने नेपाली कामदारलाई रोक्न पनि चिया बगानको सुरुआत गरेको बुझिन्छ ।
तर राणाले न चिया बगानमा काम गर्न जाने नेपालीलाई रोक्न सके । न २००७ सालतिर उनीहरूले ‘कांग्रेसी बानी’ भनिएको चियाको उपभोग गर्ने चलनलाई नै । अहिले नेपालमा पानी पछिको प्रमुख पेय चिया नै बनेको छ । चिया सत्कारको प्रतीक मात्र भएको छैन । जाडो भगाउने माध्यम मात्रै होइन । राणाकालमा जस्ता नभएर यो ‘नेपालीको बानी’ भइसकेको छ । टोले पसलहरूमा माथि जस्तै ‘चिनी कम, रङ कडा’ भन्दै ‘अर्डर’ गर्ने चलन बढ्दो छ ।

प्रकाशित : फाल्गुन २८, २०७३ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?