नमस्ते ‘होमो इरेक्टस’

रोशन शेरचन

पहेली यस्तो छ । नागपोखरीमा एक दिन अचानक कमलको फूल तैरिरहेको देखा पर्छ । दोस्रो दिन फूलको आकार दुई गुनाले बढ्छ ।

नमस्ते ‘होमो इरेक्टस’

प्रत्येक दिन दुई गुनाले बढ्दै जान्छ । एवंरीतले तीसौं दिन कमलको फूलले पोखरी टम्मै ढाकिन्छ । प्रश्न : कुन दिन पोखरी आधा ढाकिएको थियो ? जवाफ उनन्तीसांै दिन । 

जनसंख्या वृद्धिदर र प्राकृतिक स्रोतमा त्यसले पारेको चापलाई नागपोखरीको फूलको आश्चर्यजनक वृद्धिसँग तुलना गर्न सकिन्छ । जनसंख्याको विस्फोटन डरलाग्दो छ । शताब्दीको अन्तसम्म १० अर्ब पुग्ने अनुमान गरेका छन् जनसंख्याविद्हरूले । जनसंख्याको वृद्धिदरसँग प्राकृतिक स्रोतको विनाश दर आश्चर्यजनक छ । सभ्यता, विकास र समृद्धिको नाममा मान्छेले पर्यावरणलाई तीव्र रूपमा नष्ट गरिरहेको छ । प्रख्यात जीवशास्त्री एडवार्ड ओ विल्सनले निबन्ध ‘इज् ह्युमानिटी सुसाइडल ?’ मा लेखेका छन्– चेतनशील भनिएको मानव प्राकृतिक स्रोतको उपयोगको मामिलामा चेतनशील हैन, लोभी र स्वार्थी छ ।
 कृषि र औद्योगिक क्षेत्र फैलँदो छ । खुला स्थानहरू मासिंदै छन् । जमिनको मात्र के कुरा, अन्टार्कटिकको पेन्गुइन, सिल, आइसफिस रित्ताउन उद्यत छ, मान्छे । समुद्रका ह्वेल, सार्क, गंगटो र माछाहरू सकिंदै छन् । उपभोगवादी अजिंगरले मुख बाएको बायै छ । नागपोखरी काल्पनिक उपमा हो । तर संकेत सायद सत्य हो । 
विल्सनको निबन्ध एडिनवरा युनिभर्सिटीको विद्यार्थी छँदा पढेको थिएँ । चश्मे प्रोफेसरले केही थान निबन्धहरू लाइब्रेरीछेवैको पिजन होलमा राखिदिएको थियो । लाइब्रेरीको नाम डार्बिन थियो । मेरो अधिकांश समय डार्बिन लाइब्रेरीमै बित्थ्यो । लाइब्रेरीको ढोका पार गर्नासाथ बायाँतिर सिसाको फ्रेम हालेको काठको टेबुलमा डार्बिनको नोटबुक राखिएको थियो । सन् १८२५ मा उनी यसै युनिभर्सिटीमा चिकित्साशास्त्रको विद्यार्थीको रूपमा भर्ना भएका रहेछन् । सोह्रवर्षे उमेरमा । ‘ओरिजिन अफ स्पेसिस’ लेखेर डार्बिन विश्वप्रसिद्ध बने । युनिभर्सिटीले उनलाई सम्मान गर्दै लाइब्रेरीको नाम नै डार्बिन राखेको छ । निबन्ध थानमा प्राणीशास्त्री एल्डो लियोपोल्डको ‘द ल्यान्ड इथिक्स’ पनि थियो । हप्ता दिनपछि निबन्धको सेरोफेरोमा प्रोफेसरले छलफल गराए । 
यस्तो पो निबन्ध ! पढेपछि मनमा भाव उब्ज्यो । नाटकीयता कतै छैन । ज्ञान र अनुभव बरोबर मिस्सिएको छ । आफ्नो सीमा स्विकारेको छ । थप रिसर्चको आवश्यकता औंल्याएको छ । मनोगत धारणाको पिरामिड छैन । पृष्ठभूमिले निबन्धको अर्थलाई बुझ्न सघाएको छ । मनगढन्ते स्वरैकल्पना कतै छैन । मस्तिष्कघात गर्ने अतिशय भावुकता पनि । छ त तथ्यको जगमा अनुभव र ज्ञानले खारिएको अन्तरदृष्टि । निबन्धको शैलीबाट मुग्ध भएँ । तर मान्छेको उपभोगप्रतिको आसक्ति र प्रकृतिमा त्यसले पारेको नकारात्मक प्रभावबाट भने खिन्न भएँ । 
ती निबन्धहरूमा दुईवटा स्कुल अफ थटमाथि चर्चा छ । जीवन र जगत्को केन्द्रमा मान्छे छ भन्ने मान्यता राख्ने, एन्थ्रोपोसेन्ट्रिक दृष्टिकोण । समस्त समस्याको निराकरण गर्न मान्छे सक्षम छ भन्ने सोच । दोस्रोमा, कुनै पनि प्राणी केन्द्रमा छैन बरु परस्परमा निर्भर छ भन्ने मत राख्ने, इकोसेन्ट्रिक दृष्टिकोण । यो दृष्टिकोणले जैविक प्राणी र अजैविक पर्यावरणको अन्तरसम्बन्धलाई आधारभूत मान्छ । इकलजीलाई केन्द्रमा राख्ने, इकोसेन्ट्रिक दृष्टिकोण बुद्ध धर्मसँग मेल खान्छ । प्रिबुद्धिस्ट बोन्पोको मर्मसँग पनि । सूक्ष्म सन्तुलनप्रति सचेत हँुदै प्राकृतिक स्रोतको उपयोग गर्न सुझाउँछ, यसले । 
निबन्धहरू कति बुझें ? भन्न कठिन छ । तर के कुरामा छक्क परें भने पाठ्यक्रममा मात्र सीमित नभई विद्यार्थीलाई निबन्ध पनि पढाउँदा रहेछन् । प्राविधिक शैलीको पाठ्यक्रमभन्दा निबन्धका अनौपचारिक शैली विद्यार्थीले रुचाउने नै भए । रुचेको कुरा नै त भित्रसम्म पस्छ । विल्सनकै निबन्ध पहिलोपटक ‘द न्युयोर्क टाइम्स’मा छापिएको थियो । अन्य निबन्ध ‘गार्जियन’का थिए । जर्नलका लेखहरू पनि थिए । यस्ता निबन्धहरूले विचार निर्माण गर्न मात्र सघाएनन् । सायद विचारलाई सुल्झाउन पनि मद्दत गरे । यस्ता लेखहरू पढिसक्दा पाठकको इनर्सियामा घन बज्रन्छ । सोच्ने प्रक्रियाको कतै जन्म हुन्छ । समयको फराकिलो क्षितिज समातेर ठूलो फलकमा लेखिएका यस्ता निबन्धले पाठकलाई मानवताको पक्षमा जे जति सकिन्छ, केही गर्न प्रेरणा दिन्छ । 
जीव विकासक्रममा सर्वाधिक विशेष घटना कुन थियो ? जसले कालान्तरमा मान्छेलाई अन्य प्राणीभन्दा एकदमै भिन्न बनाइदियो । आगोको खोज र औजारको आविष्कार विशेष घटना भएकोमा नृवंशशास्त्री र जीवविकासविद् सहमत छन् । तर उत्तिकै उथलपुथलकारी घटना एप (गिब्बन, ओराङ्गओटन, गोरिल्ला र चिम्पाञ्जी) को जमातबाट अलग्गिदै प्राचीन मानव दुई खुट्टाले हिँड्न थाल्नु थियो । इरेक्टम्यान हुनु । बाइपेडल हुनु । कम वजनको अल्पविकसित मस्तिष्क प्रयोग गर्दै उभिने पहिलो प्राचीन मानव होमोइरेक्टस थियो । नृवंशशास्त्रीहरू भन्छन्, सन् १८९० र १९२० तिर उत्खनन भएको जाभा (इन्डोनेसिया) र चीन (पेकिङ्ग मेन) को फोसिल्स त्यसैका प्रमाण हुन् । उभिन वा इरेक्ट हुन सकेकैले यिनीहरूलाई होमोइरेक्ट्स भनियो । आफ्ना पूर्वजहरूको आनीबानीलाई परिवर्तन गर्दै नयाँ तरिकाले हिँडेकोमा आधुनिक मानव होमोस्यापियन्सको तर्फबाट म तिमीहरूलाई आभार प्रकट गर्छु । धन्यवाद भन्छु । तसी देलेक भन्छु । 
पृथ्वीमा होमो इरेक्टस करिब डेढ लाखदेखि उन्नाईस लाख वर्षअघि हिँडडुल गरेको अनुमान छ । होमोइरेक्टस हजारौं, लाखौं वर्ष खर्चेर अघिल्लो खुट्टाको प्रयोजनलाई बदल्दै बल्लतल्ल पूर्णरूपमा उभिन सकेका हुँदा हुन् । पछिल्लो दुई खुट्टाको भरमा उभिन सक्ने भएपछि स्वतन्त्र हुन पुगेको हात केको निम्ति प्रयोग गर्ने ? अर्को हजारौं वर्षसम्म अन्योलमा परेका हुँदा हुन् । हातले जमिन टेकिरहनु नपर्ने भएपछि शनै शनै औजारको आविष्कार गरेका हुँदा हुन् । 
तिमीहरूले उभिने कला सिक्न अथक प्रयत्न नगरेको भए, हामीहरू अझै चारखुट्टे जिन्दगी नै बाँचिरहेका हुन्थ्यौं । चौरमै हुन्थ्यौं घरमा नभई । गुफामै हुन्थ्यौं । लामो दौडमा निस्कन कहाँ पाउँथ्यौं ? छाती फुकाएर हिँड्न कहाँ पाइन्थ्यो ? समयक्रममा चमत्कारी सिद्ध भएको दुई हात कहाँ मुक्त हुन्थ्यो र ? जमिनै टेकिरहेको हुन्थ्यो । कहाँ स्वतन्त्र हुन्थ्यो ? कहाँ उपलब्ध हुन्थ्यो ? जैविक दृष्टिले सबैभन्दा सक्षम हातको प्रयोग गर्नबाट बन्चित हुने थियौं । लाखौं वर्ष लगाएर हातलाई स्वतन्त्र गरिदिएबापत जुम्ली हातै जोडेर म होमोसापियन्सको तर्फबाट नमस्ते गर्छु । 
मध्यहत्केलाबाट छुट्टिएर बनेका औंलाहरू जोर्नीको कारणले खुम्च्याउन फैलाउन मिल्ने भएकाले औंलाको लचकताले असाधारण कामहरू गर्न सक्यो । होमोसापियन्सले विज्ञान र प्रविधिमा आश्चर्यजनक प्रगति गर्‍यो । आधुुनिक संसार औंलाबाट चल्ने संसार बनेको छ भन्दा गलत हुँदैन । छेस्का समात्न तिमीहरू हातको प्रयोग गथ्र्यौ । गोलोबाट धमिरा निकाल्न । ढुङ्गेबन्चरा घोट्न हातको प्रयोग गथ्र्यौ । र वाइल्ड नट्स फुटाउन । तर अब समय बदलिसक्यो । हात र औंलाको प्रयोग कहाँ छैन ? ब्रस समात्न, मोबाइल डिभाइस्का टचस्क्रिन थिच्न, प्रियजनलाई स्पर्श गर्न, कम्प्युटरका जटिल कोडहरू ह्याक गर्न । सोच्न पनि असम्भवप्राय: छ, कहाँ छैन हात र औंलाको प्रयोग ? मानौं सुन्तली विश्व खुम्चिँदै चारपाते किबोर्डमा फेरिएको छ । 
तिमी होमोइरेक्टसहरू अफ्रिकामा उद्भव भयौ । अफ्रिकाको घाँसे सभानामा विचरण गथ्र्यौ । त्यसपछि चीन र इन्डोनेसियातिर लाग्यौ । अफ्रिकाको विशाल घाँसेमैदान वा जंगलमा तिमीहरूले दुई खुट्टाले उभिने अभ्यास गर्‍यौ । कैयौं पुस्ता लगाएर मात्र पूर्णरूपमा उभिन सक्यौ । कैयन् पुस्ता कुप्रिएरै सकिए । पूर्णरूपमा ठिङ्ग उभिन नसक्दै । अन्ततोगत्वा उभिन सकेकैले लामो दूरी हिँड्न र दौड्न तिमीहरू सक्षम भयौ । तर त्यो विकासक्रममा तिमीहरूले लहरामा झुन्डिँदै रूख चढ्ने क्षमता गुमायौ । इभोलुसनमा तिमीहरूको बलिदान थियो त्यो । तर त्यो बलिदान खेर गएन । जीवले बाँच्ने सम्भावनालाई बढाउन प्राकृतिक वातावरणसँग आफूलाई अनुकूल गर्दै लग्छ । अनुकूल हुन नसके डार्बिनले व्याख्या गरेको प्राकृतिक छनोटमा पर्ने डर हुन्छ । 
ती विशाल घाँसेमैदान नेपालका थिएनन् । न त घना जंगल नै । नेपालका नभए पनि मानवताको दृष्टिले तिमीहरू हाम्रै पूर्वज हौ । तिमीहरू सर्वोच्च शिखर सगरमाथाको गर्व बोक्दैनौ, थाहा छ । गौतम बुद्ध नेपालमा जन्मेको भनेर घाँटी सुकाउँदैनौ, छाती फुलाउँदैनौ, त्यो पनि थाहा छ । रौंका छिद्र छिद्रमा धर्म, वर्ग, जात, लिङ्ग र क्षेत्रको दलगत राजनीति भर्दैनौ, त्यो पनि थाहा छ । तर पनि हाम्रै पूर्वज हौ । मेरो पूर्वज भएर पनि थकाली होइनौ । नेपालीको पुर्खा भएर पनि राई लिम्बु होइनौ । नेवार, दलित होइनौ । मधेसी होइनौ । कर्णालीबासी होइनौ । न हिन्दु हौ । न बुद्धिस्ट । न इस्लाम । तर पनि मानवताको नाताले नेपालीको पूर्वज हौं । उहिले उहिलेको पूर्वज । विस्मृतिको गर्तमा समय लुप्त भइसकेको युगको पूर्वज । 
आधुनिक मानव हामी होमोसापियन्सहरू धेरै पछि आयौं, तिमीहरूभन्दा । झन्डै दुई लाख वर्षअगाडि भीषण जलवायु परिवर्तन भएको थियो, त्यही समयमा हामी अफ्रिकामा उद्भव भयौं । तर हामीले दुई खुट्टाले हिँड्न सिक्न परेन । त्यो क्षमता हामीले तिमीहरूबाट पाइसकेका थियौं । हाम्रो मस्तिष्कको आकार पनि ठूलो भएको छ, झन्डै १३०० क्युसेमिको । अहिले हामी संसारका सबै ठाउँमा छरिएका छौं । युरोप, अमेरिका, एसिया, अस्ट्रेलिया, साउथ अमेरिका, अन्टार्कटिक । चन्द्रमामा पनि गइरहन्छौं । अन्य उपग्रहतिर पनि चियाइरहेका छौं । होमोसापियन्स आफैंमा निश्चित प्रजाति होइन पनि भन्छ तर त्यसले के नै फरक पर्छ ? 
हामी होमोसापियन्स आफ्नो गल्तीबाट सिक्ने कुरामा अगाडि छौं । हामी कल्पन सक्छौं । कल्पनामा भूत र भविष्यको पिङमा मच्चिन सक्छौं । पुराना घटनाहरू स्मृतिमा संग्रह गर्न सक्छौं । जहाज चढेर केही घन्टामै गोलाद्र्धको अर्को छेउ पुग्न सक्छौं । त्यति मात्र होइन । सूचना प्रविधिको माध्यमले भौतिक उपस्थितिबिना प्रियजनसँग बातचित मार्न सक्छौं । तिमीहरूको समय कस्तो थियो ? म अनुमान मात्र गर्न सक्छु ? तिमीहरू तेह्र लाख वर्षअघि एसिया र लगभग चार लाख वर्षअघि युरोप आयौ । अफ्रिकाबाट एसिया र युरोपमा आउने क्रममा तिम्रा आफन्तहरू भोकप्यास, वन्यजन्तु, रोगव्याधिबाट कस्तरी मरे ? म अनुमान मात्र गर्न सक्छु । सिरिङ्ग हुन्छु, कल्पनामा । तर तिमीहरूले दु:खले आर्जेको सीपको हामीले बढी दुरुपयोग गरिरहेका छौं ।
भर्खर ‘द जंगल बुक’ सिनेमा हेरे । छोटो चर्चा गरेर बिदा हुन्छु । शेरखान, बगिरा, ब्वाँसो, बालु, ओराङ्गओटन, मोग्ली र अन्य जनावरका रिस, ईश्र्या, प्रतिशोध, प्रेमका कथा नजिकैदेखि हेरे । कौतुकमय जंगलको संसारलाई । जंगलमा मोग्ली मात्र एक मानवपुत्र हुन्छ । ब्वाँसोले सानैदेखि पाली हुर्काएको । एउटा दृश्यले मस्तिष्क रन्थनाउँछ । मान्छेहरूको एक हूलले आगो लगाउँछ जंगलमा । ज्यान जोगाउन वन्यजन्तु भागदौड गर्छन् । ढडेर कैयन वन्यजन्तु मर्छन् । बाँचेकाहरू सदस्य गुमाउनुको पीडाले खंग्रङ्ग हुन्छन् । त्रासको हावा पातमा ठोक्किँदै बहन्छन् । 
वन्यजन्तुहरू आगोलाई रातो फूल भन्ठान्छन् । प्राकृतिक फूल नै । आगोले जंगलको शासन व्यवस्था नै प्रभावित हुन्छ । साम्राज्य विस्तार गर्ने महात्त्वाकांक्षामा बन्दरलोकको शासक बोरनियो ओराङ्गओटनले मोग्लीलाई रातो फूल ल्याउन दबाब दिन्छ । 
होमोसापियन्सहरू आगो, औजार र अन्य अविष्कारको प्रयोग सुन्दर काममा मात्र गरिरहेका छैनन् । अरूलाई हानि पुर्‍याउने, अधीनमा राख्ने, बदला साँध्ने र पर्यावरण नष्ट गर्नसमेत प्रयोग गर्दै छन् । विचार भिन्न हुनासाथ सिध्याउन खोज्दै छन् । यो थाहा पाएर तिमी दु:ख मानौला, शताब्दियौंको मेहनतबाट प्राप्त भएको हातमा मौका मिल्नासाथ होमोसापियन्स बन्दुक, चक्कु, कटबाँस लिई लुट्न, मार्न र बलात्कार गर्न निस्कन्छन् । 
दुई लाख वर्ष भए तापनि पृथ्वी ग्रहमा हामी नवआगन्तुक नै हौं । तर नवआगन्तुकजस्तो व्यवहार गरेका छैनौं । भद्र भएका छैनौं । सचेत भएका छैनौं । आरम्भदेखि हामी नै पृथ्वीको स्वामीजस्तो व्यवहार गर्दै छौं । जे पनि चलाई हाल्ने, छुकछुके भएका छौं । घमण्डको बुई चढेका छौं । पृथ्वीमाथि विजय पाउने महत्त्वाकांक्षा पालेका छौं । कहिलेसम्म यस ग्रहमा रहौंला, कसैलाई थाहा छैन । कस्तो विरासत छाडेर यस ग्रहबाट लोप होऔंला, कसैलाई थाहा छैन । होमोइरेक्टस नै हामीभन्दा झन्डै नौ गुना बढी बाँचेका थिए । अहिले तिमीहरूको नामोनिसान छैन । अठार लाख वर्षपछि लोप होला भन्ने कसलाई लागेको थियो र ? विश्वासै गर्न गाह्रो । अहिले फोसिल्स मात्र भेटिन्छ । तर हेर्नुस्, होमोसापियन्सको अहम् । मानौं हामी अजम्बरी हौं, कहिल्यै लोप हुने छैनौं । अजम्बरी हुन कहाँ सम्भव छ र ? जीवविकासको प्रक्रियाले अजम्बरी रहन देला र ? न विगतमा कुनै प्राणी अजम्बरी थियो न त भविष्यमा हुनेछ । कुनै दिन होमोसापियन्स पनि लोप हुन्छ भनेर विश्वास गर्न हामीलाई किन यति कठिन ? के नागपोखरीबाट उठेको साउतीले हामीलाई केही भनेन । 

प्रकाशित : जेष्ठ २, २०७३ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?