घडीमा डोरिएको म- कोसेली - कान्तिपुर समाचार

घडीमा डोरिएको म

हेमराज शर्मा

काठमाडौं — फेरि पनि घडीमै आँखा गयो । एअरपोर्टको ट्रान्जिटको पर्खाइ अति नै पट्यारलाग्दो हुन्छ । त्यसमा पनि घर फर्किने प्रतीक्षामा त घडी चल्दै चल्दैन । घडी मै घोत्लिन मन लाग्यो । २४ वर्ष भएछ यो घडीसँग भेट भएको । न्युरोडमा किनेको जापानिज सिटिजन घडी । त्यसपछि किनेका, उपहार पाएका अरू घडी कति बिग्रे, कति हराए र कति थन्किएका छन् तर पनि यही घडीसँग किन यति धेरै माया छ, म बुझ्न सक्दिनँ ।

यो निर्जीव छ तर योसँगको सम्बन्ध कुनै सजीव वस्तुसँगको भन्दा कम छैन । जिन्दगीमा सबैभन्दा धेरै कसैलाई हेरेको छु भने यही घडीलाई हेरेको छु, हरेक पलमा । सबैभन्दा बढी साथमा रहेको योबाहेक अरू कुनै वस्तु छैन, हरेक क्षण मसँग हुन्छ यो । सबैभन्दा बढी कसैको निर्देशन मानेको छु भने यसैको मानेको छु । म सधैं यसैको इसारामा चल्छु । यसैले बेलामा सुत्न पठाउँछ, बिहान उठाउँछ, अफिस पठाउँछ, फर्काउँछ आदि आदि ।
जिन्दगीको हरेक मोडमा यसले साथ दिएको छ । म सुत्दा पनि यो टिकटिक गरिरहन्छ । म थाकेर शिथिल हुन्छु, तर यो रोकिँदैन । म पिएर मात्तिँदा पनि यसले गति बदल्दैन । कहिले यसलाई जित्न खोज्छु, कहिले यसलाई रोक्न खोज्छु, तर म सधैं हार्छु । घोरिन्छु यो समाज पनि यो घडीजस्तै एकनासले चल्ने हो भने, कसैलाई उछिन्न, पछार्न र रोक्न नखोज्ने हो भने कस्तो हुन्थ्यो होला ?
कलेजमा परीक्षा तयारी गर्दा रातभर मसँग जागेको छ, परीक्षाको तीन घन्टामा यो तुफानजस्तो दौडिन्थ्यो । सन् १९९७ अक्टोबर १ तारिख रातको १२ बजे त्रिभुवन विमानस्थलमा यसलाई हेरेर पहिलोपटक विदेश लागेको थिएँ । त्यति बेला सोचेको थिइनँ म पनि यो घडीजस्तै पछाडि नफर्की अगाडि बढेको बढै हुन्छु भन्ने । लाग्छ मजस्ता नेपाली कति होलान् कति ।
नेपाल छँदा यसलाई गहनाको रूपमा हेर्थें, टिलिक्क टल्लाएर अरूलाई देखाउनुपर्ने । तर यसको महत्त्व विदेश लागेपछि मात्र थाहा भयो र माया ममता झन् बढ्दै गयो । साँझ पुगेको थिएँ जापान । मेरा मित्र हेमराज ढकाल हानेडा एअरपोर्टमा लिन आएका थिए । मलाई होस्टलमा पुर्‍याएर उनी राति नै फर्के । भोलिपल्ट संसारकै पहिलो घामको किरणसँगै आँखा खुल्यो । उज्यालोमा जापान हेर्न कौतूहल थिएँ । होस्टलको कोठाको झ्यालबाट सडकमा आँखा पुग्यो । त्यहाँ गाडीभन्दा साइकल बढी कुदेका थिए । सामान्य खालका साइकल, मैले आईएस्सी पढ्दा काठमाडौंको सडकमा दौडाउने इन्डियन हिरो साइकलजस्ता । नेपालमा छँदा सुनेको थिएँ जापानमा एकै परिवारमा २–३ वटा महँगा गाडी हुन्छन् । बडो खुल्दुली लाग्यौ, के मैले सुनेको गलत थियो ?
साइकलको ताँतीसँगै ट्रेन स्टेसनतिर लागें पहिलो दिन क्याम्पस जान । साइकलका ताँती त्यही ट्रेन स्टेसनमा रोकिए । अनि बुझें साइकलको चढ्नुको अर्थ । हिँड्नुभन्दा साइकल चढ्दा २–४ मिनट भए पनि समय बच्ने भएकाले यसो गरिँदो रहेछ, पछि आफूले पनि सिकियो । यस्ता २, ४ मिनट त के २, ४ घन्टा नेपालमा दिनदिनै घाम तापेर बिताइयो । सबैले बिताएका थिए आफूले मात्र किन छाड्नु । कसैले घाम नताप्नु भनेन ।
टोक्योको व्यस्तमध्येको एउटा स्टेसन इकेबुकुरो नजिक थियो क्याम्पस, रिक्यो युनिभर्सिटी । जब म यो स्टेसनमा झरे त्यहाँ भाग दौडजस्तो देखें । वागलुङको चैतेदसैं मेलामा क्रान्तिकारीलाई पुलिसले लगार्दाको जस्तो भागदौड । तर त्यहाँ सुट–टाईमा सजिएका
भलाद्मीहरू भागदौड गर्दै थिए । भलाद्मीहरूको भाग दौड पहिले कहिल्यै देखेको थिइनँ । त्यसैले एक छेउ उभिएर हेरें । एक अर्कासँग बोल्ने त कुरै छाडौं मुख हेर्नेसमेत फुर्सद थिएन कसैलाई । सबै आफ्नै धुन र गतिमा दौडिँदै थिएँ । हिँडेको एकोहोरो गड्याम गड्याम आवाज मात्र सुनिन्थ्यो । स्कुल पढ्दा गुरुले भन्नुहुन्थ्यो– दुनियाँमा सबै कुरा पैसाले किन्न पाइन्छ तर अभिभावक र समय किन्न पाइँदैन । गुरुको अर्को मन पर्ने कथन थियो, ‘नलेज एन्ड टाइम इज मनी’ । गुरुले भनेको कुरा यी जापानीहरूको
रफ्तार देखेर बल्ल दिमाखमा घुस्यो ।
जापानमा बान्की बान्कीका घडी बजारमा देख्दा पनि मलाई यो घडी छाड्न मन लागेन । मसँगै आयो युरोपमा । १९९८ मा पहिलोपटक युरोप आउँदा बल्ल यसलाई जितें । फनक्क १० घन्टापछाडि फर्काएँ यसलाई । तारानाथ शर्माले कतै लेखेका थिए, युरोप जाँदा मैले १ दिन नाफा गरें भनेर । मेलो थिएन कसरी होला भनेर । आफूलाई परेपछि बल्ल थाहा भयो ।
इटालीको मिलानमा रात बिताएर अर्को सहर जान बिहानै विमानस्थलतिर लागे । जापानमा जस्तो कुनै भागदौड थिएन त्यहाँ । ट्याक्सीचालकले आन्तरिक विमानस्थलमा लानुपर्ने–अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेछ । प्रस्थान स्थल भेटाउन फसाद । टुटे–फुटेको अग्रेजीमा सोधें धेरैजनालाई, तर कसैले बाटो बताएन । त्यस दिन बल्ल मलाई थाहा भयो, खैरो कपाल र गोरो छाला हुने सबैले अग्रेजी बोल्न जान्दा रहेनछन् भन्ने ।
यो घडीको कथा लेख्ने हो भने एउटा किताब नै तयार हुन्छ । यत्तिमै बिट मारौं कि लागेर फेरि यसैलाई हेरे, जहाज उढ्न अझै एक घन्टा रहेछ । एअरपोर्टमा पाइने १ घन्टाको नि:शुल्क इन्टरनेटको कोटा पनि सकियो । अनलाइन र सामाजिक सञ्जालबाहेक अरू कुरामा दिल जाँदैन ट्रान्जिटमा । घडीकै बारे लेख्नुबाहेकको अर्को विकल्प रहेन मसँग, म अगाडि बढें ।
आजभोलि यसलाई धेरै बटार्नुपर्छ, पश्चिम पुग्दा पछाडि, पूर्व पुग्दा अगाडि । सजीव भएको भए चित्त दुखाउँथ्यो होला । अहिलेको इलेक्ट्रोनिक घडीजस्तो होइन यो, जुन देशमा गयो त्यही देशको समय बज्ने । समरमा १ घन्टा रोकिन र विन्टरमा १ घन्टा फड्किन पनि गर्न जान्दैन यो । एप्पलवाचजस्तो पनि होइन यो संसारै अटाउने । तीनवटा सुई मात्र छन, टिकटिक घुमिरहन्छन् । रातिमा यसलाई हेर्न बत्ती चाहिन्छ, अरू घडीजस्तै झल्लल बल्दैन आफैं । तर पनि किन मलाई यो घडीसँग यति धेरै प्रेम छ ? विछट्ट राम्रो पनि छैन यो । योभन्दा राम्रा उपहार आएका घडी छन् तर सबै थन्किएका छन् । बजारमा योभन्दा राम्रा घडी किन्ने हैसियत पनि राख्छु । तर पनि किन छाड्न सक्दिनँ मैले यसलाई ? मनमनले धेरै सोचें, हामी दुईबीच किन यति धेरै गाढा प्रेम छ । सायद उत्तर पनि भेटेजस्तो लाग्छ । मेरो जिन्दगीको पहिलो कमाइले किनेको घडी । पहिलो र परिश्रमको माया सबै चस्जमा हुँदो रहेछ क्यारे ।
जहाजको प्रस्तानको सूचनाको घन्टी बज्यो । घन्टीसँगै फेरि पनि आँखा यही घडीमा गयो तर मैले लेख्न बन्द गर्नुपर्ने भयो तर घडी चलिरह्यो आफ्नै गतिमा टिक टिक टिक... ।

स्कुल पढ्दा गुरुले भन्नुहुन्थ्यो– दुनियाँमा सबै कुरा पैसाले किन्न पाइन्छ
तर अभिभावक र समय
किन्न पाइँदैन । गुरुको
अर्को मन पर्ने कथन
थियो, ‘नलेज एन्ड टाइम इज मनी ।’

प्रकाशित : जेष्ठ २९, २०७३ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्

कविता

गणेश श्रमण

काठमाडौं — माना मानौायो मेरो घर होयी मेरा बाबा हुन्यी मेरी आमा हुन्यी मेरी श्रीमती हुन् ।

माना मानौा

यो मेरो घर हो
यी मेरा बाबा हुन्
यी मेरी आमा हुन्
यी मेरी श्रीमती हुन् ।

मानौा
यी मेरा दाजुभाइ हुन्
दिदीबहिनी र आफन्त हुन्
इष्टमित्र र बन्धुबान्धव हुन्
शुभचिन्तक र साथीहरु हुन् ।

मानौा
यो मेरो देश हो
यो मेरो जन्मभूमि हो
यो मेरो राष्ट्रियता हो
यो नै मेरो पहिचान हो ।

मानौा
यो मेरो व्यवस्था हो
यो मेरो विधान र कानुन हो
यो मेरो नियम र निष्ठा हो
यी मेरा परम्परा हुन् ।

मानौा
यो मेरो आस्थाको मन्दिर हो
मैले पूजा गर्ने भगवान् हो
यो नै मेरो धर्म र आदर्श हो
यी नै मेरा आधार र जग हुन् ।


मानौा
यी मेरी प्रेमिका हुन्
उनीसागै खाइएका कसमहरु हुन्
सागै गरिएका वाचाहरु हुन्
हामी एउटै हौा
हाम्रो एउटै मुटु हो ।

यहीानेर एउटा
प्रश्न गर्न मन लाग्छ
नमाने के हुन्छ ?

गणितमा कतै पढिएको थियो
मानौा ‘एक्स’ को मान ...... भए
गणितमा मात्र होइन
सारा जीवनमा
यसरी नै मानेर मानिएको रहेछ
यसरी नै मानेर बााचिएको रहेछ ।

प्रकाशित : जेष्ठ २९, २०७३ १३:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×