शुद्ध नेपाली भाषा

तारानाथ शर्मा

मेरो मातृभाषा नेपाली हो र मेरो साझा भाषा नेपाली नै हो । आफ्नो भाषालाई शुद्ध रूपले बोल्नुपर्छ र झन् लेख्ता त त्यसलाई गल्ती गर्नै हुँदैन भन्ने ज्ञान मैले मेरा कखगघ सिकाउने प्रथम गुरु बोधनारायण घिमिरेबाट प्राप्त गरेको हुँ ।

शुद्ध नेपाली भाषा

उहाँपछि अंग्रेजी पढाउने गुरु चन्द्रभक्त कसजूले पनि नेपाली शुद्धसित बुझिने गरी लेख्नसमेत सकिने गरी प्रयोग गर्नुपर्छ भन्ने शिक्षा दिनुभएको थियो । दुवै मेरा प्रारम्भिक गुरुहरूका अक्षर अति सुन्दर अर्थात् छापाका जस्तै थिए । प्रथम गुरुले त मलाई पाणिनीको संस्कृत व्याकरण पनि सिकाउनुभएको थियो अनि यजुर्वेद पूरा पढाएर मन्त्रसमेत दिनुभएको थियो । पछि आधुनिक शिक्षामा व्यावहारिकता प्राप्त गराउन मेरा पिताले मलाई दार्जिलिङमा पढ्न पठाउनुभयो । म सानैदेखि नेपालीमा लेखहरू लेख्थें र पारसमणि प्रधानजस्ता महान् व्यक्तित्वद्वारा सम्पादित ‘भारती’ नामक नेपाली मासिकमा छपाउन पाउँथें । मेरा घिमिरे गुरु र कसजू गुरुले खारेका मेरा अक्षर देखेर पत्यार नगरी पारसमणि प्रधानले मलाई उहाँको घरमै बोलाउनुभयो र केही लेख्न लगाउनुभयो । मेरा अक्षर देखेर अति प्रसन्न हुँदै उहाँले मेरा लेखहरू सहर्ष छाप्दै जानुभयो र नेपाली भाषाको शुद्धता झन्झन् प्राञ्जल पार्न मलाई सिकाउनुभयो । 

बोलाइ शुद्ध पार्न उच्चारण शुद्ध हुनुपर्छ र उच्चारण हामी दुई साधनबाट सिक्छौं— लेखाइबाट र लेखेका वर्णहरूको उचित मौखिक प्रयोगबाट । हामीले प्रयोग गर्ने गरेको लेखाइ पाणिनीले बनाएको विश्वको सर्वश्रेष्ठ लिपिमा प्रकट हुन्छ । हुन पनि भाषा वैज्ञानिक विश्लेषण गर्दा हाम्रा पाणिनीको संस्कृत लिपिजति शुद्ध र उपयुक्त अर्को कुनै पनि पाइँदैन । हाम्रो सौभाग्य हो नेपाली भाषा संस्कृतबाट विकसित भएको हो र पाणिनीले प्रयोग गरेको लिपि अत्यन्त वैज्ञानिक र उपयुक्त छ । 
हाम्रा चारै वेद, उपनिषद्, रामायण, महाभारत र समस्त वैदिक ग्रन्थहरू पाणिनीकै लिपिमा हुन्छन् । मेरो सौभाग्यले म अंग्रेजी साहित्य र भाषाको उच्च अध्ययन गर्न अंग्रेजहरूको देश बेलाइत (धेरै बुज्रुकहरूले जान्ने भएर ‘बेलायत’ लेख्ने गरेका छन्, तर त्यो हिन्दी हो) अर्थात् इङ्लन्ड् गएँ र त्यहाँ अक्स्फोर्ड्जस्तो सर्वोच्च विश्वविद्यालयका प्रसिद्ध प्राध्यापकहरूले मलाई ‘तिम्रै पाणिनीजस्ता सर्वोच्च र सर्वोत्कृष्ट भाषाविशेषज्ञद्वारा रचित संस्कृत व्याकरण नै विश्वको सबैभन्दा वैज्ञानिक र उपयुक्त ग्रन्थ हो’ भनेर सिकाए । बेलाइत (यो शब्द सर्वप्रथम जंगबहादुरको ‘बेलाइतयात्रा’ भन्ने ग्रन्थमा नेपालीमा प्रकट भएकाले हामी बालकृष्ण पोखरेल, म र हाम्रा झर्रा साथीहरू यही प्रयोग गर्छौं ।) —मा मात्र होइन, पछि पी.एच.डी. गर्न अमेरिका जाँदा पनि मलाई त्यहाँका प्रसिद्ध र महान् प्राध्यापकहरूले पाणिनीद्वारा विश्लेषित ‘संस्कृत व्याकरण’ नै विश्वको सर्वोत्कृष्ट कृति हो भनेर सिकाए । अंग्रेजी भाषाका विद्वान्हरूले संस्कृत भाषा र लिपिको प्रशंसा गर्दा म गद्गद् हुन्थें । 
हुन पनि संस्कृत भाषाको वर्णमालामा जे लेखिन्छ त्यही जस्ताको त्यस्तै उच्चारण गर्ने चलन संस्कृत व्याकरणमा कतै पनि छैन । नेपाली लिपिमा (अर्थात् पाणिनीले भाषावैज्ञानिक शुद्धतासाथ निर्माण गरेको संस्कृत लिपिमा) केही संयुक्त वर्णहरू छन् । ती स्वरमा पनि छन् र व्यञ्जनमा त झन् थुप्रै छन् । प्रमुख रूपले स्वरमा चाहिँ ‘ऐ’ र ‘औ’ हुन् । संस्कृतमा उदाहरण दिँदा ‘ऐ’ को प्रतिनिधित्व ‘ऐश्वर्य’, ‘धैर्य’ —ले गर्छन् भने ‘औ’ —लाई चाहिँ ‘औद्योगिक’, ‘औपचारिक’, ‘कौशिक’ आदिले देखाउँछन् । ‘औ’ प्रयुक्त भएका जुनसुकै शब्दमा पनि ‘अ’+‘उ’ संयुक्त भएका हुन्छन् अर्थात् तिनको उच्चारण गर्दा ‘अ’ भनेपछि ‘उ’ पनि सँगसँगै भनिहाल्नुपर्छ— अउ । ‘ऐ’ मा पनि त्यसै गरी ‘अइ’ मिसिएका छन्, तर हामी नेपालीहरू संस्कृतका लिपिलाई अत्यन्त श्रद्धाका साथ उच्चारण गर्छौं र ‘ऐन’ लेखेर ‘अइन्’ भन्छौं, ‘है’ लेख्छौं र ‘हइ’ भन्छौं, ‘छैन’ लेखेर ‘छइन’ नै भन्छौं । उसरी नै ‘औडाहा’ लेखेर ‘अउडाहा’ उच्चारण गर्छौं, ‘औद्योगिक’ लाई ‘अउद्योगिक’ तथा कौशिक’ लाई ‘कउशिक’ उच्चारण गछौं । यस्तो उच्चारण संस्कृतसित ठयाक्कै मिल्छ । तर हाम्रो भाषा संस्कृतबाट आएको हो भनेर गर्जिने हाम्रा दक्षिणी छिमेकीहरू हिन्दीमा 
‘ब्याङ्क’ लेख्नुपर्ने ठाउँमा उपबुज्रुक भएर ‘बैंक’ लेख्छन्, त्यो ‘बइङ्क’ पो हुन्छ होइन र ?
स्वर वर्णको उल्लेख गर्दा सबैको नगरी अंग्रेजीको a (अर्थात् ‘ए’) को मात्रै उदाहरणले पनि धेरै कुरा छर्लंग पार्छ अंग्रेजीमा a (अर्थात् ‘ए’) ले 
America अमेरिका
Michigan मिशिग्न्    अ
England इङ्ल्न्ड्

cat क्याट
bat ब्याट    या
rat र्‍याट
alm आम्
charm चार्म     आ
harm हार्म
Change चेन्ज —ए
mare मेयर् —ए
air एयर् —ए
‘अ’ बुझाउन 'a', 'u', 'e' प्रयोग हुन्छन् : 
cut, but, shut u= अ
e — servant, सभ्र्यान्ट्
i — sir सर्
ch को दुर्दशा हेर्नुहोस् :
च : church, change, charge चर्च्, चेन्ज्, चार्ज्
क : chemical, chemistry, ache केमिकल्, केमिस्ट्री, एक्
श : Chicago, Michigan, machine शिकागो, मिशिगन्, मशीन्
अङ्ग्रेजी यस्ता नमिल्दा ध्वनिहरूले पूरै ढाकिएको छ तर हिन्दीवादीहरू भने त्यसैका पछौटे हुनु र दास हुनु गौरव मान्छन् । हामीले कसैको पुच्छर समात्नु पर्दैन । पाणिनीको वैज्ञानिक लिपि सर्वश्रेष्ठ हो र हामी त्यसैद्वारा पालित र पोषित छौं । 
विशेष गरी संयुक्त वर्ण औधि व्यावहारिक र वैज्ञानिक छन् । हामीले हाम्रा छात्रछात्राहरूलाई सानैदेखि ती वर्ण (अर्थात् संयुक्त वर्ण) को राम्रो शिक्षा दिनुपर्छ । जस्तै : ञ = यँ, क्ष = क्श, त्र = त्+र, ज्ञ = ग्यँ, द्य = द्य, ध्य = ध्य, तृ+त्+रि, व्य = व्+य, प्ल = प्+ल, प्व = प्+व, प्र = प्+र, स्व = स्+व । 
हाम्रा सस्याना छात्रछात्राले ‘द्य’ लाई नबुझी ‘ध्य’ भन्छन् र ‘विद्या’ तिनका लागि ‘विध्या’ हुन्छ, ‘भुवनेश्वर’ लाई ‘भुबनेस्सोर’ भन्छन्, ‘वानेश्वर’ ‘कोटेश्वर’ लाई ‘कोटेस्सोर’ र ‘सरस्वतीनगर’ लाई ‘सरस्सोतीनगर’ भन्छन् । संयुक्त अक्षरहरूको चिनारी र उच्चारण राम्ररी नसिकाएकैले यस्तो भएको हो । यसमा हाम्रै शिक्षकशिक्षिका दोषी छन् । ‘माल पाएर पनि चाल नपाएको’ भनेर यस्तैलाई भन्नुपर्छ !

प्रकाशित : मंसिर ११, २०७३ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?