आलोचना कि निन्दा ?

ईश्वर बुढाथोकी

आलोचनात्मक निन्दा यथार्थत: संसारभरका लेखकका लागि अत्यन्तै ‘अप्रिय’ चीज हो । यसले न शरीरको छालालाई स्पर्श गर्न सक्छ न त यो लगाएको लुगामा नै टाँसिन्छ ।

र, पनि यसका कारण संवेदनशील लेखकहरू विचलित हुन्छन् । उनीहरूको आत्मसन्तुलनमाथिको नियन्त्रण खलबलिन्छ । संयोगले हो या दुर्भाग्यले एकाधबाहेक धेरैजसो लेखक साहित्यकारहरूमा यो ग्रन्थि निकै दम्भी र बलशाली हुन्छ । आलोचनात्मक निन्दा प्राय: लेखकहरूले आफ्ना समकालीन वा वरिष्ठहरूलाई होच्याएर आफूलाई महान् बनाउन सबैभन्दा बढी प्रयोग गर्ने र पुरानो हतियार हो । 

विश्वसाहित्यमा सदियौँदेखि नै खरा आलोचना र निन्दाका प्रहार र प्रतिकार भइरहेका छन् । त्यसले महान् लेखक साहित्यकारहरूबीचको विरोधाभासलाई उजागर गरिरहेको छ । आफू र आफ्ना लेखनमाथि हुने आलोचनात्मक छेडछाड या टिप्पणीलाई आतंककारी हमला नै जस्तो गरेर लेखकहरू प्रतिकारमा उत्रिएका भेटिन्छन् । संसारभर नै औधि रुचाइएका लेखकहरूले किटेरै गरेका एकअर्काको आलोचनात्मक निन्दाहरू हेर्दा ती तीक्ष्ण व्यंग्यात्मक, सांकेतिक र अपत्यारिला त लाग्छन् नै कत्ति त रमाइला अनि साहित्यक महत्त्वका पनि देखिन्छन् । 
अर्नेस्ट हेमिङ्वे एक महान् र अमर साहित्यकारको मात्र नाम नभएर एउटा ऐतिहासिक साहित्यिक संस्थाकै नाम हो । जो विशिष्ट र शक्तिशाली गद्य परम्पराकै मुहान हो । तिनै हेमिङ्वे आफ्ना समकालीन लेखक विन्डम लिविसका कडा आलोचक थिए । सन् १९५४ का नोबेल पुरस्कार विजेता हेमिङ्वेले विन्डमको आलोचना यसरी गरेका थिए, ‘विन्डमको आँखा एउटा सफल बलात्कारीको जस्तो छ । हामी सजिलै बुझ्न सक्छौ ऊ भित्रभित्रै कति विष जमाइरहेको छ ।’ होमिङ्वेकै पनि केही लेखकले निकै धज्जी उडाएका थिए । त्यसरी धज्जी उडाउनेमा एक थिए चर्चित अमेरिकी लेखक विलियम फौकनर । फौकनर भन्थे, ‘पाठकलाई शब्दकोश पल्टाउन पर्ने गरी हेमिङ्वेले कुनै शब्द प्रयोग गरेको थाहै भएन ।’ जवाफमा हेमिङ्वेले भनेका थिए, ‘बिचरा फौकनर, के तिनी साँच्चिक्कै गहन भावना ठूलो (कठिन) शब्दबाट प्राप्त हुन्छन् भनेर सोच्छन् कि क्या हो ? ‘लोलिता’ उपन्यासका लेखक भ्लदिमिर नोबोकोव पनि होमिङ्वेका कडा आलोचक थिए । उनी पनि हेमिङ्वेमाथि यसरी खनिएका थिए, ‘मैले पहिलोपल्ट उनीलाई ४० को दशकको सुरुवाततिर पढेको थिएँ, त्यस्तै केही हल्का–फुल्का विषय थियो, त्यसपछि घृणा गरें ।’ 
अंग्रेजी आख्यानमा हेनरी जेम्सको महत्त्वपूर्ण स्थान छ । आफ्नो समयका सर्वाधिक प्रभावशाली जेम्सप्रति उनकै समकालीन अर्का लेखक ऐचएल मेन्केनको मूल्यांकन गजबको थियो । उनले हेनरी जेम्सलाई एक महामूर्ख र सम्पूर्ण हिसाबले बोस्टन इडियट हुन भनेका थिए । मेन्केनले त अझ यतिसम्म पनि भने कि, ‘यो दुनियाँमा हेनेरी जेम्सभन्दा निकृष्ट लेखक कोही छैन ।’ फेरि तिनै मेन्केनलाई अर्का लेखक विलियम एलेन ह्वाइटले सुँगुरसित तुलना गरिदिएका थिए । रुसका प्रसिद्ध कवि बोरिस पास्तरनाकले सन् १९५८ को नोबेल पुरस्कार पाएर पनि ग्रहण गरेनन् । पाण्डुलिपि लुकाईछिपाई इटाली पुर्‍याएर छपाएको उनको पुस्तक ‘डा. जिभागो’ बहुचर्चित छ । उनका समकालीन आलोचक बी सोमिचास्तनीले बोरिसलाई माथि उल्लिखित आलोचकले झै सुँगुरको संज्ञा दिँदै भनेका थिए, ‘उसले त्यही ठाउँमा फोहोर गर्छ जहाँ सुत्ने र खाने गर्छ ।’ उपन्यासकार जेम्स गोल्डले जान स्टानवेकजस्ता विश्वप्रसिद्ध अमेरिकी लेखकको अपमान गर्दै लेखेका थिए, ‘सानवेकको किताबको दस पेज पढ्नेबित्तिकै फ्याँकिदिऊँजस्तो लाग्छ ।’ ट्रम्यामन क्यापोट ज्याक केराउको लेखनलाई त्यो लेखन होइन, त्यो त टाइपिङ हो भन्दै धज्जी उडाउँथे ।
बेलायतका प्रसिद्ध कवि लर्ड वाइरन अर्का प्रसिद्ध रोमान्टिक कवि जोन किट्सप्रति निकै आक्रामक थिए । किट्सको कविता र व्यक्तित्वलाई होच्याएर उनले यतिसम्म भनेका थिए, ‘यहाँ जोन किट्सको ओछ्यानमा पिसाब चुहाउने कविता छन् । अनि अरू कुन्नि कसको हो भगवान्लाई नै थाहा होला तीनवटा उपन्यास छन् । अब किट्स बिल्कुल चाहिन्न, म आग्रह गर्छु उसको छाला काट्न । यदि तपाईंहरू कोही केही गर्नु हुन्न भने मैले उसको छाला उतार्नैपर्छ । अब त्यो फुच्चेको वाहियात मूर्खतावाद कुनै हालतमा सह्य हुँदैन ।’ यिनै बाइरनलाई तत्कालीन समयको एउटा साहित्यिक पत्रिका ‘एडिनवर्ग रिभ्यु’ मार्फत छद्मनाममा कसैले तुरुन्त कविता लेख्न छोड्नु भनी सल्लाह दिएको थियो । त्यसमा कविता बाइरनको बसको कुरा होइन भन्ने पनि टिप्पणी गरिएको थियो । पुस्किनका समकालीन साहित्यकार कारामिनले त बाइरनको सर्वश्रेष्ठ कविता किताब ‘डोन ज्वाँ’ बारे लेखेका थिए, ‘वेबकुफीले भरिएको यो किताब एकै दृष्टिमा मेरो हातबाट झर्‍यो, कति घृणित कविता छ !’ बाइरनका सर्वाधिक कडा आलोचक भने विलियम हेजलिट थिए । उनी बाइरनप्रति कतिसम्म कठोर थिए भने उनको भनाइले नै पुष्टि गर्छ । उनी भन्थे, ‘बाइरन यस्ता एक्ला कवि हुन् जसले आफ्नो प्रतिभासित बेश्यावृत्ति गरिरहेका छन् ।’ 
भर्जिननिया उल्फ आफ्नो समयकी निकै नै प्रतिभाशाली शालीन, सुन्दर, शिक्षित र बुद्धिमान लेखिका थिइन् । आफ्नो लेखनशक्ति र सामथ्र्यले उनले आफ्नै लेखक, इतिहासकार, आलोचकसमेत रहेका बाबु सर लेसली स्टिफनसमेत छायामा परे । परनिन्दामा उल्फ पनि कम्ताकी थिइनन् । उनले अर्का लेखक जेम्स जोयसको प्रसिद्ध पुस्तक युलिसिसमाथि प्रतिक्रिया दिँदै भनेकी थिइन्, ‘युलिसिस आफ्नो डन्डिफोर कोटयाइरहेको एउटा कमजोर स्नातक तहमुनिको विद्यार्थीको काम हो ।’ त्यस्तै अर्का लेखक, दार्शनिक आल्डस हक्सलीका सिर्जनाविरुद्ध पनि उनले सबै कच्चा, काँचा, विरोध, गरिरहेको भन्दै उपेक्षा गरेकी थिइन् ।
रुसी लेखक भ्लादिमिर नबोकोवको उपन्यास ‘लोलिता’ आख्यानको क्षेत्रमा भूकम्प नै थियो । मर्यादा र नैतिकतालाई भत्काउँदै आएको यस उपन्यासको असर आज पाँच दशकपछि पनि उस्तै छ । तत्कालीन समयमा यो उपन्यास लेखक तथा समीक्षकबाट निकै आलोचित भयो । सन् १९५८ को डिसेम्बरमा भिक्टोरिया सेकविल नामक एक लेखकले लोलिता प्रकाशन गर्ने प्रकाशन संस्था ‘वाइडेनफेल्ड एन्ड निकल्सन’ लाई पत्र लेख्दै भनेका थिए, ‘यस घृणित र अश्लील पुस्तक प्रकाशन गरेकोमा म तपाईंको संस्थाको भत्र्सना गर्छु । म यसमा कुनै साहित्यिक मूल्य भेटाउँदिनँ र यो पुस्तक तपाईंको प्रकाशनगृहको नाममा लागेको कलंक हो ।’ रुसका अत्यन्तै सशक्त उपन्यासकार फ्योदोर दोस्तोएब्स्की पनि भ्लादिमिर नबोकोवको नजरमा आलोच्य थिए । नबोकोव भन्थे, ‘दोस्तोएब्स्कीमा रुचि पहिल्याउने क्षमताको अभाव छ ।’ अर्का पोलिस–ब्रिटिस लेखक जोसेफ कन्रार्डको पनि नबोकोवले बदख्वाइँ गर्दै भनेका छन्, ‘म कन्रार्डको यादगार सौगात पसलको शैली तथा अधिक प्रयोग भएका स्वच्छन्दतावादी सोचका बोतलभित्र बनाइएका जहाज र शंखको हारहरूलाई सहनै सक्दिनँ ।’
प्रसिद्ध अमेरिकी सशक्त कवि वाल्ट ह्विटम्यानले अर्का स्कटिस कवि, लेखक रोबर्ट लुइस स्टेभेन्सनका विरुद्ध यतिसम्म भने, ‘...भर्खरै सिक्रीबाट मुक्त भएर समुद्री किनारहरूमा खोसँ्रदै र चन्द्रमातर्फ हेरेर भुक्दै गरेको एउटा झ्याप्ले कुकुरजस्तो ।’ ‘टाइम मसिन’, ‘इनभिजिवल म्यान’ जस्ता विश्वप्रसिद्ध पुस्तकहरू लेखक एचजी वेल्सले अर्का बेलायती महान् हस्ती जर्ज बर्नाड शाँलाई कत्ति सजिलै अस्पतालमा चिच्याइरहेको एक मूर्ख बच्चा भनिदिए । फ्रान्सेली लेखक, दार्शनिक भोल्तेयरलाई चाल्र्स बौदेलायर गरेको टिप्पणी पनि उदेकलाग्दो थियो । उनले भनेका छन्, ‘मलाई फ्रान्समा दिक्क लाग्यो... र यसको मुख्य कारण हो यहाँ सबै भोल्तेयरजस्ता देखिन्छन्... जो मूर्खहरूका राजा, हावादारीका राजकुमार, कलाकारविरोधी, पालिनीहरूको प्रवक्ता ... हुन् ।’
‘लिभ डेन्जरस्ली’ अर्थात् ‘खतरामा बाँच’ भनेर दुनियाँलाई सन्देश दिने नित्से स्वभावले सन्काहका साथै कडा आलोचक पनि थिए । उनले इटालीका महान् कवि दाँते अलिघिएरीलाई समाधिस्थलमा कविता लेख्ने एउटा हुँडार भनेर उल्याएका थिए । प्रसिद्ध आइरिस कवि, लेखक ओस्कार वाइल्डको लेखन र व्यक्तित्व दुवै विवादास्पद थियो । तर आलोचना गर्ने मामिलामा उनी पनि सिपालु थिए । उनले अंग्रेजी कवि अलेक्ज्यान्डर पोपलाई ‘कविता नरुचाउने दुई तरिका छन् एउटा यसलाई मन नपराउने र अर्कोचाहिँ पोपलाई पढ्ने’ भनेर ख्याँसेका थिए । भिक्टोरिएन कविहरूमध्ये सर्वोच्च बेलायती कवि रोबर्ट ब्राउनिङको प्रखर आलोचक थिए, डब्लूएच अडेन । उनको टिप्पणी थियो, ‘मलाई लाग्दैन कि रोबर्ट ब्राउनिङ सुत्ने कलामा राम्रा थिए । उनकी श्रीमतीले निश्चय पनि उनको राम्रोसँग हेरचाह गर्ने थिइनन् । ऊ निद्रामा घुथ्र्यो र बाह्रवर्षीय किशोरीहरूको कल्पना गथ्र्यो ।’ अर्का अंग्रेजी उपन्यासकार, समीक्षक इभेलिन बाघले फ्रान्सेली उपन्यासकार मर्सेल प्राउस्टमाथि गरेको घोचपेच पनि तीखै थियो । उनको भनाइ थियो, ‘म प्राउस्टलाई पहिलोचोटि पढ्दै छु । अत्यन्त घटिया चीज । मलाई लाग्छ ऊ मानिसक रूपमा खराब थियो ।’ 
हासपरिहासमा अमेरिकी उपन्यासकार मार्क ट्वाइन अद्भुत मानिन्थे । मार्कप्रति विलियम फौकनरको क्रूर कथन यस्तो थियो, ‘एक भाडाका लेखक जसलाई युरोपमा चौथो स्तर पनि नमिल्न सक्थ्यो, जसले सतही र अल्छीलाई आकर्षित गर्न छल गरी केही पुराना निश्चित रूपमा सफल हुन सक्ने साहित्यिक कंकालको प्रयोग गरी त्यसमा पर्याप्त स्थानीयपन पोते ।’ अमेरिकी कवयित्री तथा पत्रकार एलिजावेथ विशोपले जेडी स्यालेन्जरको विश्वप्रसिद्ध उपन्यास ‘क्याचर इन द राई’ माथि गरेको टिप्पणी पनि उल्लेखनीय छ, ‘मैले क्याचर इन द राई’ लाई घृणा गरें । यो पढ्न मलाई धेरै दिन लाग्यो, सावधानीपूर्ण एक पटकमा एक पृष्ठ र हरेक हास्यासपद वाक्य पढेर ऊप्रतिको उल्झनले रातो हुँदै । उनले कसरी त्यसो गर्न पाउँछन् ?’
प्रसिद्ध कवि टीएस इलियटको बहुचर्चित कृति ‘द बेस्ट ल्यान्ड’ लाई होच्याउँदै अमेरिकी लेखक क्लेमेन्ट उडले न्युयोर्कबाट प्रकाशित ‘कल’ पत्रिकामा सन् १९२३ तिर उक्त पुस्तकलाई ‘मुख्र्याइँको धारा’ भनेका थिए । त्यति नै बेला अर्का लेखक एफएल लुकसले ‘द न्यू स्टेट्समेन एन्ड नेसन’ नामक पत्रिकामा इलिएटको उक्त किताब पटक्कै बुझ्न नसकिने, सस्तो नक्कल र व्यर्थको टिप्पणी पनि भने । फ्रान्सेली कवि एवं चर्चित उपन्यासकार अनातोले फ्रान्सको आलोचना गर्दै त्यति बेलाका ब्रिटिस उपन्यासकार तथा समीक्षक डब्लूबी मेक्सबेलले लेखेका थिए, ‘अनातोलेमा न मौलिकता छ न बिचार नै ! लेखकका रूपमा उनी स्वार्थी र गिरेका छन् भने पाठकका दृष्टिमा मिडियाबाजीका कारण तानिएका मात्र हुन् ।’ अर्का लोकप्रिय र प्रसिद्ध लेखक चार्स डिकेन्सका विरुद्धमा पनि सन् १८५९ मा सर फिटजेम्स स्टेफनले लेखेका थिए, ‘डिकेन्स जतिसुकै प्रसिद्ध भए पनि उनको लेखन निकृष्ट छ ।’ १८७२ तिर अर्का आलोचक हेनरी लिविसले पनि डिकेन्सका बीसौँ पुस्तकमा एउटै पनि गतिलो नभएको भन्दै निदा गरेका थिए ।  ब्युटी एन्ड ब्रेनको फ्युजन मानिएकी चर्चित लेखिका जेन अस्टिनप्रति पनि समीक्षकहरूको दृष्टि उपेक्षापूर्ण नै थियो । उनका उपन्यासको सम्यक् मूल्यांकन गर्नुको साटो समीक्षकहरूले उनको आलोचनामै शब्दको खर्च गर्थे । राल्फ वाल्डो इमर्सनले उनको आलोचना गर्दै लेखेका थिए, ‘सुश्री अस्टिनका उपन्यासहरू... शैलीका आधारमा मलाई उच्छृंखल लाग्छन्, कलात्मक अन्वेषणमा बाँझो लाग्छन्, अंग्रेज समुदायका दु:खी परम्परामा कैद भएका, प्रतिभा, बुद्धि र संसारको ज्ञानविहीन । जीवन यस्तो तनावपूर्ण र साँघुरो कहिल्यै थिएन । लेखकको दिमागमा एक समस्या छ... वैवाहिक योग्यताको ।’ मार्क ट्वाइनले गरेको अस्टिनको आलोचना झन् कठोर थियो । उनले लेखेका थिए, ‘मलाई पुस्तकको आलोचना गर्ने अधिकार छैन र मैले तिनीहरूलाई घृणा नगरेसम्म म त्यसो गर्दिनँ । म प्राय: जेन अस्टिनको आलोचना गर्न चाहन्छु तर उनका पुस्तकहरूले मेरो पारो ततायो त्यसकारण म मेरा पाठकहरूलाई मेरो आवेश लुकाउन सक्दिनँ, र त्यसैले हरेकपल्ट मैले सुरु गर्नेबित्तिकै बन्द गर्नुपथ्र्यो । हरेकपल्ट मैले ‘प्राइड एन्ड प्रिजडिस’ पढ्दा मैले उनीलाई जमिनबाट खोतलेर माथि ल्याई उनकै नलीहाडले उनको खप्परलाई हिर्काउन मन लाग्यो ।’
अंग्रेजी उपन्यासकार, कवि नाटकार, डीएच लरेन्सको पुस्तक ‘लेडी चटर्लिज लभर’ माथि जोसेफ कन्राडको मूल्यांकन थियो, ‘फोहोरी केही छैन अरू, मात्र यौन दुराचार ।’ लरेन्सले अर्का लेखक जेम्स जोयसप्रति कटाक्ष गरेका थिए, ‘हे भगवान्, कस्तो बेढंगको खिचडी हो जेम्स जोयस । बाइबलको उद्धरणलाई शिथिल बूढो र बन्दागोभीको ठुटो जसरी र बाँकीमा जानाजानी पत्रकारिताजन्य फोहोरी दिमाग मिसाइएको बाहेक अरू केही छैन ।’ सन् १९२३ मा तिनै लरेन्सले हर्मन मेलाभिलका बारेमा लेखे, ‘हर्मन मेलामिल जत्तिको जोकर बेढंगी तथा नैतिक रूपमा अमिल्दो (कुरा) अरू केही हुनै सक्दैन । उसको महान् पुस्तक ‘मोबी डिक’ मा समेत जो उच्च गम्भीरताबाट पाक्छ । त्यहाँ यसका बारेमा केही झूट छन् र त्यो हो मेलामिल । ओह प्रिय, जब भद्र गधाले चिच्याउने गर्छ ।’ 
आलोचनाको पछिल्लो शृंखलामा सन् २००० मा प्रसिद्ध उपन्यासकार जोन इरविङले समकालीन लेखक टम उल्फको लेखन अत्यन्तै अपढनीय भएको भन्दै आलोचना गरेका थिए । तर जवाफमा उल्फले पनि कडा प्रतिक्रिया दिँदै भनेका थिए, ‘इरविङ उपन्यासकारका रूपमा फिक्का भइसकेका छन् । उनी पाठकका सूचीमा पर्दैनन् ।’ प्रसिद्ध अमेरिकी उपन्यासकार गोर भिडालले अर्का अमेरिकी उपन्यासकार नारमेन मेलरको ‘नेकेड एन्ड द डेथ’ पढेपछि त्यसको आलोचना गर्दै उल्लेख गरेका थिए, ‘यो पुस्तक धोका हो । चतुर्‍याइँपूर्वक लेखिएको झूटो र अवास्तविक रचना हो ।’ विडालले अर्का अमेरिकी कथाका, नाटककार र अभिनेतासमेत रहेका ट्रम्यान क्यापोटलाई झूटो लेखनलाई कला बनाएको आरोप लगाएका थिए । विडालले ट्रयुम्यान क्यापोटका बारेमा लेखका छन्, ‘ऊँ पूर्ण रूपमा कान्सासको गृहिणी हो, सम्पूर्ण पूर्वाग्रहसहित ।’ यी ट्रयुम्यान क्यापोट पनि अर्का लेखक ज्याक केराउकको लेखनलाई लेखनलाई ‘त्यो लेखन होइन, त्यो त टाइपिङ हो’ भन्थे ।
यी सन्दर्भहरूबाट प्रस्ट हुन्छ, लेखकहरूमा प्रतिशोधको भावना कतिसम्म उग्र हुन्छ भनेर । एउटा लेखकले अर्काे लेखकमाथि गर्नेे पूर्वाग्रही भएर गर्ने आलोचनात्मक टिप्पणी तथा निन्दा गर्दा लेखकहरूले लेखकीय महत्त्व र मर्यादाको अन्डरलाइनलाई पनि ख्याल गरेको त्यति देखिन्न । एक लेखकको अन्य लेखकप्रतिको दुर्भावना पनि उचित होला र ? दम्भ अवैध नभए पनि अवगुण त पक्कै हो । 
(विभिन्न वेबसाइट, केही पुस्तक र भारतीय पत्रिका ‘कादम्बिनी’ मा सन् २००० को जुन अङ्कमा छापिएको एउटा लेखमा आधारित)

प्रकाशित : पुस २३, २०७३ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्

पृथ्वी गोलै रहेछ

खगेन्द्रप्रसाद लुइटेल

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा अस्ट्रेलियाको सिड्नीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनको समापनपछि सिड्नी, ओलङ्गङ, अस्ट्रेलियाको राजधानी क्यानबेरा आदिको रमाइलो भ्रमण सकी म र पत्नी लीला लुइटेल मेलबर्नतर्फ लाग्यौँ ।

सिड्नीदेखि मेलबर्नसम्मको भूमि हेर्ने उद्देश्यले ट्रेनमा जाने निर्णय गरियो । बाटामा मौका परे कङ्गारु पनि हेर्नु थियो । बिहान छ बजे नै हामी भीमसेनका घरबाट हिँड्यौँ । उनले हामीलाई सिड्नी सेन्ट्रलमा पुर्‍याएर ट्रेन चढाई मुस्कानका साथ बिदा गरे । साढे सात बजे ट्रेन हिँड्यो । भारतीय ट्रेनमा जस्तो चना चटपटे बेच्न त्यहाँ कोही नआए पनि अर्थाेकै बेच्नचाहिँ कालागोरा आइरहन्थे । हामीले चाहिँ भीमसेनकी श्रीमतीले हालिदिएका खानेकुरा खायौँ । ट्रेनमा अनेक देशका अनेकथरी मान्छे, सब आनाआना धुनमा । कसैलाई कसैको वास्ता छैन । हामीलाई चाहिं बाहिरको भूगोल र कङ्गारुको वास्ता गर्नुथियो । भूगोल त दिनभर धित मरुन्जेल हेरियो तर कङ्गारु हेर्ने धित भने मरेन । बाटामा मैले दुई–तीन ठाउँ कङ्गारु देखेँ तर बूढीलाई देखाउँदादेखाउँदै ट्रेन निकै अगाडि बढिसकेको हुन्थ्यो ।
हाम्रा सिटको पछिल्तिर त्यहाँकी आदिवासी महिला थिइन् । उनका दुइटा सानासाना बच्चा उत्पातकै थिए । ती वरपर घुमेर सबसँग कुरा गर्न खोज्थे । ती निर्दाेष बच्चामा कुनै जातीय विभेद थिएन, भाषा मात्र फरक थियो । ती हाम्रा छेउमा पनि आउँथे । तिनले जानेको र बोल्ने गरेको भाषा हामीले कहिल्यै सुनेकै थिएन अनि हामीले जानेको र बोल्ने गरेको भाषा तिनीहरूलाई पत्तै थिएन । तैपनि इसारैइसारामा तिनीहरूसँग कुराकानी भयो । यसरी बेलाबेला भित्रको र बेलाबेला बाहिरको दृश्यावलोकन गर्दै हामी साढे छ बजे मेलबर्न साउदर्न स्टेसनमा पुग्यौँ । त्यहाँ हामीलाई लिन अनन्त पोखरेल आइसकेका थिए । उनले हामीलाई सहर घुमाउँदै बासस्थान नर्थकोट पुर्‍याए । दिनभरको ट्रेन यात्रामा पनि हामीलाई थकानको अनुभूति फिटिक्कै थिएन । खाना खाएर एक छिन गफगाफ गरी सुतियो ।
अर्काे दिन अनन्त र पवन गिरीले मेलबर्न सहर घुमाउन लगे । फेडरेसन स्क्वायरमा मुम्बा फेस्टिभल रहेछ । त्यहाँ पानीका सानासाना बोतल नि:शुल्क बाँडिरहेका थिए । हामीले पनि खायौँ । त्यहाँ पानी बाँडेको देख्दा मलाई अक्षयतृतीयाको झझल्को आयो । हाम्रो अक्षयतृतीयाको पानी बँडाइ धार्मिक आस्थामा आधारित छ भने त्योचाहिँ विज्ञापन थियो । त्यस फेस्टिभलमा गानबजान, रिमिकझिमिक आदि हेर्दै केही क्षण बिताइयो । पानी पर्दा पनि सेडमा खेल खेलाउन सकिने विश्वप्रसिद्ध इतिहाड स्टेडियम, हरेक वर्ष नोभेम्बरको पहिलो मङ्गलबार हुने निकै महँगो मेलबर्न कप घोडा दौड प्रतियोगितास्थल लेमिङ्टन, महिलाले चलाएको बग्गी आदि सब हेर्न बाँकी राखिएन । त्यहाँ गाडी लिएर घुम्नुभन्दा फ्रिमा सञ्चालित सिटी सर्कल ट्राममा घुम्न सहज हुने रहेछ । हामीले गाडी पार्किङ गरेर त्यो मौका पनि छोडेनौँ ।
हामी भिक्टोरिया पार्लियामेन्ट, नेसनल ग्यालरी अफ भिक्टोरिया, आर्ट सेन्टर मेलबर्न ह्यामर हल, बोटानिकल गार्डेन, कृत्रिम रूपमा बनाइएको यारा रिभर, लिन्डर स्ट्रिट स्टेसन (घडी भवन), साउथ गेट आदि अनेक ठाउँका साथै पुरानो बन्दरगाह डकल्यान्ड पायर पनि घुम्यौँ । बोटानिकल गार्डेनको भुइँमा बनाएको ठूलो घडी अनौठो देखियो । ठाउँठाउँ विभिन्न पोजमा राता मान्छेका सालिक र प्रसिद्ध गायकका सालिक पनि हेरियो । सबैतिरको सुन्दरताले हामीलाई निकै मोहित तुल्यायो । शेष घलेको शैक्षिक संस्था पनि हेरियो ।
हिँड्दाहिँड्दै थकित भएका बेला क्याथोलिक चर्चभित्र पसेर एक छिन आराम पनि गरियो । यी सबैतिर घुम्दा दिन गएको पत्तै भएन । रात पर्न लागिसकेपछि हामी नर्थ कोटमै फर्कियौँ ।
अर्काे दिन सर्वप्रथम हरे राम हरे कृष्ण मन्दिरमा दर्शन गरी सेन्ट किल्डा बिचतिर लागियो । समुद्रतिर घुम्न जाने भनेपछि मेरी बूढी पनि फुरुक्कै... । पानीमा एक छिन खेलियो पनि । नर्थल्यान्ड सपिङ मलमा पनि केही छिन पसियो । त्यस दिन सहरका धेरै ठाउँ घुमियो ती सब ठाउँको नाम याद गरिएन । आफ्नै देशका विभिन्न गाउँ टोलका नाम त पूरै याद गरिएको छैन भने अर्काका देशका सबै याद गर्नु आवश्यक ठानिएन । त्यसै दिन साउथ मेलबर्नमा ताज्मानिया जाने ठूलो सीप पनि देखियो । मेलबर्न बसोबासका दृष्टिले पनि निकै सुन्दर शान्त सहर रहेछ ।
मार्च १४ को बिहानै ६ बजे हामी ग्रेट ओसन (आन्टार्टिक ओसन) तर्फ प्रस्थान गर्‍यौँ । दुई घन्टा जतिपछि कोलाक सहर पुगेर केही क्षण आराम गरियो । त्यहाँ बनाइएको प्रथम विश्वयुद्धको सुन्दर स्मारकलगायतको दृश्यावलोकनपछि हाम्रो यात्रा अगाडि बढ्यो । जताततै घना जङ्गल... आगलागीको समस्या । महिनौँसम्म आगो निभाउन नसकेको खबर सुन्दा पहिला आश्चर्य लाग्थ्यो तर प्रत्यक्ष देखेपछि सबै कुरा अनुभूत भयो । वनजङ्गल, झाडी, बुट्यान आदि हेर्दै हामी १० बजेतिर पोर्ट क्याम्बल नेसनल पार्क पुग्यौँ र ग्रेट ओसनतिर लाग्यौँ ।
मैले संसारका धेरै समुद्र देखिसकेको भए पनि त्यो समुद्र मेरा लागि पनि निकै आश्चर्यजनक थियो । छिनाले काटेको भन्दा पनि राम्ररी ढुङ्गा काटेर समुद्रले पहरो बनाएको देख्दा छक्क परियो । ठाउँठाउँमा दृश्यावलोकन स्थल (भ्युइङ प्वाइन्ट) बनाइएका... । तिनमा उभिएर वरपर हेर्न त के फोटो खिच्नाका लागि पनि लाइन लाग्नुपर्ने । पहराबाटै २.२ किमि तल समुद्रमा जान मानिस ओहोरदोहोर गर्न निकै कठिन पर्ने खालको साँघुरो सिँढी (जिप्सन स्टेप आउटलुक) बनाइएको रहेछ । ठाउँ–ठाउँ अलि चिप्लो पनि । हामी त्यही सिँढीबाट सतर्कतापूर्वक ओर्लिएर समुद्रमा पुग्यौँ ।
समुद्रको किनारमा १२ वटा ढुङ्गाका खम्बा रहेछन्, बारखम्बा रोड भनेजस्तै बारखम्बे समुद्र भन्न मिल्ने । यिनमा दुइटा प्राय: ढलिसकेका र दुइटा ढल्न लागेका अनि बाँकी आठवटाचाहिँ मजबुत रहेछन् । ती सबै दृश्य हेर्दै केही छिन पानीमा खेलेर हामी सिँढीबाटैमाथि आयौँ । निकै राम्रो पर्यटकीय स्थलका रूपमा रहेको त्यस ठाउँसम्म पुग्ने बाटो बनाउने र समुद्रतिर झर्ने सामान्य सिँढी बनाउनेबाहेक अरू सबै सुन्दरता प्रकृतिप्रदत्त... ।
हामी लन्डन ब्रिजतर्फ लाग्यौँ । त्यहाँ समुद्रले नै काटेर बनाएको पुलको आकार लन्डन ब्रिजजस्तै रहेछ । सन् १९९० मा भाँच्चिएर त्यसको समुद्रतिरको भागमा दुई जना फसेछन् र हेलिकोप्टरले उद्धार गरेछ । त्यहाँ समुद्रले नै एउटा गुफा बनाएको देख्दा आश्चर्य लाग्यो ।
पृथ्वीको सबैभन्दा पल्लो किनार आन्टार्टिक ओसन कुनै दिन पुगिएला भन्ने कल्पनासम्म पनि गरिएको थिएन तर यथार्थमा पुगियो । त्यहाँबाट गोलो अन्डाकार क्षितिज देख्दा पृथ्वी साँच्चिकै गोलो नै रहेछ भन्ने लाग्यो । त्यस ठाउँलाई विश्वकै एउटा प्राकृतिक सुन्दरताको नमुना मान्न सकिन्छ । त्यस सुन्दरताको अवलोकन हेलिकोप्टरबाट पनि गराइँदो रहेछ ।
वर्णानातीत प्राकृतिक सौन्दर्यलाई आँखा, मन, मस्तिष्क र क्यामरामा राखेर हामी त्यस क्षेत्रकै हरियाली तथा घोडा, भेडा र गाईपालन हेर्दै अगि बढ्यौँ । जति हेर्‍यो उति हेरौँहेरौँ लाग्ने त्यहाँको समथर भूभाग आँखाले देखुन्जेल हेर्दै आइयो । हामी पहिले गएको भन्दा अर्कै बाटो फर्कियौँ । बाटो अलि भिरालो भए पनि त्यति डरलाग्दो थिएन । बाटोमा कतैतिर गाडी रोकेर खानेकुरा खाइयो । उत्पात हावा चलेकाले बाहिर बसेर खान नसकी गाडीभित्रै खाइयो ।
बाटामा पर्ने जिलाङ सहर आई त्यहाँको युनिभर्सिटी, वाटर फन सिटी, पार्क आदि घुमेर केही क्षण बिताइयो । त्यो पनि निकै सुन्दर पर्यटकीय स्थल रहेछ । हेलिकोप्टरबाट समेत यात्रा गराइँदो रहेछ त्यहाँ पनि । साँच्चै भन्ने हो भने त्यो क्षेत्र सबै नै त्यत्तिकै सुन्दर भएकाले प्राकृतिक पर्यटकीय स्थल रहेको अनुभूति गरियो । यति लामो अद्भुत यात्रा पूरा गरी हामी सात बजे नर्थकोट आइपुग्यौँ । त्यस दिनको यात्रा अहिलेसम्म संसारमा गरेका अनगिन्ती यात्राहरूसँग समेत तुलना गर्नै नसकिने अद्भुतको यात्रा थियो ।

प्रकाशित : पुस २३, २०७३ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्