२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पृथ्वी गोलै रहेछ

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा अस्ट्रेलियाको सिड्नीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनको समापनपछि सिड्नी, ओलङ्गङ, अस्ट्रेलियाको राजधानी क्यानबेरा आदिको रमाइलो भ्रमण सकी म र पत्नी लीला लुइटेल मेलबर्नतर्फ लाग्यौँ ।

पृथ्वी गोलै रहेछ

सिड्नीदेखि मेलबर्नसम्मको भूमि हेर्ने उद्देश्यले ट्रेनमा जाने निर्णय गरियो । बाटामा मौका परे कङ्गारु पनि हेर्नु थियो । बिहान छ बजे नै हामी भीमसेनका घरबाट हिँड्यौँ । उनले हामीलाई सिड्नी सेन्ट्रलमा पुर्‍याएर ट्रेन चढाई मुस्कानका साथ बिदा गरे । साढे सात बजे ट्रेन हिँड्यो । भारतीय ट्रेनमा जस्तो चना चटपटे बेच्न त्यहाँ कोही नआए पनि अर्थाेकै बेच्नचाहिँ कालागोरा आइरहन्थे । हामीले चाहिँ भीमसेनकी श्रीमतीले हालिदिएका खानेकुरा खायौँ । ट्रेनमा अनेक देशका अनेकथरी मान्छे, सब आनाआना धुनमा । कसैलाई कसैको वास्ता छैन । हामीलाई चाहिं बाहिरको भूगोल र कङ्गारुको वास्ता गर्नुथियो । भूगोल त दिनभर धित मरुन्जेल हेरियो तर कङ्गारु हेर्ने धित भने मरेन । बाटामा मैले दुई–तीन ठाउँ कङ्गारु देखेँ तर बूढीलाई देखाउँदादेखाउँदै ट्रेन निकै अगाडि बढिसकेको हुन्थ्यो ।
हाम्रा सिटको पछिल्तिर त्यहाँकी आदिवासी महिला थिइन् । उनका दुइटा सानासाना बच्चा उत्पातकै थिए । ती वरपर घुमेर सबसँग कुरा गर्न खोज्थे । ती निर्दाेष बच्चामा कुनै जातीय विभेद थिएन, भाषा मात्र फरक थियो । ती हाम्रा छेउमा पनि आउँथे । तिनले जानेको र बोल्ने गरेको भाषा हामीले कहिल्यै सुनेकै थिएन अनि हामीले जानेको र बोल्ने गरेको भाषा तिनीहरूलाई पत्तै थिएन । तैपनि इसारैइसारामा तिनीहरूसँग कुराकानी भयो । यसरी बेलाबेला भित्रको र बेलाबेला बाहिरको दृश्यावलोकन गर्दै हामी साढे छ बजे मेलबर्न साउदर्न स्टेसनमा पुग्यौँ । त्यहाँ हामीलाई लिन अनन्त पोखरेल आइसकेका थिए । उनले हामीलाई सहर घुमाउँदै बासस्थान नर्थकोट पुर्‍याए । दिनभरको ट्रेन यात्रामा पनि हामीलाई थकानको अनुभूति फिटिक्कै थिएन । खाना खाएर एक छिन गफगाफ गरी सुतियो ।
अर्काे दिन अनन्त र पवन गिरीले मेलबर्न सहर घुमाउन लगे । फेडरेसन स्क्वायरमा मुम्बा फेस्टिभल रहेछ । त्यहाँ पानीका सानासाना बोतल नि:शुल्क बाँडिरहेका थिए । हामीले पनि खायौँ । त्यहाँ पानी बाँडेको देख्दा मलाई अक्षयतृतीयाको झझल्को आयो । हाम्रो अक्षयतृतीयाको पानी बँडाइ धार्मिक आस्थामा आधारित छ भने त्योचाहिँ विज्ञापन थियो । त्यस फेस्टिभलमा गानबजान, रिमिकझिमिक आदि हेर्दै केही क्षण बिताइयो । पानी पर्दा पनि सेडमा खेल खेलाउन सकिने विश्वप्रसिद्ध इतिहाड स्टेडियम, हरेक वर्ष नोभेम्बरको पहिलो मङ्गलबार हुने निकै महँगो मेलबर्न कप घोडा दौड प्रतियोगितास्थल लेमिङ्टन, महिलाले चलाएको बग्गी आदि सब हेर्न बाँकी राखिएन । त्यहाँ गाडी लिएर घुम्नुभन्दा फ्रिमा सञ्चालित सिटी सर्कल ट्राममा घुम्न सहज हुने रहेछ । हामीले गाडी पार्किङ गरेर त्यो मौका पनि छोडेनौँ ।
हामी भिक्टोरिया पार्लियामेन्ट, नेसनल ग्यालरी अफ भिक्टोरिया, आर्ट सेन्टर मेलबर्न ह्यामर हल, बोटानिकल गार्डेन, कृत्रिम रूपमा बनाइएको यारा रिभर, लिन्डर स्ट्रिट स्टेसन (घडी भवन), साउथ गेट आदि अनेक ठाउँका साथै पुरानो बन्दरगाह डकल्यान्ड पायर पनि घुम्यौँ । बोटानिकल गार्डेनको भुइँमा बनाएको ठूलो घडी अनौठो देखियो । ठाउँठाउँ विभिन्न पोजमा राता मान्छेका सालिक र प्रसिद्ध गायकका सालिक पनि हेरियो । सबैतिरको सुन्दरताले हामीलाई निकै मोहित तुल्यायो । शेष घलेको शैक्षिक संस्था पनि हेरियो ।
हिँड्दाहिँड्दै थकित भएका बेला क्याथोलिक चर्चभित्र पसेर एक छिन आराम पनि गरियो । यी सबैतिर घुम्दा दिन गएको पत्तै भएन । रात पर्न लागिसकेपछि हामी नर्थ कोटमै फर्कियौँ ।
अर्काे दिन सर्वप्रथम हरे राम हरे कृष्ण मन्दिरमा दर्शन गरी सेन्ट किल्डा बिचतिर लागियो । समुद्रतिर घुम्न जाने भनेपछि मेरी बूढी पनि फुरुक्कै... । पानीमा एक छिन खेलियो पनि । नर्थल्यान्ड सपिङ मलमा पनि केही छिन पसियो । त्यस दिन सहरका धेरै ठाउँ घुमियो ती सब ठाउँको नाम याद गरिएन । आफ्नै देशका विभिन्न गाउँ टोलका नाम त पूरै याद गरिएको छैन भने अर्काका देशका सबै याद गर्नु आवश्यक ठानिएन । त्यसै दिन साउथ मेलबर्नमा ताज्मानिया जाने ठूलो सीप पनि देखियो । मेलबर्न बसोबासका दृष्टिले पनि निकै सुन्दर शान्त सहर रहेछ ।
मार्च १४ को बिहानै ६ बजे हामी ग्रेट ओसन (आन्टार्टिक ओसन) तर्फ प्रस्थान गर्‍यौँ । दुई घन्टा जतिपछि कोलाक सहर पुगेर केही क्षण आराम गरियो । त्यहाँ बनाइएको प्रथम विश्वयुद्धको सुन्दर स्मारकलगायतको दृश्यावलोकनपछि हाम्रो यात्रा अगाडि बढ्यो । जताततै घना जङ्गल... आगलागीको समस्या । महिनौँसम्म आगो निभाउन नसकेको खबर सुन्दा पहिला आश्चर्य लाग्थ्यो तर प्रत्यक्ष देखेपछि सबै कुरा अनुभूत भयो । वनजङ्गल, झाडी, बुट्यान आदि हेर्दै हामी १० बजेतिर पोर्ट क्याम्बल नेसनल पार्क पुग्यौँ र ग्रेट ओसनतिर लाग्यौँ ।
मैले संसारका धेरै समुद्र देखिसकेको भए पनि त्यो समुद्र मेरा लागि पनि निकै आश्चर्यजनक थियो । छिनाले काटेको भन्दा पनि राम्ररी ढुङ्गा काटेर समुद्रले पहरो बनाएको देख्दा छक्क परियो । ठाउँठाउँमा दृश्यावलोकन स्थल (भ्युइङ प्वाइन्ट) बनाइएका... । तिनमा उभिएर वरपर हेर्न त के फोटो खिच्नाका लागि पनि लाइन लाग्नुपर्ने । पहराबाटै २.२ किमि तल समुद्रमा जान मानिस ओहोरदोहोर गर्न निकै कठिन पर्ने खालको साँघुरो सिँढी (जिप्सन स्टेप आउटलुक) बनाइएको रहेछ । ठाउँ–ठाउँ अलि चिप्लो पनि । हामी त्यही सिँढीबाट सतर्कतापूर्वक ओर्लिएर समुद्रमा पुग्यौँ ।
समुद्रको किनारमा १२ वटा ढुङ्गाका खम्बा रहेछन्, बारखम्बा रोड भनेजस्तै बारखम्बे समुद्र भन्न मिल्ने । यिनमा दुइटा प्राय: ढलिसकेका र दुइटा ढल्न लागेका अनि बाँकी आठवटाचाहिँ मजबुत रहेछन् । ती सबै दृश्य हेर्दै केही छिन पानीमा खेलेर हामी सिँढीबाटै माथि आयौँ । निकै राम्रो पर्यटकीय स्थलका रूपमा रहेको त्यस ठाउँसम्म पुग्ने बाटो बनाउने र समुद्रतिर झर्ने सामान्य सिँढी बनाउनेबाहेक अरू सबै सुन्दरता प्रकृतिप्रदत्त... ।
हामी लन्डन ब्रिजतर्फ लाग्यौँ । त्यहाँ समुद्रले नै काटेर बनाएको पुलको आकार लन्डन ब्रिजजस्तै रहेछ । सन् १९९० मा भाँच्चिएर त्यसको समुद्रतिरको भागमा दुई जना फसेछन् र हेलिकोप्टरले उद्धार गरेछ । त्यहाँ समुद्रले नै एउटा गुफा बनाएको देख्दा आश्चर्य लाग्यो ।
पृथ्वीको सबैभन्दा पल्लो किनार आन्टार्टिक ओसन कुनै दिन पुगिएला भन्ने कल्पनासम्म पनि गरिएको थिएन तर यथार्थमा पुगियो । त्यहाँबाट गोलो अन्डाकार क्षितिज देख्दा पृथ्वी साँच्चिकै गोलो नै रहेछ भन्ने लाग्यो । त्यस ठाउँलाई विश्वकै एउटा प्राकृतिक सुन्दरताको नमुना मान्न सकिन्छ । त्यस सुन्दरताको अवलोकन हेलिकोप्टरबाट पनि गराइँदो रहेछ ।
वर्णानातीत प्राकृतिक सौन्दर्यलाई आँखा, मन, मस्तिष्क र क्यामरामा राखेर हामी त्यस क्षेत्रकै हरियाली तथा घोडा, भेडा र गाईपालन हेर्दै अगि बढ्यौँ । जति हेर्‍यो उति हेरौँहेरौँ लाग्ने त्यहाँको समथर भूभाग आँखाले देखुन्जेल हेर्दै आइयो । हामी पहिले गएको भन्दा अर्कै बाटो फर्कियौँ । बाटो अलि भिरालो भए पनि त्यति डरलाग्दो थिएन । बाटोमा कतैतिर गाडी रोकेर खानेकुरा खाइयो । उत्पात हावा चलेकाले बाहिर बसेर खान नसकी गाडीभित्रै खाइयो ।
बाटामा पर्ने जिलाङ सहर आई त्यहाँको युनिभर्सिटी, वाटर फन सिटी, पार्क आदि घुमेर केही क्षण बिताइयो । त्यो पनि निकै सुन्दर पर्यटकीय स्थल रहेछ । हेलिकोप्टरबाट समेत यात्रा गराइँदो रहेछ त्यहाँ पनि । साँच्चै भन्ने हो भने त्यो क्षेत्र सबै नै त्यत्तिकै सुन्दर भएकाले प्राकृतिक पर्यटकीय स्थल रहेको अनुभूति गरियो । यति लामो अद्भुत यात्रा पूरा गरी हामी सात बजे नर्थकोट आइपुग्यौँ । त्यस दिनको यात्रा अहिलेसम्म संसारमा गरेका अनगिन्ती यात्राहरूसँग समेत तुलना गर्नै नसकिने अद्भुतको यात्रा थियो ।

प्रकाशित : पुस २३, २०७३ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?