कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हजार मूर्तिको सपना

प्रवीण बानियाँ

नागरिकताको नाम– मञ्जुल बराइली, वर्ष ३६ । किन हो कुन्नि ! उनलाई फरक नाम चाहियो । तब उनले आफ्नो न्वारन आफैं गरे ।

हजार मूर्तिको सपना

र, बने– मञ्जुल मितेरी । कुनै कविताको एक पंक्तिजस्तो लाग्ने यही मिठो नामले उनलाई देश–विदेशमा चिनाएको छ । 

मूर्तिकार मञ्जुल मितेरीले १२ वर्षको छँदा पहिलो पटक पाठ्यक्रममा कलाकार अरनिकोको जीवनी पढे । र, उनको कलाकारिता बुझे । अरनिकोदेखि प्रभावित मञ्जुलभित्र त्यसै बेलादेखि उनीजस्तै मूर्तिकार–कलाकार हुने रहर पलाउन थाल्यो । अन्तत: रहरैरहरमा उनी ढुंगा, छिनो र हथौडासँग खेल्न थाले । ‘सुरु–सुरुमा रहरले लागियो,’ मञ्जुल भन्छन्, ‘अहिले आएर मूर्तिकला नै व्यवसाय बनेको छ ।’
०००
मञ्जुलले ०४६ सालको जनआन्दोलन धेरथोर बुझेका छन् । प्रत्यक्ष नभोगे पनि त्यसको राप र ताप उनलाई थाहा छ । त्यसताका उनले विश्वका ठूल्ठूला आन्दोलन र क्रान्तिसँग जोडिएका चर्चित व्यक्तिका जीवनी पढ्न भ्याए । उनीहरूको संघर्षबाट प्रभावित मञ्जुलको दिमागमा पछि एकाएक महत्त्वाकांक्षी रहर उब्जियो— ती विश्वप्रसिद्ध व्यक्तिहरूको ढुंगेमूर्ति कुँद्ने र संग्रहालय बनाउने । मञ्जुल अहिले त्यही रहरको अघिपछि दौडिरहेका छन् । 
दुई वर्ष भयो— मञ्जुलले एक हजार थान ढुंगेमूर्ति बनाएर राष्ट्रलाई ‘उपहार’ दिने घोषणा गरेको । सुन्दै गजबको लाग्ने कुरा– त्यसरी बनाइएका हजार मूर्ति संसारका विभिन्न समयका विश्वप्रसिद्ध व्यक्तिहरूका हुनेछन् । करिब दुई वर्षको बीचमा मञ्जुलले एक सय ८० वटा मूर्ति बनाइसकेका छन् । ‘घर चलाउन पनि मूर्ति नै कुद्नुपर्छ, समय नै हुँदैन,’ उनी भन्छन्, ‘यसमा मात्रै लागेको भए त अहिलेसम्ममा थुप्रै मूर्ति बनिसक्थें ।’
मोरङको ग्रामीण क्षेत्र टाँडी घर भएका मञ्जुलले सात वर्षअघि उर्लाबारी बजारमा आफ्नै नामबाट संग्रहालय खोलेका छन्— मञ्जुल संग्रहालय । साँघुरो कोठामा ढुंगामा कुँदिएका साना–मझौला गरी करिब अढाई सय मूर्ति छन् । संग्रहालय झट्ट हेर्दा संग्रहालयजस्तो लाग्दैन, सहरको डेराजस्तो लाग्छ । यद्यपि, हजार मूर्तिअन्तर्गत बनेका सयौं मूर्ति त्यही कोठामा धूलोले छोपिएको अवस्थामा छन् ।
राज्यसँग मञ्जुलको एउटा अपेक्षा छ— आफूले राष्ट्रलाई उपहारस्वरूप दिन बनाएका मूर्तिको व्यवस्थापन र बाँकी मूर्ति बनाउन आवश्यक खर्चको व्यवस्था सरकारले गरिदेओस् । तर, उनले आजसम्म कुनै सरकारी निकायबाट त्यस्तो सहयोग पाएका छैनन्, न त सहयोगको आश्वासन नै । बरु, साथीभाइ र स्थानीय संघ–संस्थाले उनलाई प्रेमपूर्वक सानोतिनो सहयोग गरेका छन् । 
०००
ढुंगामा अनेकौं आकृति उतार्ने मञ्जुल एकताका उसुका खेलाडी हुन् । यसबाहेक उनी गीतकार–कथाकार पनि हुन् । उनी आफैं गीत लेख्छन्, गाउँछन् र धुनसमेत आफैं भर्छन् । आउँदो वर्ष उनी गीतको सोलो एल्बम रिलिज गर्ने तयारीमा छन् । कथालेखनमा पनि दखल राख्ने मञ्जुलको कथाको त किताबै छ । जे होस्, उनलाई मूर्तिकला मात्र नभई साहित्यको आँखीझ्यालबाट पनि हेर्न सकिन्छ । 
उनै मञ्जुलले गत वर्ष असारमा काठमान्डूमा राष्ट्रिय युवा प्रतिभा पुरस्कार–०७२ थापे, ५० हजार रुपैयाँको थैलीसहित । रेडियोबाट आफू पुरस्कारको भागीदार भएको समाचार सुन्दा सुरुमा उनलाई पत्यारै लागेन । पछि साथीभाइबाट बधाई आउन थालेपछि मात्र उनले पत्याए । ‘मैले यो पुरस्कार पाउँला भनेर सोचेकै थिइनँ,’ उनले सरप्राइजमा मिलेको खुसी बाँडे । 
०००
हजार मूर्तिको सपनाको दौरान मञ्जुलले अनेक समस्या झेलेका छन् । मुख्यत: आर्थिक समस्या । मूर्ति बनाउन आवश्यक ढुंगा, निर्माण सामग्री, निर्माणस्थलको सहज उपलब्धता नहुँदा काम गर्न निकै कठिनाइ हुने उनको भनाइ छ । तैपनि, उनको सपनाको उडान रोकिएको छैन ।
मञ्जुल मितेरी यति बेला जापानको एक पहरामा बुद्धको मूर्ति कुँदिरहेका छन् । संसारकै अग्लो बुद्ध मूर्ति बनाउन एक जापानी संस्थाले उनीसहित तीन जना नेपाली मूर्तिकारलाई गत साउनमा त्यहाँ लगेको हो । उनीहरूले करिब पाँच वर्षमा ६० फिट अग्लो बुद्धको मूर्ति बनाउनेछन् ।
विदेशी भूमिमा गएर नेपाली मूर्तिकारले बुद्धको मूर्ति बनाउन पाउनु मूर्तिकारका लागि मात्र नभएर सिंगो देशकै लागि पनि सुखद कुरा हो । यसबाट यहाँका केही मूर्तिकारले रोजगारी मात्रै पाएका छैनन्, उनीहरूले स्वदेशी कला र सीपलाई पनि विदेशसम्म पुर्‍याएका छन् । त्योभन्दा ठूलो कुरा त उनीहरूले बुद्धको शान्तिको सन्देश संसारभरि फैलाउनेछन् । ‘हामीले एक महान् अवसर पाएका छौं,’ मञ्जुल भन्छन्, ‘यसले देशसँग अर्थ राख्छ ।’
गत वर्षदेखि नै जापान जाने प्रस्ताव आए पनि मञ्जुलले उति चासो दिएका थिएनन् । तर, पछिल्लो समय आफ्नो हजार मूर्तिको सपना साकार पार्न पनि उनले जापान जाने निर्णय लिए । ‘हजार मूर्ति पूरा गर्न अझै ठूलो धनराशि चाहिन्छ,’ उनी भन्छन्, ‘म त्यही पैसा कमाउन यहाँ आएको हुँ ।’ क्या बात ! एउटा श्रमजीवी मूर्तिकार राष्ट्रलाई उपहारमा दिने मूर्ति बनाउने खर्च जोहो गर्न विदेशी पहरामा बुद्ध कुँदिरहेछ, पसिना बगाइरहेछ ।    

प्रकाशित : मंसिर ११, २०७३ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?